福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2025.12.04[Thu] 09:00
【फुकुओका अन्तर्राष्ट्रिय म्याराथन】
फुकुओकाको जाडोयामको विशेष आकर्षण, "फुकुओका अन्तर्राष्ट्रिय म्याराथन" डिसेम्बर ७, यसै आइतबार आयोजना हुँदैछ।
यो सन् १९४७ देखि आयोजना हुँदै आएको विश्व एथलेटिक्सबाट मान्यता प्राप्त पुरुषहरूको फुल म्याराथन प्रतियोगिता हो। यो प्रतियोगिता "आइची/नागोया २०२६ एसियाली खेलकुद" र "लस एन्जलस २०२८ ओलम्पिक" का लागि पुरुषतर्फको जापानी राष्ट्रिय टोली चयन गर्ने प्रतियोगिताहरूमध्येको एक हो। यसमा स्वदेश तथा विदेशबाट कुशल धावकहरू फुकुओकामा भेला हुनेछन्।
धावकहरू फुकुओका शहरको च्युओ क्षेत्रको हेइवादाई एथलेटिक्स रङ्गशाला र ओहोरी पार्कबाट दिउँसो १२:१० बजे दौड सुरु गर्नेछन्। उनीहरू फुकुओका शहरको दक्षिण-पश्चिम भागमा घुमेर, हिगासी वार्डको खासीमा फर्किएर पुन: हेइवादाई एथलेटिक्स रङ्गशालामै फर्किने मार्गमा दौडनेछन्।
केगो, याकुइन र हाकाता स्टेशन अगाडि जस्ता शहरका मुख्य भागहरू हुँदै यो दौड अघि बढ्ने भएकाले, तपाईंले विश्वका शीर्ष धावकहरूको उत्साहपूर्ण दौड नजिकबाट हेर्न सक्नुहुन्छ।
साथै, JR हाकाता स्टेशन अगाडिको हाकातागुची चोकमा विगतका विजेताहरूको खुट्टाको छाप र हस्ताक्षरसहितको प्लेट प्रदर्शनमा राखिएको छ।
कृपया ध्यान दिनुहोला: प्रतियोगिताको दिन JR हाकाता स्टेशन अगाडि लगायत शहरको केन्द्र भागमा रहेको दौड मार्ग वरपरका सडकहरूमा यातायात आवागमन नियन्त्रण गरिनेछ।
आउनुहोस्, सडकको छेउबाट खेलाडीहरूलाई उत्साहपूर्ण शुभकामना दिऔं!
【फुकुओका शहर / फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
“विश्व मानव अधिकार दिवस र मानव अधिकार सप्ताहबारे”
"मानव अधिकार" भनेको प्रत्येक व्यक्तिले जन्मदेखि नै पाएको "मानव भएर मानव सरह बाँच्ने" अधिकार हो।
डिसेम्बर १० लाई "विश्व मानव अधिकार दिवस" को रूपमा मनाइन्छ, र यो जापानमा मात्र नभई विश्वभरि नै "मानव अधिकार" बारे चिन्तन गर्ने दिन हो।
डिसेम्बर ४ देखि १० सम्म "मानव अधिकार सप्ताह" हो, र फुकुओका शहरमा पनि मानव अधिकारको सम्मान हुने र भेदभावमुक्त, बस्न योग्य फुकुओका शहरको लक्ष्य राख्दै यसलाई"मानव अधिकार सम्मान सप्ताह" को रूपमा मनाउँदै आइरहेको छ।
जसरी तपाईं आफैं एक अमूल्य अस्तित्व हुनुहुन्छ, त्यसरी नै अरू मानिसहरू पनि अमूल्य अस्तित्व हुन्। यो हप्ता हरेक व्यक्ति महत्त्वपूर्ण छन् भन्ने कुरा बुझ्ने एउटा महत्त्वपूर्ण समय हो। SDGs ले अघि सारेको "कसैलाई पनि पछाडि नछोड्ने" समाज हासिल गर्नका लागि, महिला, बालबालिका, ज्येष्ठ नागरिक, विदेशी, अपाङ्गता भएका व्यक्ति आदिलाई लिएर गरिने भेदभाव र पूर्वाग्रहलाई हटाएर एक-अर्काको मानव अधिकारको सम्मान गर्नु आवश्यक छ। तपाईंहरू पनि एकपटक "दयालु मन" र "अमूल्य जीवन" बारे विचार गरेर हेर्दा कसो होला!
शिशु तथा साना बालबालिकासँगको अन्तरक्रियात्मक कक्षा- “याराना हिरोबा” को जानकारी
शिशु तथा साना बालबालिकाका अभिभावकहरू, के तपाईंहरू घुम्ने ठाउँ खोजिरहनुभएको छ?
हाकाता वार्डमा रहेको नाराया सामुदायिक हल (याराना हिरोबा) मा हरेक महिना अभिभावक र बालबालिका मिलेर खेल्नका लागि "शिशु तथा साना बालबालिकासँगको अन्तरक्रियात्मक कक्षा" आयोजना भइरहेको छ!
डिसेम्बर महिनाको विषय हो, मनलाई खुसी तुल्याउने "क्रिसमस पार्टी"।
मिति: डिसेम्बर ९, मङ्गलबार । समय: बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म ।
चित्र पुस्तक, गीत र स्टिकर खेलहरूबाट अभिभावक र बालबालिकाले सँगै रमाइलो समय बिताऔं!
आवेदन गर्ने तरिका लगायत विस्तृत जानकारीका लागि, “फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको” को फेसबुक हेर्नुहोस्। हामी तपाईंहरूको सहभागिताको प्रतीक्षामा छौं!