ブログ

ポッドキャスト

ポッドキャスト RSS

2022.10.13[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【बसाईसराई दिवस】

अक्टोबर १३ "बसाईसराई दिवस" हो।

सन् १९६८ मा सम्राट मेइजीको क्योटोबाट टोकियोको आगमनको सम्झनामा यो दिवस सिर्जना भएको थियो।

सम्राट मेइजीको बसाईसराईमा, हजारौं मानिसहरू पनि सँगसँगै क्योटोबाट टोकियोतिर लागेका थिए र यस बीचमा, मेइजीको बासिन्दाहरुलाई पैसा र उपहारहरू बाँड्ने आदि भव्य रूपमा सम्पन्न भएको देखिन्छ। फलस्वरूप, जापानको राजधानी क्योटोबाट टोकियोमा सारिएको थियो।

यस बसाईसराईको ५० औं वार्षिकोत्सवको सम्झनामा, जापानको पहिलो एकिडेन अर्थात् रिले दौड

आयोजना गरिएको थियो। यो दौड क्योटोमा सुरु भई टोकियोमा समाप्त हुने लामो दूरीको रिले दौड थियो। यसरी सम्राट मेइजीको बसाईसराईबाट वर्तमान एकिडेन अर्थात् रिले दौडको शरुवात भएको थियो।

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

"विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?

अक्टोबर २९ शनिबार, १ बजेदेखि "विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” Fukuoka City Science Museum को Science Hall मा आयोजना हुन गईरहेको छ।

फुकुओका महानगर क्षेत्रमा रहेका जापानी भाषा कक्षाका विद्यार्थी र जापानी भाषा स्कूलका विद्यार्थीहरूले, फुकुओकामा बसेर महसुस गरेको कुरा वा भविष्यको सपना आदि, स्वतन्त्र रुपले कुनै विषयवस्तुमा जापानी भाषामा वक्तव्य दिनेछन्।

प्रतियोगीहरुको दैनिक अध्यनको प्रतिफल सुन्न, अवश्य आउनुहोला।

सहभागीताको लागि बुकिंग गर्न आवश्यक छ। "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन"को होमपेजबाट बुकिंग गर्न सकिन्छ।

सोधपुछको लागि,

सार्वजनिक हित समावेशी फाउन्डेसन, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिताको कार्य समितिको फोन नम्बर ०९२-२६२-१७४४ मा सम्पर्क राख्नुहोस्।

 

 

विदेशी भाषा समाचार पत्र "FCIF" शरद ऋतु संस्करण प्रकाशनको सूचना

फुकुओकामा बस्दै, जीवनयापन गरि रहनु हुने विदेशीहरूप्रति लक्षित, जीवनयापन सम्बन्धि जानकारी वा जापानी संस्कृति, कार्यक्रमहरू आदिको बारेमा जानकारी दिने विदेशी भाषा समाचार पत्र "FCIF", प्रत्येक तीन महिनामा अंग्रेजी, चाइनिज र कोरियन भाषामा प्रकाशन भईरहेको छ।

अक्टोबरमा प्रकाशित "FCIF" शरद ऋतु संस्करणको विषयवस्तु रहेको छ, "फुकुओकामा कलाको आनन्द लिऔं"।

फुकुओकामा कलाको आनन्द लिन सकिने स्थलहरु र कार्यक्रमहरूको जानकारी लगायत, फुकुओकामा बस्दै आउनु भएका विदेशीहरुसँगको अन्तर्वार्ता र जीवनयापनका लागि उपयोगी जानकारीहरू पनि समावेश हुने भएकोले, अवश्य पढ्नुहोला!

https://www.fcif.or.jp/

2022.10.06[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【खेलकूद खेल्नुहुन्छ?】

तपाईंहरु हरेक दिन खेलकूद खेल्नुहुन्छ?

रिमोट वोर्कको बृद्धिको कारण, दिनभरि कोठामा बस्ने महानुभावहरु पनि हुनुहुन्छ होला।

लामो समय कुर्सीमा बस्नाले मांशपेसीको स्तर खस्कँदै गई शरीर दुखेर आउने हुनाले, समय छुट्टाएर, शरीर तन्काउने आदि जस्ता प्रयास गरी हेर्नु राम्रो हुन्छ।

लिफ्टको सट्टा भर्याङको प्रयोग गर्ने, काममा जाँदा हिड्ने आदि जस्ता सानो विचारले पनि शारीरिक ब्यायाममा मद्दत पुग्छ।

बरु, साँझमा हिँड्न वा दौडन बाहिर जानुहुँदा, कार, मोटरसाइकल र साइकलदेखि सावधान रहनुहोस्।

आफूले वरपरको हेर्न गाह्रो हुँदा, तपाईंको वरपरकाले पनि तपाईंको उपस्थिति बुझ्न गाह्रो हुन्छ, जसले गर्दा ट्राफिक दुर्घटना आदिमा पर्न सक्ने जोखिम बढ्छ। विशेष गरी यस मौसममा, सूर्य चाँडै अस्ताएर साँझ चाँडै अँध्यारो हुने भएकोले, थप सावधान रहनु आवश्यक छ।

त्यसैले, चम्किलो रङको लुगा लगाउने, प्रकाश प्रतिबिम्बित गर्ने सामग्री (रिफ्लेक्टिभ सामग्री) वा LED लाइट आदिको प्रयोग गर्नु राम्रो हुन्छ।

 

 

【फुकुओका शहरको सूचना】

Myojo Waraku 2022 को बारेमा

अक्टोबर १२ (बुधवार) देखि अक्टोबर १५ (शनिबार) सम्म फुकुओका शहरमा आयोजना हुने कार्यक्रम,

"Myojo Waraku 2022" को बारे जानकारी छ!

