ブログ

ポッドキャスト

ポッドキャスト RSS

2022年05月

2022.05.26[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【DJ को Choice "वर्षायाम/ गर्मी मौसमको लागि तयारी गरौं"】

आजकल एकदम न्यानो हुँदै आएको छ। अब चाँडै जुन महिना पनि आउनै लाग्योI त्यसपछि त पूर्ण रुपमा गर्मी, अनि धेरै पानी पर्ने वर्षायामको मौसम शुरु हुन्छ।

 

जापानको गर्मी मौसम र वर्षायामको विशेषताहरूको बारेमा जानकारी

जापानको गर्मीको विशेषता भनेको उच्च तापक्रम र अधिकतम आर्द्रता हुनु हो।

जापानमा जुनतिर धेरै बादल लाग्ने अनि धेरै वर्षा हुने गर्छ, जसलाई "चुयु अर्थात् वर्षायाम" भनिन्छ।

वर्षायामको शुरुवातलाई "चुयुइरी" भनिन्छ भने, अन्त्यलाई चाहिं "चुयुआके"।

क्षेत्र वा सो वर्षको आधारमा वर्षायामको अवधिमा फरक हुन्छ, तर फुकुओकामा " चुयुआके अर्थात् वर्षायामको अन्त्य" लगभग धेरैजसो जुलाईको मध्यतिर पर्छ।

वर्षायाम पछि, " मोउस्यो " अर्थात् चरम गर्मी भनिने, तापमान ३५ डिग्री भन्दा बढी हुने दिनहरु क्रमशः बढ्नेछन्।

सबैजनाले गर्मीको लागि तयारी गरि राखौं।

       

लू लाग्न र घामबाट डढाउनेदेखि सावधान होऔं!

जापानमा बस्नु हुँदा गर्मी मौसममा धेरैजसो सुनिने शब्द हो, "नेच्च्युस्योउ" अर्थात् लू लाग्नु । यो जापानमा एक किसिमको मौसमी रोग।

गर्मीको तन्तलापुर घाममा लामो समय बस्दा वा व्यायाम गर्दा, चक्कर लाग्ने, वाकवाकी लाग्ने, बेहोस हुने, टाउको दुख्ने जस्ता लक्षणहरु देखा पर्छन्। घर बाहिर मात्र नभई, घर भित्र पनि लू लाग्ने सम्भावना भएकोले सावधान रहनु जरुरी छ। अत्याधिक गर्मीबाट बच्न,

 

  • सकेसम्म चर्को घामबाट जोगिएर, छाँयामा वा शीतल कोठामा बस्ने गरौं।
  • बाहिर निस्कँदा, टोपी वा छाताको प्रयोग गरेर घामबाट जोगौं तथा कठिन व्यायाम गर्नबाट टाढा रहौं।
  • घाँटीलाई चिसो बनाउनको लागि गम्छा जस्ता लू लाग्नबाट बचाउने सामानहरूको प्रयोग गरौं।
  • ध्यानपूर्वक शरीरमा पानीको मात्रा आपूर्ति गर्ने गरौं।

 

* नयाँ कोरोनाभाइरस संक्रमणको प्रभावको कारण, दैनिक रुपमा मास्क लगाउने हुनाले, आफूलाई तिर्खा लागेकोतिर ध्यान नजान सक्छ। गर्मीमा मास्क लगाउँदा अझ धेरै गर्मीको प्रभाब बढ्ने सम्भावना हुने भएकोले कृपया ध्यान दिनुहोला।

 

पछिल्ला वर्षहरूमा वर्षायामदेखि गर्मी मौसमसम्म बाढीको प्रकोप बढ्दै आएको छ। सावधानी तथा तयारी सम्बन्धि

वर्षायामको समयदेखि शरद ऋतुसम्म, जापानमा समुन्द्री आँधी नजिकिने र आउने धेरै हुन्छन्, जसले गर्दा भारी वर्षात्, बाढी, आँधीबेहरी, उच्च ज्वार भाटा आदि उत्पन्न हुन्छन्।  

हालैका वर्षहरूमा, भारी वर्षाले क्युस्युमा शृङ्खलाबद्ध प्रकोपहरू निम्त्याएको थियो।

विपद् आईपर्दा कस्तो कदम चाल्नुपर्छ, कहाँ आश्रय लिनुपर्छ, आफू बस्ने क्षेत्रको खतरा संकेत नक्सा आदिको बारेमा अग्रिम रुपमा जानकारी राख्ने गरौं।

फुकुओका सिटिको साइट (https://www.city.fukuoka.lg.jp/bousai/bousaiforeigner.html)

