ブログ

ポッドキャスト

ポッドキャスト RSS

2025年02月

2025.02.20[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【त्रीय बिरालो गतिविधि】

फेब्रुअरी २२ तारिक बिरालो दिवस हो। "बिरालोको साथ बस्न पाएको खुशीको लागि धन्यवाद व्यक्त गर्ने र बिरालोसँग यो खुशीलाई अनुभव गर्ने "स्मरणीय दिन" भन्ने उद्देश्यले यो दिवस मनाईन्छ।

तपाईंहरूलाई【क्षेत्रीय बिरालो】 थाहा छ कि छैन? क्षेत्रीय बिरालो भनेको क्षेत्रमै व्यवस्थापन गरिएका सडकमा फेला पर्ने बिरालोहरू हुन्। क्षेत्रीय बिरालोहरूलाई प्रजनन नियन्त्रण गर्न शल्यक्रिया गरिन्छ र चिन्हको लागि कानको अग्रभाग थोरै काटिन्छ या कान छेडिएको हुन्छ। यदि तपाईंले बाटोमा यस्तो बिरालो देख्नुभयो भने, त्यो बिरालो पक्कै पनि नजिकैको क्षेत्रमा पालिएको क्षेत्रीय बिरालो हुनेछ।

सडकमा बिरालोहरूलाई छोड्दा, शौचालय र आवाजको कारणले वरपरको पर्यावरणमा समस्या पर्न सक्छ। कसैलाई बिरालो मनपर्ने र बाहिरी बिरालोहरूको मद्दत गर्न चाहने, हेरचाह गर्न चाहने व्यक्तिहरू हुन्छन् भने, केहीलाई एलर्जी वा बिरालो मन नपर्ने हुन्छन्। यी दुबै प्रकारका मानिसहरूलाई बिरालोहरूबाट उत्पन्न हुने समस्याबाट बच्न, वा बिरालोको संख्या नबढाउन समाधान गर्ने तरिका भनेको, 【क्षेत्रीय बिरालो गतिविधि】हो।

यसलाई क्षेत्रीय पर्यावरणको रूपमा बुझेर, क्षेत्रीय बासिन्दाहरुको सहमति र सहयोगमा, प्रजनन नियन्त्रण शल्यक्रिया गरिन्छ, निश्चित नियमहरूको आधारमा खाना दिने, शौचालय व्यवस्थापन जस्ता कार्यहरू संचालन गर्छन्। सडक बिरालोलाई हटाउने होइन, तर केही वर्षको अवधिमा क्षेत्रबाट मालिकविहीन बिरालोहरू हट्छ भन्ने लक्ष्य हो। क्षेत्रीय बिरालो गतिविधिहरूमा पनि क्षेत्रीय बासिन्दाहरुको सहयोग र समझदारी आवश्यक छ। सबैको बसोबासलाई सहज बनाउन, नजिकका क्षेत्रहरूमा भइरहेको 【क्षेत्रीय बिरालो गतिविधि】तर्फ चासो दिएर हेर्दा कसो होला।

 

 

फुकुओका शहरको सूचना

शहर तथा प्रान्तीय कर फाइल गर्ने सम्बन्धि

फुकुओका शहरले रेइवा ७ को शहर तथा प्रान्तीय कर फाइल लिईदैछ। 

कर फाइल गर्ने म्याद, मार्च १७ सोमबारसम्म हो। 

कर फाइल बुझाउने काउन्टर चाहिं वार्ड कार्यालयको कर बिभाग हो।

काउण्टर भिडभाड हुने भएकोले, कृपया हुलाक वा अनलाइन मार्फत् कर फाइल गर्न अनुरोध गरिन्छ।

फुकुओका शहरमा कर फाइल गर्न आवश्यक व्यक्तिहरु भन्नाले, २०२५ को जनवरी १ देखि फुकुओका शहरभित्र ठेगाना भई २०२४ मा आम्दानी भएका व्यक्तिहरु पर्दछन्।

