ブログ

ポッドキャスト

ポッドキャスト RSS

2023年06月

2023.06.29[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【डीजे कुराकानी】

वर्ष २०२३ को आधा त कटि नै सक्यो! फुकुओकामा बस्नुहुने सबैजनाको जीवनयापन कस्तो हुँदैछ होला? तपाईंहरुलाई थाहा छ, फुकुओकामा सांगीतिक कार्यक्रम, खाना महोत्सव, स्थानीय उत्पादन प्रदर्शनीहरू आदि जस्ता बिभिन्न किसिमका मनोरञ्जनका कार्यक्रमहरु आयोजना हुँदै आइरहेको छ।

मेरो भन्नु पर्दा, यस वर्ष अप्रिलको शुरुवातमा परिवार र साथीहरुसँग माइजुरु पार्कमा हानामी पिकनिकको आनन्द लिए। पार्क परिसरमा चटक, नाच, संगीत आदि बिभिन्न प्रस्तुतिहरु थिए, एकदमै रमाइलो भयो। त्यसपछि, मेको गोल्डेन विक बिदामा, उमिनो नाखा मिची पार्कमा परिवार र साथीहरुसँग घुम्न गए। त्यहाँ बच्चाहरुका लागि थरिथरिका खेलकूदका सामानहरु हुने अनि चिडियाघर, बिशेष गरि घरपालुवा जनावरहरु छोएर अनुभव गर्न सकिने पनि छ। आजकल गर्मी एकदम बढ्दै आईरहेको छ। अब सुमुन्द्रतिर घुमघाम गर्ने योजना बनाई रहेकी छु। साथीहरुसँग बार्बिक्यु गर्ने योजना पनि छ । नेटमा खोज्नुभयो भने फुकुओका शहरमा रेंटलमा सामान लिएर बार्बिक्यु गर्न मिल्ने धेरै ठाउँहरु पाउनुहुन्छ। 

तपाईहरुको फुकुओकामा जीवनयापनको अनुभव र सुझावहरू, हामीलाई सुन्न मन छ! कृपया "761@lovefm.co.jp" मा ईमेल गर्नुहोला। जुलाई देखिको वर्षको आधा पनि भरपुर आनन्द लिएर बिताऔं !

 

 

हाकाता गिओन् यामाकासा

जुलाई महिनामा फुकुओकामा मनाईने सबैभन्दा ठूलो पर्वमध्ये एक हो, "हाकाता गिओन् यामाकासा।" जुलाई १ देखि १५ सम्म मनाईने, ७०० वर्षभन्दा बढी निरन्तर रुपमा चलि आईरहेको यो, हाकाताको पर्व हो। 

तपाईंहरूले यो पर्व हेर्नुभएको छ?

स्थानीयवासी लगायत प्रान्त बाहिरका पर्यटकहरू पनि धेरै हेर्न आउने भएकोले यस समय शहरमा जीवन्त वातावरणको सृजना हुन्छ।

जुलाई १ मा, फुकुओका शहरका विभिन्न स्थानहरूमा, लगभग १० मिटर अग्लो भव्य र प्रभावशाली "खाजारियामा", सरल अर्थमा भन्नु पर्दा भव्य सजाईएको रथहरु प्रदर्शन गरिन्छ। रथको अगाडि र पछाडिको सजावटमा ऐतिहासिक दृश्यहरू, पौराणिक कथाहरू चित्रण गर्ने विभिन्न विषयवस्तुहरू, त्यस्तै टिभी कार्यक्रमहरु र चलचित्रहरुका हिरो हिरोइनका विषयवस्तुहरू समाबेश हुन्छन्। हाकाता निन्योशी भनेर चिनिने दक्ष कारिगरहरूद्वारा बनाईएका यी कलाकृतिहरू, बालबालिकादेखि वृद्धसम्म सबै उमेरका मानिसहरूबीच लोकप्रिय छन्।

