ブログ

ポッドキャスト

ポッドキャスト RSS

2025年01月

2025.01.23[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【फुकुओका प्रान्तका सरकारी विद्यालयहरुमा साइकल चढेर विद्यालय जाने विद्यार्थीहरुका लागि हेलमेट अनिवार्य】

फुकुओका प्रिफेक्चरल एजुकेशन बोर्डले यस वर्षको अप्रिल महिनाबाट, सबै सरकारी विद्यालयका साइलबाट विद्यालय जाने विद्यार्थीहरूलाई हेलमेट लगाउनु अनिवार्य गर्ने निर्णय गरेको छ। फुकुओका प्रान्तमा हेलमेटको प्रयोग दर निकै कम छ, र तीमध्ये पनि हाईस्कूलका विद्यार्थीहरूमा यो दर सबैभन्दा कम रहेको छ। अध्ययन अनुसार, हेलमेट नलगाएमा, टाउकोमा परेको झट्का हेलमेट लगाउँदा भन्दा लगभग ४ गुणा बढी हुने देखिएको छ।

फुकुओका प्रान्तका सरकारी हाईस्कूलका लगभग ६०% विद्यार्थीहरू साइकलबाट स्कूल जान्छन्। नयाँ शैक्षिक सत्रको सुरुवातमा, स्कूलका नियमहरूमा साइकलबाट स्कूल जान अनुमति दिनुका शर्तमा हेलमेट लगाउनु पर्ने कुरा थपिने छ।

साइकल चलाउँदा हेलमेट लगाउनु अनिवार्य छ भन्ने चेतना अझ फैलाउनु, हाम्रो ज्यान जोगाउन महत्त्वपूर्ण छ। हेलमेट छनोट गर्दा, जापानको सुरक्षा मापदण्ड पुरा गरेको "SG मार्क" भएको हेलमेट छनोट गर्न महत्त्वपूर्ण छ।

हेलमेटको सही प्रयोग गर्न महत्त्वपूर्ण छ। यसलाई ठीक ढंगले, बायाँदायाँ समान रूपमा र चिउडोको पट्टा एक औंला मात्र अड्काउने गरी कस्नुपर्छ।

हाईस्कूलका विद्यार्थी मात्र होइन, सबैलाई साइकल चलाउँदा हेलमेट लगाउन र यातायात नियमहरू पालना गर्दै सुरक्षित यात्रा गर्न ध्यान दिनु पर्छ, जसले गर्दा दुर्घटना रोक्न सकिन्छ।

 

 

फुकुओका शहरको सूचना

“नोरोभाइरसदेखि सावधान!”

जाडोमानोरोभाइरसको कारण वान्ता हुने, पखाला हुने, पेट दुख्ने र बान्ता आउला जस्तो हुने समस्या बढी हुने गर्छ। यो भाइरस निकै शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि संक्रमित हुन्छ। भाइरस युक्त हात वा खानेकुराबाट भाइरस शरीरमा प्रवेश गर्दछ र त्यसलेपखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ। संक्रमण भएका व्यक्तिको वान्ता वा पेचिसबाट हावा मार्फत भाइरस फैलन सक्छ, साथै संक्रमित व्यक्तिले पकाएको खाना खाने पनि संक्रमणको कारण बन्न सक्छ। अर्को कुरा, भाइरस युक्त ओइस्टर जस्ता शेलफिशलाई नतताईकन खाँदा पनि संक्रमण हुन सक्छ।

यदि वान्ता र पखाला निकै गम्भीर भएमा, शरीरमा पानीको कमी (डिहाइड्रेशन) हुन सक्छ। त्यसैले, चाँडो भन्दा चाँडो चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण छ। सामान्यतया २-३ दिनमा लक्षण सुधार हुन्छ, तर लक्षण हराए पनि १ हप्ता देखि १ महिना सम्म भाइरस शरीरबाट बाहिर निस्कने गर्दछ र यसले अन्यलाई संक्रमित गर्न सक्छ, त्यसैले सावधानी अपनाउनु पर्छ।

