ブログ

ポッドキャスト

ポッドキャスト RSS

DJ को Choice!(DJのオススメ)

2023.11.23[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【क्रिसमस एडभेन्ट】

तेन्जिन र हाकाता शहरहरूमा, सडक छेउका रुखहरू लगायत प्रत्येक व्यावसायिक पसलहरुले राखिएका झिलिमिली बत्ती र बिशाल क्रिसमस ट्रीहरुको सजावटले, सिङ्गो शहर नै झिलिमिली भईरहेको छ।

तपाईंहरु झिलिमिलीको शहर, फुकुओकाको क्रिसमस इभेन्ट "क्रिसमस एडभेन्ट" मा जानुभयो?

क्रिसमस एडभेन्ट भन्नाले के हो भन्ने तपाईंहरूमध्ये कसै-कसैलाई लागिरहेको होला। हरेक वर्ष आयोजना हुँदै आइरहेको "क्रिसमस मार्केट" ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यस बर्षदेखि, "क्रिसमस एडभेन्ट" नामकरण गरि, थप सुधारका साथ नविकरण गरिएको हो!

नोभेम्बर ६ देखि हरेक दिन, विभिन्न स्थानहरूमा झिलिमिली बत्तीका साथै क्रिसमस मार्केट पनि लागिरहेको छ। क्रिसमसको दिनसम्म हरेक दिन हाकाता, तेन्जिन, र नाकासुका शहरहरुमा चकाचक माहोल देख्न सक्नुहुन्छ। झिलिमिली बत्तिहरु, सजावटहरु, क्रिसमसका रुखहरु, धेरै सान्टाहरुसँग भेटघाट अनि प्रत्यक्ष सांगीतिक कार्यक्रम आदि बिभिन्न तरिकाहरुबाट मनोरन्जन लिन सक्नुहुन्छ।

यस वर्ष, तीन नयाँ ठाउँहरू थपिएर १०० भन्दा बढी स्टलहरू खोलिएका छन्। स्वादिष्ट खाना, आकर्षक क्रिसमस सामानहरू, र क्लासिक मुल्ड वाइन र हट चकलेट पनि बिक्रीमा राखिएका छन्।

मग कपको डिजाइन हरेक वर्ष परिवर्तन हुन्छ, तर पहिलो संस्करणको मगकपको निकै लोकप्रिय छ! यस वर्ष प्रत्येक स्थानमा ६ प्रकारका मग कप उपलब्ध छन् । पानी परेको दिनमा मात्रै उपलब्ध हुने मग कप पनि राखिएको छ।

तपाईंहरु पनि अवश्य "क्रिसमस एडभेन्ट" मा घुम्न जानुहोला अनि क्रिसमस झिलिमिलीको आनन्द लिनुहोला।

 

 

【डीजे छुट्टी का मौसम】

भन्दाभन्दै वर्षको अन्तिम महिना डिसेम्बर आउन लागिसक्यो। डिसेम्बरको अन्त्यतिर लगातार बिदा पाउने हुनेहरुले बिदा कसरी मनाउने भन्ने बारे अहिलेदेखि सोचिरहनु भएको छ होला। जापानको व्यस्त जीवनयापनमा यस किसिमको बिदाको भरपूर सदुपयोग गरेर परिवारजन, साथीभाईसँग रमाइलो समय बिताउने प्लान प्रायःको छ होला। बिदाका दिनहरुमा के गर्ने, कहाँ जाने भनेर लिस्ट बनाई क्यालेन्डरमा चिन्ह लगाउने पनि राम्रो उपाय हुन सक्छ।

म चाहिं, जापान आएदेखि लामो बिदाको अवसरमा प्रायःजसो साथीहरुसँग नयाँ पर्यटकीय स्थलहरुमा घुमघाम गर्ने, नेपाली तथा जापानी साथीहरुलाई घरमा बोलाएर नेपाली खाना खुवाएर रमाइलो गर्ने; बिशेष गरि नेपाली स्वादको मः मः बनाउने गरेकी छु। त्यस्तै, बिदामा मलाई ओहोरी पार्क र जिन्जाहरुमा जान पनि मन पर्छ, त्यहाँको शान्त वातावरणमा बेग्लै किसिमको आनन्द अनुभूति हुन्छ। यस बाहेक यस समयतिर बजारमा सेल लाग्ने भएकोले सामान्यभन्दा अलि बेसी शपिंग पनि गर्ने गर्छु। यस वर्ष पनि यस्तै यस्तै गरेर बिदा मनाउने सोचेकी छु। तपाईंहरुको चाहिं कस्तो प्लान छ होला?

डिसेम्बरको लामो बिदाका दिनहरुमा मलाई नेपाली खाना बाहेक बिशेष गरि जापानी खाना -नाबे खान औधी मनपर्छ। तपाईंहरुलाई नाबे कत्तिको मन पर्छ हो? जाडोमा नाबे खानुको मज्जा नै छुट्टै छ नी! वास्तवमा, अत्यन्तै जाडोमा नाबे खानु अति उत्तम हुन्छ। यो पकाउन पनि एकदम सजिलो छ। आफूलाई मनपर्ने मासु, माछा र तरकारीहरू जस्ता सामग्रीहरू काटेर, सूप हालेर उमाल्ने मात्र त हो। अनि अन्तमा बाँकि भएको झोलमा अन्दासँग भात वा नूडल हालेर खान पनि स्वादिष्ट हुन्छ। 

तपाईंहरु पनि जाडोमा तातो नाबे खाएर, शरीरलाई न्यानो बनाएर बस्नु होला है।

2023.08.17[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【समर कोउशिएन्" वा "समर हाई स्कूल बेसबल】

हरेक वर्ष अगस्टमा हाईस्कूल बेसबल प्रतियोगिता आयोजना हुने गरिन्छ। यो जापानको ग्रीष्मकालीन परम्पराहरू मध्ये एक हो भन्दा पनि हुन्छ । वर्षको यस समयतिर दिनदिनै जसो हाईस्कूल बेसबल मिडियामा प्रसारण र छलफल हुने गरिन्छ। यसको औपचारिक नाम "राष्ट्रिय हाई स्कूल बेसबल च्याम्पियनसिप मेमोरियल टूर्नामेन्ट" हो, तर खेल मैदान ह्योगो प्रिफेक्चरको कोउशिएन् स्टेडियममा हुने भएकोले, यसलाई "कोउशिएन्" भनेर चिनिन्छ।

देशभरका हाईस्कूल बेसबल खेलाडीहरू यस प्रतियोगितामा भाग लिन चाहन्छन्। क्षेत्रीय छनोट प्रतियोगिताहरूमा तीव्र खेलहरू मार्फत जितेका विद्यालयहरूले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका पाउँछन्। व्यावसायिक बेसबलमा उत्कृष्ट प्रदर्शन गर्ने धेरै खेलाडीहरू पनि यस प्रतियोगिताबाट आएका पाईन्छन्। मांगा, चलचित्र आदिमा पनि बेसबलमा आधारित धेरै सिर्जनाहरु हुनुका साथै हरेक वर्ष प्रतियोगितालाई उत्सुकताका साथ प्रतीक्षा गर्ने प्रशंसकहरू जापानभर छन्। यस बाहेक, प्रत्येक विद्यालयको विद्यालय धुन, ब्रास ब्यान्डहरूको प्रदर्शन, चियर स्क्वाडहरूको उत्साहजनक प्रदर्शन, र खेलाडीहरूले प्रतियोगिता सकेपछि खेल मैदानको बालुवा लिएर जाने आदि जस्ता यस प्रतियोगिताका बिशेषताहरु हुन्।

यदि मौका मिल्यो भने, तपाईंहरु पनि हाई स्कूलका खेलाडीहरूको जोश र खेलकुदसँगको उनीहरूको तिब्र लगावको अनुभव गरेर हेर्नु होला!

