福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2025.02.20[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【त्रीय बिरालो गतिविधि】
फेब्रुअरी २२ तारिक बिरालो दिवस हो। "बिरालोको साथ बस्न पाएको खुशीको लागि धन्यवाद व्यक्त गर्ने र बिरालोसँग यो खुशीलाई अनुभव गर्ने "स्मरणीय दिन" भन्ने उद्देश्यले यो दिवस मनाईन्छ।
तपाईंहरूलाई【क्षेत्रीय बिरालो】 थाहा छ कि छैन? क्षेत्रीय बिरालो भनेको क्षेत्रमै व्यवस्थापन गरिएका सडकमा फेला पर्ने बिरालोहरू हुन्। क्षेत्रीय बिरालोहरूलाई प्रजनन नियन्त्रण गर्न शल्यक्रिया गरिन्छ र चिन्हको लागि कानको अग्रभाग थोरै काटिन्छ या कान छेडिएको हुन्छ। यदि तपाईंले बाटोमा यस्तो बिरालो देख्नुभयो भने, त्यो बिरालो पक्कै पनि नजिकैको क्षेत्रमा पालिएको क्षेत्रीय बिरालो हुनेछ।
सडकमा बिरालोहरूलाई छोड्दा, शौचालय र आवाजको कारणले वरपरको पर्यावरणमा समस्या पर्न सक्छ। कसैलाई बिरालो मनपर्ने र बाहिरी बिरालोहरूको मद्दत गर्न चाहने, हेरचाह गर्न चाहने व्यक्तिहरू हुन्छन् भने, केहीलाई एलर्जी वा बिरालो मन नपर्ने हुन्छन्। यी दुबै प्रकारका मानिसहरूलाई बिरालोहरूबाट उत्पन्न हुने समस्याबाट बच्न, वा बिरालोको संख्या नबढाउन समाधान गर्ने तरिका भनेको, 【क्षेत्रीय बिरालो गतिविधि】हो।
यसलाई क्षेत्रीय पर्यावरणको रूपमा बुझेर, क्षेत्रीय बासिन्दाहरुको सहमति र सहयोगमा, प्रजनन नियन्त्रण शल्यक्रिया गरिन्छ, निश्चित नियमहरूको आधारमा खाना दिने, शौचालय व्यवस्थापन जस्ता कार्यहरू संचालन गर्छन्। सडक बिरालोलाई हटाउने होइन, तर केही वर्षको अवधिमा क्षेत्रबाट मालिकविहीन बिरालोहरू हट्छ भन्ने लक्ष्य हो। क्षेत्रीय बिरालो गतिविधिहरूमा पनि क्षेत्रीय बासिन्दाहरुको सहयोग र समझदारी आवश्यक छ। सबैको बसोबासलाई सहज बनाउन, नजिकका क्षेत्रहरूमा भइरहेको 【क्षेत्रीय बिरालो गतिविधि】तर्फ चासो दिएर हेर्दा कसो होला।
【फुकुओका शहरको सूचना】
शहर तथा प्रान्तीय कर फाइल गर्ने सम्बन्धि
फुकुओका शहरले रेइवा ७ को शहर तथा प्रान्तीय कर फाइल लिईदैछ।
कर फाइल गर्ने म्याद, मार्च १७ सोमबारसम्म हो।
कर फाइल बुझाउने काउन्टर चाहिं वार्ड कार्यालयको कर बिभाग हो।
काउण्टर भिडभाड हुने भएकोले, कृपया हुलाक वा अनलाइन मार्फत् कर फाइल गर्न अनुरोध गरिन्छ।
फुकुओका शहरमा कर फाइल गर्न आवश्यक व्यक्तिहरु भन्नाले, २०२५ को जनवरी १ देखि फुकुओका शहरभित्र ठेगाना भई २०२४ मा आम्दानी भएका व्यक्तिहरु पर्दछन्।
कर कार्यालयमा अन्तिम कर फिर्ती निवेदन पेश गर्नुहुने वा तलब आय मात्र भएको व्यक्तिको हकमा कम्पनीमा वर्षान्तको समायोजन गर्नुहुने आदिले कर फाइल गर्न आवश्यक छैन।
कर फाइलका लागि आवश्यक कागजातहरु,
आवश्यक कागजात वा कर फाइल गर्न आवश्यक छ छैन आदि बारे बिस्तृत जानकारीका लागि कृपया आफू बसोबास गर्दै आएको स्थानीय वार्ड कार्यालयको होमपेजमा हेर्नुहोला।
जानकारीहरु अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली भाषामा उपलब्ध छन्।
नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।
अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली जस्ता २३ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ।
फोन नम्बर, (०९२-७५३-६११३) हो।
यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुन्छ।
तपाईं आफू बस्ने वार्ड र कर फाइलबारे बुझ्न चाहेको भन्नुहोला।
यस अतिरिक्त, वार्ड कार्यालयमा जानुहुँदा पनि आफ्नो फोन प्रयोग गरेर यस सेवा मार्फत् अनुवाद गर्न सकिने भएकोले नहिच्किचाइकन यसको प्रयोग गर्नुहोला।
2025.02.13[Thu] 09:00
अन्य(その他)
【आकुतागावा पुरस्कार / नाओकी पुरस्कार】
जापानका प्रमुख साहित्य पुरस्कारहरू मध्ये एक हो, 【आकुतागावा पुरस्कार】। यस वर्ष फुकुओका शहरको सेइनान् गाकुइन विश्वविद्यालयको स्नातकोत्तर विद्यार्थी २३ वर्षीया 【सुजुकी युई】ले प्राप्त गर्नुभएको छ। उहाँ, विश्वविद्यालयमा अंग्रेजी साहित्यको अध्ययन सँगसँगै सिर्जनात्मक कार्यमा पनि संलग्न हुनुहुन्छ।
जापानी साहित्यको दुनियाँमा थुप्रै पुरस्कारहरू छन्, तर तीमध्ये विशेष गरी सम्मान र इतिहासको गर्व गर्ने पुरस्कारहरू हुन् 【आकुतागावा पुरस्कार】 र 【नाओकी पुरस्कार】।