पर्वको समाप्तिको अन्तिम दिन, जुलाई १५ मा "ओइयामा" नामक कार्यक्रम आयोजना हुन्छ। यो हाकाता गिओन् यामाकासाको मुख्य आकर्षणहरूमध्ये एक हो। लगभग ५ किलोमिटरको दौड, हाकाता वार्डको खामिखावाबाटा-माचीमा रहेको कुशिदा जिन्ज्याबाट, बिहान ४:५९ बजे ड्रमको सङ्केतसँगै शुरु हुन्छ। पुरुषहरूले करिब १ टन तौलको र करिब ३ मिटर अग्लो भएको यामाकासालाई आफ्नो काँधमा बोकेर, उत्साहजनक स्वरमा, सडकमा रथ दौडाउँछन्। कुशिदा जिन्ज्यादेखि सुसाकी-माची सम्मको दौड हेर्न झिसमिसे बिहानै दर्शकहरू भेला हुन्छन्। दौडमा भाग लिने पुरुषहरूको उत्साह र शक्तिको प्रतक्ष्य अनुभव गर्न सक्नुहुन्छ। अन्तिम दिन बाहेक, जुलाई १० देखि १४ को बीचमा पनि, अभ्यासको लागि रथहरु सडकमा दौडाएको देख्न सक्नुहुन्छ।

"हाकाताको कारणले यामाकासा भएको होइन, बरु यामाकासाको कारणले हाकाता भएको हो " भन्ने प्रसिद्ध उखान छ। हाकाताक्को भनेर सिङ्गो रुपमा मनाईने यस पर्वको, अवश्य पनि आनन्द लिनुहोला।

2023.06.22[Thu] 09:00

अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【आजिसाई फूल हेर्नका लागि सबैभन्दा उत्तम समय】

जुन देखि जुलाई सम्म वर्षाको मौसममा रङ्ग थप्ने आजिसाई फूल जापानको मौलिक फूल हो। फूल जस्तो देखिने आजिसाई चाहिं, वास्तवमा गाकु हाइड्रेंजियाबाट विकसित भएको हो।तिनीहरूले समयसँग आफ्नो रङ्ग सेतो देखि नीलो वा बैजनीमा परिवर्तन गर्दछ।

फुकुओका शहरमा पनि, सजिलै यी फूलहरु देख्न सक्नुहुन्छ। फुकुओका सिटी बोटानिकल गार्डेन र फुकुओका क्यासलको साइटसम्म फैलिएको माइजुरु पार्क जस्ता ठाउँहरूमा हेर्न सक्नुहुन्छ। त्यस बाहेक, लगभग ७० प्रजातिका लगभग १०,००० आजिसाई बिरुवाहरू फूल्ने उमि नो नाखा मिची खाईहिन् कोउएन र नोकोनोशिमा आइल्याण्ड पार्कमा रहेको "आजिसाई नो मिची"। त्यस्तै, जापानको तीन प्रमुख हाचिमांगु तीर्थस्थलहरू मध्ये एक हाकोजाकी गुउमा १०० प्रजाति र ३,५०० बिरुवाहरू भएको "आजिसाइ एन" पनि छुटाउन नै नहुने स्पट हो।

उदास लाग्दो वर्षाको समयमा, जीवन्त आजिसाई फूलहरुको साथमा आनन्द लिनुहोस्।

 

 

【फुकुओका शहरको सूचना】

विश्व एक्वाटिक्स च्याम्पियनशिप सम्बन्धी

यो फुकुओका शहरको सूचना हो।

विश्व एक्वाटिक्स च्याम्पियनशिप २०२३ फुकुओका टूर्नामेंटको आयोजना, आउँदो महिनामा हुन गईरहेको छ।

जुलाई १४ मा, २२ वर्षमा पहिलो पटक जापान आयोजक हुने विश्व एक्वाटिक्स, फुकुओकामा उद्घाटन हुनेछ।

स्विमिङ, आर्टिस्टिक स्विमिङ, डाइभिङ, हाई डाइभिङ, वाटर पोलो र ओपन वाटर स्विमिङ लगायत ६ वटा विधा, ७५ वटा प्रतियोगिताहरु भएको यो च्याम्पियनशिप, ओलम्पिकको बराबरीमा प्रतिष्ठित पौडी प्रतियोगिता हो। २०० भन्दा बढी देशका करिब २४ सय खेलाडीहरुले भाग लिने अपेक्षा गरिएको छ। प्रतिस्पर्धामा विश्वका शीर्ष खेलाडीहरूको उत्साह र प्रभावको अनुभव फुकुओकामा गर्न सक्नुहुनेछ।

