ブログ

ポッドキャスト

ポッドキャスト RSS

2023年01月

2023.01.26[Thu] 09:00

अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【मौसमी खाद्य सामग्री- रेन्कोन्】

आजको कार्यक्रममा, प्रायः वर्षको यस समयमा धेरै देखिने खाद्य सामग्रीको बारेमा छोटो जानकारी रहेको छ। के तपाईहरुलाई "रेन्कोन्" भनिने तरकारीको बारेमा थाहा छ? रेन्कोन् भनेको कमलको जराको तरकारी हो। तपाईंहरुमध्ये धेरैले यो तरकारी पक्कै पनि खानु भएको वा बजारमा देख्नु भएको हुनुपर्छ, तर नाम थाहा नहुन सक्छ। म जापान आएको शुरुशुरुमा यो तरकारी बजारमा देखेपनि, के हो, अनि कसरी पकाउने थाहा नभएर किन्ने गरेकी थिइन, तर पछि जापानी साथीहरुबाट यसको बारेमा थाहा पाउँदा साह्रै अचम्म लाग्यो। नेपालमा त कमललाई फूलको रुपमा बाहेक लिईएको थाहा थिएन, तर जापानमा यस फूलको जरालाई तरकारीको रुपमा खाने गरिंदो रहेछ।

 

"रेन्कोन्", हिले माटो मूनि कमलको जरा विस्तारित भई फलेको भाग हो।

हेर्दा जरा जस्तो देखिने भएकोले यसलाई कमलको जरा भन्ने गरेको हो।

 

रेन्कोन्लाई गोलो आकारमा काट्दा, त्यसमा धेरै प्वालहरू देख्न सक्नुहुन्छ जसबाट "भविष्य देखिन्छ" भन्ने गरिन्छ।

त्यसैले, "उज्ज्वल भविष्यको संभावना" को रुपमा, जापानमा पुरातन समयदेखि रेन्कोन् शुभ खानाको रुपमा लोकप्रिय रहँदै आएको तरकारी हो। रेन्कोन्लाई उमालेर भुट्ने वा सूपमा हालेर खाने जस्ता स्वादिलो रुपमा खाने धेरै तरिकाहरु छन्।

नव वर्षको व्यञ्जन, ओसेचीमा पनि, "आउँदो १ वर्ष उज्ज्वल रहोस्" भन्ने मनोकामना सहित यो तरकारी प्रयोग गरिन्छ।

 

फुकुओका प्रान्तको स्थानीय व्यञ्जन "चिकुजेन्नि" मा पनि रेन्कोन् प्रयोग गरिन्छ र यो स्थानीयहरूमाझ एकदम लोकप्रिय रहँदै आएको छ। रेन्कोन् बजारमा सजिलै किन्न पाइन्छ तर आफैले "चिकुजेन्नि" पकाएर खान चाहिं अलि गाह्रो होला कि जस्तो लाग्छ। तैपनि, आजकल नेटबाट धेरै कुरा सिक्न सकिने भएकोले, तपाईंहरु पनि फुर्सदमा पकाउने तरिका हेरेर, आफै घरमा बनाउने कोशिस गर्न सक्नुहुन्छ। रमाइलो नै हुन्छ!

 

वा, आजकल कन्भिनीयन्स स्टोरमा, खानको लागि तताए मात्र पुग्ने गरि पकाएर राखिएका तरकारीहरु पनि किन्न पाईन्छन्। अवश्य पनि, फुकुओकाको परम्परागत खानाको स्वाद लिएर हेर्नुहोला है!

 

 

【फुकुओका शहरको सूचना】

Lonely Planet द्वारा ‘फुकुओका’ को चयन!

वर्ष २०२३ मा घुम्नैपर्ने यात्रा गन्तव्यहरूको घोषणा गर्ने " Best in Travel 2023" मा, जापानबाट

केवल "फुकुओका" मात्र चयन भएको छ !!!