【आकुतागावा पुरस्कार】 भनेको पत्रिकामा प्रकाशित नयाँ लेखकद्वारा लेखिएका शुद्ध साहित्यका मध्य र छोटो कथाहरूबाट चयन गरिन्छ। 【नाओकी पुरस्कार】 भनेको नयाँ र मझौला लेखकद्वारा लेखिएका मनोरन्जनात्मक कृतिहरू, एकल पुस्तक, लामो उपन्यास वा सङ्ग्रहित कथाहरूको लागि हुन्छ।
दुवै पुरस्कारको चयन प्रक्रिया वर्षमा दुईपटक हुन्छ—पहिलो अर्धवार्षिक चयन जुलाईमा र दोस्रो अर्धवार्षिक चयन अर्को वर्षको जनवरीमा गरिन्छ। दुवै पुरस्कारहरू सार्वजनिक प्रतियोगिता द्वारा दिइने पुरस्कार होइन। 【आकुतागावा पुरस्कार】 पत्रिकामा प्रकाशित कृतिहरूको लागि हुन्छ, भने 【नाओकी पुरस्कार】 पुस्तकको रूपमा प्रकाशित कृतिहरूको लागि। दुवै पुरस्कारका लागि, निर्धारित अवधिमा प्रकाशित कृतिहरूको मध्यबाट, कयौं प्राथमिक चयन पछि अन्तिम उम्मेदवारहरू छनोट गरिन्छ र चयन प्रक्रिया द्वारा पुरस्कार चयन गरिन्छ। कहिलेकाहीं, कुनै पुरस्कार बिना पनि सकिन्छ।
पुरस्कार प्राप्त कृतिहरू प्रायः सो समयका सामाजिक पृष्ठभूमि र मूल्यहरूलाई प्रतिध्वनित गर्छन्, जसबाट समकालीन जापानी संस्कृति र इतिहासको बारेमा बुझ्न सकिन्छ।
यस पटकको पुरस्कार प्राप्त कृति एक जर्मन साहित्यकार, गोएथेका अनुसन्धानकर्ता एक पुरुष प्राध्यापकको कथामा आधारित छ। मौका मिल्यो भने, पक्कै पनि यो कृति पढ्नुहोला।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
कानूनी परामर्श र मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्शको परिचय
फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।
“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र
तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ। परामर्श अवधि ४५ मिनेट।
बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ। भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।
मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।
जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो।
फोन नम्बर (०१२०-६६-१७९९) हो।
LINE कल मार्फत परामर्श लिन सकिन्छ!
फाउण्डेशनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।
थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला।
च्याट सेवा उपलब्ध छैन।
लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।
2025.02.06[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【फुकुओका आरिआके नोरी】
हालको समयमा, फुकुओका प्रान्तले जापानभर गर्वले प्रस्तुत गर्ने उच्चतम गुणस्तरको नोरी हो,【फुकुओका अरिआके नोरी】! प्रान्तको दक्षिण भागमा फैलिएको आरिआके समुद्र,जापानका तीन प्रमुख उत्पादन क्षेत्रहरुमध्ये एक हो। यहाँको नोरीको सुगन्ध र जिब्रोमा फैलिने स्वाद यसको विशेषता हो।
ओनिगिरि देखि विभिन्न परिकारका टपिङसम्म, जापानको परम्परागत खानामा नोरी एक अपरिहार्य सामग्री हो। वास्तवमा, यसमा धेरै पोषक तत्वहरू हुन्छन्, जस्तै प्रोटिन, भिटामिन, खनिज, फलाम, क्याल्सियम, फाइबर र अन्य थुप्रै पोषक तत्वहरू, जसले यसलाई एक बहुप्रयोजनीय आहार बनाउँछ।
नोरीको स्वाद, उत्पादन स्थान र मौसम अनुसार फरक पर्छ। फुकुओका आरिआके नोरी स्वादिलो हुनुको कारण भनेको अरिआके समुद्रमा प्रवेश गर्ने नदिहरूबाट आउने समुद्री पोषक तत्व र उपयुक्त नूनको मात्रासमेत समावेश भएकोले हो। साथै समुद्रको कम चढाइका समयमा भएको सुकाइ पनि एउटा कारण हो। प्राकृतिक अनुकम्पा र कुशल प्रविधिहरूले यसको स्वादलाई विशेष बनाउँछ। फुकुओका प्रान्तको आरिआके समुद्रको नोरीको सिजन, अक्टोबर मध्यदेखि अप्रिलको सुरु सम्म हुन्छ। संकलन समयको अवधिमा, नोरीको वास्तविक सुगन्ध पनि अनुभव गर्न सकिन्छ, जसले गर्दा चाख्न मन लागेर आउँछ।
तर, यति स्वादिष्ट नोरी किनेर पनि यदि यो राम्रोसँग संरक्षित नगरेमा यसको स्वाद घट्न सक्छ। त्यसैले सुक्खा नोरीलाई राम्रोसँग बन्द गर्न मिल्ने कन्टेनरमा सुखा राख्ने पदार्थको साथ राखेर, प्रत्यक्ष सूर्यको प्रकाशबाट टाढा अँध्यारो स्थानमा राख्नुपर्छ। यो सामान्य तापक्रममा सुरक्षित राख्न सकिन्छ, तर फ्रिजमा राख्न पनि सक्नुहुन्छ। साथै, खाने अगाडि हल्का आगोमा सेकेर वा माइक्रोवेवमा तताएर नरमपनालाई हटाइदिंदा, यसलाई कुरकुरे स्वादिष्ट तरिकाले खान मिल्छ।