जापानी प्रतिनिधि खेलाडीहरूमा, TOKYO 2020 मा बटरफ्लाइ रजत पदक विजेता Tomoru Honda; Individual medley मा दोहोरो स्वर्ण पदक विजेता Yui Ohashi; Japan Swim 2023 मा बटरफ्लाइ र फ्रिस्टाइलमा चार स्वर्ण पदक जित्ने Rikako Ikee; र विश्व एक्वाटिक्स च्याम्पियनशिप बुडापेस्ट २०२२ मा आर्टिस्टिक स्विमिङ स्वर्ण पदक विजेता Yukiko Inui जस्ता उल्लेखनीय खेलाडीहरू पनि उपस्थिति हुने भएका छन्।

कृपया प्रतियोगिताको तालिका र टिकट खरिदको लागि "विश्व एक्वाटिक्स फुकुओका टिकट" भनि खोज्नुहोस्।

फुकुओका नगरवासी र विश्वभरीबाट आउने दर्शकहरूको उपस्थितिले उत्साहपूर्ण रोमान्चक टूर्नामेंटमा,  सहभागि भएर वा टेलिभिजन प्रसारण हरेर खेलको मनोरञ्जन लिऔँ!

 

 

LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!

अर्को, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना हो।

फाउण्डेसनको LINE आधिकारिक Accountमा, LINE कल प्रयोग गरि टेलिफोन मार्फत् जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शहरू आदिका लागि सम्पर्क गर्न सक्नुहुन्छ।

टेलिफोन दोभाषे सेवामा २२ वटा बहुभाषी सेवा सम्भव छ।

साथै, फाउन्डेसनको कार्यक्रमहरुको जानकारी तथा विदेशी बासिन्दाहरू लक्षित जानकारीहरु प्राप्त गर्न सकिने भएकोले, "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको" होमपेजबाट LINE मा Friend add गर्न अनुरोध गरिन्छ!

तर, च्याटमा यो सेवा उपलब्ध छैन। Text मार्फत् परामर्श लिन चाहनुहुन्छ भने, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको" होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

2023.06.15[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【ग्रीष्मकालीन संक्रांति】

अर्को हप्ता, जुन २१ मा, Summer Solstice पर्दछ। जापानी भाषामा "गेशी" भनिन्छ।

यसको अर्थ, सूर्योदय देखि सूर्यास्त सम्मको अवधि सबैभन्दा लामो भएको दिन हो।

वर्षको सबैभन्दा लामो दिनलाई जनाउने Summer Solstice; वर्षको सबैभन्दा छोटो दिन हुने Winter Solstice भन्दा लगभग ४ घण्टा ५० मिनेट लामो हुन्छ।

यस दिन पछि, वास्तबमै गर्मीको शुरुवात भएको, तापक्रम बढ्दै गएको महसुस हुन्छ।

गर्मी बढ्दै जाँदा, भोक कम लाग्नु सामान्य कुरा हो, अनि त्यस्तो समयमा हल्काफुल्का  खाना खाने धेरै हुन्छ, जसले गर्दा कहिलेकाहीं पोषणको कमी निम्त्याउन सक्छ। सन्तुलित आहार कायम राख्नु र गर्मीमा भिटामिन सी र पोटासियम जस्ता अत्यावश्यक पोषक तत्वहरूले भरिपूर्ण खानेकुराहरू खानु महत्त्वपूर्ण छ।

यसको अतिरिक्त, मध्यम किसिमको व्यायाममा संलग्न हुनु र पर्याप्त सुत्नु पनि गर्मीको मौसमको लागि महत्त्वपूर्ण छ।

हामी सबै, स्वस्थ र तन्दुरुस्त भई गर्मीको लागि तयार होऔं।

 

 