 

 

DJ को Summer Recipe Choice

हरेक दिन गर्मी उतिकै बढिरहेको छ। सक्रिय रहन र यस गर्मीमा पूर्ण रूपमा रमाइलो गर्न, राम्रोसँग खानपान गर्नु र पोषणयुक्त आहार लिनु महत्त्वपूर्ण छ। यस गर्मीको थकानबाट बच्न आज मैले दुई थरि खानाहरुको जानकारी लिएर आएकी छु। 

पहिलो छ, बनाउन सजिलो अनि स्वादिलो खानाहरुमध्ये एक, नेवारी खाना "चटामरी"। 

चटामरीको समतल र गोलो आकारको कारण यसलाई नेपाली पिज्जा पनि भनिन्छ। विभिन्न टोपिंगहरू राखेर बनाउन सकिने भएकोले, यो गर्मीको समयमा हल्का र स्वादिष्ट भोजनको रुपमा उत्कृष्ट विकल्प हो। पातलो अनि कुनै टोपिंगबिना सादा चटामारी पनि मिठो नै हुन्छ। चटामारी बनाउन चाहिने सामग्रीहरु भनेको, चामलको पीठो, जीरा पाउडर, नून, पानी अनि आफूलाई मन पर्ने टोपिंगहरू। मलाई चाहिं चिज, ससेज, क्याप्सिकमको तोपिंग धेरै मनपर्छ। किमामा प्याज, अन्य मसलाहरु हालेर टोपिंग गरेर खान पनि स्वादिष्ट हुन्छ। 

जापानमा भने प्रायः गर्मी मौसममा खाईने खाना हो, सोमेन्। सोमेन् पिठोबाट बनेको पातलो नुडल हो। तातो पानीमा उमालेको सोमेन्लाई, बरफको पानी वा धाराको पानीमा चिसो पारेर,त्यसपछि पानीबाट झिकेर, चिसो सससँग खाईन्छ। त्यस्तै सोमेन्लाई तितेकरेला वा मौसमी तरकारीहरू, मासु आदिसँग मिसाएर तेलमा भुटेर खान पनि मिठो हुन्छ। सोमेन्, सुपरमार्केट वा कन्भिनीहरुमा सजिलै र सुपथ मूल्यमा किन्न पाईन्छ।

गर्मीको यस मौसममा खान नरुचाउने बेला, तपाईंहरु पनि पक्कै चटामारी वा सोमेन् खाएर खानाको आनन्द लिनुहोला।

2023.06.29[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【डीजे कुराकानी】

वर्ष २०२३ को आधा त कटि नै सक्यो! फुकुओकामा बस्नुहुने सबैजनाको जीवनयापन कस्तो हुँदैछ होला? तपाईंहरुलाई थाहा छ, फुकुओकामा सांगीतिक कार्यक्रम, खाना महोत्सव, स्थानीय उत्पादन प्रदर्शनीहरू आदि जस्ता बिभिन्न किसिमका मनोरञ्जनका कार्यक्रमहरु आयोजना हुँदै आइरहेको छ।

मेरो भन्नु पर्दा, यस वर्ष अप्रिलको शुरुवातमा परिवार र साथीहरुसँग माइजुरु पार्कमा हानामी पिकनिकको आनन्द लिए। पार्क परिसरमा चटक, नाच, संगीत आदि बिभिन्न प्रस्तुतिहरु थिए, एकदमै रमाइलो भयो। त्यसपछि, मेको गोल्डेन विक बिदामा, उमिनो नाखा मिची पार्कमा परिवार र साथीहरुसँग घुम्न गए। त्यहाँ बच्चाहरुका लागि थरिथरिका खेलकूदका सामानहरु हुने अनि चिडियाघर, बिशेष गरि घरपालुवा जनावरहरु छोएर अनुभव गर्न सकिने पनि छ। आजकल गर्मी एकदम बढ्दै आईरहेको छ। अब सुमुन्द्रतिर घुमघाम गर्ने योजना बनाई रहेकी छु। साथीहरुसँग बार्बिक्यु गर्ने योजना पनि छ । नेटमा खोज्नुभयो भने फुकुओका शहरमा रेंटलमा सामान लिएर बार्बिक्यु गर्न मिल्ने धेरै ठाउँहरु पाउनुहुन्छ। 

तपाईहरुको फुकुओकामा जीवनयापनको अनुभव र सुझावहरू, हामीलाई सुन्न मन छ! कृपया "761@lovefm.co.jp" मा ईमेल गर्नुहोला। जुलाई देखिको वर्षको आधा पनि भरपुर आनन्द लिएर बिताऔं !

 

 

हाकाता गिओन् यामाकासा

जुलाई महिनामा फुकुओकामा मनाईने सबैभन्दा ठूलो पर्वमध्ये एक हो, "हाकाता गिओन् यामाकासा।" जुलाई १ देखि १५ सम्म मनाईने, ७०० वर्षभन्दा बढी निरन्तर रुपमा चलि आईरहेको यो, हाकाताको पर्व हो। 

तपाईंहरूले यो पर्व हेर्नुभएको छ?