यस सिजनमा, स्वादिष्ट 【फुकुओका आरिआके नोरी】लाई भातसँग खाएर फुकुओकाको खानाको मजा लिनुहोस्♪
【फुकुओका शहरको सूचना】
जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना
फेब्रुअरी महिना जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना हो।
जीवनशैलीसँग सम्बन्धित रोगहरू "जीवनशैली" को कारणले हुने रोगहरू हुन्।
जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, CKD (दीर्घकालीन मिर्गौला रोग), हृदयाघात जस्ता रोगहरु असन्तुलित आहार र व्यायामको कमीले गर्दा हुन्छ।
साथै, धुम्रपान, अत्याधिक मद्यपान र तनावका कारण पनि जीवनशैलीसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।
स्वस्थ जीवन जिउनका लागि दिनको तीन पटक निश्चित समयमा सन्तुलित र उचित मात्रामा खाना खानु जरुरी छ। बजारमा पाईने तयारी खानेकुरा र चिल्लो खानेकुरा जस्ता पौष्टिक तत्व कम हुने आहारलाई निरन्तरता दिँदा मोटोपना र मधुमेह जस्ता रोग लाग्न सक्छ।
खानेबेला राम्रोसँग चपाउँदा पाचन प्रणालीमा भार कम हुन्छ र मुखको वरपरका मांसपेशीहरू पनि बलियो हुन्छ। कम्तिमा पनि २० मिनेटको हाराहारीमा बिस्तारै खाने गरौं।
व्यायामको कमीको कारण मांसपेशिहरु घट्नाले, शरीरलाई चाहिने उर्जामा कम हुन गई, तौल बढ्ने सम्भावना बढी हुनेछ।
मांसपेशी र शरीरलाई तन्दुरुस्त कायम राख्न व्यायाम जारी राख्ने गरौं।
व्यायाम गर्ने अवसर कम भएका व्यक्तिहरुले, बजार जाँदा हिडेर जाने, लिफ्ट तथा इस्क्यालेटरको प्रयोग नगरी सकेसम्म भर्याङको प्रयोग गर्ने आदि जस्ता दैनिक जीवनमा थोरै मात्र भए पनि मिल्ने समयमा, अहिलेको भन्दा लगभग १० मिनेट बढि व्यायाम गरौं।
निद्राले मानसिक र शारीरिक थकान हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ।
रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, निद्राको समय सुरक्षित गर्न र निद्राको गुणस्तर सुधार गर्न आवश्यक छ।
सुत्नुअघि स्मार्टफोन चलाउने, टिभी हेर्ने, क्याफिन खाने तथा अल्कोहल पिउने बानी नगरौं किनभने यसले तपाईंको निद्राको गुणस्तर घटाउँछ।
साथै, मनतातो पानीमा बस्ने जस्ता आफ्नै किसिमको आराम गर्ने तरिकाहरु पत्ता लगाई, तनावमुक्त जीवन बिताउने प्रयास गरौं।
यस अवसरमा, तपाईं हामी पनि आफ्नो दैनिक जीवनशैलीको बारेमा सोचेर हेर्ने होइन त?
2025.01.30[Thu] 09:00
अन्तर्वार्ता(インタビュー)
【अतिथि अन्तर्वार्ता】
【सुजन बानियाँ】
जन्मस्थान: म्याग्दी जिल्ला, बेनी नगरपालिका वडा नम्बर ५- पुलाचौर
पेशा: नर्सिङ क्षेत्रमा कार्यरत
फुकुओका बसोबासको अवधि: १० महिना
2025.01.23[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【फुकुओका प्रान्तका सरकारी विद्यालयहरुमा साइकल चढेर विद्यालय जाने विद्यार्थीहरुका लागि हेलमेट अनिवार्य】
फुकुओका प्रिफेक्चरल एजुकेशन बोर्डले यस वर्षको अप्रिल महिनाबाट, सबै सरकारी विद्यालयका साइलबाट विद्यालय जाने विद्यार्थीहरूलाई हेलमेट लगाउनु अनिवार्य गर्ने निर्णय गरेको छ। फुकुओका प्रान्तमा हेलमेटको प्रयोग दर निकै कम छ, र तीमध्ये पनि हाईस्कूलका विद्यार्थीहरूमा यो दर सबैभन्दा कम रहेको छ। अध्ययन अनुसार, हेलमेट नलगाएमा, टाउकोमा परेको झट्का हेलमेट लगाउँदा भन्दा लगभग ४ गुणा बढी हुने देखिएको छ।
फुकुओका प्रान्तका सरकारी हाईस्कूलका लगभग ६०% विद्यार्थीहरू साइकलबाट स्कूल जान्छन्। नयाँ शैक्षिक सत्रको सुरुवातमा, स्कूलका नियमहरूमा साइकलबाट स्कूल जान अनुमति दिनुका शर्तमा हेलमेट लगाउनु पर्ने कुरा थपिने छ।
साइकल चलाउँदा हेलमेट लगाउनु अनिवार्य छ भन्ने चेतना अझ फैलाउनु, हाम्रो ज्यान जोगाउन महत्त्वपूर्ण छ। हेलमेट छनोट गर्दा, जापानको सुरक्षा मापदण्ड पुरा गरेको "SG मार्क" भएको हेलमेट छनोट गर्न महत्त्वपूर्ण छ।
हेलमेटको सही प्रयोग गर्न महत्त्वपूर्ण छ। यसलाई ठीक ढंगले, बायाँदायाँ समान रूपमा र चिउडोको पट्टा एक औंला मात्र अड्काउने गरी कस्नुपर्छ।
हाईस्कूलका विद्यार्थी मात्र होइन, सबैलाई साइकल चलाउँदा हेलमेट लगाउन र यातायात नियमहरू पालना गर्दै सुरक्षित यात्रा गर्न ध्यान दिनु पर्छ, जसले गर्दा दुर्घटना रोक्न सकिन्छ।
【फुकुओका शहरको सूचना】
“नोरोभाइरसदेखि सावधान!”
