ブログ

ポッドキャスト

ポッドキャスト RSS

2024.01.25[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

अशोक शाही(अशोक बारका मालिक)

https://www.facebook.com/people/Ashoks-Bar/100079710802295/

 

 

2024.01.18[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【आमाओउ】

के तपाईलाई स्ट्रबेरी मन पर्छ? जनवरी १५ लाई "स्ट्रबेरी दिवस" ​​को रूपमा तोकिएको छ।स्ट्रबेरी संसारभर खाइन्छ, तर जापान सबैभन्दा बढी कच्चा स्ट्रबेरी उपभोग गर्ने देश होर विश्वको आधा भन्दा बढी स्ट्रबेरी जापानमा उत्पादन हुने गर्छ, जसमा लगभग ३०० थरिका स्ट्रबेरीहरू पर्छन्।

त्यसमा पनि फुकुओका, स्ट्रबेरी उत्पादनको हिसाबले जापानभरमा दोस्रो स्थानमा पर्ने

स्ट्रबेरी उत्पादनका लागि प्रसिद्ध क्षेत्र हो। फुकुओकामा धेरै प्रकारका स्ट्रबेरीहरू छन्, तर तिनीहरूमध्ये फुकुओकामा मात्र उब्जाउ हुने ब्रान्डेड स्ट्रबेरी ''आमाओउ'' हो। "आखाई, मारुई, ओकि र उमाई" शब्दहरुको शुरुको अक्षरहरूबाट नामकरण गरिएको ''आमाओउ'' धेरैले मन पराउँछन्। अहिले यसको मौसम लागेकोले, बिशेष रुपमा नै स्वादिष्ट हुन्छ। पक्कै पनि खाएर हेर्नु होला।

हुन त स्ट्रबेरी यत्तिकै खाए पनि मिठो हुन्छ , तर जापानमा, यो कन्डेन्स्ड दूध वा रातो बीन पेस्टसँग खाने पनि गरिन्छ। त्यस्तै, यो समयमा मात्र खान पाईने स्ट्रबेरी डेफुकु पनि लोकप्रिय छ।

स्ट्रबेरी मन पराउने र धेरै खान चाहनेहरूका लागि, फुकुओका प्रान्तका विभिन्न ठाउँहरूमा `स्ट्रबेरी टिप्ने' पनि आयोजना गरिन्छ। प्रत्येक बगैचामा यसलाई रमाइलो गर्ने विभिन्न तरिकाहरू छन्, जस्तै कि, स्ट्रबेरीको किसिमहरूको तुलना गर्ने, तपाईंले खान सक्ने जति टिपेर खाने, जाम जस्ता आफ्नै स्ट्रबेरी रेसिपीहरू बनाउने, तथा स्ट्रबेरी मेनु भएको क्याफे वा स्ट्रबेरी सामान बिक्री गर्ने पसलमा जाने आदि बिभिन्न मनोरञ्जन लिन सक्नुहुन्छ।

फुकुओकाको स्ट्रबेरी स्वादको मजा यस मौसममा भरपूर लिनुहोस्।

खानुहुँदा, स्ट्रबेरीको तल्लो भाग सबैभन्दा मीठो हुनेभएकोले, टुप्पोतिरबाट खान शुरु गर्नुहोस् अनि अन्तसम्म गुलियो स्वादको आनन्द लिनुहोस्।

 

 

【फुकुओका शहरको सूचना】

 

तोच्योजी सेचुबुन् ताइसाइ- अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि मामेमाकी कार्यक्रम

सेचुबुन्, वर्षमा एकपटक मनाईन्छ, जसमा खराब चीजहरू जस्तै बिरामी र प्रकोप आदिबाट बच्न, र सुस्वास्थ्यका साथ बाँच्नका लागि प्रार्थना गर्ने गरिन्छ। जापानमा प्राचीन कालदेखि नै ‘मामेमाकी’ को चलन रही आएको छ, जसमा प्रकोप निम्त्याउने राक्षसहरूलाई भगाउन सेतो भटमास फ्याँक्ने गरिन्छ। "भाग्य भित्र! राक्षसहरू बाहिर!" भन्दै सेतो भटमास फ्याँक्दै, दुष्ट आत्माहरूबाट जोगिन प्रार्थना गर्छन्।

सेचुबुन् ताइसाइ, हरेक वर्ष फेब्रुअरी ३ मा हाकाटा वार्डको तोच्योजी मन्दिरमा आयोजना गरिन्छ। हरेक वर्ष धेरै दर्शनार्थीहरुको भीड लाग्छ। सात भाग्यका देवताहरु, ओताफुकु, आखाओनी, र आओ ओनी यस महोत्सवमा देखा पर्ने हुनाले अत्यन्तै रोमाञ्चक हुन्छ।

सेचुबुन् ताइसाइलाई प्रवर्द्धन गर्न, जनवरी १९ शुक्रबार, फुकुओकामा बसोबास गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ती सात भाग्यका देवताहरु तथा राक्षसहरूको रूपमा पोशाक लगाएर, फुकुओका शहरका विभिन्न स्थानहरूमा सेतो भटमास फ्याँक्ने कार्यक्रममा सहभागी हुने गर्दै आईरहेको छ।हरेक वर्ष हाकाताको यस परम्परागत महोत्सवलाई संस्कृतिको आदानप्रदान गर्ने थलोको रूपमा पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहभागी हुने गरेको पाईन्छ। फुकुओका सिटी हल, व्यापारिक क्षेत्रहरु, होटलहरू जस्ता विभिन्न स्थानहरूमा मामेमाकी कार्यक्रम क्रममा राक्षसको रूपमा लुगा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको प्रदर्शनहरू पनि देख्न सक्नुहुन्छ।

