ブログ

ポッドキャスト

ポッドキャスト RSS

2022年04月

2022.04.28[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【गोल्डेन वीक कसरी बिताउनुहुन्छ?】

जापानमा अप्रिल महिनाको अन्तदेखि मेको शुरुको हप्तातिर लगातार धेरै बिदाहरू हुने अवधिलाई गोल्डेन वीक भनिन्छ।

 

・ <जापानको गोल्डेन वीकको परिचय>

गोल्डेन वीकमा "शोवा दिवस (४/२९)", "संविधान दिवस (५/३)", "हरियाली दिवस (५/४)" र "बाल दिवस (५/५)" समावेश छन्। यी बिदाहरूलाई शनिबार र आइतवारसँग जोड्दा करिब १ हप्तादेखि १० दिनसम्मको लामो बिदा हुन्छ।

गोल्डेन वीकको नामको उत्पत्तिको बारेमा विभिन्न सिद्धान्तहरू छन्, तर  रेडियोमा उच्चतम श्रोताको प्रतिशत हुने समय  अवधि  "गोल्डेन टाइम" बाट "गोल्डेन वीक" भएको भनिन्छ।

 

・ <गोल्डेन वीकको योजना>

लामो बिदामा के गर्ने, कसरी रमाइलो गरि मनाउने भनेर तपाईंहरु पनि म जस्तै योजना बनाउँदै हुनुहुन्छ होला। मेरो चाहिं गोल्डेन वीकको एक दिन परिवारसँग नोकोनो सिमामा घुम्ने योजना छ। अर्को दिन, घरमा साथीहरु बोलाएर मःमः पार्टी गर्ने, त्यस्तै, फुकुओका वनस्पति उद्यानमा साथीभाई तथा परिवारसहित घरमै पकाएर पिकनिक गर्ने आदि जस्ता योजनाहरु छन्।

 

・ <फुकुओकामा गोल्डेन वीकको समय घुमघाम गर्न सुझावजन्य स्थलहरु>

फुकुओका शहरभित्र पनि घुमघामका लागि धेरै स्थलहरु छन्, त्यसमा पनि विशेष गरी यस वर्ष, ८०० वर्ष भन्दा बढीको इतिहास बोकेको महोत्सव  "हाकाता डोन्टाकु मिनातो महोत्सव" तीन वर्ष पछि फुकुओकामा आयोजना हुन गईरहेको छ।

 

"हाकाता डोन्टाकु मिनातो महोत्सव" भनेको,  प्रत्येक वर्ष मे ३ र ४ मा, सबै उमेरका पुरुष-महिलाहरूले स्वतन्त्र रुपमा पोशाक लगाई, काठको पन्यू बजाउदै शहरको परिक्रमा गर्ने परेड, स्थानीय रुपमा बनाईएका स्टेज र खुला ठाउँमा नृत्यको प्रस्तुति आदि जस्ता सम्पूर्ण शहरलाई जीवन्त बनाउने इभेन्ट हो।

साथै, अप्रिल २५ मा, "LaLaport Fukuoka" नामक ठूलो सपिङ मल खोलिएको छ। त्यहाँ किनमेलको अतिरिक्त, रेस्टुरेन्ट, सिनेमा हल, खेलकुद लगायत  बच्चाहरूलाई खेलाउने धेरै सुविधाहरू पनि छन्!

 

・ < FUKUOKA EAST & WEST COAST को बारेमा>

साइकलमा घुम्न वा बाहिरी गतिविधिहरूको आनन्द लिन चाहनेहरूका लागि, समुद्री किनार क्षेत्रमा घुम्न अति उत्तम हुन्छ।

उहाँहरुले फुकुओकामा, पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा विभिन्न आकर्षणहरूको अनुभव गर्न सक्नुहुन्छ।

 

・ पूर्वी क्षेत्र: सुन्दर नीलो समुद्रले घेरिएको, इतिहास महसुस गर्न सकिने "शिकानोसिमा" ।

टापुको प्रतीकको रुपमा चिनिने "शिकाउमी जिन्ज्या" सानो पहाडमा अवस्थित छ। मन्दिर जाने बाटोमा ताजा समुद्री खानाको स्वादको आनन्द लिन सक्नुहुन्छ त्यस्तै, किनमेलको पनि मजा लिन सक्नुहुन्छ।