स्थानीयवासी लगायत प्रान्त बाहिरका पर्यटकहरू पनि धेरै हेर्न आउने भएकोले यस समय शहरमा जीवन्त वातावरणको सृजना हुन्छ।

जुलाई १ मा, फुकुओका शहरका विभिन्न स्थानहरूमा, लगभग १० मिटर अग्लो भव्य र प्रभावशाली "खाजारियामा", सरल अर्थमा भन्नु पर्दा भव्य सजाईएको रथहरु प्रदर्शन गरिन्छ। रथको अगाडि र पछाडिको सजावटमा ऐतिहासिक दृश्यहरू, पौराणिक कथाहरू चित्रण गर्ने विभिन्न विषयवस्तुहरू, त्यस्तै टिभी कार्यक्रमहरु र चलचित्रहरुका हिरो हिरोइनका विषयवस्तुहरू समाबेश हुन्छन्। हाकाता निन्योशी भनेर चिनिने दक्ष कारिगरहरूद्वारा बनाईएका यी कलाकृतिहरू, बालबालिकादेखि वृद्धसम्म सबै उमेरका मानिसहरूबीच लोकप्रिय छन्।

पर्वको समाप्तिको अन्तिम दिन, जुलाई १५ मा "ओइयामा" नामक कार्यक्रम आयोजना हुन्छ। यो हाकाता गिओन् यामाकासाको मुख्य आकर्षणहरूमध्ये एक हो। लगभग ५ किलोमिटरको दौड, हाकाता वार्डको खामिखावाबाटा-माचीमा रहेको कुशिदा जिन्ज्याबाट, बिहान ४:५९ बजे ड्रमको सङ्केतसँगै शुरु हुन्छ। पुरुषहरूले करिब १ टन तौलको र करिब ३ मिटर अग्लो भएको यामाकासालाई आफ्नो काँधमा बोकेर, उत्साहजनक स्वरमा, सडकमा रथ दौडाउँछन्। कुशिदा जिन्ज्यादेखि सुसाकी-माची सम्मको दौड हेर्न झिसमिसे बिहानै दर्शकहरू भेला हुन्छन्। दौडमा भाग लिने पुरुषहरूको उत्साह र शक्तिको प्रतक्ष्य अनुभव गर्न सक्नुहुन्छ। अन्तिम दिन बाहेक, जुलाई १० देखि १४ को बीचमा पनि, अभ्यासको लागि रथहरु सडकमा दौडाएको देख्न सक्नुहुन्छ।

"हाकाताको कारणले यामाकासा भएको होइन, बरु यामाकासाको कारणले हाकाता भएको हो " भन्ने प्रसिद्ध उखान छ। हाकाताक्को भनेर सिङ्गो रुपमा मनाईने यस पर्वको, अवश्य पनि आनन्द लिनुहोला।

2023.04.27[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽) , DJ को Choice!(DJのオススメ)

【सिफारिस गरिएको बाहिरी स्थलहरू】

अप्रिल महिना शुरु भएको जस्तो मात्र लाग्छ तर, अर्को हप्ता त Golden week नै आई सक्यो। सामान्यतया, मे ३ देखि ५ तारिकसम्म गोल्डेन विक भएता पनि, सप्ताहन्तबाट बिदा लिएर ९ दिन जतिको लामो बिदा लिनुहुनेहरु पनि धेरै हुनुहुन्छ होला। लामो बिदामा के गर्ने, कसरी रमाइलो गरि मनाउने भनेर तपाईंहरु पनि म जस्तै योजना बनाउँदै हुनुहुन्छ होला। त्यसैले आज, फुकुओकामा गोल्डेन वीकको समय घुमघाम गर्न सुझावजन्य ३ वटा स्थलहरुको जानकारी लिएर आएकी छु।

पहिलो सुझावजन्य स्थल हो, फुकुओका शहरको चिडियाघर र वनस्पति उद्यान। फुकुओका शहरको च्युओकुमा अवस्थित, यस उद्यानमा बिभिन्न किसिमका जनावरहरु लगायत बोटबिरुवाको आनन्द लिन सक्नुहुन्छ। तेन्जिनबाट बस वा सबवेबाट जान सक्नुहुन्छ तर, धेरै हिड्न नपर्ने गरि, सबवे “याकुइन ओडोरी स्टेशन (स्योकुबुचुएन् एक्जिट)” बाट, हिडेर जान राम्रो होला।

टिकट शुल्क, वयस्कहरूको लागि ६०० येन, हाईस्कूलका विद्यार्थीहरू लागि ३०० येन, जुनियर हाई स्कूलका विद्यार्थी र त्यस मुनिकाहरुलाई निशुल्क हो। तर गोल्डेन विकको "हरियाली दिवस (मे ४ )" मा जानुभयो भने, प्रवेश निशुल्क हुन्छ।

अर्को छ, फुकुओका शहरको हिगाशी वार्डमा रहेको Uminonakamichi Seaside Park मा, मे को २१ आइतबारसम्म, आयोजना हुने “Uminonakamichi Flower Picnic” इभेन्ट ।
यहाँ लगभग ७०,००० जतिको रंगीन ट्युलिपहरु र १२ लाख जतिको निमोफिला फूलको विशाल नीलो फूल बगैचा हेर्न सक्नुहुन्छ। विशेष गरी सप्ताहन्तमा, स-परिवार रमाइलो गर्न सकिने विभिन्न कार्यक्रमहरू पनि आयोजना भईरहेको छ।
टिकट शुल्क, वयस्कहरूको लागि ४५० येन, ग्रुपमा आउनेहरुका लागि ३०० येन, जुनियर हाई स्कूलका विद्यार्थी र त्यस मुनिकाहरुलाई निशुल्क हो।

अब अन्तिम सुझावजन्य स्थल छ, सुन्दर नीलो समुद्रले घेरिएको, इतिहास महसुस गर्न सकिने हिगासी वार्डमा रहेको, "शिकानोसिमा" । टापुको प्रतीकको रुपमा चिनिने "शिकाउमी जिन्ज्या" सानो पहाडमा अवस्थित छ। मन्दिर जाने बाटोमा ताजा समुद्री खानाको स्वादको आनन्द लिन सक्नुहुन्छ त्यस्तै, किनमेलको पनि मजा लिन सक्नुहुन्छ।

शिकानोसिमाको बाहिरी परिधि करिब १२ किलोमिटर छ, यदि साइकलबाट घुम्ने हो भने करिब एक घण्टा जति मात्र लाग्छ। साइकल राम्ररी जान्नेहरुका लागि मात्र नभई, भर्खर सिकेकाहरूले पनि ढुक्क भई यसको मजा लिन सक्नुहुन्छ।
हाकाता फुतोउमा रहेको "Bayside Place Hakata" बाट, शिकानोसिमामा जाने जहाज छ, त्यसमा आफ्नो साइकल चढाएर लैजान पनि सक्नुहुन्छ। साथै, शिकानोसिमा र उमी नो नाकामिची क्षेत्रमा साइकल भाडामा पनि लिन सक्नुहुन्छ।

यस अतिरिक्त, गोल्डेन वीकमा छुटाउन नै नहुने, फुकुओकालाई प्रतिनिधित्व गर्ने, "हाकाता डोन्टाकु मिनातो महोत्सव" को छोटो जानकारी दिन गईरहेकी छु।
फुकुओकावासीहरूको पर्वको रूपमा रहेको यस महोत्सवमा, स्थानीय बासिन्दा मात्र नभई, जापान र विदेशबाट पनि पर्यटकहरू भेला हुने गर्छन्। हरेक वर्षमा २० लाख भन्दा बढी मानिसहरू यो महोत्सव हेर्न आउँछन्। ६२औँ पटकको यो महोत्सव, यस वर्ष पनि, मे ३ र ४ मा आयोजना हुन गईरहेको छ। सबै उमेरका पुरुष-महिलाहरूले स्वतन्त्र रुपमा पोशाक लगाई, काठको पन्यू बजाउदै शहरको परिक्रमा गर्ने परेड, स्थानीय रुपमा बनाईएका स्टेज र खुला ठाउँमा नृत्यको प्रस्तुति आदि जस्ता सम्पूर्ण शहरलाई जीवन्त बनाउने यो महोत्सव हो।