【फुकुओका शहरको सूचना】

कर सम्बन्धि

यो फुकुओका शहरको सूचना हो।

जनवरी १ देखि फुकुओकामा बस्दै आउनुभएको व्यक्तिको यदि अघिल्लो वर्षको आय १० लाख नाघेको भएमा फुकुओका प्रान्तको कर तिर्नु पर्ने हुन सक्दछ।

जुन १५ तिर कर तिर्न सूचना आउन सक्ने भएकोले, अवश्य पनि खामभित्रको ध्यानपूर्वक पढ्नुहोला।

तिर्नुपर्ने म्याद र शुल्क लेखिएको हुन्छ। कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला। 

त्यस्तै, कम्पनीमा कार्यरत व्यक्तिहरुको हकमा, कर सीधै तलबबाट कटौती हुन सक्छ।

शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले जपत गर्ने सम्भावना हुन सक्दछ।

नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।

१८ वटा भाषाहरुमा, फोनमार्फत् परामर्श लिन सक्नुहुन्छ।

फोन नम्बर, ०९२-७५३-६११३ हो।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

 

 

रेइवा ५ को “अन्तर्राष्ट्रिय विद्यार्थीहरुद्वारा पढाइने विदेशी भाषा कक्षाहरुमा विद्यार्थी भर्ना’”को सूचना

 त्यस्तै, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सुचना रहेको छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, रेइवा ५ को अन्तर्राष्ट्रिय विद्यार्थीहरुद्वारा पढाइने विदेशी भाषा कक्षाहरुमा विद्यार्थी भर्ना लिईदैछ।

यस कक्षामा; चाइनिज, कोरियाली, स्पेनी, भियतनामी, जर्मन, अरबी आदि विश्वका विभिन्न देशहरूका भाषाहरू सिक्न सक्नुहुन्छ। अन्तर्राष्ट्रिय विद्यार्थी प्रशिक्षकहरूसँगको अन्तरक्रिया मार्फत, भाषा मात्र नभई, तिनीहरूको आफ्नो देशको खाना, संस्कृति आदिको बारेमा पनि सिक्न सक्नुहुनेछ। कक्षाहरू जापानी भाषामा सञ्चालन हुनेछन्।

स्थान रहेको छ, फुकुओका सिटी नाकासु कावाबाटा सबवे स्टेशनबाट केवल ५ मिनटको दूरीमा पर्ने फुकुओका सिटी इन्टरनेशनल सेन्टर।

पाठ्यक्रम, रेइवा ५ को जुलाईदेखि अर्को वर्षको फेब्रुअरीसम्म ८ महिनासम्म चल्नेछ, जसमा कुल २८ पाठहरु छन्। ट्युसन शुल्क, कर सहित ३३,००० येन हो।

उपलब्ध भाषा कक्षा, समयतालिका जस्ता विस्तृत जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेर्नुहोला।

नेटमा, “Ryugakusei kara manabu gaikokugo kyoushitsu” भनि खोज्नु भएमा, बिस्तृत जानकारी पाउन सक्नुहुन्छ।

आवेदन अवधि जुन २० सम्म हो। हामी तपाईंहरुको आवेदन पर्खिरहेका छौँ |

2023.06.08[Thu] 09:00

अन्य(その他) , प्राकृतिक प्रकोप(災害)

【जुनकिरीको अवलोकन】

जुनकिरी नाच्ने मौसम आइसकेको छ। जापानमा जुनकिरीलाई गर्मीको प्रतीक मानिन्छ। यसको मतलब, गर्मी नजिक आउँदै छ भन्ने हो नि, हैन त?

