福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2023.08.31[Thu] 09:00
कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽) , प्राकृतिक प्रकोप(災害)
【Sunset Live】
यस सप्ताहन्तमा, फुकुओकामा ग्रीष्मको अन्त्यको उत्कृष्ट कार्यक्रम, "सनसेट लाइभ" हुन गईरहेको छ। समुन्द्रि तटमा आयोजना हुने, यो एक भब्य आउटडोर संगीत महोत्सव हो। अगाडि समुन्द्रको साथ, बलौटे समुन्द्रि किनारमा, जंगलको बिचमा, र क्याम्पिङ मैदानहरूमा बनाईएका स्टेजमा विभिन्न विधाका उत्कृष्ट कलाकारहरूको लाइनअप प्रस्तुतहरु हुनेछन्। फुकुओकाका रेस्टुरेन्टहरुको खानेकुरा र पेय पदार्थको स्टलहरू धेरै हुने भएकोले संगीतका साथसाथै खानपानको पनि आनन्द लिन सक्नुहुन्छ। यसबाहेक, महोत्सवले प्रकृतिको रक्षाको लागि वातावरण मैत्री गतिविधिहरूलाई प्रोत्साहन गरेको छ।
आयोजना स्थलमा थुप्रै कलाकृतिहरु प्रदर्शन हुनुका साथै प्रतक्ष्य पेन्ट आर्ट पनि हुनेछ। बाल हेरचाह सेवाहरू उपलब्ध हुनेभएकोले बच्चाहरू सहित कार्यक्रममा जान सम्भव छ। सांगीतिक मनोरन्जनको साथसाथै, त्यहाँ समुद्री खेलकुद र अन्य गतिविधिहरूले गर्दा पक्कै पनि ग्रीष्मको भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ। हाकाता र तेन्जिनबाट सुविधाजनक शटल बसहरू छन्। थप जानकारीको लागि, " Sunset Live 2023" भनि खोज्नुहोस्।
आगामी दिनहरूमा, LOVEFM मा पनि विशेष कार्यक्रमहरु हुने भएकोले निरन्तर सुन्दै गर्नु होला♪
【फुकुओका शहरको सूचना】
विपद् रोकथाम दिवस र भण्डारण प्रोत्साहन सप्ताहको बारेमा
प्रत्येक वर्ष सेप्टेम्बर १ "विपद् रोकथाम दिवस" हो।
फुकुओका शहरमा, सेप्टेम्बर १ को "विपद् रोकथाम दिवस" देखि सेप्टेम्बर ७ सम्मको एक हप्तालाई "फुकुओका शहर भण्डारण प्रोत्साहन सप्ताह" भनेर तोकिएको छ। भण्डारण वा जापानी भाषामा "बिचीकु" भन्नाले आपतकालीन समयका लागि, खानेकुरा आदि संचित गरेर राख्नु हो। घर वा कार्यस्थलहरुमा "भण्डारण" को शुरु लगायत नागरिकहरुमा विपद् रोकथामको बारेमा जनचेतना जगाउने प्रयासहरू भइरहेका छन्।
किन भण्डारको आवश्यकता भएको होला?
के र कसरी भण्डार गर्दा राम्रो होला त?
यसका साथै, सामान्य रूपमा खाने भन्दा अलि धेरै किनेर राखी, खाएर सक्यो भने पनि, सकेको भाग मात्र किनेर थपी, घरमा खानेकुराको एक निश्चित संचय गर्ने विधिलाई "रोलिंग स्टक" भनिन्छ।
खानेकुराको म्याद सकिने मितिबारे चिन्ता बिना, आपतकालिनको लागि तयारी गर्न सक्ने भएकोले यो बिधि अपनाउन प्रेरित गरिन्छ।
हरेक वर्ष, यस समयतिर टाइफुन धेरै आउने भएकोले, विपद्को लागि पुनः तयारी गरि राखौं।
2023.08.24[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【Say Cheese Day】
जापानमा अगस्ट २२ मा, " Say Cheese Day " मनाईन्छ।
फोटो खिच्ने समयमा, फोटो खिच्ने व्यक्तिले " Say Cheese " भन्ने गरेको देख्नु भएको होला वा तपाईंहरु पनि गर्नु हुन्छ होला। संसारका विभिन्न देशहरूमा फोटो खिच्ने समयमा भनिने कुनै न कुनै वाक्यांश हुने गरेको पाईन्छ, जस्तै कि जापानमा "हाई, चीजु!", अंग्रेजी मूलका देशहरुमा "से, चीज!" त्यस्तै, नेपालमा पनि बिदेशी प्रभावका कारण "चीज!" भन्ने गरेको पाईन्छ। फोटोग्राफरले Say Cheese भनेपछि फोटो खिचाउन बसेका व्यक्तिहरुले पनि "चीज!" भन्ने चलन, एक किसिमको अब क्यामरामा क्लिक गरे भयो भन्ने संकेत हो तर, प्रायः जापानमा फोटोग्राफरले संकेत दिएपछि, फोटो खिचाउने व्यक्तिले मुस्कान सहितको पोज दिए पुग्छ।
अचानक सडकमा जापानीहरुले फोटो खिचि दिन अनुरोध गर्दा होस् वा जापानी साथीहरूसँग फोटो खिच्दा,
तपाईहरु पनि जापानी शैलीमा फोटो खिच्ने र खिचाउनेको मनोरञ्जन लिनुहोस् !