Myojo Waraku, प्रविधि र रचनात्मक कार्यहरुमा संलग्न व्यक्तिहरू भेला हुने फेस्टिवलको रुपमा, २०११ मा शुरु भएको थियो।

यो, सामान्यतया भेटघाट नहुने विभिन्न विधाका व्यक्तिहरू, उमेर वा पदको अन्तर नगरी अन्तरक्रिया गरेर,

नयाँ चीज र कुराहरूको सिर्जना गर्ने इभेन्ट हो।

यस वर्षको कार्यक्रमको विषयवस्तु रहेको छ, "GENTEN" , अर्थात् शरुवाती बिन्दु ।

सन् २०१२ को Myojo Waraku मा, फुकुओका शहरले स्टार्टअपहरूलाई समर्थन गर्न शुरु गरेको, "स्टार्टअप सिटी फुकुओका" को घोषणा गरेकोबाट १० औं वार्षिकोत्सवको स्मरणमा, विभिन्न दृष्टिकोणबाट शुरुवाती बिन्दुलाई पछाडी फर्केर हर्ने हेतुले Talk session पनि आयोजना गरिनेछ।

 

"स्टार्टअप सिटी फुकुओका" घोषणाको १० औं वार्षिकोत्सव मनाउने Talk session मा, हालसम्मको फुकुओका शहरको स्टार्टअप दृश्यको १० वर्षलाई पछाडी फर्केर हेर्दै, इकोसिस्टमको विकासलाई मनन गर्दै, आउँदो भविष्यको बारेमा कुराकानी गरिनेछ।

थप रूपमा, कला र रचनात्मक विषयवस्तुको कार्यक्रमहरू र शिविरहरूमा वर्कशप आदि विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने योजना पनि रहेको छ।

कार्यक्रमको बिस्तृत जानकारीको लागि, "MYOJOWARAKU2022" भनि खोजेर, आधिकारिक होमपेजमा हेर्नुहोला।

https://myojowaraku.net/

2022.09.29[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

अशोक शाही

(अशोक बारका मालिक)

https://www.facebook.com/people/Ashoks-Bar/100079710802295/

2022.09.22[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【स्वादिष्ट नाशपाती】

स्वादिष्ट र रसिलो फल, नाशपाती अर्थात् जापानी भाषामा नाशी।

फुकुओका प्रिफेक्चरमा, जुलाईदेखि नोभेम्बरसम्म नाशपातीको बेचबिखन हुने गर्छ।

 

आउँदो मौसममा, पसलमा किन्न सकिने नाशपातीहरू भन्नाले "आकिजुकी", "निइटाका", र "शिन्कोउ" जस्ता नाशपातीहरू हुन्।

स्वादिलो नाशपाती छान्ने तरिकामा, पोष्ट, कडा, भारीपन भएको, र आकार ठूलो भएको नाशपातीलाई सबैभन्दा उत्तम मानिन्छ।

 

साथै, भण्डारण गर्दा, यसलाई सुक्न नदिन प्लास्टिकको झोलामा हालेर, हावा नजाने गरि राम्रोसँग कसाएर , फ्रिजमा राख्नुपर्छ। लगभग १ देखि २ हप्तासम्म स्वादिष्ट रूपमा खान सक्नुहुन्छ।

नाशपातीको गुलियोमा क्यालोरी कम हुने भएकोले दाँतमा किरा लाग्ने सम्भावना कम हुन्छ भनिन्छ।

त्यसैले, बेलुकाको खाना पछि यसलाई डेजार्टमा खाएर हेर्दा कसो होला!

 

 

【फुकुओका शहरको सूचना】

क्षयरोग रोकथाम सप्ताहको बारेमा

सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म क्षयरोग रोकथाम सप्ताह हो।
क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा जलन हुन्छ।
यो एक सरुवा रोग हो।
२०२१ मा, फुकुओका शहरमा १३८ नयाँ क्षयरोग बिरामीहरु पाईएका थिए।
क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, खकारमा रगत, छाती दुख्ने, अस्वस्थता, राती पसिना, र तौल घट्नु आदि समावेश छन्। शुरुका लक्षणहरू रुघाको जस्तै देखिन्छन्।
"खोकी २ हप्ता भन्दा बढि रहेमा", "खकार निस्केमा", "शरीर गलेमा", "अचानक तौल घटेमा" आदि केहि लक्षणहरु देखा परेमा, तुरुन्तै चिकित्सालयमा परामर्श लिनुहोस्।
प्रारम्भिक पहिचान र उपचारले रोगलाई गम्भीर हुनबाट बचाउने मात्र नभई, परिवारका सदस्य, साथीभाई र कार्यस्थल आदिमा संक्रमण रोकथाम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

