福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.07.30[Thu] 09:00
【किताजाकी सुइखा】
फुकुओका सहरभित्रकै एक मात्र सुइखा अर्थात् खरबुजा उत्पादन हुने क्षेत्र— निसि वार्डको किताजाकी क्षेत्रमा उब्जाइएको, असाध्यै गुलियो र स्वादिलो 'किताजाकी सुइखा' को यतिबेला मुख्य सिजन चलिरहेको छ।
यो 'किताजाकी सुइखा ' फुकुओकाका मात्र ३ वटा किसान परिवारले मात्र उत्पादन गर्ने गर्दछन्। यसको धेरैजसो हिस्सा फुकुओका प्रान्तभित्रै खपत हुने भएकाले प्रान्त बाहिर यो पाउन निकै गाह्रो छ। सामान्य खरबुजाको गुलियोपन १० देखि १२ डिग्री जति हुने गर्दछ, तर यो 'किताजाकी सुइखा ' को गुलियोपन १३ डिग्रीभन्दा बढी हुन्छ। यसलाई एकचोटि टोक्ने बित्तिकै यसको कुरुम-कुरुम हुने बनोटसँगै एउटा छुट्टै र बाक्लो गुलियोपन मुखभरि फैलिन्छ। यसको अर्को विशेषता भनेको यसको बोक्राको फेदसम्मै उत्तिकै गुलियो हुन्छ, जसले गर्दा धेरै भाग खान मिल्छ। "एकपटक खाएपछि यसको स्वाद कहिल्यै बिर्सिन सकिन्न" भन्दै हरेक वर्ष यो सिजनलाई पर्खिएर बस्ने यसका थुप्रै प्रशंसकहरू छन्। यो साँच्चै नै पारखीहरूले मात्र थाहा पाएको एउटा उत्कृष्ट उत्पादन हो।
स्वादिलो खरबुजा कसरी छान्ने? यदि सिङ्गो खरबुजा किन्दै हुनुहुन्छ भने, बाहिरको हरियो रङ गाढा भएको छान्नुहोला। र यदि काटिएको खरबुजा किन्दै हुनुहुन्छ भने, भित्रको बीउको रङ एकदमै गाढा रातो भएको छान्नु राम्रो मानिन्छ।
यस वर्ष मौसमले राम्रो साथ दिएकाले खरबुजाको उत्पादन निकै राम्रो भएको छ। यो खरबुजा अगस्टको मध्यतिरसम्म JA को प्रत्यक्ष बिक्री केन्द्र र स्थानीय सुपरमार्केटहरूमा किन्न पाइन्छ। खरबुजा मन पराउने श्रोताहरूले फुकुओकाको यो रैथाने र असाध्यै गुलियो 'किताजाकी सुइखा' लाई एकचोटि पक्कै पनि चाखेर हेर्नुहोला है!
【MLB Breakfast Club】
फुकुओकाको तेन्जिनमा 'एमएलबी ब्रेकफास्ट क्लब @ फुकुओका' (MLB Breakfast Club @ Fukuoka) सुरु भएको छ, जहाँ तपाईं ठूलो मनिटरमा अमेरिकी मेजर लिग बेसबल (MLB) को खेल हेर्दै हटडग र क्रोसाँ (Croissant) जस्ता स्वादिला ब्रेकफास्टको मज्जा लिन सक्नुहुन्छ। मेजर लिगका धेरैजसो खेलहरू जापानको समय अनुसार बिहान खेलिने हुनाले, यसै अवसरलाई सदुपयोग गर्दै यो कार्यक्रम आयोजना गरिएको हो। मेजर लिगमा तहल्का मच्चाइरहेका जापानी खेलाडीहरूको खेल र मीठो बिहानी खाजाका साथ मानिसहरूले आफ्नो दिनको सुरुवात ऊर्जावान् रूपमा गर्न सकून् भनेर यसै वर्षदेखि यो नयाँ अभियान सुरु गरिएको हो।
यो कार्यक्रम मार्चदेखि मे महिनासम्म टोकियोमा र जुन महिनामा ओओतानी शोहेई, किकुची युउसेई र सासाकी रोउकी जस्ता चर्चित खेलाडीहरूको गृहप्रान्त इवातेमा आयोजना भइसकेको छ। र, टोकियो र इवातेपछि फुकुओका सहर यो कार्यक्रम आयोजना हुने तेस्रो स्थान बनेको छ।
