ブログ

ポッドキャスト

ポッドキャスト RSS

2026.07.16[Thu] 09:00

【अगापान्थास ब्ल्याकज्याक】

फुकुओका सहरमा विश्वमै पहिलोपटक 'अगापान्थास ब्ल्याकज्याक' (Agapanthus Black Jack) फूलको सर्वसाधारणका लागि बिक्री-वितरण सुरु भएको छ। यो प्रजातिलाई फुकुओका सहरले गत वर्षको मार्च महिनामा आयोजना गरेको "Fukuoka Flower Show" मा जापानमै पहिलोपटक प्रदर्शन गरिएको थियो, र यो यहाँको 'फिचर फ्लावर' को पहिलो नम्बरमा पर्न सफल भएको छ। 'फिचर फ्लावर' भन्नाले विश्वभरि उच्च मूल्याङ्कन गरिएका नयाँ प्रजातिहरूमध्येबाट— हुर्काउन सजिलो, सहरको वातावरण र मानिसहरूको जीवनशैलीसँग सहजै मेल खाने र "भविष्यको नयाँ ट्रेन्ड" बन्न सक्ने फूलहरूलाई बुझिन्छ।

विश्वकै सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय फ्लावर शो "चेल्सी फ्लावर शो २०२३" को नयाँ प्रजाति विधामा सर्वोत्कृष्ट पुरस्कार (Plant of the Year) जित्न सफल यो 'अगापान्थास ब्ल्याकज्याक' फूल, गाढा कालो-बैजनी रङका साना फूलहरू झुप्पा परेर फुल्ने यसको छुट्टै र अनुपम सुन्दरताका लागि चिनिन्छ। यसको फुल्ने अवधि निकै लामो हुने भएकाले गर्मीको सुरुवाती महिनादेखि ढिलो गर्मी सम्म यसले हाम्रो आँखालाई आनन्द दिइरहन्छ। साथै, यसमा अत्यधिक गर्मी र खडेरी खप्न सक्ने उच्च क्षमता हुने भएकाले कडा गर्मी मौसममा पनि यसलाई सजिलैसँग हुर्काउन सकिने ठूलो फाइदा छ।

विश्वभरि उच्च प्रशंसा पाएको यो दूर्लभ र नयाँ प्रजातिको फूल, जापानमा पहिलोपटक प्रदर्शन गरिएको करिब एक वर्षपछि अन्ततः अब सर्वसाधारणका लागि नर्सरी तथा फूल पसलहरूमा किन्न उपलब्ध भएको छ। आफ्नो घरको बगैँचा वा कौसीलाई नयाँ र आकर्षक रूप दिनका लागि तपाईं पनि यसलाई सजिलैसँग रोप्ने प्रयास गर्ने होइन त?

यदि तपाईं यो फूल कस्तो देखिन्छ भनेर हेर्न चाहनुहुन्छ भने, अहिलेफुकुओका सहरको वनस्पति उद्यान (Fukuoka City Botanical Garden) रमाइजुरु पार्क (Maizuru Park) मा यो फूल रोपिएकाले त्यहाँ गएर यसको वास्तविक सुन्दरताको आनन्द लिन सक्नुहुन्छ।

कालो-बैजनी रङको यो सुन्दर फूल; 'अगापान्थास ब्ल्याकज्याक', अब फुकुओका हुँदै विश्वभरि छाउनेछ! ♪

 

 

【फुकुओका शहरको सूचना】

नेच्च्युस्योउ अर्थात् लू लाग्नुबाट सावधान हुनुहोस्!

अत्याधिक गर्मीको बेला, गाह्रो ब्यायाम वा तीव्र शारीरिक क्रियाकलापका कारण शरीरले आफ्नो तापक्रम ठीकसँग नियन्त्रण गर्न सक्दैन, जसले गर्दा शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा भई नेच्च्युस्योउ अर्थात् लू लाग्छ। 

नेच्च्युस्योउका लक्षणहरूमा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने र झाडापखाला लाग्ने जस्ता हुन्।

यस्तो बेलामा शरीरलाई चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछ। यदि यस्तो गर्दा पनि निको नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुपर्छ।

विशेष गरी, भारी वर्षा समाप्त भएपछि, जुलाईबाट अधिकतम तापमान बढ्ने समयमा आकस्मिक कक्षमा ल्याउनेहरुको सङ्ख्या ह्वात्तै बढ्छ। 

यस समयमा, उच्च आर्द्रता हुने र शरीरलाई अधिकतम गर्मीको बानि नहुने हुनाले धेरै ध्यान दिनु आवश्यक छ। लू, घर बाहिर मात्र होइन घर भित्र पनि हुन सक्छ।