तपाईंहरुले कहिल्यै मामेमाकी गर्नुभएको छ?  यदि गर्नुभएको छैन भए, जापानी संस्कृतिको अनुभव पनि हुने, अनि भाग्य पनि सँगै आउने भएकोले गरेर हेर्नु पनि राम्रो होला कि।

 

2024.01.11[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【जेन खाचुगी】

यस साताको अन्त्यमा जापानका विश्वविद्यालयहरुमा प्रवेश परीक्षा आउँदैछ।

जापानमा ‘जेन खाचुगी’ भनिने चलन छ, जसमा राम्रो नतिजाको आशामा कर्म वा कार्यहरू गर्ने गरिन्छ, जस्तै कि, विगतमा सफलतापूर्वक सम्पन्न भएका कार्यहरू दोहोर्याउने, राम्रो भाग्य ल्याउने खानाहरू खाने आदि गरिन्छ। प्रतियोगिता वा परीक्षामा जाँदा, तोन्खाचु, ओनिगिरी, चिपचिपे खाना जस्ता खानाहरू खाएर जानुभयो भने, राम्रो सफलता मिल्छ भन्ने भनाई छ। त्यस्तै, राम्रो भाग्य ल्याउनको लागि सरसफाइ गर्ने, प्रार्थना गर्ने पनि गरिन्छ। यो पनि विश्वास गरिन्छ कि, यदि तपाईंले आफ्नो इच्छाहरू ठूलो स्वरले भन्नुभयो भने, तपाईंको इच्छाहरू पूरा हुनेछन्, शब्दमा शक्ति हुन्छ भनिन्छ, जसलाई जापानीमा 'कोतो डामा' भनिन्छ। पक्कै पनि, परिश्रम बिना इच्छाहरू पूरा हुन सक्दैन,तर तनाव कम गर्न र आफ्ना भावनाहरूलाई शान्त पार्न ‘जेन खाचुगी’ को प्रयास गर्नु प्रभावकारी पनि हुन सक्छ। 

सबै परीक्षार्थीहरू, अन्तसम्म सक्दो प्रयास गर्नुहोस्! हाम्रो अग्रिम शुभकामना!

 

 

【फुकुओका शहरको सूचना】 

नोरोभाइरसदेखि सावधान!

 

जाडोमानोरोभाइरसको कारण वान्ता हुने, पखाला हुने, पेट दुख्ने र बान्ता आउला जस्तो हुने समस्या बढी हुने गर्छ। 

यो भाइरस शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि संक्रमित हुन्छ।

भाइरस हात वा खानाद्वारा शरीरमा प्रवेश भई, यसले पखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ।

संक्रमित व्यक्तिको बान्ता वा पखालाको कारण हावामा भएको भाइरस, सास लिंदा संक्रमित हुने वा संक्रमित व्यक्तिले पकाएको खाना खाएर पनि सर्न सक्दछ।

साथै, भाइरस भएको ओइस्टर आदि जस्ता bivalves नतताईकन खाँदा पनि भाइरस सर्न सक्दछ।

धेरै मात्रामा बान्ता र पखालाबाट डिहाईड्रेसन हुन सक्छ।

तुरुन्तै चिकित्सकलाई देखाउने गरौं। 

यो सामान्यतयाः २, ३ दिनमा निको हुन्छ, तर लक्षणहरू हराए पनि १ हप्तादेखि १ महिनासम्म, भाइरस दिसामा निस्कन्छ, र यो अन्य व्यक्तिहरूलाई संक्रमित गराउने कारण बन्ने भएकोले यसप्रति सजक रहौं।

संक्रमणलाई बढ्न नदिन, निम्न रोकथामका बिधिहरू अपनाऔं।

खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय पछि आदिमा, अवश्य साबुन पानीले हात धुने गरौं।

खाना पकाउने भाँडाहरू हरेक पटक प्रयोग गरेपछि राम्रोसँग धोएर उमालेको पानी वा क्लोरीन ब्लीचले कीटाणुरहित पार्ने गरौं।

अल्कोहल युक्त किटनाशक भने नोरोभाइरस विरुद्ध कम प्रभावकारी हुन्छ।

नोरोभाइरस ८५ देखि ९० तापक्रममा ९० सेकेन्ड वा सो भन्दा बढि ततायो भने मर्छ।

खानेकुरालाई पर्याप्त मात्रामा तताउने गरौं। काँचो खाने तरकारी र फलफूल राम्रोसँग धोएर प्रयोग गरौं। 

शरीर सन्चो नभएको बेला खाना नपकाउनु पनि उतिकै महत्वपूर्ण छ।

 

2024.01.04[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他)

【नानाकुसागायु】

あけましておめでとうございます!नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना

वर्ष२०२४ को आज यो पहिलो प्रसारण!

तपाईंहरुको नयाँ वर्षको बिदा कस्तो रह्यो? रमाइलोसँग नै बित्यो होला! 

