ブログ

ポッドキャスト

ポッドキャスト RSS

2022年08月

2022.08.25[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

DJ को Choice 【शरद ऋतुमा हुने कार्यक्रमहरुको जानकारी】

अगस्ट महिना पनि सकिन नै लाग्यो।

तर अझै पनि गर्मीका दिनहरु उस्तै छन्। साँच्चै, तपाईंहरुलाई "शरद ऋतु" भन्दा के को सम्झना आउँछ?

नेपालमा शरद ऋतु भनेपछि, चिसो मौसमको सुरुवात अनि गर्मीको समाप्ती, हैन र। असोज र कार्तिक, यी २ वटा महिनाहरू शरदऋतुमा पर्दछन्।

 

जापानमा, "शरद ऋतु" लाई प्रायः "खान रुच्ने शरद ऋतु," "पठनपाठनको शरद ऋतु," "कलाको शरद ऋतु" आदि उपनामहरु प्रयोग गरि भन्ने गरिन्छ। साथै, यो मौसम चाडपर्वहरूको लागि पनि राम्रो समय मानिन्छ!

 

फुकुओका शहरको शरद ऋतुको उत्सवहरुमध्ये प्रसिद्ध मानिने, फुकुओका शहरको हिगाशी वार्डमा रहेको "हाकोजाकी-गुउ" मा, हरेक वर्ष सेप्टेम्बरमा आयोजना हुने "होज्योया" हो।

वसन्तमा "हाकाता डोन्टाकु" र ग्रीष्म ऋतुमा "हाकाता गियोन यामाकासा" गरि, हाकाताका तीन प्रमुख चाडहरूमध्ये एक मानिने यस चाड, "सम्पूर्ण प्राणीहरुको जीवनको आदर गर्ने, हिंसालाई हटाउने, र शरद ऋतुको फसलप्रति धन्यवाद दिने" उत्सव हो।

 

"होज्योया" मा करिब ५०० जति स्टलहरू हुने प्रसिद्धिका साथ १० लाख जतिको दर्शनार्थीहरुको घुइँचो लाग्ने भएता पनि, नयाँ कोरोनाभाइरसको प्रभावका कारण, लगातार २ वर्ष धर्मविघि मात्र सम्पन्न गर्ने गरेको थियो।

तर, यस वर्ष विशेष मञ्च अगाडिको सिट संख्या घटाउने, दर्शनार्थीहरुलाई मास्क लगाउन र हिँड्दै नखानको लागि अनुरोध गर्ने आदि जस्ता, अधिक रुपले संक्रामक रोग विरुद्धका उपायहरू अपनाएर, तीन वर्षमा पहिलो पटक स्टलहरू खोल्ने र औसत वर्षहरुमा हुने झै समान रुपले आयोजना गरिने भएको छ।

 

शूटिंग, यो-यो फिशिङ र नयाँ अदुवाको बिक्री जस्ता विभिन्न स्टलहरूबाट जापानी संस्कृति र जापानी चाडपर्वको वातावरणको मनोरञ्जन लिन सक्नुहुन्छ।

यदि तपाईहरु जानुभएमा पक्कै पनि यस हाकोजाकी मन्दिरको विशेष याकिमोची खानुहोला। याकिमोचीको बाहिरी भाग नरम भई, भित्री भागमा हल्का गुलियो राज्माको पेस्टले भरिएको हुन्छ।

 

"होज्योया"को आयोजना, सेप्टेम्बर १२ (सोमबार) देखि १८(आइतबार) सम्म। यद्यपि, यस अवधिमा आपतकालीन घोषणा जारी भएको खण्डमा, न्यूनतम तरिकाले मनाउने वा रद्द गर्न पनि सकिन्छ।

बाहिर जानुहुँदा, नयाँ कोरोनाभाइरस संक्रमण विरुद्धका उपायहरू अपनाउन नबिर्सनुहोस्!

