ブログ

ポッドキャスト

ポッドキャスト RSS

2022.06.16[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【फ्रिजको सरसफाई गर्ने गर्नु भएको छ?】

जुन महिना अत्याधिक वर्षा हुने चुयु अर्थात् वर्षायामको मौसम होI त्यसपछि गर्मी मौसम शुरु हुन्छI यसपछिको समयमा बिशेष गरि ध्यान दिनु पर्ने भनेको खाद्य विषाक्तता हो।

फ्रिजभित्र पनि राम्ररी सफा गर्ने र म्याद सकिएको खाद्य सामग्रीहरु छ छैन जाँच गर्ने गरौं।

साथै, भान्छामा काट्न प्रयोग गर्ने बोर्ड, स्पन्ज, पानीको प्रयोग हुने ठाउँ वरिपरि जस्तै कि, हात धुने ठाउँ वा भाँडा माझ्ने ठाउँ आदि जस्तोमा, विशेष गरी यस समयमा कीटाणुरहित गर्नमा बढी ध्यान दिनु राम्रो होला।

हल्का अल्कालीक बेकिंग सोडाले भिजाएको कपडाले फ्रिजको भित्री भाग पुछ्ने, वा भान्छा सफा गर्न प्रयोग हुने अल्कोहल स्प्रेबाट पनि किटाणु हटाउन सकिन्छ। साथै, स्पन्ज र काट्ने बोर्डलाई हल्का ब्लीचमा भिजाएर वा ९० डिग्री सेल्सियसमा उम्लेको पानीले पनि किटाणु मार्न प्रभावकारी हुन्छ।

 

 

【फुकुओका शहरको सूचना】

बाल भत्ता सम्बन्धि

फुकुओका शहरमा, जुनियर हाईस्कूलसम्मका बच्चाहरुलाई हुर्काउँदै गरेको व्यक्तिहरुलाई बाल भत्ता प्रदान गरिंदै आइरहेको छ।

भत्ता रकम, बच्चाको उमेर वा तपाईंको आम्दानी अनुसार प्रति बालक, महिनाको ५,००० देखि १५,००० येन हो।

४ महिनाको एकमुष्ठ रकम; जुन, अक्टोबर र फेब्रुअरी महिनाहरूमा भुक्तानी गरिनेछ।

यस बाल भत्ता प्रणाली अन्तर्गत, अक्टोबरदखि भुक्तानी गरिने भत्ता रकममा आंशिक परिवर्तन भएको छ।

लाभको लागि आयको सीमा तोकिएको छ र आयको आधारमा भत्ता भुक्तान नहुन पनि सक्छ।

यस अतिरिक्त, वर्षको एकपटक बुझाउनु पर्ने वर्तमान स्थिति रिपोर्ट (गेन्क्योउ तोदोके) पेश गर्न नपर्ने भएको छ।

यद्यपि, विबाह गर्नु हुने वा श्रीमान्/श्रीमतीबाट सम्बन्ध विच्छेद गर्नु हुने महानुभावहरुले परिवर्तन सम्बन्धि सूचना दिन भने आवश्यक छ।

 

लाभार्थीहरूलाई, मे १० मा बाल भत्ता प्रणालीमा भएको परिवर्तनको बारेमा सूचना पठाएका छौँ। कृपया जाँच गर्नुहोला।

 

 

कर सम्बन्धि

जनवरी १ देखि फुकुओकामा बस्दै आउनुभएको व्यक्तिको यदि अघिल्लो वर्षको आय १० लाख नाघेको भएमा फुकुओका प्रान्तको कर तिर्नु पर्ने हुन सक्दछ।

जुन १५ तिर कर तिर्न सूचना आउन सक्ने भएकोले अवश्य पनि खामभित्र हेर्नुहोला। तिर्नुपर्ने म्याद र शुल्क लेखिएको हुन्छ।

कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।

 

शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले जपत गर्ने सम्भावना हुन सक्दछ।

 

नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।

१८ वटा भाषाहरुमा, फोनमार्फत् परामर्श लिन सक्नुहुन्छ।

फोन नम्बर, ०९२-७५३-६११३ हो।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

2022.06.09[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【छाता दिवस】

जुन ११ "छाता दिवस" ​​हो। पानी सजिलै पर्ने मौसम शुरु हुनु अघि, छाताको  बन्दोबस्त गरि राखौं।

तपाईंहरुलाई छाताको हेरचाह कसरी गर्ने थाहा छ?