कर कार्यालयमा अन्तिम कर फिर्ती निवेदन पेश गर्नुहुने वा तलब आय मात्र भएको व्यक्तिको हकमा कम्पनीमा वर्षान्तको समायोजन गर्नुहुने आदिले कर फाइल गर्न आवश्यक छैन।

 कर फाइलका लागि आवश्यक कागजातहरु,

  • माइनम्बर कार्ड भएका व्यक्तिहरुले माइनम्बर कार्ड
  • माइनम्बर कार्ड नभएका व्यक्तिहरुले माइनम्बर उल्लेख गरिएको बसोबास प्रमाणपत्रको प्रतिलिपि जस्ता माइनम्बर थाहा हुने कागजातहरू। सवारीचालक परिचय पत्र, पासपोर्ट, बसोबास कार्ड आदि पहिचान खुल्ने प्रमाणपत्रहरू
  • गेन्सेन्च्योउस्युउह्योउ आदि जस्ता गतवर्ष २०२४ को आय देखाउने कागजातहरु
  • २०२४ मा गरिएका कटौतीहरुको कागजातहरू

आवश्यक कागजात वा कर फाइल गर्न आवश्यक छ छैन आदि बारे बिस्तृत जानकारीका लागि कृपया आफू बसोबास गर्दै आएको स्थानीय वार्ड कार्यालयको होमपेजमा हेर्नुहोला।

जानकारीहरु अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली भाषामा उपलब्ध छन्।

नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली जस्ता २३ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ।

फोन नम्बर, (०९२-७५३-६११३) हो।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुन्छ।

तपाईं आफू बस्ने वार्ड र कर फाइलबारे बुझ्न चाहेको भन्नुहोला।

यस अतिरिक्त, वार्ड कार्यालयमा जानुहुँदा पनि आफ्नो फोन प्रयोग गरेर यस सेवा मार्फत् अनुवाद गर्न सकिने भएकोले नहिच्किचाइकन यसको प्रयोग गर्नुहोला।

2025.02.13[Thu] 09:00

अन्य(その他)

【आकुतागावा पुरस्कार / नाओकी पुरस्कार】

जापानका प्रमुख साहित्य पुरस्कारहरू मध्ये एक हो, 【आकुतागावा पुरस्कार】। यस वर्ष फुकुओका शहरको सेइनान् गाकुइन विश्वविद्यालयको स्नातकोत्तर विद्यार्थी २३ वर्षीया 【सुजुकी युई】ले प्राप्त गर्नुभएको छ। उहाँ, विश्वविद्यालयमा अंग्रेजी साहित्यको अध्ययन सँगसँगै सिर्जनात्मक कार्यमा पनि संलग्न हुनुहुन्छ।

जापानी साहित्यको दुनियाँमा थुप्रै पुरस्कारहरू छन्, तर तीमध्ये विशेष गरी सम्मान र इतिहासको गर्व गर्ने पुरस्कारहरू हुन् 【आकुतागावा पुरस्कार】 र 【नाओकी पुरस्कार】।
【आकुतागावा पुरस्कार】 भनेको पत्रिकामा प्रकाशित नयाँ लेखकद्वारा लेखिएका शुद्ध साहित्यका मध्य र छोटो कथाहरूबाट चयन गरिन्छ। 【नाओकी पुरस्कार】 भनेको नयाँ र मझौला लेखकद्वारा लेखिएका मनोरन्जनात्मक कृतिहरू, एकल पुस्तक, लामो उपन्यास वा सङ्ग्रहित कथाहरूको लागि हुन्छ।