जापानमा १ देखि ७ तारिकसम्मको अवधिलाई नयाँ वर्षको रुपमा मानिन्छ र अन्तिम दिन, जनवरी ७ मा, सुस्वास्थ्यको कामनामा, बिहानको खाजामा सात प्रकारका मौसमी औषधीय जडीबुटीहरू समावेश गरी पकाएको खाना ‘नानाकुसागायु’ खाने चलन छ। वर्षको अन्त्य र नयाँ वर्षको भोज र मदिराबाट थकित पेट र आन्द्राको हेरचाह गर्नु पनि यसको अर्थ रहेको छ। स्वादको लागि नून मात्र हालेर बनाएको सादा खाना हो, नानाकुसागायु। सुपरमार्केटहरूमा सेटमा पाईने हुनाले यो सजिलै किन्न सक्नुहुन्छ।

नयाँ वर्ष २०२४ सबैको लागि सुखद रहोस्। तपाईंहरुको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु।

 

 

फुकुओका शहरको सूचना

JapaneseChattingEvent

 

 जापानी भाषा स्कूल लगायत फुकुओकामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच सजिलै कुराकानी गर्न मिल्ने Japanese Chatting Event”, हरेक महिनामा एक पटक आयोजना हुँदै आईरहेको छ। अर्को आयोजना जनवरी ३१, अनलाइनमा हुनेछ।

Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ। हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, सहभागी हुनुहोला।

सहभागिता शुल्क नि:शुल्क हो तर आवेदन दिन आवश्यक छ। 

आवेदन दिने तरिका आदि अधिक जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुक पेजमा हेनुहोला। 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज रहेको छ, (www.fcif.or.jp.)

केही नबुझेको कुरा भएमा, कृपया फोन मार्फत् सम्पर्क गर्नुहोस् ।

फोन नम्बर छ, (०९२-२६२-१७४४ )। 

तपाईंहरुको सहभागीताका लागि पर्खिरहेका छौं।

 

 

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श

 

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।

2023.12.28[Thu] 09:00

अन्य(その他)

【नयाँ वर्षको पूर्वसंध्या】

वर्ष २०२३ सकिन अब केही दिन मात्र बाँकी छ। तपाईंहरुको यो वर्ष कस्तो रह्यो?

नयाँ वर्षको पूर्वसंध्या मनाउने केही योजना छ कि?

जापानमा, नयाँ वर्षको पूर्वसंध्या अर्थात् डिसेम्बर ३१मा, तोशिकोशी सोबा खाने चलन छ।

तोशिकोशी सोबा खाने भनेको लामो आयु बाँच्नु, यस बर्षको कठिनाई र असफलतालाई बिर्सेर नयाँ वर्षलाई स्वागत गर्नु हो।

जापानको विभिन्न भागहरूमा स्थानीय ओरिजिनल तोशिकोशी सोबा पाईन्छ।

यसलाई प्राय: नयाँ वर्षको पूर्वसंध्यामा खाने गरिन्छ।

पसलमा नखाए पनि, कन्भिनीयन्स स्टोर र सुपरमार्केटमा पनि किन्न पाईने भएकाले, अहिलेसम्म खानु भएको छैन भए, एकचोटी खाएर हेर्नुहोला।

हुन त, हामी नेपालीहरुको आफ्नै नव वर्ष भएकोले अंग्रेजी नव वर्षलाई खासै धुमधामका साथ मनाउने गरेको देखिन्दैन। नेपालमा खास गरि, काठमाडौंको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला पर्यटकीय शहरहरुमा नव वर्ष ईभ कार्यक्रम आयोजना गर्ने र विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने चलन छ। प्रायःजसो साथीहरुसँग बाहिर घुम्ने र खानपिन गर्ने अवसरको रुपमा अंग्रेजी नव वर्ष मनाउने गरेको देखिन्छ। 

जापानमा भने, सामान्यतयाः नयाँ वर्षको काउन्टडाउनको समयमा, परिवारहरू घरमासँगै समय बिताउने गर्छन् वा मन्दिरहरूमा आयोजना हुने, "जोयानो खाने" नामक कार्यक्रममा सहभागी हुने गर्छन्, जसमा सांसारिक इच्छाहरू मेटाउन १०८ पटक घण्टी बजाइन्छ। केही मन्दिरहरूमा, भक्तजनहरू आफैले घण्टी बजाएर अनुभव लिन पनि सक्छन्। नयाँ वर्षको पूर्वसन्ध्यादेखि नयाँ वर्षको दिनसम्म मन्दिरको दर्शन गर्नाले आशीर्वाद दोब्बर हुन्छ भन्ने गरिन्छ। केही ठाउँहरूमा भक्तजनहरूमाथि आमाजाके भनिने गुलियो रक्सीले छर्कने पनि गरिन्छ, जुन चाहिं काठमाडौंका प्रायः मन्दिरहरुमा हुने जल छर्कने चलनसँग ठ्याक्कै मिल्दोजुल्दो छ।

यस नयाँ वर्षको पूर्वसन्ध्यामा मन्दिरहरुमा लामो लाइन हुने गर्छ। यदि तपाईंहरु पनि दर्शन गर्न जाने विचारमा हुनुहुन्छ भने, बाक्लो न्यानो लुगाहरु लगाएर, जाडोबाट बच्नप्रति ध्यान दिनुहोस्।  

यस बाहेक, धेरैजसो मानिसहरू रातभर जागै बसेर नयाँ वर्षको पहिलो सूर्योदय हेर्नका लागि बस्छन्। नयाँ वर्षको पहिलो सूर्यलाई शुभ मानिने र नयाँ वर्षमा सुख र स्वास्थ्यको कामना गर्ने चलन छ। रमणीय ठाउँहरूमा गएर, सूर्य उदाएको क्षणको तस्बिर लिनेहरुको पनि उत्तिकै घुइँचो हुन्छ।

