ブログ

ポッドキャスト

ポッドキャスト RSS

2022年03月

2022.03.31[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

DJ को Choice 【ओहानामी・ कार्यक्रमको नयाँ बर्षको सन्देश】

जापानमा मार्चको अन्त्यदेखि अप्रिललाई साकुरा फुल्ने मौसमको रुपमा चिनिन्छ।

पार्क वा विद्यालय, सडक छेउका रूख, घरका बगैंचा जस्ता धेरै ठाउँहरूमा साकुरा फूल हेर्न सक्नुहुन्छ।

साकुरा फूल फुल्ने अवधि धेरै छोटो हुन्छ, १-२ हप्ता। छोटो समय भए पनि सुन्दर साकुरा फुलेको हेरेर आनन्द लिन मन लाग्छ नि होइन।

 

・ < ओहानामी अर्थात् साकुरा फूल फुलेको हेर्ने मेलाको बारेमा>

जापानमा बस्ने मानिसहरूका लागि साकुरा फूल फुलेको हेर्ने भनेको परम्परागत र लोकप्रिय कार्यक्रम हो।

ओहानामीमा, साथीभाई वा परिवार, वा सहकर्मीहरूसँग साकुराको रूख मुनि बसेर खाने, रक्सी पिउने र फोटो खिच्ने जस्ता मनोरञ्जन गरि समय बिताउने गर्छन्।

साकुरा वा ओहानामीको चलन जापानमा विशेष  छ।

फुकुओका शहरमा पनि साकुरा फूल फुलेको हेर्ने धेरै ठाउँहरू छन्।

 

 

・ <फुकुओका शहर नजिकैको साकुरा फूल फुलेको हेर्ने ठाउँहरूको बारे>

फुकुओका शहरभित्र साकुराका लागि प्रसिद्ध ठाउँहरु, माइजुरु पार्क, निशी पार्क आदि हुन्।

 

साथै, फुकुओका शहर नजिकैको साकुरा फूल हेर्ने ठाउँहरूको बारेमा, विदेशीहरूका लागि "उपयोगी" जानकारी प्रदान गर्दै आइरहेको " Fukuoka Now" मा विशेष लेख राखिएको छ।

https://www.fukuoka-now.com/ja/fukuoka-sakura-and-ohanami-guide/

फोटोहरु सहित बुझ्न सजिलो भएकोले पक्कै पनि एक पटक इन्टरनेटमा फुकुओका साकुरा वा ओहानामी गाइड २०२२  भनेर खोजि हेरी, आफ्नो परिवार वा साथीभाई वा प्रेमि-प्रेमिकासँग साकुरा मेलामा घुम्न जाँदा कसो होला!

साकुराको मनोरञ्जन लिन, मलाई मन पर्ने ठाउँहरुमध्ये तेन्जिन सेन्ट्रल पार्क पनि एक हो। तेन्जिनबाट नजिकै यो पार्कमा, बसेर खान मिल्ने गरि टेबलबेन्चहरु पनि छन्, तर साकुरा रुखको मुनि भुइँमा शीट ओछ्याएर बस्नुको मज्जा नै बेग्लै हुन्छ नि होइन ! यो ठाउँमा सानो खोला पनि छ। खोला किनारमा हिड्ने पेटी छ, अनि त्यहाँबाट हिड्दाको साकुरा फूलको सुगन्ध र दृश्य अति नै मनमोहक हुन्छ। तपाईंहरु यदि यो ठाउँमा साकुरा हेर्न जानु भएको छैन भए, पक्कै पनि एक पटक जानु होला। रमाइलो गर्नुहोला।

 

< यस बर्ष पनि सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रही ओहानामीको आनन्द लिऔं! >

यस बर्ष पनि नयाँ कोरोनाभाइरसको प्रभावको कारण सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रही, ओहानामी अर्थात् साकुरा फूलको आनन्द लिऔं।

सकेसम्म कम मान्छेको संख्यामा, छोटो समयमा भीड नहुने गरि गरौं, अनि फर्कंदा आफ्नो फोहोर आफैं बोकेर जाने जस्ता नियमको पालना गरि साकुरा मेलाको आनन्द लिऔं।

