福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2023.12.28[Thu] 09:00
अन्य(その他)
【नयाँ वर्षको पूर्वसंध्या】
वर्ष २०२३ सकिन अब केही दिन मात्र बाँकी छ। तपाईंहरुको यो वर्ष कस्तो रह्यो?
नयाँ वर्षको पूर्वसंध्या मनाउने केही योजना छ कि?
जापानमा, नयाँ वर्षको पूर्वसंध्या अर्थात् डिसेम्बर ३१मा, तोशिकोशी सोबा खाने चलन छ।
तोशिकोशी सोबा खाने भनेको लामो आयु बाँच्नु, यस बर्षको कठिनाई र असफलतालाई बिर्सेर नयाँ वर्षलाई स्वागत गर्नु हो।
जापानको विभिन्न भागहरूमा स्थानीय ओरिजिनल तोशिकोशी सोबा पाईन्छ।
यसलाई प्राय: नयाँ वर्षको पूर्वसंध्यामा खाने गरिन्छ।
पसलमा नखाए पनि, कन्भिनीयन्स स्टोर र सुपरमार्केटमा पनि किन्न पाईने भएकाले, अहिलेसम्म खानु भएको छैन भए, एकचोटी खाएर हेर्नुहोला।
हुन त, हामी नेपालीहरुको आफ्नै नव वर्ष भएकोले अंग्रेजी नव वर्षलाई खासै धुमधामका साथ मनाउने गरेको देखिन्दैन। नेपालमा खास गरि, काठमाडौंको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला पर्यटकीय शहरहरुमा नव वर्ष ईभ कार्यक्रम आयोजना गर्ने र विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने चलन छ। प्रायःजसो साथीहरुसँग बाहिर घुम्ने र खानपिन गर्ने अवसरको रुपमा अंग्रेजी नव वर्ष मनाउने गरेको देखिन्छ।
जापानमा भने, सामान्यतयाः नयाँ वर्षको काउन्टडाउनको समयमा, परिवारहरू घरमासँगै समय बिताउने गर्छन् वा मन्दिरहरूमा आयोजना हुने, "जोयानो खाने" नामक कार्यक्रममा सहभागी हुने गर्छन्, जसमा सांसारिक इच्छाहरू मेटाउन १०८ पटक घण्टी बजाइन्छ। केही मन्दिरहरूमा, भक्तजनहरू आफैले घण्टी बजाएर अनुभव लिन पनि सक्छन्। नयाँ वर्षको पूर्वसन्ध्यादेखि नयाँ वर्षको दिनसम्म मन्दिरको दर्शन गर्नाले आशीर्वाद दोब्बर हुन्छ भन्ने गरिन्छ। केही ठाउँहरूमा भक्तजनहरूमाथि आमाजाके भनिने गुलियो रक्सीले छर्कने पनि गरिन्छ, जुन चाहिं काठमाडौंका प्रायः मन्दिरहरुमा हुने जल छर्कने चलनसँग ठ्याक्कै मिल्दोजुल्दो छ।
यस नयाँ वर्षको पूर्वसन्ध्यामा मन्दिरहरुमा लामो लाइन हुने गर्छ। यदि तपाईंहरु पनि दर्शन गर्न जाने विचारमा हुनुहुन्छ भने, बाक्लो न्यानो लुगाहरु लगाएर, जाडोबाट बच्नप्रति ध्यान दिनुहोस्।
यस बाहेक, धेरैजसो मानिसहरू रातभर जागै बसेर नयाँ वर्षको पहिलो सूर्योदय हेर्नका लागि बस्छन्। नयाँ वर्षको पहिलो सूर्यलाई शुभ मानिने र नयाँ वर्षमा सुख र स्वास्थ्यको कामना गर्ने चलन छ। रमणीय ठाउँहरूमा गएर, सूर्य उदाएको क्षणको तस्बिर लिनेहरुको पनि उत्तिकै घुइँचो हुन्छ।
फुकुओका शहरमा पनि यस्ता थुप्रै ठाउँहरू छन्। त्यसमध्ये एक हो, ''आटागो जिन्ज्या,'' जुन नयाँ वर्षको तीर्थस्थलको रुपमा पनि रहेको छ अनि त्यहाँबाट हाकाता बेको सुन्दर दृश्यको आनन्द पनि लिन सक्नुहुन्छ। त्यस्तै, बिहानी किरणले उज्यालो भएको फुकुओका शहरको मनोरम दृश्य प्रदान गर्ने ''फुकुओका टावर'' र ''आबुरायामा'' पनि उत्तिकै लोकप्रिय छन्। यहाँ नि:शुल्क पार्किङ पनि छ, कृपया यिनीहरुको होमपेजमा हेनुहोला।
नयाँ वर्षमा तपाईंहरु सबैको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु। तपाईहरु सबैलाई नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना! नव वर्ष २०२४ मा, अहिलेको भन्दा अझ धेरै, सबैको अनुहारमा मुस्कानका साथ बाँच्ने समाजको सृजना होस् भनि कामना गर्दछु।