福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2025.05.29[Thu] 09:00
【एशियन मार्केट फेस्टा २०२५】
एशियाली खाना, हस्तकला सामग्री, यात्रा सम्बन्धी जानकारी, साथै फुकुओका र क्युशुको स्वादिला परिकारहरू पनि अनुभव गर्न सकिने "एशियन मार्केट फेस्टा" कार्यक्रमअहिले तेन्जिन चुओ पार्क, गेइहिनकान अगाडिको खुला चौरमा आयोजना भइरहेको छ।
कार्यक्रम मङ्गलबार, मे २७ तारिखबाट सुरु भई आइतबार, जुन १ तारिखसम्म ६ दिनसम्मचल्नेछ।
ताइवान, चीन, कोरिया, भियतनाम, थाईल्याण्ड, भारत, हङकङलगायत एशियाका विभिन्न देशहरूका परम्परागत परिकारहरू यहाँ एकै ठाउँमा पाइन्छन्। करिब ३० वटा स्टलहरू एकै ठाउँमा छन्, जसले साँचिकै एशियाली बजार र नाइट मार्केटको अनुभव दिन्छ। स्टलहरूमा लोकप्रिय स्ट्रीट फूड, देश-देशका बीयर र मिठाइहरू, र स्थानीयले मन पराउने विशेष परिकारहरू पनि पाइन्छन्।
यस वर्ष, फुकुओका र क्युशु क्षेत्रका प्रसिद्ध रेस्टुरेन्टहरूले पनि सहभागिता जनाएका छन्। पर्यटकहरूका लागि स्थानीय उत्पादन र स्वादिलो परिकारहरू प्रस्तुत गरिँदैछ। कार्यक्रममासङ्गीत, नृत्य, सांस्कृतिक प्रस्तुति, र मार्शल आर्ट प्रदर्शनपनि भएकाले, यो ६ दिनको फेस्टिवल रमाइलोले भरिपूर्ण छ।
प्रवेश निःशुल्क छ।
कार्यक्रम समय:सोमबारदेखि शुक्रबार – बेलुका ५ बजेदेखि राति १० बजेसम्म। शनिबार र आइतबार – दिउँसो १२ बजेदेखि राति १० बजेसम्म। अन्तिम दिन, आइतबार, जुन १– राति ९ बजेसम्म।
एकै दिनमा अनुभव गर्न नसकिने, बारम्बार आकर्षित गर्ने विविध परिकारहरूको "गुरमे स्ट्रिट" अहिले तेन्जिनमा आयोजना भइरहेको छ। पक्कै पनि घुम्न जानुहोला।
【फुकुओका बोर्डो वाइन फेस्टिवल २०२५】
तेन्जिन क्षेत्रमा भइरहेको अर्को एक रमाइलो बाहिरी कार्यक्रम पनि छ।
फुकुओका सिटी हलको पश्चिम तर्फ रहेको फुरेआइ हिरोबामा अहिले "फुकुओका बोर्डो वाइन फेस्टिवल"आयोजना भइरहेको छ।
फ्रान्सको बोर्डो शहर र जापानको फुकुओका शहरबीच मैत्रीपूर्ण सम्बन्ध छ। त्यसैअनुसार, यो वाइन महोत्सव सन् २०१७ देखि प्रत्येक वर्ष यो समयमा आयोजना हुँदै आएको हो।
यस वर्ष ८औं पटक आयोजना भइरहेको यो कार्यक्रममा करिब१०० प्रकारका बोर्डो वाइनहरूपाइन्छन्। साथै, फुकुओकाका प्रसिद्ध रेस्टुरेन्टहरूले तयार पारेकाक्युशु क्षेत्रका सामग्री प्रयोग गरिएका फ्रेन्च खानाकोस्वाद लिन सक्नुहुन्छ।
यस कार्यक्रममाब्यारे, ओपेरा, र जाज संगीतको प्रत्यक्ष प्रस्तुति पनि हुन्छ।
कार्यक्रम संचालन अवधि, सोमबारदेखि शुक्रबार बेलुका ५ बजेदेखि, र शनिबार आइतबार दिउँसो १२ बजेदेखि राति १० बजेसम्म।
जुन १५ आइतबारसम्मफेस्टिवल चल्नेछ।
रातो, सेतो, र रोजे वाइनजस्ता विभिन्न प्रकारका वाइनहरू यहाँ उपलब्ध छन्।
यदि तपाईं वाइन मन पराउनुहुन्छ भने, आफ्नो मनपर्ने स्वाद पत्ता लगाउन यो कार्यक्रम एकदम उपयुक्त छ।
वाइन, खाना र संस्कृति एकै ठाउँमा अनुभव गर्न सकिने यो विशेष स्थलमा, बोर्डो र फुकुओकाको सौन्दर्य नजिकबाट अनुभव गर्नुहोस्।
अवश्य तेन्जिनमा घुम्न जानुहोस्♪
2025.05.22[Thu] 09:00
【Hakata Machiya Furusatokan】
के तपाईंहरूले हाकातामा अवस्थित एक प्रमुख पर्यटकीय स्थल Hakata Machiya Furusatokan को भ्रमण गर्नुभएको छ?