जाडोमानोरोभाइरसको कारण वान्ता हुने, पखाला हुने, पेट दुख्ने र बान्ता आउला जस्तो हुने समस्या बढी हुने गर्छ। यो भाइरस निकै शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि संक्रमित हुन्छ। भाइरस युक्त हात वा खानेकुराबाट भाइरस शरीरमा प्रवेश गर्दछ र त्यसलेपखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ। संक्रमण भएका व्यक्तिको वान्ता वा पेचिसबाट हावा मार्फत भाइरस फैलन सक्छ, साथै संक्रमित व्यक्तिले पकाएको खाना खाने पनि संक्रमणको कारण बन्न सक्छ। अर्को कुरा, भाइरस युक्त ओइस्टर जस्ता शेलफिशलाई नतताईकन खाँदा पनि संक्रमण हुन सक्छ।
यदि वान्ता र पखाला निकै गम्भीर भएमा, शरीरमा पानीको कमी (डिहाइड्रेशन) हुन सक्छ। त्यसैले, चाँडो भन्दा चाँडो चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण छ। सामान्यतया २-३ दिनमा लक्षण सुधार हुन्छ, तर लक्षण हराए पनि १ हप्ता देखि १ महिना सम्म भाइरस शरीरबाट बाहिर निस्कने गर्दछ र यसले अन्यलाई संक्रमित गर्न सक्छ, त्यसैले सावधानी अपनाउनु पर्छ।
संक्रमण फैलिन नदिनका लागि केहि सावधानीहरु अपनाउनु महत्त्वपूर्ण छ:
खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय पछि आदिमा, अवश्य साबुन पानीले हात धुनुहोस्।
खाना पकाउने सामग्री र भाँडाहरू हरेक पटक प्रयोग गरेपछि राम्रोसँग धोएर तातो पानी वा क्लोरीन ब्लीचले कीटाणुरहित पार्नुहोस्।
अल्कोहल स्यानिटाइजर नोरोभाइरसमा प्रभावकारी हुँदैन।
नोरोभाइरस ८५℃ देखि ९०℃ तापक्रममा ९० सेकेन्डभन्दा बढी समयसम्म तातो गरेपछि मर्छ।
खाद्य सामग्रीलाई राम्रोसँग पकाउनुहोस् र नपकाइएको फलफूल र सागसब्जी राम्ररी पखाल्नुहोस्।
यदि स्वास्थ्य खराब छ भने, खाना पकाउनबाट बच्नु महत्त्वपूर्ण छ।
स्वास्थ्य खराब हुँदा अस्पताल जानु परेमा, फुकुओका सिटीमा मेडिकल अनुवाद कल सेन्टर उपलब्ध छ। यसलाई प्रयोग गरेर अस्पतालमा डाक्टरसँग कुरा गर्न वा औषधि लिनको लागि प्रयोग गर्न सकिन्छ। साथै, कुन अस्पतालमा जानु पर्ने हो थाहा नभएमा पनि परामर्श लिन सकिन्छ।
कल सेन्टरको फोन नम्बर ०९२-७३३-५४२९ हो।
यो सेवा २४ घण्टा, हप्ताका सबै दिनहरूमा, २० भाषामा उपलब्ध भएकोले, समस्या परेमाउपयोग गर्नुहोस्।
2025.01.16[Thu] 09:00
कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【गोखाकु किगान्】
परीक्षाको मौसम चलिरहदा, यस साता अन्त्यमा परीक्षा दिने विद्यार्थीहरू धेरै हुनुहुन्छ होला। जापानमा, परीक्षा र चयन प्रक्रिया जस्ता चुनौतीहरूको सामना गर्दा, विद्यार्थीहरूले राम्रो नतिजा प्राप्त गर्न र लक्ष्य पूरा गर्न 【गोखाकु किगान्】अर्थात् परीक्षामा सफलताको लागि प्रार्थना गर्ने परम्परा छ। यसका लागि, मन्दिरमा गएर भगवानसँग सफलताको लागी प्रार्थना गर्ने र मेहनेत गर्छु भनी संकल्प लिने गरिन्छ।
फुकुओका सिटीको हिगासी वार्डमा रहेको 【हाकोजाकिगू】 जापानका तीन प्रमुख मन्दिरहरूमध्ये एक हो। यस मन्दिरलाई “संकट हटाउने र विजयको देवता” को रूपमा पनि चिनिन्छ र यहाँ परीक्षा सिजनमा धेरै विद्यार्थीहरू सफलताको लागि प्रार्थना गर्न जान्छन्। त्यस्तै, तेंन्जिन क्षेत्रमा स्थित【सुइक्यो-तेन्मान्गू)】 मन्दिरमा पनि शिक्षाको देवता पूजा गरिन्छ र यहाँ पनि धेरै विद्यार्थीहरू सफलताको लागी प्रार्थना गर्न जान्छन्।
प्रार्थना गर्दा, आफ्नो नाम, ठेगाना, प्रार्थना गर्ने बिषय, इच्छाएको विद्यालय र परीक्षाको नाम बताउनुपर्छ। प्रार्थना गरेपछि, ताबीज किनेर राख्न वा 【एमा】 भनिने काठको पाटीमा आफ्नो इच्छा लेखेर मन्दिरमा चढाउनु पनि प्रभावकारी मानिन्छ। परीक्षा सकिएपछि, ताबीज मन्दिरमा फर्काउन र परीक्षा उत्तीर्ण भएमा, मन्दिरमा गएर भगवानलाई धन्यवाद दिनु पर्छ।
परीक्षार्थी मात्रै होइन, आफ्ना परिवार, साथीहरू र अन्य प्रियजनहरूको लागि पनि प्रार्थना गर्नु प्रभावकारी मानिन्छ। यस वर्ष पनि धेरै विद्यार्थीहरूको परिश्रम रंग ल्याओस्। परीक्षा दिने सबै विद्यार्थीहरूलाई शुभकामना!
【फुकुओका शहरको सूचना】
तोच्योजी सेचुबुन् ताइसाइ- अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि मामेमाकी कार्यक्रम
सेचुबुन्, वर्षमा एकपटक मनाईन्छ, जसमा खराब चीजहरू जस्तै बिरामी र प्रकोप आदिबाट बच्न, र सुस्वास्थ्यका साथ बाँच्नका लागि प्रार्थना गर्ने गरिन्छ। जापानमा प्राचीन कालदेखि नै ‘मामेमाकी’ को चलन रही आएको छ, जसमा प्रकोप निम्त्याउने राक्षसहरूलाई भगाउन सेतो भटमास फ्याँक्ने गरिन्छ। "भाग्य भित्र! राक्षसहरू बाहिर!" भन्दै सेतो भटमास फ्याँक्दै, दुष्ट आत्माहरूबाट जोगिन प्रार्थना गर्छन्।
सेचुबुन् ताइसाइ, हरेक वर्ष फेब्रुअरी ३ मा हाकाटा वार्डको तोच्योजी मन्दिरमा आयोजना गरिन्छ। हरेक वर्ष धेरै दर्शनार्थीहरुको भीड लाग्छ। सात भाग्यका देवताहरु, ओताफुकु, आखाओनी, र आओ ओनी यस महोत्सवमा देखा पर्ने हुनाले अत्यन्तै रोमाञ्चक हुन्छ।
यसका साथै, जनवरी २४ (शुक्रबार) मा, सेचुबुन् महोत्सवको प्रचारको लागि, फुकुओकामा बसोबास गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भाग्यका देवताहरु तथा राक्षसहरूको रूपमा पोशाक लगाएर, फुकुओका सिटी हलमा भटमास फ्याँक्ने कार्यक्रममा सहभागी हुन्छन्। विद्यार्थीहरूले ओनीको रूपमा गर्ने प्रदर्शन मामेमाकीको मुख्य आकर्षण हुनेछ।
जापानी परम्परागत सेचुबुन् महोत्सव हेर्न चाहनुहुन्छ भने, फेब्रुअरी ३ को "सेचुबुन् महोत्सव" तथा जनवरी २४ को "मामेमाकी" सम्बन्धी विस्तृत जानकारीको लागि, कृपया अग्रिम रूपमाफुकुओका शहरवातोच्योजीको आधिकारिक वेबसाइटबाट जानकारी प्राप्त गर्नुहोस्।
मामेमाकीको अनुभव लिँदै जापानी संस्कृतिलाई नजिकबाट बुझ्ने र आफ्नो जीवनमा भाग्य ल्याउने एउटा राम्रो अवसर हुन सक्छ!
