福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2024.02.22[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【माउन्ट फुजी】
भोलि शुक्रबार, फेब्रुअरी २३ तारिख "माउन्ट फुजी दिवस" हो। के तपाईंले कहिल्यै "Mt. Fuji" देख्नुभएको छ? जापानका हिमालहरु भनेपछि, पहिलो नाम आउँछ माउन्ट फुजीको। यो जापानको सबैभन्दा अग्लो हिमाल हो, जसको उचाई ३,७७६ मिटर छ। अहिले पनि यो हिमालमा ज्वालामुखी सक्रिय छ।
यो यामानाशी प्रिफेक्चर र शिजुओका प्रिफेक्चरको बीचमा अवस्थित छ, उत्तरमा यामानाशी प्रिफेक्चर र दक्षिणमा शिजुओका प्रिफेक्चर पर्दछन्। तर, पहाडको टुप्पोतिर भने कुनै प्रीफेक्चरल सीमानाहरू छैनन्, त्यसैले कुनै पनि प्रान्तमा पर्दैन जस्तो देखिन्छ। यद्यपि, पहाडको टुप्पोमा रहेको हुलाक कार्यालय भने शिजुओका प्रिफेक्चरभित्र पर्छ। त्यहाँ एउटा मन्दिर पनि छ, जहाँ विवाह समारोह पनि गरिन्छ। माउन्ट फुजी जापानमा स्कीइङको उद्गम स्थल हो, त्यसैले यहाँस्कीइङका लागि बर्सेनि ठूलो घुइँचो लाग्ने गर्छ। माउन्ट फुजीलाई फोटोमा वा टेलिभिजनमा हेर्दै आए पनि एकचोटी वास्तबमा गएर हेर्न भने मलाई मन छ।
जापानका सार्वजनिक स्नानगृहमा जानुभएकाहरुले, पक्कै पनि त्यहाँ माउन्ट फुजीको सुन्दर कला कोरिएको देख्नु भएको हुनुपर्छ। माउन्ट फुजी प्रायः जापानी सार्वजनिक स्नानगृहको नुहाउने ठाउँको भित्तामा चित्रित हुन्छ। त्यस्तै, जापानी कविता, साहित्यिक लेख, पैसाको नोट आदिमा पनि जापानको प्रतीकको रुपमा यसलाई प्रयोग गर्दै आईरहेको छ। माउन्ट फुजी विश्वभर चिनिएको, दायाँबायाँ दुबैबाट समान आकार भएको दुर्लभ सुन्दर हिमाल हो, जुन विश्व सांस्कृतिक सम्पदा स्थलको रूपमा पनि दर्ता भएको छ।
【फुकुओका शहरको सूचना】
“शहर तथा प्रान्तीय करफाइल गर्ने सम्बन्धि”
फुकुओका शहरले रेइवा ६ को शहर तथा प्रान्तीय कर फाइल लिईदैछ।
कर फाइल गर्ने म्याद, मार्च १५ शुक्रबारसम्म हो।
कर फाइल बुझाउने काउन्टर चाहिं वार्ड कार्यालयको कर बिभागमा, सोमबारदेखि शुक्रबार बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म खुला रहनेछ।
काउण्टर भिडभाड हुने भएकोले, कृपया हुलाक वा अनलाइन मार्फत् कर फाइल गर्न अनुरोध गरिन्छ।
फुकुओका शहरमा कर फाइल गर्न आवश्यक व्यक्तिहरु भन्नाले, २०२४ को जनवरी १ देखि फुकुओका शहरभित्र ठेगाना भई २०२३ मा आम्दानी भएका व्यक्तिहरु पर्दछन्।
कर कार्यालयमा अन्तिम कर फिर्ती निवेदन पेश गर्नुहुने वा तलब आय मात्र भएको व्यक्तिको हकमा कम्पनीमा वर्षान्तको समायोजन गर्नुहुने आदिले कर फाइल गर्न आवश्यक छैन
कर फाइलका लागि आवश्यक कागजातहरु,
माइनम्बर कार्ड वा माइनम्बर बुझ्न सजिलो कागजपत्र
सवारीचालक परिचय पत्र, पासपोर्ट, बसोबास कार्ड आदि पहिचान खुल्ने कागजातहरू
गेन्सेन्च्योउस्युउह्योउ आदि जस्ता गतवर्ष २०२३ को आय देखाउने कागजातहरु
२०२३ मा गरिएका कटौतीहरुको कागजातहरू
आवश्यक कागजात वा कर फाइल गर्न आवश्यक छ छैन आदि बारे बिस्तृत जानकारीका लागि कृपया आफू बसोबास गर्दै आएको स्थानीय वार्ड कार्यालयको होमपेजमा हेर्नुहोला। नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।
अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली जस्ता १८ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ।
फोन नम्बर, ०९२-७५३-६११३ हो।
यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुन्छ।
तपाईं आफू बस्ने वार्ड र कर फाइलबारे बुझ्न चाहेको भन्नुहोला।
यस अतिरिक्त, वार्ड कार्यालयमा जानुहुँदा पनि आफ्नो फोन प्रयोग गरेर यस सेवा मार्फत् अनुवाद गर्न सकिने भएकोले नहिच्किचाइकन यसको प्रयोग गर्नुहोला।