छाता प्रयोग गरेर घर फर्केपछि, त्यसमा भएको ओसिलोपन हटाउने र राम्रोसँग हावा चल्ने ठाउँमा सुकाउने गर्नुपर्छ।

यदि पानी फलामका भागहरूमा रह्यो भने, यसले गर्दा खिया लाग्छ।

साथै, कन्भिनी आदिमा पाईने पारदर्शी प्लास्टिकको छाताहरू प्रयोग गर्ने मानिसहरु धेरै हुनुहुन्छ होला।

डिजाइन सबै उस्तै भएकोले अर्काको छाता अनजानमा बोक्न सक्ने सम्भावना हुन्छ।

यस्तो अवस्थामा, छाता समात्ने भागमा आफ्नो मनपर्ने स्टिकर टास्नु राम्रो होला।

यसो गर्नाले आफ्नो छाता चिन्न सजिलो हुन्छ।

यदि छाता बिग्र्यो भने, प्लास्टिकको छाता भएपनि कपडाको भएपनि, नीलो फोहोर फ्याँक्ने झोलामा राखेर फ्याँकिदिनुहोस्।

छाता राख्दा झोला बाहिर निस्के पनि केही फरक पर्दैन। साथै, कपडा लगायत अन्य भागहरूसहित फाल्न सक्नुहुन्छ।

साथै, अचानक पानी पर्दा, छाता सापट लिन सकिने सेवा “आइकासा(https://www.i-kasa.com/)” को प्रयोग गरेर हेर्नुहोला।

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

हाल, तेस्रो पटक र चौंथो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

यी दुबै, दोस्रो पटक वा तेस्रो पटकको खोप लिनुभएको ५ महिना पूरा हुने समयतिर खोप कुपन हुलाक मार्फत् पठाउने गरिएको छ।

चौथो पटकको खोपका लागि लक्षित बर्गमा, ३ पटक खोप लगाई सक्नुभएका ६० वर्ष वा सोभन्दा माथिका र १८ देखि ५९ वर्ष उमेरका अन्तर्निहित रोग भएका महानुभावहरु पर्दछन्।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

खोप कुपन पाउनु भएन भने, कल सेन्टरमा फोन गर्नुहोला।

अन्तर्निहित रोग भएका व्यक्तिहरूका लागि पनि दर्ता स्वीकार गर्छौं।

५ देखि ११ वर्षका बालबालिकाहरुलाई पनि खोप दिईरहेको छ।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श लिन र बुकिंग गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ । हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ। नेपाली, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

2022.06.02[Thu] 09:00

जापानी भाषा(日本語) , चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【कोरोमो-गाए अर्थात् मौसम अनुसार लुगा परिवर्तन】

"कोरोमो-गाए अर्थात् मौसम अनुसार लुगा परिवर्तन", जुन १ तारिखमा जाडोको लुगाबाट गर्मीको लुगामा परिवर्तन गर्ने चलन हो। किन एकैपटक सबै लुगा परिवर्तन गर्ने गरेको होला त?

लुगा परिवर्तनको यो प्रचलन, हेयान अवधिमा चीनबाट शुरु भएको थियो। मियानाका कार्यक्रमको रूपमा अर्थात् सामान्य अर्थमा भन्ने हो भने राजदरबारमा आयोजना हुने कार्यक्रमहरुमा, वर्षमा दुई पटक लुगा बदल्ने गर्थे। एडो अवधिमा, किमोनोको विविधता बढेसँगै मौसम अनुसार वर्षमा चार पटक लुगा परिवर्तन गर्ने भनेर समुराई समाजद्वारा निर्णय गरियो अनि आम जनतामा पनि यो चलन फैलिएर गयो।

त्यसपछि मेइजी युगमा, अधिकारीहरू र सैन्य कर्मचारीहरूले पोशाक लगाउन थाले। क्यालेन्डर पनि

नयाँ क्यालेन्डरमा परिवर्तन भई गर्मीको लुगा र जाडोको लुगा वर्षमा दुईपटक फेर्ने चलन बन्यो।

लुगा परिवर्तन गर्ने यो चलन विद्यालय र घरपरिवारहरूमा पनि बिस्तार भई अहिलेसम्म पनि जारी छ।

 

 

【फुकुओका शहरको सूचना】

やさしい日本語ラジオ講座 अर्थात् सरल जापानी भाषा रेडियो कोर्सको परिचय

जुनदेखि “सरल जापानी भाषा रेडियो कोर्स” को प्रसारण शुरू हुन्छ!

यो कार्यक्रम, जापानी भाषा राम्ररी नबुझ्ने विदेशीहरू सबैका लागि हो, र यस कार्यक्रममा“सरल जापानी भाषा”मा बिस्तारै बोलिन्छ।

विदेशीहरुले जापानमा बसोबास गर्दा थाहा पाउनु पर्ने सूचनाहरुको बारेमा जानकारी दिईनेछ।

   

रेडियो प्रसारण, प्रत्येक शुक्रवार ११:५० बाट हो भने, पहिलो पटकको प्रसारण जुन ३ मा छ।

बुझ्न नसकेको कुरा भएमा, वा सुन्न छुटेको भएमा पनि ठिकै छ!