बाट विपद् रोकथाम सम्बन्धि जानकारीहरु पाउन सक्नुहुन्छ।

2022.05.19[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

फुकुओकाको पहाडी क्षेत्र, प्रमुख फलफूलहरु उत्पादन गर्ने क्षेत्रको रुपमा जापानभरि चिनिन्छ। "चेरी" फल मे महिनामा फल्ने लोकप्रिय फल होI फुकुओका प्रान्तमा रहेको चेरी फार्ममा चेरी फल टिपेर मनोरञ्जन लिन जोडीहरु, परिवारहरु आदि लगायत धेरै पर्यटकहरू जाने गर्छन्। फसल काटेको २-३ दिन पछिको चेरी बिना प्रशोधन खान मिल्छ भने, ताजा टिपेका चेरी बिशेष रूपमा स्वादिष्ट हुन्छ।

स्वादिष्ट चेरी पहिचान गर्ने केही तरिकाहरु छन्। जस्तै कि, फल ठूलो अनि पोष्ट भएको, बोक्रा नफातिएको, बाहिरी सतहमा नकोरिएको वा चिरा नपरेको। डाँठको भाग नओइलाएको।

यसलाई भण्डारण गर्दा, फ्रिजमाभन्दा पनि कोठाभित्रको शीतल ठाउँमा राख्ने। चिसो गर्न चाहनु भएमा, यसलाई खानुभन्दा २ घण्टा अगाडि जति फ्रिजमा राख्नु राम्रो हुन्छ।

 

 

फुकुओका शहरको सूचना

हलुका सवारी साधन कर सम्बन्धि

यो फुकुओका शहरको सूचना हो।

मोटरबाईक वा हलुका कार भएकाहरुले, अप्रिल १ मा हलुका सवारी साधन कर तिर्नु जरुरी छ।

यदि तपाईंसँग मोटरबाईक वा हलुका कार छ भने, हुलाक मार्फ कर तिर्नका लागि सूचना आउन सक्छ, अवश्य पनि भित्र हेर्नुहोला। मे को ३१ सम्ममा कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।

 

यदि तपाईंले मोटरबाईक आदिको शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले कब्जा गर्ने सम्भावना पनि छ।

नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।

 

१८ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ। फोन नम्बर, ०९२-७५३-६११३ ।

 

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

2022.05.12[Thu] 09:00

अन्य(その他)

【अन्तर्राष्ट्रिय परिवार दिवस】

मे महिनाको १५ तारिक "अन्तर्राष्ट्रिय परिवार दिवस" ​​हो।

संयुक्त राष्ट्र संघको महासभाले सन् १९९३ देखि हरेक वर्ष मे १५ लाई विश्वभरका देशहरूमा पारिवारिक समस्याहरूप्रति जागरुकता बढाउन र परिवारसँग सम्बन्धित मुद्दाहरुमा काम गर्ने क्षमता बढाउन अवसरको रुपमा तोकिएको दिन हो ।

जापानमा बस्दै गर्दा, काम वा पढाई विशेषले त्यति नेपाल जान पाईराख्नु भएको छैन होला, तर आजकल इन्टरनेट, ईमेल, भ्वाइस कल वा भिडियो कल आदिको सुबिधाको कारण सजिलै आफ्नो परिवारजनसँग सम्पर्क गर्न सकिन्छ।

हुन पनि, सबैभन्दा नजिकको र महत्त्वपूर्ण भनेको नै परिवार हो। हामीले जति बाआमा र परिवारको बारेमा सोच्छौं, त्यो भन्दा बेसी उहाँहरुले हाम्रो बारेमा पिर लिनु हुन्छ।

परिवारमा सबै ठिक छ कि छैन, केहि समस्या आईपर्यो कि भनेर मनमा कुरा खेल्दा, आफ्नो परिवारलाई सम्पर्क गरि कुराकानी गर्ने गरौँ। आफ्नो घरपरिवार तथा साथीभाईहरुसँग नियमित रुपमा सम्पर्क राख्ने गरौँ!

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

टोल फ्री नम्बर उपलब्ध गरिएको छ !

कुनै शुल्क बिना फोन गर्न सकिने नयाँ फोन सेवा उपलब्ध गरिएको छ।

नम्बर रहेको छ, ०१२०-६६-१७९९ । पहिले जस्तै, बिभिन्न भाषाहरूमा यो सेवा उपलब्ध छ।

कृपया नहिचकिचाइकन सम्पर्क गर्नुहोस्!

 

"LINEआधिकारिक Accountबनाइएको" बारे सूचना

 "Fukuoka City Consultation Support Center for Foreign Residents" को LINE आधिकारिक Account बनाइएको छ।

फाउन्डेशनको कार्यक्रमहरू तथा तपाईंहरुको दैनिक जीवनका लागि उपयोगी जानकारीहरु आदि यसमा पठाउने गर्छौं।

यस अतिरिक्त, LINE कल प्रयोग गरि टेलिफोन मार्फत् जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शहरू प्राप्त गर्न सक्नुहुन्छ।

टेलिफोन दोभाषे सेवामा बहुभाषी सेवा पनि सम्भव छ।

च्याटमा सेवा उपलब्ध नहुने भएकोले कृपया ध्यान दिनुहोला।

Text मार्फत् परामर्श गर्न चाहनुहुन्छ भने, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको" वेबसाइटमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

LINE मा Friend add गर्दा, कृपया ID "@ 111dhfna" राखी खोज्नुहोस्।

 

