ブログ

ポッドキャスト

ポッドキャスト RSS

2023年05月

2023.05.25[Thu] 09:00

अन्य(その他)

【फुकुओकाको याटाई स्टलहरू】

फुकुओका खाद्य संस्कृतिमा धनि शहर हो। फुकुओका भनेपछि, दिमागमा आउने पहिलो कुरा "याटाई" वा स्ट्रीट फूड स्टलहरू हुन्। फुकुओका, जापानभरिमा सबैभन्दा धेरै याटाइहरू भएको शहरको रुपमा चिनिन्छ र यी याटाइहरू पर्यटकिय थलोको रुपमा पनि लोकप्रिय छन्। याटाई मुख्यतया दुई क्षेत्रमा विभाजित छन्: नाकासु क्षेत्र र तेन्जिन क्षेत्र, जहाँ लगभग १०० वटा जति स्टलहरू छन्। हाकाताको विशेष खानाहरू जस्तै रामेन, याकिटोरी र जापानी म:म: मात्र नभई, चाइनिज, स्पेनिस र फ्रान्सेली जस्ता विभिन्न बहुराष्ट्रिय खानाहरूको पनि आनन्द लिन सक्नुहुन्छ।

आजकल, नगदबाहेक अरुबाट पनि शुल्क तिर्न मिल्ने तथा बहुभाषामा मेनु भएका "याटाई" स्टलहरू धेरै बढ्न थालेका छन्। "याटाई" फुकुओकाको खाद्य संस्कृतिको प्रतिकको रुपमा रहनुका साथसाथै एक अर्कासँग अन्तरक्रिया गर्ने थलो पनि बनेको छ। तपाईंहरुले यदि अहिलेसम्म याटाइको अनुभव लिनुभएको छैन भने, यस्तो राम्रो मौसममा अनुभव लिएर हेर्दा कसो होला?

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

‘विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा अवस्थित फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।

परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० बजेसम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

परामर्श लिने स्थान, फुकुओका सिटी इन्टरनेशनल सेन्टरको चौथो तल्लामा हो ।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

अर्को जानकारी रहेको छ,

 

 

LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!

फाउण्डेसनको LINE आधिकारिक Accountमा, LINE कल प्रयोग गरि टेलिफोन मार्फत् जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शहरू आदिका लागि सम्पर्क गर्न सक्नुहुन्छ।

टेलिफोन दोभाषे सेवामा २२ वटा बहुभाषी सेवा सम्भव छ।

साथै, फाउण्डेसनको कार्यक्रमहरुको जानकारी तथा विदेशी बासिन्दाहरू लक्षित जानकारीहरु प्राप्त गर्न सकिने भएकोले, "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको" होमपेजबाट LINE मा Friend add गर्न अनुरोध गरिन्छ!

तर, च्याटमा सेवा उपलब्ध छैन। Text मार्फत् परामर्श लिन चाहनुहुन्छ भने, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको" होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

2023.05.18[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【बेबी स्टेशनहरू (आखाच्यान् नो एकी)】

फुकुओका शहरमा, "बेबी स्टेशनहरू" (आखाच्यान् नो एकी) नामक सुविधाहरू शहरभरि विभिन्न ठाउँहरूमा अवस्थित छन् जसले आमाबुबाहरूलाई आफ्ना शिशु र बच्चाहरूसँग बाहिर जान सजिलो बनाउन मद्दत गर्दछ। यी सुविधाहरूले स्तनपान र डायपर परिवर्तन जस्ता सेवाहरू प्रदान गर्दछ।

गुलाबी रङ्गको बच्चाको अनुहार, बेबी स्टेशनको प्रतीक चिन्ह हो।

फुकुओका शहरको LINE आधिकारिक खाता मार्फत यी सुविधाहरूको स्थान फेला पार्न सक्नुहुन्छ।

तपाईंले आफू भएको स्थान पठाउनु भयो भने, नजिकको बेबी स्टेशनहरुको जानकारी दिने भएकोले यो एकदमै सुविधाजनक छ।

शिशु र बच्चाहरूसँग बाहिर जाँदा स्तनपान र अन्य आवश्यकताहरूको चिन्ताले बाहिर जाँदा झन्झट महसुस हुन सक्छ, तर यी सुविधाहरूको प्रभावकारी रूपमा प्रयोग गरेर किनमेलको आनन्द लिनुहोस्!

