ブログ

ポッドキャスト

ポッドキャスト RSS

अन्य(その他)

2024.07.11[Thu] 09:00

अन्य(その他)

【समुद्री तट】

अब चाँडै नै गर्मीको चरम समय आउन लागेको छ! यसै मौका पारेर, फुकुओका शहर भित्रका सिफारिस गरिएका समुद्री तटहरूको जानकारी लिएर आएकी छु।

पहिलो छ, सावारा वार्डमा अवस्थित Momochi Seaside Park

सुरक्षित र आरामदायक समुद्रीतटको रुपमा रहेको यस समुद्रमा पौडी खेल्नुका साथै समुद्री खेलहरू पनि खेल्न सक्नुहुन्छ। समुद्रीतटको वरपरको क्षेत्रमा रेस्टुरेन्ट र पसलहरू पनि छन्। जिग्योहामा क्षेत्रमा सांगीतिक महोत्सव जस्ता कार्यक्रम पनि आयोजना गरिएको छ।

दोस्रो, हिगाशी वार्डमा रहेको शिखानोशिमा समुद्रीतट। 

शिखानोशिमा जमिनसँग जोडिएको हुनाले कारमा जानुभयो भने स्थानीय दृश्यको आनन्द लिन सक्नुहुन्छ। त्यसैले ड्राइभ कोर्समा जान पनि उत्तम हुन्छ। यहाँको समुद्र अत्यन्त पारदर्शी हुने भएकोले, सेतो बलौटे समुद्र तट सुन्दर देखिन्छ। उत्तरी छेउमा [शिरोसे] नामको फुकुओका शहरको एक मात्र डाइभिङ स्पट रहको छ, त्यहाँबाट देखिने दृश्य पनि अत्यन्तै मनमोहक छ। 

त्यस्तै अर्को छ, निशी वार्डमा रहेको नोकोनोशिमा क्याम्प समुद्रीतट।

प्रकृतिले भरिपूर्ण यस टापुमा पाल्म रूखहरूले घेरिएको समुद्री तटमा अवस्थित, क्याम्पिङ क्षेत्रमा विश्रामगृह, होटेल, रेस्टुरेन्टर पसलहरू स्थापित छन्। सोही टापुमा नोकोनोशिमा आइल्याण्ड पार्क पनि छ, जहाँ आगन्तुकहरूले मौसमी फूलहरूको मजा लिन सक्नुहुन्छ र समुद्रमा पौडी खेल्ने बाहेक, अन्य धेरै गतिविधिहरूको मनोरञ्जन लिन सक्नुहुन्छ।

साथै, निशी वार्डमा रहेको ओहारा समुद्री तट पनि घुमफिरको लागि राम्रो छ। 

फुकुओकाको सबैभन्दा लामो समुद्री तटमा बिना कुनै अवरोधपौडी खेल्न सक्नुहुन्छ। समुद्र किनारमा विश्रामगृहको राम्रोव्यवस्था छ, जहाँ तपाईँले BBQ Banana boat जस्ता समुद्री मनोरञ्जनहरुको आनन्द लिन सक्नुहुन्छ।

फुकुओका शहरमा प्रकृति र रिसोर्टको आनन्द लिन सकिने थप्रै समुद्री तटहरु छन्। यस गर्मीमा पक्कै त्यहाँको मज्जा लिनुहोस् बरु बाहिर जानुहुँदा, लू लाग्नबाट बच्न सावधानीहरु अपनाउनुहोस्!

 

 

【फुकुओका शहरको सूचना 】

“नेच्च्युस्योउ अर्थात् लू लाग्नुबाट सावधान हुनुहोस् !”

अत्याधिक गर्मीको बेला, गाह्रो ब्यायाम वा तीव्र शारीरिक क्रियाकलापका कारण शरीरले आफ्नो तापक्रम ठीकसँग नियन्त्रण गर्न सक्दैन, जसले गर्दा शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा भई नेच्च्युस्योउ अर्थात् लू लाग्छ नेच्च्युस्योउका लक्षणहरूमा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने र झाडापखाला लाग्ने जस्ता हुन्।

यस्तो बेलामा शरीरलाई चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछ। यदि यस्तो गर्दा पनि निको नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुपर्छ।

विशेष गरी, भारी वर्षा समाप्त भएपछि, जुलाईबाट अधिकतम तापमान बढ्ने समयमा आकस्मिक कक्षमा ल्याउनेहरुको सङ्ख्या ह्वात्तै बढ्छ। यस समयमा, उच्च आर्द्रता हुने र शरीरलाई अधिकतम गर्मीको बानि नहुने हुनाले धेरै ध्यान दिनु आवश्यक छ। लू, घर बाहिर मात्र होइन घर भित्र पनि हुन सक्छ।

अब केही नेच्च्युस्योउबाट बच्ने उपायहरु बताउन गईरहेकी छु।

  • तरल पदार्थ बारम्बार पिउने गर्नुहोस्। 

नियमित रूपमा जौको चिया र पानी पिउने, व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छ। पसिना आउँदा, नुनपानी पिएर शरीरमा पानीको मात्रा कायम राखौं।

  • टोपी वा छाताको प्रयोग गरेर प्रत्यक्ष घामबाट जोगौं।

  • कोठाको तापक्रम २८ डिग्री सेल्सियसभन्दा कम राख्न, बुद्धिमानीपूर्वक air conditioner र फ्यानको प्रयोग गरौँ।

  • Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।

  • सन्तुलित आहार र पर्याप्त निद्रा लिएर, स्वास्थ्यको ख्याल गरौं।

2024.07.04[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【हियाशी च्युखा अर्थात् चिसो चाइनीज नूडल्स】

 यस समयतिर, खानपानका पसलहरुमा "हियाशी च्युखा शुरु गरियो!" भन्ने सूचना बोर्ड कहिल्यै देख्नुभएको छ? वा तपाईंहरूले यो "हियाशी च्युखा" कहिल्यै खानु भएको छ? "हियाशी च्युखा" को अर्थ के होला भनेर सोचिरहनुभएकाहरु पनि हुनुहुन्छ होला!