क्षयरोग, सँधै संक्रमित भएको कारणले मात्र विकसित हुँदैन।
यदि शरीरको प्रतिरोधात्मक क्षमताले क्षयरोग ब्याक्टेरियालाई नियन्त्रण गर्न सकेन भने,
यो समयसँगै बढ्न र विकास हुन सक्छ।

संक्रमण र रोग रोक्नको लागि पर्याप्त निद्रा, सन्तुलित आहार, मध्यम व्यायाम, आदि दैनिक स्वास्थ्य हेरचाह प्रभावकारी हुन्छ।

साथै, क्षयरोग लागि हाल्यो भने पनि, डाक्टरको निर्देशन अनुसार, हरेक दिन उचित औषधि सेवन गरी यसबाट छुटकारा पाउन सक्नुहुन्छ।

फुकुओका शहरमा, Fukuoka City Medical Interpreting Call Center छ, त्यहाँ अस्पताल खोज्नको लागि फोन मार्फत सल्लाह लिन सक्नुहुन्छ।
फोन नम्बर रहेको छ, ०९२-७३३-५४२९ ।
२० भाषाहरुमा यो सेवा उपलब्ध भएकोले, अप्ठ्यारो पर्दा अवश्य पनि परामर्श लिनु होला।

 

2022.09.15[Thu] 09:00

समुदाय(コミュニティ)

【टाइफुन अर्थात् समुन्द्री आँधीदेखि सावधान】

सेप्टेम्बर महिना शक्तिशाली समुन्द्री आँधी आउने सम्भावना हुने समय हो।

समुन्द्री आँधी नजिक आउँदै छ भन्ने समाचार वा मौसम जानकारी सुन्नुभएमा वा देख्नुभएमा,

विपद्को पूर्व तयारीलाई फेरि एकपटक जाँच गर्ने गरौं।

बिजुली वा पानीको आपूर्ति बन्द हुँदा वा पसलहरु बन्द हुँदा आदिको समयका लागि पूर्व तयारीमा, कम्तिमा पनि ३ दिनको लागि पुग्ने गरि खानेकुरा र पिउने पानी, स्टूल ब्याग जस्तो पोर्टेबल टोइलेट, टर्च लाइट, पोर्टेबल रेडियो, मोबाइल ब्याट्री, क्यासेट ग्याँस चुलो आदि जस्ता सामानहरु तयार गरी राख्नु राम्रो हुन्छ।

साथै, शक्तिशाली हावा आउनु अगाडि नै बगैचा र बरन्डा आदिमा रहेको उडाउन सक्ने सामानहरु कोठाभित्र सार्ने वा नउडाउने गरि फिक्स गरेर राख्ने गरि हाल्नुहोस्।

विद्यालय र सामुदायिक भवनहरू जस्ता आश्रय स्थलहरूको रूपमा तोकिएका ठाउँहरूमा जाने मार्गहरू अग्रिम रुपमा जाँच गरि राख्नुहोस्, साथै नियमित रूपमा आफ्नो परिवारसँग आश्रय स्थल र सम्पर्क गर्ने विधिहरू आदिको बारे छलफल गर्ने गरौं!

 

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

कानूनी परामर्शको परिचय

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि हरेक महिनामा दुई पटक निःशुल्क “कानूनी परामर्श” प्रदान गर्दै आईरहेको छ।

 

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट, बुकिंगको आधारमा वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।

भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकाले ढुक्क भएर परामर्श लिनुहोस्।

बिस्तृत जानकारीका लागि, फोन नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान पौने ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।

 

LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Accountमा, LINE कल प्रयोग गरि टेलिफोन मार्फत् जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शहरू आदिका लागि सम्पर्क गर्न सक्नुहुन्छ।

 

पहिले जस्तै, टेलिफोन दोभाषे सेवामा २२ वटा बहुभाषी सेवा सम्भव छ।

 

साथै, फुकुओका सिटी इन्टरनेशनल फाउन्डेशनको कार्यक्रमहरूको जानकारी तथा बिदेशी नागरिकहरु सम्बन्धित जानकारीहरु आदि प्राप्त गर्न सकिने हुनाले, अवश्य पनि LINE मा Friend add गर्नुहोला!