यो संग्रहालय फुकुओका शहरको हाकाता वार्डमा पर्ने रेइसेनमाची भन्ने स्थानमा, प्रसिद्ध कुशिदा मन्दिरको नजिकै अवस्थित छ। यहाँबाट पुरानो हाकाताको जीवनशैली र परम्परागत संस्कृति हेर्न र अनुभव गर्न सकिन्छ।
Hakata Machiya Furusatokan फुकुओका शहरको सांस्कृतिक सम्पदामा सूचीकृत भवनहरू, हाकाता र फुकुओकासँग सम्बन्धित सामग्रीहरू पाइने उपहार पसल, र हाकाताको इतिहास तथा संस्कृतिका विषयमा जानकारी दिने प्रदर्शनीहरूले भरिपूर्ण छ। साथै, यहाँ परम्परागत शिल्पकला निर्माण गर्ने शिल्पकारहरूको कार्य हेर्न सकिन्छ र उनीहरूसँगै मिलेर शिल्पकला सिक्न र अभ्यास गर्न सकिने अवसर पनि उपलब्ध छ।
यस वर्ष, संग्रहालयको स्थापना भएको ३० वर्ष पुगेको अवसरमा, यहाँ रहेको उपहार पसलमा नयाँ क्याफे थपेर अप्रिल महिनामा पुनः खोलिएको छ।
नयाँ नाममा खुलेको यो क्याफे र पसल "हाकाताकारा (Hakatakara)" मा, हाकाताको परम्परागत शिल्पकला, फुकुओकाका लोकप्रिय सामग्रीहरू, स्थानिय मिठाइहरू र केवल यहीँ मात्र पाइने विशेष वस्तुहरू बिक्रीमा राखिएका छन्, जसले उपहारको रूपमा लैजानका लागि उपयुक्त बनाउँछ। क्याफेमा तपाईंले जापानी चिया र परम्परागत मिठाइहरूको स्वाद लिन सक्नुहुन्छ।
हाकाताको परम्परा र संस्कृतिलाई नजिकबाट जान्न र अनुभव गर्न सकिने यो नयाँ स्थल हो, अवश्य जानुहोला।
【फुकुओका शहरको सूचना】
यासासीई निहोन्गो राजीओ कोउजा अर्थात् सरल जापानी भाषा रेडियो कोर्सको परिचय
तपाईहरुले “यासासीई निहोन्गो राजीओ कोउजा” अर्थात् सरल जापानी भाषा रेडियो कोर्स को प्रसारण सुन्नुभएको छ?
यो कार्यक्रम, जापानी भाषा राम्ररी नबुझ्ने विदेशीहरू सबैका लागि हो, र यस कार्यक्रममा “सरल जापानी भाषा”मा बिस्तारै बोलिन्छ।
विदेशीहरुले जापानमा बसोबास गर्दा थाहा पाउनु पर्ने सूचनाहरुको बारेमा जानकारी दिईनेछ।
यो कार्यक्रम प्रत्येक शुक्रवार ९:५४ बाट प्रसारण हुँदै आईरहेको छ।
बुझ्न गाह्रो भएमा, वा सुन्न छुटेको भएमा पनि ठिकै छ!