क्यारेक्टरहरूले सजाइएका ठूला फ्लावर गाडिहरू पनि यस महोत्सवको लोकप्रिय विशेषताहरु हुन्।
समापनको समयमा, दर्शकहरू पनि नाच र काठको पन्यू बजाउनेमा सामेल हुन सक्छन्, अनि सिंगो शहर नै उत्सवको वातावरणले भरिएको हुन्छ।

तपाईंहरु सबैको गोल्डेन वीक बिदा रमाईलो रहोस् भन्ने कामना गर्दै आजलाई यति नै!

2023.03.30[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【DJ को Choice ‘वसन्तमा हिड्डुल’】

थाकेको जस्तो अनि शरीरमा स्फूर्ति नभएको जस्तो अवस्थामा, हिड्डुल गरेर ताजापन महसुस गरेर हेर्दा राम्रै होला। तपाईंहरुलाई कस्तो लाग्छ?

फुकुओका शहरको केन्द्रीय भागमा अवस्थित तेन्जिन सेन्ट्रल पार्क, पहिलेको फुकुओका प्रिफेक्चरल अफिस भएको साइटमा निर्माण गरिएको शहरी हरियाली क्षेत्र हो।

पार्कको कुल क्षेत्रफल लगभग ३१,००० वर्ग मिटर भई, हिड्डुलको लागी यो ठाउँ सुझावजन्य छ।

साकुरा फूलेको हेर्ने स्थलको रूपमा पनि लोकप्रिय छ। साथै, पार्कको बीचमा फराकिलो ठूलो प्राकृतिक घाँसे मैदान भएकोले, पिकनिक गरेर वा दिउँसोको निन्द्रा लिएर, मस्तले आरामदायी समय बिताउन सक्नुहुन्छ।

 

यस अतिरिक्त, "हारेनो गार्डेन" भनिने, नदीको किनारमा अवस्थित निशी-नाकासु क्षेत्र, जुन महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको रुपमा पनि रहेको छ, यसको केन्द्रमा लोकप्रिय बेकरीका पसलहरु तथा रेस्टुरेन्टहरू लाइनै पाईन्छन्। पर्यटकहरूमाझ पनि लोकप्रिय यहाँका क्याफेहरुमा बिस्तारै समय बिताउनु पनि राम्रै होला, वा बेकरी र कफी किनेर, पार्कमा खानको लागि पनि उपयुक्त छ।

यसबाहेक, पार्कको अगाडि, चलचित्र र नाटक शूटिङका लागि पनि धेरै प्रयोग गरिने फुकुहाकु देआई बाशी(Fukuhaku Deai Bashi) नामको पूल पनि छ, त्यहाँ फोटो खिच्न पक्कै पनि मन लागेर आउँछ। पार्कको एक छेउबाट अर्को छेउसम्म हिँड्नुभयो भने, बिभिन्न तरिकाले मनोरञ्जन लिन सक्नुहुन्छ।

त्यस्तै, हिड्डुलको लागी सुझाबजन्य अर्को स्थान हो, "ओहोरी पार्क"!

ओहोरी पार्क पोखरीको वरिपरि बनाइएको पार्क हो।

पोखरीको परिधि करिब २ किलोमिटर भई जगिङ कोर्सको पनि सुबिधा छ।

पोखरीको बीचमा रहेको टापुमा जान पनि सक्नुहुन्छ । पोखरीमा आरपार गर्न मिल्ने गरि बनाईएका चारवटा पुलहरूद्वारा जोडिएको बाटो, विशेष रुपमा हिड्डुलका लागि उपयुक्त छ।

त्यहाँ Boat House पनि भएकोले, धेरै मानिसहरू भाडाको डुङ्गामा, पानी माथिको भ्रमणको आनन्द लिने गर्छन्। आरामका साथसाथै ताजा महसुस गर्न सक्नुहुन्छ।

फुकुओका प्रकृतिमा धनी शहर हो, तथा यहाँ दरबार तथा मन्दिरहरू जस्ता इतिहासको अनुभव गर्न सक्ने ठाउँहरू पनि छन्। अनेक विशेषताहरु भएका पर्यटक स्थलहरू भएको क्षेत्र हुनाले, तपाईंहरु पनि यस वसन्त ऋतुमा फुकुओका शहरको वरिपरि घुमेर नयाँ चीजहरूको आनन्द लिनुहोस्।

 

कार्यक्रमको नयाँ बर्षको सन्देश

वर्ष २०२० को अप्रिलमा शुरु भएको यो कार्यक्रम " Life in Fukuoka", अर्को हप्ताबाट चौथो वर्षमा प्रवेश गर्न गईरहेको छ! प्रसारण वा पोडकास्टहरू सुनि दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि दैनिक जीवनमा उपयोगी जानकारीहरु तथा रमाइला विषयबस्तुहरू आउँदा दिनहरुमा पनि निरन्तर प्रस्तुत गर्नेछु।

पक्कै पनि यस कार्यक्रममा वा मलाई मेसेज पठाउनुहोला!

कृपया मेसेज पठाउनु हुँदा शीर्षकमा "Life in Fukuoka Nepali" राखेर इमेल ठेगाना: 761@lovefm.co.jp मा पठाउनुहोला।

2022.11.24[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【DJ को Choice ‘Christmas Event र Light Up’】

जापानमा, हेलोवीन सकिएसँगै शहरहरुमा क्रिसमसको माहोल बनेको छ।

<तपाईंहरु क्रिसमसमा के गर्नुहुन्छ? >

तपाईंहरु क्रिसमस मनाउनुहुन्छ कि हुँदैन? आजकल, क्रिश्चियन धर्मसँग सम्बन्धित नभएका घरपरिवारमा पनि क्रिसमस मनाउने चलन छ। चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृती, सौहार्दता अनि नितान्त खुशीको अभिब्यक्तिका रुपमा लिन जरुरी छ जस्तो लाग्छ।

