ブログ

ポッドキャスト

ポッドキャスト RSS

2024年03月

2024.03.28[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【को प्रदशनी】

Vincent Van Gogh, एक प्रसिद्ध डच प्रभाववादी चित्रकार हुनुहुन्छ। उहाँलाई 

"आधुनिक कलाका पिता" भनेर पनि चिनिन्छ।उहाँका धेरै प्रशंसक छन्। Gogh को

 "Digital Fine Art Exhibition", Moving Vincent Van Gogh हाल फुकुओका सिटी साइन्स म्युजियममा आयोजना भइरहेको छ!

"Digital Fine Art Exhibition"भनेको Fine Art विषयमा, 3DCG animation, VFX (special effects), जस्ता कम्प्युटर ग्राफिक्स टेक्नोलोजीहरू प्रयोग गरिएका कलाकृतिहरुको संग्रह प्रदर्शनी हो। अमेरिका, फ्रान्स र अष्ट्रेलिया जस्ता देशहरूमा, पहिले नै कलात्मक अभिव्यक्ति विधाको रूपमा स्थापित भइसकेको छ र लोकप्रिय बन्दै गईरहेको छ।

यस पटक, संसारभरबाट सङ्कलन गरिएका Gogh का लगभग ८६०वटा कलाकृतिहरूको संग्रह रउहाँको जीवनको ३७वर्षको अवधिमा सिर्जना गरिएका कलाकृतिहरू, नवीनतम डिजिटल प्रविधि प्रयोग गरी दृश्यमा रुपान्तरण गरिएको छ। डिजिटल प्रविधिको माध्यमबाट Gogh को कलाको नयाँ संसार जीवन्त बनाईएको छ र "मुभिङ पेन्टिङहरू" मा रूपान्तरण गरिएकोले आश्चर्य र नयाँ खोजले भरिपूर्ण छ। साथै, उनका केही उत्कृष्ट कृतिहरूमा तारायुक्त आकाशहरू चित्रित छन्। उनले छाडेका ९०० भन्दा बढी पत्रहरूसँगै, त्यस समयको ताराहरूले भरिएको आकाशको मनोरञ्जन सहितको तारामंडल कार्यक्रम पनि प्रसारण गरिनेछ।

कार्यक्रम जून १६ सम्म चल्नेछ ।

अवश्य पनि "Moving  Vincent Van Gogh " को अनुभव लिनुहोस् र नयाँ तरिकामा कलाको आनन्द लिनुहोस्।

 

 

【DJ बाट जीवनको नयाँ अध्यायको लागि कामना】

अर्को हप्ता अप्रिल शुरु हुन्छ! जापानमा अप्रिल महिनालाई, नयाँ भर्ना हुने वा नयाँ रोजगार शुरु गर्ने आदि जस्ता नयाँ जीवनयापन शुरु हुने महत्वपूर्ण महिनाको रुपमा लिईन्छ। तपाईंहरु पनि जीवनको नयाँ अध्यायको लागि प्राप्त गर्न सकिने लक्ष्यहरू सेट गर्नुहोस् र तिनीहरूतर्फ कसरी काम गर्ने भन्ने योजना बनाउनुहोस्। 

नयाँ अध्यायमा प्रवेश गर्दा, नियमित रूपमा आहार, व्यायाम गर्ने, नेटवर्किङ र सम्बन्ध बनाउँदै जाने, आफ्नो ज्ञान र कौशललाई बढाउदै जाने आदि कदमहरूले आफ्नो जीवनलाई सकारात्मक दिशामा ल्याउन सकिन्छ।

नयाँ समयमा नयाँ मित्रहरू बनाउँदै जानुहोस् र नेटवर्किङमा सहभागी हुनुहोस्। यसले तपाईंलाई नयाँ अनुभवहरूमा मद्दत गर्न सक्छ र नयाँ अवसरहरू पनि खोज्न साहयक हुन सक्छ।

चुनौतीहरूलाई अवसरमा परिणत गर्न र सिक्न मेहनत गर्नुहोस्। साहस गर्नुहोस् र नयाँ अनुभवहरू अनुभव गर्नुहोस्। नयाँ अध्यायमा प्रवेश गर्दा, यी सिद्धान्तहरूलाई अमलमा ल्याउनुहोस् र आफ्नो जीवनलाई सकारात्मक दिशामा ल्याउने प्रयास गर्नुहोस्।