हियाशी च्युखा भन्ने शब्दमा "चाइनीज" भाषा छ, र यसको अर्थ "चाइनीज नूडललाई चिसो पानीमा भिजाएर बनाइएको परिकार" हो तर, वास्तबमा यो चाइनीज परिकार भने होइन। यसको उत्पत्ति जापानमा भएको हो। पहाड जस्तै धेरै हालिएको नूडलमा, काक्रो, ह्याम, गोलभेंडा आदि वरिपरि घेरामा राखिन्छ, जसले माउन्ट फुजीको सम्झना दिन्छ रे। यसलाई खाँदा, भिनेगर सोया सस वा तिलको सस हालेमा ताजा र स्वादिलो हुन्छ।

 चासो लाग्ने "हियाशी च्युखा शुरु गरियो" भन्ने वाक्यांशको उत्पत्तिका बारेमा विभिन्न भनाइहरू छन्, तर सामान्य अर्थमा "गर्मीको मौसम आएकोले चिसो नूडल्स तयार छ, खान आउनुहोस्!" भन्ने कुरा संक्षेपमा व्यक्त गर्छ।

अत्यधिक गर्मीले खानाको इच्छा घट्ने गर्मीमा, गर्मीको थकान रोक्नका लागि यो मेनु उत्तम छ!

 

 

फुकुओका शहरको सूचना

फुकुओका शहरबाट, “फुकुओका शहर राष्ट्रिय स्वास्थ्य बिमा” सम्बन्धि सूचना छ।

जापानमा, बिरामी पर्दा वा चोट लागेमा, कम खर्चमा निश्चिन्त भएर उपचार सेवा प्राप्त गर्नका लागि, सबै व्यक्तिहरूलाई सार्वजनिक स्वास्थ्य बिमा प्रणालीमा सामेल हुने व्यवस्था गरिएको छ। ३ महिनाभन्दा बढी समयसम्म जापानमा बस्न अनुमति प्राप्त गरेका व्यक्तिहरूले, कम्पनीको स्वास्थ्य बिमा नभएका हकमा, राष्ट्रिय स्वास्थ्य बिमा लिनु अनिवार्य छ। यो बिमा लिन, तपाईं बसोबास गरिरहनु भएको क्षेत्रको वार्ड कार्यालयमा गएर प्रक्रिया पूरा गर्नु पर्छ।

फुकुओका शहरको राष्ट्रिय स्वास्थ्य बिमा लिनुभएको व्यक्तिले बिमा शुल्क तिर्नु पर्छ। बिमा शुल्क तपाईंहरूको स्वास्थ्य उपचार खर्चका लागि महत्त्वपूर्ण स्रोत हो। २०२४ अप्रिलदेखि २०२५ मार्चसम्मको बिमा शुल्क, गत वर्षको आम्दानी लगायतका आधारमा जुन महिनामा निर्धारण गरिएको छ।

राष्ट्रिय स्वास्थ्य बिमा लिने व्यक्तिहरूलाई, जुन महिनाको मध्यमा नीलो रंगको खाममा तिर्नुपर्ने सम्बन्धि सूचना पठाइएको छ, कृपया जाँच गर्नुहोस्। खामभित्रका कागजातमा लेखिएको बिमा शुल्कको रकम जाँच गरेर, तोकिएको म्याद भित्र बिमा शुल्क तिर्नुहोस्। यदि बिमा शुल्क समयमै तिरेन भने, तपाईंको सम्पत्ति छानबिन गरेर, बचत वा तलब जफत गर्न सकिन्छ, त्यसैले ध्यान दिनुहोस्। 

यदि कुनै कुरा बुझ्न गाह्रो भएमा, फोन मार्फत १८ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ। फोन नम्बर ०९२-७५३-६११३ हो। यो नम्बरमा फोन गर्दा पहिले दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ। आफू बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

“विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२४” आयोजना

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर पब्लिक इन्टरेस्ट इन्कर्पोरेटेड फाउन्डेसन फुकुओका YWCA सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२४" आयोजना हुने भएको छ।

यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ। यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।

परामर्श नि:शुल्क हो। जापानी, अंग्रेजी र चाइनिज भाषाहरुमा परामर्श उपलब्ध छन्।

कार्यक्रम हुने दिन: जुलाई १३, शनिबार दिउँसो १:०० देखि बेलुकी ५:०० बजेसम्म

आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर

सोधपुछको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा सम्पर्क गर्नुहोस्। 

फोन मार्फत् वा फाउण्डेसनको वेबसाइटमा राखिएको सोधपुछ फारम मार्फत् सम्पर्क गर्न सक्नुहुन्छ। फोन नम्बर, ०९२-२६२-१७४४ हो।

2024.06.06[Thu] 09:00

अन्य(その他)

【फादर्स डे अर्थात् बुबाको दिन】

जापानमा, जुन महिनाको तेस्रो आइतबार फादर्स डे पर्छ। यस वर्ष, यो जुन १६ मा पर्न गएको छ! हामी नेपालीहरुको बुबाको मुख हेर्ने दिन, यस बर्ष सेप्टेम्बर २ मा पर्छ।

जापानमा, कार्नेशन फूललाई मदर्स डे को र पहेंलो गुलाफ फूल चाहिं फादर्स डे को फूल भन्ने गरिन्छ। पहेंलो गुलाफले "निष्ठा" र "स्फूर्ति" को अर्थ दिन्छ।