तर, च्याटमा सेवा उपलब्ध छैन। Text मार्फत् परामर्श लिन चाहनुहुन्छ भने, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको" होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

 

थप जानकारीका लागि फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेर्नुहोला।

2022.09.08[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【खानाको पारखीहरुको दिवस】

सेप्टेम्बर १४ "खानाको पारखीहरुको दिवस हो"। जापानी भाषामा Kui-shin-bou no hi भनिन्छ।

Kui-shin-bou को अर्थ तपाईहरुलाई थाहा छ? Kui-shin-bou भन्नाले खान मन पराउने व्यक्ति वा अर्को शब्दमा भन्ने हो भने खानाको पारखीलाई जनाउँछ।

विश्वभरका खानाका पारखीहरुका लागि विभिन्न किसिमका खानाहरुलाई प्रस्ततु गर्ने पत्रिका "Dancyu" प्रकाशन गर्ने कम्पनि President Inc. खोलिएको थियो।

खानालाई थप स्वादिष्ट र रमाइलो बनाउने सँगसँगै उत्पादक र शेफ आदि व्यक्तिहरूलाई कृतज्ञता दर्शाउन नबिर्सने उद्देश्यले, यो २०२१ मा दर्ता गरिएको थियो।

फुकुओका शहरमा धेरै किसिमका स्वादिष्ट परिकार र खाद्य सामग्रीहरू पाईन्छन्। यहाँ जापानी मात्र नभई, नेपाली र विदेशी रेष्टुरेन्टहरु पनि बढेको देखिन्छ। तपाईंहरु पनि जापानी र बिभिन्न देशका खानाहरुको आनन्द लिनुका साथै कहिलेकाहिँ, नेपालको सम्झना आउँदा, आफ्नो बाल्यकालमा खानु भएको खाना पकाएर खानु हुँदा कसो होला?

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

हाल, तेस्रो पटक र चौंथो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

यी दुबै, दोस्रो पटक वा तेस्रो पटकको खोप लिनुभएको ५ महिना पूरा हुने समयतिर खोप कुपन हुलाक मार्फत् पठाउने गरिएको छ।

चौथो पटकको खोपका लागि लक्षित बर्गमा, ३ पटक खोप लगाई सक्नुभएका, ६० वर्ष वा सोभन्दा माथिका र १८ देखि ५९ वर्ष उमेर पुगेकाहरु मध्ये, अन्तर्निहित रोग भएका महानुभावहरु, चिकित्साकर्मीहरू, तथा वृद्ध र असक्त व्यक्तिहरूको हेरचाह सम्बन्धित काम गर्नुहुने कर्मचारीहरु पर्दछन्।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

खोप कुपन पाउनु भएन भने, कल सेन्टरमा फोन गर्नुहोला।

अन्तर्निहित रोग भएका व्यक्तिहरूका लागि पनि दर्ता स्वीकार गर्छौं।

५ देखि ११ वर्षका बालबालिकाहरुलाई पनि खोप दिईरहेको छ।

विदेशबाट फुकुओका शहरमा आउनुभएका महानुभावहरुले यदि खोप लगाउन चाहनुहुन्छ भने,

खोप कुपन जारीको लागी निबेदन दिन आवश्यक छ।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श, बुकिंग र खोप कुपन जारीको बारेमा बुझ्न सम्पर्क गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ ।

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

नेपाली, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

Fukuoka Prize को बारेमा

फुकुओका शहरले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्‍याउने व्यक्तिहरुलाई Fukuoka Prize ले सम्मान गर्दै आईरहेको छ। यस वर्षको ३२औँ Fukuoka Prize का विजेताहरुमा,

The Grand Prize को विजेतामा, ताइको ड्रमर Eitetsu Hayashi,

The Academic Prize मा, कला र इतिहासविद Timon Screech र

The Arts and Culture Prize मा, कलाकार Shahzia Sikander छनोट भएकी छन्।

 

सेप्टेम्बरमा, यी तीन सम्मान्नित विजेताहरू फुकुओकामा भेला हुनेछन्, र प्रत्येकको Public lecture आयोजना हुनेछ। विशेष गरी, The grand prize बिजेता Eitetsu Hayashi को Public lecture मा, उहाँको उत्कृष्ट ताइको प्रदर्शनीलाई निःशुल्क रूपमा कदर गर्न सक्ने उल्लेखनीय कार्यक्रमको रुपमा रहेको छ। यस बाहेकका Public lecture हरूमा पनि, Edo कला र समकालीन कलासँग नजिक हुन पाउने विशेष अवसरको रुपमा रहेका छन्।

सबैमा निःशुल्क सहभागी हुनसक्नुहुन्छ साथै, पछि अनलाइनमा पनि हेर्न सक्नुहुन्छ। हेर्नका लागि कृपया अनलाईनमा साइन अप गर्नुहोला।

 

कार्यक्रमको बिस्तृत जानकारीका लागि, कृपया "Fukuoka Prize" भनि खोजी, Fukuoka Prize को आधिकारिक होमपेजमा हेर्नुहोला।

https://fukuoka-prize.org/en/

2022.09.01[Thu] 09:00

प्राकृतिक प्रकोप(災害)

【विपद् रोकथाम दिवस "विपद् आइपर्दा आश्रय लिन जाने बारे】

प्रत्येक वर्ष सेप्टेम्बर १ "विपद् रोकथाम दिवस" ​​हो।

आजको कार्यक्रममा, "विपद् आइपर्दा आश्रय लिन जाने बारे" सँगै विचार गरेर हेरौं।

 

आश्रय लिन जानु भनेको खतराबाट बच्नु हो।

विपद्को समयमा, सुरक्षा सुनिश्चित हुन सकिने स्थानको बारेमा अग्रिम रुपले जानकारी राख्ने गरौं।