संक्रमण फैलिन नदिनका लागि केहि सावधानीहरु अपनाउनु महत्त्वपूर्ण छ:

खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय पछि आदिमा, अवश्य साबुन पानीले हात धुनुहोस्।

खाना पकाउने सामग्री र भाँडाहरू हरेक पटक प्रयोग गरेपछि राम्रोसँग धोएर तातो पानी वा क्लोरीन ब्लीचले कीटाणुरहित पार्नुहोस्।

अल्कोहल स्यानिटाइजर नोरोभाइरसमा प्रभावकारी हुँदैन।

नोरोभाइरस ८५ देखि ९० तापक्रममा ९० सेकेन्डभन्दा बढी समयसम्म तातो गरेपछि मर्छ।

खाद्य सामग्रीलाई राम्रोसँग पकाउनुहोस् र नपकाइएको फलफूल र सागसब्जी राम्ररी पखाल्नुहोस्।

यदि स्वास्थ्य खराब छ भने, खाना पकाउनबाट बच्नु महत्त्वपूर्ण छ।

स्वास्थ्य खराब हुँदा अस्पताल जानु परेमा, फुकुओका सिटीमा मेडिकल अनुवाद कल सेन्टर उपलब्ध छ। यसलाई प्रयोग गरेर अस्पतालमा डाक्टरसँग कुरा गर्न वा औषधि लिनको लागि प्रयोग गर्न सकिन्छ। साथै, कुन अस्पतालमा जानु पर्ने हो थाहा नभएमा पनि परामर्श लिन सकिन्छ।

कल सेन्टरको फोन नम्बर ०९२-७३३-५४२९ हो। 

यो सेवा २४ घण्टा, हप्ताका सबै दिनहरूमा, २० भाषामा उपलब्ध भएकोले, समस्या परेमाउपयोग गर्नुहोस्।

2025.01.16[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【गोखाकु किगान्】

परीक्षाको मौसम चलिरहदा, यस साता अन्त्यमा परीक्षा दिने विद्यार्थीहरू धेरै हुनुहुन्छ होला। जापानमा, परीक्षा र चयन प्रक्रिया जस्ता चुनौतीहरूको सामना गर्दा, विद्यार्थीहरूले राम्रो नतिजा प्राप्त गर्न र लक्ष्य पूरा गर्न गोखाकु किगान्अर्थात् परीक्षामा सफलताको लागि प्रार्थना गर्ने परम्परा छ। यसका लागि, मन्दिरमा गएर भगवानसँग सफलताको लागी प्रार्थना गर्ने र मेहनेत गर्छु भनी संकल्प लिने गरिन्छ।

फुकुओका सिटीको हिगासी वार्डमा रहेको हाकोजाकिगूजापानका तीन प्रमुख मन्दिरहरूमध्ये एक हो। यस मन्दिरलाई संकट हटाउने र विजयको देवता को रूपमा पनि चिनिन्छ र यहाँ परीक्षा सिजनमा धेरै विद्यार्थीहरू सफलताको लागि प्रार्थना गर्न जान्छन्। त्यस्तै, तेंन्जिन क्षेत्रमा स्थितसुइक्यो-तेन्मान्गू)मन्दिरमा पनि शिक्षाको देवता पूजा गरिन्छ र यहाँ पनि धेरै विद्यार्थीहरू सफलताको लागी प्रार्थना गर्न जान्छन्।

प्रार्थना गर्दा, आफ्नो नाम, ठेगाना, प्रार्थना गर्ने बिषय, इच्छाएको विद्यालय र परीक्षाको नाम बताउनुपर्छ। प्रार्थना गरेपछि, ताबीज किनेर राख्न वा एमाभनिने काठको पाटीमा आफ्नो इच्छा लेखेर मन्दिरमा चढाउनु पनि प्रभावकारी मानिन्छ। परीक्षा सकिएपछि, ताबीज मन्दिरमा फर्काउन र परीक्षा उत्तीर्ण भएमा, मन्दिरमा गएर भगवानलाई धन्यवाद दिनु पर्छ।

परीक्षार्थी मात्रै होइन, आफ्ना परिवार, साथीहरू र अन्य प्रियजनहरूको लागि पनि प्रार्थना गर्नु प्रभावकारी मानिन्छ। यस वर्ष पनि धेरै विद्यार्थीहरूको परिश्रम रंग ल्याओस्। परीक्षा दिने सबै विद्यार्थीहरूलाई शुभकामना!