यो, विश्वको सबैभन्दा ठूलो सेयर बजारलाई ओगट्ने, मुख्यतया युरोप र संयुक्त राज्य अमेरिकामा पढिने यात्रा गाइडबुक " Lonely Planet", प्रत्येक बर्ष शरद ऋतुमा घोषणा गरिन्छ, र यस वर्ष "खाद्य" विधामा "फुकुओका" चयन भएको छ।

याताई र रामेनबाट शुरु गर्दै, स्टाइलिश बार, कफी सपहरू, आदि विभिन्न प्रकारका खाद्य संस्कृतिको मजा लिन सकिने फुकुओकाले, संसारभरको पनि ध्यानाकर्षित गरिरहेको छ।

"Best in Travel 2023" भनि खोज्नुभयो भने, प्रकाशित रेस्टुरेन्टहरू हेर्न सक्नुहुन्छ।

कृपया हेन्रु होला।

https://www.lonelyplanet.com/japan/kyushu/fukuoka

2023.01.19[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【सु-स्वास्थ्य वर्षको लक्ष्य राखौं】

सामान्य समयमा भन्दा अलि बढी खानपान हुने वर्षको अन्त्य र नव वर्षको बिदा सकिएपछि, धेरैजसोलाई पर्ने चिन्ता भनेको, कम्मरको रेखा।

यसै बेला, वर्षभरि सु-स्वास्थ्यका लागि व्यायाम गर्ने बानी बसाल्दा कस्तो होला?

 

दौडने, पौडी खेल्ने, योगा गर्ने, जिम जाने आदि जस्ता, आफ्नो व्यक्तित्व र प्राथमिकता, जीवनशैलीसँग मिल्ने व्यायाम छनोट गर्नाले लामो समयससम्म निरन्तरता दिनमा मद्दत गर्छ।

दैनिक व्यायामको साथसाथै, स्वस्थ खानपान अनि पर्याप्त निन्द्रा लिनमा पनि ध्यान पुर्याऔं।

 

साथै, कम्प्युटर, स्मार्टफोन, ट्याब्लेट जस्ता लामो समयसम्म मोनिटर स्क्रिनमा हेरिरह्यो भने, आँखा थाक्छ। यस्तो बेला, आँखा न्यानो पार्नाले आँखा वरपरको भाग आरामदायी हुने भएकोले, आँखालाई न्यानो पारेर राख्नु पनि राम्रो उपाय हुन सक्छ।

 

आँखालाई न्यानो पार्ने सरल तरिका, नुहाउँदा आँखा बन्द गरेर, पानी पलकमा पार्ने हो।

यस्तो गर्दा, आँखा पूर्ण रुपमा राम्ररी बन्द गर्न जरूरी छ। आँखा भित्र पानी नछिर्न ध्यान दिनु होला।

 

नपोल्ने जतिको न्यायो बाफिएको रुमाल आदि, आँखा बन्द गरेर पलकमाथि केही मिनेट न्यानो पारी राख्नु पनि प्रभावकारी हुन्छ। बाफिएको रुमाल, माइक्रोवेभमा पनि सजिलै तयार गर्न सकिन्छ, वा बाथटबमा बसेको बेला तातो पानीमा भिजेको रुमाल पलकमाथि राख्नु पनि राम्रै होला।

 

व्यावसायिक रूपमा उपलब्ध आँखाको मास्क वा फेसियल स्टीमर पनि प्रयोग गर्न सक्नुहुन्छ।

यस प्रकार घरमा भएको चीजहरूबाट गर्न सकिने सरल तरिकाहरु अपनाएर सजिलै र स्वस्थ तरिकाले यो १ वर्ष बिताऔं!

 

 

【फुकुओका शहरको सूचना】

नोरोभाइरसदेखि सावधान!

जाडोमा नोरोभाइरसको कारण वान्ता हुने, पखाला हुने, पेट दुख्ने र बान्ता आउला जस्तो हुने समस्या बढी हुने गर्छ।

यो भाइरस शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि संक्रमित हुन्छ।

 

भाइरस हात वा खानाद्वारा शरीरमा प्रवेश भई, यसले पखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ।

संक्रमित व्यक्तिको बान्ता वा पखालाको कारण हावामा भएको भाइरस, सास लिंदा संक्रमित हुने वा संक्रमित व्यक्तिले पकाएको खाना खाएर पनि सर्न सक्दछ।

