ブログ

ポッドキャスト

ポッドキャスト RSS

2024年06月

2024.06.27[Thu] 09:00

राइड सेयर

यहाँ फुकुओकामा पनि शुरु भएको सेवा, "राइड सेयर" को बारेमा तपाईंहरुलाई थाहा छ

साधारण चालकहरूले शुल्क तिरेर ट्याक्सी कम्पनीको व्यवस्थापन अन्तर्गत आफ्नो निजी कार प्रयोग गरेर यात्रुहरूलाई चढाउन र छोड्न मिल्ने यातायात सेवा हो।

 ट्याक्सी कम्पनीसँग सम्झौता भएका, सेतो नम्बर प्लेटका सवारीसाधनहरु अब व्यावसायिक सञ्चालनका लागि उपलब्ध छन्। राइड सेयरको प्रयोग, साधारण ट्याक्सी प्रयोग गरेझैं, स्मार्टफोनको ट्याक्सी बोलाउने एप प्रयोग गरी, साधारण ट्याक्सी वा निजी कार ट्याक्सी बीच कुन प्रयोग गर्ने भनेर छान्न सक्नुहुन्छ।

 लक्षित क्षेत्र, फुकुओका शहर र वरपरका शहरहरू हुन्। प्रयोगको समय अवधि, मुख्यतया साँझबाट रातसम्म सीमित गरिएको छ। मिटर नभएका निजी कारहरू योग्य भएकाले, पिकअप पोइन्ट र गन्तव्य सेट गरेर भाडा अग्रिम हिसाब गरिन्छ, र मुख्य मार्ग परिवर्तन नभएको खण्डमा अग्रिम रुपमा हिसाब गरिएको शुल्क मात्र तिर्ने प्रणाली हो।

कान्तो लगायत अन्य क्षेत्रहरूमा अप्रिलदेखि संचालन भएको यो सेवा, अन्ततः यहाँ फुकुओकामा पनि शुरु भएको छ। यस सेवाले हाल भईरहेको ट्याक्सीको अभाव समाधान गर्ने अनि फुकुओका शहरलाई थप राम्रो र बस्न योग्य बनाउने आशा गरिएको छ।

यो हप्ता "राइड सेयर" को जानकारी यति नै।

 

 

हाकाता गिओन् यामाकासा

अर्को हप्तादेखि अन्ततः "हाकाता गिओन् यामाकासा" शुरु हुँदैछ!

यो जुलाई १ देखि १५ सम्म आयोजना हुने, फुकुओका हाकाताको परम्परागत पर्व हो।

हरेक वर्ष जुलाई महिनामा प्रवेश गरेपछि, फुकुओका शहरका विभिन्न ठाउँहरूमा कुशल मूर्तिकारहरूले बनाएका, लगभग १० मिटर अग्ला भव्य र प्रभावशाली "खाजारियामा", सरल अर्थमा भन्नु पर्दा भव्य सजाईएका रथहरु प्रदर्शन गरिन्छ। यस वर्ष, जापानी एनिमे पात्र "गन्डम" को कल्पना गरेर बनाइएको नयाँ खाजारियामा पहिलो पटक निर्माण गरिएको छ, जुन खामीखावाबाता स्योउतेन्गाईमा देख्न सक्नुहुनेछ।

पर्वको समाप्तिको अन्तिम दिन, जुलाई १५ मा "ओइयामा" नामक कार्यक्रम आयोजना हुन्छ। यो हाकाता गिओन् यामाकासाको मुख्य आकर्षणहरूमध्ये एक हो। लगभग ५ किलोमिटरको दौड, हाकाता वार्डको कुशिदा जिन्ज्याबाट, बिहान ४:५९ बजे ड्रमको सङ्केतसँगै शुरु हुन्छ। पुरुषहरूले करिब १ टन तौलको र करिब ३ मिटर अग्लो भएको यामाकासालाई आफ्नो काँधमा बोकेर, उत्साहजनक स्वरमा, सडकमा रथ दौडाउँछन्। सूर्योदय हुनु अघि नै, धेरै संख्यामा स्थानीय निवासीहरू लगायत पर्यटकहरूको घुइँचो लाग्ने गर्छ, जसले गर्दा उल्लासमय वातावरणको सिर्जना हुने गर्छ। 

साथै, गन्डमको यामाकासा रथ पनि सडकमा दौडाएको देख्न सक्नुहुन्छ। 

"यामाकासा समाप्त हुँदा गर्मी आउँछ" भन्ने उखान झैँ, स्थानीय क्षेत्रमा यस हाकाता गिओन् यामाकासा, प्रारम्भिक गर्मीको पर्वको रुपमा रहँदै आईरहेको छ।