फुकुओका शहरमा पनि यस्ता थुप्रै ठाउँहरू छन्। त्यसमध्ये एक हो, ''आटागो जिन्ज्या,'' जुन नयाँ वर्षको तीर्थस्थलको रुपमा पनि रहेको छ अनि त्यहाँबाट हाकाता बेको सुन्दर दृश्यको आनन्द पनि लिन सक्नुहुन्छ। त्यस्तै, बिहानी किरणले उज्यालो भएको फुकुओका शहरको मनोरम दृश्य प्रदान गर्ने ''फुकुओका टावर'' र ''आबुरायामा'' पनि उत्तिकै लोकप्रिय छन्। यहाँ नि:शुल्क पार्किङ पनि छ, कृपया यिनीहरुको होमपेजमा हेनुहोला।

नयाँ वर्षमा तपाईंहरु सबैको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु। तपाईहरु सबैलाई नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना! नव वर्ष २०२४ मा, अहिलेको भन्दा अझ धेरै, सबैको अनुहारमा मुस्कानका साथ बाँच्ने समाजको सृजना होस् भनि कामना गर्दछु।

2023.12.21[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【बोनेन् खाई अर्थात् वर्षको अन्त्य पार्टी】

वर्षको अन्त्य नजिकिँदै गर्दा, बोनेन् खाईको सिजन पूर्ण रुपमा लागि नै सकेको छ। तपाईहरुले यस समयतिर बोनेन् खाई भन्ने शब्द धेरै सुन्नु भएको हुनुपर्छ। जापानमा, जब डिसेम्बर शुरु हुन्छ तब काम गर्ने ठाउँमा होस् वा समुदाय, साथीहरूसँग यस वर्षको कठिनाइहरू बिर्सेर, रिसेट गरेर, नयाँ उत्साहका साथ नयाँ वर्षलाई स्वागत गरौँ! भन्ने कामनाका साथ बोनेन् खाई अर्थात् वर्षको अन्त्य पार्टी आयोजना गरिन्छ। एक-अर्काको कडा परिश्रमका लागि धन्यवाद दिनका लागि पनि बोनेन् खाई आयोजना हुने भएकोले, सम्पूर्ण टोली एकसाथ भेला हुने र खानपानका लागि बाहिर जाने गरिन्छ। "ओचुखारेसामादेसिता! तपाईंको कडा परिश्रमको लागि धन्यवाद" भन्दै खान्पाई गर्ने, खानपान गर्नुका साथसाथै मनोरञ्जनको आनन्द लिने पनि गरिन्छ। 

यस किसिमको कार्यक्रममा प्रायः निस्कने जापानी वाक्यांश, "क्योउ वा बुरेइको"!

यसको अर्थ- आफ्नो स्थिति र पदलाई बेवास्ता गरि रमाईलो गरौं! कुनै चिन्ता नलिईकन आराम गरौं र मजा लिऔँ! भन्ने हो। तपाईंहरु पनि नयाँ उत्साह उमंगका साथ नयाँ वर्ष शुरु गर्नुहोस् है!

 

 

फुकुओका शहरको सूचना

नयाँ वर्षको बिदाहरुमा वार्ड अफिस काउण्टर अनि फोहोर फाल्ने दिन सम्बन्धि सूचना

नयाँ वर्षको बिदाहरुमा, वार्ड अफिसको काउण्टर र फोहोर फाल्ने दिन परिवर्तन हुने भएकाले, कृपया ध्यान दिनुहोला। वार्ड अफिसको काउण्टर, डिसेम्बर २९ (शुक्रबार) देखि जनवरी ३(बुधबार) सम्म बन्द रहनेछ।

नयाँ वर्षको बिदाहरुको अघिपछि वार्ड अफिसको काउण्टर भिडभाड हुने भएकोले, धेरै समय राखेर जाने गरौँ।

डिसेम्बर ३१ (आइतबार) देखि जनवरी ३ (बुधबार) सम्म, फोहर संकलन हुने छैन।

जल्ने फोहरको मात्र संकलन, डिसेम्बर ३० (शनिबार) सम्ममा हुनेछ। नयाँ बर्षको जनवरी ४ (बिहिबार) पछि पुनः संकलन हुने हुनाले तोकिएको बारमा फोहर बाहिर राख्नुहोस्। 

सँधै बुधबार र आइतबार फोहर संकलन हुने क्षेत्रहरुमा, त्यसको सट्टा डिसेम्बर ३० (शनिबार) मा संकलन हुनेछ।

नजल्ने फोहर तथा खाली सिसाको बोतल, प्लास्टिकको बोतल फाल्नका लागि, 

जनवरी १ (सोमबार) मा संकलन हुने क्षेत्रमा डिसेम्बर २२ (शुक्रबार), 

जनवरी २ (मंगलबार) को क्षेत्रमा डिसेम्बर २९ (शुक्रबार),

त्यस्तै, जनवरी ३ (बुधबार) को क्षेत्रमा जनवरी ५ (शुक्रबार) को दिन फोहर फाल्नुहोस्।

यसका साथै, ठूलो आकारका फोहरको काउण्टर तथा संकलन, डिसेम्बर २९ (शुक्रबार) देखि जनवरी ३ (बुधबार) सम्म बन्द रहनेछ।