Love FM को होमपेजमा पोष्ट गरिएको स्क्रिप्टमा हेरेर Podcast मा बारम्बार सुन्न सक्नुहुन्छ।
कृपया सुनिदिनु होला।
HIV परिक्षण सप्ताहको बारेमा
जुन १ देखि जुन ७ सम्मको १ हप्ता "HIV परिक्षण सप्ताह" हो।
रेइवा ६ मा, फुकुओका शहर भित्रको चिकित्सा संस्थानहरूले दिएको नयाँ रिपोर्ट अनुसार HIV संक्रमित व्यक्तिहरु २७
जना र एड्सका बिरामीहरू १५ जना थिए। HIV संक्रमणको रोकथाम, प्रारम्भिक पहिचान र प्रारम्भिक उपचार महत्त्वपूर्ण छ। HIV संक्रमण हुँदैमा, धेरैजसो लक्षणहरू नदेखिने भएकोले, संक्रमण छ कि छैन भनेर पत्ता लगाउन परिक्षण गर्न आवश्यक छ।
प्रत्येक वार्डको Health and Welfare Center मा, निःशुल्क र गोप्य रूपमा HIV परिक्षण गराउन सक्नुहुन्छ। यो केवल रगत लिएर गरिने सजिलो परीक्षण हो।
परिक्षण गर्न मिल्ने दिन तोकिएको हुनाले, कृपया जानुअघि फुकुओका सिटीको होमपेज आदिबाट अग्रिम जानकारी लिनुहोला।
HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचार प्राप्त गर्नाले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, आफुलाई शंका लाग्ने बित्तिकै, प्रारम्भिक परिक्षण गर्ने गरौँ।
2025.05.08[Thu] 09:00
【फुकुओका म्युजियम वीक】
फुकुओका शहरले, रंगीन कला र संस्कृतिको शहर बन्ने लक्ष्यका साथ, यस वर्ष पनि "अन्तर्राष्ट्रिय संग्रहालय दिवस" (मे १८) लाई अवसर मानेर फुकुओका म्युजियम वीक आयोजना गर्दैछ।
यस पटक १६औं पटक आयोजना हुँदै गरेको यो कार्यक्रम, मे १७ गते शनिबारदेखि मे २५ गते आइतबारसम्म, कुल ९ दिन चल्नेछ। शहरभरिका १६ वटा संग्रहालय र कला केन्द्रहरूले सहभागिता जनाउने यस कार्यक्रममा, दर्शकहरूका लागि छुट, उपहार, विशेष कार्यक्रमहरू, र प्रदर्शनीहरू जस्ता विविध आकर्षणहरू तयारी गरिएको छ। निरन्तर रुपमा संग्रहालय जान रुचाउनुहुन्छ भने, यो अवसर तपाईंलाई केही फरक अनुभव दिनेछ। यदि तपाईं संग्रहालयमा पहिलो पटक जान लागिरहनु भएको छ भने, यसलाई कला र इतिहाससँग नजिक हुने राम्रो मौकाको रूपमा लिन सक्नुहुन्छ। यस अवधिमा, नियमित प्रदर्शनीका साथै विशेष व्याख्यान, कार्यशाला (वर्कशप), ब्याकस्टेज टुर, ग्यालरी टक जस्ता रोचक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।
विशेष आकर्षणमा, कार्यक्रममा सहभागी १६ स्थानहरूमध्ये जुनसुकै ३ वटा स्थानमा स्ट्याम्प संकलन गरेर आवेदन दिनुहोस्, तपाईंले विशेष प्रदर्शनी र ‘हाकाता-जा’ नाटकको निःशुल्क टिकट जस्ता उपहार जित्ने अवसर पाउनुहुनेछ। विस्तृत जानकारीको लागि सहभागी स्थलहरू वा पर्यटन सूचना केन्द्रहरूबाट जानकारी पर्चा लिन नबिर्सनुहोस्।
यस अवसरमा, तपाईं पनि फुकुओका शहरका संग्रहालय र कला केन्द्रहरूमा गएर, ज्ञान, नयाँ अनुभव र प्रेरणाले भरिएका स्थानहरूको मजा लिनुहोस्।
【फुकुओका शहरको सूचना】
हलुका सवारी साधन कर सम्बन्धि
मोटरबाईक वा हलुका कार भएकाहरुले, अप्रिल १ मा हलुका सवारी साधन कर तिर्नु जरुरी छ।