अब केही नेच्च्युस्योउबाट बच्ने उपायहरु बताउन गईरहेकी छु।

  • तरल पदार्थ बारम्बार पिउने गर्नुहोस्। 

नियमित रूपमा जौको चिया र पानी पिउने, व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छ। पसिना आउँदा, नुनपानी पिएर शरीरमा पानीको मात्रा कायम राखौं।

  • टोपी वा छाताको प्रयोग गरेर प्रत्यक्ष घामबाट जोगौं।

  • कोठाको तापक्रम २८ डिग्री सेल्सियसभन्दा कम राख्न, बुद्धिमानीपूर्वक air conditioner र फ्यानको प्रयोग गरौँ।

  • Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।

  • सन्तुलित आहार र पर्याप्त निद्रा लिएर, स्वास्थ्यको ख्याल गरौं।

2026.07.09[Thu] 09:00

अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【HAKATA FISH PROJECT】

क्युशुका विभिन्न क्षेत्रबाट ताजा समुद्री खानेकुराहरू भित्रिने नागाहामा माछा बजार (Nagahama Fish Market) र अनगिन्ती स्वादिला रेस्टुरेन्टहरूका कारण फुकुओका सहर “मिठो माछा पाइने सहर” का रूपमा प्रख्यात छ।

अहिले फुकुओका सहरमा माछा र समुद्री परिकारहरूको उपभोग बढाउनका लागि 'हाकाता फिस प्रोजेक्ट' अन्तर्गत विशेष सी-फूड महोत्सव चलिरहेको छ। गेन्काइनादा समुद्र र नागाहामा बजारबाट सिधै ल्याइने ताजा र मौसमी सी-फूडको वास्तविक स्वादलाई सबैमाझ पुर्‍याउनु नै यस महोत्सवको मुख्य आकर्षण हो।

“अहिले नै हाकातामा मीठो माछा खाऔँ”भन्ने नाराका साथ हाल यस महोत्सवको पहिलो चरणमा 'स्क्विड फेयर' भइरहेको छ। फुकुओकामा गर्मीको सुरुवाती सिजनको पहिचान मानिने 'इखा' अर्थात् स्क्विड, यसको कुरुम-कुरुम हुने लचिलोपन र मुखमा हाल्ने बित्तिकै पग्लिने छुट्टै गुलियो स्वादका लागि निकै रुचाइन्छ।

फुकुओका सहरका सहभागी रेस्टुरेन्टहरूमा यो सिजनको ताजा स्क्विडबाट बनेका विभिन्न परिकारहरूको स्वाद लिन नभुल्नुहोला।

यो पहिलो चरणको 'स्क्विड फेयर' जुलाई १९ तारिखसम्मचल्नेछ। यसपछि आगामी दिनहरूमा प्रख्यात जापानी माछाहरू— ताई, बुरी र सावारा माछाका विशेष फेयरहरू पनि आयोजना हुनेछन्।

कुनै मिसावट नभएको समुद्रको यो शुद्ध तथाताजा माछाको स्वादलाई सही मौसममै चाख्न नभुल्नुहोला है♪

🔎https://www.city.fukuoka.lg.jp/nosui/suisanshinko/charm/documents/ikafair.pdf

🔎https://www.instagram.com/hakata_fish_project/

 

 

 【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
विदेशी मूलका बालबालिकाहरुका लागि शैक्षिक तथा करियर परामर्श कार्यक्रम

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर”, “फुकुओका YWCA”,“Fukuoka International Residents Association” सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्शकार्यक्रम" आयोजना हुन गइरहेको छ।

यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ। 

यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।

परामर्श नि:शुल्क छ।

जापानी, अंग्रेजी, चाइनिज, भियतनामी र नेपाली भाषामा परामर्श उपलब्ध छन्।

कार्यक्रम हुने दिन: जुलाई ११, शनिबार दिउँसो १:०० बजेदेखि।

आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर

बुकिङ  तथा सोधपुछको लागि, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर” को वेबसाइटमा हेर्नुहोला।🔎https://www.fcif.or.jp/latestnews/consultation/schoolguidance/

 

 

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।🔎https://www.fcif.or.jp/consultation/immigration/

2026.07.02[Thu] 09:00

अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【कुल सेयर फुकुओका】

फुकुओका सहरले अत्यधिक गर्मीको समयमा सर्वसाधारणलाई बजार वा बाटोमा हिँड्दा हिँड्दै सजिलैसँग आराम गर्न र शितल हुन सकोस् भन्नका लागि“कुल सेयर फुकुओका” (Cool Share Fukuoka) अभियान सुरु गरेको छ।