 

 

वर्षको समाप्ति र नयाँ वर्ष सुरक्षित र ढुक्क साथ बिताउनका लागि

वर्षको समाप्ति र नयाँ वर्षको बिदाहरूमा रक्सी पिउने धेरै अवसरहरू हुने गर्छन्।

“मादकपदार्थ सेवन गरि गाडि नचलाउने, चलाउन नदिने, चलाउनेलाई बिल्कुल माफी नदिने, र बेवास्ता नगर्ने” प्रति निश्चित होऔं।

रक्सी पिएर साइकल चलाउनु पनि कानूनले निषेध गरेको छ।

विशेष ध्यान दिनुपर्ने भनेको, अर्को दिन रक्सीको ह्यांगओभर हो।

अलिकति भए पनि रक्सी लागेको बाँकी छ जस्तो लागेमा, गाडि नचलाऔं।

यस अतिरिक्त, हरेक वर्षको अन्ततिर ट्राफिक दुर्घटनाहरू बढ्ने गरेको पाईएको छ।

राती बाहिर निस्कँदा, ड्राइभरले देख्न सजिलो हुने, चम्किलो लुगा वा चमकदार वस्तुको प्रयोग गरौँ।

कार वा साईकल चलाउँदा, समयमै बत्ति अन गरौं।

अर्को जानकारी, बाटोमा हुने लुटपाटको बारेमा छ।

कम ट्राफिक भएको स्थानमा, साँझदेखि मध्यरातसम्म धेरै अपराधहरू हुने गरेको, अझ, लुटेराहरु प्रायः मोपेड बाइकमा आएका घटनाहरु धेरै छन्।

खोस्नबाट जोगिन, झोला सडकको अर्को पट्टि समात्ने गरौँ।

साथै, मान्छेको संकेत वा बाइकको आवाज सुन्नुभएमा पछाडी फर्केर हेर्ने आदि जस्ता, आफ्नो वरपर ध्यान दिने गरौँ।

हिँड्दा वा साइकल चलाउँदा चुरोट खाने बन्द गरौँ।

नियम तथा आचरणहरुलाई पालन गरि, तपाईंको वरपरका मान्छेहरुले पनि दुक्क र सुरक्षित महसुस गर्ने वातावरण बनाउन मद्दत गरौँ।

आफू र आफ्नो बहुमूल्य सामानहरूको ध्यान दिई, नयाँ वर्षको बिदा सुरक्षित र आनन्दमयी बिताऔं।

2023.12.14[Thu] 09:00

अन्य(その他)

【नेन् माचु ओसोउजी अर्थात् वर्षको अन्ततिर सरसफाई】

जापानमावर्षको अन्ततिर वा नयाँ वर्ष शुरु हुनु अघि बिस्तृत सरसफाई गर्ने चलन छ।

नयाँ वर्षको दिन भगवान्लाई स्वागत गर्न आफ्नो घर तथाकार्यस्थलबाट एक वर्षभरिको फोहोर हटाई, सफासुघ्घर पार्ने कार्य परापूर्वकालदेखि चलिआएको हो। 

डिसेम्बरमा, सरसफाई गर्नु सामान्य हो, तर २९, ३१र जनवरी १ तारिक चाहिं अशुभ मानिन्छ।त्यसैले नयाँ वर्षको लागि सरसफाई वा तयारी जस्ता घरका कामहरू यी दिनहरुमा नगर्नु राम्रो भनिन्छ।

यस वर्षको अब लगभग दुई हप्ता जति कामपछि लामो बिदा आउनै लाग्यो, बाँकीका दिनहरुमा पनि उत्तिकै मिहेनत गरौं। बिदामा भरपूर आराम अनि मनोरञ्जन लिने योजना बनाऔं।

 

 

फुकुओका शहरको सूचना

LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account संचालन गरिएको छ।

फाउण्डेसनको LINE आधिकारिक Account बाट LINE कल प्रयोग गरि, जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्श आदिका लागि बुकिंग गर्न सक्नुहुन्छ। टेलिफोन मार्फत् परामर्श, २२ वटा भाषाहरूमा उपलब्ध भएकोले, परामर्श लिन नहिचकिचाउनुहोस्। 

साथै, LINE Voom को प्रयोग गरेर फाउण्डेसनको कार्यक्रमहरुको जानकारी र फुकुओका शहरबाट जारी सूचनाहरु पठाइने गरिएको छ। "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन"को होमपेजबाट फाउण्डेसनको LINE आधिकारिक Account को Friend add गर्न अनुरोध गर्दछौं

LINE talk मार्फत परामर्श सेवा उपलब्ध छैन, तर फाउण्डेसनको होमपेजमा रहेको सोधपुछ फारमबाट पनि परामर्श लिन सक्नुहुन्छ।

 

 

वर्षको समाप्ति र नववर्षको बिदाको सूचना

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, डिसेम्बर २९ शुक्रबारदेखि जनवरी ३ बुधबाररसम्म ६ दिनको लागि बन्द रहनेछ।

नववर्ष २०२४ जनवरी ४ बिहिबार बिहान ९ बजेबाट खुल्नेछ।

वर्ष २०२४ को पहिलो विदेशीहरूका लागि नि:शुल्क कानुनी परामर्श,जनवरी ६ शनिबार आयोजना हुनेछ।

