ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.266

2025.05.01[Thu] 09:00

【कुओकाको गोल्डेन वीक सम्बन्धि जानकारी】

यस वर्ष पनि "गोल्डेन वीक" को समय आएको छ।
यस साता देखि अर्को साता सम्म फुकुओकामा आयोजना हुने केही इभेन्टहरूको जानकारीहरु लिएर आएकी छु।

 

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सामाजिक सञ्जाल र मिडियामा निकै चर्चित 【क्राफ्ट ग्योज़ा फेस्ट】 फुकुओकामा आयोजना हुँदैछ। सरल नेपालीमा भन्ने हो भने यो मःमः फेस्टिवल हो।
यसपटक, जापानभरिबाट आएका १४ वटा ग्योज़ा पसलहरू, साथमा फ्राइड राइस, ड्रिंक र डिजर्टका पसलहरू पनि सहभागि छन्।
लोकप्रिय याकी ग्योज़ा, सुई ग्योज़ा, आगे ग्योज़ा, मुसि ग्योज़ा लगायत अन्य अनौठा स्वादका ग्योज़ाहरू पनि उपलब्ध छन्।
२८ प्रकारका ग्योज़ा छन्, जसको हरेक पक्षमा खास ध्यान दिइएको छ; चाहे त्यो ग्योज़ाको खोल होस्, भित्रको भराइ, वा साथमा दिने अचार।
ग्योज़ा मन पराउने सबैका लागि उपयुक्त, यो १२ दिने फेस्टिबलमा, क्राफ्ट ग्योज़ा र क्राफ्ट बियर भरपूर पाइनेछ।
कार्यक्रम फुकुओका शहरको माईजुरु पार्कमा, बिहान ११ बजेदेखि राति ९ बजेसम्म।
समाप्ति मिति अर्को साता मंगलबार, मे ५।

 

अर्को कार्यक्रम “खाना” र “संस्कृति” को मिलन भन्ने बिषयमा छ।
【फुकुओका ज्योउ नाइट मार्केट GW स्पेशल】 नामक यो इभेन्ट माईजुरु पार्कको पूर्व अदालत स्थलमा भइरहेको छ। यो मार्केट मे ६ तारिकसम्म चल्नेछ।
रातमा उज्यालो पारिएको सुन्दर किल्लाको दृश्यबीच, स्थानीय खानाका स्टलहरू, सरसजावट तथा सानातिना थरिथरिका सामग्रीहरू बिक्री हुने पसलहरू हुनेछन्।
फुकुओका भित्रका चर्चित रेस्टुरेन्ट र विशेष पसलहरूको उत्कृष्ट खानाका साथै, लोकप्रिय किचन कारहरू पनि हुनेछन्।
यो कार्यक्रममा भाग्य जाँच, वर्कशप र परम्परागत खेलकुद जस्ता रमाइलो गतिविधिहरू पनि हुने भएकोले बुढाबुढीदेखि बच्चासम्म सबैले रमाउन सक्ने कार्यक्रम हो।
समय दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म।
रातको शितल हावासँगै संगीत र प्रदर्शनले भरिएको फुकुओकाको नयाँ नाइट स्पटको आनन्द लिननुहोस्।

 

अब अर्को रमाइलो कार्यक्रमको कुरा गरौं!
यो कार्यक्रमस्थल तेनजिन स्टेशनबाट सजिलै पुग्न सकिन्छ, र स्टेशनकै नजिकैको खुला मैदानमा आयोजना हुने भएकाले झन् सुविधाजनक छ। हरेक वर्ष ३०,००० भन्दा बढी मानिसहरु सहभागी हुने यो इभेन्ट यस वर्ष १५ औं पटक आयोजना हुँदैछ।【क्युशु क्राफ्ट बियर वीक】 नामक यो लोकप्रिय कार्यक्रम, यस पटक ३८ वटा क्युशु र यामागुचिको ब्रुअरीहरूले ल्याएका ८० प्रकारका क्राफ्ट बियरहरू सहित, अप्रिल २९ (यो साता मंगलबार) देखि मे ५ (अर्को साता सोमबार) सम्म तेनजिन चुओ पार्क, किहिनखान अगाडिको खुला मैदानमा आयोजना हुँदैछ। खुला ठाउँको रमाइलो माहोलमा, यहीँ मात्र पाइने विशेष स्वादका क्राफ्ट बियर र स्वादिलो खानाको मजा एकै साथ लिन सकिन्छ।

यसपालि जापानमा क्राफ्ट बियर शुरु भएको ३० औं वर्ष भएको उपलक्ष्यमा, जापानका अनुभवी र नयाँ, दुबै प्रकारका उत्पादनकर्ताहरूले आफ्ना विशेष बियर ल्याएका छन्।
बियर मन पराउनेहरूका लागि यो दुर्लभ बियर चाख्ने सुन्दर मौका हो।
कार्यक्रम बिहान ११ बजेदेखि राति ९ बजेसम्म संचालन हुनेछ। त्यसैले बिदाको दिनको दिउँसो होस् वा कामपछि थकान मेट्न, यो राम्रो अवसर हुन सक्छ।

 

अन्त्यमा, 【नाइट एक्वेरियम】।
फुकुओका शहरको पूर्व क्षेत्रमा रहेको Marin World Uminonakamichi मा, मे ६ सम्मको बिदामा, संग्रहालय राति ९ बजेसम्म खुला हुने गर्दछ।

【नाइट एक्वेरियम】 मा, साँझ ६ बजेदेखि संग्रहालयको प्रकाश विशेष रूपमा परिवर्तन हुन्छ, जसले गर्दा तपाईंले पानीजन्तुहरूलाई रातको वातावरणमा, रमाइलो र रहस्यमय प्रकाशमा हेर्न सक्नुहुन्छ।
दोस्रो र तेस्रो तलाको शो पूलमा, साँझ ६ बजेदेखि “सी लायन शो”, “डल्फिन शो”, र “इवासी शो” पनि प्रदर्शन हुन्छ।
पहिले नै सिट बुक गर्न सकिनेछ, त्यसैले इच्छुक व्यक्तिहरूले अफिसियल वेबसाइट हेरेर योजना बनाउन सक्नुहुन्छ।

बिदामा बालबालिकालाई एक रात ढिला सुत्न दिएर यो अनौठो अनुभव दिन सकिन्छ!
सामान्यतया नदेखिने रातको जलजीवहरूको संसार हेर्न पाइने यो एकदमै सुन्दर अवसर हो।

 

अहिलेसम्म हामीले ४ वटा रमाइला इभेन्टको जानकारी दिइसकेका छौं।
तर फुकुओकाको गोल्डेन वीकको मुख्य आकर्षण भनेको, यही साता शनिबार र आइतबार (मे ३ र ४ मा) हुने 【हाकाटा डोन्ताकु मिनातो माचुरी】 हो।
हाकाताको इतिहास, संस्कृति, र यहाँका मानिसहरूको जोश र उत्साह अनुभूत गर्न सकिने यो भव्य पर्वमा तपाईं पनि अवश्य सहभागी हुनुहोस्। 

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