यो अभियानको मुख्य उद्देश्य बाहिर निस्कँदा लाग्न सक्ने “लु” वा हिट स्ट्रोकबाट बचाउनु र घरको बिजुली बचत गर्नु हो। यस अन्तर्गत सहरका नागरिक भवन, व्यायामशाला जस्ता सार्वजनिक स्थलहरूका साथै स्थानीय औषधि पसल र व्यापारिक मलहरू गरीकरिब ८९० ठाउँहरूलाई “कुल सेयर स्पट”का रूपमा तोकिएको छ। यी ठाउँहरूमा“कृपया यहाँ आएर आराम गर्नुहोस्”भनी लेखिएका स्टिकर वा झन्डाहरू राखिएका छन्, जहाँ तपाईं सित्तैमा छिरेर शितलमा आराम गर्न सक्नुहुन्छ।

यसका साथै, सहरका वार्ड कार्यालय, खेलकुद हल र पार्कहरू गरी४४ वटा सुविधाहरूमा नि:शुल्क पिउने पानी भर्न मिल्ने “वाटर स्टेसन”पनि राखिएका छन्। तपाईंले आफ्नो साथमा ‘माई बोतल’ बोकेर गएमा, फुकुओकाको सुरक्षित र स्वादिष्ट चिसो पानी जतिबेला पनि भर्न सक्नुहुन्छ।

अब कडा गर्मीको मौसम सुरु हुँदैछ। त्यसैले बाहिर निस्कँदा आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र यस्ता शितल केन्द्र एवं पानी भर्ने ठाउँहरूको भरपूर प्रयोग गरी हिट स्ट्रोकबाट बच्नुहोला।

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

विदेशी मूलका बालबालिकाहरुका लागि शैक्षिक तथा करियर परामर्श कार्यक्रम

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर”, “फुकुओका YWCA”,“Fukuoka International Residents Association” सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्शकार्यक्रम" आयोजना हुन गइरहेको छ।

यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ। 

यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।

परामर्श नि:शुल्क छ।

जापानी, अंग्रेजी, चाइनिज, भियतनामी र नेपाली भाषामा परामर्श उपलब्ध छन्।

कार्यक्रम हुने दिन: जुलाई ११, शनिबार दिउँसो १:०० बजेदेखि।

आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर

बुकिङ  तथा सोधपुछको लागि, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर” को वेबसाइटमा हेर्नुहोला।





कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श

“फुकुओका सिटी इन्टरनेसनल सेन्टर” मा रहेको “फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन”मा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र 

तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ। परामर्श अवधि ४५ मिनेट। 

बुकिंगको आधारमा “Fukuoka Bar Association को प्रसाशनिक वकिल” द्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ। 

यदि भाषा अनुवादकको आवश्यकता पर्छ भने, कृपया बुकिङ गर्ने समयमै यसबारे जानकारी गराउनुहोला।

 “मानसिक परामर्श” अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। 

चाहनुहुने महानुभावहरुले बुकिङ गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो। 

फोन नम्बर ०१२०-६६-१७९९ हो।

2026.06.25[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【अतिथि अन्तर्वार्ता】

➖Basnet Katrina➖

भक्तपुरबाट

 

2026.06.18[Thu] 09:00

【ब्लुबेरी】

गर्मीको सुरुवातसँगै बजारमा आउने 'ब्लुबेरी', यसको गुलियो-अमिलो स्वाद र प्रचुर पोषणका कारण सबैको रोजाइमा पर्ने फल हो। अब आउने जुनदेखि सेप्टेम्बर महिनासम्म फुकुओका प्रान्तभित्र आफैँ बोटबाट ब्लुबेरी टिपेर खान सकिने विभिन्न फार्महरू खुला हुँदैछन्।

फुकुओका सहरको प्राकृतिक रूपले सुन्दर सावारा वार्डको वाकियामा क्षेत्रमा एउटा विशेष ब्लुबेरी फार्म रहेको छ, जसको नाम हो— 'कन्ट्री फार्म कीइचिगोया' । यस फर्ममा कुनै पनि रासायनिक मल वा कीटनाशक औषधिको प्रयोग नगरी अर्गानिक रूपमा ब्लुबेरीहरू हुर्काइन्छ। हाल यहाँ करिब ४०० वटा ब्लुबेरीका बोटहरू छन्, जुन अहिले फलले लटरम्म भएका छन्। यस फार्ममा ताजा ब्लुबेरीका साथै यहाँकै ब्लुबेरीबाट बनाइएका जाम, भिनेगर र आइसक्यान्डी जस्ता मौलिक उत्पादनहरू पनि निकै लोकप्रिय छन्। साथै, जुलाईको मध्यसम्म यहाँ 'ब्ल्याकबेरी' पनि टिप्न सकिन्छ। पानी नपस्ने अस्थायी छानोको समेत व्यवस्था भएकाले पानी परेको दिन पनि तपाईं सजिलैसँग यहाँ ब्लुबेरी संकलनको आनन्द लिन सक्नुहुन्छ।

हरियाली बोटबिरुवाको बीचमा टहलिँदै आफ्नै हातले टिपेर खाने पाकेको ताजा ब्लुबेरीको स्वाद साँच्चै नै बेग्लै र उत्कृष्ट हुन्छ। यस सप्ताहन्तमा आफ्ना परिवार वा साथीभाइका साथ प्रकृतिमा रमाउँदै यो सिजनको मिठो फलको स्वाद लिन जाने होइन त?