 

फुकुओकाको शरद ऋतुका चाडपर्वहरुको कुरा गर्दैगर्दा, नेपालमा मनाईने शरद ऋतुका चाडपर्वहरु जस्तै दशैँ, तिहार र छठ पर्वहरुको एकदम याद आउँछ।

 

उत्सबको कुरा गर्दैगर्दा,

 

LOVE FM ले पनि समर फेस्टिवल भोलि २६ तारिक (शुक्रबार) देखि २८ तारिक (आइतबार) सम्म तीन दिन आयोजना गर्ने भएको छ ।

 

तेन्जिन च्युउओउ पार्कमा आयोजना हुनेछ!

शनिबार बिहान ८:०० बजेको रेगे कार्यक्रम "IRIE MUSIC (आईरी म्युजिक)", को प्रसारण क्रममै स्टुडियोबाट निस्केर, तेन्जिन च्युउओउ पार्कमा आयोजना हुने सांगीतिक कार्यक्रममा रेगे, हिप हप, ओकिनावान लोक गीतहरुको प्रत्यक्ष संगीतहरुको साथसाथै खाना र पेय पदार्थहरुको बिक्रि स्टल पनि हुने भएकोले, एक हातमा गिलास बोकेर, आनन्ददायी संगीतमा झुम्न सक्नुहुन्छ!

 

 

साथै, यस वर्ष तीन वर्षमा पहिलो पटक शहरमा ‘NAKASU JAZZ’ आयोजना हुने भएको छ।

यो सेप्टेम्बरको फुकुओका शहरको परम्परागत कार्यक्रमको रुपमा, पश्चिमी जापानको सबैभन्दा व्यस्त क्षेत्रहरू मध्ये एक, फुकुओका शहर हाकाता वार्ड नाकासुमा, प्रमुख रुपले आयोजना हुने ज्याज फेस्टिवल हो।

सबै स्टेजहरु नि:शुल्क हेर्न पाउने नै यस उत्सवको आकर्षणहरुमध्ये एक हो।

विगत दुई वर्षदेखि अनलाइनमार्फत् आयोजना हुने गरेको भएता पनि, यस वर्ष सेप्टेम्बर १७ (शनिबार) र १८ (आइतबार) दुई दिन, नाकासुका विभिन्न स्थानहरुमा आयोजना हुनेछन्।

ज्याज प्रेमीहरू लगायत ज्याज थाहा नभएकाहरुले पनि यसको मनोरञ्जन लिन सक्ने कुरामा कुनै शंका छैन।

 

अन्त्यमा फेरि एकपटक , बाहिर जाँदा, नयाँ कोरोनाभाइरस संक्रमण विरुद्धको उपायहरू राम्ररी अपनाएर, शरद ऋतुको कार्यक्रमहरूको आनन्द लिऔं।

2022.08.18[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

सोमेन्

सोमेन् पिठोबाट बनेको पातलो नुडल हो। जापानमा, यो प्रायः गर्मी मौसममा खाइन्छ।

यो पुरातन समयमा, चीनबाट जापानमा ल्याइएको भनिन्छ।

यसलाई तातो पानीमा उमालेर, बरफको पानी वा धाराको पानीमा चिसो पारेर, त्यसपछि पानीबाट निकालेर, चिसो सससँग खाईन्छ।

त्यस्तै तातो पानीमा उमालेको सोमेन्लाई तितेकरेला वा ग्रीष्मकालीन तरकारीहरू, मासु आदिसँग मिसाएर तेलमा भुटेर खान पनि धेरैले मन पराउँछन्।

पक्कै पनि, यसलाई तातो सूपमा डुबाएर खाँदा पनि स्वादिष्ट हुन्छ।

सुपरमार्केट वा कन्भिनीहरुमा सजिलै र सुपथ मूल्यमा पाईन्छ।

गर्मीको यस मौसममा खान नरुचाउने बेला, तपाईंहरु पनि पक्कै खाएर हेर्नुहोला।

 

 

【फुकुओका शहरको सूचना】

मापसे ड्राइभिंग उन्मूलनको बारेमा

तपाईहरुलाई, २००६ अगस्त २५ मा फुकुओका शहरमा घटेको, मदिरा सेवन सवारी दुर्घटनाको बारेमा थाहा छ?