 

 

फुकुओका शहरको सूचना

तोच्योजी सेचुबुन् ताइसाइ- अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि मामेमाकी कार्यक्रम

सेचुबुन्, वर्षमा एकपटक मनाईन्छ, जसमा खराब चीजहरू जस्तै बिरामी र प्रकोप आदिबाट बच्न, र सुस्वास्थ्यका साथ बाँच्नका लागि प्रार्थना गर्ने गरिन्छ। जापानमा प्राचीन कालदेखि नै ‘मामेमाकी’ को चलन रही आएको छ, जसमा प्रकोप निम्त्याउने राक्षसहरूलाई भगाउन सेतो भटमास फ्याँक्ने गरिन्छ। "भाग्य भित्र! राक्षसहरू बाहिर!" भन्दै सेतो भटमास फ्याँक्दै, दुष्ट आत्माहरूबाट जोगिन प्रार्थना गर्छन्।

सेचुबुन् ताइसाइ, हरेक वर्ष फेब्रुअरी ३ मा हाकाटा वार्डको तोच्योजी मन्दिरमा आयोजना गरिन्छ। हरेक वर्ष धेरै दर्शनार्थीहरुको भीड लाग्छ। सात भाग्यका देवताहरु, ओताफुकु, आखाओनी, र आओ ओनी यस महोत्सवमा देखा पर्ने हुनाले अत्यन्तै रोमाञ्चक हुन्छ।

यसका साथै, जनवरी २४ (शुक्रबार) मा, सेचुबुन् महोत्सवको प्रचारको लागि, फुकुओकामा बसोबास गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भाग्यका देवताहरु तथा राक्षसहरूको रूपमा पोशाक लगाएर, फुकुओका सिटी हलमा भटमास फ्याँक्ने कार्यक्रममा सहभागी हुन्छन्। विद्यार्थीहरूले ओनीको रूपमा गर्ने प्रदर्शन मामेमाकीको मुख्य आकर्षण हुनेछ।

जापानी परम्परागत सेचुबुन् महोत्सव हेर्न चाहनुहुन्छ भने, फेब्रुअरी ३ को "सेचुबुन् महोत्सव" तथा जनवरी २४ को "मामेमाकी" सम्बन्धी विस्तृत जानकारीको लागि, कृपया अग्रिम रूपमाफुकुओका शहरवातोच्योजीको आधिकारिक वेबसाइटबाट जानकारी प्राप्त गर्नुहोस्।

मामेमाकीको अनुभव लिँदै जापानी संस्कृतिलाई नजिकबाट बुझ्ने र आफ्नो जीवनमा भाग्य ल्याउने एउटा राम्रो अवसर हुन सक्छ!

2025.01.09[Thu] 09:00

अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【हाताचि नो चुदोई" अर्थात् वयस्क दिवस】