वर्ष २०२० कोअप्रिलमा शुरु भएको यो कार्यक्रम " Life in Fukuoka", अर्को हप्ताबाट पाचौं वर्षमा प्रवेश गर्न गईरहेको छ! प्रसारण वा पोडकास्टहरू सुनि दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाददिन चाहन्छु।

फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि दैनिक जीवनमा उपयोगी जानकारीहरु तथा रमाइला विषयबस्तुहरू आउँदा दिनहरुमा पनि निरन्तर प्रस्तुत गर्नेछु।

कुनै प्रश्न, सन्देश, वा अनुरोधहरू भएमा पक्कै पनि यस लाईफ इन फुकुओका नेपाली कार्यक्रममा मेसेज पठाउनुहोला!

2024.03.21[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー) , प्राकृतिक प्रकोप(災害)

【साकुराको ओहानामी अर्थात् साकुरा फूल फुलेको हेर्ने मेला】

 फुकुओकामा साकुराको ओहानामी अर्थात् साकुरा फूल फुलेको हेर्ने सिजन आउनै लागेको छ।

यस हप्ता, फुकुओका शहरमा साकुराको ओहानामी हेर्ने ठाउँहरूको जानकारी लिएर आएकी छु।

सर्वप्रथम, तेन्जिनबाट १५ मिनेट पैदल दूरीमा रहेको, माइजुरु पार्क।

यस पार्कको प्रतीक चिन्ह भन्नु पर्दा, पक्कै पनि फुकुओका दरबारको भग्नावशेष हो! फुकुओका दरबार वरपरका १००० वटा साकुरा रूखका फूलहरू अति सुन्दर, अनि त्यस माथि रातमा लाइट अप डिस्प्ले अति मनोरञ्जक हुने गर्छ। पानीको सतहमा प्रतिबिम्बित सुन्दर साकुराहरू देख्न सक्नुहुन्छ। यस सिजनको समयमा, त्यहाँ धेरै स्टलहरू र खानाका भ्यानहरू लाग्ने, अनि धेरै मानिसहरुको भीड हुने गर्छ।

अर्को छ, फुकुओका शहरको लगभग केन्द्रमा अवस्थित निशी पार्क ।

यो प्रिफेक्चरमा एक मात्र यस्तो स्थल हो, जुन ‘जापानमा १०० प्रसिद्ध साकुरा ओहानामी स्पटहरू’ मा पर्न सफल भएको छ। निशी पार्कमा १३०० साकुरा रूखका फूलहरूको आनन्द लिन सक्नुहुन्छ। यहाँ पनि, रातमा लाइट अप डिस्प्ले र धेरै स्टलहरूको मजा लिन सक्नुहुन्छ। यहाँको प्रसिद्ध ‘इमाया ह्याम्बर्गर’ खान चाहिं नछुटाउनु होला।

अन्य स्थलहरुमा, Fukuoka Zoo & Botanical Garden वरिपरीको Minami Park, हिगाशी वार्डको Uminonakamichi Seaside Park, र पैदल यात्रा गर्दै जंगलको स्वच्छ हावा र दृश्यको आनन्द लिन सकिने Aburayama Citizen's Forest, त्यस्तै, ‘शुभ साकुरा फूल’ भनि लोकप्रिय रहेको आतागो जिन्ज्या आदि थुप्रै साकुरा ओहानामी स्पटहरू छन्।

साकुरा ओहानामीको सिजन छोटो भएकोले यसलाई नछुटाउनुहोस्!

आशा छ, यस वर्ष पनि सुन्दर साकुरा फूलहरू देख्न सक्छौं ♪

 

 

फुकुओका शहरको सूचना

बसाईसराई फोहर सम्बन्धि

वसन्त ऋतुमा स्थान परिवर्तनको कारण फर्निचर र घरेलू उपकरण जस्ता ठूला आकारको फोहर बढ्ने समय हो।

यस पटक, ठूला आकारको फोहोर फाल्ने तरिका सम्बन्धि जानकारी दिनेछु।

ठूला आकारको फोहोर फाल्न, फोन, इन्टरनेट वा फुकुओका सिटीको LINE मार्फत अग्रिम आवेदन दिई, कन्भिनीयन्स स्टोर आदिमा प्रशोधन टिकट खरीद गर्नुहोस्।