दुवै पुरस्कारको चयन प्रक्रिया वर्षमा दुईपटक हुन्छ—पहिलो अर्धवार्षिक चयन जुलाईमा र दोस्रो अर्धवार्षिक चयन अर्को वर्षको जनवरीमा गरिन्छ। दुवै पुरस्कारहरू सार्वजनिक प्रतियोगिता द्वारा दिइने पुरस्कार होइन। 【आकुतागावा पुरस्कार】 पत्रिकामा प्रकाशित कृतिहरूको लागि हुन्छ, भने 【नाओकी पुरस्कार】 पुस्तकको रूपमा प्रकाशित कृतिहरूको लागि। दुवै पुरस्कारका लागि, निर्धारित अवधिमा प्रकाशित कृतिहरूको मध्यबाट, कयौं प्राथमिक चयन पछि अन्तिम उम्मेदवारहरू छनोट गरिन्छ र चयन प्रक्रिया द्वारा पुरस्कार चयन गरिन्छ। कहिलेकाहीं, कुनै पुरस्कार बिना पनि सकिन्छ।

पुरस्कार प्राप्त कृतिहरू प्रायः सो समयका सामाजिक पृष्ठभूमि र मूल्यहरूलाई प्रतिध्वनित गर्छन्, जसबाट समकालीन जापानी संस्कृति र इतिहासको बारेमा बुझ्न सकिन्छ।
यस पटकको पुरस्कार प्राप्त कृति एक जर्मन साहित्यकार, गोएथेका अनुसन्धानकर्ता एक पुरुष प्राध्यापकको कथामा आधारित छ। मौका मिल्यो भने, पक्कै पनि यो कृति पढ्नुहोला।

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

कानूनी परामर्श  मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्शको परिचय

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र

तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ। परामर्श अवधि ४५ मिनेट।

बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ। भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।

मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबारमंगलबारर विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वाराअंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो। 

फोन नम्बर (०१२०-६६-१७९९) हो।

 

 

LINE कल मार्फत परामर्श लिन सकिन्छ!

फाउण्डेशनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।

थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला।

च्याट सेवा उपलब्ध छैन। 
लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

2025.02.06[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【फुकुओका आरिआके नोरी】

हालको समयमा, फुकुओका प्रान्तले जापानभर गर्वले प्रस्तुत गर्ने उच्चतम गुणस्तरको नोरी हो,【फुकुओका अरिआके नोरी】! प्रान्तको दक्षिण भागमा फैलिएको आरिआके समुद्र,जापानका तीन प्रमुख उत्पादन क्षेत्रहरुमध्ये एक हो। यहाँको नोरीको सुगन्ध र जिब्रोमा फैलिने स्वाद यसको विशेषता हो।

ओनिगिरि देखि विभिन्न परिकारका टपिङसम्म, जापानको परम्परागत खानामा नोरी एक अपरिहार्य सामग्री हो। वास्तवमा, यसमा धेरै पोषक तत्वहरू हुन्छन्, जस्तै प्रोटिन, भिटामिन, खनिज, फलाम, क्याल्सियम, फाइबर र अन्य थुप्रै पोषक तत्वहरू, जसले यसलाई एक बहुप्रयोजनीय आहार बनाउँछ। 

नोरीको स्वाद, उत्पादन स्थान र मौसम अनुसार फरक पर्छ। फुकुओका आरिआके नोरी स्वादिलो हुनुको कारण भनेको अरिआके समुद्रमा प्रवेश गर्ने नदिहरूबाट आउने समुद्री पोषक तत्व र उपयुक्त नूनको मात्रासमेत समावेश भएकोले हो। साथै समुद्रको कम चढाइका समयमा भएको सुकाइ पनि एउटा कारण हो। प्राकृतिक अनुकम्पा र कुशल प्रविधिहरूले यसको स्वादलाई विशेष बनाउँछ। फुकुओका प्रान्तको आरिआके समुद्रको नोरीको सिजन, अक्टोबर मध्यदेखि अप्रिलको सुरु सम्म हुन्छ। संकलन समयको अवधिमा, नोरीको वास्तविक सुगन्ध पनि अनुभव गर्न सकिन्छ, जसले गर्दा चाख्न मन लागेर आउँछ। 