फुकुओका शहरमा २० वर्ष उमेरका व्यक्तिहरूका लागि, रेइवा ७ को जनवरी १३, का दिन, जुन अर्को हप्ता सोमबार सार्वजनिक बिदाको दिन पर्छ, हाकाटा वार्डस्थित मरीनमेस्से फुकुओकामा "हाताचि नो चुदोई" अर्थात् वयस्क दिवसको स्मृति कार्यक्रम आयोजना गरिनेछ।
वयस्क दिवस भनेको नयाँ वयस्कहरूले एक जिम्मेवार व्यक्तिको रूपमा पहिलो कदम चाल्ने दिन हो। यो २० वर्ष पुगेको खुशीयाली मनाउने दिन हो, र जापानमा यो सार्वजनिक बिदाको रूपमा मनाइन्छ।
कार्यक्रममा, नगरप्रमुखको बधाई सन्देश, आयोजन समिति द्वारा तयार पारिएका रोचक योजनाहरू, र फुकुओका संग सम्बन्ध भएका प्रख्यात व्यक्तिहरूका भिडियो सन्देशहरू समावेश गरिएका छन्।
त्यसैगरी, कार्यक्रम स्थलको बाहिर, पुराना साथीहरू र सहपाठीहरूसँग पुनर्मिलन गर्ने र तस्वीर खिच्ने नयाँ वयस्कहरूको उत्साहपूर्ण दृश्यहरू देख्न सकिन्छ, जसले निकै रमाइलो वातावरण सिर्जना गर्छ।
यो दिन परम्परागत रूपमा औपचारिक पोशाक लगाएर सहभागी हुने चलन छ। धेरैजसोले जापानी परम्परागत पहिरनजस्तै किमोनो वा हाकामा लगाउँछन्। कोहीले आफ्नो परिवारबाट पुस्तौँदेखिको अमूल्य किमोनो, कोहीले नयाँ सुट, र कोहीले विशेष मौलिक डिजाईनको पहिरन लगाउँछन्। उनीहरू बिहानैदेखि तयार भएर सजिन्छन्।
यस दिनको सम्झनालाई स्थायी बनाउन फोटो स्टुडियोमा फोटो खिच्ने, परिवारसँग विशेष खानाको मजा लिने, र पुराना साथीहरूसँग पुनर्मिलन कार्यक्रममा सहभागी हुने चलन पनि छ। यो आफ्ना अभिभावक र आफूलाई हुर्काउनेहरूप्रति कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण दिन पनि हो।
यस वर्ष २० वर्ष पुग्न लागेका सबैलाई र उहाँहरूको परिवारलाई यो विशेष दिन खुसीमय रहोस्! धेरै धेरै बधाई!

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

"संयुक्त राष्ट्रका कर्मचारीसँग मिलेर सहर निर्माण गरौँ!" सहभागीताको लागि आवेदन खुला

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले UN-Habitat Fukuoka Headquarter का कर्मचारीलाई प्रशिक्षकको रूपमा आमन्त्रण गरी सहर निर्माण सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ।

यस कार्यशालामा सहभागी हुन चाहने व्यक्तिहरूको उमेर सीमा कक्षा ४ देखि कक्षा ९ सम्मका प्राथमिक विद्यालयदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरु हुन्।
कार्यक्रम, जनवरी १९, आइतवार; १०:०० बजे देखि ११:३०बजे सम्म आयोजना हुनेछ। कार्यक्रम स्थल ACROS Fukuoka को सभा कक्ष हो।

UN-Habitat Fukuoka Headquarter, क्यूसु क्षेत्रको एक मात्र संयुक्त राष्ट्रको संस्था हो, जसले "मानव बसोबास" सम्बन्धी विभिन्न परियोजनाहरू सञ्चालन गर्छ।

कार्यशालामा सहभागीहरू आफूलाई Habitat गाउँका बासिन्दाको रुपमा सोची, भारी वर्षाबाट धेरै क्षति भएको गाउँको पुन:निर्माणको लागि सबैजना मिलेर योजना बनाउनेछन्।

कार्यशाला सरल जापानी भाषामा सञ्चालन हुने भएकोले विदेशी मूलका बालबालिकाहरू पनि सहज रूपमा सहभागी हुन सक्छन्।
संयुक्त राष्ट्रका विश्वव्यापी गतिविधिहरूमा रुचि राख्नुहुने सबैलाई सहभागिताको लागि स्वागत छ।

सहभागिता निःशुल्क छ, तर अग्रिम बुकिंग अनिवार्य छ।
बुकिंग प्रक्रिया र अन्य जानकारीको लागि फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको वेबसाइट वा फेसबुक पेज हेर्नुहोस्।
फाउन्डेसनको वेबसाइट『www.fcif.or.jp』

 

 

‘विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।

2025.01.02[Thu] 09:00

अन्य(その他)

नयाँ वर्ष २०२५ को हार्दिक मंगलमय शुभकामना!
वर्ष २०२५ को आज यो पहिलो प्रसारण!
तपाईंहरुको नयाँ वर्षको बिदा कस्तो हुँदैछ? पक्कै पनि रमाइलोसँग नै बितिरहेको होला!