फोहर संकलन, आवेदन दिएको मितिबाट एक हप्ता लाग्नेछ।

संकलनको दिनमा बिहान ८:३० सम्म तोकिएको ठाउँमा राख्नुहोस्।

ठूला आकारको फोहोर रिसेप्शन सेन्टरको फोन नम्बर ०९२-७३१-११५३ ।

इन्टरनेट वा LINE मार्फत २४ घण्टा जहिलेपनि आवेदन दिन सकिने भएकोले सुविधाजनक छ।

टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर र एयर कन्डिशनरहरूको हकमा घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ। 

नयाँ खरिद गर्नु हुँदा भएको पुरानो झिकेर लैजाने वा खरिद गर्नुभएको पसलबाट नै पुरानो झिकिदिने गर्नुहोस्। खरिद गर्नुभएको पसल थाहा नभएमा, नजिकैको Yamada Denki मा सङ्कलन बारे सोधपुछ गर्नुहोस्। संकलन गर्न लगाउँदा, रिसाइकल शुल्क, संकलन र यातायात शुल्क तिर्नु पर्छ।

 

 

नागरिक विपद् रोकथाम दिवस

फुकुओका शहरमा, सन् २००५ मार्च २० मा गएको फुकुओका प्रान्त पश्चिम अपतटीय भूकम्पको अनुभवलाई नबिर्सन मार्च २० लाई "नागरिक विपद् रोकथाम दिवस" को रूपमा तोकिएको छ।

पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा भूकम्प, भारी वर्षा जस्ता ठूला प्रकोपहरू भएका छन्। विपद् कहिले आउँछ भनेर थाहा हुँदैन। 

विपद् आईपर्दा, प्रत्येक व्यक्तिले उपयुक्त कदम चाल्नको लागि, दैनिक आधारमा तयारी गर्न महत्त्वपूर्ण छ।

फुकुओका शहरको वेबसाइटबाट Hazard Map वा विपद् सम्बन्धि जानकारी लिने, आश्रय लिने स्थानमा जाँदा लिएर जानुपर्ने सामान पहिलेदेखि तयारी र जाँच गरि राख्ने गर्नुहोस्।

"नागरिक विपद् रोकथाम दिवस" को अवसरमा, आफ्नो, आफ्नो परिवार र समुदायको सुरक्षाको लागि विपद् रोकथामको बारेमा सोचौं।

2024.03.14[Thu] 09:00

आवास(住宅)

【हारु नो कोउशिएन्】

अर्को हप्ताको १८ तारिकबाट चयनात्मक हाई स्कूल बेसबल प्रतियोगिता वा "हारु नो कोउशिएन्" शुरु हुन गईरहेको छ। हरेक वर्ष वसन्तमा आयोजना हुने, यो जापानी हाई स्कूल बेसबल प्रतियोगिता हो। खेल मैदान ह्योगो प्रिफेक्चरको कोउशिएन् स्टेडियममा हुने भएकोलेयसलाई "कोउशिएन्" भनेर चिनिन्छ। जापानीहरूका लागि, कोउशिएन् लामो समयदेखि विशेष प्रतियोगिताको रुपमा रहीआएको छ। यो प्रतियोगिता हाई स्कूल बेसबल खेलाडीहरूका लागि मात्र नभई, बेसबल प्रशंसकहरूका लागि पनि उत्तिकै विषेश छ। यस वर्ष ३२ वटा विद्यालयहरुले बिजय पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

फुकुओकाबाट मुनाकाता शहरमा अवस्थित टोकाई विश्वविद्यालय फुकुओका हाई स्कूललाई ​​प्रतिनिधि चयन गरिएको छ।

जापानभरिमा बिजय लक्ष्यकासाथ उत्कृष्ट प्रदर्शनका लागि अग्रिम शुभकामना।

यो प्रतियोगिता, मार्च ३० सम्म १३ दिनको लागि, रेडियो र टिभीमा प्रसारण हुनेछ।त्यसैले, पक्कै पनि हाई स्कूल बेसबल खेलाडीहरूको उत्कृष्ट प्रदर्शन हेर्नुहोला!