ट्यूटर प्रोग्रामको परिचय

जापानी भाषामा लेखिएको स्कूलको पत्रहरू वा मेल अर्डर मार्फत खरिद गर्नुभएको सामान फिर्ता गर्न चाहनु भएको समयमा जापानी भाषामा कारण व्याख्या गर्न आदि जस्ता; जापानी भाषा वा दैनिक जीवनमा समस्या भईरहेका विदेशीहरूको सहयोग गर्ने "ट्यूटर प्रोग्राम" को परिचय दिनेछु।

फाउण्डेसनमा रजिस्टर भएका स्वयंसेवकहरु प्रत्यक्ष वान् टु वान् ट्यूटर हुने, र उहाँहरुसँग अनलाइनमा सरल अनुवादका लागि अनुरोध तथा दैनिक जीवन सम्बन्धि सल्लाह माग्न सक्नुहुन्छ।

ट्यूटरसँग अनलाइन कुराकानी गर्न सक्ने, फुकुओका शहरमा बस्नु हुने विदेशी महानुभावहरु, जो कोहीले पनि यसको प्रयोग गर्न सक्नुहुन्छ। प्रयोग शुल्क निःशुल्क हो।

प्रयोग गर्ने तरिका आदि अधिक जानकारीको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क राख्नुहोला।

सोमबारदेखि शुक्रबार ९:०० देखि ६:०० बजेसम्म कल स्वीकार गरिन्छ। अवश्य सम्पर्क राख्नुहोला।

2022.05.05[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【माछा खाने पसल】

फुकुओका सिटि, शहर भए पनि समुन्द्र र पहाडको नजिक भएकोले यहाँ विभिन्न सामग्रीहरु पाउन सजिलो छ।

फुकुओका शहर रामेन र उडोनका लागि देशभर प्रसिद्ध छ। के तपाईंहरुले खानु भयो त ?

यद्यपि, फुकुओका शहरमा माछाका परिकारहरू पनि धेरै स्वादिष्ट छन्!

प्रति १००,००० जनसंख्यामा माछा पसलको अनुपातलाई हेर्ने हो भने, फुकुओका शहर जापान भरिमा प्रथम स्थानमा छ।

फुकुओका शहरमा नागाहामा सेन्ग्यो इचिबा (नागाहामा माछा बजार) छ र यहाँबाट ताजा माछाहरू जापानभर पठाइन्छ। बजारभित्र रेस्टुरेन्ट पनि छ जहाँ, तपाईं सुशी र टेम्पुरा जस्ता जापानी खानाको मजा लिन सक्नुहुन्छ।

ओसाशिमी जस्ता काँचो माछा नखानेहरुका लागि, फ्राइड टेम्पुरा खानु उपयुक्त होला।

फुर्सदको समयमा एकपटक नागाहामा माछा बजार घुम्दा कसो होला!

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

दोस्रो पटकको खोप लिईसक्नु भएका, १२ वर्षका वा सोभन्दा माथिका फुकुओका शहरको नागरिकहरुलाई, फुकुओका शहरले तेस्रो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

तर, दोस्रो पटकको खोप लगाएको लगभग ६ महिनापछि पनि खोप कुपन पाउनु भएन भने, कल सेन्टरमा फोन गर्नुहोला।

५ देखि ११ वर्षका बालबालिकालाई पनि खोप दिईरहेको छ ।

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श लिन र बुकिंग गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ । हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ। अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

बसोबास कर छुट भएका परिवारहरूका लागि आपतकालीन विशेष अनुदान रकमको सूचना

नयाँ कोरोनाभाइरसको सङ्क्रमको प्रभाव लामो समयसम्म रहिआएको कुरालाई मध्यनजर गरि, जापान सरकारले जिविकोपार्जनमा टेवा पुर्‍याउन, बसोबास कर छुट भएका परिवारहरूलाई प्रति परिवार १,००,००० येन नगद उपलब्ध गराउने निर्णय गरेको छ।

भुक्तानीका लागि योग्य भएका परिवारहरुलाई फुकुओका सिटि नगरपालिकाले अनुदान रकमको विवरण वा पुष्टि गर्नुपर्ने बिषयवस्तुहरु उल्लेखित पुष्टिकरण पत्र पठाएको छ।

अनुदान रकम प्राप्त गर्नका लागि प्रक्रियाको आवश्यक पर्छ।

पुष्टिकरण पत्र प्राप्त गर्नुहुने महानुभावहरुले विवरणको राम्ररी जाँच गरि, पुष्टिकरण जारी भएको मितिबाट ३ महिना भित्र फिर्ता पठाउनुहोस्।

अनुदानरकमको बारेमा परामर्श लिन सकिने कल सेन्टरको फोन नम्बर रहेको छ,  ०१२०-०१८-०९२।

सोमबारदेखि शुक्रबार, बिहान ९:०० देखि बेलुका ६:०० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी, स्पेनिश र पोर्चुगिज भाषाहरूमा परामर्श लिन सकिन्छ।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