Love FM को होमपेजमा पोष्ट गरिएको स्क्रिप्टमा हेरेर Podcast मा बारम्बार सुन्न सक्नुहुन्छ।

कृपया यसलाई सुनेर हेर्नुहोला।

 

HIV परिक्षण सप्ताहको बारेमा

जुन १ देखि जुन ७ सम्मको १ हप्ता "HIV परिक्षण सप्ताह" हो।

रेइवा ३ मा, फुकुओका शहरको चिकित्सा संस्थानहरूले दिएको नयाँ रिपोर्ट अनुसार HIV संक्रमित व्यक्तिहरु २१ जना र एड्सका बिरामीहरू १८ जना थिए।

 

HIV संक्रमणको रोकथाम, प्रारम्भिक पहिचान र प्रारम्भिक उपचार महत्त्वपूर्ण छ।

HIV संक्रमण हुँदैमा, धेरैजसो लक्षणहरू नदेखिने भएकोले, संक्रमण छ कि छैन भनेर पत्ता लगाउन परिक्षण गर्न आवश्यक छ।

प्रत्येक वार्डको Health and Welfare Center मा, HIV परिक्षण निःशुल्क र गोप्य रूपमा गर्न सक्नुहुन्छ।

परिक्षण गर्न मिल्ने दिन तोकिएको हुनाले, कृपया जानुअघि Health and Welfare Center को होमपेज आदिबाट अग्रिम जानकारी लिनुहोला।

 

HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचारले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, आफुलाई शंका लाग्ने बित्तिकै, प्रारम्भिक परिक्षण गर्ने गरौँ।

2022.05.26[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【DJ को Choice "वर्षायाम/ गर्मी मौसमको लागि तयारी गरौं"】

आजकल एकदम न्यानो हुँदै आएको छ। अब चाँडै जुन महिना पनि आउनै लाग्योI त्यसपछि त पूर्ण रुपमा गर्मी, अनि धेरै पानी पर्ने वर्षायामको मौसम शुरु हुन्छ।

 

जापानको गर्मी मौसम र वर्षायामको विशेषताहरूको बारेमा जानकारी

जापानको गर्मीको विशेषता भनेको उच्च तापक्रम र अधिकतम आर्द्रता हुनु हो।

जापानमा जुनतिर धेरै बादल लाग्ने अनि धेरै वर्षा हुने गर्छ, जसलाई "चुयु अर्थात् वर्षायाम" भनिन्छ।

वर्षायामको शुरुवातलाई "चुयुइरी" भनिन्छ भने, अन्त्यलाई चाहिं "चुयुआके"।

क्षेत्र वा सो वर्षको आधारमा वर्षायामको अवधिमा फरक हुन्छ, तर फुकुओकामा " चुयुआके अर्थात् वर्षायामको अन्त्य" लगभग धेरैजसो जुलाईको मध्यतिर पर्छ।

वर्षायाम पछि, " मोउस्यो " अर्थात् चरम गर्मी भनिने, तापमान ३५ डिग्री भन्दा बढी हुने दिनहरु क्रमशः बढ्नेछन्।

सबैजनाले गर्मीको लागि तयारी गरि राखौं।

       

लू लाग्न र घामबाट डढाउनेदेखि सावधान होऔं!

जापानमा बस्नु हुँदा गर्मी मौसममा धेरैजसो सुनिने शब्द हो, "नेच्च्युस्योउ" अर्थात् लू लाग्नु । यो जापानमा एक किसिमको मौसमी रोग।

गर्मीको तन्तलापुर घाममा लामो समय बस्दा वा व्यायाम गर्दा, चक्कर लाग्ने, वाकवाकी लाग्ने, बेहोस हुने, टाउको दुख्ने जस्ता लक्षणहरु देखा पर्छन्। घर बाहिर मात्र नभई, घर भित्र पनि लू लाग्ने सम्भावना भएकोले सावधान रहनु जरुरी छ। अत्याधिक गर्मीबाट बच्न,

 

  • सकेसम्म चर्को घामबाट जोगिएर, छाँयामा वा शीतल कोठामा बस्ने गरौं।
  • बाहिर निस्कँदा, टोपी वा छाताको प्रयोग गरेर घामबाट जोगौं तथा कठिन व्यायाम गर्नबाट टाढा रहौं।
  • घाँटीलाई चिसो बनाउनको लागि गम्छा जस्ता लू लाग्नबाट बचाउने सामानहरूको प्रयोग गरौं।
  • ध्यानपूर्वक शरीरमा पानीको मात्रा आपूर्ति गर्ने गरौं।

 

* नयाँ कोरोनाभाइरस संक्रमणको प्रभावको कारण, दैनिक रुपमा मास्क लगाउने हुनाले, आफूलाई तिर्खा लागेकोतिर ध्यान नजान सक्छ। गर्मीमा मास्क लगाउँदा अझ धेरै गर्मीको प्रभाब बढ्ने सम्भावना हुने भएकोले कृपया ध्यान दिनुहोला।

 

पछिल्ला वर्षहरूमा वर्षायामदेखि गर्मी मौसमसम्म बाढीको प्रकोप बढ्दै आएको छ। सावधानी तथा तयारी सम्बन्धि