हिगासी वार्डको "उमि नो नाका मिची ओहाशी" मा, मापसे गरि सवारी चलाउँदा, तीन जना बच्चाहरुको ज्यान जाने गरि दुर्घटना भएको यस वर्षबाट १६ वर्ष पुग्यो।

 

फुकुओका शहरमा, यस दुर्घटनाको कारण, मादक पदार्थ सेवन गरि सवारी चलाउन रोक्नका लागि विभिन्न प्रयासहरू हुँदै आईरहेको छ।

तर पनि यो अहिलेसम्म रोकिएको छैन। २०२१ मा, मापसेका कारण २३ वटा दुर्घटनाहरू भएको पाईन्छ।

 

मदिरा सेवन गरि गाडी चलाउनु अपराध हो।

  • मदिराको सेवन गरेपछि कार, मोपेड, वा साइकल नचलाउनुहोस्।
  • मदिराको सेवन गरेको व्यक्तिलाई कार भाँडामा दिने वा गाडी चलाउने व्यक्तिलाई रक्सी पिउन प्रोत्साहन नगर्नुहोस्।
  • साथै, सवारी चालकले मदिराको सेवन गरेको थाहा पाउँदा, त्यस कारमा नचढ्नुहोस्।

 

मदिरा पिएर गाडी चलाउनाले, ट्राफिक दुर्घटनाको जोखिम बढाउँछ।

उदाहरणको लागी,

  • सुरक्षित ड्राइभिंगका लागि आवश्यक पर्ने ध्यान र निर्णय क्षमतामा कमी हुन्छ।
  • अत्यधिक गति र खतरा पत्ता लगाउन ढिलाइ हुन्छ।
  • ब्रेक लगाउन लामो समय लिन्छ।

 

 

 

साथै, निम्न किसिमको गाडी मदिरा सेवन गरि चलाएको हुन सक्छ। यदि देख्नु भएमा, कृपया ११० नम्बरमा फोन गर्नुहोस्।

  • ट्राफिक लाइटमा स्टप लाइनभन्दा केही अगाडि गाडी रोकिन्दा
  • ट्राफिक लाइट हरियो बले पनि, गाडी नचल्दा
  • अनियन्त्रित रुपले गाडी गुड्दा
  • गाडीको गति अचानक बढ्ने-घट्ने भई रहँदा

 

"मदिरा सेवन गरि सवारी नचलाऔं, चलाउन नदिऔं, गर्नेलाई माफी नदिऔं र बेवास्ता नगरौँ"  भन्ने दृढ इच्छाशक्ति प्रत्येक व्यक्तिमा हुनु आवश्यक छ।

हामी सबैले मापसे ड्राइभिंगलाई बन्द गरौँ!

2022.08.11[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他)

【हाई स्कूल बेसबलको वार्षिकोत्सव】

अगस्त १८ हाई स्कूल बेसबलको वार्षिकोत्सव हो। बेसबल जापानमा सबैभन्दा लोकप्रिय खेलहरूमध्ये एक हो।

सन् १९१५ को यस दिन, ओसाकाको टोयोनाका मैदानमा प्रथम पटकको राष्ट्रिय जुनियर हाई स्कूल च्याम्पियनसिप बेसबल प्रतियोगिता सम्पन्न भएको थियो ।

क्षेत्रिय छनोट राउन्ड जित्ने १० जुनियर हाई स्कूलका विद्यार्थीहरूले भाग लिएका थिए, र फाइनल खेल क्योटो र आकिताका जुनियर हाई स्कूलहरूबीच भएको थियो, जसमा २-१ ले क्योटोले जितेको थियो। १० औं पटकदेखि कोउशिएन् क्युउज्योउ (Koshien Stadium) आयोजना स्थल बन्यो र सन् १९४८ देखि राष्ट्रिय हाई स्कूल बेसबल च्याम्पियनशिप टूर्नामेंट भयो।

हाल, यसलाई "समर कोउशिएन्" वा "समर हाई स्कूल बेसबल" पनि भन्ने गरिन्छ।

यस वर्ष १०४ औं पटकको टूर्नामेंट अगस्ट ६ देखि २२ सम्म आयोजना हुनेछ।

यस टूर्नामेंटमा उत्कृस्टता प्रदान गर्ने खेलाडीहरूले, व्यावसायिक बेसबल टोलीहरूको पनि ध्यानाकर्षण गर्ने हुनाले भविष्यका धेरै बेसबल सिताराहरू जन्मिने गरेका छन्।