म चाहिं, जापान आएदेखि क्रिसमसका अवसरमा प्रायःजसो साथीहरुसँग तेन्जिनमा आयोजना हुने क्रिसमस मार्केटमा घुम्ने, प्रतक्ष्य संगीतको आनन्द लिने गर्दै आईरहेकी छु। अनि त्यस क्रिसमस मार्केटमा सजाएका सान्टा क्लस र झिलिमिली क्रिसमस ट्री आदिको सुन्दर माहोलमा फोटो खिच्न पनि बेग्लै मजा छ। यो बर्ष पनि हेप्पी क्रिसमस डे भन्दै शुभकामना साटासाट गर्ने, साथीहरुसँग क्रिसमस मार्केटमा भेट्ने योजना छ। तपाईंहरु पनि जापानको यस क्रिसमसको आनन्द लिनुहोला।

 

<Christmas Illumination>

तेन्जिन र हाकाता शहरहरूमा, सडक छेउका रुखहरू लगायत प्रत्येक व्यावसायिक पसलहरुले राखिएका झिलिमिली बत्ती र बिशाल क्रिसमस ट्रीहरुको सजावटले गर्दा सिङ्गो शहर नै झिलिमिली भईरहेको छ।

झिलिमिली बत्ती र बिशाल क्रिसमस ट्रीको सजावट उहि ठाउँमा पनि, गत वर्षको भन्दा फरक तरिकाले सजाएको हुन सक्ने भएकोले, विभिन्न झिलिमिलीहरूको आनन्द लिन सक्नुहुन्छ।

फुकुओकाको क्रिसमसको कुरा गर्दै जाँदा, "क्रिसमस मार्केट" लाई त छुटाउन नै मिल्दैन।

 

क्रिसमस मार्केट

‘फुकुओका क्रिसमस मार्केट’, हरेक वर्ष नोभेम्बरदेखि डिसेम्बरको क्रिसमसको दिनसम्म, हाकाता र तेन्जिनमा एकै साथ आयोजना हुँदै आईरहेको, फुकुओका शहरको हिउँदको एक किसिमको परम्परा हो।

जापानको सबैभन्दा ठूलो क्रिसमस मार्केटमा, खुला परिसरमा धेरै स्टलहरू पंक्तिबद्ध राखिएका हुन्छन्, जहाँ क्रिसमसको झिलिमिली बत्ती वा सजावटका साथसाथै, तातो वाइन, तातो चकलेट आदि जस्ता तातो पेय र स्वादिष्ट खानाको मजा लिने महोत्सव हो।

यस वर्षको नारा रहेको छ, ‘हिकारी तो नेगाई’। Hakata Eki Mae Hiroba, तेन्जिनको Fukuoka Siyakusyo Mae Fureai Hiroba, Daimaru Passage Hiroba मा क्रिसमस मार्केट आयोजना भईरहेको छ।

प्रत्येक स्थानमा बिक्रीमा राखिरहेको, हरेक वर्ष लोकप्रिय रही आएको सीमित संस्करणको मग कप पनि नछुटाउनुहोला!

साथै, नाकासु क्षेत्र र तेन्जिन सेन्ट्रल पार्क पनि बेलुकी ५ बजेदेखि मध्यरात १२ बजेसम्म, सडक छेउका रुखहरू आदिमा बत्ति बालि फुकुओकाको नयाँ झिलिमिली स्थलको रुपमा परिणत भएको देखिन्छ।

क्रिसमसको दिनसम्म लगभग एक महिना जति, झिलिमिली शहर र बिभिन्न कार्यक्रमहरु हुने यस क्रिसमसको मौसममा, तपाईंहरु पनि अवश्य फुकुओकाको क्रिसमसको आनन्द लिनुहोला।

2022.08.25[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

DJ को Choice 【शरद ऋतुमा हुने कार्यक्रमहरुको जानकारी】

अगस्ट महिना पनि सकिन नै लाग्यो।

तर अझै पनि गर्मीका दिनहरु उस्तै छन्। साँच्चै, तपाईंहरुलाई "शरद ऋतु" भन्दा के को सम्झना आउँछ?

नेपालमा शरद ऋतु भनेपछि, चिसो मौसमको सुरुवात अनि गर्मीको समाप्ती, हैन र। असोज र कार्तिक, यी २ वटा महिनाहरू शरदऋतुमा पर्दछन्।

 

जापानमा, "शरद ऋतु" लाई प्रायः "खान रुच्ने शरद ऋतु," "पठनपाठनको शरद ऋतु," "कलाको शरद ऋतु" आदि उपनामहरु प्रयोग गरि भन्ने गरिन्छ। साथै, यो मौसम चाडपर्वहरूको लागि पनि राम्रो समय मानिन्छ!

 

फुकुओका शहरको शरद ऋतुको उत्सवहरुमध्ये प्रसिद्ध मानिने, फुकुओका शहरको हिगाशी वार्डमा रहेको "हाकोजाकी-गुउ" मा, हरेक वर्ष सेप्टेम्बरमा आयोजना हुने "होज्योया" हो।

वसन्तमा "हाकाता डोन्टाकु" र ग्रीष्म ऋतुमा "हाकाता गियोन यामाकासा" गरि, हाकाताका तीन प्रमुख चाडहरूमध्ये एक मानिने यस चाड, "सम्पूर्ण प्राणीहरुको जीवनको आदर गर्ने, हिंसालाई हटाउने, र शरद ऋतुको फसलप्रति धन्यवाद दिने" उत्सव हो।

 

"होज्योया" मा करिब ५०० जति स्टलहरू हुने प्रसिद्धिका साथ १० लाख जतिको दर्शनार्थीहरुको घुइँचो लाग्ने भएता पनि, नयाँ कोरोनाभाइरसको प्रभावका कारण, लगातार २ वर्ष धर्मविघि मात्र सम्पन्न गर्ने गरेको थियो।

तर, यस वर्ष विशेष मञ्च अगाडिको सिट संख्या घटाउने, दर्शनार्थीहरुलाई मास्क लगाउन र हिँड्दै नखानको लागि अनुरोध गर्ने आदि जस्ता, अधिक रुपले संक्रामक रोग विरुद्धका उपायहरू अपनाएर, तीन वर्षमा पहिलो पटक स्टलहरू खोल्ने र औसत वर्षहरुमा हुने झै समान रुपले आयोजना गरिने भएको छ।

 

शूटिंग, यो-यो फिशिङ र नयाँ अदुवाको बिक्री जस्ता विभिन्न स्टलहरूबाट जापानी संस्कृति र जापानी चाडपर्वको वातावरणको मनोरञ्जन लिन सक्नुहुन्छ।

यदि तपाईहरु जानुभएमा पक्कै पनि यस हाकोजाकी मन्दिरको विशेष याकिमोची खानुहोला। याकिमोचीको बाहिरी भाग नरम भई, भित्री भागमा हल्का गुलियो राज्माको पेस्टले भरिएको हुन्छ।

 

"होज्योया"को आयोजना, सेप्टेम्बर १२ (सोमबार) देखि १८(आइतबार) सम्म। यद्यपि, यस अवधिमा आपतकालीन घोषणा जारी भएको खण्डमा, न्यूनतम तरिकाले मनाउने वा रद्द गर्न पनि सकिन्छ।

बाहिर जानुहुँदा, नयाँ कोरोनाभाइरस संक्रमण विरुद्धका उपायहरू अपनाउन नबिर्सनुहोस्!