2025.01.09[Thu] 09:00
अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【हाताचि नो चुदोई" अर्थात् वयस्क दिवस】
फुकुओका शहरमा २० वर्ष उमेरका व्यक्तिहरूका लागि, रेइवा ७ को जनवरी १३, का दिन, जुन अर्को हप्ता सोमबार सार्वजनिक बिदाको दिन पर्छ, हाकाटा वार्डस्थित मरीनमेस्से फुकुओकामा "हाताचि नो चुदोई" अर्थात् वयस्क दिवसको स्मृति कार्यक्रम आयोजना गरिनेछ।
वयस्क दिवस भनेको नयाँ वयस्कहरूले एक जिम्मेवार व्यक्तिको रूपमा पहिलो कदम चाल्ने दिन हो। यो २० वर्ष पुगेको खुशीयाली मनाउने दिन हो, र जापानमा यो सार्वजनिक बिदाको रूपमा मनाइन्छ।
कार्यक्रममा, नगरप्रमुखको बधाई सन्देश, आयोजन समिति द्वारा तयार पारिएका रोचक योजनाहरू, र फुकुओका संग सम्बन्ध भएका प्रख्यात व्यक्तिहरूका भिडियो सन्देशहरू समावेश गरिएका छन्।
त्यसैगरी, कार्यक्रम स्थलको बाहिर, पुराना साथीहरू र सहपाठीहरूसँग पुनर्मिलन गर्ने र तस्वीर खिच्ने नयाँ वयस्कहरूको उत्साहपूर्ण दृश्यहरू देख्न सकिन्छ, जसले निकै रमाइलो वातावरण सिर्जना गर्छ।
यो दिन परम्परागत रूपमा औपचारिक पोशाक लगाएर सहभागी हुने चलन छ। धेरैजसोले जापानी परम्परागत पहिरनजस्तै किमोनो वा हाकामा लगाउँछन्। कोहीले आफ्नो परिवारबाट पुस्तौँदेखिको अमूल्य किमोनो, कोहीले नयाँ सुट, र कोहीले विशेष मौलिक डिजाईनको पहिरन लगाउँछन्। उनीहरू बिहानैदेखि तयार भएर सजिन्छन्।
यस दिनको सम्झनालाई स्थायी बनाउन फोटो स्टुडियोमा फोटो खिच्ने, परिवारसँग विशेष खानाको मजा लिने, र पुराना साथीहरूसँग पुनर्मिलन कार्यक्रममा सहभागी हुने चलन पनि छ। यो आफ्ना अभिभावक र आफूलाई हुर्काउनेहरूप्रति कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण दिन पनि हो।
यस वर्ष २० वर्ष पुग्न लागेका सबैलाई र उहाँहरूको परिवारलाई यो विशेष दिन खुसीमय रहोस्! धेरै धेरै बधाई!
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"संयुक्त राष्ट्रका कर्मचारीसँग मिलेर सहर निर्माण गरौँ!" सहभागीताको लागि आवेदन खुला
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले UN-Habitat Fukuoka Headquarter का कर्मचारीलाई प्रशिक्षकको रूपमा आमन्त्रण गरी सहर निर्माण सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ।
यस कार्यशालामा सहभागी हुन चाहने व्यक्तिहरूको उमेर सीमा कक्षा ४ देखि कक्षा ९ सम्मका प्राथमिक विद्यालयदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरु हुन्।
कार्यक्रम, जनवरी १९, आइतवार; १०:०० बजे देखि ११:३०बजे सम्म आयोजना हुनेछ। कार्यक्रम स्थल ACROS Fukuoka को सभा कक्ष हो।
UN-Habitat Fukuoka Headquarter, क्यूसु क्षेत्रको एक मात्र संयुक्त राष्ट्रको संस्था हो, जसले "मानव बसोबास" सम्बन्धी विभिन्न परियोजनाहरू सञ्चालन गर्छ।
कार्यशालामा सहभागीहरू आफूलाई Habitat गाउँका बासिन्दाको रुपमा सोची, भारी वर्षाबाट धेरै क्षति भएको गाउँको पुन:निर्माणको लागि सबैजना मिलेर योजना बनाउनेछन्।
कार्यशाला सरल जापानी भाषामा सञ्चालन हुने भएकोले विदेशी मूलका बालबालिकाहरू पनि सहज रूपमा सहभागी हुन सक्छन्।
संयुक्त राष्ट्रका विश्वव्यापी गतिविधिहरूमा रुचि राख्नुहुने सबैलाई सहभागिताको लागि स्वागत छ।
सहभागिता निःशुल्क छ, तर अग्रिम बुकिंग अनिवार्य छ।
बुकिंग प्रक्रिया र अन्य जानकारीको लागि फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको वेबसाइट वा फेसबुक पेज हेर्नुहोस्।
फाउन्डेसनको वेबसाइट『www.fcif.or.jp』।
‘विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।
2025.01.02[Thu] 09:00
अन्य(その他)
नयाँ वर्ष २०२५ को हार्दिक मंगलमय शुभकामना!
वर्ष २०२५ को आज यो पहिलो प्रसारण!
तपाईंहरुको नयाँ वर्षको बिदा कस्तो हुँदैछ? पक्कै पनि रमाइलोसँग नै बितिरहेको होला!