 

भारी वर्षाको जोखिमको पुनःअनुमानित हुँदा वा वास्तवमै भारी वर्षा हुँदा आदि, खतराको प्रबल सम्भावनाको अवस्थामा, खतराजनक ठाउँहरू वा त्यस वरपरका मानिसहरूले फुकुओका शहरबाट आश्रय लिन जाने बारे जानकारी जारी नगरेको भएता पनि, तुरुन्तै खाली गर्न सकिने गरि तयारी गरि राखौं  र आफ्नो सोचबूझले  आश्रय लिन जाने बारे विचार गर्नुहोस्।

 

"खतराजनक ठाउँहरू" भन्नाले, पहाड र नदी नजिकका क्षेत्रहरू, बाढीको जोखिम भएका क्षेत्रहरू आदि, बाढीपहिरोको जोखिम हुने क्षेत्रहरू हुन् ।

 

"खतराजनक ठाउँहरू" फुकुओका शहरको होमपेज "फुकुओका शहरको बिस्तृत Hazard Map" मा जाँच गर्न सक्नुहुन्छ।

"Hazard Map" मा, तपाईंको घर नजिकको आश्रय स्थल वा आश्रय क्षेत्रको बारेमा पनि जाँच गर्न सक्नुहुन्छ।

 

फुकुओका शहरले स्थापना गरेको आश्रय स्थलमा मात्र नभई, सुरक्षा सुनिश्चित हुने भएमा, आफन्त तथा चिनजानका घर, होटल आदि पनि आश्रय स्थल बन्न सक्छ।

विशेष गरी नयाँ कोरोनाभाइरसको संक्रमण जारी रहेको अवस्थामा, यस किसिमको "विकेन्द्रीकृत आश्रय" महत्त्वपूर्ण छ।

 

साथै, पहिरो वा बाढीको जोखिम नभएको "सुरक्षित स्थान" मा हुनेहरुले, घरमै बसेर आफ्नो सुरक्षा सुनिश्चित गर्नुहोस्।

 

"सुरक्षित स्थान" भन्नाले, विगतमा कुनै पनि विपत्तिहरू नभएको भन्न खोजेको चै होइन।

त्यसैले, यदि अलिकति मात्र पनि असुरक्षित महसुस भएमा, अर्को स्थानमा जानका लागि तयार हुनुहोस्।

 

साथै, आपतकालीन अवस्थामा आश्रयका लागि तुरुन्तै बाहिर निस्कन सक्ने गरी, आपतकालीन वस्तुहरू, पानी, खाना, मोबाइल फोन चार्जर, आवश्यक औषधि, औषधि नोटबुक अतिरिक्त नयाँ कोरोना भाइरस संक्रमण विरुद्धको उपायका रूपमा मास्क, sanitizer, थर्मोमिटर, प्लास्टिक पञ्जा, आदि सहित आपतकालीन झोला अग्रिम रुपमा तयारी गरी राख्ने गरौं।

 https://webmap.city.fukuoka.lg.jp/bousai/

 

【फुकुओका शहरको सूचना】

विपद् रोकथाम दिवस र भण्डारण प्रोत्साहन सप्ताहको बारेमा

अर्को जानकारी रहेको छ, भण्डारणको बारेमा।

भण्डारण वा जापानी भाषामा "बिचीकु" भन्नाले आपतकालीन समयका लागि, खानेकुरा आदि संचित गरेर राख्नु हो।

फुकुओका शहरमा, सेप्टेम्बर १ को "विपद् रोकथाम दिवस" देखि सेप्टेम्बर ७ सम्मको एक हप्तालाई "फुकुओका शहर भण्डारण प्रोत्साहन सप्ताह" भनेर तोकिएको छ।

घर वा कार्यस्थलहरुमा "भण्डारण" को शुरु लगायत नागरिकहरुमा विपद् रोकथामको बारेमा जनचेतना जगाउने प्रयासहरू भइरहेका छन्।

 

किन भण्डारको आवश्यकता भएको होला?

यदि भूकम्प वा आंधी आयो र सुरक्षित भयो भने पनि, हामी पानी र खानाबिना बाँच्न सक्दैनौं।

पसल बन्द भएमा, तपाईं खाना वा पेय पदार्थ किन्न सक्नुहुन्न।

यदि पानी आपूर्ति बन्द भयो भने, पानी पिउन पाउनुहुन्न।

यदि बिजुली वा ग्यासको लाईन काटिएको छ भने, तपाईं खाना पकाउन सक्नुहुन्न।

त्यसैले, बाँच्न सफल भएको ‘जीवनको सुचारुक्ता’ को लागी, दैनिक रुपमा भण्डार गर्नु आवश्यक छ।

 

के र कसरी भण्डार गर्दा राम्रो होला त?