पक्कै पनि यो मौसममा मात्र हेर्न सकिने सुन्दर फूल साकुराको दृश्य अवलोकन, स्मरणीय रहनेछ।

 

・ < कार्यक्रमको नयाँ बर्षको सन्देश>

वर्ष २०२० को अप्रिलमा शुरु भएको यो कार्यक्रम " Life in Fukuoka", अर्को हप्ताबाट तेस्रो वर्षमा प्रवेश गर्नेछ! प्रसारण वा पोडकास्टहरू सुनि दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि दैनिक जीवनमा उपयोगी जानकारी र रमाइला विषयबस्तुहरू आउँदा दिनहरुमा पनि हामी निरन्तर प्रस्तुत गर्नेछौं।

अवश्य पनि यस कार्यक्रम वा मलाई मेसेज पठाउनुहोला!

कृपया मेसेज पठाउनु हुँदा शीर्षकमा "Life in Fukuoka Nepali" राखेर इमेल ठेगाना: 761@lovefm.co.jp मा पठाउनुहोला।

2022.03.24[Thu] 09:00

अन्य(その他)

【ताकेनोको अर्थात् तामाको परिचय】

बाँसको मुनिको डाँठबाट निस्कने कलिलो भागलाई ताकेनोको अर्थात् तामा भनिन्छ।

ताजा भएको बेलामा नै खानु महत्त्वपूर्ण हुनाले यसलाई किन्नु भएमा सकेसम्म चाँडो पकाएर खाने गरौं। ताजा खनेको भएमा काँचै पनि खान सकिन्छ, तर सामान्यतया उमाल्न आवश्यक पर्दछ।

तताएर मात्र पनि खान सकिने प्रशोधन गरिएका ताकेनोको सुपरमार्केटहरूमा पाईन्छन्।

भित्रि भाग कलिलो भएकोले यसलाई उमालेर वा हल्का भुटेर वा टेम्पुरा गरेर खान पनि सकिन्छ।

यसको जरा कडा हुन्छ, तर यसलाई पातलो स्लाइसमा काटेर भात पकाउँदासँगै मिसाउनाले पनि स्वादिष्ट हुन्छ।

फुकुओका प्रिफेक्चर, ताकेनोकोको उत्पादन जापानभरिमा सबैभन्दा बढी हुने र डिसेम्बरदेखि मेसम्म लामो समयसम्म निर्यात गर्ने जापानको सबैभन्दा ठूलो उत्पादन क्षेत्र हो। विशेष गरी, किटाक्युशु शहर कोकुरा मिनामीकुको ओउमामा उत्पादन हुने ताकेनोको उच्च-स्तरीय खानाको रूपमा राष्ट्रव्यापी रूपमा प्रसिद्ध रहेको छ।

 

 

【कानूनी परामर्श र मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्शको परिचय】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

 

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।

 

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजे देखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट, बुकिंगको आधारमा वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छI

भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोलाI

मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी वा जापानी भाषामा प्रदान गरिंदै आइरहेको छ।

 

 

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकाले ढुक्क भएर परामर्श लिनुहोस्I

 

नयाँ कोरोनाभाइरस संक्रमण रोक्नको लागि, यहाँ आउनुहुँदा सकेसम्म मास्क लगाउन र हात धुनका लागि अनुरोध गर्दछौंI

 

 

【Mail Magazine को परिचय】

“Fukuoka City International Foundation Mail Magazine” भन्नाले, फुकुओकाको अन्तर्राष्ट्रिय अन्तर्क्रिया गतिविधि तथा अन्तर्राष्ट्रिय सहयोग सम्बन्धि समाचार, हरेक महिना अंग्रेजी र जापानी भाषामा सबैले लिन मिल्ने Mail Magazine हो।

वेबसाइटबाट सजिलै यस सेवाको लागि आवेदन दिन सक्ने भएकोले, कृपया "fcif" भनि खोजेर प्रयोग गर्नुहोला।

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सुचना सम्बन्धि, बुकिंग वा विस्तृत जानकारीका लागि फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोलाI

सोमबारदेखि शुक्रबार, बिहान ९:०० बजेदेखि बेलुका १८:०० बजेसम्म काउण्टर खुल्ला रहनेछI

2022.03.17[Thu] 09:00

आवास(住宅) , नियम तथा आचरण(ルール・マナー)

【काफुन्बाट बच्ने उपाय】

यो न्यानो हुँदै आउने मौसममा हुने समस्या भनेको काफुन्स्यो हो। काफुन्स्यो भनेको आँखा चिलाउने, खोकी लाग्ने अनि नाकबाट पानी बग्नु हो।

काफुन् एकदमै सानो र हावामा सजिलै तैरिन सक्ने पदार्थ हो।

भ्याकुम क्लिनर प्रयोग गर्नाले वा कुचोले बराल्नाले, काफुन् हावामा फैलिने सम्भावना बढी हुन्छ। तसर्थ, घरमा गर्न सकिने उपायको रूपमा, भुइँमा भएको काफुन्लाई, पुछ्ने कपडा वा क्लिनिंग शीट प्रयोग गरेर सफा गर्नाले प्रभावकारी हुन्छ।

बारम्बार पुछ्ने, सफा गर्ने, एयर प्युरिफायर जडान गर्ने आदि गर्नाले काफुन् मात्र होइन, अन्य मसिना धुलोहरूको लागि पनि उपयोगी हुन्छ।

साथै, बाहिर जाने लुगाहरूमा काफुन् पनि धेरै टासिएको हुन्छ। त्यसैले, घर पुग्दा, ढोकामै आफ्नो कोट फुकालेर, त्यसमा टासिएको काफुन्लाई तक्तकाएर झार्नु पनि आवश्यक छ।

 

 

【बसाईसराईको प्रक्रिया सकेसम्म चाँडो पूरा गर्नु】

〇 मार्च र अप्रिलमा बसाईसराई धेरै हुने भई वार्ड अफिसको काउण्टरमा भीड हुने समय हो।

बसाईसराईको प्रक्रिया सकेसम्म चाँडो पूरा गर्न हुन अनुरोध गर्दछौं।

सप्ताहका दिनहरुमा व्यस्त भई बसाईसराईको सूचना दर्ता गर्न जान असमर्थ हुनुहुने महानुभावहरुले बिदाका दिनमा बसाईसराईको प्रक्रिया गर्न सकिने गरि मार्च २७ र अप्रिल ३ को आइतबार, प्रत्येक वार्ड कार्यालय र शाखा कार्यालयका काउण्टरहरू अस्थायी रूपमा खोलिनेछन्।

बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म, बसाईसराईको सूचना वा बसाईसराई सम्बन्धित सूचना दर्ताहरू स्वीकार गर्दछौं।

 

यदि फुकुओका शहरभन्दा बाहिर बसाई सर्दै हुनुहुन्छ भने, सर्ने दिनसम्ममा वार्ड अफिसमा बसाई सरेर जादैछु छु भन्ने सूचना दर्ता गर्नुभएमा, सरुवा भई जाने ठाउँको आवश्यक बसोबास सरुवा प्रमाणपत्र पाउनुहुनेछ।

यदि फुकुओका शहरभित्र बसाई सर्दै हुनुहुन्छ भने, बसाईसराई सूचना दर्ता गर्न आवश्यक छैन तर, नयाँ ठेगानामा बस्न थाल्नु भएको दिनदेखि १४ दिनभित्र तपाईं सर्नुभएको वार्ड अफिसमा बसाईसराई सूचना बुझाउनुपर्छ।

वार्ड अफिसमा बसाईसराईको प्रक्रियाका लागि सुविधाजनक अनलाइन सेवा पनि छ।

शनिवार, आइतवार, र सार्वजनिक बिदाका बाहेक, कम्तिमा ५ दिन अगाडिसम्ममा स्मार्टफोन आदिबाट ठेगाना परिवर्तन वा प्रक्रियाको अपेक्षित मिति आदिको जानकारी पठाउनुभयो भने बुकिङ गर्न सक्नुहुन्छ र काउण्टरमा प्रक्रियाको समय कम लाग्छ।