साथै, भाइरस भएको ओइस्टर आदि जस्ता bivalves नतताईकन खाँदा पनि भाइरस सर्न सक्दछ।

 

धेरै मात्रामा बान्ता र पखालाबाट डिहाईड्रेसन हुन सक्छ।

तुरुन्तै चिकित्सकलाई देखाउने गरौं।

यो सामान्यतयाः २, ३ दिनमा निको हुन्छ, तर लक्षणहरू हराए पनि १ हप्तादेखि १ महिनासम्म, भाइरस दिसामा निस्कन्छ, र यो अन्य व्यक्तिहरूलाई संक्रमित गराउने कारण बन्ने भएकोले यसप्रति सजक रहौं।

 

संक्रमणलाई बढ्न नदिन, निम्न रोकथामका बिधिहरू अपनाऔं।

खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय पछि आदिमा, अवश्य साबुन पानीले हात धुने गरौं।

खाना पकाउने भाँडाहरू हरेक पटक प्रयोग गरेपछि राम्रोसँग धोएर उमालेको पानी वा क्लोरीन ब्लीचले कीटाणुरहित पार्ने गरौं।

अल्कोहल युक्त किटनाशक भने नोरोभाइरस विरुद्ध कम प्रभावकारी हुन्छ।

नोरोभाइरस ८५℃ देखि ९०℃ तापक्रममा ९० सेकेन्ड वा सो भन्दा बढि ततायो भने मर्छ।

खानेकुरालाई पर्याप्त मात्रामा तताउने गरौं। काँचो खाने तरकारी र फलफूल राम्रोसँग धोएर प्रयोग गरौं।

शरीर सन्चो नभएको बेला खाना नपकाउनु पनि उतिकै महत्वपूर्ण छ।

2023.01.12[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他)

【विपद् रोकथाम तथा स्वयंसेवक सप्ताह】

जापानमा, जनवरी १५ देखि जनवरी २१ सम्म "विपद् रोकथाम तथा स्वयंसेवक सप्ताह"  भनि तोकिएको छ। सन् १९९५, १७ जनवरीमा आएको हान्सिन आवाजी महाभूकम्पलाई आधार मानेर यो सप्ताह तोकिएको थियो।

ठूलो क्षति भएकोले सरकारले मात्रै दिने सहयोगको सीमा हुने, त्यस्तो समयमा स्थानीय समुदाय र छिमेकीहरूसँगको आपसी सहयोग, आफैंले आफ्नो सुरक्षा गर्ने आदि कुराहरुको महत्त्वलाई पुन:पुष्टि भएको भन्ने गरिन्छ।

यस घटनापछि, विपद्को पूर्वतयारीको महत्व र विपद् आइपर्दा स्वैच्छिक विपद् रोकथाम गतिविधि र स्वयंसेवी गतिविधिहरूमा पुनर्विचार गर्ने उद्देश्यले "विपद् रोकथाम तथा स्वयंसेवक दिवस (१७ जनवरी)" र "विपद् रोकथाम तथा स्वयंसेवक सप्ताह (जनवरी १५ देखि २१ सम्म)" स्थापना गरिएको थियो।

विपद् रोकथाम तथा स्वयंसेवक सप्ताहको अवसरमा, हामीहरु पनि विपद्को पूर्वतयारीको बारेमा सोचेर हेर्ने होइन त?

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

“JapaneseChattingEvent” को परिचय

फुकुओकामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच सजिलै कुराकानी गर्ने “Japanese Chatting Event”, हरेक महिनामा एक पटक आयोजना हुँदै आईरहेको छ।

अर्को आयोजना जनवरी ३१ मंगलबार, अनलाइनमा हुनेछ।

 

Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ।

हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, सहभागी हुनुहोला।

सहभागिता शुल्क नि:शुल्क हो तर आवेदन दिन आवश्यक छ। आवेदन दिने तरिका आदि अधिक जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुक पेजमा हेनुहोला।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज रहेको छ, www.fcif.or.jp.