साथै, फादर्स डेमा, गर्मीको शुरुवातमा फूल्ने सूर्यमुखी फूल दिनेहरु पनि धेरै हुन्छन्। फूल बाहेक, नेकटाई जस्ता प्रयोग गर्न मिल्ने सामानहरु, वा ओसाके, आफ्नो बुबालाई मनपर्ने खाद्यपदार्थ दिनेहरु पनि धेरै हुन्छन्।

बुबाको दिन, दैनिक रुपमा व्यक्त गर्न नसकिएका बुबाप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो। पक्कै पनि यस बिशेष दिनमा आफ्नो बुबासँग समय बिताउनुहोस्, उहाँलाई उपहार दिनुहोस् अनि अविस्मरणीय पल बनाउनुहोस्।

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

रेइवा ६ को “अन्तर्राष्ट्रिय विद्यार्थीहरुद्वारा पढाइने विदेशी भाषा कक्षाहरुमा विद्यार्थी भर्ना” को सूचना

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, रेइवा ६ को अन्तर्राष्ट्रिय विद्यार्थीहरुद्वारा पढाइने विदेशी भाषा कक्षाहरुमा विद्यार्थी भर्ना लिईदैछ।

यस कक्षामा;चाइनिज, कोरियाली, भियतनामी, स्पेनी, जर्मन आदि विश्वका विभिन्न देशहरूका भाषाहरू सिक्न सक्नुहुन्छ। अन्तर्राष्ट्रिय विद्यार्थी प्रशिक्षकहरूसँगको अन्तरक्रिया मार्फत, भाषा मात्र नभई, तिनीहरूको आफ्नो देशको खाना, संस्कृति आदिको बारेमा पनि सिक्न सक्नुहुनेछ। 

स्थान रहेको छ, फुकुओका सिटी सबवे नाकासु कावाबाटा स्टेशन वा कुशिदा जिन्ज्या स्टेशनबाट केवल ५ मिनटको दूरीमा पर्ने फुकुओका सिटी इन्टरनेशनल सेन्टर।

पाठ्यक्रम, रेइवा ६ को जुलाईदेखि अर्को वर्षको फेब्रुअरीसम्म चल्नेछ, जसमा कुल २६ देखि २७ पाठहरु हुनेछन्। ट्युसन शुल्क, कर सहित ३३,००० येन हो।

उपलब्ध भाषा कक्षा, समयतालिका जस्ता विस्तृत जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेर्नुहोला। इन्टरनेटमा, Ryugakusei kara manabu gaikokugo kyoushitsu” भनि खोज्नु भएमा, बिस्तृत जानकारी पाउन सक्नुहुन्छ। 

आवेदन अवधि जुन २० सम्म हो। हामी तपाईंहरुको आवेदन पर्खिरहेका छौँ। 

 

 

 "LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!"

फाउण्डेसनको LINE आधिकारिक Account मा, LINE कल मार्फत्, जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शको बुकिंग आदिका लागि सम्पर्क गर्न सक्नुहुन्छ। टेलिफोन अनुवाद सेवाको प्रयोग गरेर २२ वटा भाषाहरूमा परामर्श लिन सक्नुहुन्छ। 

साथै, फाउण्डेसनको कार्यक्रमहरुको जानकारी तथा बिदेशी नागरिकहरुप्रति लक्षित जानकारीहरु पनि लिन सकिने भएकोले, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट, अवश्य पनि Friend add गर्नुहोला।

तर chatमार्फत् परामर्श सेवा उपलब्ध छैन। textमार्फत् परामर्श लिन चाहनु हुने महानुभावहरुले "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन"को होमपेजमा रहेको सोधपुछ फारम प्रयोग गर्नुहोला।

2024.05.09[Thu] 09:00

अन्य(その他)

【बसन्तको गुलाफ बगैंचा】

यस हप्ताको आइतबार, १२ मे, "मदर्स् डे" अर्थात् मातृ दिवस पर्छ। जापानमा, हरेक वर्ष मे महिनाको दोस्रो आइतबार "मदर्स् डे" मनाईन्छ। यस दिन आमाप्रति कृतज्ञता व्यक्त गर्ने दिनको रुपमा, "धन्यवाद" भन्दै फूल दिने चलन छ। 

यस समयमा, फुकुओकामा, "बसन्तको गुलाफ" अत्यन्त सुन्दर रूपमा फूलेको हेर्न पाउनुहुन्छ। फुकुओका शहरमा "एक व्यक्ति, एक फूल (हितोरी हितो हाना) अभियान" को गतिविधिले गर्दा, शहरभरका फूल बगैँचाहरूमा धेरै फूलहरू रोपिएका छन्, त्यसैले शहरमा हिँड्दा फूलहरू देख्ने अवसरहरु बढ्न सक्छ।

घुमघाम स्थलको रूपमा, फुकुओका शहरको हिगासी वार्डमा रहेको "उमि नो नाखामिचि खाइहिन पार्क" भित्र दुई भिन्न ठाउँहरुमा झण्डै २२० प्रजातिहरूका १२०० गुलाफहरू फुलेका छन्। यो फोटो खिच्ने स्थानको रूपमा पनि निक्कै लोकप्रिय छ।

अर्को बगैंचा, फुकुओका शहरको च्युउ वार्डमा रहेको, "Fukuoka Zoo & Botanical Garden " मा, लगभग २८० प्रजातिहरूका लगभग १,८०० गुलाफहरु रोपिएका छन्। वसन्तमा बगैंचाहरू, धेरै संख्यामा ठूला आकारका गुलाफहरुले टम्म हुने भएकाले पूर्ण रुपमा बगैंचा रंगीन हुन्छन्।

फुकुओका शहरमा फूलेको "वसन्त गुलाफ" को सौन्दर्य र सुगन्धको आनन्द लिनुहोस्

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’ कोबारेमा जानकारी

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। 

परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० बजेसम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

परामर्श लिने स्थान, हाकाता वार्डको तेन्यामाचीमा रहेको फुकुओका सिटी इन्टरनेशनल सेन्टरको चौथो तल्लामा हो।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, २ हप्ता अगाडि सम्ममा 

(०१२०-६६-१७९९) मा सम्पर्क गर्नुहोला।

 

 

LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!