जुनकिरी नाच्दा बत्ती जस्तै चम्किने भएकोले यो मनमोहक र सुन्दर भई, धेरै मानिसहरूलाई यसले आकर्षित गर्ने गरेको छ।

फुकुओकामा जुनकिरीहरू हेर्नका लागि सबैभन्दा राम्रो समय, हरेक वर्ष मेको अन्त्यदेखि जूनको शुरुसम्म हो।

जुनकिरीहरु प्राकृतिक र स्वच्छ पानीमा बस्न मन पराउँछन्।

फुकुओकामा जुनकिरीको रमाईलो अवलोकन गर्न मिल्ने ठाउँहरू धेरै छन्।

फुकुचु सिटीको "मोटोगीगावा सिजेन् कोउएन - होटारु नो सातो" र तोहो मुराको "तानाडा शिन्सुई कोउएन" आदि प्रख्यात छन्। फुकुओका शहर भित्र पनि जुनकिरीहरू देख्न पाईने  ठाउँहरू छन्! त्यसमध्ये एउटा स्थान हो, हाकाता स्टेशन भवनको छतको बगैचा, "चुबामे नो मोरी हिरोबा"। शहरको होहल्लालाई भुलेर, प्रकृतिको सौन्दर्यको आनन्द लिन सक्नुहुन्छ! हाकाता घुम्न जानुहुँदा, पक्कै पनि त्यहाँ जानुहोला।

जुनकिरीहरु दुर्लभ कीराहरूमा पर्छन्। तिनीहरूको नाजुक स्वभावको कारण, तिनीहरूलाई समात्ने वा तर्साउने नगरी, उचित शिष्टाचारको साथ अवलोकन गरौं।

 

 

【फुकुओका शहरको सूचना】

चुयु र भारी वर्षा सम्बन्धि

जापानमा जुनदेखि जुलाईसम्मलाई  "चुयु" अर्थात् वर्षा ऋतु भनिन्छ र यस अवधिमा भारी वर्षा हुने गर्दछ।

भारी वर्षाको कारण प्रकोपहरू हुने सम्भावना भएकोले ध्यान दिनुहोला।

 

हालैका वर्षहरूमा पनि, वर्षाको मौसममा रेकर्ड-ब्रेक भारी वर्षाको कारणले, फुकुओका प्रान्तमा पनि धेरै क्षति पुर्याएको थियो।

भारी वर्षा हुँदा, नदी, तट वा पहाड नजिकको चट्टानहरू जस्ता खतराजनक ठाउँहरू नजिक नजानुहोस् र आफ्नो जीवन रक्षाको लागि कदम चाल्नुहोस्।

फुकुओका सिटिको होमपेजमा Hazard map र विपद् रोकथाम सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

आफू बस्ने क्षेत्रमा हुन सक्ने सम्भावित खतरा र आश्रय स्थलमा जाने सुरक्षित तरिका आदिको बारेमा अग्रिम जानकारी राख्ने गरौँ।

बिस्तृत जानकारी, Fukuoka City Multilingual Portal भनि खोजि, साईगाईको पेजमा हेर्नुहोला।

फुकुओका शहरको महत्वपूर्ण जानकारीहरु, फुकुओका सिटिको आधिकारिक Facebook ‘Global Community Fukuoka’ वा फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको Facebook ‘फुकुओका शी कोकुसाई खाईखान्/ आत्ताखा फुकुओका बाट पनि बहुभाषामा प्राप्त गर्न सक्नुहुन्छI पेजलाई follow गरेर, सामान्यदेखि महत्वपूर्ण जानकारीहरु लिनु होला।

 

 

आइकासाको बारेमा

त्यस्तै, फुकुओका शहरभित्र छाताको Sharing service ‘आइकासा’「アイカサ」 उपलब्ध छ।

सबवे स्टेशन र डिपार्टमेन्ट स्टोरहरूमा छाता सापट लिन मिल्ने स्पटहरु भएकाले, स्मार्टफोन प्रयोग गरि छाता सजिलैसँग सापट लिन सक्नुहुन्छ।

चौबीसै घण्टा ११० येनमा प्रयोग गर्न सकिने, प्लास्टिकको छाता किन्नुभन्दा सस्तो र पर्यावरणलाई पनि राम्रो हुने भएकोले, अचानक पानी पर्दा आदि जस्तोमा प्रयोग गरेर हेर्दा कसो होला।

2023.06.01[Thu] 09:00

जापानी भाषा(日本語) , चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【चुयु अर्थात् वर्षा ऋतु】