कानुनी परामर्शको लागि अग्रिम बुकिंग आवश्यक हुने हुनाले, परामर्श लिन ईच्छुक महानुभावहरुले सकेसम्म चाँडो सम्पर्क गर्नुहोस्। अग्रिम बुकिंग बिना उपलब्ध हुने प्रसाशनिक वकिलद्वाराको परामर्श,जनवरी १४ आइतबार आयोजना हुनेछ।

विस्तृत जानकारीका लागि कृपया फोन कल वा फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेनुहोला। फोन नम्बर०१२०-६६-१७९९ हो। कल शुल्क लाग्दैन।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले, फुकुओकामा बस्नु हुने सबै विदेशीहरुको आरामदायी जीवनयापनका लागि, मुख्य संवाहकको रुपमा, बिभिन्न जानकारीहरु प्रदान गर्दै, सबैको जीवनयापनमा सहयोग गर्दछ। अवश्य पनि बिना हिच्किचाई परामर्श सेवा लिनुहोस्।

 

2023.12.07[Thu] 09:00

अन्य(その他)

【mochi-pounding】

तपाईहरुलाई "मोची" कत्तिको मन पर्छ?ताजा बनाएको मोची नरम अनि स्वादिष्ट हुन्छ। 

जापानमा डिसेम्बरमा विद्यालय र सामुदायिक भेलाहरूमा "मोची बनाउने प्रतियोगिताहरू" आयोजना गरिन्छ।

जापानमा, नयाँ वर्षमा धेरै मोची उपभोग गर्ने भएकोले, यस समयमा बनाएर भण्डारण गरि राख्ने गरिन्छ।

ठूलो संख्यामा मानिसहरू भेला हुन्छन् र मोची बनाउनको लागि विशेष किसिमको भाँडाको प्रयोग गरि तात्तातो, बाफिएको ताइचिन भातलाई कुट्ने-मुछ्ने प्रक्रिया दोहोर्याएर मोची बनाईन्छ। यो मोची बनाउनेप्रक्रिया निकै जीवन्त छ, सबैले हुटिंग गर्ने, ताली बजाउने अनि पालैपालो मोची कुट्नेगर्छन् जसमा सहभागी हुनु त रमाइलो भई नै हाल्छ भने, हेर्न मात्र पनि अत्यन्तै रमाइलो हुन्छ।

मोची बनाउन सकेपछि, आयोजना स्थलमा नै, सबैले आफ्नो मनपर्ने स्वादको साथमा ताजा बनाएको मोची खान्छन्।

बिभिन्न स्वादहरु जस्तै कि भटमासको पिठो, रातो बीन पेस्ट, चिनी-सोया ससको मिश्रण लगायत ग्रेटेड मूला, नाटो,सोया सस र नोरी जस्ता थुप्रै थरिहरुबाट रोज्न सक्नुहुन्छ।

यदि तपाईंहरुलाई मौका मिल्यो भने, पक्कै पनि परम्परागतमोची बनाउने जापानी कार्यक्रममा सहभागी हुनुहोला है!

 

 

फुकुओका शहरको सूचना

विश्व मानव अधिकार दिवस र मानव अधिकार सप्ताहको बारेमा

"मानव अधिकार" भनेको हरेक व्यक्ति जन्मेदेखि उसले "मानव जस्तो जीवन जीउन" पाउनु अधिकार हो।

डिसेम्बर १० "विश्व मानव अधिकार दिवस" हो, जुन जापानमा मात्र होइन, विश्वको विभिन्न भागहरुमा पनि "मानव अधिकार" को बारेमा मनन गर्ने दिनको रुपमा रही आएको छ।

डिसेम्बर ४ देखि १० सम्म "मानव अधिकार सप्ताह" को अवसरमा, फुकुओका शहरमा पनि, मानव अधिकारको सम्मान गरि, भेदभाव रहित आरामदायी फुकुओका शहरको उद्देश्यले मानव अधिकार सम्मान सप्ताह आयोजना गरिंदै आईरहेको छ।

प्रत्येक व्यक्ति स्वावलम्बी छ भन्ने कुरा अनुभूति दिने यो महत्त्वपूर्ण सप्ताह हो।

SDGs द्वारा उल्लेख गरिए अनुसार "कोही पनि नछुटौं" समाजलाई महसुस गर्न, महिला, बालबालिका, वृद्ध, विदेशी, अशक्त, आदिको आधारमा भेदभाव र पूर्वाग्रह हटाएर, एक अर्काको मानव अधिकारको सम्मान गर्न जरुरी छ।

हामीहरु पनि "दयालु हृदय" र "स्वाभिमानी जीवन"को बारेमा फेरि एकपटक मनन गरेर हेर्ने होइन त?

2023.11.30[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , नियम तथा आचरण(ルール・マナー)

【इटोशिमा ओइस्टर हट्स】

तपाईंहरूमध्ये धेरैजना फुकुओकाको हिउँद ऋतुको परम्पराहरुमध्ये एक, ''ओइस्टर हट्स'' को प्रतीक्षा गर्दै हुनुहुन्छ भने, त्यो मौसम आई नै सक्यो! प्रत्येक वर्ष यस समयतिर, इटोशिमाका छवटा माछा मार्ने बन्दरगाहहरूमा सीमित समयका लागि प्रबन्धितघर तथा ग्रीनहाउसहरू खोल्ने गरेका छन्।