वर्षायामको समयदेखि शरद ऋतुसम्म, जापानमा समुन्द्री आँधी नजिकिने र आउने धेरै हुन्छन्, जसले गर्दा भारी वर्षात्, बाढी, आँधीबेहरी, उच्च ज्वार भाटा आदि उत्पन्न हुन्छन्।  

हालैका वर्षहरूमा, भारी वर्षाले क्युस्युमा शृङ्खलाबद्ध प्रकोपहरू निम्त्याएको थियो।

विपद् आईपर्दा कस्तो कदम चाल्नुपर्छ, कहाँ आश्रय लिनुपर्छ, आफू बस्ने क्षेत्रको खतरा संकेत नक्सा आदिको बारेमा अग्रिम रुपमा जानकारी राख्ने गरौं।

फुकुओका सिटिको साइट (https://www.city.fukuoka.lg.jp/bousai/bousaiforeigner.html)

बाट विपद् रोकथाम सम्बन्धि जानकारीहरु पाउन सक्नुहुन्छ।

2022.05.19[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

फुकुओकाको पहाडी क्षेत्र, प्रमुख फलफूलहरु उत्पादन गर्ने क्षेत्रको रुपमा जापानभरि चिनिन्छ। "चेरी" फल मे महिनामा फल्ने लोकप्रिय फल होI फुकुओका प्रान्तमा रहेको चेरी फार्ममा चेरी फल टिपेर मनोरञ्जन लिन जोडीहरु, परिवारहरु आदि लगायत धेरै पर्यटकहरू जाने गर्छन्। फसल काटेको २-३ दिन पछिको चेरी बिना प्रशोधन खान मिल्छ भने, ताजा टिपेका चेरी बिशेष रूपमा स्वादिष्ट हुन्छ।

स्वादिष्ट चेरी पहिचान गर्ने केही तरिकाहरु छन्। जस्तै कि, फल ठूलो अनि पोष्ट भएको, बोक्रा नफातिएको, बाहिरी सतहमा नकोरिएको वा चिरा नपरेको। डाँठको भाग नओइलाएको।

यसलाई भण्डारण गर्दा, फ्रिजमाभन्दा पनि कोठाभित्रको शीतल ठाउँमा राख्ने। चिसो गर्न चाहनु भएमा, यसलाई खानुभन्दा २ घण्टा अगाडि जति फ्रिजमा राख्नु राम्रो हुन्छ।

 

 

फुकुओका शहरको सूचना

हलुका सवारी साधन कर सम्बन्धि

यो फुकुओका शहरको सूचना हो।

मोटरबाईक वा हलुका कार भएकाहरुले, अप्रिल १ मा हलुका सवारी साधन कर तिर्नु जरुरी छ।

यदि तपाईंसँग मोटरबाईक वा हलुका कार छ भने, हुलाक मार्फ कर तिर्नका लागि सूचना आउन सक्छ, अवश्य पनि भित्र हेर्नुहोला। मे को ३१ सम्ममा कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।

 

यदि तपाईंले मोटरबाईक आदिको शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले कब्जा गर्ने सम्भावना पनि छ।

नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।

 

१८ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ। फोन नम्बर, ०९२-७५३-६११३ ।

 

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

2022.05.12[Thu] 09:00

अन्य(その他)

【अन्तर्राष्ट्रिय परिवार दिवस】

मे महिनाको १५ तारिक "अन्तर्राष्ट्रिय परिवार दिवस" ​​हो।

संयुक्त राष्ट्र संघको महासभाले सन् १९९३ देखि हरेक वर्ष मे १५ लाई विश्वभरका देशहरूमा पारिवारिक समस्याहरूप्रति जागरुकता बढाउन र परिवारसँग सम्बन्धित मुद्दाहरुमा काम गर्ने क्षमता बढाउन अवसरको रुपमा तोकिएको दिन हो ।

जापानमा बस्दै गर्दा, काम वा पढाई विशेषले त्यति नेपाल जान पाईराख्नु भएको छैन होला, तर आजकल इन्टरनेट, ईमेल, भ्वाइस कल वा भिडियो कल आदिको सुबिधाको कारण सजिलै आफ्नो परिवारजनसँग सम्पर्क गर्न सकिन्छ।

हुन पनि, सबैभन्दा नजिकको र महत्त्वपूर्ण भनेको नै परिवार हो। हामीले जति बाआमा र परिवारको बारेमा सोच्छौं, त्यो भन्दा बेसी उहाँहरुले हाम्रो बारेमा पिर लिनु हुन्छ।

परिवारमा सबै ठिक छ कि छैन, केहि समस्या आईपर्यो कि भनेर मनमा कुरा खेल्दा, आफ्नो परिवारलाई सम्पर्क गरि कुराकानी गर्ने गरौँ। आफ्नो घरपरिवार तथा साथीभाईहरुसँग नियमित रुपमा सम्पर्क राख्ने गरौँ!

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

टोल फ्री नम्बर उपलब्ध गरिएको छ !