〇यस अतिरिक्त, बसाईसराई गर्दा, खानेपानी आपूर्ति शुरु गर्न वा रोक्नका लागि सुचना दिन आवश्यक छ। शनिवार, आइतवार र सार्वजनिक बिदाका बाहेक, सर्ने दिनभन्दा कम्तिमा ४ दिन अगाडिसम्ममा फोनमार्फत सम्पर्क गर्नुहोस्।

फोन नम्बर ०९२-५३२-१०१० हो।

 

 

【बसाईसराई फोहर सम्बन्धि】

वसन्त ऋतुमा स्थान परिवर्तनको कारण फर्निचर र घरेलू उपकरण जस्ता ठूला आकारको फोहर बढ्ने समय हो।

यस पटक, ठूला आकारको फोहोर रिसेप्शन सेन्टरमा आबेदन दिने तरिका सम्बन्धि जानकारी दिनेछु।

 

फोन, इन्टरनेट वा फुकुओका सिटीको LINE मार्फत अग्रिम आवेदन दिई, कन्भिनीयन्स स्टोर आदिमा प्रशोधन टिकट खरीद गर्नुहोस्।

फोहर संकलन, आवेदन दिएको मितिबाट एक हप्ता लाग्नेछ।

संकलनको दिनमा बिहान ८:३० सम्म तोकिएको ठाउँमा राख्नुहोस्।

ठूला आकारको फोहोर रिसेप्शन सेन्टरको फोन नम्बर ०९२-७३१-११५३ ।

इन्टरनेट वा LINE मार्फत २४ घण्टा जहिलेपनि आवेदन दिन सकिने भएकोले सुविधाजनक छ।

 

टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर र एयर कन्डिशनरहरूको हकमा घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ।

नयाँ जडान गर्ने बेला लगिदिनुहुन्छ कि भनेर खरिद गर्नुभएको पसल वा नजिकैको Best Denki वा Yamada Denki मा सोध्नुहोला। रिसाइकल शुल्क, संकलन र यातायात शुल्क तिर्नु पर्छ।

2022.03.10[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【”ह्वाईट डे” को परिचय】

तपाईंहरु प्रायःजसोलाई थाहा नै होला, फेब्रुअरी १४ तारिक भनेपछि भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवस! जापानमा, यस दिन सामान्यतयाः केटिले मन पर्ने केटा वा सँधै आभारी भएका व्यक्तिहरुलाई  चकलेट  दिने चलन छI अनि चकलेट पाएको केटाले फेरी त्यो केटीलाई मार्च १४ मा चकलेट  दिने गरिन्छ जुन दिनलाई ह्वाईट डे भनिन्छI भ्यालेन्टाईन डे संसारभर मनाउने चलन छ, तर ह्वाईट डे जापान, चीन,  दक्षिण कोरिया आदि केही देशहरूमा मात्रै मनाउने गरेको देखिन्छ।

सन् १९६५ को अन्त्यदेखि ५० को दशकमा यो चलन फैलिएको भनिन्छ। यो दिवस केही मिठाई वा चकलेटका उत्पादनकर्ताको विचारबाट उब्जिएको वा लामो समयदेखि स्थापित मिठाई पसलले शुरु गरेको भन्ने मान्यता पनि रहेको देखिन्छ।

विशेष गरी यहाँ फुकुओका शहरमा Ishimura-mansei-dou को सोचबाट आएको Marshmallow Day निकै लोकप्रिय छ ।

पहिलेका समयमा, सेतो चकलेट, क्यान्डी र Marshmallow विशेष मानिन्थ्यो भने आजकल जुनसुकै  मिठाई पनि यस दिनमा आदानप्रदान गर्ने गरिन्छ।

यस दिवसका लागि विशेष बिक्री काउण्टर पनि राखिने भएकोले, किनमेल गरेर मनोरञ्जन लिने अवसर पनि हो।

 

 

【नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना】

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

फुकुओका शहरमा, तेस्रो पटकको खोप शुरु भएको छ।

दोस्रो पटकको खोप लिईसक्नु भएका, १८ वर्षका वा सोभन्दा माथिका फुकुओका शहरको नागरिकहरुलाई, फुकुओका शहरले तेस्रो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाउनेछ।

दोस्रो पटकको खोप लगाएको लगभग ७ महिनापछि पनि खोप कुपन पाउनु भएन भने, कल सेन्टरमा फोन गर्नुहोला।

 

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श लिन र बुकिंग गर्न सकिने फोन नम्बर रहेको छ,

०९२-२६०-८४०५ । हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

 

【बसोबास कर छुट भएका परिवारहरूका लागि आपतकालीन विशेष अनुदान रकमको सूचना】

नयाँ कोरोनाभाइरसको सङ्क्रमको प्रभाव लामो समयसम्म रहिआएको कुरालाई मध्यनजर गरि, जापान सरकारले जिविकोपार्जनमा टेवा पुर्‍याउन, बसोबास कर छुट भएका परिवारहरूलाई प्रति परिवार १,००,००० येन नगद उपलब्ध गराउने निर्णय गरेको छ।

बसोबास करको दायराभित्र नपरेका र भुक्तानीका लागि योग्य भएका परिवारहरुलाई फुकुओका सिटि नगरपालिकाले अनुदान रकमको विवरण वा पुष्टि गर्नुपर्ने बिषयवस्तुहरु उल्लेखित पुष्टिकरण पत्र पठाएको छ।

अनुदान रकम प्राप्त गर्नका लागि प्रक्रियाको आवश्यक पर्छ।

पुष्टिकरण पत्र प्राप्त गर्नुहुने महानुभावहरुले विवरणको राम्ररी जाँच गरि, पुष्टिकरण जारी भएको मितिबाट ३ महिना भित्र फिर्ता पठाउनुपर्छ।

 

अनुदान रकमको बारेमा परामर्श लिन सकिने फोन नम्बर,  ०१२०-०१८-०९२ हो।

सोमबारदेखि शुक्रबार, बिहान ९:०० देखि बेलुका ६:०० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी, स्पेनिश र पोर्चुगिज भाषाहरूमा परामर्श लिन सकिन्छ।

2022.03.03[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【DJ को Choice ‘नयाँ जीवनको लागि उपयोगी जानकारीहरु’】

चाहे स्कूलको लागि होस् वा काम आदिको लागि, हाम्रो जीवनमा धेरै पटक चीजहरू परिवर्तन गर्नुपर्ने हुन्छ र जापानमा नयाँ शैक्षिक वर्ष वा नयाँ कामको शुरुवात अप्रिलको १ तारिकमा हुने गर्छ।

जापानमा अप्रिलको समय, विद्यार्थीहरू नयाँ विद्यालयमा भर्ना हुने, अर्को कक्षामा जाने, काम गर्नेहरु नयाँ कम्पनीमा प्रवेश गर्ने वा सरुवा हुने, जागिर परिवर्तन गर्ने गर्छन्। यस समयमा, घर सर्ने मानिसहरू पनि धेरै हुन्छन्।

त्यसैले फेब्रुअरी र मार्चमा आफ्नो जीवनको नयाँ अध्यायको लागि तयारीहरु गर्ने गर्छन्।

 

<फुकुओका शहरभित्र वा बाहिर बसाइँ सर्ने बारे>

फुकुओका शहरभित्र बसाइँ सर्ने योजनामा हुनुहुने वा फुकुओका शहरबाट बाहिर जाने योजनामा हुनुहुने कसैले आजको यो कार्यक्रम सुनिरहनु भएको छ कि?