केही नबुझेको कुरा भएमा, कृपया Fukuoka International Student Support Association मा सम्पर्क गर्नुहोस् ।

फोन नम्बर छ, ०९२-२६२-१७४४ । तपाईंहरुको सहभागीताका लागि पर्खिरहेका छौं।

 

विदेशी भाषा समाचार पत्र "FCIF"शिशिर ऋतु संस्करणको प्रकाशन तथा कागजी रुपमा प्रकाशन बन्दको सूचना

फुकुओकामा जीवनयापन सम्बन्धि जानकारी वा जापानी संस्कृति आदिको बारेमा जानकारी दिने विदेशी भाषा समाचार पत्र "FCIF" को शिशिर ऋतुको संस्करण प्रकाशित भएको छ।

यस पटकको विषयवस्तु रहेको छ, "हाकाताको शिशिर ऋतुको खानपान संस्कृति"।

 

फुकुओकामा बस्दै आउनु भएका विदेशीहरुसँगको अन्तर्वार्ता, सरकारी प्राथमिक विद्यालय र जुनियर हाई स्कूलको लागि भर्ना प्रक्रिया, माई नम्बर कार्ड आदि जस्ता जीवनयापनको लागि उपयोगी जानकारीहरु पनि राखिएको हुनाले अवश्य पढ्नु होला!

 

समाचार पत्र तपाईं बस्नुभएको वार्ड कार्यालय, नगरपालिका कार्यालयको सूचना प्लाजा, फुकुओका सिटी इन्टरनेशनल सेन्टर आदिबाट पाउन सक्नुहुन्छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज "www.fcif.or.jp" मा पनि हेर्न सक्नुहुन्छ।

साथै, यस पटकको शिशिर ऋतुको संस्करणदेखि, “विदेशी भाषा समाचार पत्र "FCIF" कागजी रुपमा प्रकाशन बन्द गर्ने निर्णय भएको छ।

भविष्यमा, समयमै लचिला जानकारीहरु प्रदान गर्ने उदेश्यले, होमपेज र SNS आदि मार्फत, उपयोगी जानकारीहरु थप पोस्ट गर्दै जाने हुनाले, कृपया हेर्न जारी राख्नुहोस्!

2023.01.05[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【"नव वर्ष" र फुकुओकाको विचित्रता! हाचुमोडेको "सान्स्या माइरी"】

वर्ष २०२३ को आज पहिलो प्रसारण!

तपाईंहरुको नव वर्षको बिदा कस्तो रह्यो? रमाइलोसँग नै बित्यो होला!

तपाईंहरु धेरैजसोले एक हप्ता जतिको नयाँ वर्षको बिदा पाउनु नै भयो होला। मेरो पनि १ हप्ता जति नै बिदा थियो। बिदामा घरको सरसफाई, बजारमा लागेको नयाँ वर्षको सेलमा सपिंग, साथीहरुसँग रमाइलो भेटघाट, परिवारसँग घुमघाम आदि कार्यक्रमहरु गरेर बित्यो। समग्रमा भन्नु पर्दा, धेरैपछिको लामो बिदा सुखद अनि रमाइलो नै भयो। यो वर्षदेखि दैनिक रुपमा बिहान छोटो समय भए पनि शारीरिक ब्यायाम गर्ने, सकेसम्म हिड्ने, भर्याङको प्रयोग गर्ने भनेर विचार गरेकी छु। आजसम्म त पूरा गर्दै आएकी छु, हेरौ आगामी दिनहरुमा कतिको निरन्तरता दिन सक्छु! तपाईंहरुको पनि नव वर्ष २०२३ को कुनै संकल्प वा योजना पक्कै पनि होला। तपाईंहरु सबैको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु।

 

जापानमा, नयाँ वर्ष भन्नाले "हाचुमोडे" लाई जनाउँदछ। हाचुमोडे भनेको, वर्षको सबैभन्दा शुरुवातमा,