 

2024.06.20[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【हाकाता ओरी】

फुकुओका हाकाताको परम्परागत शिल्पकला उत्पादन "हाकाता ओरी" को बारेमा थाहा छ

"हाकाता ओरी" भनेको, फुकुओका शहरको मुख्यतया हाकाता क्षेत्रमा विशेष उत्पादन गरिएको रेशमी कपडा हो।

धेरै चरणहरू र कुशल कालिगरहरूको मेहनतबाट, कयौ महिना देखि आधा वर्षसम्मको लामो समय लिएर तयार गरिने, यो जापानको परम्परागत शिल्पकला उत्पादनहरू मध्ये एक हो।

"हाकाता ओरी" भन्ने बित्तिकै, हाकाता ओबीको नाम आई हाल्छ। यो बलियो अनि टिकाउ कपडाले बनेको हुन्छ, जसलाई कडा तान्दा पनि चाँडै बिग्रँदैन, त्यसैले यो किमोनोको ओबीको रूपमा अत्यन्त लोकप्रिय छ। वास्तवमा, यो ओबीलाई सुमो पहलवानहरूले पनि धेरै प्रयोग गर्छन्। ओबी सजिलै खुकुलो हुँदैन, र कस्सिने गरि बाँध्न सकिन्छ। ओबीलाई कसाउँदा आउने "क्युचु" आवाज, यसको विशेषता मानिन्छ।

"हाकाता ओरी" का ढाँचाहरूमा केही प्रकारहरू छन्, तर प्रमुख "खेन्ज्योउ गारा" भनेको फुकुओका सहरको प्रतीकको रूपमा JR हाकाता स्टेशन र फुकुओका एयरपोर्ट जस्ता ठाउँहरूमा प्रयोग गरिएको देख्न सकिन्छ।

हाल, दैनिक जीवनमा प्रयोग गर्न मिल्ने किसिमका हाकाता ओरीको प्रदर्शनी सावारा वार्डकोमोमोचीहामा स्थित "Hakata Traditional Craft and Design Museum"मा भइरहेको छ। यस प्रदर्शनीमा बलपेन, पेनकेस जस्ता लेखन सामग्रीहरू, वालेट, पाउच, नेमकार्ड राख्ने केशहरू जस्ता साना सामानहरू, व्यापारिक प्रयोजनका सामानहरु लगायत उपहारको रूपमा दिन मिल्ने करीब २०० थरि वस्तुहरूको प्रदर्शनी र बिक्री भइरहेको छ। यो प्रदर्शनी यस हप्ताको आइतबार, २३ तारिखसम्म सञ्चालन हुनेछ।

"Hakata Traditional Craft and Design Museum",  फुकुओका हाकाता क्षेत्रसँग सम्बन्धित परम्परागत शिल्पकला उत्पादनहरूको उत्कृष्ट सिर्जनाहरूको प्रदर्शनी र परिचय गराउने निःशुल्क थलो हो। प्रत्येक महिनाको पहिलो, दोस्रो, र तेस्रो आइतबार परम्परागत शिल्पकला कार्यशाला कक्षाहरू पनि सञ्चालन गरिन्छ।

सजिलैसँग हाकाताको संस्कृति अनुभव गर्न सकिने भएकाले, अवश्य पनि यस संग्राहलयको भ्रमण गर्नुहोस्। विस्तृत जानकारीका लागि, Hakata Traditional Craft and Design Museumको होमपेज हेर्नुहोस्।

 

 

फुकुओका शहरको सूचना

“कर सम्बन्धि”

जनवरी १ देखि फुकुओकामा बस्दै आउनुभएको व्यक्तिको यदि अघिल्लो वर्षको आय १० लाख नाघेको भएमा फुकुओका प्रान्तको कर तिर्नु पर्ने हुन सक्दछ।

 जुन १५ तिर कर तिर्न सूचना आउन सक्ने भएकोले, अवश्य पनि खामभित्रको ध्यानपूर्वक पढ्नुहोला। 

तिर्नुपर्ने म्याद र शुल्क लेखिएको हुन्छ। कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।

त्यस्तै, कम्पनीमा कार्यरत व्यक्तिहरुको हकमा, कर सीधै तलबबाट कटौती हुन सक्छ।

शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले जफत गर्ने सम्भावना हुन सक्दछ।

नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।

१८ वटा भाषाहरुमा, फोनमार्फत् परामर्श लिन सक्नुहुन्छ। 

फोन नम्बर, (०९२-७५३-६११३) हो।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

2024.06.13[Thu] 09:00

प्राकृतिक प्रकोप(災害)