 

 

【फुकुओका शहरको सूचना】

फुकुओका शहर राष्ट्रिय स्वास्थ्य बिमा

जापानमा, बिरामी पर्दा वा चोट लागेमा, कम खर्चमा निश्चिन्त भएर उपचार सेवा प्राप्त गर्नका लागि, सबै व्यक्तिहरूलाई “सरकारी स्वास्थ्य बिमा प्रणाली” मा सामेल हुने व्यवस्था गरिएको छ। ३ महिनाभन्दा बढी समयसम्म जापानमा बस्न अनुमति प्राप्त गरेका व्यक्तिहरूले, कम्पनीको स्वास्थ्य बिमा नभएका हकमा, राष्ट्रिय स्वास्थ्य बिमा लिनु अनिवार्य छ। यो बिमा लिन, तपाईं बसोबास गरिरहनु भएको क्षेत्रको वार्ड कार्यालयमा गएर प्रक्रिया पूरा गर्नु पर्छ।

फुकुओका शहरको राष्ट्रिय स्वास्थ्य बिमा लिनुभएको व्यक्तिहरुले बिमा शुल्क तिर्नु पर्छ। बिमा शुल्क तपाईंहरूको स्वास्थ्य उपचार खर्चका लागि महत्त्वपूर्ण स्रोत हो।

२०२६ अप्रिलदेखि २०२७ मार्चसम्मको बिमा शुल्क, गत वर्षको आम्दानी लगायतका आधारमा जुन महिनामा निर्धारण गरिएको छ। बीमा शुल्क तिर्नु पर्ने व्यक्तिहरूलाईजुन १५ तारिक, नीलो रंगको खाममार्फतभुक्तानी सूचना पत्र पठाइएको छ, कृपया जाँच गर्नुहोस्। खामभित्रको कागजमा लेखिएकोबीमा शुल्कको रकमहेरी, तोकेको म्यादभित्र भुक्तानीगर्नुहोस्।

यदि बीमा शुल्क समयमै नतिरेमा, तपाईंको सम्पत्ति जाँच गरिनेछ, रबैंक खातामा रहेको बचत वा तलबसमेत रोक्का गरिन सक्नेछ, त्यसैले सावधानी अपनाउनुहोस्।

यदि कुनै कुरा बुझ्न गाह्रो भएमा, फोन मार्फत २३ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ। फोन नम्बर ०९२-७५३-६११३ हो। 

यो नम्बरमा फोन गर्दा पहिले दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ। आफू बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

2026.06.11[Thu] 09:00

【खाद्य शिक्षा दिवस】

फुकुओका प्रान्तले  भन्ने नाराका साथ स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने अभियान चलाइरहेको छ। यसै अन्तर्गत हरेक महिनाको १९ तारिख अर्थात् 'खाद्य शिक्षा दिवस' का दिन हाकाता वार्डमा रहेको फुकुओका प्रान्तीय कार्यालय मा 'विशेष बजार'  आयोजना गरिन्छ, जहाँ ताजा र मौसमी कृषि तथा समुद्री उत्पादनहरू बिक्रीका लागि राखिन्छन्।

यो बजार हरेक महिनाको १९ तारिख, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ (सामान सकिएमा समय अगावै बन्द हुन सक्छ)। यदि १९ तारिखका दिन सरकारी बिदा परेमा, त्यसको ठीक अघिल्लो कार्यदिनमा यो बजार लगाइन्छ।यस महिना भने यो बजार मे १८ (बिहीबार) र १९ (शुक्रबार) गरी दुई दिन लाग्नेछ।बजार प्रान्तीय कार्यालयको पहिलो तलाको लबीमा आयोजना हुनेछ।

फुकुओकाका स्थानीय उत्पादनहरू किनेर र खाएर यहाँका किसानहरूलाई प्रोत्साहन गर्ने गरौं।

 

 

【फुकुओका शहरको सूचना】

चुयु र भारी वर्षा

जापानमा जुनदेखि जुलाईसम्मलाई  "चुयु" अर्थात् वर्षा ऋतु भनिन्छ र यस अवधिमा भारी वर्षा हुने गर्दछ। भारी वर्षाको कारण प्रकोपहरू हुने सम्भावना भएकोले ध्यान दिनुहोला। 

हालैका वर्षहरूमा पनि, वर्षाको मौसममा रेकर्ड-ब्रेक भारी वर्षाको कारणले, फुकुओका प्रान्तमा पनि धेरै क्षति पुर्याएको थियो। भारी वर्षा हुँदा, नदी, तट वा पहाड नजिकको चट्टानहरू जस्ता खतराजनक ठाउँहरू नजिक नजानुहोस् र आफ्नो जीवन रक्षाको लागि कदम चाल्नुहोस्।

