福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2024.10.10[Thu] 09:00
बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【आँखा सुरक्षा दिवस】
अक्टोबर १० तारिकलाई "आँखा सुरक्षा दिवस" भनेर मनाइन्छ, जुन दिन आँखा जोगाउन र स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिन्छ।
आजकल धेरै मानिसहरू हरेक दिन स्मार्टफोन, कम्प्युटर, र ट्याब्लेट प्रयोग गर्छन्। तर, लामो समयसम्म यी उपकरणहरूको प्रयोगले आँखामा चाप पर्न सक्छ, जसले गर्दा दृष्टि कमजोर हुनुका साथै काँध दुख्ने, टाउको दुख्ने, वा वाकवाकी लाग्ने जस्ता समस्याहरु पनि देखा पर्न सक्छन्। अहिलेको जमानामा काम वा अध्ययनको लागि यी उपकरणहरूको प्रयोग आवश्यक हुन्छ, तर प्रयोग गर्दा आँखाको हेरचाह गर्ने कुरा बिर्सनु हुँदैन।
लामो समयसम्म काम गर्दा ध्यान दिनुपर्ने कुराहरू:
ढाड सिधा राखेर, आँखा र उपकरणबीचको दूरी ३० सेन्टिमिटरभन्दा टाढा राख्नुहोस्।
टेबल र कुर्सीको उचाइ, बत्ती, र प्रकाशको व्यवस्थालाई ठीक गर्नुहोस्, र प्रत्येक १ घण्टामा १०-१५ मिनेट आँखा आराम दिनुहोस्।
नियमित रूपमा आँखा झिम्क्याएर आँखा भिजाइराख्नुहोस्।
कहिलेकाहीँ टाढा हेर्नुहोस् वा हरियाली र प्रकृतिमा ध्यान दिनुहोस्।
थकान महसुस हुँदा न्यानो तोलिया प्रयोग गरेर आँखालाई आराम दिनुहोस्।
यदि तपाईले चस्मा वा कन्ट्याक्ट लेन्स प्रयोग गर्नुहुन्छ भने, बेला–बेला जाँच गरी सही नम्बरको प्रयोग गर्नुहोस्।
सूर्यको किरणले पनि आँखा डढाउँछ, त्यसैले सनग्लास लगाएर सुरक्षाका उपायहरू अपनाउनुहोस्।
पर्याप्त निद्रा र पोषण पनि आँखा स्वास्थ्यको लागि महत्त्वपूर्ण छ।
दैनिक जीवनमा आँखा स्वस्थ राख्न यी उपायहरू अनुसरण गर्न प्रयास गरौं।
【फुकुओका शहर/फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"Environmental Festival Fukuoka 2024 को परिचय"
यो हप्ता, अक्टोबर २६ (शनिबार) र २७ (आइतबार) गरि दुई दिनको लागि, फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको फुरेआई हिरोबा र सोलारिया प्लाजा १ तलामा आयोजना हुन गईरहेको कार्यक्रम "Environmental Festival Fukuoka 2024" को बारेमा जानकारी छ।
कार्यक्रम बिहान १० बजे देखि साँझ ४ बजे सम्म हुनेछ। प्रवेश निःशुल्क छ।
फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको फुरेआई हिरोबामा, स्वादिष्ट र रमाइलो किचन कारहरू हुनेछन्! पर्यावरणमैत्री खाद्यान्न सामग्रीहरु प्रयोग गरेर बनाईएको किमा करि र मिठाईहरू उपलब्ध हुनेछन्।साथै, फुकुओकाको बास्केटबल टोली "राइजिंग जेफर" को सहयोगमा, जल्ने फोहोर, नजल्ने फोहोर तथा प्लास्टिक बोतलहरू जस्तै देखिने बललाई हानेर सही ठाउँमा फ्याँक्ने खेलमार्फत, फोहोर छुट्याउने तरिका सिक्न सक्नुहुन्छ।
हलिवुड चलचित्रमा देखिने "डेलोरियन" कार पनि प्रदर्शन गरिनेछ। यो कारभित्र बसेर फोटो खिच्न सकिन्छ। साथै, त्यहाँफ्री मार्केट पनि हुनेछ।
सोलारिया जेफरमा, स्कुल र कलेज विद्यार्थीहरूले पृथ्वी बचाउन नायक बन्ने उद्देश्यले क्विज खेल्नेछन्, जहाँ रमाइलो तरिकाले वातावरणको बारेमा सिक्न सकिन्छ। "फुकुओकाको फोहोरबाट बनेको कला प्रदर्शनी" मा तपाईको दैनिकीलाई कलाको माध्यमबाट देखाइनेछ। त्यहाँ स्टाइलिश र पर्यावरणमैत्री सामानहरूको बिक्री पनि गरिनेछ।
बालबालिकादेखि वयस्कहरूसम्मले रमाइलो गर्दै वातावरणको बारेमा धेरै कुरा सिक्न सक्ने विभिन्न गतिविधिहरू हुनेछन्। " Environmental Festival Fukuoka 2024" मा सहभागी भई नजिकको इको-फ्रेन्डली कुराहरूको अनुभव गरौं र रमाइलो गरौं!
“अक्टोबर २२ तारिक, नाराया सामुदायिक केन्द्रमा शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा” सम्बन्धी सूचना
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिनाको चौथो मंगलबार, आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
अक्टोबरमा यो कक्षा २२ तारिकमा सञ्चालन हुनेछ।
समय बिहान १०:३० देखि ११:३० सम्म हो।
अक्टोबर महिनाको विषयवस्तु "अभिभावक-बच्चा उद्धार तालिम" हो। बच्चाहरूको आकस्मिक घटनाको लागि तयारी गर्न, फुकुओका सिटी विपद् व्यवस्थापन केन्द्रका कर्मचारीहरूबाट जीवनरक्षक प्राथमिक उपचार विधिहरू सिक्न सक्नुहुन्छ।
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनकोहोमपेज वा फेसबुकमा हेर्नुहोस्।