कुनै शुल्क बिना फोन गर्न सकिने नयाँ फोन सेवा उपलब्ध गरिएको छ।

नम्बर रहेको छ, ०१२०-६६-१७९९ । पहिले जस्तै, बिभिन्न भाषाहरूमा यो सेवा उपलब्ध छ।

कृपया नहिचकिचाइकन सम्पर्क गर्नुहोस्!

 

"LINEआधिकारिक Accountबनाइएको" बारे सूचना

 "Fukuoka City Consultation Support Center for Foreign Residents" को LINE आधिकारिक Account बनाइएको छ।

फाउन्डेशनको कार्यक्रमहरू तथा तपाईंहरुको दैनिक जीवनका लागि उपयोगी जानकारीहरु आदि यसमा पठाउने गर्छौं।

यस अतिरिक्त, LINE कल प्रयोग गरि टेलिफोन मार्फत् जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शहरू प्राप्त गर्न सक्नुहुन्छ।

टेलिफोन दोभाषे सेवामा बहुभाषी सेवा पनि सम्भव छ।

च्याटमा सेवा उपलब्ध नहुने भएकोले कृपया ध्यान दिनुहोला।

Text मार्फत् परामर्श गर्न चाहनुहुन्छ भने, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको" वेबसाइटमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

LINE मा Friend add गर्दा, कृपया ID "@ 111dhfna" राखी खोज्नुहोस्।

 

ट्यूटर प्रोग्रामको परिचय

जापानी भाषामा लेखिएको स्कूलको पत्रहरू वा मेल अर्डर मार्फत खरिद गर्नुभएको सामान फिर्ता गर्न चाहनु भएको समयमा जापानी भाषामा कारण व्याख्या गर्न आदि जस्ता; जापानी भाषा वा दैनिक जीवनमा समस्या भईरहेका विदेशीहरूको सहयोग गर्ने "ट्यूटर प्रोग्राम" को परिचय दिनेछु।

फाउण्डेसनमा रजिस्टर भएका स्वयंसेवकहरु प्रत्यक्ष वान् टु वान् ट्यूटर हुने, र उहाँहरुसँग अनलाइनमा सरल अनुवादका लागि अनुरोध तथा दैनिक जीवन सम्बन्धि सल्लाह माग्न सक्नुहुन्छ।

ट्यूटरसँग अनलाइन कुराकानी गर्न सक्ने, फुकुओका शहरमा बस्नु हुने विदेशी महानुभावहरु, जो कोहीले पनि यसको प्रयोग गर्न सक्नुहुन्छ। प्रयोग शुल्क निःशुल्क हो।

प्रयोग गर्ने तरिका आदि अधिक जानकारीको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क राख्नुहोला।

सोमबारदेखि शुक्रबार ९:०० देखि ६:०० बजेसम्म कल स्वीकार गरिन्छ। अवश्य सम्पर्क राख्नुहोला।

2022.05.05[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【माछा खाने पसल】

फुकुओका सिटि, शहर भए पनि समुन्द्र र पहाडको नजिक भएकोले यहाँ विभिन्न सामग्रीहरु पाउन सजिलो छ।

फुकुओका शहर रामेन र उडोनका लागि देशभर प्रसिद्ध छ। के तपाईंहरुले खानु भयो त ?

यद्यपि, फुकुओका शहरमा माछाका परिकारहरू पनि धेरै स्वादिष्ट छन्!

प्रति १००,००० जनसंख्यामा माछा पसलको अनुपातलाई हेर्ने हो भने, फुकुओका शहर जापान भरिमा प्रथम स्थानमा छ।

फुकुओका शहरमा नागाहामा सेन्ग्यो इचिबा (नागाहामा माछा बजार) छ र यहाँबाट ताजा माछाहरू जापानभर पठाइन्छ। बजारभित्र रेस्टुरेन्ट पनि छ जहाँ, तपाईं सुशी र टेम्पुरा जस्ता जापानी खानाको मजा लिन सक्नुहुन्छ।

ओसाशिमी जस्ता काँचो माछा नखानेहरुका लागि, फ्राइड टेम्पुरा खानु उपयुक्त होला।

फुर्सदको समयमा एकपटक नागाहामा माछा बजार घुम्दा कसो होला!