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्शकोबारेमा जानकारी

 

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईंले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० बजेसम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

 

 

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन सेवा नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार ९:०० बजेदेखि १८:०० बजेसम्म कल स्वीकार गरिन्छ।

 

 

JapaneseChattingEvent को परिचय

फुकुओकामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच सजिलै कुराकानी गर्ने “Japanese Chatting Event”, हरेक महिनामा एक पटक आयोजना गरिन्छ। अर्को आयोजना अगस्त ३१ मा, अनलाइनमा हुनेछ।

Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ। हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, सहभागी हुनुहोला।

सहभागिता शुल्क नि:शुल्क हो तर बुकिंग गर्न आवश्यक छ। प्रयोग गर्ने तरिका आदि अधिक जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुक पेजमा हेनुहोला। फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज रहेको छ, www.fcif.or.jp.

केही नबुझेको कुरा भएमा, कृपया Fukuoka International Student Support Associationमा सम्पर्क गर्नुहोस् ।

फोन नम्बर छ, ०९२-२६२-१७४४ । तपाईंहरुको सहभागीताका लागि पर्खीरहेका छौं।

2022.08.04[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【विद्युतको सदुपयोग】

गर्मी मौसम भनेको सबैभन्दा बढी विद्युत प्रयोग गर्ने समय हो। यस वर्ष विद्युत् सन्तुलन कायम राख्नका लागि, विद्युतको सदुपयोग गर्न सरकारले आग्रह गरेको छ।

प्रत्येक घरले उचित दायराभित्र विद्युत बचत गर्नुहोस्। थप रूपमा, विद्युत बचत गर्दा विद्युतको शुल्क कम हुने भएकोले, विद्युतीय उपकरणहरूको प्रयोग गर्ने तरिकाहरुको समीक्षा गरेर, विद्युतको चुहावटलाई कम गर्नुहोस्।

एयर कन्डिसनरको लागि, चिस्याउने तापमानको सेटिङ बढाउनुहोस् वा फ्यान आदिको प्रयोग गरौं।

फ्रिजको लागि, फ्रिजभित्र सामानहरु ओभरलोड नगरौं र फ्रिजको ढोका खोल्ने समय कम गरौं।

दिउँसोको समयमा बत्तीहरू निभाउने र बाहिरको प्रकाशलाई कोठाभित्र छिर्न दिऔं।

गर्मीको यस कठोर दिनहरूमा, घरभित्र भएता पनि लू लाग्न सक्छ। विशेषगरी वृद्धवृद्धा र साना बालबालिकाहरु भएका घरहरूमा, शारीरिक अवस्थाको ख्याल राख्दै उचित दायरामा विद्युत बचत गर्नुहोस्।

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

हाल, तेस्रो पटक र चौंथो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

यी दुबै, दोस्रो पटक वा तेस्रो पटकको खोप लिनुभएको ५ महिना पूरा हुने समयतिर खोप कुपन हुलाक मार्फत् पठाउने गरिएको छ।

चौथो पटकको खोपका लागि लक्षित बर्गमा, ३ पटक खोप लगाई सक्नुभएका ६० वर्ष वा सोभन्दा माथिका र १८ देखि ५९ वर्ष उमेरका अन्तर्निहित रोग भएका महानुभावहरु पर्दछन्।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

खोप कुपन पाउनु भएन भने, कल सेन्टरमा फोन गर्नुहोला।

अन्तर्निहित रोग भएका व्यक्तिहरूका लागि पनि दर्ता स्वीकार गर्छौं।

५ देखि ११ वर्षका बालबालिकाहरुलाई पनि खोप दिईरहेको छ।

 

विदेशबाट फुकुओका शहरमा आउनुभएका महानुभावहरुले यदि खोप लगाउन चाहनुहुन्छ भने,

खोप कुपन जारीको लागी निबेदन दिन आवश्यक छ।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श, बुकिंग र खोप कुपन जारीको बारेमा बुझ्न सम्पर्क गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ ।

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

नेपाली, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