पिउन मिल्ने पानी र ३ दिनको लागि पुग्ने गरि खानेकुरा तयारी गरि राखौंI

प्रति दिन १ जनालाई करीव ३ लिटर पानी आवश्यक पर्छ।

आपतकालिन खाना जस्तै भात (अल्फा चामल आदिको), क्यान् खाना, बिस्कुट, चकलेट बार, र सुख्खा रोटी आदि जस्ता नपकाईकन खान सक्ने खानेकुराहरु तयारी गरि राख्नुहोस्।

रेडियो वा फ्ल्यासलाइटमा ब्याट्री छ छैन जाँच गर्नुहोस्।

सँधै खाई रहनु भएको औषधि र टास्ने पट्टि जस्ता प्राथमिक उपचार सामग्रीहरू पनि तयार पार्नुहोस्।

यदि परिवारमा बच्चा छ भने, डायपर जस्ता आवश्यक सामग्रीहरू तयार गर्नुहोस्।

 

पिउने पानी बाहेक,शौचालय फ्लश गर्नका लागि घरेलु पानी पनि आवश्यक पर्छ।

दिनदिनै, पोलीट्यांकमा धाराको पानी भरेर राख्ने, ओफुरोमा पानी भरेर राख्ने आदि जस्ता तयारीहरु गरि राखौं।

 

यसका साथै, सामान्य रूपमा खाने भन्दा अलि धेरै किनेर राखी, खाएर सक्यो भने पनि, सकेको भाग मात्र किनेर थपी, घरमा खानेकुराको एक निश्चित संचय गर्ने विधिलाई "रोलिंग स्टक" भनिन्छ।

खानेकुराको म्याद सकिने मितिबारे चिन्ता बिना, आपतकालिनको लागि तयारी गर्न सक्ने भएकोले यो बिधि अपनाउन प्रेरित गरिन्छ।

 

हरेक वर्ष, यस समयतिर  टाइफुन धेरै आउने भएकोले, विपद्को लागि पुनः तयारी गरि राखौं।

2022.08.25[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

DJ को Choice 【शरद ऋतुमा हुने कार्यक्रमहरुको जानकारी】

अगस्ट महिना पनि सकिन नै लाग्यो।

तर अझै पनि गर्मीका दिनहरु उस्तै छन्। साँच्चै, तपाईंहरुलाई "शरद ऋतु" भन्दा के को सम्झना आउँछ?

नेपालमा शरद ऋतु भनेपछि, चिसो मौसमको सुरुवात अनि गर्मीको समाप्ती, हैन र। असोज र कार्तिक, यी २ वटा महिनाहरू शरदऋतुमा पर्दछन्।

 

जापानमा, "शरद ऋतु" लाई प्रायः "खान रुच्ने शरद ऋतु," "पठनपाठनको शरद ऋतु," "कलाको शरद ऋतु" आदि उपनामहरु प्रयोग गरि भन्ने गरिन्छ। साथै, यो मौसम चाडपर्वहरूको लागि पनि राम्रो समय मानिन्छ!

 

फुकुओका शहरको शरद ऋतुको उत्सवहरुमध्ये प्रसिद्ध मानिने, फुकुओका शहरको हिगाशी वार्डमा रहेको "हाकोजाकी-गुउ" मा, हरेक वर्ष सेप्टेम्बरमा आयोजना हुने "होज्योया" हो।

वसन्तमा "हाकाता डोन्टाकु" र ग्रीष्म ऋतुमा "हाकाता गियोन यामाकासा" गरि, हाकाताका तीन प्रमुख चाडहरूमध्ये एक मानिने यस चाड, "सम्पूर्ण प्राणीहरुको जीवनको आदर गर्ने, हिंसालाई हटाउने, र शरद ऋतुको फसलप्रति धन्यवाद दिने" उत्सव हो।

 

"होज्योया" मा करिब ५०० जति स्टलहरू हुने प्रसिद्धिका साथ १० लाख जतिको दर्शनार्थीहरुको घुइँचो लाग्ने भएता पनि, नयाँ कोरोनाभाइरसको प्रभावका कारण, लगातार २ वर्ष धर्मविघि मात्र सम्पन्न गर्ने गरेको थियो।

तर, यस वर्ष विशेष मञ्च अगाडिको सिट संख्या घटाउने, दर्शनार्थीहरुलाई मास्क लगाउन र हिँड्दै नखानको लागि अनुरोध गर्ने आदि जस्ता, अधिक रुपले संक्रामक रोग विरुद्धका उपायहरू अपनाएर, तीन वर्षमा पहिलो पटक स्टलहरू खोल्ने र औसत वर्षहरुमा हुने झै समान रुपले आयोजना गरिने भएको छ।

 

शूटिंग, यो-यो फिशिङ र नयाँ अदुवाको बिक्री जस्ता विभिन्न स्टलहरूबाट जापानी संस्कृति र जापानी चाडपर्वको वातावरणको मनोरञ्जन लिन सक्नुहुन्छ।

यदि तपाईहरु जानुभएमा पक्कै पनि यस हाकोजाकी मन्दिरको विशेष याकिमोची खानुहोला। याकिमोचीको बाहिरी भाग नरम भई, भित्री भागमा हल्का गुलियो राज्माको पेस्टले भरिएको हुन्छ।

 

"होज्योया"को आयोजना, सेप्टेम्बर १२ (सोमबार) देखि १८(आइतबार) सम्म। यद्यपि, यस अवधिमा आपतकालीन घोषणा जारी भएको खण्डमा, न्यूनतम तरिकाले मनाउने वा रद्द गर्न पनि सकिन्छ।

बाहिर जानुहुँदा, नयाँ कोरोनाभाइरस संक्रमण विरुद्धका उपायहरू अपनाउन नबिर्सनुहोस्!