【उमे जुस अर्थात् आलुबखडाको जुस】

उमे अर्थात् आलुबखडाको सिजन लागि नै सकेको छ! उमेको सिजन मे देखि जुलाई सम्म हो। आलुबखडामा भोक बढाउने शक्ति अनि थकान कम गर्ने तत्व हुने भएकोले, अत्यधिक गर्मी महिनाहरूमा थकान मेटाउनको लागि यो खानु अति उत्तम हुन्छ।

आलुबखडा दुई प्रकारका हुन्छन्, जसमध्ये हरियो आलुबखडा अमिलो अनि ताजा स्वादको हुन्छ। 

यो कडा अनि धेरै अमिलो हुने भएकोले, काँचो खान मिल्दैन। यसलाई प्रशोधन गरेर, यसको अमिलो स्वादलाई स्वादिलो पेयपदार्थ र खाद्यपदार्थहरूमा परिणत गरेर, आलुबखडाको रक्सी, सिरपमा खाँदेको आलुबखडाको अचार, अनि कुरुम्कुरूम आलुबखडाको कुरकुरे आदि बिभिन्न तरिकाले स्वादको मज्जा लिन सकिन्छ। 

त्यस्तै, पाकेको आलुबखडा चाहिं पहेंलो, मीठो र फलफूलको जस्तै सुगन्धित हुन्छ। यसको स्वाद सजिलै पच्ने भएकोले यो अचार र जुस बनाउन उपयुक्त हुन्छ। हरियो आलुबखडाबाट बनेको उमेबोशी कुरकुरे प्रकारको हुन्छ भने, पाकेको पहेंलो आलुबखडाबाट बनेको उमेबोशी नरम हुन्छ।

आज आलुबखडाको जुस बनाउने तरिका भन्नेछु। आवश्यक सामग्री, हरियो आलुबखडा र मिश्री बराबर मात्रामा। सबैभन्दा पहिले, आलुबखडालाई राम्ररी पखाल्नुहोस् र यसको अमिलोपन हटाउन लगभग २घण्टा जति पानीमा भिजाउनुहोस्। त्यसपछि, पानीबाट निकालेरआलुबखडाको डाँठहरू हटाउनुहोस्, अनिझोलामा राखेर रातभर फ्रिजरमा राख्नुहोस्। अर्को दिन, उमालेर कीटाणुरहित पारेको भण्डारण बोतलमा, आलुबखडा र मिश्री सँगसँगै राखेर, सामान्य तापक्रममा राख्नुहोस्। लगभग एक हप्तामा जुस तयार हुन्छ, यसलाई कार्बोनेटेड पानी वा साधारण पानीसँग मिसाएर आलुबखडा जुसको आनन्द लिन।

काँचो हरियो आलुबखडा र मिश्री सुपरमार्केटहरूमा सजिलै उपलब्ध हुने भएकोले, पक्कै पनि एकपटक बनाएर हुर्नुहोला है♪♪♪

 

 

फुकुओका शहरको सूचना

"चुयु र भारी वर्षा सम्बन्धि"

 

जापानमा जुनदेखि जुलाईसम्मलाई  "चुयु" अर्थात् वर्षा ऋतु भनिन्छ र यस अवधिमा भारी वर्षा हुने गर्दछ।

भारी वर्षाको कारण प्रकोपहरू हुने सम्भावना भएकोले ध्यान दिनुहोला। हालैका वर्षहरूमा पनि, वर्षाको मौसममा रेकर्ड-ब्रेक भारी वर्षाको कारणले, फुकुओका प्रान्तमा पनि धेरै क्षति पुर्याएको थियो।

भारी वर्षा हुँदा, नदी, तट वा पहाड नजिकको चट्टानहरू जस्ता खतराजनक ठाउँहरू नजिक नजानुहोस् र आफ्नो जीवन रक्षाको लागि कदम चाल्नुहोस्।

फुकुओका सिटिको होमपेजमा Hazard map र विपद् रोकथाम सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

आफू बस्ने क्षेत्रमा हुन सक्ने सम्भावित खतरा र आश्रय स्थलमा जाने सुरक्षित तरिका आदिको बारेमा अग्रिम जानकारी राख्ने गरौँ।

बिस्तृत जानकारी, ‘Fukuoka City Multilingual Portal’ भनि खोजि, साईगाईको पेजमा हेर्नुहोला।

फुकुओका शहरको महत्वपूर्ण जानकारीहरु, फुकुओका सिटिको आधिकारिक Facebook ‘Global Community Fukuoka’ वा फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको Facebook ‘फुकुओका शी कोकुसाई खाईखान्/ आत्ताखा फुकुओका「福岡市国際会館/あったか福岡」बाट पनि बहुभाषामा प्राप्त गर्न सक्नुहुन्छI पेजलाई follow गरेर, सामान्यदेखि महत्वपूर्ण जानकारीहरु लिनु होला।