फुकुओका सिटिको होमपेजमा Hazard map र विपद् रोकथाम सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छ। आफू बस्ने क्षेत्रमा हुन सक्ने सम्भावित खतरा र आश्रय स्थलमा जाने सुरक्षित तरिका आदिको बारेमा अग्रिम जानकारी राख्ने गरौँ। बिस्तृत जानकारी, ‘Fukuoka City Multilingual Portal’ भनि खोजि, साईगाईको पेजमा हेर्नुहोला।

फुकुओका शहरको महत्वपूर्ण जानकारीहरु, फुकुओका सिटिको आधिकारिक Facebook ‘Global Community Fukuoka’ वा फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको Facebook ‘फुकुओका शी कोकुसाई खाईखान्/ आत्ताखा फुकुओका「福岡市国際会館/あったか福岡」बाट पनि बहुभाषामा प्राप्त गर्न सक्नुहुन्छI पेजलाई follow गरेर, सामान्यदेखि महत्वपूर्ण जानकारीहरु लिनु होला।



कर

जनवरी १ देखि फुकुओकामा बस्दै आउनुभएको व्यक्तिको यदि अघिल्लो वर्षको आय १० लाख नाघेको भएमा फुकुओका प्रान्तको कर तिर्नु पर्ने हुन सक्दछ।

जुन १५ तिर कर तिर्न सूचना आउन सक्ने भएकोले, अवश्य पनि खामभित्रको ध्यानपूर्वक पढ्नुहोला। 

तिर्नुपर्ने म्याद र शुल्क लेखिएको हुन्छ। कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।

स्मार्टफोन भुक्तानी वा क्रेडिट कार्डबाट पनि तिर्न सकिन्छ। 

त्यस्तै, कम्पनीमा कार्यरत व्यक्तिहरुको हकमा, कर सीधै तलबबाट कटौती हुन सक्छ।

शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले जफत गर्ने सम्भावना हुन सक्दछ।

नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।

२३ वटा भाषाहरुमा, फोनमार्फत् परामर्श लिन सक्नुहुन्छ। 

फोन नम्बर, ०९२-७५३-६११३ हो।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

2026.06.04[Thu] 09:00

【जुनकिरी (होटारु)】

शान्त रातमा मधुरो र चम्किलो प्रकाश छर्दै उड्ने जुनकिरी (जापानी भाषामा 'होटारु')। सुन्दा यो गर्मी महिनाको पहिचान जस्तो लागे पनि, वास्तवमा जुनकिरीहरू मे महिनाको अन्त्यदेखि जुन महिनाको मध्यसम्मको छोटो अवधिमा मात्रै धेरै रैथाने रूपमा उड्ने गर्छन्।

सामान्यतया तापक्रम २० डिग्रीभन्दा बढी भएको, ओस लागेको, बादल लागेको र हावा नचलेको रातमा जुनकिरीहरू धेरै देखिन्छन्। विशेष गरी पानी परेर रोकिएको समय वा पानी पर्नुअघिको उकुसमुकुस गर्मी भएको रात यिनलाई हेर्ने उपयुक्त समय हो। सूर्यास्त भएको करिब २ घण्टापछि यिनीहरू सबैभन्दा बढी सक्रिय हुने भएकाले, त्यही समय पारेर हेर्न जानु राम्रो हुन्छ।

जुनकिरीहरू प्राकृतिक रूपमा धनी र सफा पानी भएको ठाउँमा बस्न रुचाउँछन्। फुकुओका सहरभित्र पनि हाकाता स्टेशनको 'जेआर हाकाता सिटी' को छत, च्युओ वार्डको 'म्योहोजी' र सावारा वार्डको 'मुरोमी नदी' को माथिल्लो तट जस्ता जुनकिरी हेर्नका लागि प्रख्यात धेरै ठाउँहरू छन्। गर्मीको सुरुवाती रातहरूमा जुनकिरी हेर्न जानु एउटा उत्कृष्ट अनुभव हुन सक्छ।

तर याद राख्नुहोस्, जुनकिरीहरू निकै कमजोर जीव हुन्। हातले छुँदा यिनीहरू तुरुन्तै कमजोर हुने भएकाले यिनलाई समात्ने प्रयास नगरी शान्त भएर आँखाले मात्र हेरेर आनन्द लिनुहोला। साथै, गाडीको हेडलाइट, टर्चलाइट जस्ता कडा प्रकाश वा क्यामेराको फ्ल्यास बाल्न कडा मनाही छ। कृपया नियम र अनुशासनको पालना गर्दै जुनकिरीको यो सुन्दर संसारको आनन्द लिनुहोला।

 

 

【फुकुओका शहरको सूचना】

यासासीई निहोन्गो राजीओ कोउजा अर्थात् सरल जापानी भाषा रेडियो कोर्स

तपाईहरुले “यासासीई निहोन्गो राजीओ कोउजा” अर्थात् सरल जापानी भाषा रेडियो कोर्स को प्रसारण सुन्नुभएको छ?