 

फुकुओकाको शरद ऋतुका चाडपर्वहरुको कुरा गर्दैगर्दा, नेपालमा मनाईने शरद ऋतुका चाडपर्वहरु जस्तै दशैँ, तिहार र छठ पर्वहरुको एकदम याद आउँछ।

 

उत्सबको कुरा गर्दैगर्दा,

 

LOVE FM ले पनि समर फेस्टिवल भोलि २६ तारिक (शुक्रबार) देखि २८ तारिक (आइतबार) सम्म तीन दिन आयोजना गर्ने भएको छ ।

 

तेन्जिन च्युउओउ पार्कमा आयोजना हुनेछ!

शनिबार बिहान ८:०० बजेको रेगे कार्यक्रम "IRIE MUSIC (आईरी म्युजिक)", को प्रसारण क्रममै स्टुडियोबाट निस्केर, तेन्जिन च्युउओउ पार्कमा आयोजना हुने सांगीतिक कार्यक्रममा रेगे, हिप हप, ओकिनावान लोक गीतहरुको प्रत्यक्ष संगीतहरुको साथसाथै खाना र पेय पदार्थहरुको बिक्रि स्टल पनि हुने भएकोले, एक हातमा गिलास बोकेर, आनन्ददायी संगीतमा झुम्न सक्नुहुन्छ!

 

 

साथै, यस वर्ष तीन वर्षमा पहिलो पटक शहरमा ‘NAKASU JAZZ’ आयोजना हुने भएको छ।

यो सेप्टेम्बरको फुकुओका शहरको परम्परागत कार्यक्रमको रुपमा, पश्चिमी जापानको सबैभन्दा व्यस्त क्षेत्रहरू मध्ये एक, फुकुओका शहर हाकाता वार्ड नाकासुमा, प्रमुख रुपले आयोजना हुने ज्याज फेस्टिवल हो।

सबै स्टेजहरु नि:शुल्क हेर्न पाउने नै यस उत्सवको आकर्षणहरुमध्ये एक हो।

विगत दुई वर्षदेखि अनलाइनमार्फत् आयोजना हुने गरेको भएता पनि, यस वर्ष सेप्टेम्बर १७ (शनिबार) र १८ (आइतबार) दुई दिन, नाकासुका विभिन्न स्थानहरुमा आयोजना हुनेछन्।

ज्याज प्रेमीहरू लगायत ज्याज थाहा नभएकाहरुले पनि यसको मनोरञ्जन लिन सक्ने कुरामा कुनै शंका छैन।

 

अन्त्यमा फेरि एकपटक , बाहिर जाँदा, नयाँ कोरोनाभाइरस संक्रमण विरुद्धको उपायहरू राम्ररी अपनाएर, शरद ऋतुको कार्यक्रमहरूको आनन्द लिऔं।

2022.08.18[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

सोमेन्

सोमेन् पिठोबाट बनेको पातलो नुडल हो। जापानमा, यो प्रायः गर्मी मौसममा खाइन्छ।

यो पुरातन समयमा, चीनबाट जापानमा ल्याइएको भनिन्छ।

यसलाई तातो पानीमा उमालेर, बरफको पानी वा धाराको पानीमा चिसो पारेर, त्यसपछि पानीबाट निकालेर, चिसो सससँग खाईन्छ।

त्यस्तै तातो पानीमा उमालेको सोमेन्लाई तितेकरेला वा ग्रीष्मकालीन तरकारीहरू, मासु आदिसँग मिसाएर तेलमा भुटेर खान पनि धेरैले मन पराउँछन्।

पक्कै पनि, यसलाई तातो सूपमा डुबाएर खाँदा पनि स्वादिष्ट हुन्छ।

सुपरमार्केट वा कन्भिनीहरुमा सजिलै र सुपथ मूल्यमा पाईन्छ।

गर्मीको यस मौसममा खान नरुचाउने बेला, तपाईंहरु पनि पक्कै खाएर हेर्नुहोला।

 

 

【फुकुओका शहरको सूचना】

मापसे ड्राइभिंग उन्मूलनको बारेमा

तपाईहरुलाई, २००६ अगस्त २५ मा फुकुओका शहरमा घटेको, मदिरा सेवन सवारी दुर्घटनाको बारेमा थाहा छ?