शिकानोसिमाको बाहिरी परिधि करिब १२ किलोमिटर छ, यदि साइकलबाट घुम्ने हो भने करिब एक घण्टा जति मात्र लाग्छ।

साइकल राम्ररी जान्नेहरुका लागि मात्र नभई, भर्खर सिकेकाहरूले पनि ढुक्क भई यसको मजा लिन सक्नुहुन्छ।

हाकाता फुतोउमा रहेको "Bayside Place Hakata" बाट, शिकानोसिमामा जाने जहाज छ, त्यसमा आफ्नो साइकल चढाएर लैजान सक्नुहुन्छ। साथै, शिकानोसिमा र उमी नो नाकामिची क्षेत्रमा साइकल भाडामा पनि लिन सक्नुहुन्छ।

 

・ पश्चिमि क्षेत्र: सुन्दर तटरेखा, फोटो स्पटहरु, आकर्षक क्याफेहरू आदि एकै ठाउँमा भएको "किटाजाकी क्षेत्र"।

तेन्जिनबाट एक घण्टा भित्र पुग्न सकिने " किटाजाकी क्षेत्र" मा, समुद्रमा माछा मार्न सकिने पार्क, ग्ल्याम्पिङ सुविधा, आकर्षक क्याफेहरू, फोटो स्पटहरु आदि जस्ता मनोरञ्जन लिन सकिने धेरै ठाउँहरू छन्।

त्यस्तै, इटोशिमा हान्तोउको परिक्रमा गर्न साइकल भाडामा लिन सक्नुहुन्छ वा भर्खर सिकेकाहरुले पनि मनोरञ्जन लिन सकिने SUP (स्ट्यान्ड अप प्याडलबोर्ड)को अनुभव गर्न सक्नुहुन्छ।

किटाजाकी क्षेत्रमा जान, सबवे एयरपोर्ट लाइन वा JR चिकुही लाइनमा चढेर, "क्युउदाई गाक्केनतोशी एकी" मा ओर्लिएर, फेरी शोवा बसमा चढ्नुपर्छ।

 

・ बिस्तृत जानकारीको लागि, कृपया फुकुओका शहरको पर्यटक सूचना साइट "योकानाबि" मा "FUKUOKA EAST & WEST COAST" राखी खोज्नुहोस्।

 

कृपया बाहिर निस्कँदा, कोरोनाभाइरस संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौं। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने हो। 

 

तपाईंहरु सबैको गोल्डेन वीक बिदा रमाईलो रहोस् भन्ने कामना गर्दै आजलाई यति नै!

2022.04.21[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【विश्व पृथ्वी दिवस】

हरेक वर्ष अप्रिल २२ तारिख विश्व पृथ्वी दिवस हो। पृथ्वी र वातावरणको बारेमा मनन गरेर, सुन्दर प्राकृतिक वातावरणप्रति आभार व्यक्त गर्ने दिन हो।

यो विचार सन् १९६९ मा आयोजना भएको युनेस्कोको सम्मेलनबाट आएको थियो। लगत्तै अर्को वर्ष,

संयुक्त राज्य अमेरिकाको सिनेटर नेल्सनले अप्रिल २२ मा वातावरणीय मुद्दाहरूमा बहस गर्न बैठक बस्न आह्वान गर्नुभएको घटनाबाट विश्व पृथ्वी दिवस शुरु भएको थियो।

जापानमा सन् १९९० मा प्रथम पटक विश्व पृथ्वी दिवस शुरु भएदेखि, हरेक वर्ष यस दिन प्रत्येक क्षेत्रमा विश्व पृथ्वी दिवसका कार्यक्रम तथा परियोजनाहरू आयोजना हुँदै आईरहेको छ।

SDGs (दिगो विकासका लक्ष्यहरू) मा केन्द्रित भई लाग्न आवश्यक अहिलेको युगमा, दैनिक जीवनयापनमा वातावरणको लागि केहि गर्न सकिन्छ कि भनेर विचार गरि हेरौं।

उदाहरणका लागि, अनावश्यक रुपमा बत्तीहरु नबाल्ने, फोहोर कम गर्ने आदि जस्ता सरल रुपमा गर्न सकिने दैनिकी कुराहरुबाट शुरु गरि हेर्दा कस्तो होला?