यो कार्यक्रम, जापानी भाषा राम्ररी नबुझ्ने विदेशीहरू सबैका लागि हो, र यस कार्यक्रममा “सरल जापानी भाषा”मा बिस्तारै बोलिन्छ।

विदेशीहरुले जापानमा बसोबास गर्दा थाहा पाउनु पर्ने सूचनाहरुको बारेमा जानकारी दिईनेछ।

यो कार्यक्रम प्रत्येक शुक्रवार ९:५४ बाट प्रसारण हुँदै आईरहेको छ।

बुझ्न गाह्रो भएमा, वा सुन्न छुटेको भएमा पनि ठिकै छ!

Love FM को होमपेजमा पोष्ट गरिएको स्क्रिप्टमा हेरेर Podcast मा बारम्बार सुन्न सक्नुहुन्छ।

कृपया सुनिदिनु होला।

 

 

एचआईभी (HIV) परीक्षण प्रवर्द्धन सप्ताह

जुन १ तारिकदेखि जुन ७ तारिकसम्मको एक हप्ता 'एचआईभी परीक्षण प्रवर्द्धन सप्ताह' हो। गत वर्ष (सन् २०२५ मा), फुकुओका सहरका स्वास्थ्य संस्थाहरूबाट नयाँ १० जना एचआईभी संक्रमित र ११ जना एड्स का बिरामीहरू थपिएको रिपोर्ट प्राप्त भएको थियो।

एचआईभी संक्रमणबाट बच्नका लागि समयमै यसको पहिचान र उपचार हुनु अत्यन्तै जरुरी छ। एचआईभी संक्रमित हुँदैमा सुरुवाती चरणमा कुनै लक्षण नदेखिने भएकाले, संक्रमण भए/नभएको थाहा पाउन परीक्षण गर्नु नै एक मात्र उपाय हो।

यसै सन्दर्भमा, फुकुओकाका प्रत्येक वार्ड कार्यालयका स्वास्थ्य तथा कल्याण केन्द्रहरूले घरमै बसेर एचआईभी जाँच गर्न मिल्ने 'टेस्टिङ किट' नि:शुल्क वितरण गरिरहेका छन्। यस किटमार्फत हालका वर्षहरूमा बढ्दै गएको सिफिलिस (Syphilis/गुप्तरोग) र क्ल्यामिडिया (Chlamydia) को जाँच पनि सँगै गर्न सकिन्छ।

यो परीक्षण प्रक्रिया निकै सरल छ। तपाईंले घरमै रगत र पिसाबको नमूना संकलन गरी तोकिएको प्रयोगशालामा हुलाकमार्फत पठाउनुपर्ने हुन्छ र यसको नतिजा अनलाइनमा सुरक्षित रूपमा हेर्न सकिन्छ। किट वितरण गरिने दिनहरू निश्चित हुने भएकाले, जानुअघि फुकुओका सहरको आधिकारिक वेबसाइटमा विवरणहरू चेक गर्नुहोला।

एचआईभी संक्रमणलाई सुरुवाती चरणमै पत्ता लगाई सही स्वास्थ्य रेखदेख र उपचार सुरु गरेमा एड्सको अवस्थामा पुग्नबाट रोक्न सकिन्छ। यदि तपाईंलाई अलिकति पनि शंका वा चिन्ता लागेको छ भने, आफ्नो स्वास्थ्य सुरक्षाका लागि समयमै परीक्षण गराउनुहोला।

2026.05.28[Thu] 09:00

【AMAZING THAILAND FEST】

यसै हप्ताको शनिबार र आइतबार, अर्थात् ३० र ३१ तारिखका दिन फुकुओकामै बसेर थाइल्याण्डको भरपूर मजा लिन सकिने एउटा विशेष उत्सव 'अमेजिङ थाइल्याण्ड फेस्ट २०२६' (Amazing Thailand Fest 2026) आयोजना हुँदैछ।

दुई दिनसम्म चल्ने यस महोत्सवमा अत्यधिक लोकप्रिय थाई खाना, पेय पदार्थ, थाइल्याण्डका उत्पादनहरू, र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू जस्ता धेरै रोचक कुराहरू समेटिएका छन्।

थाई परिकार र सामानहरू: 'फुड बुथ' मा ग्यापाओ राइस र प्याड थाई जस्ता प्रख्यात परिकार र स्वादिष्ट मिठाईहरू पाइनेछन्। साथै, 'प्रोडक्ट बुथ' मा थाइल्याण्डका परम्परागत पाइन्ट, घरायसी सामान र खाद्यान्नहरू पनि बिक्रीका लागि राखिनेछन्।

