ブログ

ポッドキャスト

ポッドキャスト RSS

2023年09月

2023.09.28[Thu] 09:00

अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【सेप्टेम्बर ३० - अन्तर्राष्ट्रिय अनुवाद दिवस】

यो हप्ताको शनिबार, सेप्टेम्बर ३०, "अन्तर्राष्ट्रिय अनुवाद दिवस" को रूपमा चिनिन्छ।

एक भाषाबाट अर्को भाषामा अनुवाद गर्न व्यावसायिकता, उचित व्याख्या र शब्दावलीको प्रयोग हुनु आवश्यक छ । अन्तर्राष्ट्रिय समुदायलाई एकतावद्ध गर्न, संवाद तथा छलफललाई सहजीकरण गर्न, विकास तथा विश्व शान्ति र सुरक्षा प्रवद्र्धन गर्न भाषा अनुवादक तथा भाषाविज्ञको महत्वपूर्ण योगदान हुने भएकाले उनीहरुको सम्मानमा दिवस मनाउन थालिएको हो ।

जापानको जीवनयापनमा भाषाको अनुवाद गरेर सहज महसुस गर्नुहुनेहरु धेरै हुनुहुन्छ होला। आजकल, सजिलो र सुविधाजनक निशुल्क मोबाइल अनुवाद app हरू थुप्रै छन्। म पनि दैनिक रुपमा भाषा अनुवादको लागि मोबाइल app हरु चलाउने गर्छु। तपाईहरु पनि फुकुओकाको जानकारीहरुका लागि, जापानिजहरूसँग अन्तरक्रिया गर्न आदि बिभिन्न अवसरमा अनुवाद app प्रयोग गरि फुकुओकाको जीवनयापन आनन्दमयी बनाऔं।

 

 

【ओमुचु तो आन्सिन् तेइकिबिन्】

 फुकुओका शहरमा, ० देखि २ वर्षसम्मका बालबालिकाहरु हुर्काउने परिवारहरुका लागि おむつと安心定期便 (ओमुचु तो आन्सिन् तेइकिबिन्) नामक नयाँ सेवा सुरु गरिएको छ। यो सेवाले बाल हेरचाहका लागि डायपर जस्ता अन्य आवश्यक सामानहरु नियमित रुपमा प्रदान गर्दछ।

फुकुओका शहरमा बाल हेरचाह-सम्बन्धित सुविधाहरू र सेवाहरू प्रयोग गर्नुभयो भने, एउटा इलेक्ट्रोनिक स्ट्याम्प प्राप्त गर्नुहुनेछ, जसबाट डायपर, बेबी वाइप, बेबी फूड, पाउडर दूध र बेबी क्रिमहरु आदि जस्ता लगभग २०० प्रकारका सामानहरुबाट हरेक महिना २,००० येन मूल्य बराबरको सामानहरू साट्न सक्नुहुन्छ।

इलेक्ट्रोनिक स्ट्याम्पहरू प्राप्त गर्न, यस सेवाको लागि दर्ता गर्न आवश्यक छ।

यस सेवाको लागि योग्य घरपरिवारहरूलाई उपयोग निर्देशनहरू पठाइएको हुनाले कृपया सम्बन्धित वेबसाइटमा यस सेवाको प्रयोगको लागि दर्ता गर्नुहोस्।

शिशु स्याहारमा बच्चा राख्नु भएका परिवारहरुले इलेक्ट्रोनिक स्ट्याम्पहरू त्यहि नै प्राप्त गर्न सक्नुहुन्छ। त्यस्तै, कोदोमो प्लाजा र बाल हेरचाह एक्सचेन्ज सैलून जस्ता ठाउँहरूमा इलेक्ट्रोनिक स्ट्याम्पहरू प्राप्त गर्न सक्नुहुन्छ। अवश्य पनि यस सेवाको प्रयोग गर्नुहोस्!

थप विवरणहरूको लागि, कृपया "おむつと安心定期便 (ओमुचु तो आन्सिन् तेइकिबिन्)" भनि खोज्नुहोस्। नेपाली लगायत अंग्रेजी, चाइनिज, कोरियाली, र भियतनामी भाषाहरुमा जानकारीहरु राखिएका छन्!

