福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2024.09.19[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【Sing! HAKATA】
फुकुओकामा सेप्टेम्बर महिनालाई म्युजिक मन्थ (संगीत महिना) भनेर चिनिन्छ, यो १ महिनासम्म फुकुओका संगीतले भरिन्छ। यस हप्ताको अन्त्यमा JR हाकाता स्टेशन अगाडि आयोजना हुन गईरहेको, नागरिक सहभागिता संगीत कार्यक्रम
【Sing! HAKATA】को बारेमा जानकारी दिनेछु।
अघिल्लो १० वर्षदेखि आयोजना हुँदै आएको 【क्यूसु गोस्पेल फेस्टिवल इन हाकाटा】ले यस वर्ष गोस्पेलका साथमा, कोरस र आकापेला जस्ता नयाँ संगीत विधाहरू थप्दै, नयाँ स्वरूपमा 【Sing! HAKATA】प्रस्तुत हुनेछ।
कार्यक्रममा प्रसिद्ध कलाकारहरूको उपस्थिति हुनुका साथै रेडियो कार्यक्रमसँगको सहकार्यमा विशेष स्टेज हुनेछ। यस बाहेक, सर्वसाधारण सहभागीहरूको लागि गोस्पेल, कोरस, र आकापेला गरि ३ खण्डमा प्रस्तुतिहरू हुनेछन्। जहाँ क्लासिकदेखि पपसम्मका फरक-फरक संगीत विधाहरूमा सामूहिक रूपमा गीत गाउँने आनन्दको अनुभव गर्न सकिन्छ।
यो कार्यक्रम यस हप्ताको अन्त्यमा, सेप्टेम्बर २१ र २२ तारिकका दुई दिन शनिबार र आइतबार, बिहान १० बजेदेखि राति ८ बजेसम्म, JR हाकाता स्टेशन अगाडिको मैदानमा आयोजना हुनेछ। अवश्य पनि जानुहोस् र रमाइलो गर्नुहोस्!
【फुकुओका शहरको सूचना】
क्षयरोग रोकथाम सप्ताहको बारेमा
सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म क्षयरोग रोकथाम सप्ताह हो।
क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा जलन हुन्छ।
यो एक सरुवा रोग हो।
२०२३ मा, फुकुओका शहरमा १४० नयाँ क्षयरोग बिरामीहरु पाईएका थिए।
हालैका वर्षहरूमा, जापानी भाषा शैक्षिक संस्थाहरूमा सामूहिक संक्रमणका घटनाहरू पनि पाईएका छन्।
क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, खकारमा रगत, छाती दुख्ने, अस्वस्थता, राती पसिना, र तौल घट्नु आदि समावेश छन्। शुरुका लक्षणहरू रुघाको जस्तै देखिन्छन्।
"खोकी २ हप्ता भन्दा बढि रहेमा", "खकार निस्केमा", "शरीर गलेमा", "अचानक तौल घटेमा" आदि केहि लक्षणहरु देखा परेमा, तुरुन्तै चिकित्सालयमा परामर्श लिनुहोस्।
प्रारम्भिक पहिचान र उपचारले रोगलाई गम्भीर हुनबाट बचाउने मात्र नभई, परिवारका सदस्य, साथीभाई र कार्यस्थल आदिमा संक्रमण रोकथाम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्दछ।
क्षयरोग, सँधै संक्रमित भएको कारणले मात्र विकसित हुँदैन।
यदि शरीरको प्रतिरोधात्मक क्षमताले क्षयरोग ब्याक्टेरियालाई नियन्त्रण गर्न सकेन भने,
यो समयसँगै वृद्धि भएर रोगको रूपमा प्रकट हुन सक्छ।
संक्रमण र रोगको विकासलाई रोक्नको लागि, पर्याप्त निद्रा, सन्तुलित आहार, नियमित रूपमा शारीरिक व्यायाम जस्ता दैनिकी स्वास्थ्य अभ्यासहरू प्रभावकारी हुन्छन्।
त्यसैगरी, यदि क्षयरोग भएको पत्ता लागे पनि, डाक्टरको निर्देशनअनुसार हरेक दिन नियमित रूपमा औषधि सेवन गर्दा यो निको हुन्छ।
फुकुओका शहरमा, Fukuoka City Medical Interpreting Call Center छ, त्यहाँ अस्पताल खोज्नको लागि फोन मार्फत सल्लाह लिन सक्नुहुन्छ।
साथै, अस्पतालमा डाक्टरसँग कुरा गर्दा वा अस्पताल तथा फार्मेसीबाट औषधि लिंदा पनि यो सेवा प्रयोग गर्न सकिन्छ। यो सेवा २४ घण्टा, हरेक दिन उपलब्ध छ। फोन नम्बर ०९२-७३३-५४२९ हो।
यो सेवा २० भाषाहरुमा उपलब्ध भएकोले समस्या परेमा अवश्य परामर्श लिनुहोस्।