ブログ

ポッドキャスト

ポッドキャスト RSS

2022年11月

2022.11.24[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【DJ को Choice ‘Christmas Event र Light Up’】

जापानमा, हेलोवीन सकिएसँगै शहरहरुमा क्रिसमसको माहोल बनेको छ।

<तपाईंहरु क्रिसमसमा के गर्नुहुन्छ? >

तपाईंहरु क्रिसमस मनाउनुहुन्छ कि हुँदैन? आजकल, क्रिश्चियन धर्मसँग सम्बन्धित नभएका घरपरिवारमा पनि क्रिसमस मनाउने चलन छ। चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृती, सौहार्दता अनि नितान्त खुशीको अभिब्यक्तिका रुपमा लिन जरुरी छ जस्तो लाग्छ।

म चाहिं, जापान आएदेखि क्रिसमसका अवसरमा प्रायःजसो साथीहरुसँग तेन्जिनमा आयोजना हुने क्रिसमस मार्केटमा घुम्ने, प्रतक्ष्य संगीतको आनन्द लिने गर्दै आईरहेकी छु। अनि त्यस क्रिसमस मार्केटमा सजाएका सान्टा क्लस र झिलिमिली क्रिसमस ट्री आदिको सुन्दर माहोलमा फोटो खिच्न पनि बेग्लै मजा छ। यो बर्ष पनि हेप्पी क्रिसमस डे भन्दै शुभकामना साटासाट गर्ने, साथीहरुसँग क्रिसमस मार्केटमा भेट्ने योजना छ। तपाईंहरु पनि जापानको यस क्रिसमसको आनन्द लिनुहोला।

 

<Christmas Illumination>

तेन्जिन र हाकाता शहरहरूमा, सडक छेउका रुखहरू लगायत प्रत्येक व्यावसायिक पसलहरुले राखिएका झिलिमिली बत्ती र बिशाल क्रिसमस ट्रीहरुको सजावटले गर्दा सिङ्गो शहर नै झिलिमिली भईरहेको छ।

झिलिमिली बत्ती र बिशाल क्रिसमस ट्रीको सजावट उहि ठाउँमा पनि, गत वर्षको भन्दा फरक तरिकाले सजाएको हुन सक्ने भएकोले, विभिन्न झिलिमिलीहरूको आनन्द लिन सक्नुहुन्छ।

फुकुओकाको क्रिसमसको कुरा गर्दै जाँदा, "क्रिसमस मार्केट" लाई त छुटाउन नै मिल्दैन।

 

क्रिसमस मार्केट

‘फुकुओका क्रिसमस मार्केट’, हरेक वर्ष नोभेम्बरदेखि डिसेम्बरको क्रिसमसको दिनसम्म, हाकाता र तेन्जिनमा एकै साथ आयोजना हुँदै आईरहेको, फुकुओका शहरको हिउँदको एक किसिमको परम्परा हो।

जापानको सबैभन्दा ठूलो क्रिसमस मार्केटमा, खुला परिसरमा धेरै स्टलहरू पंक्तिबद्ध राखिएका हुन्छन्, जहाँ क्रिसमसको झिलिमिली बत्ती वा सजावटका साथसाथै, तातो वाइन, तातो चकलेट आदि जस्ता तातो पेय र स्वादिष्ट खानाको मजा लिने महोत्सव हो।

यस वर्षको नारा रहेको छ, ‘हिकारी तो नेगाई’। Hakata Eki Mae Hiroba, तेन्जिनको Fukuoka Siyakusyo Mae Fureai Hiroba, Daimaru Passage Hiroba मा क्रिसमस मार्केट आयोजना भईरहेको छ।

प्रत्येक स्थानमा बिक्रीमा राखिरहेको, हरेक वर्ष लोकप्रिय रही आएको सीमित संस्करणको मग कप पनि नछुटाउनुहोला!

साथै, नाकासु क्षेत्र र तेन्जिन सेन्ट्रल पार्क पनि बेलुकी ५ बजेदेखि मध्यरात १२ बजेसम्म, सडक छेउका रुखहरू आदिमा बत्ति बालि फुकुओकाको नयाँ झिलिमिली स्थलको रुपमा परिणत भएको देखिन्छ।

क्रिसमसको दिनसम्म लगभग एक महिना जति, झिलिमिली शहर र बिभिन्न कार्यक्रमहरु हुने यस क्रिसमसको मौसममा, तपाईंहरु पनि अवश्य फुकुओकाको क्रिसमसको आनन्द लिनुहोला।

2022.11.17[Thu] 09:00

अन्य(その他)

【मौसमी तरकारी・हाकुसाई अर्थात् चाइनिज बन्दा】

जाडो बढेर आयो कि खान मन पर्ने खानाहरुमध्ये एक हो, नाबे अर्थात् Hot pot खाना। अनि नाबे खानामा हाल्ने सामग्रीहरुमा नभई नहुने, हाकुसाई अर्थात् चाइनिज बन्दा। हाकुसाईको मौसम अक्टोबरदेखि नोभेम्बरतिर हो भने हिउँद लाग्यो कि यसको पिक मौसम शुरु हुन्छ। वर्षको यस समयमा हाकुसाई नरम र अधिक स्वादिलो हुन्छ। नाबे वा उमालेर पकाउने मात्र नभई यो सलादमा पनि स्वादिष्ट हुन्छ।