【फुकुओका शहरको सूचना】
मापसे ड्राइभिंग उन्मूलनको बारेमा
तपाईहरुलाई, २००६ अगस्त २५ मा फुकुओका शहरमा घटेको, मदिरा सेवन सवारी दुर्घटनाको बारेमा थाहा छ?
हिगासी वार्डको "उमि नो नाका मिची ओहाशी" मा, मापसे गरि सवारी चलाउँदा, तीन जना बच्चाहरुको ज्यान जाने गरि दुर्घटना भएको यस वर्षबाट १७ वर्ष पुग्यो। फुकुओका शहरमा, यस दुर्घटनाको कारण, मादक पदार्थ सेवन गरि सवारी चलाउन रोक्नका लागि विभिन्न प्रयासहरू हुँदै आईरहेको छ।
तर पनि यो अहिलेसम्म रोकिएको छैन। २०२२ मा, मापसेका कारण २८ वटा दुर्घटनाहरू भएको पाईन्छ। मदिरा सेवन गरि गाडी चलाउनु अपराध हो।
मदिरा पिएर गाडी चलाउनाले, ट्राफिक दुर्घटनाको जोखिम बढाउँछ।
उदाहरणको लागी,
साथै, निम्न किसिमको गाडी मदिरा सेवन गरि चलाएको हुन सक्छ। यदि देख्नु भएमा, कृपया ११० नम्बरमा फोन गर्नुहोस्।
"मदिरा सेवन गरि सवारी नचलाऔं, चलाउन नदिऔं, गर्नेलाई माफी नदिऔं र बेवास्ता नगरौँ" भन्ने दृढ इच्छाशक्ति प्रत्येक व्यक्तिमा हुनु आवश्यक छ।
हामी सबैले मापसे ड्राइभिंगलाई बन्द गरौँ!
2023.08.17[Thu] 09:00
DJ को Choice!(DJのオススメ)
【समर कोउशिएन्" वा "समर हाई स्कूल बेसबल】
हरेक वर्ष अगस्टमा हाईस्कूल बेसबल प्रतियोगिता आयोजना हुने गरिन्छ। यो जापानको ग्रीष्मकालीन परम्पराहरू मध्ये एक हो भन्दा पनि हुन्छ । वर्षको यस समयतिर दिनदिनै जसो हाईस्कूल बेसबल मिडियामा प्रसारण र छलफल हुने गरिन्छ। यसको औपचारिक नाम "राष्ट्रिय हाई स्कूल बेसबल च्याम्पियनसिप मेमोरियल टूर्नामेन्ट" हो, तर खेल मैदान ह्योगो प्रिफेक्चरको कोउशिएन् स्टेडियममा हुने भएकोले, यसलाई "कोउशिएन्" भनेर चिनिन्छ।
देशभरका हाईस्कूल बेसबल खेलाडीहरू यस प्रतियोगितामा भाग लिन चाहन्छन्। क्षेत्रीय छनोट प्रतियोगिताहरूमा तीव्र खेलहरू मार्फत जितेका विद्यालयहरूले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका पाउँछन्। व्यावसायिक बेसबलमा उत्कृष्ट प्रदर्शन गर्ने धेरै खेलाडीहरू पनि यस प्रतियोगिताबाट आएका पाईन्छन्। मांगा, चलचित्र आदिमा पनि बेसबलमा आधारित धेरै सिर्जनाहरु हुनुका साथै हरेक वर्ष प्रतियोगितालाई उत्सुकताका साथ प्रतीक्षा गर्ने प्रशंसकहरू जापानभर छन्। यस बाहेक, प्रत्येक विद्यालयको विद्यालय धुन, ब्रास ब्यान्डहरूको प्रदर्शन, चियर स्क्वाडहरूको उत्साहजनक प्रदर्शन, र खेलाडीहरूले प्रतियोगिता सकेपछि खेल मैदानको बालुवा लिएर जाने आदि जस्ता यस प्रतियोगिताका बिशेषताहरु हुन्।
यदि मौका मिल्यो भने, तपाईंहरु पनि हाई स्कूलका खेलाडीहरूको जोश र खेलकुदसँगको उनीहरूको तिब्र लगावको अनुभव गरेर हेर्नु होला!