इटोशिमाको ओइस्टर हट्स विगत केही वर्षदेखि निकै प्रख्यात बन्दै आइरहेको छ! यो स्थानियहरु माझ मात्र नभई जापान र विदेशका पर्यटकहरु माझ पनि लोकप्रिय हुँदै आइरहेको छ।अनि, धेरै पटक दोहोरिने आगन्तुकहरुको संख्या हरेक वर्ष बढ्दै गईरहेको छ। ओइस्टरहरू यति पौष्टिक हुन्छन् कि तिनीहरूलाई "समुद्रको दूध" पनि भनिन्छ जून हिउँद मौसममा पाईने गर्छ। बिशेष गरि इटोशिमाका ओइस्टरहरू किफायती मूल्य, ताजा, स्वस्थकर, आकारमा ठूलो अनि स्वादिष्ट हुन्छन्।

पक्कै पनि यस जाडोमा इटोशिमाको स्वादिष्ट ओइस्टरहरूको आनन्द लिनुहोस्।

 

 

फुकुओका शहरको सूचना

विश्व एड्स दिवस सम्बन्धि

डिसेम्बर १ विश्व एड्स दिवस हो। हरेक वर्ष डिसेम्बर १ लाई केन्द्रित गरि, विश्वभर एड्स सम्बन्धि जनचेतना जगाउने गतिविधिहरू आयोजना गरिन्छ।

एचआईभी संक्रमण पछि, धेरै वर्षसम्म यसको प्रत्यक्ष लक्षण बिनाको अवधि जारी रहने भएकोले, एड्स नलागेसम्म रोग पत्ता नलगाएका संक्रमित व्यक्तिहरू धेरै छन् भन्ने अनुमान गरिन्छ।

HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचारले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, प्रारम्भिक परिक्षण गर्ने गरौँ। प्रत्येक वार्डको Health and Welfare Center मा, HIV परिक्षण निःशुल्क र गोप्य रूपमा गर्न सक्नुहुन्छ।परिक्षण गर्न मिल्ने दिनको निश्चित समय भएकोले, कृपया जानुअघि अग्रिम जानकारी लिनुहोला।

यसका अतिरिक्त, एड्स पीडित व्यक्तिहरूलाई बुझ्ने र समर्थन गर्ने ईच्छुकत्तालाई रातो रिबनको प्रतिकले दर्शाउँछ। रातो रिबनले, एड्सको बारेमा कुनै पूर्वाग्रह नभएको र एड्स भएकासाथ बस्नेहरूसँग भेदभाव गर्दैनौं भन्ने सन्देश दिन्छ। रातो रिबन पछि डिसेम्बर १ देखि ७ सम्म ७ दिन को लागी,Hakata Port TowerFukuoka Red Brick Culture Museum मा रातो रंगको बत्ति बालि उज्यालो पारिन्छ। 

विश्व एड्स दिवसको अवसरमा, एड्सको बारेमा सही ज्ञान र यसको रोकथाम उपायहरूको बारेमा सबैजनाले मनन गरेर हेरौं।

 

 

फोहरको अवैध डम्पिंग

 

जंगल, समुद्रीतट, नदी, सडक, पार्क आदिमा फोहर फाल्ने कार्यलाई अवैध डम्पिंग भनिन्छ।

फुकुओका शहरमा, बर्षको अन्त्यमा सरसफाईको कारण फोहरको मात्रा बढ्ने डिसेम्बरमा, “अवैध डम्पिंग रोकथाम सुदृढीकरण महिना" को रूपमा, अवैध फोहर फाल्न रोक्नका लागि गतिविधिहरू थप सुदृढ गरिन्छ।

फुकुओका शहरले पुलिसको सहयोगमा, धेरै अवैध फोहर फाल्ने स्थानहरुमा, निगरानी क्यामेरा वा चेताउनी संकेतहरू राख्ने र गस्तीहरू सञ्चालन गरिंदै आईरहेको छ।

टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर, र एयर कन्डिशनरहरू घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ। 

नयाँ जडान गर्ने बेलामा पुरानो इलेक्ट्रोनिक सामान दिएर पठाउनेवा त्यो इलेक्ट्रोनिक सामान खरिद गर्नुभएको पसलमा लैजाने गर्नुहोस्। 

यस बाहेकका सामानहरुसङ्कलनकालागि, आफ्नो नजिकको Yamada Denki मा लिनुहुन्छ कि भनेर सोधपुछ गर्नुहोला वा फुकुओका शहरबाट सम्बन्धन प्राप्त गरेका Rinet Japan Recycle तथा SG Moving मा सङ्कलनकालागि अनुरोध गर्नुहोस्।

रिसाइकल शुल्क, संकलन र यातायात शुल्क आवश्यक पर्छ।

साथै, कम्प्युटरको सङ्कलन लागि सम्बन्धित कम्पनि वा Rinet Japan Recycle मा अनुरोध गर्नुहोस्।

शहरमा गस्ती गर्नेहरू, पर्चाहरू, इन्टरनेट आदि मार्फत् "अनावश्यक सामानहरूकम शुल्कमा संकलन गरिदिन्छौं भनि विज्ञापन गर्नेहरु, फुकुओका शहरको अनुमति बिना अवैध रूपमा संकलन गर्ने ठेकेदारहरु हुन्। अनुमति प्राप्त नभएका ठेकेदार मार्फत् गराउनु भयो भने, अवैध डम्पिंग वा अनुचित प्रशोधन गर्ने, अधिक शुल्क लिने जस्ता समस्याहरू निम्त्याउने हुनाले कृपया यसको प्रयोग नगर्नुहोस्।

2023.11.23[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【क्रिसमस एडभेन्ट】

तेन्जिन र हाकाता शहरहरूमा, सडक छेउका रुखहरू लगायत प्रत्येक व्यावसायिक पसलहरुले राखिएका झिलिमिली बत्ती र बिशाल क्रिसमस ट्रीहरुको सजावटले, सिङ्गो शहर नै झिलिमिली भईरहेको छ।

तपाईंहरु झिलिमिलीको शहर, फुकुओकाको क्रिसमस इभेन्ट "क्रिसमस एडभेन्ट" मा जानुभयो?