 

यदि बसाइँ सर्दै हुनुहुन्छ भने, तपाईंले बसाइँ सर्ने सूचना दर्ता गर्न आवश्यक छ। सर्नु अघि, आफ्नो स्थानीय वार्ड कार्यालयमा गएर आवश्यक कागजातहरू लिने गरौं।

बसाइँ सर्ने प्रक्रिया वा लिएर जानुपर्ने आदि बारे बुझ्नका लागि फुकुओका शहरको आधिकारिक LINE Account वा फुकुओका सिटी इन्टरनेशनल फाउन्डेसनको होमपेजमा हेर्न सक्नुहुन्छ।

 

म फुकुओका शहरबाट कहिल्यै बाहिर बसाइँ सरेको छैन, त्यसैले सौभाग्यवश कागजी कार्यहरू गर्नुपरेको छैन। बरु फुकुओका शहरभित्र नै बसाइँ सरेको छु तर उही नै वार्ड भएकोले धेरै कागजी कार्यहरू गर्नु परेन। तर खानेपानी, ग्यास, बिजुली र इन्टरनेट कम्पनीहरूलाई फोन गरेर, आफू सर्दै छु भनेर सुचना दिई, बसीरहेको ठेगानामा सेवा रोक्न र सर्न लागेको नयाँ ठेगानामा सेवा लिनका लागि सम्पर्क गरेको थिएँ। नयाँ ठाउँमा सर्दा महत्त्वपूर्ण कुराहरुमध्ये एक हो; फुकुओका अध्यागमन ब्यूरोमा पनि आफ्नो ठेगाना परिवर्तन भएको जानकारी दिई जाइर्यु कार्डमा पनि नयाँ ठेगाना खुल्ने गरि  राख्नुपर्छ । त्यस्तै, आफू सरेर गएपनि आफ्नो पुरानो ठेगानामा आएको चिठीपत्रहरु नयाँ ठेगानामा पठाउन मिल्ने गर्नका लागि हुलाक अफिसमा आबेदन दिनुपर्छ । साथै, आफ्नो खाता खोलेको बैकमा पनि नयाँ ठेगानाको जानकारी गराउनु राम्रो हुन्छ । यो गर्न पनि खासै गार्हो छैन।

 

यी सबै नियमकानुन अनुसारको कागजी कार्यहरु तथा प्रकियाहरु बाहेक, बसाइँ सर्दा आवश्यक अर्को कुरा भनेको, सर्दा सामान ओसारपसार गरिदिने कम्पनी खोज्नु हो। बजारमा थरिथरि कम्पनिहरु छन् अनि शुल्क पनि फरक फरक, त्यसैले निर्णय लिन अगाडि बुझेर हेर्नु राम्रो हुन्छ। सर्ने दिन पहिले नै थाहा भएमा अग्रिम बुकिंग गरेर राख्नु बेश हुन्छ नत्रभने अप्रिलको पिक सिजनमा आफूलाई पायक पर्ने समयमा खोज्न अति गार्हो हुन्छ।

यदि सामानहरु प्याक गर्न कार्डबोर्ड बक्सहरू खोज्दै हुनुहुन्छ भने, सुपरमार्केटहरूमा सामान्यतया प्रयोग नगर्ने कार्डबोर्ड बक्सहरू निःशुल्क लिन सक्नुहुन्छ।

 

साथै, पक्कै पनि Life in Fukuoka कार्यक्रमको विगतका ब्लगहरू र पोडकास्टहरू चेक गर्नुहोला।

फुकुओकामा बसोबास गर्न सरल बनाउन मद्दत गर्ने धेरै जानकारीहरु राखिएका छन्।

 

यस अतिरिक्त, फुकुओका शहरको होमपेजमा, Life in Fukuoka को डिजिटल पर्चा र भिडियो सार्वजनिक गरिएको छ। सबैजनाले सुरक्षित र दुक्क भई फुकुओका शहरमा आरामदायक जीवनयापनका लागि, समस्या पर्दा परामर्श लिने ठाउँ वा क्षेत्रको जानकारी, बसाइँका लागी पालन गर्नुपर्ने नियम र आचरणहरू आदि जानकारीहरु यसमा समावेश छन् । वेबसाइट लिङ्कको लागि LOVE FMको वेबसाइटमा Life in Fukuoka को पृष्ठमा आजको कार्यक्रमको ब्लगमा हेर्नुहोला।

https://www.city.fukuoka.lg.jp/soki/kokusai/shisei/seikatugaidansu/guidance.html

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