【DJ को Summer Recipe Choice】
हरेक दिन गर्मी उतिकै बढिरहेको छ। सक्रिय रहन र यस गर्मीमा पूर्ण रूपमा रमाइलो गर्न, राम्रोसँग खानपान गर्नु र पोषणयुक्त आहार लिनु महत्त्वपूर्ण छ। यस गर्मीको थकानबाट बच्न आज मैले दुई थरि खानाहरुको जानकारी लिएर आएकी छु।
पहिलो छ, बनाउन सजिलो अनि स्वादिलो खानाहरुमध्ये एक, नेवारी खाना "चटामरी"।
चटामरीको समतल र गोलो आकारको कारण यसलाई नेपाली पिज्जा पनि भनिन्छ। विभिन्न टोपिंगहरू राखेर बनाउन सकिने भएकोले, यो गर्मीको समयमा हल्का र स्वादिष्ट भोजनको रुपमा उत्कृष्ट विकल्प हो। पातलो अनि कुनै टोपिंगबिना सादा चटामारी पनि मिठो नै हुन्छ। चटामारी बनाउन चाहिने सामग्रीहरु भनेको, चामलको पीठो, जीरा पाउडर, नून, पानी अनि आफूलाई मन पर्ने टोपिंगहरू। मलाई चाहिं चिज, ससेज, क्याप्सिकमको तोपिंग धेरै मनपर्छ। किमामा प्याज, अन्य मसलाहरु हालेर टोपिंग गरेर खान पनि स्वादिष्ट हुन्छ।
जापानमा भने प्रायः गर्मी मौसममा खाईने खाना हो, सोमेन्। सोमेन् पिठोबाट बनेको पातलो नुडल हो। तातो पानीमा उमालेको सोमेन्लाई, बरफको पानी वा धाराको पानीमा चिसो पारेर,त्यसपछि पानीबाट झिकेर, चिसो सससँग खाईन्छ। त्यस्तै सोमेन्लाई तितेकरेला वा मौसमी तरकारीहरू, मासु आदिसँग मिसाएर तेलमा भुटेर खान पनि मिठो हुन्छ। सोमेन्, सुपरमार्केट वा कन्भिनीहरुमा सजिलै र सुपथ मूल्यमा किन्न पाईन्छ।
गर्मीको यस मौसममा खान नरुचाउने बेला, तपाईंहरु पनि पक्कै चटामारी वा सोमेन् खाएर खानाको आनन्द लिनुहोला।
2023.08.10[Thu] 09:00
अन्य(その他)
【फुकुओका शहरका टापुहरू"नोकोनोशिमा""शिकानोशिमा"】
गर्मी मौसम भनेपछि दिमागमा पहिले आउने नै समुद्र! तपाईहरुमध्ये कतिपयले समुद्रमा पौडी खेली पनि सक्नु भयो होला। यस हप्ता, एकै दिनमा फर्कन सकिने, फुकुओकाबाट नजिक दुईवटा टापुहरू, नोकोनोशिमा र शिकानोशिमाको बारेमा जानकारीहरु छन्।
नोकोनोशिमा, फुकुओका शहरको मेइनोहामामा रहेको नोतो फेरी टर्मिनलबाट फेरीमा करिब १० मिनेटमा पुग्न सकिने, परिधि लगभग १२ किलोमिटर भएको टापु हो।
मौसमी फूलहरू, सुन्दर समुद्री दृश्यहरू, इतिहासलाई महसुस गराउने थुप्रै स्थलहरु आदिको अनुभव यस टापुमा गर्न सक्नुहुन्छ।
समुद्र तटमा, मोटर बोटिङ, बनाना बोटिङ, वाटर स्कीइङ, समुन्द्रमा तैरने ट्राम्पोलिन लगायत डाइभिङ बोर्ड र स्विङ जस्ता गतिविधिहरूको मनोरञ्जन लिन सक्नुहुन्छ।
त्यस्तै, फूलहरु हेर्नका लागि प्रसिद्ध रहेको "नोकोनोशिमा आइल्याण्ड पार्क" मा, आजभोलि सूर्यमुखी फूलहरु फुलिरहेका छन्।
यस बाहेक, सुन्दर दृश्यहरू हेर्न सकिने रेस्टुरेन्टहरु, बार्बिक्यु हाउस, क्याम्प मैदानमा लजहरुको व्यवस्था आदिले गर्दा टापुको प्राकृतिक वातावरणको पूर्ण आनन्द लिन सक्नुहुन्छ।
अर्को टापु छ, फुकुओकाको मुख्य भूमिसँग जोडिएको शिकानोशिमा। यहाँ, स्थल र जल दुवै मार्गबाट सजिलै पुग्न सक्नुहुन्छ। यस टापुको सबैभन्दा ठूलो आकर्षण भनेको, यहाँको सुन्दर समुद्र हो। डाइभिङ पोइन्टहरूमा, ट्रोपिकल माछाहरु र seahorse हरू देख्न सक्नुहुन्छ। यहाँ याटिङ, विन्डसर्फिङ, स्कुबा डाइभिङ र फिसिंगको आनन्द लिन सक्नुहुन्छ। त्यस्तै, ताजा समुद्री खानाको साथै "किनइन डक" र "किनइन करी" जस्ता प्रसिद्ध स्थानीय पकवानहरुको पनि स्वाद लिनुहोला।
यस वर्षको गर्मीलाई सक्रिय रुपमा रमाइलो गरि बिताऔँ!