फाउण्डेसनको LINE आधिकारिक Account मा, LINE कल मार्फत्, जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शको बुकिंग आदिका लागि सम्पर्क गर्न सक्नुहुन्छ। टेलिफोन अनुवाद सेवाको प्रयोग गरेर २२ वटा भाषाहरूमा परामर्श लिन सक्नुहुन्छ। 

साथै, फाउण्डेसनको कार्यक्रमहरुको जानकारी तथा बिदेशी नागरिकहरुप्रति लक्षित जानकारीहरु पनि लिन सकिने भएकोले, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट, अवश्य पनि Friend add गर्नुहोला।

तर च्याटमार्फत् परामर्श सेवा उपलब्ध छैन। च्याटमार्फत् परामर्श लिन चाहनु हुने महानुभावहरुले "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन"को होमपेजमा रहेको सोधपुछ फारम प्रयोग गर्नुहोला।

2024.04.11[Thu] 09:00

अन्य(その他)

【फुकुओका विमानस्थल/ घरेलु टर्मिनलको लागि नयाँ बहु-तले पार्किङ स्थल】

यस हप्ता, फुकुओका विमानस्थलको पार्किङ सुबिधाको बारेमा जानकारी छ।

अर्को हप्ता, अप्रिल १६ (मङ्गलबार), फुकुओका विमानस्थलको घरेलु टर्मिनलमा रहेको बहु-तले पार्किङ स्थल खुल्ने भएको छ।

समायोजन गरिएका कारहरूको संख्या पहिलेको भन्दा झन्डै दोब्बर छ! हाल १,६१७ कारहरू अटाउने भएको छ।

पार्किङ भवनको बाहिरी भाग, फुकुओकाको परम्परागत कलाशिल्प, "हाकाताओरी" बाट प्रेरित छ। प्रत्येक तला रङ र चित्रहरूमार्फत् लेबल गरिएको छ भने फुकुओकाको विशेषता मानिने स्ट्रबेरी, प्रिफेक्चरको फूलको रुपमा चिनिने प्लम, र रामेन आदि जस्ता फुकुओकासँग सम्बन्धित डिजाइनहरू समाबेश गरिएका छन्।

सेवा शुल्क ३० मिनेट सम्मको लागि नि:शुल्क छ, र त्यसपछिको प्रत्येक ३० मिनेटको लागि आधारभूत शुल्क २५० येन हो। प्रत्येक २४ घण्टाको प्रयोग दरमा सामान्यतया ३,५०० येन, र नयाँ वर्षको बिदाहरू जस्तो व्यस्त समयमा ४,५०० येन लाग्छ।

पार्किंग स्थल उपलब्ध छ कि छैन भनेर आधिकारिक वेबसाइट वा SNS "X" मा जाँच गर्न सक्नुहुन्छ। यसबाहेक, अन्तर्राष्ट्रिय टर्मिनलको लागि मात्र, वेबसाइटमा पार्किङ स्थानको लागि अग्रिम आरक्षण लिन सक्नुहुन्छ।

यस जानकारीले तपाईंहरुको यात्रालाई सहज अनि सुखद बनाओस् भन्ने कामना गर्दछु।

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

विदेशीहरुका लागि आप्रवासनआवास र राष्ट्रियता सम्बन्धि परामर्श

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्श लिन चाहनुहुने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

 

 

कानूनी परामर्श

 

अर्को जानकारी, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क कानूनी परामर्शको बारेमा छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि, हरेक महिना दुई पटक निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट हो।

बुकिंगको आधारमा फुकुओका बार एसोसिएसनको प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।

भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।

बुकिंगको लागि फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा राखिएको फारमबाट आवेदन दिन सक्नुहुन्छ। तर पहिले सम्पर्कमा आउनेलाई प्राथमिकता दिने भएकोले, आफ्नो परामर्श लिन चाहेको मिति अग्रिम रुपमा फोन मार्फत आरक्षित गर्नुभएमा राम्रो हुन्छ।

बिस्तृत जानकारीका लागि, फोन नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।

जुनसुकै परामर्श पनि गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

2024.04.04[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【वसन्तको राष्ट्रिय ट्राफिक सुरक्षा अभियान】

यस सातादेखि अप्रिलमा, नयाँ आर्थिक वर्षको सुरुवात भयो। यस सप्ताहन्त, ६ (शनिबार) देखि १५ (सोमबार) सम्म, ‘वसन्तको राष्ट्रिय ट्राफिक सुरक्षा अभियान’ आयोजना हुन गईरहेको छ।

・बालबालिकाहरूलाई सुरक्षित रूपमा आवतजावत गर्न सक्ने गरि सडक ट्राफिक वातावरण सुनिश्चित गर्ने र सुरक्षित तवरले बाटो काट्ने विधिहरू अभ्यास गराउने

・ पैदल यात्रुहरूलाई प्राथमिकता दिने र "सोचविचार र पारस्परिक समझदारी" मा गरिने ड्राइभिङलाई प्रोत्साहन गर्ने

・साइकल, इलेक्ट्रिक स्कुटर आदि प्रयोग गर्दा हेलमेट लगाउने र ट्राफिक नियमको पालना गर्ने 

・ मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यलाई रोक्ने

यी चार बुँदाहरु प्राथमिकताका साथ यस अभियान अवधिमा फुकुओका प्रिफेक्चरको प्रत्येक क्षेत्रहरुमा,  विभिन्न पहलहरू कार्यान्वयन गरिनेछन्।

अप्रिलमा, प्राथमिक विद्यालयका कक्षा १ का विद्यार्थीहरू ट्राफिक वातावरणमा भर्खरै पाईला राखेका हुन्छन्। तिनीहरूलाई सडक जोखिम बारे ज्ञानको कमी हुन्छ। थप रूपमा, बच्चाहरूको दृष्टिको क्षेत्र वयस्कहरूले सोचेको भन्दा साँघुरो हुन्छ, र तिनीहरू आफ्नो वरपरको दृश्य देख्न असमर्थ हुन्छन्। बच्चाहरु अचानक यताउता गई हाल्ने वा र सडक पेटिभन्दा बाहिर बाटोमा एक्कासी कुद्ने प्रति सजक रहनु आवश्यक छ।

धेरै नयाँ विद्यार्थीहरू, नयाँ कर्मचारीहरु वा स्कूल वा काममा जाँदा नयाँ मार्गहरू लिने व्यक्तिहरू पनि हुन्छन् होला। एक त अपरिचित मार्ग र त्यसमाथि बिहानको ब्यस्त समय हुने भएकोले दुर्घटना हुने सम्भावना हुन्छ। त्यसैले, ट्राफिक सुरक्षाको लागि हतारमा होइन,  आफ्नो सोचबूझले यात्रा गरौं।

आफ्नो समय र सोचबूझ लिएर, आज पनि सुरक्षित ढंगले बाहिर निस्कनुहोला!

 

 

फुकुओका शहरको सूचना

विदेशीहरूले परामर्श लिन सकिने काउन्टरको परिचय

नयाँ जीवनमा कुनै समस्या वा नबुझेको कुरा छ कि?

Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धि परामर्श कहाँ लिने भनेर थाहा नभएको समयमा, उपयुक्त सम्पर्क काउन्टर तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ।

फोन नम्बर, (०१२०-६६-१७९९) ।

सम्पर्क समय ९:०० देखि ५:३० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।

२१ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

राष्ट्रिय स्वास्थ्य बीमा, फोहोर, कर, आदि जस्ता फुकुओका शहरका प्रक्रियाहरूको बारेमा बुझ्नु परेमा, दोभाषे सेन्टरमा कल गरेर, आफू बस्ने वार्डमा सम्पर्क गरि परामर्श लिन सक्नुहुन्छ। 

फोन नम्बर, (०९२-७५३-६११३) । 

सम्पर्क समय ९:०० देखि ५:०० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।

१८ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

यस अतिरिक्त, चिकित्सा संस्था खोज्दा, अस्पतालमा डाक्टरसँग कुरा गर्दा, अस्पताल वा सिफारिस गरिएको फार्मेसीमा औषधि लिँदा, Fukuoka City Medical Interpreting Call Center मार्फत टेलिफोन अनुवाद हुन्छ।

विदेशीहरूबाट मात्र नभई, अस्पताल र प्रिस्क्रिप्शन फार्मेसीहरूबाट पनि टेलिफोन अनुवादको लागि अनुरोध गर्न सकिन्छ।

फोन नम्बर, (०९२-७३३-५४२९) हो।

चौबीसै घण्टा हरेक दिन लिन सकिने यो सेवा, २० वटा भाषाहरुमा उपलब्ध छ। 

2024.02.08[Thu] 09:00

अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवस】

फेब्रुअरी १४ तारिक भनेपछि भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवस! हरेक देशमा विभिन्न संस्कृतिहरू हुन्छन् भने फुकुओकामा विगत केही वर्षहरूमा लोकप्रिय बन्दै गएको एक हो, ''फ्लावर भ्यालेन्टाइन'', जसमा आफ्ना प्रियजनहरूप्रति कृतज्ञता व्यक्त गर्न फूलहरु दिने गरिन्छ । 

फुकुओका प्रिफेक्चरले वास्तवमा गुलाफ, कार्नेशन र जरबेराजस्ता धेरै फूलहरू फलाउँछ। तपाईंहरुले फुकुओका शहरमा फूलहरु फुलाएर राखेको ठाउँहरुमा ''हितोरी हितोहाना'' वा ''FLOWER CITY FUKUOKA '' भनि लेखिएको देख्नु पनि भएको होला।

फुकुओका शहरले ''प्रति व्यक्ति एउटा फूल'' अभियानलाई प्रवर्द्धन गरिरहेको छ, जसमा प्रत्येक नागरिक, कम्पनी र सरकारी कर्मचारीहरुले फुकुओका शहरभरिका पार्क, फुटपाथ, अफिस, घर आदि सम्भावित ठाउँहरुमा फूलहरू रोप्ने, फूल र हरियाली क्षेत्र बढाएर फूलको शहर फुकुओका बनाउने उद्देश्य राखेको छ।

भ्यालेन्टाइन सप्ताहमा, फुकुओका शहरका विभिन्न स्थानहरूमा फूल प्रदर्शनीहरु हुनेछन्, हाकाता स्टेशनमा फूलहरू वितरण गरिनेछ र सिंगो शहर नै फूल र प्रेमले भरिनेछ।

तपाईहरु पनि आफ्ना प्रियजनहरूसँग रमाइलो भ्यालेन्टाइन डे मनाउनुहोला ♪♪♪

 

 