 

फुकुओकाको शरद ऋतुका चाडपर्वहरुको कुरा गर्दैगर्दा, नेपालमा मनाईने शरद ऋतुका चाडपर्वहरु जस्तै दशैँ, तिहार र छठ पर्वहरुको एकदम याद आउँछ।

 

उत्सबको कुरा गर्दैगर्दा,

 

LOVE FM ले पनि समर फेस्टिवल भोलि २६ तारिक (शुक्रबार) देखि २८ तारिक (आइतबार) सम्म तीन दिन आयोजना गर्ने भएको छ ।

 

तेन्जिन च्युउओउ पार्कमा आयोजना हुनेछ!

शनिबार बिहान ८:०० बजेको रेगे कार्यक्रम "IRIE MUSIC (आईरी म्युजिक)", को प्रसारण क्रममै स्टुडियोबाट निस्केर, तेन्जिन च्युउओउ पार्कमा आयोजना हुने सांगीतिक कार्यक्रममा रेगे, हिप हप, ओकिनावान लोक गीतहरुको प्रत्यक्ष संगीतहरुको साथसाथै खाना र पेय पदार्थहरुको बिक्रि स्टल पनि हुने भएकोले, एक हातमा गिलास बोकेर, आनन्ददायी संगीतमा झुम्न सक्नुहुन्छ!

 

 

साथै, यस वर्ष तीन वर्षमा पहिलो पटक शहरमा ‘NAKASU JAZZ’ आयोजना हुने भएको छ।

यो सेप्टेम्बरको फुकुओका शहरको परम्परागत कार्यक्रमको रुपमा, पश्चिमी जापानको सबैभन्दा व्यस्त क्षेत्रहरू मध्ये एक, फुकुओका शहर हाकाता वार्ड नाकासुमा, प्रमुख रुपले आयोजना हुने ज्याज फेस्टिवल हो।

सबै स्टेजहरु नि:शुल्क हेर्न पाउने नै यस उत्सवको आकर्षणहरुमध्ये एक हो।

विगत दुई वर्षदेखि अनलाइनमार्फत् आयोजना हुने गरेको भएता पनि, यस वर्ष सेप्टेम्बर १७ (शनिबार) र १८ (आइतबार) दुई दिन, नाकासुका विभिन्न स्थानहरुमा आयोजना हुनेछन्।

ज्याज प्रेमीहरू लगायत ज्याज थाहा नभएकाहरुले पनि यसको मनोरञ्जन लिन सक्ने कुरामा कुनै शंका छैन।

 

अन्त्यमा फेरि एकपटक , बाहिर जाँदा, नयाँ कोरोनाभाइरस संक्रमण विरुद्धको उपायहरू राम्ररी अपनाएर, शरद ऋतुको कार्यक्रमहरूको आनन्द लिऔं।

2022.07.28[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【गर्मीमा घुमघाम सम्बन्धि जानकारी】

सम्पूर्ण विद्यार्थीजनहरू अहिले गर्मीको बिदामा हुनुहुन्छ होला!

यस हप्ता, गर्मीको बिदामा परिवार र साथीहरूसँग घुमघाम गर्न मिल्ने ठाउँहरू र कार्यक्रमहरुको बारेमा जानकारी दिनेछु।

★३ सिजनमा पहिलो पटक खुल्दै! उमिनोनाकामिची सनसाइन पूल!

सबैभन्दा पहिले, फुकुओका शहरको हिगाशी वार्डमा स्थित राष्ट्रको स्वामित्वमा रहेको उमिनोनाकामिची समुन्द्री तट पार्कमा अवस्थित "उमिनोनाकामिची सनसाइन पूल"!

गत दुई वर्ष नयाँ कोरोनाभाइरस संक्रमणको फैलावट रोक्नका लागि संचालन बन्द गरिएको थियो तर तीन वर्षमा पहिलो पटक, यस वर्ष खुलेको छ।

यस वर्ष, अग्रिम बुकिंग प्रणालीद्वारा प्रवेश प्रतिबन्ध, प्रवेश द्वारमा तापक्रम मापन, तैरिने टुब वा फ्लोटहरू प्रयोग (भाडा लिने / लिएर जाने) सम्बन्धि सुझावजन्य सूचना आदि जस्ता नयाँ कोरोनाभाइरस संक्रमण विरुद्धको कदमहरू चालेर पूलको संचालन गरिएको छ।

पूलको खुल्ने अवधिमा, "पानीभित्र एक्सरसाइज" जस्ता कार्यक्रमहरू संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाएर आयोजना गरिएका छन्।

साथै, ओरिजिनल हाकाता टोन्कोचु रामेन, खारे राइस, सासेबो बर्गर आदि पूल परिसरभित्र खानाको मजा लिन सक्ने खाना र पेयका बूथहरु पनि राखिएका छन्।

 

★ चित्र पुस्तक संग्रहालय (७/१९-८/२८)

त्यसै गरि, ग्रीष्म मौसममा बालबालिकाहरुका लागि कार्यक्रम भन्नाले "NTT निशी निहोन् स्पेशल ओइदेयो! ए होन् म्युजियम" हो ।

यो कार्यक्रम, Fukuoka Asian Art Museum मा जुलाई १९ (मङ्गलबार) देखि अगस्ट २८ (आइतबार) सम्म आयोजना हुनेछ।

१६ औं संस्करणको यस पटकको विषयवस्तु रहेको छ, "दाईसुकि!" बालबालिकाहरुको दैनिक जीवन र तिनीहरुको विकास प्रक्रियामा, मायाले घेरिएर हुर्किनाले बच्चा भित्र रहेको उर्जा र क्षमतालाई बढावा दिन्छ भन्ने सन्देश छ।

हातमा लिएर पढ्न सकिने चित्र पुस्तकहरू सहित अत्याधुनिक प्रविधिहरु प्रयोग भएका डिजिटल सामग्रीहरूको प्रदर्शनीहरु पनि छन्। विगतदेखि विशेषता बोकेको चित्र पुस्तकहरूको विश्व मानचित्रमा, चित्र पुस्तकहरूसँग कम्यूनिकेशन गरि( संचार) "शान्त मनका साथ" आनन्द लिन सकिने थलो बनेको देखिन्छ।

 

 

★माइजुरु पार्क BBQ GARDEN

अन्तमा, सबवे ओहोरी पार्क स्टेशनको नजिकै रहेको माइजुरु पार्कभित्र अवस्थित "माइजुरु पार्क BBQ GARDEN" को बारेमा जानकारी छ।

उचित मुल्यको BBQ योजनादेखि A5 श्रेणीको मासु र भव्य समुद्री खानाको मनोरञ्जन लिन सकिने लक्जरी योजनासम्मका, विभिन्न थरीका योजनाहरू उपलब्ध छन्। यसलाई वास्तविक बार्बिक्युको आनन्द लिन सकिने थलो हो भन्न सकिन्छ।

 

साथै, नोमिहोउदाई प्लान पनि रहेको हुनाले, बाहिर बसेर बियर गार्डेनको रूपमा पनि रमाइलो गर्न सकिन्छ।

फुकुओका शहरको केन्द्रमा बसेर प्रकृतिलाई नजिकबाट महसुस गर्दै बाहिरी आनन्द लिन चाहनुहुनेहरूका लागि यो अति उपयुक्त छ।

यहाँ बार्बिक्युको सबै तयारी र व्यवस्थापन कर्मचारीहरूले गरिदिने भएकोले, केही बोकेर जानु नपर्ने अनि स्वतन्त्र रुपले बार्बिक्युको मज्जा लिन सक्नुहुन्छ!

