福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2022.12.29[Thu] 09:00
अन्य(その他)
【२०२२ लाई फर्केर हेर्दा, नव वर्षका लक्ष्यहरु आदि】
वर्ष २०२२ लगभग सकिनै लाग्यो। तपाईंहरुको यो वर्ष कस्तो रह्यो?
यो वर्ष मेरो लागि चाहिं अकल्पनीय भयो। औधि माया गर्ने मेरी आमासँग सदाको लागि बिछोड्नु पर्यो। अचानकको यस खबरले स-परिवार नेपाल गएर, घरपरिवार, आफन्तजन अनि साथीभाईहरुलाई भेटेर भारी मन बिसाएर कर्मभूमिमा फर्केको केही महिना मात्र भएको छ। मेरो जस्तै धेरै नेपालीहरुको परदेशी जीवन भोगाइको यो एक वास्तविक्ता हो जस्तो लाग्छ। यस वर्षले परदेशको बसाईमा कति अकल्पनीय तगाराहरुको सामना गर्नु पर्ने हुन्छ, मिलन र बिछोडले जीवनको यथार्थतालाई बुझ्न सिकाएको छ।
अब कुरा गरौं, यस वर्ष फुकुओकामा आयोजना भएका केहि नेपाली कार्यक्रमहरुको बारेमा।
यस वर्ष १० औं नेपाल फेस्टिवल फुकुओका २०२२ अगष्टमा भव्यताका साथ सम्पन्न भएको थियो। बिगत १० वर्षदेखि प्रत्येक अप्रिल महिनामा हुँदै आइरहेको यो नेपाल फेस्टिवल कोरोनाको कारण २०१९ बाट हुन सकेको थिएन। म जापान आएदेखि यस फेस्टिवलमा जाने गर्दै आएकी छु। नेपाली साथीहरु तथा मान्यजनहरुसँगको भेटघाट हुनुका साथसाथै नेपाली मन पराउने जापानी साथीहरु पनि भेटघाट हुने, नेपाली संस्कृति चिनाउने, नेपाली खानाको स्वाद चाख्ने-चखाउने आदि अवसरको रुपमा यो फेस्टिवल रहँदै आएको छ। यस वर्षको नेपाल फेस्टिवलमा लामो समयको अन्तरालमा धेरै साथीहरुसँग रमाईलो भेटघाट भयो। त्यसै गरि, २ वर्ष कोरोनाको कारण रोकिएको प्रत्यक्ष तिज कार्यक्रम यसपाली अगष्टमा तिज धमाका २०२२ पनि भव्यताका साथ सम्पन्न भएको थियो।
यस वर्ष नयाँ कोरोनाभाइरसको प्रभाव जारी भएतापनि, बिस्तारै सामान्य दैनिकी जीवनमा फर्केन थालेको छ। साथै, युक्रेनमा रूसको आक्रमणको प्रभावको कारण, शान्तिको बारेमा सोच्न बाध्य तुल्याएको छ, बिजुली र ग्यासको महशुल बढेर पैसा बचतको महत्त्व महसुस गर्ने व्यक्तिहरु पनि धेरै हुनुहुन्छ होला।
नव वर्ष २०२३ मा, अहिलेको भन्दा अझ धेरै, सबैको अनुहारमा मुस्कानका साथ बाँच्ने समाजको सृजना होस् भनि कामना गर्दछु।
हुन त, हामी नेपालीहरुको आफ्नै नव वर्ष भएकोले अंग्रेजी नव वर्षलाई खासै धुमधामका साथ मनाउने गरेको देखिन्दैन। नेपालमा खास गरि, काठमाडौंको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला पर्यटकीय शहरहरुमा नव वर्ष ईभ कार्यक्रम आयोजना गर्ने र विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने चलन छ। प्रायःजसो साथीहरुसँग बाहिर घुम्ने र खानपिन गर्ने अवसरको रुपमा अंग्रेजी नव वर्ष मनाउने गरेको देखिन्छ।
तपाईंहरुको नव वर्ष २०२३ को कुनै संकल्प वा योजना छ कि ? मेरो चाहिं, आउँदो वर्षमा दैनिक रुपमा बिहान छोटो समय भए पनि शारीरिक ब्यायाम गर्ने, सकेसम्म हिड्ने, भर्याङको प्रयोग गर्ने विचार छ।
नव वर्षमा तपाईंहरु सबैको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु। तपाईहरु सबैलाई नव वर्ष २०२३ को हार्दिक मंगलमय शुभकामना!