क्रिसमस एडभेन्ट भन्नाले के हो भन्ने तपाईंहरूमध्ये कसै-कसैलाई लागिरहेको होला। हरेक वर्ष आयोजना हुँदै आइरहेको "क्रिसमस मार्केट" ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यस बर्षदेखि, "क्रिसमस एडभेन्ट" नामकरण गरि, थप सुधारका साथ नविकरण गरिएको हो!

नोभेम्बर ६ देखि हरेक दिन, विभिन्न स्थानहरूमा झिलिमिली बत्तीका साथै क्रिसमस मार्केट पनि लागिरहेको छ। क्रिसमसको दिनसम्म हरेक दिन हाकाता, तेन्जिन, र नाकासुका शहरहरुमा चकाचक माहोल देख्न सक्नुहुन्छ। झिलिमिली बत्तिहरु, सजावटहरु, क्रिसमसका रुखहरु, धेरै सान्टाहरुसँग भेटघाट अनि प्रत्यक्ष सांगीतिक कार्यक्रम आदि बिभिन्न तरिकाहरुबाट मनोरन्जन लिन सक्नुहुन्छ।

यस वर्ष, तीन नयाँ ठाउँहरू थपिएर १०० भन्दा बढी स्टलहरू खोलिएका छन्। स्वादिष्ट खाना, आकर्षक क्रिसमस सामानहरू, र क्लासिक मुल्ड वाइन र हट चकलेट पनि बिक्रीमा राखिएका छन्।

मग कपको डिजाइन हरेक वर्ष परिवर्तन हुन्छ, तर पहिलो संस्करणको मगकपको निकै लोकप्रिय छ! यस वर्ष प्रत्येक स्थानमा ६ प्रकारका मग कप उपलब्ध छन् । पानी परेको दिनमा मात्रै उपलब्ध हुने मग कप पनि राखिएको छ।

तपाईंहरु पनि अवश्य "क्रिसमस एडभेन्ट" मा घुम्न जानुहोला अनि क्रिसमस झिलिमिलीको आनन्द लिनुहोला।

 

 

【डीजे छुट्टी का मौसम】

भन्दाभन्दै वर्षको अन्तिम महिना डिसेम्बर आउन लागिसक्यो। डिसेम्बरको अन्त्यतिर लगातार बिदा पाउने हुनेहरुले बिदा कसरी मनाउने भन्ने बारे अहिलेदेखि सोचिरहनु भएको छ होला। जापानको व्यस्त जीवनयापनमा यस किसिमको बिदाको भरपूर सदुपयोग गरेर परिवारजन, साथीभाईसँग रमाइलो समय बिताउने प्लान प्रायःको छ होला। बिदाका दिनहरुमा के गर्ने, कहाँ जाने भनेर लिस्ट बनाई क्यालेन्डरमा चिन्ह लगाउने पनि राम्रो उपाय हुन सक्छ।

म चाहिं, जापान आएदेखि लामो बिदाको अवसरमा प्रायःजसो साथीहरुसँग नयाँ पर्यटकीय स्थलहरुमा घुमघाम गर्ने, नेपाली तथा जापानी साथीहरुलाई घरमा बोलाएर नेपाली खाना खुवाएर रमाइलो गर्ने; बिशेष गरि नेपाली स्वादको मः मः बनाउने गरेकी छु। त्यस्तै, बिदामा मलाई ओहोरी पार्क र जिन्जाहरुमा जान पनि मन पर्छ, त्यहाँको शान्त वातावरणमा बेग्लै किसिमको आनन्द अनुभूति हुन्छ। यस बाहेक यस समयतिर बजारमा सेल लाग्ने भएकोले सामान्यभन्दा अलि बेसी शपिंग पनि गर्ने गर्छु। यस वर्ष पनि यस्तै यस्तै गरेर बिदा मनाउने सोचेकी छु। तपाईंहरुको चाहिं कस्तो प्लान छ होला?

डिसेम्बरको लामो बिदाका दिनहरुमा मलाई नेपाली खाना बाहेक बिशेष गरि जापानी खाना -नाबे खान औधी मनपर्छ। तपाईंहरुलाई नाबे कत्तिको मन पर्छ हो? जाडोमा नाबे खानुको मज्जा नै छुट्टै छ नी! वास्तवमा, अत्यन्तै जाडोमा नाबे खानु अति उत्तम हुन्छ। यो पकाउन पनि एकदम सजिलो छ। आफूलाई मनपर्ने मासु, माछा र तरकारीहरू जस्ता सामग्रीहरू काटेर, सूप हालेर उमाल्ने मात्र त हो। अनि अन्तमा बाँकि भएको झोलमा अन्दासँग भात वा नूडल हालेर खान पनि स्वादिष्ट हुन्छ। 

तपाईंहरु पनि जाडोमा तातो नाबे खाएर, शरीरलाई न्यानो बनाएर बस्नु होला है।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