 

 

【फुकुओका शहरको सूचना】 

“भीडभाड नगरी बसाईसराईको प्रक्रिया चाल्नु”

मार्च र अप्रिलमा बसाईसराई धेरै हुने भई वार्ड अफिसको काउण्टरमा भीड हुने समय हो।

विशेष गरी मार्च २१ देखि अप्रिल ८ सम्म, २-३ घण्टा कुर्नुपर्ने जत्तिको भीड हुने भएकोले, सकेसम्म यस अवधिमा कार्यालय भ्रमण नगरिदिनु होला। 

सप्ताहका दिनहरुमा व्यस्त भई बसाईसराईको सूचना दर्ता गर्न जान असमर्थ हुनुहुने महानुभावहरुले, बिदाका दिनमा बसाईसराईको प्रक्रिया गर्न सकिने गरि मार्च ३१ र अप्रिल ७ को आइतबार, प्रत्येक वार्ड कार्यालय र शाखा कार्यालयका काउण्टरहरू अस्थायी रूपमा खोलिनेछन्। बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म,बसाईसराईको सूचना वा बसाईसराई सम्बन्धित सूचना दर्ताहरू स्वीकार गर्दछौं।

फुकुओका शहरभन्दा बाहिर बसाई सर्दै हुनुहुन्छ भने, वार्ड अफिसमा नगईकन पनि, हुलाक मार्फत् वा माइनम्बर कार्ड हुनेहरुले अनलाइनबाट सूचना दर्ता गर्न सक्नुहुन्छ।

यद्यपि, विदेशमा सर्दै हुनुहुन्छ भने, कृपया ध्यान दिनुहोस् कि अनलाइनबाट बसाईसराईको प्रक्रिया गर्न सक्नुहुन्न।

यदि फुकुओका शहरभित्र बसाई सर्दै हुनुहुन्छ भने, बसाईसराई सूचना दर्ता गर्न आवश्यक छैन तर, नयाँ ठेगानामा बस्न थाल्नु भएदेखि आफू सर्नुभएको वार्ड अफिसमा बसाईसराई सूचना बुझाउनुपर्छ।

वार्ड अफिसमा बसाईसराईको प्रक्रियाका लागि सुविधाजनक अनलाइन सेवा पनि छ।

शनिवार, आइतवारर सार्वजनिक बिदाहरुमा बाहेक, प्रकिया चलाउन अपेक्षित मिति भन्दा कम्तिमा ५ दिन अगाडि ८:३० बजेसम्ममा स्मार्टफोन आदिबाट, ठेगाना परिवर्तन वा प्रक्रियाको अपेक्षित मिति आदिको जानकारी पठाउनुभयो भने, बुकिङ गर्न सक्नुहुन्छ र काउण्टरमा प्रक्रियाको समय कम लाग्ने र प्रकिया पनि सहज हुन्छ।

नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।

फोन नम्बर, ०९२-७५३-६११३ हो।

तपाईं आफू बस्ने वार्ड र बसाईसराईको प्रक्रियाको बारे बुझ्न चाहेको भन्नुहोला।

यस अतिरिक्त, बसाईसराई गर्दा, खानेपानी आपूर्ति शुरु गर्न वा रोक्नका लागि सुचना दिन आवश्यक छ। शनिवार, आइतवार र सार्वजनिक बिदाका बाहेक, सर्ने दिनभन्दा कम्तिमा ४ दिन अगाडिसम्ममा फोनमार्फत सम्पर्क गर्नुहोस्।

फोन नम्बर ०९२-५३२-१०१० हो। आफूले चाहेको विदेशी भाषामा कल गर्न सक्नुहुन्छ।

अनलाइनबाट पनि आवेदन दिन सक्नुहुन्छ।

2024.03.07[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【अन्तर्राष्ट्रिय नारी दिवस】

मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवस पर्छ।महिला अधिकारको रक्षा गर्न र उनीहरूका उपलब्धिहरूको सम्मान गर्न संयुक्त राष्ट्र संघद्वारा स्थापित गरिएको यो दिवस विश्वभरी मनाइन्छ।

अन्तर्राष्ट्रिय नारी दिवसको प्रतीकको रुपमा रहेको फूल मिमोजा हो। तपाईहरुले आजकल शहर वरिपरि मिमोजा फूलहरु देख्नुभएको छ कि छैन होला। जाडो मौसमको अन्त्य र वसन्तको सुरुवातको सङ्केतको रुपमा, फेब्रुअरीदेखि मार्चसम्म फुल्ने मिमोजालाई `कृतज्ञता` `खुशीको फूल` पनि भनिन्छ। यसको चम्किलो पहेंलो भिटामिन रङले गर्दा हेरेर मात्र पनि ऊर्जा महसुस हुन्छ, यो फूल सुन्दर अनि बिशेष रुपले मनमोहक छ!

