ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.270

2025.06.05[Thu] 09:00

【हाकोजाकिगु आजिसाई महोत्सव】

वसन्तदेखि गर्मी तिर मौसम परिवर्तन हुने यस समयमा, प्रायः वर्षा र बादल लाग्ने दिनहरू देखापर्ने ‘चुयु’ भन्ने वर्षा ऋतु सुरु हुन्छ। फुकुओकामा चुयु प्रायः जूनको शुरुमा शुरु भई जुलाईको मध्यतिर समाप्त हुन्छ। यस चुयुको समयमा रमाइलो लिन सकिने मौसमी फूल भनेको हो, “आजिसाई”।

यो फूल सुरुमा हल्का रंगको भएर फुल्न थाल्छ, र समयसँगै यसको रंग गाढा बन्दै जान्छ। साथै, माटोको अम्लीयता (pH) अनुसार यसको रंग पनि परिवर्तन हुन्छ। सेतो, नीलो, गुलाबी, बैजनी रंगका जीवन्त आजिसाईहरू बाटो छेउछाउ र फूलबारीमा पनि फुल्ने भएकाले, अलिक बाहिर जान गाह्रो लाग्ने चुयुको समयमा बाहिर निस्कँदा पनि मन प्रसन्न बनाउँछ।

फुकुओका शहरभित्र आजिसाई हेर्न सकिने धेरै रमणीय स्थानहरू छन्। तेनजिनबाट पनि नजिकै रहेको “मैजुरु पार्क”, “फुकुओका सिटी म्युजियम” को पछाडिको हरियाली क्षेत्र वा “बोटान शाकुयाकु बगैँचा” को प्रवेशद्वार विशेष गरी हिँडडुल गर्ने मार्गका लागि उपयुक्त छ।

“फुकुओका सिटी बोटानिकल गार्डेन” मा केवल आजिसाई मात्र होइन, ग्रीनहाउसमा विभिन्न प्रजातिका वनस्पतिहरू पनि अवलोकन गर्न सकिन्छ, जसले गर्दा वर्षाको दिनमा पनि आरामसँग वनस्पति अध्ययनको मजा लिन सकिन्छ।

त्यस्तै, पूर्व क्षेत्रको “उमिनो नाखामिचि समुन्द्री किनार पार्क” वा पश्चिम क्षेत्रको “नोकोनोशिमा आइल्यान्ड पार्क” मा फराकिलो क्षेत्रमा रंगीन आजिसाईहरू हेर्न सकिन्छ।

साथै, पूर्व क्षेत्रमा रहेको “हाकोजाकिगु” मा, जून महिनाभरि ‘हाकोजाकिगु आजिसाई महोत्सव’ आयोजना गरिन्छ। त्यहाँको करिब १,७०० चुबो (झन्डै ५,६०० वर्ग मिटर) क्षेत्रफलमा फैलिएको “आजिसाई बगैँचा” मा झन्डै १०० प्रजातिका ३,५०० वटा आजिसाईका बिरुवाहरू फुल्छन्। पूजा गर्नुअघि हातमुख धुने पानीमा सजाइएका आजिसाई पनि छुटाउन नहुने दृश्यहरू मध्ये एक हो।

जापानको चुयु मौसममा झनै सुन्दर देखिने आजिसाई फूलहरूले तपाईंको मनमा शान्ति ल्याओस्।

 

 

फुकुओका शहरको सूचना

चुयु र भारी वर्षा सम्बन्धि

जापानमा जुनदेखि जुलाईसम्मलाई  "चुयु" अर्थात् वर्षा ऋतु भनिन्छ र यस अवधिमा भारी वर्षा हुने गर्दछ। भारी वर्षाको कारण प्रकोपहरू हुने सम्भावना भएकोले ध्यान दिनुहोला। 

हालैका वर्षहरूमा पनि, वर्षाको मौसममा रेकर्ड-ब्रेक भारी वर्षाको कारणले, फुकुओका प्रान्तमा पनि धेरै क्षति पुर्याएको थियो। भारी वर्षा हुँदा, नदी, तट वा पहाड नजिकको चट्टानहरू जस्ता खतराजनक ठाउँहरू नजिक नजानुहोस् र आफ्नो जीवन रक्षाको लागि कदम चाल्नुहोस्।

फुकुओका सिटिको होमपेजमा Hazard map र विपद् रोकथाम सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छ। आफू बस्ने क्षेत्रमा हुन सक्ने सम्भावित खतरा र आश्रय स्थलमा जाने सुरक्षित तरिका आदिको बारेमा अग्रिम जानकारी राख्ने गरौँ। बिस्तृत जानकारी, ‘Fukuoka City Multilingual Portal’ भनि खोजि, साईगाईको पेजमा हेर्नुहोला। 

फुकुओका शहरको महत्वपूर्ण जानकारीहरु, फुकुओका सिटिको आधिकारिक Facebook ‘Global Community Fukuoka’ वा फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको Facebook ‘फुकुओका शी कोकुसाई खाईखान्/ आत्ताखा फुकुओका「福岡市国際会館/あったか福岡」बाट पनि बहुभाषामा प्राप्त गर्न सक्नुहुन्छI पेजलाई follow गरेर, सामान्यदेखि महत्वपूर्ण जानकारीहरु लिनु होला।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