यस वर्ष पनि 【LIFE IN FUKUOKA】 तपाईँहरू सबैका लागि राम्रो मार्गनिर्देशन बन्न सकोस् भन्ने आशा गर्दछु♪
आगामी दिनहरूमा पनि सहयोग र सहकार्यको अपेक्षा गर्दछु।
वर्षको पहिलो प्रसारणमा, नयाँ वर्षको शुभकामनासँग सम्बन्धित परिकार【ओसेची र्योउरी】को बिषय लिएर आएकी छु।
【ओसेची र्योउरी】
तपाईँहरूले जापानमा नयाँ वर्षमा के खाने गर्नुहुन्छ?
जापानमा नयाँ वर्षका लागि भाग्यमानी मानिने विभिन्न परिकारहरू खाने चलन छ। जापानी नयाँ वर्ष भन्नासाथ सबैभन्दा प्रख्यात परिकार भनेको【ओसेची र्योउरी】हो।
【ओसेची】को मूल अर्थ भनेको मौसम परिवर्तनका विशेष अवसरहरूमा, राम्रो उत्पादनको लागि भगवानप्रति कृतज्ञता व्यक्त गर्न "चढाइने परिकार" हो।
आधुनिक समयमा यो परिकार नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्न परिवारका सदस्यहरूसँग बसेर खाने चलन बनेको छ। साथै, आगन्तुकहरूलाई समेत यो परिकार पस्कने गरिन्छ।
【ओसेची र्योउरी】 विशेष गरिज्युबाकोअर्थात् परम्परागत बक्समा राखिन्छ। यसको पछाडि केही कारणहरू छन्। एउटा कारण भनेको “बक्सलाई तह लगाउनु भनेको खुशी थुपार्नु" भन्ने अर्थ हो। त्यस्तै, ज्युबाकोमा खाना राख्दा कम ठाउँ लिन्छ, र आगन्तुकलाई सजिलै पस्कन सकिन्छ भन्ने व्यावहारिक कारण पनि छ।
वर्षको अन्त्यमा 【ओसेची】 वा नयाँ वर्षमा खाइने परिकारहरू तयार गर्ने, र नयाँ वर्षको दिनमा खाना नपकाइ यी परिकारहरू खाएर समय बिताउने परम्परा छ। नयाँ वर्षको १ तारिकदेखि ३ दिनसम्म, भगवानलाई स्वागत गरेर, वर्षभरि राम्रो बाली र परिवारको सुरक्षाको कामना गरिन्छ। त्यसैले नयाँ वर्षमाचुल्हो बाल्नवाआगो प्रयोग गरिंदैन। साथै, खाना पकाउने व्यक्तिलाई आराम दिने उद्देश्यले भान्साको काम घटाउन, नयाँ वर्षको केही दिन अगाडि नै 【ओसेची र्योउरी】 तयार गरिन्छ। चिसो हुँदा पनि स्वादिलो हुने र लामो समयसम्म टिक्ने गरी विशेष रूपले 【ओसेची र्योउरी】 तयार पारिन्छ।
【ओसेची र्योउरी】को प्रत्येक परिकारमा शुभ संकेत वा कामना समावेश गरिएको हुन्छ। ओसेची खानाका सामग्रीहरू क्षेत्र अनुसार फरक हुन सक्छन्, तर समग्रमा करिब २० देखि ३० प्रकारका परिकारहरू समेटिन्छन्। विभिन्न प्रकारका सामग्री र परिकारहरू स्वाद लिन सकिने कुरामा 【ओसेची र्योउरी】 को विशेषता छ। "नयाँ वर्षमनाउने ३ परिकारहरु" सन्तानको वृद्धि, स्वास्थ्यको दीर्घायु, र राम्रो उत्पादनको प्रतीकहुन्। यसमा, "मदिरासँग खाने परिकार," "समुद्री खानाबाट बनेको ग्रिल परिकार," "सागपात तरकारीको परिकार" र "अचार" गरी ५ प्रकारका परिकारहरू समाबेश हुन्छन्।
ज्युबाको अर्थात् खाना राख्ने बक्समा कुन तहमा कुन परिकार राख्ने भन्ने पनि निर्धारित गरिएको हुन्छ। परम्परागत रूपमा, पाँच तहको ज्युबाकोमा परिकारहरू राखिन्छ। क्षेत्र अनुसार समावेश गरिने परिकार फरक हुन सक्छन्। पहिलो तहमा" नयाँ वर्षको शुभकामना दिने ३ परिकार" र "मदिरासँग खाने परिकार" राखिन्छ। दोस्रो तहमा,"ग्रिल परिकार"। त्यस्तै तेस्रो र चौथो तहमा, "सागपात तरकारीको परिकार" र "अचार"। पाँचौं तह चाहिं, भाग्य भर्ने ठाउँको रूपमा खाली राखिन्छ।
हालैका वर्षहरूमा, तीन तहको ज्युबाकोप्रयोग गर्ने चलन बढ्दो छ। पहिलो तहमा "नयाँ वर्षको शुभकामना दिने ३ परिकार" र "मदिरासँग खाने परिकार" राखिन्छ। दोस्रो तहमा, " ग्रिल परिकार" र "अचार"। तेस्रो तहमा, "सागपात तरकारीको परिकार" राखिन्छ।
"नयाँ वर्षको शुभकामना दिने ३ परिकारहरु" मा, कुरोमामे: मीठो बनाएर पकाइएको कालो भटमास। खाजुनोको: निसिन माछाको अण्डा नुन राखेर तयार पारिएको परिकार। ताजुकुरी: सुकेको इवासीको साना माछाहरु भुटेर, त्यसमा चिनी, सोयासस र मिरिनले गुलियो र पिरो स्वाद दिने गरी बनाइएको परिकार। ताताकीगोबो जस्ता प्रमुख छन्।
"मदिरासँग खाने परिकारहरु"मा, कुरि किन्तोन: चेस्टनट र आलु प्रयोग गरेर बनाइएको गुलियो पेस्ट। कोहाकु कामाबोको: गुलाफी र सेतो रंगको माछाको पेस्ट। दातेमाकी: अण्डा र माछाको पेस्ट, चिनी मिसाएर पकाइएको परिकार। कोंबुमाकी: निसिनलाई कंबुमा मोलेर, कान्प्योले बाँधेर गुलियो र नरम पकाइएको परिकारहरु प्रमुख छन्।