जसरी जापानमा आमाको दिनमा कार्नेशन फूल दिने चलन छ, त्यसरी नै, यो मिमोजा फूल अन्तर्राष्ट्रिय नारी दिवसमा आफ्नो कृतज्ञता व्यक्त गर्ने रुपमा दिंदा पनि राम्रै होला कि!

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

"संयुक्त राष्ट्र संघकाकर्मचारीहरूसँग मिलेर शहरको विकास गरौं! सहभागिताको लागि आह्वान" सम्बन्धि सूचना

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले UN-Habitat Fukuoka Headquarter का कर्मचारीहरूलाई लेक्चरका लागि आमन्त्रित गर्ने र सहरी विकास सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ।

यो कार्यशाला कार्यक्रम, प्राथमिक विद्यालयको ४कक्षादेखि जुनियर हाई स्कूलको ३कक्षाका विद्यार्थीहरूका लागि, मार्च २३ शनिबार बिहान १०:०० बजे देखि ११:३०बजे सम्म आयोजना हुनेछ। कार्यक्रम स्थल ACROS Fukuoka हो।

"मानव अधिवासन" सम्बन्धि क्रियाकलापहरु आयोजना गरिंदै आएको UN-Habitat Fukuoka Headquarter, क्युशुमा रहेको एक मात्र संयुक्त राष्ट्र एजेन्सी हो।

कार्यशालामा सहभागीहरू आफूलाई Habitat गाउँका बासिन्दाको रुपमा सोची, भारी वर्षाबाट धेरै क्षति भएको गाउँको पुन:निर्माणको लागि सबैजना मिलेर योजना बनाउनेछन्।

कार्यशाला साधारण जापानी भाषामा सञ्चालन हुने भएकोले विदेशी मूलका बालबालिकाहरू पनि सहभागी हुन सक्छन्।

संयुक्त राष्ट्र संघको विश्वव्यापी गतिविधिहरूमा रुचि राख्नुहुने सबैजना, हामी तपाईंहरुको सहभागिताका लागि पर्खिरहेका छौं।

 

 

Fukuoka City Consultation Support Center for Foreign Residents को काउन्टर खुल्ने समय बारे

हाकाता वार्डको तेन्यामाचीस्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टरको पहिलो तल्लामा Fukuoka City Consultation Support Center for Foreign Residents नामको केन्द्र छ। जहाँ, विदेशीहरूलाई फुकुओकामा आरामदायी जीवनयापनका लागि, धेरै भाषाहरूमा जानकारी प्रदान गर्नुका साथै कानूनी परामर्श र अध्यागमन स्थिति परामर्श जस्ता निःशुल्क विशेष परामर्शहरू पनि प्रदान गरिंदै आईरहेको छ।

Fukuoka City Consultation Support Center for Foreign Residents को काउन्टर अप्रिलदेखि, बिहान ९:००बजेदेखि बेलुका ५:३०बजेसम्म खुल्ला रहनेछ। 

परामर्शहरू, काउन्टरमा आमनेसामने, वा टेलिफोन वा सोधपुछ फारम मार्फत स्वीकार गरिन्छ। आमने-सामने र टेलिफोन परामर्शका लागि, टेलिफोन दोभाषे सेवा २२ वटा भाषाहरूमा उपलब्ध छ।

यस केन्द्रको ठेगाना रहेको छ, फुकुओका शहर, हाकाता वार्ड, तेन्यामाची ४-१

फोन नम्बर टोल-फ्री रहेको छ, ०१२०-६६-१७९९

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account बाट LINE कल पनि प्रयोग गर्न सक्नुहुन्छ।

विस्तृत जानकारीका लागि, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज हेर्नुहोला।

सहभागिता नि:शुल्क हो, तर अग्रिम रिजर्भेसन गर्न आवश्यक छ।

रिजर्भेसन कसरी गर्ने भन्ने बारे विवरणहरूको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुकमा हेनुहोस्।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज fcif.or.jp हो

कुनै प्रश्नहरू छन् भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्। फोन नम्बर "०९२-२६२-१७४४" हो।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