तर, यति स्वादिष्ट नोरी किनेर पनि यदि यो राम्रोसँग संरक्षित नगरेमा यसको स्वाद घट्न सक्छ। त्यसैले सुक्खा नोरीलाई राम्रोसँग बन्द गर्न मिल्ने कन्टेनरमा सुखा राख्ने पदार्थको साथ राखेर, प्रत्यक्ष सूर्यको प्रकाशबाट टाढा अँध्यारो स्थानमा राख्नुपर्छ। यो सामान्य तापक्रममा सुरक्षित राख्न सकिन्छ, तर फ्रिजमा राख्न पनि सक्नुहुन्छ। साथै, खाने अगाडि हल्का आगोमा सेकेर वा माइक्रोवेवमा तताएर नरमपनालाई हटाइदिंदा, यसलाई कुरकुरे स्वादिष्ट तरिकाले खान मिल्छ।

यस सिजनमा, स्वादिष्ट 【फुकुओका आरिआके नोरी】लाई भातसँग खाएर फुकुओकाको खानाको मजा लिनुहोस्♪

 

 

फुकुओका शहरको सूचना

जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना

 फेब्रुअरी महिना जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना हो।

जीवनशैलीसँग सम्बन्धित रोगहरू "जीवनशैली" को कारणले हुने रोगहरू हुन्।

जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, CKD (दीर्घकालीन मिर्गौला रोग), हृदयाघात जस्ता रोगहरु असन्तुलित आहार र व्यायामको कमीले गर्दा हुन्छ।

साथै, धुम्रपान, अत्याधिक मद्यपान र तनावका कारण पनि जीवनशैलीसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।

 स्वस्थ जीवन जिउनका लागि दिनको तीन पटक निश्चित समयमा सन्तुलित र उचित मात्रामा खाना खानु जरुरी छ। बजारमा पाईने तयारी खानेकुरा र चिल्लो खानेकुरा जस्ता पौष्टिक तत्व कम हुने आहारलाई निरन्तरता दिँदा मोटोपना र मधुमेह जस्ता रोग लाग्न सक्छ।

खानेबेला राम्रोसँग चपाउँदा पाचन प्रणालीमा भार कम हुन्छ र मुखको वरपरका मांसपेशीहरू पनि बलियो हुन्छ। कम्तिमा पनि २० मिनेटको हाराहारीमा बिस्तारै खाने गरौं।

 व्यायामको कमीको कारण मांसपेशिहरु घट्नाले, शरीरलाई चाहिने उर्जामा कम हुन गई, तौल बढ्ने सम्भावना बढी हुनेछ।

मांसपेशी र शरीरलाई तन्दुरुस्त कायम राख्न व्यायाम जारी राख्ने गरौं।

व्यायाम गर्ने अवसर कम भएका व्यक्तिहरुले, बजार जाँदा हिडेर जाने, लिफ्ट तथा इस्क्यालेटरको प्रयोग नगरी सकेसम्म भर्याङको प्रयोग गर्ने आदि जस्ता दैनिक जीवनमा थोरै मात्र भए पनि मिल्ने समयमा, अहिलेको भन्दा लगभग १० मिनेट बढि व्यायाम गरौं।

निद्राले मानसिक र शारीरिक थकान हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ।

रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, निद्राको समय सुरक्षित गर्न र निद्राको गुणस्तर सुधार गर्न आवश्यक छ।

सुत्नुअघि स्मार्टफोन चलाउने, टिभी हेर्ने, क्याफिन खाने तथा अल्कोहल पिउने बानी नगरौं  किनभने यसले तपाईंको निद्राको गुणस्तर घटाउँछ।

साथै, मनतातो पानीमा बस्ने जस्ता आफ्नै किसिमको आराम गर्ने तरिकाहरु पत्ता लगाई, तनावमुक्त जीवन बिताउने प्रयास गरौं।

यस अवसरमा, तपाईं हामी पनि आफ्नो दैनिक जीवनशैलीको बारेमा सोचेर हेर्ने होइन त?

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