फुकुओका शहरको सूचना

Fukuoka City Childcare Exchange Salon सम्बन्धि

तपाईहरुलाई Fukuoka City Childcare Exchange Salon को बारेमा थाहा छ? Childcare Exchange Salon भन्नाले स्थानीय सामुदायिक केन्द्रहरुमा, ० वर्षदेखि ६ वर्षसम्मका बालबालिकाहरुले आफ्नो आमाबुबासँग स्वतन्त्र रूपमा समय बिताउन सकिने थलो हो। आमाबुबा र बच्चाहरू एकअर्कासँग खेलेर रिफ्रेस हुन पाउँछन्। यो निःशुल्क सेवा हो। बाल हेरचाह सहयोगीहरूले, ध्यानपूर्वक हेरी दिने तथा अभिभावक र बच्चाहरूबीच अन्तरक्रिया गर्नमा सहयोग पनि गर्छन्। 

यस पटक, हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रको Childcare Exchange Salon को कार्यक्रम बारे जानकारी दिनेछु। फेब्रुअरी १३, मङ्गलबार बिहान १०:३० देखि ११:३०सम्म, हातको छाप र पैतालाको छापको स्टाम्प बनाउने तथा जापानी र अंग्रेजीमा चित्र पुस्तकहरू पढाएर सुनाउने कार्यक्रमहरु रहेका छन्। तपाईंहरु पनि आफ्नो बच्चाको हातको छाप र पैतालाको छापलाई सम्झनाको रूपमा राख्न चाहनुहुन्छ कि?  त्यहाँ जानुहुँदा, फोहोर भए पनि केही फरक नपर्ने लुगा लगाउनुहोस्। जापानी भाषा बोल्न नजाने पनि ठिक छ।

फुकुओका शहरमा बस्नु हुने जो कोहि अभिभावक-बालबालिकाहरुले भाग लिन सक्छन्। आवेदन दिने तरिका लगायत बिस्तृत जानकारीको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन को वेबसाइट वा फोन नम्बर ०९२-२६२-१७४४ मा सम्पर्क राख्नु होला। 

सोमबारदेखि शुक्रबारसम्म ९:०० देखि १८:०० सम्म कल स्वीकार गरिन्छ।

अवश्य पनि तपाईंहरु बस्ने ठाउँ नजिकै Childcare Exchange Salon हुनुपर्छ।

कृपया फुकुओका सिटीको होमपेजमा हेर्नुहोस्!

 

 

"LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!"  

फाउण्डेसनको LINE आधिकारिक Account मा, LINE कल मार्फत्, जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शको बुकिंग आदिका लागि सम्पर्क गर्न सक्नुहुन्छ। टेलिफोन अनुवाद सेवाको प्रयोग गरेर २२ वटा भाषाहरूमा परामर्श लिन सक्नुहुन्छ। 

साथै, फाउण्डेसनको कार्यक्रमहरुको जानकारी तथा बिदेशी नागरिकहरुप्रति लक्षित जानकारीहरु पनि लिन सकिने भएकोले, अवश्य पनि Friend add गर्नुहोला।

तर chat मार्फत् परामर्श सेवा उपलब्ध छैन। chat मार्फत् परामर्श लिन चाहनु हुने महानुभावहरुले "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन"को होमपेजमा रहेको सोधपुछ फारम प्रयोग गर्नुहोला।

 

2024.01.04[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他)

【नानाकुसागायु】

あけましておめでとうございます!नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना

वर्ष२०२४ को आज यो पहिलो प्रसारण!

तपाईंहरुको नयाँ वर्षको बिदा कस्तो रह्यो? रमाइलोसँग नै बित्यो होला! 

जापानमा १ देखि ७ तारिकसम्मको अवधिलाई नयाँ वर्षको रुपमा मानिन्छ र अन्तिम दिन, जनवरी ७ मा, सुस्वास्थ्यको कामनामा, बिहानको खाजामा सात प्रकारका मौसमी औषधीय जडीबुटीहरू समावेश गरी पकाएको खाना ‘नानाकुसागायु’ खाने चलन छ। वर्षको अन्त्य र नयाँ वर्षको भोज र मदिराबाट थकित पेट र आन्द्राको हेरचाह गर्नु पनि यसको अर्थ रहेको छ। स्वादको लागि नून मात्र हालेर बनाएको सादा खाना हो, नानाकुसागायु। सुपरमार्केटहरूमा सेटमा पाईने हुनाले यो सजिलै किन्न सक्नुहुन्छ।

नयाँ वर्ष २०२४ सबैको लागि सुखद रहोस्। तपाईंहरुको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु।

 

 

फुकुओका शहरको सूचना

JapaneseChattingEvent

 

 जापानी भाषा स्कूल लगायत फुकुओकामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच सजिलै कुराकानी गर्न मिल्ने Japanese Chatting Event”, हरेक महिनामा एक पटक आयोजना हुँदै आईरहेको छ। अर्को आयोजना जनवरी ३१, अनलाइनमा हुनेछ।

Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ। हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, सहभागी हुनुहोला।

सहभागिता शुल्क नि:शुल्क हो तर आवेदन दिन आवश्यक छ। 

आवेदन दिने तरिका आदि अधिक जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुक पेजमा हेनुहोला। 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज रहेको छ, (www.fcif.or.jp.)

केही नबुझेको कुरा भएमा, कृपया फोन मार्फत् सम्पर्क गर्नुहोस् ।

फोन नम्बर छ, (०९२-२६२-१७४४ )। 

तपाईंहरुको सहभागीताका लागि पर्खिरहेका छौं।

 

 

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श

 

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।

2023.12.28[Thu] 09:00

अन्य(その他)

【नयाँ वर्षको पूर्वसंध्या】

वर्ष २०२३ सकिन अब केही दिन मात्र बाँकी छ। तपाईंहरुको यो वर्ष कस्तो रह्यो?