के हाकुसाई पौष्टिक छ त? भन्ने कसै-कसैलाई लाग्न सक्छ, तर वास्तबमा यसमा धेरै पोटासियम हुन्छ। पोटासियमले शरीरबाट नुन निकाल्ने काम गर्छ, त्यसैले यसले उच्च रक्तचाप हुनबाट जोगाउँछ।

साथै, यसमा भिटामिन सी पनि हुने भएकोले चिसो लाग्नबाट जोगाउन पनि हाकुसाई खान सल्लाह दिइन्छ।

आफ्ना साथीभाई तथा परिवारसँग खान पनि सक्नुहुन्छ, एक जनाको लागि पुग्ने नाबे सुप पनि सुपथ मुल्यमा बजारमा किन्न पाईन्छ।

बनाउन समय नभएका वा जागर नभएकाहरूका लागि, तताए मात्र पुग्ने सरल नाबे खाना पनि किन्न पाईन्छ।

धेरै सामाग्रीहरु हालेर पकाएको नाबे खानाले, तनमनलाई न्यानो पारि दिन्छ।

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

कानूनी परामर्शको परिचय

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि, हरेक महिना दुई पटक निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट हो।

बुकिंगको आधारमा फुकुओका बार एसोसिएसनको प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।

भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।

 

 

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईंले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।

परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० बजेसम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

जुनसुकै परामर्श पनि गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन सेवा नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार ९:०० बजेदेखि १८:०० बजेसम्म कल स्वीकार गरिन्छ।

2022.11.10[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【Beaujolais Nouveau】

Beaujolais Nouveau भन्नाले दक्षिणी फ्रान्सको Burgundy को Beaujolais क्षेत्रमा, त्यहि वर्षमा फसल Gamay अंगूरबाट बनेको वाईन् हो। Beaujolais Nouveau, त्यस क्षेत्रको शरद ऋतुको फसलप्रति कृतज्ञता दर्शाउने महोत्सवको रुपमा शुरु भएको भनिन्छ।

Beaujolais Nouveau हरेक वर्ष नोभेम्बरको तेस्रो बिहीबार मध्यरात बाह्र बजे रिलीज हुन्छ।

यस वर्ष २०२२ नोभेम्बर १७ बिहीबार परेको छ। साथै, जापानमा, समय अन्तरको कारणले गर्दा, वास्तविक फ्रान्सभन्दा ८ घण्टा अगाडी नै यसको मजा लिन सक्नुहुन्छ।

Beaujolais Nouveau वाईन्को साथ, चीज वा गोलभेडाको सस प्रयोग गरि बनाईएको पास्ता आदिसँग जम्छ नै, साथै जापानमा सामान्य रुपमा पाइने मासु र आलु, सस स्वादको याकिटोरी जस्ता गुलियो-नुनिलो स्वादसँग पनि यो वाईन् जम्छ।

फसल मनाउने यस वार्षिक कार्यक्रममा, शरद ऋतुको स्वादसँगै मनोरञ्जन लिएर हेर्दा कसो होला?

 

 

【फुकुओका शहरको सूचना】

「Fukuoka Prize The Arts and Culture Prize Shahzia Sikander को कला प्रदर्शनी」 को परिचय 

फुकुओका शहरले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्‍याउने व्यक्तिहरुलाई Fukuoka Prize ले सम्मान गर्दै आईरहेको छ। ३२औँ पटकको यस वर्षको The Arts and Culture Prize को विजेतामा, अन्तर्राष्ट्रिय रूपमा सक्रिय र ख्यातिप्राप्त पाकिस्तानी कलाकार शाहजिया सिकन्दर (Shahzia Sikander) परेकी थिईन् ।

 

पुरस्कारको सम्झनामा, Fukuoka Asian Art Museum र भूतपूर्व माइजुरु जुनियर हाई स्कूलको साइटमा रहेको Artist Cafe Fukuoka को ग्यालरीमा शाहजिया सिकन्दरको सृजनाहरु प्रदर्शनीमा राखिएका छन्।

उहाँको सृजनाहरु, परम्परागत लघु चित्रकलाको संसारमा, नवीनतम डिजिटल प्रविधिको पूर्ण प्रयोग गरी, शानदार कार्यहरुले भरिपूर्ण छन्।

प्रदर्शनी नोभेम्बर २७ सम्म छ र नि: शुल्क हेर्न सक्नु हुन्छ।

यस अवसरमा पक्कै पनि हेर्न जानुहोला।

प्रदर्शनमा राखिएका सिर्जनात्मक कामहरूबारे थप जानकारीको लागि, " Fukuoka Prize" भनि खोजेर, Fukuoka Prize को आधिकारिक होमपेजमा गएर News & Topics को पृष्ठमा हेर्नुहोला।

https://fukuoka-prize.org/en/

 

 

「Mongolian National Matouqin Symphony Orchestra Hakataza Theater Performance Mongolian Wind 2022」 को परिचय 