 

<गर्मीको बिदाको योजना>

गर्मीको बिदामा के गर्ने, कसरी रमाइलो गरि मनाउने भनेर तपाईंहरु योजना बनाउँदै हुनुहुन्छ होला। अवश्य पनि बिदाको मौकामा आफ्ना साथीहरु वा परिवार हुनेहरु परिवारसँग घुमघाम गर्नु होला। मेरो चाहिं साथीहरुसँग माइजुरु पार्क बार्बिक्यु गार्डेनमा जाने योजना छ।

 

साथै, स्वतन्त्र रुपले आफै खोज्दा समस्यामा परेकाहरु र ग्रीष्मकालीनको यस बिदालाई अविस्मरणीय बनाउन चाहनेहरूका लागि, फुकुओका शहरको आधिकारिक सिटि गाइड "योकानाबी" मा पोस्ट गरिएको अनुभवमा आधारित सामग्रीहरुलाई आधार मानेर विचार गर्नु पनि राम्रो होला कि!

"योकानाबी" पर्यटकीय स्थलहरू, कार्यक्रमहरू, स्वादिष्ट खाना आदि फुकुओका शहरको पर्यटकीय जानकारीहरु प्रदान गर्ने साइट हो। कृपया [YOKA NAVI] भनेर टाईप गरि खोज्नुहोला।

यसपालिको गर्मी बिदा तपाईहरु सबैको अविस्मरणीय रहोस्!

 

https://area-gate.biz/fukuokayokanavi/activity

2022.05.26[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【DJ को Choice "वर्षायाम/ गर्मी मौसमको लागि तयारी गरौं"】

आजकल एकदम न्यानो हुँदै आएको छ। अब चाँडै जुन महिना पनि आउनै लाग्योI त्यसपछि त पूर्ण रुपमा गर्मी, अनि धेरै पानी पर्ने वर्षायामको मौसम शुरु हुन्छ।

 

जापानको गर्मी मौसम र वर्षायामको विशेषताहरूको बारेमा जानकारी

जापानको गर्मीको विशेषता भनेको उच्च तापक्रम र अधिकतम आर्द्रता हुनु हो।

जापानमा जुनतिर धेरै बादल लाग्ने अनि धेरै वर्षा हुने गर्छ, जसलाई "चुयु अर्थात् वर्षायाम" भनिन्छ।

वर्षायामको शुरुवातलाई "चुयुइरी" भनिन्छ भने, अन्त्यलाई चाहिं "चुयुआके"।

क्षेत्र वा सो वर्षको आधारमा वर्षायामको अवधिमा फरक हुन्छ, तर फुकुओकामा " चुयुआके अर्थात् वर्षायामको अन्त्य" लगभग धेरैजसो जुलाईको मध्यतिर पर्छ।

वर्षायाम पछि, " मोउस्यो " अर्थात् चरम गर्मी भनिने, तापमान ३५ डिग्री भन्दा बढी हुने दिनहरु क्रमशः बढ्नेछन्।

सबैजनाले गर्मीको लागि तयारी गरि राखौं।

       

लू लाग्न र घामबाट डढाउनेदेखि सावधान होऔं!

जापानमा बस्नु हुँदा गर्मी मौसममा धेरैजसो सुनिने शब्द हो, "नेच्च्युस्योउ" अर्थात् लू लाग्नु । यो जापानमा एक किसिमको मौसमी रोग।

गर्मीको तन्तलापुर घाममा लामो समय बस्दा वा व्यायाम गर्दा, चक्कर लाग्ने, वाकवाकी लाग्ने, बेहोस हुने, टाउको दुख्ने जस्ता लक्षणहरु देखा पर्छन्। घर बाहिर मात्र नभई, घर भित्र पनि लू लाग्ने सम्भावना भएकोले सावधान रहनु जरुरी छ। अत्याधिक गर्मीबाट बच्न,

 

  • सकेसम्म चर्को घामबाट जोगिएर, छाँयामा वा शीतल कोठामा बस्ने गरौं।
  • बाहिर निस्कँदा, टोपी वा छाताको प्रयोग गरेर घामबाट जोगौं तथा कठिन व्यायाम गर्नबाट टाढा रहौं।
  • घाँटीलाई चिसो बनाउनको लागि गम्छा जस्ता लू लाग्नबाट बचाउने सामानहरूको प्रयोग गरौं।
  • ध्यानपूर्वक शरीरमा पानीको मात्रा आपूर्ति गर्ने गरौं।

 

* नयाँ कोरोनाभाइरस संक्रमणको प्रभावको कारण, दैनिक रुपमा मास्क लगाउने हुनाले, आफूलाई तिर्खा लागेकोतिर ध्यान नजान सक्छ। गर्मीमा मास्क लगाउँदा अझ धेरै गर्मीको प्रभाब बढ्ने सम्भावना हुने भएकोले कृपया ध्यान दिनुहोला।

 

पछिल्ला वर्षहरूमा वर्षायामदेखि गर्मी मौसमसम्म बाढीको प्रकोप बढ्दै आएको छ। सावधानी तथा तयारी सम्बन्धि

वर्षायामको समयदेखि शरद ऋतुसम्म, जापानमा समुन्द्री आँधी नजिकिने र आउने धेरै हुन्छन्, जसले गर्दा भारी वर्षात्, बाढी, आँधीबेहरी, उच्च ज्वार भाटा आदि उत्पन्न हुन्छन्।  

हालैका वर्षहरूमा, भारी वर्षाले क्युस्युमा शृङ्खलाबद्ध प्रकोपहरू निम्त्याएको थियो।

विपद् आईपर्दा कस्तो कदम चाल्नुपर्छ, कहाँ आश्रय लिनुपर्छ, आफू बस्ने क्षेत्रको खतरा संकेत नक्सा आदिको बारेमा अग्रिम रुपमा जानकारी राख्ने गरौं।

फुकुओका सिटिको साइट (https://www.city.fukuoka.lg.jp/bousai/bousaiforeigner.html)