हिगासी वार्डको "उमि नो नाका मिची ओहाशी" मा, मापसे गरि सवारी चलाउँदा, तीन जना बच्चाहरुको ज्यान जाने गरि दुर्घटना भएको यस वर्षबाट १६ वर्ष पुग्यो।

 

फुकुओका शहरमा, यस दुर्घटनाको कारण, मादक पदार्थ सेवन गरि सवारी चलाउन रोक्नका लागि विभिन्न प्रयासहरू हुँदै आईरहेको छ।

तर पनि यो अहिलेसम्म रोकिएको छैन। २०२१ मा, मापसेका कारण २३ वटा दुर्घटनाहरू भएको पाईन्छ।

 

मदिरा सेवन गरि गाडी चलाउनु अपराध हो।

  • मदिराको सेवन गरेपछि कार, मोपेड, वा साइकल नचलाउनुहोस्।
  • मदिराको सेवन गरेको व्यक्तिलाई कार भाँडामा दिने वा गाडी चलाउने व्यक्तिलाई रक्सी पिउन प्रोत्साहन नगर्नुहोस्।
  • साथै, सवारी चालकले मदिराको सेवन गरेको थाहा पाउँदा, त्यस कारमा नचढ्नुहोस्।

 

मदिरा पिएर गाडी चलाउनाले, ट्राफिक दुर्घटनाको जोखिम बढाउँछ।

उदाहरणको लागी,

  • सुरक्षित ड्राइभिंगका लागि आवश्यक पर्ने ध्यान र निर्णय क्षमतामा कमी हुन्छ।
  • अत्यधिक गति र खतरा पत्ता लगाउन ढिलाइ हुन्छ।
  • ब्रेक लगाउन लामो समय लिन्छ।

 

 

 

साथै, निम्न किसिमको गाडी मदिरा सेवन गरि चलाएको हुन सक्छ। यदि देख्नु भएमा, कृपया ११० नम्बरमा फोन गर्नुहोस्।

  • ट्राफिक लाइटमा स्टप लाइनभन्दा केही अगाडि गाडी रोकिन्दा
  • ट्राफिक लाइट हरियो बले पनि, गाडी नचल्दा
  • अनियन्त्रित रुपले गाडी गुड्दा
  • गाडीको गति अचानक बढ्ने-घट्ने भई रहँदा

 

"मदिरा सेवन गरि सवारी नचलाऔं, चलाउन नदिऔं, गर्नेलाई माफी नदिऔं र बेवास्ता नगरौँ"  भन्ने दृढ इच्छाशक्ति प्रत्येक व्यक्तिमा हुनु आवश्यक छ।

हामी सबैले मापसे ड्राइभिंगलाई बन्द गरौँ!

2022.08.11[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他)

【हाई स्कूल बेसबलको वार्षिकोत्सव】

अगस्त १८ हाई स्कूल बेसबलको वार्षिकोत्सव हो। बेसबल जापानमा सबैभन्दा लोकप्रिय खेलहरूमध्ये एक हो।

सन् १९१५ को यस दिन, ओसाकाको टोयोनाका मैदानमा प्रथम पटकको राष्ट्रिय जुनियर हाई स्कूल च्याम्पियनसिप बेसबल प्रतियोगिता सम्पन्न भएको थियो ।

क्षेत्रिय छनोट राउन्ड जित्ने १० जुनियर हाई स्कूलका विद्यार्थीहरूले भाग लिएका थिए, र फाइनल खेल क्योटो र आकिताका जुनियर हाई स्कूलहरूबीच भएको थियो, जसमा २-१ ले क्योटोले जितेको थियो। १० औं पटकदेखि कोउशिएन् क्युउज्योउ (Koshien Stadium) आयोजना स्थल बन्यो र सन् १९४८ देखि राष्ट्रिय हाई स्कूल बेसबल च्याम्पियनशिप टूर्नामेंट भयो।

हाल, यसलाई "समर कोउशिएन्" वा "समर हाई स्कूल बेसबल" पनि भन्ने गरिन्छ।

यस वर्ष १०४ औं पटकको टूर्नामेंट अगस्ट ६ देखि २२ सम्म आयोजना हुनेछ।

यस टूर्नामेंटमा उत्कृस्टता प्रदान गर्ने खेलाडीहरूले, व्यावसायिक बेसबल टोलीहरूको पनि ध्यानाकर्षण गर्ने हुनाले भविष्यका धेरै बेसबल सिताराहरू जन्मिने गरेका छन्।

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्शकोबारेमा जानकारी

 

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईंले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० बजेसम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

 

 

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन सेवा नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार ९:०० बजेदेखि १८:०० बजेसम्म कल स्वीकार गरिन्छ।

 

 

JapaneseChattingEvent को परिचय

फुकुओकामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच सजिलै कुराकानी गर्ने “Japanese Chatting Event”, हरेक महिनामा एक पटक आयोजना गरिन्छ। अर्को आयोजना अगस्त ३१ मा, अनलाइनमा हुनेछ।

Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ। हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, सहभागी हुनुहोला।

सहभागिता शुल्क नि:शुल्क हो तर बुकिंग गर्न आवश्यक छ। प्रयोग गर्ने तरिका आदि अधिक जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुक पेजमा हेनुहोला। फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज रहेको छ, www.fcif.or.jp.

केही नबुझेको कुरा भएमा, कृपया Fukuoka International Student Support Associationमा सम्पर्क गर्नुहोस् ।

फोन नम्बर छ, ०९२-२६२-१७४४ । तपाईंहरुको सहभागीताका लागि पर्खीरहेका छौं।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