मङ्गोलिया र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा, डिसेम्बर १३, हाकाताजा थिएटरमा " Mongolian National Matouqin Symphony Orchestra Hakataza Theater Performance Mongolian Wind 2022" आयोजना हुन गईरहेको छ।

यो प्रदर्शनी, भिडियो र फिरन्ते जीवन बिताउने मङ्गोलियन समुदायको परम्परागत अस्थायी तथा सार्न मिल्ने घर, Ger आदि समावेश प्रदर्शन र संगीतको मिश्रण गरि, दर्शकहरूमा मंगोलियन संसारको अनुभव गराउने, Matouqin concert हो।

यस अवसरमा समय मिलेमा अवश्य पनि हेर्न जानुहोला।

 

प्रदर्शनीमा सहभागीताको लागि शुल्क लाग्नेछ। अहिले टिकटको बिक्री भईरहेको छ।

थप जानकारीको लागि, कृपया हाकाताजाको वेबसाइटमा हेर्नुहोला वा हाकाताजा बुकिंग सेन्टरको फोन नम्बर ०९२-२६३-५५५५ मा सम्पर्क गर्नुहोला।

 https://www.hakataza.co.jp/lineup/202212/mongoru/index.php

2022.11.03[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【बदलिँदो मौसमप्रति ध्यान दिऔं】

यो वर्षको नोभेम्बर लागि नै सकेको छ, बिस्तारै जाडो पनि नजिकिंदै छ। मौसमको परिवर्तनको बिन्दु मानिने नोभेम्बर महिना, तुलनात्मक रूपमा जीवनयापन गर्न सजिलो मौसम भए पनि, बिरामी हुने सम्भावना बढी हुने समय पनि हो।

मौसमको यस चरम परिवर्तन समयमा, दिन र रातको तापक्रममा धेरै अन्तर हुन्छ। यस किसिमको वातावरणमा शरीरको तापक्रम वा पसिना आउने आदि जस्ता राम्रोसँग समायोजन हुन नसकेर, स्नायु सन्तुलन बिग्रन सक्छ। फलस्वरूप, टाउको दुख्ने, निद्रा नलाग्ने, काँध कडा हुने, छाला फुस्रो हुने, थकान लाग्ने जस्ता लक्षणहरु देखा पर्छन्। त्यसैले, वर्षभरिमा सबैभन्दा काँध कडा हुने वा दुख्ने समय पनि भन्ने गरिन्छ।

यस किसिमको मौसमी परिवर्तनमा स्वस्थ्य तरिकाले बाँच्नका लागि हरेक दिन नियमित जीवन बिताउने, सन्तुलित आहार खाने, पर्याप्त सुत्ने, रक्तसञ्चार प्रवर्द्धनका लागि नुहाउने र सङ्गीत सुन्दै आराम गर्ने आदि, सामान्य भन्दा बढी आफ्नो शरीरको ख्याल राखेर जीवनयापन गरौं।

थप रूपमा, तापक्रममा गिरावट र सुख्खा हावा जस्ता समस्याहरू देखा पर्ने यस समयमा, सजिलै रुघा लाग्न सक्छ। तपाईंहरु पनि आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। 

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

तेस्रो पटक र चौंथो पटकको खोप लिनेहरूका लागि Omicron strain विरुद्धको खोप शुरु भई सकेको छ। हाल चौंथो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

खोप कुपन हराएका महानुभावहरुले, पुन: जारीको लागि आवेदन दिन आवश्यक छ। कृपया कल सेन्टरमा फोन गर्नुहोस्।

 

विदेशबाट फुकुओका शहरमा आउनुभएका महानुभावहरुले यदि खोप लगाउन चाहनुहुन्छ भने,

खोप कुपन जारीको लागी निबेदन दिन आवश्यक छ।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श, बुकिंग र खोप कुपन जारीको बारेमा बुझ्न सम्पर्क गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ ।

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

नेपाली, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

नयाँ कोरोना भाइरस र इन्फ्लुएन्जा रोकथाम

प्रत्येक वर्ष जाडो शुरु भयो कि, इन्फ्लूएन्जाको संक्रमण देखा पर्दछ।

नयाँ कोरोना भाइरससँगै दुवै रोगहरू एकै समयमा हुने सम्भावना हुन सक्छ।

 

यसकारण, अहिले, नयाँ कोरोना भाइरसको रोकथामबारे सावधान सबैजनाले, हात धुने, मास्क लगाउने, कुनै व्यक्तिको सम्पर्कमा आउँदा पर्याप्त दूरी बनाएर बस्ने जस्ता अभ्यासहरु, इन्फ्लूएन्जा हुनबाट बच्नको लागि पनि जारी राख्ने गर्नुहोस्।

यदि इन्फ्लूएन्जा लागि हालेमा, गम्भीर बिरामी हुनबाट बच्नका लागि पनि, इन्फ्लूएन्जाको खोप लगाउन सल्लाह दिन्छौं।

साथै, नयाँ कोरोना भाइरस र इन्फ्लूएन्जा दुबैको खोप एकै समयमा लिन सक्नुहुन्छ।

 

 

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