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

दोस्रो पटकको खोप लिईसक्नु भएका, १२ वर्षका वा सोभन्दा माथिका फुकुओका शहरको नागरिकहरुलाई, फुकुओका शहरले तेस्रो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

तर, दोस्रो पटकको खोप लगाएको लगभग ६ महिनापछि पनि खोप कुपन पाउनु भएन भने, कल सेन्टरमा फोन गर्नुहोला।

५ देखि ११ वर्षका बालबालिकालाई पनि खोप दिईरहेको छ ।

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श लिन र बुकिंग गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ । हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ। अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

बसोबास कर छुट भएका परिवारहरूका लागि आपतकालीन विशेष अनुदान रकमको सूचना

नयाँ कोरोनाभाइरसको सङ्क्रमको प्रभाव लामो समयसम्म रहिआएको कुरालाई मध्यनजर गरि, जापान सरकारले जिविकोपार्जनमा टेवा पुर्‍याउन, बसोबास कर छुट भएका परिवारहरूलाई प्रति परिवार १,००,००० येन नगद उपलब्ध गराउने निर्णय गरेको छ।

भुक्तानीका लागि योग्य भएका परिवारहरुलाई फुकुओका सिटि नगरपालिकाले अनुदान रकमको विवरण वा पुष्टि गर्नुपर्ने बिषयवस्तुहरु उल्लेखित पुष्टिकरण पत्र पठाएको छ।

अनुदान रकम प्राप्त गर्नका लागि प्रक्रियाको आवश्यक पर्छ।

पुष्टिकरण पत्र प्राप्त गर्नुहुने महानुभावहरुले विवरणको राम्ररी जाँच गरि, पुष्टिकरण जारी भएको मितिबाट ३ महिना भित्र फिर्ता पठाउनुहोस्।

अनुदानरकमको बारेमा परामर्श लिन सकिने कल सेन्टरको फोन नम्बर रहेको छ,  ०१२०-०१८-०९२।

सोमबारदेखि शुक्रबार, बिहान ९:०० देखि बेलुका ६:०० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी, स्पेनिश र पोर्चुगिज भाषाहरूमा परामर्श लिन सकिन्छ।

2022.04.28[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【गोल्डेन वीक कसरी बिताउनुहुन्छ?】

जापानमा अप्रिल महिनाको अन्तदेखि मेको शुरुको हप्तातिर लगातार धेरै बिदाहरू हुने अवधिलाई गोल्डेन वीक भनिन्छ।

 

・ <जापानको गोल्डेन वीकको परिचय>

गोल्डेन वीकमा "शोवा दिवस (४/२९)", "संविधान दिवस (५/३)", "हरियाली दिवस (५/४)" र "बाल दिवस (५/५)" समावेश छन्। यी बिदाहरूलाई शनिबार र आइतवारसँग जोड्दा करिब १ हप्तादेखि १० दिनसम्मको लामो बिदा हुन्छ।

गोल्डेन वीकको नामको उत्पत्तिको बारेमा विभिन्न सिद्धान्तहरू छन्, तर  रेडियोमा उच्चतम श्रोताको प्रतिशत हुने समय  अवधि  "गोल्डेन टाइम" बाट "गोल्डेन वीक" भएको भनिन्छ।

 

・ <गोल्डेन वीकको योजना>

लामो बिदामा के गर्ने, कसरी रमाइलो गरि मनाउने भनेर तपाईंहरु पनि म जस्तै योजना बनाउँदै हुनुहुन्छ होला। मेरो चाहिं गोल्डेन वीकको एक दिन परिवारसँग नोकोनो सिमामा घुम्ने योजना छ। अर्को दिन, घरमा साथीहरु बोलाएर मःमः पार्टी गर्ने, त्यस्तै, फुकुओका वनस्पति उद्यानमा साथीभाई तथा परिवारसहित घरमै पकाएर पिकनिक गर्ने आदि जस्ता योजनाहरु छन्।

 

・ <फुकुओकामा गोल्डेन वीकको समय घुमघाम गर्न सुझावजन्य स्थलहरु>

फुकुओका शहरभित्र पनि घुमघामका लागि धेरै स्थलहरु छन्, त्यसमा पनि विशेष गरी यस वर्ष, ८०० वर्ष भन्दा बढीको इतिहास बोकेको महोत्सव  "हाकाता डोन्टाकु मिनातो महोत्सव" तीन वर्ष पछि फुकुओकामा आयोजना हुन गईरहेको छ।

 

"हाकाता डोन्टाकु मिनातो महोत्सव" भनेको,  प्रत्येक वर्ष मे ३ र ४ मा, सबै उमेरका पुरुष-महिलाहरूले स्वतन्त्र रुपमा पोशाक लगाई, काठको पन्यू बजाउदै शहरको परिक्रमा गर्ने परेड, स्थानीय रुपमा बनाईएका स्टेज र खुला ठाउँमा नृत्यको प्रस्तुति आदि जस्ता सम्पूर्ण शहरलाई जीवन्त बनाउने इभेन्ट हो।

साथै, अप्रिल २५ मा, "LaLaport Fukuoka" नामक ठूलो सपिङ मल खोलिएको छ। त्यहाँ किनमेलको अतिरिक्त, रेस्टुरेन्ट, सिनेमा हल, खेलकुद लगायत  बच्चाहरूलाई खेलाउने धेरै सुविधाहरू पनि छन्!