मन्दिरहरुमा गएर नयाँ वर्ष राम्रो होस् भनि कामना गर्नु हो।

पुराना परम्पराहरुमध्ये, हाचुमोडे विशेष रुपले लामो समयदेखि निरन्तर रहँदै आएको छ।

फुकुओकामा, "हाचुमोडे" = "सान्स्या माइरी" भन्ने गरिन्छ,

‘सान्स्या माइरी’ (तीनवटा मन्दिरहरुको दर्शन गर्ने) भन्ने परम्परामसँग जोडिएको छ।

मनपर्ने मन्दिर वा स्थानीय मन्दिरहरू तीन वटा छानेर दर्शन गर्न जाने गरिन्छ। गन्तव्य मान्छे अनुसार फरक फरक हुन सक्छ, तापनि, फुकुओका शहरभित्रको तेन्जिन र हाकाता क्षेत्र वरपरका तीनवटा मन्दिरहरूमा जान चाहनुहुन्छ भने...सल्लाह दिनुपर्दा, कुसिदा जिन्ज्या, केगो जिन्ज्या र सुमियोसी जिन्ज्या पर्न आउँछ।

 

घुमघाम गर्ने जस्तो नि हुन्छ, अनि मन्दिरको दर्शन पनि हुन्छ। तपाईं हामी पनि ‘सान्स्या माइरी’ गरेर हेर्ने होइन त?

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

तेस्रो पटक, चौंथो पटक र पाँचौं पटकको खोप लिनेहरूका लागि Omicron strain विरुद्धको खोप लगाउने काम भईरहेको छ। Omicron strain विरुद्धको खोप प्रति व्यक्ति एक पटक लगाईने खोप हो।

पछिल्लो खोप लिएकोबाट ३ महिना कटिसकेकाहरूका लागि, खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

खोप कुपन हराएका महानुभावहरुले, पुन: जारीको लागि आवेदन दिन आवश्यक छ। कृपया कल सेन्टरमा फोन गर्नुहोस्।

विदेशबाट फुकुओका शहरमा आउनुभएका महानुभावहरुले यदि खोप लगाउन चाहनुहुन्छ भने,

खोप कुपन जारीको लागी निबेदन दिन आवश्यक छ।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श, बुकिंग र खोप कुपन जारीको बारेमा बुझ्न, सम्पर्क गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ ।

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

नेपाली, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

 

Fukuoka Prize  पुरस्कार वितरण समारोहको संग्रह उपलब्ध हुने सम्बन्धि

फुकुओका शहरले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्‍याउने
व्यक्तिहरुलाई Fukuoka Prize ले सम्मान गर्दै आईरहेको छ। ३२औँ पटकको यस वर्षको Fukuoka Prize
समारोह डिसेम्बर २२ मा आयोजना भएको थियो र यस वर्षको विजेताहरु, ताइको ड्रमर Eitetsu Hayashi,
कला र इतिहासविद Timon Screech र कलाकार Shahzia Sikander ले आसन ग्रहण गर्नुभएका थिए।
भव्यताकासाथ सम्पन्न यस पुरस्कार वितरण समारोहको संग्रह, YouTube मा छिट्टै उपलब्ध गराउने
योजना रहेको छ।
Fukuoka Prize को होमपेजमा यस भिडियोको लिङ्क राखिएको छ, त्यसैले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।

https://fukuoka-prize.org/en/

 

Fukuoka Prize  भूतपूर्व विजेताहरूलाई आमन्त्रित गर्ने कार्यक्रम सम्बन्धि

○ १७ औं शैक्षिक अनुसन्धान पुरस्कार विजेता, इतिहासकार Takeshi Hamashita लाई आमन्त्रित गर्ने कार्यक्रम, फेब्रुअरी ४, शनिबार आयोजना हुने भएको छ।

प्रोफेसर हामाशिताद्वारा लेक्चर「アジアを海から考える」अर्थात् "एशियालाई समुद्रबाट सोच्दा" भन्ने बिषयमा, फुकुओका शहरको सावारा वार्डको निशिजिन प्लाजामा आयोजना हुन गईरेहेको छ। थप जानकारीको लागि, Fukuoka Prize को होमपेजमा गएर News & Topics को पृष्ठमा हेर्नुहोला।

हाल सहभागीहरूको आवेदन लिने काम भईरहेको हुनाले, इच्छुक महानुभावहरु अवश्य पनि सहभागि हुनुहोस्।

https://fukuoka-prize.org/topics/detail/54259378-4e74-4815-bae8-0aba3f08251f

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