नयाँ वर्षको पूर्वसंध्या मनाउने केही योजना छ कि?

जापानमा, नयाँ वर्षको पूर्वसंध्या अर्थात् डिसेम्बर ३१मा, तोशिकोशी सोबा खाने चलन छ।

तोशिकोशी सोबा खाने भनेको लामो आयु बाँच्नु, यस बर्षको कठिनाई र असफलतालाई बिर्सेर नयाँ वर्षलाई स्वागत गर्नु हो।

जापानको विभिन्न भागहरूमा स्थानीय ओरिजिनल तोशिकोशी सोबा पाईन्छ।

यसलाई प्राय: नयाँ वर्षको पूर्वसंध्यामा खाने गरिन्छ।

पसलमा नखाए पनि, कन्भिनीयन्स स्टोर र सुपरमार्केटमा पनि किन्न पाईने भएकाले, अहिलेसम्म खानु भएको छैन भए, एकचोटी खाएर हेर्नुहोला।

हुन त, हामी नेपालीहरुको आफ्नै नव वर्ष भएकोले अंग्रेजी नव वर्षलाई खासै धुमधामका साथ मनाउने गरेको देखिन्दैन। नेपालमा खास गरि, काठमाडौंको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला पर्यटकीय शहरहरुमा नव वर्ष ईभ कार्यक्रम आयोजना गर्ने र विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने चलन छ। प्रायःजसो साथीहरुसँग बाहिर घुम्ने र खानपिन गर्ने अवसरको रुपमा अंग्रेजी नव वर्ष मनाउने गरेको देखिन्छ। 

जापानमा भने, सामान्यतयाः नयाँ वर्षको काउन्टडाउनको समयमा, परिवारहरू घरमासँगै समय बिताउने गर्छन् वा मन्दिरहरूमा आयोजना हुने, "जोयानो खाने" नामक कार्यक्रममा सहभागी हुने गर्छन्, जसमा सांसारिक इच्छाहरू मेटाउन १०८ पटक घण्टी बजाइन्छ। केही मन्दिरहरूमा, भक्तजनहरू आफैले घण्टी बजाएर अनुभव लिन पनि सक्छन्। नयाँ वर्षको पूर्वसन्ध्यादेखि नयाँ वर्षको दिनसम्म मन्दिरको दर्शन गर्नाले आशीर्वाद दोब्बर हुन्छ भन्ने गरिन्छ। केही ठाउँहरूमा भक्तजनहरूमाथि आमाजाके भनिने गुलियो रक्सीले छर्कने पनि गरिन्छ, जुन चाहिं काठमाडौंका प्रायः मन्दिरहरुमा हुने जल छर्कने चलनसँग ठ्याक्कै मिल्दोजुल्दो छ।

यस नयाँ वर्षको पूर्वसन्ध्यामा मन्दिरहरुमा लामो लाइन हुने गर्छ। यदि तपाईंहरु पनि दर्शन गर्न जाने विचारमा हुनुहुन्छ भने, बाक्लो न्यानो लुगाहरु लगाएर, जाडोबाट बच्नप्रति ध्यान दिनुहोस्।  

यस बाहेक, धेरैजसो मानिसहरू रातभर जागै बसेर नयाँ वर्षको पहिलो सूर्योदय हेर्नका लागि बस्छन्। नयाँ वर्षको पहिलो सूर्यलाई शुभ मानिने र नयाँ वर्षमा सुख र स्वास्थ्यको कामना गर्ने चलन छ। रमणीय ठाउँहरूमा गएर, सूर्य उदाएको क्षणको तस्बिर लिनेहरुको पनि उत्तिकै घुइँचो हुन्छ।

फुकुओका शहरमा पनि यस्ता थुप्रै ठाउँहरू छन्। त्यसमध्ये एक हो, ''आटागो जिन्ज्या,'' जुन नयाँ वर्षको तीर्थस्थलको रुपमा पनि रहेको छ अनि त्यहाँबाट हाकाता बेको सुन्दर दृश्यको आनन्द पनि लिन सक्नुहुन्छ। त्यस्तै, बिहानी किरणले उज्यालो भएको फुकुओका शहरको मनोरम दृश्य प्रदान गर्ने ''फुकुओका टावर'' र ''आबुरायामा'' पनि उत्तिकै लोकप्रिय छन्। यहाँ नि:शुल्क पार्किङ पनि छ, कृपया यिनीहरुको होमपेजमा हेनुहोला।

नयाँ वर्षमा तपाईंहरु सबैको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु। तपाईहरु सबैलाई नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना! नव वर्ष २०२४ मा, अहिलेको भन्दा अझ धेरै, सबैको अनुहारमा मुस्कानका साथ बाँच्ने समाजको सृजना होस् भनि कामना गर्दछु।

2023.12.21[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【बोनेन् खाई अर्थात् वर्षको अन्त्य पार्टी】

वर्षको अन्त्य नजिकिँदै गर्दा, बोनेन् खाईको सिजन पूर्ण रुपमा लागि नै सकेको छ। तपाईहरुले यस समयतिर बोनेन् खाई भन्ने शब्द धेरै सुन्नु भएको हुनुपर्छ। जापानमा, जब डिसेम्बर शुरु हुन्छ तब काम गर्ने ठाउँमा होस् वा समुदाय, साथीहरूसँग यस वर्षको कठिनाइहरू बिर्सेर, रिसेट गरेर, नयाँ उत्साहका साथ नयाँ वर्षलाई स्वागत गरौँ! भन्ने कामनाका साथ बोनेन् खाई अर्थात् वर्षको अन्त्य पार्टी आयोजना गरिन्छ। एक-अर्काको कडा परिश्रमका लागि धन्यवाद दिनका लागि पनि बोनेन् खाई आयोजना हुने भएकोले, सम्पूर्ण टोली एकसाथ भेला हुने र खानपानका लागि बाहिर जाने गरिन्छ। "ओचुखारेसामादेसिता! तपाईंको कडा परिश्रमको लागि धन्यवाद" भन्दै खान्पाई गर्ने, खानपान गर्नुका साथसाथै मनोरञ्जनको आनन्द लिने पनि गरिन्छ। 

यस किसिमको कार्यक्रममा प्रायः निस्कने जापानी वाक्यांश, "क्योउ वा बुरेइको"!