त्यस बाहेक, राम्रो भाग्यको प्रतीक मानिने समुद्री खानाहरू जस्तै बुरी, ताई, र इसेइबी प्रयोग गरेर बनाइएको "ग्रिल परिकार", गाजर र मुला प्रयोग गरेर बनाइएको अमिलो खाना "कोहाकु नामासु", त्यस्तै, रेनकोन, सातोइमो, मुला, गाजर, र कोंन्याकु प्रयोग गरेर बनाइएको "सागपात तरकारीको परिकार" खाने गरिन्छ।
हरेक परिकारमा विशेष अर्थ र शुभकामना समेटिएको हुन्छ, र समय दिएर मिहिनेतका साथ 【ओसेची र्योउरी】तयार गरिन्छ । नयाँ वर्षमा विभिन्न शुभ संकेतले भरिएको 【ओसेची र्योउरी】 खाने परम्परा अझै पनि जापानी संस्कृतिको गहिरो छाप छ। 【ओसेची】 सम्बन्धी चलन क्षेत्र अनुसार फरक हुन सक्छ, तर आधुनिक समयमा 【ओसेची र्योउरी】मा पनि विविधतामा आएको छ। आफ्नो परिवारको शैली अनुसारको 【ओसेची र्योउरी】 बनाएर, वर्षभरि स्वास्थ्य र सुखको कामना गरौं।
नयाँ वर्ष २०२५ सबैको लागि सुखद रहोस्। तपाईंहरुको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु♡
2024.12.26[Thu] 09:00
अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)
【सीसाइड मोमोची ICE SKATING PARK】
श्रोताहरू, के तपाईंहरूले कहिल्यै आइस स्केटिङ गर्नुभएको छ? यो जाडो मौसमको विशेष गतिविधि हो। यस जाडोमा, फुकुओकाको प्रसिद्ध पर्यटकीय क्षेत्रमोमोचिहामामा, आइस्केटिङ पार्क "सीसाइड मोमोची ICE SKATING PARK" खुल्ला भएको छ।
यो पार्क २४ फेब्रुअरीसम्म मात्र खुल्ला रहने छ, र "फुकुओका टावर" अगाडि रहेको हरियाली पार्कमा स्केटिङ गर्न पाइनेछ। साथै, मौसम अनुसारका विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्।
२५ डिसेम्बरसम्म, मोमोचिमा पहिलो पटक आयोजना हुने क्रिसमस मार्केट हुनेछ। डिसेम्बर २८ देखि २०२५ को जनवरी १३ सम्म, द्वार, तोरि गेट, र पूजास्थलहरू जस्ता नयाँ वर्षको विशेष सजावटहरु हुनेछन्। १६ जनवरीदेखि २४ फेब्रुअरीसम्म, भ्यालेन्टाइन माहोल बनाउन हार्ट मोन्युमेन्ट स्थापना हुनेभएको छ।
त्यस अतिरिक्त, स्केटिङ सिक्ने कक्षाहरू र स्केट शोहरू पनि आयोजना हुनेछन्।
"सीसाइड मोमोची ICE SKATING PARK" को सञ्चालन समय बिहान ११:०० बजेदेखि राति ९ बजेसम्म हो। मौसमका कारण सञ्चालन समय परिवर्तन हुन सक्छ, त्यसैले जानुअघि आधिकारिक वेबसाइट जाँच गर्नुहोस्।
टिकट मूल्य, बयस्कका लागि १७०० येन र माध्यमिक तहका विद्यार्थीहरू वा सो भन्दा मुनिका लागि १२०० येन हो, जसमा जुत्ताको शुल्क समावेश छ।
बयस्क र बच्चा दुवैले रमाइलो गर्न सक्ने यो अवसर नछुटाउनुहोस्। यस जाडोमा, आइस स्केटिङको आनन्द लिन सीसाइड मोमोची मा अवश्य जानुहोस्!
シーサイドももち ICE SKATING PARK🔎https://fuk-sc.com/
【यो फुकुओका शरहको सूचना हो।】
“वर्षको समाप्ति र नयाँ वर्ष सुरक्षित र ढुक्क साथ बिताउनका लागि”
वर्षको अन्त्य र नयाँ वर्षमा प्रायः मदिरा पिउने अवसर धेरै हुन्छ।
मदिरा पिएपछि, आफैं वा अरू कसैलाई गाडी चलाउन कहिल्यै अनुमति दिनु हुँदैन।
मदिरा पिएपछि साइकल चलाउनु पनि कानुनले प्रतिबन्धित गरेको छ।
भोलिपल्ट बिहान मदिरा अलिकति पनि बाँकी छ भन्ने लागेको अवस्थामा सवारी चलाउन हुँदैन।
यस अतिरिक्त, वर्षको अन्त्यमा सडक दुर्घटनाको संख्या बढ्ने गर्दछ।
राति बाहिर निस्कँदा, चालकहरूले सजिलै देख्न सक्ने गरी उज्यालो लुगा वा राती चम्किलो देखिने लुगा लगाउनुस्।
साँझपख गाडी वा साइकल चलाउँदा छिट्टै बत्ती बाल्न नबिर्सनुहोस्।
अब, सामाजिक मिडिया मार्फत गरिने लगानी ठगी र रोमान्स ठगीबारे जानकारी गराउँदै छु।सामाजिक मिडिया वा डेटिङ एप्स मार्फत चिनजान गरिएका मानिसहरूबाट वा चर्चित व्यक्तिका रूपमा प्रस्तुत भई लगानी गर्न सुझाउनेहरूबाट ठगीका घटनाहरू बढिरहेका छन्।यस्ता ठगीबाट जोगिनका लागि
१. सामाजिक मिडिया वा इन्टरनेटमा गरिने लगानीको आग्रहमा सजग रहनुहोस्।
२. प्रत्यक्ष रूपमा भेट नभएका व्यक्तिले तपाईंलाई पैसासँग सम्बन्धित कुरा गरे भने, त्यो ठगी हुन सक्छ भनेर शङ्का गर्नुहोस्।
३. "निश्चित रुपमा लाभ हुन्छ", "मूलधनको ग्यारेन्टी" जस्ता शब्दहरू प्रयोग गरेर गरिने लगानीको आग्रह ठगी हो।