 

・ < FUKUOKA EAST & WEST COAST को बारेमा>

साइकलमा घुम्न वा बाहिरी गतिविधिहरूको आनन्द लिन चाहनेहरूका लागि, समुद्री किनार क्षेत्रमा घुम्न अति उत्तम हुन्छ।

उहाँहरुले फुकुओकामा, पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा विभिन्न आकर्षणहरूको अनुभव गर्न सक्नुहुन्छ।

 

・ पूर्वी क्षेत्र: सुन्दर नीलो समुद्रले घेरिएको, इतिहास महसुस गर्न सकिने "शिकानोसिमा" ।

टापुको प्रतीकको रुपमा चिनिने "शिकाउमी जिन्ज्या" सानो पहाडमा अवस्थित छ। मन्दिर जाने बाटोमा ताजा समुद्री खानाको स्वादको आनन्द लिन सक्नुहुन्छ त्यस्तै, किनमेलको पनि मजा लिन सक्नुहुन्छ।

शिकानोसिमाको बाहिरी परिधि करिब १२ किलोमिटर छ, यदि साइकलबाट घुम्ने हो भने करिब एक घण्टा जति मात्र लाग्छ।

साइकल राम्ररी जान्नेहरुका लागि मात्र नभई, भर्खर सिकेकाहरूले पनि ढुक्क भई यसको मजा लिन सक्नुहुन्छ।

हाकाता फुतोउमा रहेको "Bayside Place Hakata" बाट, शिकानोसिमामा जाने जहाज छ, त्यसमा आफ्नो साइकल चढाएर लैजान सक्नुहुन्छ। साथै, शिकानोसिमा र उमी नो नाकामिची क्षेत्रमा साइकल भाडामा पनि लिन सक्नुहुन्छ।

 

・ पश्चिमि क्षेत्र: सुन्दर तटरेखा, फोटो स्पटहरु, आकर्षक क्याफेहरू आदि एकै ठाउँमा भएको "किटाजाकी क्षेत्र"।

तेन्जिनबाट एक घण्टा भित्र पुग्न सकिने " किटाजाकी क्षेत्र" मा, समुद्रमा माछा मार्न सकिने पार्क, ग्ल्याम्पिङ सुविधा, आकर्षक क्याफेहरू, फोटो स्पटहरु आदि जस्ता मनोरञ्जन लिन सकिने धेरै ठाउँहरू छन्।

त्यस्तै, इटोशिमा हान्तोउको परिक्रमा गर्न साइकल भाडामा लिन सक्नुहुन्छ वा भर्खर सिकेकाहरुले पनि मनोरञ्जन लिन सकिने SUP (स्ट्यान्ड अप प्याडलबोर्ड)को अनुभव गर्न सक्नुहुन्छ।

किटाजाकी क्षेत्रमा जान, सबवे एयरपोर्ट लाइन वा JR चिकुही लाइनमा चढेर, "क्युउदाई गाक्केनतोशी एकी" मा ओर्लिएर, फेरी शोवा बसमा चढ्नुपर्छ।

 

・ बिस्तृत जानकारीको लागि, कृपया फुकुओका शहरको पर्यटक सूचना साइट "योकानाबि" मा "FUKUOKA EAST & WEST COAST" राखी खोज्नुहोस्।

 

कृपया बाहिर निस्कँदा, कोरोनाभाइरस संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौं। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने हो। 

 

तपाईंहरु सबैको गोल्डेन वीक बिदा रमाईलो रहोस् भन्ने कामना गर्दै आजलाई यति नै!

2022.04.21[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【विश्व पृथ्वी दिवस】

हरेक वर्ष अप्रिल २२ तारिख विश्व पृथ्वी दिवस हो। पृथ्वी र वातावरणको बारेमा मनन गरेर, सुन्दर प्राकृतिक वातावरणप्रति आभार व्यक्त गर्ने दिन हो।

यो विचार सन् १९६९ मा आयोजना भएको युनेस्कोको सम्मेलनबाट आएको थियो। लगत्तै अर्को वर्ष,

संयुक्त राज्य अमेरिकाको सिनेटर नेल्सनले अप्रिल २२ मा वातावरणीय मुद्दाहरूमा बहस गर्न बैठक बस्न आह्वान गर्नुभएको घटनाबाट विश्व पृथ्वी दिवस शुरु भएको थियो।

जापानमा सन् १९९० मा प्रथम पटक विश्व पृथ्वी दिवस शुरु भएदेखि, हरेक वर्ष यस दिन प्रत्येक क्षेत्रमा विश्व पृथ्वी दिवसका कार्यक्रम तथा परियोजनाहरू आयोजना हुँदै आईरहेको छ।

SDGs (दिगो विकासका लक्ष्यहरू) मा केन्द्रित भई लाग्न आवश्यक अहिलेको युगमा, दैनिक जीवनयापनमा वातावरणको लागि केहि गर्न सकिन्छ कि भनेर विचार गरि हेरौं।

उदाहरणका लागि, अनावश्यक रुपमा बत्तीहरु नबाल्ने, फोहोर कम गर्ने आदि जस्ता सरल रुपमा गर्न सकिने दैनिकी कुराहरुबाट शुरु गरि हेर्दा कस्तो होला?