थप आकर्षणहरू:यहाँ फोटो खिच्ने ठाउँ, परम्परागत थाई मिठाई र फूलको माला बनाउने कार्यशाला (Workshops) का साथै 'थाई मसाज' को बुथ पनि रहनेछ। स्टेजमा T-POP, ज्याज संगीत, र थाइल्याण्डको परम्परागत लोक गायन 'मोराम' को लाइभ प्रस्तुतिले दिनभरि नै माहोल तताउनेछ। हवाई टिकट र आकर्षक उपहारहरू जित्न सकिने 'लक्की ड्र' मा सहभागी हुन पनि नभुल्नुहोला।

यो महोत्सव यसै शनिबार र आइतबार (३० र ३१ तारिख) बिहान १० बजेदेखि राति ८ बजेसम्म फुकुओकाको तेन्जिन चुओ पार्क - किहिनकान अगाडिको क्षेत्रमा आयोजना हुनेछ।

थाई संस्कृति र खाना मन पराउनेहरूका लागि यो एउटा छुटाउनै नहुने अवसर हो। फुर्सद मिलाएर अवश्य जानुहोला!

 

 

【Love Earth Cleanup】

के तपाईंलाई 'लभ अर्थ क्लिन-अप' अभियानको बारेमा थाहा छ? 

यो नागरिक, उद्योग र स्थानीय सरकार मिलेर समुद्री तट, नदी र पार्कहरू सफा गर्ने एउटा ठूलो वातावरण अभियान हो। यसले 'SDGs' का लक्ष्यहरू पूरा गर्न र समुद्रमा हुने प्लास्टिक फोहोर कम गर्न ठूलो मद्दत पुर्‍याउँछ।

यस वर्ष यो अभियान आगामीजुन १४ तारिख, आइतबारका दिन फुकुओका सहरका६ वटा मुख्य ठाउँहरूमा आयोजना हुँदैछ:

हिगाशी वार्डको 'उमिनो नाखामिची' समुद्री तट, हाकाता वार्डको 'फुजिता पार्क' वरपरको क्षेत्र, च्युओ वार्डको 'फुकुहामा' समुद्री तट, जोनान वार्डको 'माचुयामा' केन्द्रीय पार्क, सावारा वार्डको 'सीसाइड मोमोची' समुद्री पार्क वरपरको क्षेत्र त्यस्तै निशि वार्डको 'इमाजु नागाहामा' समुद्री तट।

यस अभियानमा जोसुकैले पनि भाग लिन सक्नुहुनेछ। सहभागी हुन चाहनेहरूले फुकुओका सहरको आधिकारिक वेबसाइटमा गएर विस्तृत विवरण हेरी आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ।

कार्यक्रमको दिन हल्का पानी परे पनि सरसफाइ जारी रहनेछ, तर ठूलो पानी परेमा कार्यक्रम रद्द हुनेछ। सहभागी हुँदा आ-आफ्नोपिउने पानी, टोपी, तौलिया र काम गर्दा लगाउने पन्जा आफैँले बोकेर आउनुहोला।

यसका साथै, फुकुओका सहरभित्र र बाहिरका अन्य विभिन्न ठाउँहरूमा पनि स्थानीय समुदाय र कम्पनीहरूले सरसफाइ कार्यक्रमहरू गर्दैछन्। समय मिल्छ भने आफ्नै क्षेत्रका कार्यक्रममा पनि सहभागी हुन सक्नुहुन्छ। आउनुहोस्, हामी सबै मिलेर फुकुओकाको सुन्दर प्रकृतिलाई जोगाऔँ!

2026.05.21[Thu] 09:00

【हाकाताजा・फुनानोरीकोमी】

हाकातामा गर्मीको सुरुवातसँगै मनाइने परम्परागत उत्सव 'फुनानोरिकोमी' यस वर्ष पनि आयोजना हुँदैछ।

यो एउटा यस्तो ऐतिहासिक परम्परा हो, जहाँ खाबुकी (जापानी परम्परागत नाटक) का कलाकारहरू कार्यक्रम हुने सहरमा आइपुगेको खुसीयालीमा सर्वसाधारणलाई दर्शन दिन नाउमा चढेर यात्रा गर्छन्। यो परम्परा इदो काल देखि चल्दै आएको हो।

हरेक वर्षको जुन महिनामा फुकुओकाको हाकाता वार्डमा रहेको 'हाकाताजा' रंगमञ्चमा क्युशुकै सबैभन्दा ठूलो खाबुकी नाटक "रोकुगाचु हाकाताजा ओओखाबुकी"आयोजना हुने गर्दछ। यसै नाटकका दिग्गज कलाकारहरू नाटक सुरु हुनुअघि हाकाता नदीमा नाउ चढेर यात्रा गर्छन् र नाटकको सफलताको कामना गर्दै नगरबासीहरूसामु आफूलाई प्रस्तुत गर्छन्।