यी तीन कुराहरुमा ध्यान दिनुहोस्।
अर्को कुरा, बाहिर हिंड्दा वा साइकल चलाउँदा धूम्रपान नगर्नुहोस्।वरपर मानिस भएको बेला बाहिर धूम्रपान नगर्नुहोस्। तपाईंहरुको सहकार्यको अनुरोध गर्दछौं।
आफू र आफ्ना प्रियजनहरुलाई सुरक्षित राख्दै रमाइलो नयाँ वर्ष मनाउनुहोस्।
2024.12.19[Thu] 09:00
अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)
【फोहोर फाल्न प्रयोग गर्न मिल्ने रेजिझोला "फुकुरेजि"】
वर्षको अन्त्य र नयाँ वर्षको तयारीका लागि किनमेलको आवृत्ति र परिमाण बढ्ने यो समयमा, तपाईँले आफ्नो "माई ब्याग" बिर्सनु भएको अवस्थामा वा ल्याएको माई ब्याग पर्याप्त नहुने अवस्थामा प्रयोग गर्न मिल्ने "रेजि ब्याग" को बारेमा थाहा पाउनु भएको छ? फुकुओका शहरभित्रका कनभिनि, सुपरमार्केट, ड्रगस्टोर आदिका रेजि काउन्टर नजिकै, फोहोर फाल्न प्रयोग गर्न मिल्ने रेजिझोला "फुकुरेजि"बिक्रीमा उपलब्ध छ।
अन्तिम वर्षहरूमा, रेजिझोलाको शुल्क लाग्न थालेपछि माईब्यागको प्रयोगको विस्तार भएको छ। तर, प्लास्टिक फोहोरमध्ये एक हुने रेजि ब्याग अझै पनि फुकुओका शहरमा वार्षिक करिब २,६०० टन फ्याँकिएको तथ्य पत्ता लागेको छ। यसै कारण, किनमेलको समयमा रेजि ब्यागको प्रयोग घटाउनका लागि एउटा नयाँ विकल्पको रूपमा, फुकुओका शहरमा फोहोर फाल्दा प्रयोग गर्न मिल्ने रेजिझोला "फुकुरेजि"को शुरुवात गरिएको छ।
माई ब्याग बिर्सनु भएको बेला वा अचानक किनमेलको अवस्थामा रेजि ब्याग किन्ने आवश्यकता परेमा, प्लास्टिक फोहोर घटाउने र रेजि ब्यागको खर्च जोगाउने "फुकुरेजि" लाई रोज्नुहोस्।
फुकुरेजि, १५ लिटरको १५ येन तथा १० लिटरको १० येन गरि २ प्रकारको साइजहरुमा उपलब्ध छ। रेजिझोलाको रूपमा प्रयोग गरेपछि, त्यसलाई घरेलू फोहोर फाल्दा, जल्ने फोहोरको झोलाको रुपमा प्रयोग गर्न सकिन्छ। नियमित फोहोर निकाल्ने बेला जस्तै, फुकुओका शहरले तोकिएको समय र स्थानमा फोहोर फ्याँक्न सकिन्छ।
झोलाको डिजाइन कलाकार इफुकु खाजुहिकोले ल "मानिस र प्रकृतिप्रति सहानुभूतिका भावनाले सिर्जना गर्ने 'सहानुभूतिको चक्र'"लाई चित्रित गरेर तयार गर्नुभएको हो।
प्लास्टिक फोहोर घटाउनका लागि, कनभिनि, सुपरमार्केट, ड्रगस्टोरमा रेजिझोलाको आवश्यकता पर्दा, "फुकुरेजि" लाई रोज्नुहोस्।
【यो फुकुओका शरहको सूचना हो।】
“नयाँ वर्षको बिदाहरुमा वार्ड अफिस काउण्टर अनि फोहोर फाल्ने दिनसम्बन्धि सूचना”
नयाँ वर्षको बिदाहरुमा, वार्ड अफिसको काउण्टर र फोहोर फाल्ने दिन परिवर्तन हुने भएकाले, कृपया ध्यान दिनुहोला।वार्ड अफिसको काउण्टर, डिसेम्बर २८ (शनिबार) देखि जनवरी ५(आइतबार) सम्म बन्द रहनेछ।
नयाँ वर्षको बिदाहरुको अघिपछि वार्ड अफिसको काउण्टर भीड हुने भएकोले, धेरै समय राखेर जाने गरौँ।
डिसेम्बर ३१ (मङ्गलबार) देखि जनवरी ३ (शुक्रबार) सम्म, फोहर संकलन हुनेछैन।
जल्ने फोहरको मात्र संकलन, डिसेम्बर ३० (सोमबार) सम्ममा हुनेछ।
नयाँ बर्षको जनवरी ५ (आइतबार) बाट संकलन पुनः शुरु हुने हुनाले तोकिएको बारमा फोहर बाहिर राख्नुहोस्।
सँधै मंगलबार र शुक्रबार फोहर संकलन हुने क्षेत्रहरुमा, त्यसको सट्टा जनवरी ४ (शनिबार) मा संकलन हुनेछ।
नजल्ने फोहर तथा खाली सिसाको बोतल, प्लास्टिकको बोतल फाल्नका लागि,
जनवरी १ (बुधबार) मा संकलन हुने क्षेत्रमा डिसेम्बर २९ (आइतबार) मा र
जनवरी २ (बिहीबार) मा संकलन हुने क्षेत्रमा डिसेम्बर ३० (सोमबार) फोहर बाहिर राख्नुहोस्।
त्यसैगरी, ठूलो आकारका फोहरको काउण्टर तथा संकलन, डिसेम्बर २९ (आइतबार) देखि जनवरी ३ (शुक्रबार) सम्म बन्द हुनेछ।
फोहोर बाहिर राख्ने बारेमा जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने, अनुवाद सेवा केन्द्रमा फोन गरेर आफ्नो वार्ड कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।
फोन नम्बर (०९२-७५३-६११३) हो।
कृपया आफू बस्ने वार्ड र फोहोर बाहिर राख्ने सम्बन्धी सोधपुछको बारेमा भन्नुहोस्।
समय, ९:०० बजेदेखि १७:०० बजेसम्म।शनिबार, आइतबार, सार्वजनिक बिदा, र डिसेम्बर२९ देखि १ जनवरी ३ बन्द हुनेछ।