【फुकुओका शहरको सूचना】
“विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२३” सम्बन्धि
यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, संस्था "माची फुकुओका नो ऐ" र फुकुओका YWCA सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२३" आयोजना हुने भएको छ।
यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ। परामर्श नि:शुल्क हो। जापानी, अंग्रेजी र चाइनिज भाषाहरुमा परामर्श उपलब्ध छन्।
कार्यक्रम हुने दिन: अगस्ट २७, आईतबार दिउँसो १:०० देखि ४:०० बजेसम्म
आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर
सोधपुछको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा सम्पर्क गर्नुहोस्।
फोन मार्फत् वा फाउण्डेसनको वेबसाइटमा राखिएको सोधपुछ फारम मार्फत् सम्पर्क गर्न सक्नुहुन्छ। फोन नम्बर, ०९२-२६२-१७४४ हो।
“‘विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी”
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।
2023.08.03[Thu] 09:00
कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【फुकुओकामा IRIE MUSIC FES सँगै JIM BEAM SUMMER FES 2023】
यस सप्ताहन्तमा, LOVE FM को रेगे कार्यक्रम "IRIE MUSIC (आईरी म्युजिक)" द्वारा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। हरेक शनिबार बिहान ८:०० बजे प्रसारण हुने Reggae 100% program "IRIE MUSIC" र Suntory "JIM BEAM SUMMER FES" को सहप्रायोजनमा आयोजना हुन लागेको हो।
गत वर्षको कार्यक्रमको भब्य सफलताको फलस्वरुप, यस वर्ष पनि "रेगे, हिप हप, ओकिनावा" को विषयवस्तुमा केन्द्रित हुँर्दै, तीन दिनको विशेष कार्यक्रम हुनेछ। अगस्तको ४ देखि ६ तारिकसम्म ३दिनको, अर्थात् यो हप्ताको शुक्रवार, शनिबार र आइतबार पर्छन्।
आयोजना स्थल, "तेन्जिन च्युउओउ पार्क"। प्रवेश नि:शुल्क छ।
उत्कृष्ट कलाकारहरूको प्रत्यक्ष प्रस्तुतिहरूको साथै स्वादिष्ट खाना र पेय पदार्थहरुको आनन्द लिन सक्नुहुन्छ।
बिस्तृत जानकारीका लागि, कृपया LOVE FM को आधिकारिक वेबसाइटमा हेर्नुहोस्।
【फुकुओका शहरको सूचना】
Fukuoka City Official Tourist Guide सम्बन्धि
यसपटक “Fukuoka City Official Tourist Guide” सम्बन्धि जानकारी रहेको छ।
हालसम्म, "YOKA NAVI" साइट मार्फत्, जापानी तथा विदेशी भाषाहरूमा फुकुओका शहरको पर्यटकीय जानकारीहरु प्रदान गर्दै आईरहेको थियो भने, अहिलेबाट विशेष रूपमा बिदेशीहरूप्रति लक्षित, बुझ्न सजिलो हुने गरि जानकारीहरु प्रदान गर्ने हेतुले, "Fukuoka City Official Tourist Guide" तयार गरिएको छ।
यस वेबसाइटमा, पर्यटकीय सुविधाहरू, कार्यक्रमहरू, पर्यटकीय स्थलहरू, स्वादिष्ट खाना आदि जस्ता जानकारीहरु ४ वटा भाषाहरू (अंग्रेजी, कोरियाली, परम्परागत चाइनिज, र सरलीकृत चाइनिज) मा प्रदान गरिंदै आईरहेको छ।
त्यस्तै, भिडियो र फोटोहरूको प्रयोग गरि जानकारीहरू सजिलै बुझ्न सकिने गरि राखिएका छन्।
पर्यटकहरुलाई मात्र नभई, फुकुओकामा बसोबास गर्नुहुनेहरुका लागी पनि, फुकुओकाको बारेमा अझै धेरै जानेर मनोरञ्जन लिन सकिने उपयोगी जानकारीहरुले भरिपूर्ण छ।