जापानमा, बसन्त ऋतुबाट ग्रीष्म ऋतुमा परिवर्तन हुने समयमा, पानी पर्ने र बादल लाग्ने दिनहरू धेरै हुने, "चुयु" अर्थात् वर्षा ऋतु हुन्छ ।

एकातिर भारी वर्षाको कारण प्रकोप निम्त्याउन सक्छ भने, अर्कोतिर यसले गर्मीमा सुख्खा मौसमको लागि तयारी गर्न मद्द्त गर्छ ।

फुकुओकामा, वर्षाको मौसम सामान्यतया जुनको शुरुमा शुरु भई जुलाईको मध्यमा समाप्त हुन्छ।

यस समयमा बाढीपहिरोको सम्भावना बढी हुने भएकाले, सुरक्षित स्थानमा जाने बिधि र स्थानहरूको अग्रिम जानकारी राख्ने गरौँ । साथै, मौसम पूर्वानुमान जाँच गरेर, बाहिर जाँदा लुगाको छनोट र बाहिर लुगा सुकाउने  गर्ने गरौं।

वर्षायामको पानी, दैनिक जीवनयापन र बालीको वृद्धिको लागि सुरक्षित गनु अति आवश्यक छ।

यो समय मौसमी फूल आजिसाई अर्थात् हाइड्रेंजियाको आनन्द लिन पनि सकिन्छ।

यस समयमा फुर्सद भए, घरमै बसिबसी, वर्षाको आवाजको आनन्द लिंदै आराम गरि बिताउनुहोस्।

 

 

【फुकुओका शहरको सूचना】

 अर्थात् सरल जापानी भाषा रेडियो कोर्सको परिचय

जुनदेखि “सरल जापानी भाषा रेडियो कोर्स” को प्रसारण शुरू हुन गईरहेको छ!

यो कार्यक्रम, जापानी भाषा राम्ररी नबुझ्ने विदेशीहरू सबैका लागि हो, र यस कार्यक्रममा “सरल जापानी भाषा”मा बिस्तारै बोलिन्छ।

विदेशीहरुले जापानमा बसोबास गर्दा थाहा पाउनु पर्ने सूचनाहरुको बारेमा जानकारी दिईनेछ।

रेडियो प्रसारण, प्रत्येक शुक्रवार ९:५४ बाट हो भने, पहिलो पटकको प्रसारण जुन २ मा छ।

बुझ्न नसकेको कुरा भएमा, वा सुन्न छुटेको भएमा पनि ठिकै छ!

Love FM को होमपेजमा पोष्ट गरिएको स्क्रिप्टमा हेरेर Podcast मा बारम्बार सुन्न सक्नुहुन्छ।

कृपया सुनिदिनु होला।

 

 

HIV परिक्षण सप्ताहको बारेमा

जुन १ देखि जुन ७ सम्मको १ हप्ता "HIV परिक्षण सप्ताह" हो।

रेइवा ४ मा, फुकुओका शहरको चिकित्सा संस्थानहरूले दिएको नयाँ रिपोर्ट अनुसार HIV संक्रमित व्यक्तिहरु ३७ जना र एड्सका बिरामीहरू ११ जना थिए।

HIV संक्रमणको रोकथाम, प्रारम्भिक पहिचान र प्रारम्भिक उपचार महत्त्वपूर्ण छ।

HIV संक्रमण हुँदैमा, धेरैजसो लक्षणहरू नदेखिने भएकोले, संक्रमण छ कि छैन भनेर पत्ता लगाउन परिक्षण गर्न आवश्यक छ।

प्रत्येक वार्डको Health and Welfare Center मा, HIV परिक्षण निःशुल्क र गोप्य रूपमा गर्न सक्नुहुन्छ।

परिक्षण गर्न मिल्ने दिन तोकिएको हुनाले, कृपया जानुअघि Health and Welfare Center वा फुकुओका सिटीको होमपेज आदिबाट अग्रिम जानकारी लिनुहोला।

HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचार प्राप्त गर्नाले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, आफुलाई शंका लाग्ने बित्तिकै, प्रारम्भिक परिक्षण गर्ने गरौँ।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