यसको अर्थ- आफ्नो स्थिति र पदलाई बेवास्ता गरि रमाईलो गरौं! कुनै चिन्ता नलिईकन आराम गरौं र मजा लिऔँ! भन्ने हो। तपाईंहरु पनि नयाँ उत्साह उमंगका साथ नयाँ वर्ष शुरु गर्नुहोस् है!

 

 

फुकुओका शहरको सूचना

नयाँ वर्षको बिदाहरुमा वार्ड अफिस काउण्टर अनि फोहोर फाल्ने दिन सम्बन्धि सूचना

नयाँ वर्षको बिदाहरुमा, वार्ड अफिसको काउण्टर र फोहोर फाल्ने दिन परिवर्तन हुने भएकाले, कृपया ध्यान दिनुहोला। वार्ड अफिसको काउण्टर, डिसेम्बर २९ (शुक्रबार) देखि जनवरी ३(बुधबार) सम्म बन्द रहनेछ।

नयाँ वर्षको बिदाहरुको अघिपछि वार्ड अफिसको काउण्टर भिडभाड हुने भएकोले, धेरै समय राखेर जाने गरौँ।

डिसेम्बर ३१ (आइतबार) देखि जनवरी ३ (बुधबार) सम्म, फोहर संकलन हुने छैन।

जल्ने फोहरको मात्र संकलन, डिसेम्बर ३० (शनिबार) सम्ममा हुनेछ। नयाँ बर्षको जनवरी ४ (बिहिबार) पछि पुनः संकलन हुने हुनाले तोकिएको बारमा फोहर बाहिर राख्नुहोस्। 

सँधै बुधबार र आइतबार फोहर संकलन हुने क्षेत्रहरुमा, त्यसको सट्टा डिसेम्बर ३० (शनिबार) मा संकलन हुनेछ।

नजल्ने फोहर तथा खाली सिसाको बोतल, प्लास्टिकको बोतल फाल्नका लागि, 

जनवरी १ (सोमबार) मा संकलन हुने क्षेत्रमा डिसेम्बर २२ (शुक्रबार), 

जनवरी २ (मंगलबार) को क्षेत्रमा डिसेम्बर २९ (शुक्रबार),

त्यस्तै, जनवरी ३ (बुधबार) को क्षेत्रमा जनवरी ५ (शुक्रबार) को दिन फोहर फाल्नुहोस्।

यसका साथै, ठूलो आकारका फोहरको काउण्टर तथा संकलन, डिसेम्बर २९ (शुक्रबार) देखि जनवरी ३ (बुधबार) सम्म बन्द रहनेछ।

 

 

वर्षको समाप्ति र नयाँ वर्ष सुरक्षित र ढुक्क साथ बिताउनका लागि

वर्षको समाप्ति र नयाँ वर्षको बिदाहरूमा रक्सी पिउने धेरै अवसरहरू हुने गर्छन्।

“मादकपदार्थ सेवन गरि गाडि नचलाउने, चलाउन नदिने, चलाउनेलाई बिल्कुल माफी नदिने, र बेवास्ता नगर्ने” प्रति निश्चित होऔं।

रक्सी पिएर साइकल चलाउनु पनि कानूनले निषेध गरेको छ।

विशेष ध्यान दिनुपर्ने भनेको, अर्को दिन रक्सीको ह्यांगओभर हो।

अलिकति भए पनि रक्सी लागेको बाँकी छ जस्तो लागेमा, गाडि नचलाऔं।

यस अतिरिक्त, हरेक वर्षको अन्ततिर ट्राफिक दुर्घटनाहरू बढ्ने गरेको पाईएको छ।

राती बाहिर निस्कँदा, ड्राइभरले देख्न सजिलो हुने, चम्किलो लुगा वा चमकदार वस्तुको प्रयोग गरौँ।

कार वा साईकल चलाउँदा, समयमै बत्ति अन गरौं।

अर्को जानकारी, बाटोमा हुने लुटपाटको बारेमा छ।

कम ट्राफिक भएको स्थानमा, साँझदेखि मध्यरातसम्म धेरै अपराधहरू हुने गरेको, अझ, लुटेराहरु प्रायः मोपेड बाइकमा आएका घटनाहरु धेरै छन्।

खोस्नबाट जोगिन, झोला सडकको अर्को पट्टि समात्ने गरौँ।

साथै, मान्छेको संकेत वा बाइकको आवाज सुन्नुभएमा पछाडी फर्केर हेर्ने आदि जस्ता, आफ्नो वरपर ध्यान दिने गरौँ।

हिँड्दा वा साइकल चलाउँदा चुरोट खाने बन्द गरौँ।

नियम तथा आचरणहरुलाई पालन गरि, तपाईंको वरपरका मान्छेहरुले पनि दुक्क र सुरक्षित महसुस गर्ने वातावरण बनाउन मद्दत गरौँ।

आफू र आफ्नो बहुमूल्य सामानहरूको ध्यान दिई, नयाँ वर्षको बिदा सुरक्षित र आनन्दमयी बिताऔं।

<< previous 1 2 3 4 5 6 7

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