 

 

【फुकुओका शहरको सूचना】

फोहर फ्याँक्ने नियम सम्बन्धी

फुकुओकामा नयाँ जीवनयापन शुरु गर्नुहुने धेरै संख्यामा हुनुहुन्छ होलाI

यसपटक, फोहर फ्याँक्ने नियम सम्बन्धी सूचना रहेको छI

 

फुकुओकामा फोहरलाई तीन किसिममा विभाजन गरी फ्याँक्ने गरिन्छ।

जल्ने फोहर, खाली सिसाको बोतल/प्लास्टिकको बोतल, अनि नजल्ने फोहर गरी ३ किसिमका हुन्छन्I

कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहोर फाल्ने गर्नुहोस्।

 

जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला होI

कच्चा फोहोर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्I

खाली क्यान र गिलास जस्तालाई, नजल्ने फोहरको रुपमा, निलो फोहर-फाल्ने-झोलामा फाल्नुहोस्I

खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नको लागि, पहेंलो रंगको फोहर-फाल्ने-झोला प्रयोग गर्नुहोस्I

 

बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ। 

जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १पटक संकलन हुन्छI

फोहर मध्यरात संकलन हुनेभएकोले अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्नुहोस।

 

फुकुओका शहरको आधिकारिक LINE ID मा Friend add गरेर, तपाईंको ठेगाना राख्नु भयो भने, LINE बाट फोहोर फाल्ने दिनको बारेमा जानकारी उपलब्ध गराईन्छI

फाल्न चाहनुभएको फोहोरको नाम राख्नुभयो भने, फोहोरको किसिम पनि जान्न मिल्ने भएकोले यो एकदम उपयोगी छI

 

एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्I

ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गरेर  संकलन गराउन सक्नुहुन्छ।

कृपया शुल्क, फोहोर फाल्ने ठाउँ, मिति, इत्यादि जाँच गरेर फोहोर बाहिर राख्नुहोस्।

 

फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, ०९२-७३१-११५३ I

१८ वटा  भाषाहरुमा यो सेवा उपलब्ध छI

2022.04.14[Thu] 09:00

अन्य(その他)

【फुकुओका शहरको यातायातको परिचय】

यस वसन्तदेखि फुकुओका शहरमा आउनु भएका सबैजना, यहाँको नयाँ जीवनयापनमा भिज्नु भयो कि भएन?

कसरी फुकुओका शहरमा आवतजावत गर्दैहुनुहुन्छ होला?

साइकल आवतजावत गर्न सस्तो र सुविधाजनक साधन हो, तर धेरै मानिसहरू भएको ठाउँमा साइकल दोहोर्याएर हिंड्नु जस्ता शिष्टाचारको पालना गर्ने गरौं। साथै, साइकल पार्किङ गर्ने ठाउँ बाहेक अन्य ठाउँमा साइकल पार्क नगरौं।

 

फुकुओका शहरभित्र आवतजावतका लागि निशितेचु बस र सबवेको प्रयोग गर्न सुझाव दिईन्छ ।

विभिन्न स्थानहरूमा बस स्टपहरू र सबवे स्टेशनहरू छन्।

सस्तो अनि, साइकल पार्क गर्न चिन्ता पनि लिनु पर्दैन।

यदि धेरै मानिसहरू वा सामानहरू छन् भने, तपाईं ट्याक्सी लिन सक्नुहुन्छ।

यदि तपाईं पैसा पनि बचाउन चाहनुहुन्छ अनि, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न चाहनुहुन्छ भने, हिड्नुहोस्! यो नै सबैभन्दा उत्कृष्ट उपाय हो।

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्शको परिचय

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईंले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।

काउण्टर दिउँसो ३:३० बजेसम्म खुल्ला रहनेछ।

 

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैनI

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

 

विस्तृत जानकारीका लागि, निःशुल्क फोन सेवा नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोलाI

सोमबारदेखि शुक्रबार ९:०० बजेदेखि १८:०० बजेसम्म कल स्वीकार गरिन्छ I

 

कानूनी परामर्शको परिचय

अर्को जानकारी रहेको छ, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” को बारेमा।

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट, बुकिंगको आधारमा वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छI

भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोलाI

बुकिंग, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा रहेको बुकिंगफारम मार्फत् गर्न सक्नुहुन्छI