यदि तपाईंसँग मोटरबाईक वा हलुका कार छ भने, हुलाक मार्फत कर तिर्नका लागि सूचना आउन सक्छ, अवश्य पनि भित्र राम्ररी हेर्नुहोला।
जुनको २ तारिक सम्ममा कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।
स्मार्टफोन भुक्तानी एप वा क्रेडिट कार्ड प्रयोग गरेर पनि कर शुल्क तिर्न सक्नुहुन्छ।
यदि तपाईंले मोटरबाईक आदिको शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले जफत गर्ने सम्भावना पनि छ।
नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।
२३ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७५३-६११३ ।
यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।
तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।
2025.05.01[Thu] 09:00
【कुओकाको गोल्डेन वीक सम्बन्धि जानकारी】
यस वर्ष पनि "गोल्डेन वीक" को समय आएको छ।
यस साता देखि अर्को साता सम्म फुकुओकामा आयोजना हुने केही इभेन्टहरूको जानकारीहरु लिएर आएकी छु।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सामाजिक सञ्जाल र मिडियामा निकै चर्चित 【क्राफ्ट ग्योज़ा फेस्ट】 फुकुओकामा आयोजना हुँदैछ। सरल नेपालीमा भन्ने हो भने यो मःमः फेस्टिवल हो।
यसपटक, जापानभरिबाट आएका १४ वटा ग्योज़ा पसलहरू, साथमा फ्राइड राइस, ड्रिंक र डिजर्टका पसलहरू पनि सहभागि छन्।
लोकप्रिय याकी ग्योज़ा, सुई ग्योज़ा, आगे ग्योज़ा, मुसि ग्योज़ा लगायत अन्य अनौठा स्वादका ग्योज़ाहरू पनि उपलब्ध छन्।
२८ प्रकारका ग्योज़ा छन्, जसको हरेक पक्षमा खास ध्यान दिइएको छ; चाहे त्यो ग्योज़ाको खोल होस्, भित्रको भराइ, वा साथमा दिने अचार।
ग्योज़ा मन पराउने सबैका लागि उपयुक्त, यो १२ दिने फेस्टिबलमा, क्राफ्ट ग्योज़ा र क्राफ्ट बियर भरपूर पाइनेछ।
कार्यक्रम फुकुओका शहरको माईजुरु पार्कमा, बिहान ११ बजेदेखि राति ९ बजेसम्म।
समाप्ति मिति अर्को साता मंगलबार, मे ५।
अर्को कार्यक्रम “खाना” र “संस्कृति” को मिलन भन्ने बिषयमा छ।
【फुकुओका ज्योउ नाइट मार्केट GW स्पेशल】 नामक यो इभेन्ट माईजुरु पार्कको पूर्व अदालत स्थलमा भइरहेको छ। यो मार्केट मे ६ तारिकसम्म चल्नेछ।
रातमा उज्यालो पारिएको सुन्दर किल्लाको दृश्यबीच, स्थानीय खानाका स्टलहरू, सरसजावट तथा सानातिना थरिथरिका सामग्रीहरू बिक्री हुने पसलहरू हुनेछन्।
फुकुओका भित्रका चर्चित रेस्टुरेन्ट र विशेष पसलहरूको उत्कृष्ट खानाका साथै, लोकप्रिय किचन कारहरू पनि हुनेछन्।
यो कार्यक्रममा भाग्य जाँच, वर्कशप र परम्परागत खेलकुद जस्ता रमाइलो गतिविधिहरू पनि हुने भएकोले बुढाबुढीदेखि बच्चासम्म सबैले रमाउन सक्ने कार्यक्रम हो।
समय दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म।
रातको शितल हावासँगै संगीत र प्रदर्शनले भरिएको फुकुओकाको नयाँ नाइट स्पटको आनन्द लिननुहोस्।
अब अर्को रमाइलो कार्यक्रमको कुरा गरौं!