 

 

【फुकुओका शहरको सूचना】

हलुका सवारी साधन कर सम्बन्धि

यो फुकुओका शहरको सूचना हो।

मोटरबाईक वा हलुका कार भएकाहरुले, अप्रिल १ मा हलुका सवारी साधन कर तिर्नु जरुरी छ।

यदि तपाईंसँग मोटरबाईक वा हलुका कार छ भने, हुलाक मार्फ कर तिर्नका लागि सूचना आउन सक्छ, अवश्य पनि भित्र हेर्नुहोला। मे को ३१ सम्ममा कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।

यदि तपाईंले मोटरबाईक आदिको शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले कब्जा गर्ने सम्भावना पनि छ।

नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।

१८ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ।

फोन नम्बर, ०९२-७५३-६११३ ।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

 

 

साईकल पार्किङ नियम सम्बन्धि

 प्रायःजसो दैनिक रुपमा साईकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला।

साईकल पार्किंग गर्दा, तोकिएको पार्किंग स्थलमा पार्क गर्ने गरौं।

साईकल पार्किङस्थल बाहेक सडक वा पार्कमा पार्किङ गरिएका साईकलहरू पैदल यात्रुलाई बाधा वा अवरोध हुने भएकाले अवैध रूपमा पार्किङ गरिएका साईकलहरुलाई उठाएर लैजाने नियम छ।

फुकुओका शहरमा, यसरी उठाएर लगेका साईकल फिर्ता लिन २,५०० येन तिर्नु पर्छ, यदि निश्चित समय भित्र दावी गरेन भने, यसलाई खारेज गरिन्छ।

व्यावसायिक सुविधा र स्टेशन वरपर छोटो समयको प्रयोजनका लागि नि:शुल्क पार्किङ क्षेत्रहरू पनि हुने भएकोले अवश्य प्रयोग गरेर हेरौं।

2023.05.11[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【मदर्स् डे अर्थात् मातृ दिवस】

आउँदो आइतबार १४ तारिकमा मदर्स् डे परेको छ। हरेक वर्ष, मे को दोस्रो आइतबार, जापानमा मदर्स् डे मनाईन्छ। हामी नेपालीहरुको आमाको मुख हेर्ने दिन, गएको अप्रिल २० मा परेको थियो।

जापानमा मदर्स् डे मा, आमाप्रति कृतज्ञता व्यक्त गर्ने दिनको रुपमा, "धन्यवाद" भन्दै कार्नेशन फूल दिने चलन छ। विशेष गरी, रातो रंगको कार्नेशन फूल लोकप्रिय छ किनभने, यसले "आमाप्रतिको माया", "साँचो माया", "मायामा विश्वास" आदिलाई जनाउँदछ जसले गर्दा मातृ दिवसमा यो फूल दिनु उपयुक्त मानिन्छ।

फूल दिनुका साथै आमालाई मनपर्ने उपहार दिने, चिठ्ठी लेखेर दिने वा बाहिरसँगै खान गएर आमासँग समय बिताउनेहरु पनि धेरै हुन्छन्। उपहार दिन वा व्यक्तिगत रूपमा भेट्न गाह्रो भएको अवस्थामा शब्दद्वारा कृतज्ञता व्यक्त गर्ने व्यक्तिहरु पनि हुन्छन्। तपाईंहरुले पनि नेपालको आमाको मुख हेर्ने दिनमा आफ्नो आमासँग फोनमा कुराकानी गर्नुभयो होला। अब जापानको मदर्स् डेमा पनि आफ्नो आमाप्रति कृतज्ञता व्यक्त गर्दै सम्पर्क गरि हेर्दा कसो होला!

 

 

【फुकुओका शहरको सूचना】
नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

 फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

वर्ष २०२३ मा पनि नयाँ कोरोना भाइरस विरुद्धको खोप निशुल्क लगाउन सक्नुहुन्छ।

मे ८ देखि अगस्ट सम्म, ओमिक्रोन स्ट्रेन-कम्प्लायन्ट बाइभ्यालेन्ट भ्याक्सिन (Omicron strain-compliant bivalent vaccine) प्रयोग गरेर वसन्तको खोप कार्यक्रम शुरु हुन गईरहेको छ।

पहिलो र दोस्रो पटकको खोप लिईसकेका, पछिल्लो खोप लिएकोबाट ३ महिना कटिसकेका ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरु तथा, १२ वर्ष वा सोभन्दा माथिका र ६४ वर्ष वा सोभन्दा तलका उमेरका अन्तर्निहित रोग भएका व्यक्तिहरु, चिकित्साकर्मीहरूलाई लक्षित गरिएको छ।

सेप्टेम्बर पछि, शरदको खोप कार्यक्रम शुरु गरिने भएको छ।

पहिलो र दोस्रो खोप लिईसकेका, ५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई लक्षित गरिएको छ।

 खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिन्छ।

खोप कुपन हराएका वा प्राप्त नभएका महानुभावहरुले, पुन: जारीको लागि आवेदन दिन कृपया कल सेन्टरमा फोन गर्नुहोस्।

विदेशबाट फुकुओका शहरमा आउनुभएका महानुभावहरुले यदि खोप लगाउन चाहनुहुन्छ भने,

खोप कुपन जारीको लागी निबेदन दिन आवश्यक छ।

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श, बुकिंग र खोप कुपन जारीको बारेमा बुझ्न, सम्पर्क गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ ।

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

नेपाली, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

2023.05.04[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【DJ को सुझावजन्य रेस्टुरेन्टहरु】

तपाईंहरुमध्ये धेरैजसोले दैनिक रुपमा घरमै खाना पकाउनुहुन्छ होला। फुर्सदमा रमाईलोको लागि वा बेफुर्सदमा पेट पूजाको लागि, विभिन्न नेपाली रेस्टुरेन्टहरुमा पक्कै पनि छिर्नु भएकै होला। म चाहिं बिदाको दिनमा परिवारसँग प्रायजसो घरबाट पैदल दूरीमा पर्ने नागाहामामा रहेको माया रेस्टुरेन्टमा जाने गर्छु। बिशेष गरि त्यहाँको नान् मलाई असाध्यै मिठो लाग्छ। मःमःको लागि सबैभन्दा बेसी जाने रेस्टुरेन्ट चाहिं वातानाबे डोरी स्टेशनबाट पैदल दूरीमा पर्ने अशोक बार हो। फुकुओकामा लोकप्रिय नेपाली रेस्टुरेन्टहरु धेरै छन्। आजकल इन्टरनेटको सुविधाले गर्दा, सजिलै फुकुओकामा भएका नेपाली रेस्टुरेन्टहरु खोज्न सकिन्छ। तपाईहरु पनि विदेशमा नेपाली खानाको आनन्द लिनुहोस् अनि अवश्य पनि आफ्ना जापानी साथीहरुलाई पनि नेपाली खानाको स्वाद लिने मौका दिनुस् ! 

 

 

【फुकुओका शहरको सूचना】
विश्व एक्वाटिक्स च्याम्पियनशिप र विश्व मास्टर्स एक्वाटिक्स च्याम्पियनशिप सम्बन्धी

जुलाई १४ देखि जुलाई ३० सम्म, "विश्व एक्वाटिक्स च्याम्पियनशिप २०२३" फुकुओका टूर्नामेंट र अगस्ट २ देखि अगस्ट ११ सम्म, "विश्व मास्टर्स एक्वाटिक्स च्याम्पियनशिप २०२३" किताक्युशु टूर्नामेंट आयोजना  हुन गईरहेको छ।

"विश्व एक्वाटिक्स च्याम्पियनशिप", ६ वटा प्रतियोगिता अनि ७५ वटा श्रेणीमा विश्व च्याम्पियनको लागि प्रतिस्पर्धा गर्ने एक स्विमिंग प्रतियोगिता महोत्सव हो। यो स्विमिंग जगतमा ओलम्पिक पछि दुई नम्बरमा आउन्छ। प्रतिस्पर्धामा विश्वका शीर्ष स्विमरहरूको उत्साह र प्रभावको अनुभव फुकुओकामा गर्न पाउनुहुन्छ। फुकुओका नगरवासी र विश्वभरीबाट आउने दर्शकहरूको उपस्थितिले उत्साहपूर्ण रोमान्चक टूर्नामेंटमा अवश्य पनि सहभागि हुनुहोला।

कृपया प्रतियोगिताको तालिका र टिकट खरिदको लागि "विश्व एक्वाटिक्स २०२३" भनि खोजी हेर्नुहोला।

"विश्व मास्टर्स एक्वाटिक्स च्याम्पियनशिप", स्वास्थ्य, मैत्री र आपसी समझदारीको साकार गर्न लक्ष्य राखिएको टूर्नामेंट हो। २५ बर्ष वा सोभन्दा माथिका जो कोहिले पनि भाग लिन सक्छन्।

"फुकुओका, कुमामोटो खागोशिमा तीन क्युशुका शहरहरूमा आयोजना हुने यस टूर्नामेंटमा, विश्वभरीका १०,००० जना स्विमिङ प्रशंसकहरू सहभागी हुनेछन्।

जुन सम्ममा आवेदन स्वीकार गरिने भएकोले, आफ्नो परिवार र साथीहरूलाई पनि जानकारी दिनुहोस्!

स्विमिङको महत्त्व र प्रतिस्पर्धाको उत्साह अनुभव गर्न सकिने यस वर्षको फुकुओकाको ग्रीष्मको आनन्द लिऔं!

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