यस वर्ष पनि 【LIFE IN FUKUOKA】 तपाईँहरू सबैका लागि राम्रो मार्गनिर्देशन बन्न सकोस् भन्ने आशा गर्दछु♪
आगामी दिनहरूमा पनि सहयोग र सहकार्यको अपेक्षा गर्दछु।
वर्षको पहिलो प्रसारणमा, नयाँ वर्षको शुभकामनासँग सम्बन्धित परिकार【ओसेची र्योउरी】को बिषय लिएर आएकी छु।

ओसेची र्योउरी

तपाईँहरूले जापानमा नयाँ वर्षमा के खाने गर्नुहुन्छ?
जापानमा नयाँ वर्षका लागि भाग्यमानी मानिने विभिन्न परिकारहरू खाने चलन छ। जापानी नयाँ वर्ष भन्नासाथ सबैभन्दा प्रख्यात परिकार भनेकोओसेची र्योउरीहो।

ओसेचीको मूल अर्थ भनेको मौसम परिवर्तनका विशेष अवसरहरूमा, राम्रो उत्पादनको लागि भगवानप्रति कृतज्ञता व्यक्त गर्न "चढाइने परिकार" हो।
आधुनिक समयमा यो परिकार नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्न परिवारका सदस्यहरूसँग बसेर खाने चलन बनेको छ। साथै, आगन्तुकहरूलाई समेत यो परिकार पस्कने गरिन्छ।

ओसेची र्योउरीविशेष गरिज्युबाकोअर्थात् परम्परागत बक्समा राखिन्छ। यसको पछाडि केही कारणहरू छन्। एउटा कारण भनेको बक्सलाई तह लगाउनु भनेको खुशी थुपार्नु" भन्ने अर्थ हो। त्यस्तै, ज्युबाकोमा खाना राख्दा कम ठाउँ लिन्छ, र आगन्तुकलाई सजिलै पस्कन सकिन्छ भन्ने व्यावहारिक कारण पनि छ।

वर्षको अन्त्यमा ओसेचीवा नयाँ वर्षमा खाइने परिकारहरू तयार गर्ने, र नयाँ वर्षको दिनमा खाना नपकाइ यी परिकारहरू खाएर समय बिताउने परम्परा छ। नयाँ वर्षको १ तारिकदेखि ३ दिनसम्म, भगवानलाई स्वागत गरेर, वर्षभरि राम्रो बाली र परिवारको सुरक्षाको कामना गरिन्छ। त्यसैले नयाँ वर्षमाचुल्हो बाल्नवाआगो प्रयोग गरिंदैन। साथै, खाना पकाउने व्यक्तिलाई आराम दिने उद्देश्यले भान्साको काम घटाउन, नयाँ वर्षको केही दिन अगाडि नै ओसेची र्योउरीतयार गरिन्छ। चिसो हुँदा पनि स्वादिलो हुने र लामो समयसम्म टिक्ने गरी विशेष रूपले ओसेची र्योउरीतयार पारिन्छ।

ओसेची र्योउरीको प्रत्येक परिकारमा शुभ संकेत वा कामना समावेश गरिएको हुन्छ। ओसेची खानाका सामग्रीहरू क्षेत्र अनुसार फरक हुन सक्छन्, तर समग्रमा करिब २० देखि ३० प्रकारका परिकारहरू समेटिन्छन्। विभिन्न प्रकारका सामग्री र परिकारहरू स्वाद लिन सकिने कुरामा ओसेची र्योउरीको विशेषता छ। "नयाँ वर्षमनाउने ३ परिकारहरु" सन्तानको वृद्धि, स्वास्थ्यको दीर्घायु, र राम्रो उत्पादनको प्रतीकहुन्। यसमा, "मदिरासँग खाने परिकार," "समुद्री खानाबाट बनेको ग्रिल परिकार," "सागपात तरकारीको परिकार" र "अचार" गरी ५ प्रकारका परिकारहरू समाबेश हुन्छन्। 