यो कार्यक्रमस्थल तेनजिन स्टेशनबाट सजिलै पुग्न सकिन्छ, र स्टेशनकै नजिकैको खुला मैदानमा आयोजना हुने भएकाले झन् सुविधाजनक छ। हरेक वर्ष ३०,००० भन्दा बढी मानिसहरु सहभागी हुने यो इभेन्ट यस वर्ष १५ औं पटक आयोजना हुँदैछ।【क्युशु क्राफ्ट बियर वीक】 नामक यो लोकप्रिय कार्यक्रम, यस पटक ३८ वटा क्युशु र यामागुचिको ब्रुअरीहरूले ल्याएका ८० प्रकारका क्राफ्ट बियरहरू सहित, अप्रिल २९ (यो साता मंगलबार) देखि मे ५ (अर्को साता सोमबार) सम्म तेनजिन चुओ पार्क, किहिनखान अगाडिको खुला मैदानमा आयोजना हुँदैछ। खुला ठाउँको रमाइलो माहोलमा, यहीँ मात्र पाइने विशेष स्वादका क्राफ्ट बियर र स्वादिलो खानाको मजा एकै साथ लिन सकिन्छ।
यसपालि जापानमा क्राफ्ट बियर शुरु भएको ३० औं वर्ष भएको उपलक्ष्यमा, जापानका अनुभवी र नयाँ, दुबै प्रकारका उत्पादनकर्ताहरूले आफ्ना विशेष बियर ल्याएका छन्।
बियर मन पराउनेहरूका लागि यो दुर्लभ बियर चाख्ने सुन्दर मौका हो।
कार्यक्रम बिहान ११ बजेदेखि राति ९ बजेसम्म संचालन हुनेछ। त्यसैले बिदाको दिनको दिउँसो होस् वा कामपछि थकान मेट्न, यो राम्रो अवसर हुन सक्छ।
अन्त्यमा, 【नाइट एक्वेरियम】।
फुकुओका शहरको पूर्व क्षेत्रमा रहेको Marin World Uminonakamichi मा, मे ६ सम्मको बिदामा, संग्रहालय राति ९ बजेसम्म खुला हुने गर्दछ।
【नाइट एक्वेरियम】 मा, साँझ ६ बजेदेखि संग्रहालयको प्रकाश विशेष रूपमा परिवर्तन हुन्छ, जसले गर्दा तपाईंले पानीजन्तुहरूलाई रातको वातावरणमा, रमाइलो र रहस्यमय प्रकाशमा हेर्न सक्नुहुन्छ।
दोस्रो र तेस्रो तलाको शो पूलमा, साँझ ६ बजेदेखि “सी लायन शो”, “डल्फिन शो”, र “इवासी शो” पनि प्रदर्शन हुन्छ।
पहिले नै सिट बुक गर्न सकिनेछ, त्यसैले इच्छुक व्यक्तिहरूले अफिसियल वेबसाइट हेरेर योजना बनाउन सक्नुहुन्छ।
बिदामा बालबालिकालाई एक रात ढिला सुत्न दिएर यो अनौठो अनुभव दिन सकिन्छ!
सामान्यतया नदेखिने रातको जलजीवहरूको संसार हेर्न पाइने यो एकदमै सुन्दर अवसर हो।
अहिलेसम्म हामीले ४ वटा रमाइला इभेन्टको जानकारी दिइसकेका छौं।
तर फुकुओकाको गोल्डेन वीकको मुख्य आकर्षण भनेको, यही साता शनिबार र आइतबार (मे ३ र ४ मा) हुने 【हाकाटा डोन्ताकु मिनातो माचुरी】 हो।
हाकाताको इतिहास, संस्कृति, र यहाँका मानिसहरूको जोश र उत्साह अनुभूत गर्न सकिने यो भव्य पर्वमा तपाईं पनि अवश्य सहभागी हुनुहोस्।