बाट विपद् रोकथाम सम्बन्धि जानकारीहरु पाउन सक्नुहुन्छ।

2022.04.28[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【गोल्डेन वीक कसरी बिताउनुहुन्छ?】

जापानमा अप्रिल महिनाको अन्तदेखि मेको शुरुको हप्तातिर लगातार धेरै बिदाहरू हुने अवधिलाई गोल्डेन वीक भनिन्छ।

 

・ <जापानको गोल्डेन वीकको परिचय>

गोल्डेन वीकमा "शोवा दिवस (४/२९)", "संविधान दिवस (५/३)", "हरियाली दिवस (५/४)" र "बाल दिवस (५/५)" समावेश छन्। यी बिदाहरूलाई शनिबार र आइतवारसँग जोड्दा करिब १ हप्तादेखि १० दिनसम्मको लामो बिदा हुन्छ।

गोल्डेन वीकको नामको उत्पत्तिको बारेमा विभिन्न सिद्धान्तहरू छन्, तर  रेडियोमा उच्चतम श्रोताको प्रतिशत हुने समय  अवधि  "गोल्डेन टाइम" बाट "गोल्डेन वीक" भएको भनिन्छ।

 

・ <गोल्डेन वीकको योजना>

लामो बिदामा के गर्ने, कसरी रमाइलो गरि मनाउने भनेर तपाईंहरु पनि म जस्तै योजना बनाउँदै हुनुहुन्छ होला। मेरो चाहिं गोल्डेन वीकको एक दिन परिवारसँग नोकोनो सिमामा घुम्ने योजना छ। अर्को दिन, घरमा साथीहरु बोलाएर मःमः पार्टी गर्ने, त्यस्तै, फुकुओका वनस्पति उद्यानमा साथीभाई तथा परिवारसहित घरमै पकाएर पिकनिक गर्ने आदि जस्ता योजनाहरु छन्।

 

・ <फुकुओकामा गोल्डेन वीकको समय घुमघाम गर्न सुझावजन्य स्थलहरु>

फुकुओका शहरभित्र पनि घुमघामका लागि धेरै स्थलहरु छन्, त्यसमा पनि विशेष गरी यस वर्ष, ८०० वर्ष भन्दा बढीको इतिहास बोकेको महोत्सव  "हाकाता डोन्टाकु मिनातो महोत्सव" तीन वर्ष पछि फुकुओकामा आयोजना हुन गईरहेको छ।

 

"हाकाता डोन्टाकु मिनातो महोत्सव" भनेको,  प्रत्येक वर्ष मे ३ र ४ मा, सबै उमेरका पुरुष-महिलाहरूले स्वतन्त्र रुपमा पोशाक लगाई, काठको पन्यू बजाउदै शहरको परिक्रमा गर्ने परेड, स्थानीय रुपमा बनाईएका स्टेज र खुला ठाउँमा नृत्यको प्रस्तुति आदि जस्ता सम्पूर्ण शहरलाई जीवन्त बनाउने इभेन्ट हो।

साथै, अप्रिल २५ मा, "LaLaport Fukuoka" नामक ठूलो सपिङ मल खोलिएको छ। त्यहाँ किनमेलको अतिरिक्त, रेस्टुरेन्ट, सिनेमा हल, खेलकुद लगायत  बच्चाहरूलाई खेलाउने धेरै सुविधाहरू पनि छन्!

 

・ < FUKUOKA EAST & WEST COAST को बारेमा>

साइकलमा घुम्न वा बाहिरी गतिविधिहरूको आनन्द लिन चाहनेहरूका लागि, समुद्री किनार क्षेत्रमा घुम्न अति उत्तम हुन्छ।

उहाँहरुले फुकुओकामा, पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा विभिन्न आकर्षणहरूको अनुभव गर्न सक्नुहुन्छ।

 

・ पूर्वी क्षेत्र: सुन्दर नीलो समुद्रले घेरिएको, इतिहास महसुस गर्न सकिने "शिकानोसिमा" ।

टापुको प्रतीकको रुपमा चिनिने "शिकाउमी जिन्ज्या" सानो पहाडमा अवस्थित छ। मन्दिर जाने बाटोमा ताजा समुद्री खानाको स्वादको आनन्द लिन सक्नुहुन्छ त्यस्तै, किनमेलको पनि मजा लिन सक्नुहुन्छ।

शिकानोसिमाको बाहिरी परिधि करिब १२ किलोमिटर छ, यदि साइकलबाट घुम्ने हो भने करिब एक घण्टा जति मात्र लाग्छ।

साइकल राम्ररी जान्नेहरुका लागि मात्र नभई, भर्खर सिकेकाहरूले पनि ढुक्क भई यसको मजा लिन सक्नुहुन्छ।

हाकाता फुतोउमा रहेको "Bayside Place Hakata" बाट, शिकानोसिमामा जाने जहाज छ, त्यसमा आफ्नो साइकल चढाएर लैजान सक्नुहुन्छ। साथै, शिकानोसिमा र उमी नो नाकामिची क्षेत्रमा साइकल भाडामा पनि लिन सक्नुहुन्छ।

 

・ पश्चिमि क्षेत्र: सुन्दर तटरेखा, फोटो स्पटहरु, आकर्षक क्याफेहरू आदि एकै ठाउँमा भएको "किटाजाकी क्षेत्र"।

तेन्जिनबाट एक घण्टा भित्र पुग्न सकिने " किटाजाकी क्षेत्र" मा, समुद्रमा माछा मार्न सकिने पार्क, ग्ल्याम्पिङ सुविधा, आकर्षक क्याफेहरू, फोटो स्पटहरु आदि जस्ता मनोरञ्जन लिन सकिने धेरै ठाउँहरू छन्।

त्यस्तै, इटोशिमा हान्तोउको परिक्रमा गर्न साइकल भाडामा लिन सक्नुहुन्छ वा भर्खर सिकेकाहरुले पनि मनोरञ्जन लिन सकिने SUP (स्ट्यान्ड अप प्याडलबोर्ड)को अनुभव गर्न सक्नुहुन्छ।

किटाजाकी क्षेत्रमा जान, सबवे एयरपोर्ट लाइन वा JR चिकुही लाइनमा चढेर, "क्युउदाई गाक्केनतोशी एकी" मा ओर्लिएर, फेरी शोवा बसमा चढ्नुपर्छ।

 

・ बिस्तृत जानकारीको लागि, कृपया फुकुओका शहरको पर्यटक सूचना साइट "योकानाबि" मा "FUKUOKA EAST & WEST COAST" राखी खोज्नुहोस्।

 

कृपया बाहिर निस्कँदा, कोरोनाभाइरस संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौं। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने हो। 

 

तपाईंहरु सबैको गोल्डेन वीक बिदा रमाईलो रहोस् भन्ने कामना गर्दै आजलाई यति नै!

<< previous 1 2

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