2023.09.21[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【जापानको शरद ऋतु】

सेप्टेम्बर २३ मा जापानको छुट्टिहरू मध्ये एक , " Autumn Equinox Day " पर्छ। यसलाई "कृतज्ञता व्यक्त गर्ने र पुर्खाहरूप्रति सम्मान चढाउने" दिनको रूपमा तोकिएको छ साथै, यसलाई "दिन र रात बराबर हुने दिन" भनेर पनि चिनिन्छ। यो अनौठो छुट्टी प्रत्येक वर्ष सेप्टेम्बर २२ वा २३ तारिखमा पर्दछ, जुन सूर्यले भूमध्य रेखा पार गरेको दिनमा निर्भर गर्दछ।

यस वर्षको ‘च्युउस्युउ नो मेईगेचु’ अर्थात् ‘मध्य शरदको चन्द्रमा’, सेप्टेम्बर २९ बिहिबारमा देखा पर्नेछ। ‘च्युउस्युउ नो मेईगेचु’ भन्नाले बर्षभरिमा सबैभन्दा सुन्दर चन्द्रमा हो। जापानमा परापूर्वकालदेखि यसलाई हेर्ने परम्परा छ।

जापानमा सेप्टेम्बर महिना भन्नाले ग्रीष्म ऋतुबाट शरद ऋतुमा प्रवेश हुनु हो। गर्मी कम हुन थाल्छ, मौसम रमाइलो बन्दै आउँछ। जापानमा शरद ऋतुलाई प्रायः "फसलको मौसम" र "भोक लाग्ने मौसम" भनेर चिनिन्छ। भनिन्छ कि, गर्मीको कारण हराएको भोक पुर्न जागेर आउने र त्यस्तै बजारमा पनि धेरै स्वादिष्ट मौसमी खानेकुराहरु पाईने भएकोले शरदमा धेरै भोक लाग्छ रे।

तपाईंहरु पनि शरदको मौसमी खानाहरु तथा मौसमी फूलहरुको भरपूर आनन्द लिनुहोला!

 

 

【फुकुओका शहरको सूचना】

क्षयरोग रोकथाम सप्ताहको बारेमा

 

 

सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म क्षयरोग रोकथाम सप्ताह हो।

क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा जलन हुन्छ।

यो एक सरुवा रोग हो।

२०२२ मा, फुकुओका शहरमा १४३ नयाँ क्षयरोग बिरामीहरु पाईएका थिए।

क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, खकारमा रगत, छाती दुख्ने, अस्वस्थता, राती पसिना, र तौल घट्नु आदि समावेश छन्। शुरुका लक्षणहरू रुघाको जस्तै देखिन्छन्।

"खोकी २ हप्ता भन्दा बढि रहेमा", "खकार निस्केमा", "शरीर गलेमा", "अचानक तौल घटेमा" आदि केहि लक्षणहरु देखा परेमा, तुरुन्तै चिकित्सालयमा परामर्श लिनुहोस्।

प्रारम्भिक पहिचान र उपचारले रोगलाई गम्भीर हुनबाट बचाउने मात्र नभई, परिवारका सदस्य, साथीभाई र कार्यस्थल आदिमा संक्रमण रोकथाम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्दछ। 

क्षयरोग, सँधै संक्रमित भएको कारणले मात्र विकसित हुँदैन।

यदि शरीरको प्रतिरोधात्मक क्षमताले क्षयरोग ब्याक्टेरियालाई नियन्त्रण गर्न सकेन भने,

यो समयसँगै बढ्न र विकास हुन सक्छ।

संक्रमण र रोग रोक्नको लागि पर्याप्त निद्रा, सन्तुलित आहार, मध्यम व्यायाम, आदि दैनिक स्वास्थ्य हेरचाह प्रभावकारी हुन्छ। साथै, क्षयरोग लागि हाल्यो भने पनि, डाक्टरको निर्देशन अनुसार, हरेक दिन उचित औषधी सेवन गरी यसबाट छुटकारा पाउन सक्नुहुन्छ।

फुकुओका शहरमा, Fukuoka City Medical Interpreting Call Center छ, त्यहाँ अस्पताल खोज्नको लागि फोन मार्फत सल्लाह लिन सक्नुहुन्छ।

फोन नम्बर रहेको छ, ०९२-७३३-५४२९ ।

२० भाषाहरुमा यो सेवा उपलब्ध भएकोले, अप्ठ्यारो पर्दा अवश्य पनि परामर्श लिनु होला।

2023.09.14[Thu] 09:00

अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【NAKASU JAZZ】

यस सप्ताहन्तमा, फुकुओका शहर हाकाता वार्डको नाकासुमा, नि:शुल्क ज्याज फेस्टिवल "NAKASU JAZZ" आयोजना हुन गईरहेको छ। यो फेस्टिवल फुकुओकाको शरद ऋतु परम्पराहरू मध्ये एक हो। दुई दिनको यस फेस्टिवलमा, नाकासुको सडकहरूमा स्टेजहरू ठडिएका अनि रोमान्चक कलाकारहरूको प्रत्यक्ष प्रदर्शनहरुले सडकहरू भरिएका देख्न सक्नुहुन्छ। नाकासु भनेपछि नाइट लाईफ, अनि स्यालरीमेन र पर्यटकहरु धेरै आउने ठाउँको रुपमा चिन्ने धेरै हुनुहुन्छ होला तर, सबै उमेरका व्यक्तिहरुले यहाँ आएर रमाइलो गर्न सक्ने सुरक्षित वातावरण बनाउने स्थानीय बासिन्दाको चाहनाबाट यो फेस्टिवलको शुरुवात भएको हो। ज्याज प्रेमीहरू लगायत ज्याज थाहा नभएकाहरुले पनि यसको मनोरञ्जन लिन सक्छन्। सबै स्टेजहरु नि:शुल्क हेर्न पाउने नै यस उत्सवको आकर्षणहरुमध्ये एक हो। समय मिलाएर तपाईहरु पनि प्रेम र जोशले भरिपूर्ण "NAKASU JAZZ" को आनन्ददायी संगीतमा झुम्नु भए कसो होला!