ज्युबाको अर्थात् खाना राख्ने बक्समा कुन तहमा कुन परिकार राख्ने भन्ने पनि निर्धारित गरिएको हुन्छ। परम्परागत रूपमा, पाँच तहको ज्युबाकोमा परिकारहरू राखिन्छ। क्षेत्र अनुसार समावेश गरिने परिकार फरक हुन सक्छन्। पहिलो तहमा" नयाँ वर्षको शुभकामना दिने ३ परिकार" र "मदिरासँग खाने परिकार" राखिन्छ। दोस्रो तहमा,"ग्रिल परिकार"। त्यस्तै तेस्रो र चौथो तहमा, "सागपात तरकारीको परिकार" र "अचार"। पाँचौं तह चाहिं, भाग्य भर्ने ठाउँको रूपमा खाली राखिन्छ।

हालैका वर्षहरूमा, तीन तहको ज्युबाकोप्रयोग गर्ने चलन बढ्दो छ। पहिलो तहमा "नयाँ वर्षको शुभकामना दिने ३ परिकार" र "मदिरासँग खाने परिकार" राखिन्छ। दोस्रो तहमा, " ग्रिल परिकार" र "अचार"। तेस्रो तहमा, "सागपात तरकारीको परिकार" राखिन्छ।

"नयाँ वर्षको शुभकामना दिने ३ परिकारहरु" मा, कुरोमामे: मीठो बनाएर पकाइएको कालो भटमास। खाजुनोको: निसिन माछाको अण्डा नुन राखेर तयार पारिएको परिकार। ताजुकुरी: सुकेको इवासीको साना माछाहरु भुटेर, त्यसमा चिनी, सोयासस र मिरिनले गुलियो र पिरो स्वाद दिने गरी बनाइएको परिकार। ताताकीगोबो जस्ता प्रमुख छन्।

"मदिरासँग खाने परिकारहरु"मा, कुरि किन्तोन: चेस्टनट र आलु प्रयोग गरेर बनाइएको गुलियो पेस्ट। कोहाकु कामाबोको: गुलाफी र सेतो रंगको माछाको पेस्ट। दातेमाकी: अण्डा र माछाको पेस्ट, चिनी मिसाएर पकाइएको परिकार। कोंबुमाकी: निसिनलाई कंबुमा मोलेर, कान्प्योले बाँधेर गुलियो र नरम पकाइएको परिकारहरु प्रमुख छन्। 

त्यस बाहेक, राम्रो भाग्यको प्रतीक मानिने समुद्री खानाहरू जस्तै बुरी, ताई, र इसेइबी प्रयोग गरेर बनाइएको "ग्रिल परिकार", गाजर र मुला प्रयोग गरेर बनाइएको अमिलो खाना "कोहाकु नामासु", त्यस्तै, रेनकोन, सातोइमो, मुला, गाजर, र कोंन्याकु प्रयोग गरेर बनाइएको "सागपात तरकारीको परिकार" खाने गरिन्छ।

हरेक परिकारमा विशेष अर्थ र शुभकामना समेटिएको हुन्छ, र समय दिएर मिहिनेतका साथ ओसेची र्योउरीतयार गरिन्छ । नयाँ वर्षमा विभिन्न शुभ संकेतले भरिएको ओसेची र्योउरीखाने परम्परा अझै पनि जापानी संस्कृतिको गहिरो छाप छ। ओसेचीसम्बन्धी चलन क्षेत्र अनुसार फरक हुन सक्छ, तर आधुनिक समयमा ओसेची र्योउरीमा पनि विविधतामा आएको छ। आफ्नो परिवारको शैली अनुसारको ओसेची र्योउरीबनाएर, वर्षभरि स्वास्थ्य र सुखको कामना गरौं।

 

नयाँ वर्ष २०२५ सबैको लागि सुखद रहोस्। तपाईंहरुको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