 

 

【फुकुओका शहरको सूचना】

फोहर फ्याँक्ने नियम सम्बन्धी

फुकुओकामा नयाँ जीवनयापन शुरु गर्नुहुने धेरै संख्यामा हुनुहुन्छ होलाI

यसपटक, फोहर फ्याँक्ने नियम सम्बन्धी सूचना रहेको छI

 

फुकुओकामा फोहरलाई तीन किसिममा विभाजन गरी फ्याँक्ने गरिन्छ।

जल्ने फोहर, खाली सिसाको बोतल/प्लास्टिकको बोतल, अनि नजल्ने फोहर गरी ३ किसिमका हुन्छन्I

कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहोर फाल्ने गर्नुहोस्।

 

जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला होI

कच्चा फोहोर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्I

खाली क्यान र गिलास जस्तालाई, नजल्ने फोहरको रुपमा, निलो फोहर-फाल्ने-झोलामा फाल्नुहोस्I

खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नको लागि, पहेंलो रंगको फोहर-फाल्ने-झोला प्रयोग गर्नुहोस्I

 

बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ। 

जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १पटक संकलन हुन्छI

फोहर मध्यरात संकलन हुनेभएकोले अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्नुहोस।

 

फुकुओका शहरको आधिकारिक LINE ID मा Friend add गरेर, तपाईंको ठेगाना राख्नु भयो भने, LINE बाट फोहोर फाल्ने दिनको बारेमा जानकारी उपलब्ध गराईन्छI

फाल्न चाहनुभएको फोहोरको नाम राख्नुभयो भने, फोहोरको किसिम पनि जान्न मिल्ने भएकोले यो एकदम उपयोगी छI

 

एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्I

ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गरेर  संकलन गराउन सक्नुहुन्छ।

कृपया शुल्क, फोहोर फाल्ने ठाउँ, मिति, इत्यादि जाँच गरेर फोहोर बाहिर राख्नुहोस्।

 

फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, ०९२-७३१-११५३ I

१८ वटा  भाषाहरुमा यो सेवा उपलब्ध छI

2022.04.14[Thu] 09:00

अन्य(その他)

【फुकुओका शहरको यातायातको परिचय】

यस वसन्तदेखि फुकुओका शहरमा आउनु भएका सबैजना, यहाँको नयाँ जीवनयापनमा भिज्नु भयो कि भएन?

कसरी फुकुओका शहरमा आवतजावत गर्दैहुनुहुन्छ होला?

साइकल आवतजावत गर्न सस्तो र सुविधाजनक साधन हो, तर धेरै मानिसहरू भएको ठाउँमा साइकल दोहोर्याएर हिंड्नु जस्ता शिष्टाचारको पालना गर्ने गरौं। साथै, साइकल पार्किङ गर्ने ठाउँ बाहेक अन्य ठाउँमा साइकल पार्क नगरौं।

 

फुकुओका शहरभित्र आवतजावतका लागि निशितेचु बस र सबवेको प्रयोग गर्न सुझाव दिईन्छ ।

विभिन्न स्थानहरूमा बस स्टपहरू र सबवे स्टेशनहरू छन्।

सस्तो अनि, साइकल पार्क गर्न चिन्ता पनि लिनु पर्दैन।

यदि धेरै मानिसहरू वा सामानहरू छन् भने, तपाईं ट्याक्सी लिन सक्नुहुन्छ।

यदि तपाईं पैसा पनि बचाउन चाहनुहुन्छ अनि, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न चाहनुहुन्छ भने, हिड्नुहोस्! यो नै सबैभन्दा उत्कृष्ट उपाय हो।

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्शको परिचय

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईंले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।

काउण्टर दिउँसो ३:३० बजेसम्म खुल्ला रहनेछ।

 

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैनI

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

 

विस्तृत जानकारीका लागि, निःशुल्क फोन सेवा नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोलाI

सोमबारदेखि शुक्रबार ९:०० बजेदेखि १८:०० बजेसम्म कल स्वीकार गरिन्छ I

 

कानूनी परामर्शको परिचय

अर्को जानकारी रहेको छ, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” को बारेमा।

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट, बुकिंगको आधारमा वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छI

भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोलाI

बुकिंग, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा रहेको बुकिंगफारम मार्फत् गर्न सक्नुहुन्छI

पहिले आउनेलाई पहिलो प्राथमिकता दिने भएकोले सर्वप्रथम फोनमार्फत परामर्शको निम्ति बुकिंग गर्नका लागि सुझाब दिन्छौंI

निःशुल्क फोन सेवा नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोलाI

सोमबारदेखि शुक्रबार, बिहान पौने ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छI

 

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकाले ढुक्क भएर परामर्श लिनुहोस्I

नयाँ कोरोनाभाइरस संक्रमण रोक्नको लागि, यहाँ आउनुहुँदा सकेसम्म मास्क लगाउन र हात धुनका लागि अनुरोध गर्दछौंI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