福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2023.11.23[Thu] 09:00
DJ को Choice!(DJのオススメ)
【क्रिसमस एडभेन्ट】
तेन्जिन र हाकाता शहरहरूमा, सडक छेउका रुखहरू लगायत प्रत्येक व्यावसायिक पसलहरुले राखिएका झिलिमिली बत्ती र बिशाल क्रिसमस ट्रीहरुको सजावटले, सिङ्गो शहर नै झिलिमिली भईरहेको छ।
तपाईंहरु झिलिमिलीको शहर, फुकुओकाको क्रिसमस इभेन्ट "क्रिसमस एडभेन्ट" मा जानुभयो?
क्रिसमस एडभेन्ट भन्नाले के हो भन्ने तपाईंहरूमध्ये कसै-कसैलाई लागिरहेको होला। हरेक वर्ष आयोजना हुँदै आइरहेको "क्रिसमस मार्केट" ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यस बर्षदेखि, "क्रिसमस एडभेन्ट" नामकरण गरि, थप सुधारका साथ नविकरण गरिएको हो!
नोभेम्बर ६ देखि हरेक दिन, विभिन्न स्थानहरूमा झिलिमिली बत्तीका साथै क्रिसमस मार्केट पनि लागिरहेको छ। क्रिसमसको दिनसम्म हरेक दिन हाकाता, तेन्जिन, र नाकासुका शहरहरुमा चकाचक माहोल देख्न सक्नुहुन्छ। झिलिमिली बत्तिहरु, सजावटहरु, क्रिसमसका रुखहरु, धेरै सान्टाहरुसँग भेटघाट अनि प्रत्यक्ष सांगीतिक कार्यक्रम आदि बिभिन्न तरिकाहरुबाट मनोरन्जन लिन सक्नुहुन्छ।
यस वर्ष, तीन नयाँ ठाउँहरू थपिएर १०० भन्दा बढी स्टलहरू खोलिएका छन्। स्वादिष्ट खाना, आकर्षक क्रिसमस सामानहरू, र क्लासिक मुल्ड वाइन र हट चकलेट पनि बिक्रीमा राखिएका छन्।
मग कपको डिजाइन हरेक वर्ष परिवर्तन हुन्छ, तर पहिलो संस्करणको मगकपको निकै लोकप्रिय छ! यस वर्ष प्रत्येक स्थानमा ६ प्रकारका मग कप उपलब्ध छन् । पानी परेको दिनमा मात्रै उपलब्ध हुने मग कप पनि राखिएको छ।
तपाईंहरु पनि अवश्य "क्रिसमस एडभेन्ट" मा घुम्न जानुहोला अनि क्रिसमस झिलिमिलीको आनन्द लिनुहोला।
【डीजे छुट्टी का मौसम】
भन्दाभन्दै वर्षको अन्तिम महिना डिसेम्बर आउन लागिसक्यो। डिसेम्बरको अन्त्यतिर लगातार बिदा पाउने हुनेहरुले बिदा कसरी मनाउने भन्ने बारे अहिलेदेखि सोचिरहनु भएको छ होला। जापानको व्यस्त जीवनयापनमा यस किसिमको बिदाको भरपूर सदुपयोग गरेर परिवारजन, साथीभाईसँग रमाइलो समय बिताउने प्लान प्रायःको छ होला। बिदाका दिनहरुमा के गर्ने, कहाँ जाने भनेर लिस्ट बनाई क्यालेन्डरमा चिन्ह लगाउने पनि राम्रो उपाय हुन सक्छ।
म चाहिं, जापान आएदेखि लामो बिदाको अवसरमा प्रायःजसो साथीहरुसँग नयाँ पर्यटकीय स्थलहरुमा घुमघाम गर्ने, नेपाली तथा जापानी साथीहरुलाई घरमा बोलाएर नेपाली खाना खुवाएर रमाइलो गर्ने; बिशेष गरि नेपाली स्वादको मः मः बनाउने गरेकी छु। त्यस्तै, बिदामा मलाई ओहोरी पार्क र जिन्जाहरुमा जान पनि मन पर्छ, त्यहाँको शान्त वातावरणमा बेग्लै किसिमको आनन्द अनुभूति हुन्छ। यस बाहेक यस समयतिर बजारमा सेल लाग्ने भएकोले सामान्यभन्दा अलि बेसी शपिंग पनि गर्ने गर्छु। यस वर्ष पनि यस्तै यस्तै गरेर बिदा मनाउने सोचेकी छु। तपाईंहरुको चाहिं कस्तो प्लान छ होला?
डिसेम्बरको लामो बिदाका दिनहरुमा मलाई नेपाली खाना बाहेक बिशेष गरि जापानी खाना -नाबे खान औधी मनपर्छ। तपाईंहरुलाई नाबे कत्तिको मन पर्छ हो? जाडोमा नाबे खानुको मज्जा नै छुट्टै छ नी! वास्तवमा, अत्यन्तै जाडोमा नाबे खानु अति उत्तम हुन्छ। यो पकाउन पनि एकदम सजिलो छ। आफूलाई मनपर्ने मासु, माछा र तरकारीहरू जस्ता सामग्रीहरू काटेर, सूप हालेर उमाल्ने मात्र त हो। अनि अन्तमा बाँकि भएको झोलमा अन्दासँग भात वा नूडल हालेर खान पनि स्वादिष्ट हुन्छ।
तपाईंहरु पनि जाडोमा तातो नाबे खाएर, शरीरलाई न्यानो बनाएर बस्नु होला है।