पहिले आउनेलाई पहिलो प्राथमिकता दिने भएकोले सर्वप्रथम फोनमार्फत परामर्शको निम्ति बुकिंग गर्नका लागि सुझाब दिन्छौंI

निःशुल्क फोन सेवा नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोलाI

सोमबारदेखि शुक्रबार, बिहान पौने ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छI

 

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकाले ढुक्क भएर परामर्श लिनुहोस्I

नयाँ कोरोनाभाइरस संक्रमण रोक्नको लागि, यहाँ आउनुहुँदा सकेसम्म मास्क लगाउन र हात धुनका लागि अनुरोध गर्दछौंI

2022.04.07[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【आफ्नो परिचय】

तेस्रो वर्षमा प्रवेश भएपछिको आजको पहिलो कार्यक्रममा, मेरो छोटकरीमा परिचय दिन गईरहेकी छु। मेरो नाम सरिता महर्जन हो, नेपालको काठमाडौँबाट।

फुकुओका आएको ७ बर्ष भयो। Kyushu University बाट Urban Planning मा PhD गरि हाल Love FM मा DJ को सँगसँगै, Professional Architect को रुपमा, जापानी डिजाईन् कम्पनीमा पनि काम गर्दैछु।

मलाई पुरानो जापानी शैलीको भवनहरुको अध्ययनको साथसाथै नयाँ शैलीको डिजाईन् गर्न मनपर्छ। जापानी खाना मलाई असाध्यै मनपर्छ, त्यसमा पनि फुकुओकाको तोन्कोचु रामेन र ओडेन साह्रै मनपर्छ। फुकुओकामा, Dazaifu र Ohari Park चै मलाई घुम्न र फुर्सदको समय बिताउन मनपर्ने ठाउँहरु हुन्।

मेरो छोटो परिचय यति नै। आगामी दिनहरुमा पनि, दैनिक जीवनमा उपयोगी जानकारी र रमाइला विषयबस्तुहरू निरन्तर प्रस्तुत गर्नेछु । कृपया कार्यक्रम सुनिदिनु होला।

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

दोस्रो पटकको खोप लिईसक्नु भएका, १८ वर्षका वा सोभन्दा माथिका फुकुओका शहरको नागरिकहरुलाई, फुकुओका शहरले तेस्रो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

दोस्रो पटकको खोप लगाएको लगभग ६ महिनापछि पनि खोप कुपन पाउनु भएन भने, कल सेन्टरमा फोन गर्नुहोला।

५ देखि ११ वर्षका बालबालिकालाई पनि खोप लगाउन शुरु गरिएको छ ।

११ वर्षदेखि उमेरको क्रम अनुसार खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श लिन र बुकिंग गर्न सकिने फोन नम्बर रहेको छ,

०९२-२६०-८४०५ । हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

बसोबास कर छुट भएका परिवारहरूका लागि आपतकालीन विशेष अनुदान रकमको सूचना

नयाँ कोरोनाभाइरसको सङ्क्रमको प्रभाव लामो समयसम्म रहिआएको कुरालाई मध्यनजर गरि, जापान सरकारले जिविकोपार्जनमा टेवा पुर्‍याउन, बसोबास कर छुट भएका परिवारहरूलाई प्रति परिवार १,००,००० येन नगद उपलब्ध गराउने निर्णय गरेको छ।

बसोबास करको दायराभित्र नपरेका र भुक्तानीका लागि योग्य भएका परिवारहरुलाई फुकुओका सिटि नगरपालिकाले अनुदान रकमको विवरण वा पुष्टि गर्नुपर्ने बिषयवस्तुहरु उल्लेखित पुष्टिकरण पत्र पठाएको छ।

अनुदान रकम प्राप्त गर्नका लागि प्रक्रियाको आवश्यक पर्छ।

पुष्टिकरण पत्र प्राप्त गर्नुहुने महानुभावहरुले विवरणको राम्ररी जाँच गरि, पुष्टिकरण जारी भएको मितिबाट ३ महिना भित्र फिर्ता पठाउनुपर्छ।

अनुदानरकमको बारेमा परामर्श लिन सकिने फोन नम्बर,  ०१२०-०१८-०९२ हो।

सोमबारदेखि शुक्रबार, बिहान ९:०० देखि बेलुका ६:०० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी, स्पेनिश र पोर्चुगिज भाषाहरूमा परामर्श लिन सकिन्छ।

 

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