2024.06.06[Thu] 09:00

अन्य(その他)

【फादर्स डे अर्थात् बुबाको दिन】

जापानमा, जुन महिनाको तेस्रो आइतबार फादर्स डे पर्छ। यस वर्ष, यो जुन १६ मा पर्न गएको छ! हामी नेपालीहरुको बुबाको मुख हेर्ने दिन, यस बर्ष सेप्टेम्बर २ मा पर्छ।

जापानमा, कार्नेशन फूललाई मदर्स डे को र पहेंलो गुलाफ फूल चाहिं फादर्स डे को फूल भन्ने गरिन्छ। पहेंलो गुलाफले "निष्ठा" र "स्फूर्ति" को अर्थ दिन्छ।

साथै, फादर्स डेमा, गर्मीको शुरुवातमा फूल्ने सूर्यमुखी फूल दिनेहरु पनि धेरै हुन्छन्। फूल बाहेक, नेकटाई जस्ता प्रयोग गर्न मिल्ने सामानहरु, वा ओसाके, आफ्नो बुबालाई मनपर्ने खाद्यपदार्थ दिनेहरु पनि धेरै हुन्छन्।

बुबाको दिन, दैनिक रुपमा व्यक्त गर्न नसकिएका बुबाप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो। पक्कै पनि यस बिशेष दिनमा आफ्नो बुबासँग समय बिताउनुहोस्, उहाँलाई उपहार दिनुहोस् अनि अविस्मरणीय पल बनाउनुहोस्।

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

रेइवा ६ को “अन्तर्राष्ट्रिय विद्यार्थीहरुद्वारा पढाइने विदेशी भाषा कक्षाहरुमा विद्यार्थी भर्ना” को सूचना

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, रेइवा ६ को अन्तर्राष्ट्रिय विद्यार्थीहरुद्वारा पढाइने विदेशी भाषा कक्षाहरुमा विद्यार्थी भर्ना लिईदैछ।

यस कक्षामा;चाइनिज, कोरियाली, भियतनामी, स्पेनी, जर्मन आदि विश्वका विभिन्न देशहरूका भाषाहरू सिक्न सक्नुहुन्छ। अन्तर्राष्ट्रिय विद्यार्थी प्रशिक्षकहरूसँगको अन्तरक्रिया मार्फत, भाषा मात्र नभई, तिनीहरूको आफ्नो देशको खाना, संस्कृति आदिको बारेमा पनि सिक्न सक्नुहुनेछ। 

स्थान रहेको छ, फुकुओका सिटी सबवे नाकासु कावाबाटा स्टेशन वा कुशिदा जिन्ज्या स्टेशनबाट केवल ५ मिनटको दूरीमा पर्ने फुकुओका सिटी इन्टरनेशनल सेन्टर।

पाठ्यक्रम, रेइवा ६ को जुलाईदेखि अर्को वर्षको फेब्रुअरीसम्म चल्नेछ, जसमा कुल २६ देखि २७ पाठहरु हुनेछन्। ट्युसन शुल्क, कर सहित ३३,००० येन हो।

उपलब्ध भाषा कक्षा, समयतालिका जस्ता विस्तृत जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेर्नुहोला। इन्टरनेटमा, Ryugakusei kara manabu gaikokugo kyoushitsu” भनि खोज्नु भएमा, बिस्तृत जानकारी पाउन सक्नुहुन्छ। 

आवेदन अवधि जुन २० सम्म हो। हामी तपाईंहरुको आवेदन पर्खिरहेका छौँ। 

 

 

 "LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!"

फाउण्डेसनको LINE आधिकारिक Account मा, LINE कल मार्फत्, जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शको बुकिंग आदिका लागि सम्पर्क गर्न सक्नुहुन्छ। टेलिफोन अनुवाद सेवाको प्रयोग गरेर २२ वटा भाषाहरूमा परामर्श लिन सक्नुहुन्छ। 

साथै, फाउण्डेसनको कार्यक्रमहरुको जानकारी तथा बिदेशी नागरिकहरुप्रति लक्षित जानकारीहरु पनि लिन सकिने भएकोले, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट, अवश्य पनि Friend add गर्नुहोला।

तर chatमार्फत् परामर्श सेवा उपलब्ध छैन। textमार्फत् परामर्श लिन चाहनु हुने महानुभावहरुले "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन"को होमपेजमा रहेको सोधपुछ फारम प्रयोग गर्नुहोला।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