उत्सवको दिन, कलाकारहरू र हाकाताका 'गेइगी' हरू चढेका कलात्मक नाउहरू 'सेइरियु पार्क' नजिकैबाट प्रस्थान गरी हाकाता नदीमा बिस्तारै अगाडि बढ्नेछन्। नदीको किनारबाट तपाईंले यो भव्य र रङ्गीचङ्गी परेडलाई निकै नजिकबाट हेर्न र आनन्द लिन सक्नुहुनेछ।

वास्तविक नाटक सुरु हुनुअघि नै काबुकीको एउटा छुट्टै रौनक महसुस गराउने यो 'फुनानोरिकोमी' उत्सव, हाकाताको निकै लोकप्रिय र भिडभाड हुने कार्यक्रम हो। यदि तपाईंले पनि यो उत्सव देख्नुभयो भने, नदी किनारबाट कलाकारहरूलाई ताली बजाएर हौसला दिन पक्कै नभुल्नुहोला!

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर (०१२०-६६-१७९९) मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।

 

 

 LINE कल मार्फत परामर्श लिन सकिन्छ!

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।

 थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला। 

च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

2026.05.14[Thu] 09:00

【FUKUOKA MUSEUM WEEK】

मे १८ को 'अन्तर्राष्ट्रिय संग्रहालय दिवस' को अवसर पारेर फुकुओका सहरमा यसै शनिबार, मे १६ देखि 'फुकुओका म्युजियम विक' सुरु हुँदैछ। सहरलाई कला र संस्कृतिले भर्नका लागि आयोजना गरिएको यो महोत्सव यस वर्ष १७औँ पटक मनाइँदैछ।

यस पटक फुकुओका सहरका संग्रहालय र कला ग्यालरी गरी जम्मा १८ वटा ठाउँहरू यसमा सहभागी छन्। यस अवधिमा यात्रुहरूले प्रवेश शुल्कमा छुट, विशेष उपहार र विभिन्न रोचक कार्यक्रमहरूको फाइदा लिन सक्नेछन्। केही ठाउँहरूमा त प्रवेश पूर्ण रूपमा नि:शुल्क समेत गरिएको छ! साथै, विशेष प्रवचन, कार्यशाला र ग्यालरी टुर जस्ता रचनात्मक कार्यक्रमहरू पनि आयोजना हुनेछन्।

यदि तपाईं सधैँ संग्रहालय जाने गर्नुहुन्छ भने, यस पटक केही नयाँ अनुभव पाउनुहुनेछ। र यदि तपाईं अहिलेसम्म कहिल्यै जानुभएको छैन भने, यो कला र इतिहाससँग जोडिने एउटा राम्रो मौका हो।

यो महोत्सव यसै शनिबार, मे १६ देखि अर्को हप्ताको आइतबार, मे २४ सम्म गरी जम्मा ९ दिन चल्नेछ। विस्तृत जानकारीका लागि कृपया फुकुओका सहरको आधिकारिक वेबसाइट हेर्नुहोला।

 

 

【फुकुओका शहरको सूचना】

हलुकासवारीसाधनकर

जसले अप्रिल १ तारिखसम्म साना मोटरसाइकल (Moped) वा साना सवारी साधनहरू (Light Motor Vehicles) आफ्नो नाममा राख्नुभएको छ, उहाँहरूले 'सवारी साधन कर' तिर्नुपर्ने हुन्छ।

साना मोटरसाइकल (Moped) वा साना सवारी साधनहरू भएकाहरुलाई 'कर भुक्तानी सूचना' (Tax Notification) तपाईंको ठेगानामा हुलाकमार्फत पठाइनेछ। कृपया पत्र प्राप्त भएपछि त्यसलाई अनिवार्य रूपमा चेक गर्नुहोला।

 जुनको २ तारिक सम्ममा कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।

साथै, स्मार्टफोन एप वा क्रेडिट कार्डमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने सुविधा छ। 

यदि तपाईंले समयमै कर तिर्नुभएन भने, तपाईंको सम्पत्ति रोक्का हुन सक्छ। साथै, भिसा थप्ने समयमा यसले नकारात्मक असर पार्न सक्ने सम्भावना रहन्छ।

यदि तपाईंलाई केही कुरा बुझ्न गाह्रो भएको छ वा कर तिर्न समस्या छ भने, कृपया आफ्नो नजिकैको वार्ड कार्यालयमा सम्पर्क गर्नुहोस्। फोनमार्फत२३ वटा विभिन्न भाषाहरूमापरामर्श लिन सकिने व्यवस्था पनि गरिएको छ। 

फोन नम्बर, ०९२-७५३-६११३ ।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड कार्यालयमा सम्पर्क हुनेछ।

तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