 

【फुकुओका शहरको सूचना】

“कानूनी परामर्शर मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्शको परिचय”

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।

 “कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट, बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ। भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी 

अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।

मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

बुकिंग, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म स्वीकार गरिन्छ। विस्तृत जानकारीका लागि, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोला।

2023.09.07[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【होज्योया】

फुकुओकाका तीन प्रमुख चाडहरू मध्ये एक हो, "होज्योया"। तपाईंहरु यस चाडमा जानु भएको छ कि छैन?

फुकुओका शहरको हिगाशी वार्डमा अवस्थित हाकोजाकी तीर्थस्थलमा, सेप्टेम्बर १२ देखि १८ तारिखसम्म ७ दिन ७ रातसम्म मनाइने, एक हजार वर्षदेखि चलिआएको यो शरद ऋतुको चाडपर्व हो।

यस चाडमा बाँच्नको लागि प्राप्त गरेको जीवनको लागि प्रार्थना र कृतज्ञता व्यक्त गरिन्छ। साथै, "सफल व्यवसाय" र "पारिवारिक सुरक्षा" को लागि प्रार्थना गर्ने दर्शनार्थीहरु धेरै हुन्छन्। लगभग १ किलोमिटरको बाटोमा, खानाका स्टलहरू, भूत बंगला, सुटिङ ग्यालरी, यो-यो फिशिङ बुथ सहित लगभग ५००  स्टलहरू हुनेछन्, जसले गर्दा एक जीवन्त चाडपर्वको वातावरणको महसुस गर्न सक्नुहुन्छ। बिशेष गरि, हरियो पात भएको नयाँ अदुवा र "याकिमोची" भनिने परम्परागत मिठाई बेच्न राखेका हुन्छन्। यस बाहेक, जापानी ड्रम आदिको सांगीतिक कार्यक्रम र "च्यान्पोन्" भनिने विशेष कांचको सामग्रीहरुको प्रदर्शनी पनि रहनेछ। समय मिलाएर तपाईहरु पनि जापानी संस्कृति र जापानी चाडपर्वको मनोरञ्जन लिएर हेर्नुभए कसो होला!

 

 

【फुकुओका शहरको सूचना】

Fukuoka Prize को बारेमा

फुकुओका शहरले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्‍याउने व्यक्तिहरुलाई Fukuoka Prize ले सम्मान गर्दै आईरहेको छ। यस वर्षको ३३औँ Fukuoka Prize का विजेताहरुमा,

The Grand Prize को विजेतामा, इतिहासविद Thongchai WINICHAKUL,

The Academic Prize मा, राजनीतिविद् र दक्षिण पूर्बी एशियाली अनुसन्धानविद् Khatharya UM

The Arts and Culture Prize मा, चलचित्र निर्देशक ZHANG Lu छनोट भएका छन्।

पुरस्कार समारोह सेप्टेम्बर १२ (मंगलबार) र त्यसपछि सेप्टेम्बर १३ (बुधवार) देखि सेप्टेम्बर १५ (शुक्रबार) सम्म नागरिक मञ्च आयोजना हुनेछ। १३ गते (बुधवार), कला र संस्कृति पुरस्कार बिजेता, चलचित्र निर्देशक ZHANG Lu को लेक्चर; १४ (बिहीबार) मा, राजनीतिविद् र दक्षिण पूर्बी एशियाली अनुसन्धानविद् Khatharya UM को लेक्चर, त्यस्तै १५ तारिक (शुक्रबार) The Grand Prize विजेता Thongchai WINICHAKUL को लेक्चर हुनेछन्।

सबैमा निःशुल्क सहभागी हुनसक्नुहुन्छ साथै, पछि अनलाइनमा रेकर्ड गरिएको संग्रह हेर्न सक्नुहुन्छ। प्रत्येक नागरिक मञ्चको रेकर्ड हेर्न सकिने अवधि अक्टोबर २ (सोमबार) देखि अक्टोबर ३१ (मंगलबार) सम्म हो। फोरममा सहभागिताका लागि सेप्टेम्बर १६ (शनिबार) सम्म दर्ता गर्नुहोस्।

कार्यक्रमको बिस्तृत जानकारीका लागि, कृपया "福岡アジア文化賞" वा " Fukuoka Prize " भनि खोजी, Fukuoka Prize को आधिकारिक होमपेजको इभेन्ट पेजमा हेर्नुहोला।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