कार्यक्रम स्थलमा राखिएका मनिटरहरूमा विशेषगरी जापानी खेलाडीहरू आबद्ध रहेका टोलीहरूको खेल प्रसारण गरिनेछ। त्यहाँ राखिएका फूड ट्रक (Kitchen Cars) हरूमा अमेरिकी बेसबल रंगशालामा लोकप्रिय रहेका स्वादहरूलाई नयाँ रूप दिइएका ४ प्रकारका हटडगहरू, क्रोसाँ र बेकन समावेश भएको "मर्निङ प्लेट" (Morning Plate) का साथै अमेरिकाको प्रख्यात मेनु "केजन चिकन ओभर राइस" लगायतका परिकारहरू बिक्री गरिनेछ। मेनुमा फुकुओकाको आफ्नै विशेषता झल्किने "मेन्ताई डग" पनि उपलब्ध हुनेछ।
यो कार्यक्रमयही हप्ताको २७ तारिख (सोमबार) देखि अगस्ट १६ तारिखसम्मतेन्जिनमा रहेको "फुकुओका मिचुकोशी लायन हिरोबा" (Fukuoka Mitsukoshi Lion Hiroba) को "फुकुओका सहर पर्यटक सूचना केन्द्र" अगाडि आयोजना हुनेछ। कार्यक्रमको समयसोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मरशनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मरहनेछ।
विश्वकै सर्वोत्कृष्ट खेल हेर्दै नयाँ शैलीमा दिनको सुरुवात गर्नका लागि यो 'एमएलबी ब्रेकफास्ट क्लब' मा एकचोटि पक्कै जानुहोला है! ♪
2026.07.23[Thu] 09:00
【IRIE MUSIC with JIM BEAM SUMMER FES】
यस सप्ताहन्त, LOVE FM को रेगे संगीत कार्यक्रम "IRIE MUSIC" को संगीत कार्यक्रम आयोजना हुँदैछ।
प्रत्येक शनिबार बिहान ८ बजे प्रशारण हुने “रेगे १००% प्रोग्राम”IRIE MUSIC ले आयोजना गर्ने यो खुल्ला मन्चमा हुने संगीत महोत्सव हो। हरेक वर्ष अत्यधिक लोकप्रिय हुने यो कार्यक्रम यस वर्ष पनि तेंन्जिनको केन्द्रमा ३ दिनसम्म आयोजना गरिँदैछ! रेगे, हिप-हप र ओकिनावालाई विषय बनाएर रमाइलो तालको उत्कृष्ट संगीत प्रस्तुत गरिनेछ। रेगे संगीतमा नौलो व्यक्तिदेखि लिएर रेगे प्रेमीहरूसम्म सबैले रमाइलो गर्न सक्ने निशुल्क संगीत कार्यक्रम हो।
कार्यक्रम यस हप्ताको शुक्रबार२४ तारिखदेखि २६ तारिकसम्म — ३ दिन लगातार।
शुक्रबार कार्यक्रम साँझ ४ बजेबाट सुरु हुनेछ। शनिबार र आइतबार भने कार्यक्रम बिहान ११ बजेबाट रातिसम्म चल्नेछ।
स्थान, तेंन्जिन स्टेशन नजिकैको “तेंन्जिन चुओ पार्क”।
प्रवेश निःशुल्क छ।
संगीत महोत्सवमा स्वादिलो खानाको पनि आनन्द लिन सक्नुहुन्छ! महोत्सवमा फुकुओकाका स्थानीय लोकप्रिय रेस्टुरेन्टहरूका साथै क्युशुका अन्य प्रान्तहरूबाट समेत छानिएका विशेष फूड स्टलहरू, अनि चिसो पेय पदार्थहरूको साथमा रमाइलो गर्न सकिन्छ।
उत्कृष्ट कलाकारहरूको लाइभ संगीत, स्वादिलो खाना, र रमाइलो पेय पदार्थहरूको साथ यो गर्मीको सबैभन्दा रमाइलो संगीत क्षण अनुभव गरौं!
चर्चित कलाकारहरूको उत्कृष्ट लाइभ प्रस्तुति, स्वादिला परिकारहरू र चिसो पेय पदार्थको मज्जा लिँदै, संगीतको यो सबैभन्दा रोमान्चक वातावरणमा यो गर्मी सिजनकै सबैभन्दा उत्कृष्ट र अविस्मरणीय सम्झना सँगै बुनौँ!
【फुकुओका शहरको सूचना】
साइकल चलाउँदा पालना गर्नुपर्ने ट्राफिक नियम र शिष्टाचार
प्रायःजसो दैनिक रुपमा साइकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला।
के तपाईं जापानको साइकल चलाउने नियम र शिष्टाचारबारे जानकार हुनुहुन्छ?
जापानमा साइकल मूलतः सडकको बायाँ पट्टि चलाउनु पर्ने हुन्छ।
पैदलमार्गमा पैदल यात्रीलाई प्राथमिकता दिइन्छ। पैदलमार्ग प्रयोग गर्दा सडकपट्टि बिस्तारै चलाउनुपर्छ।
साइकल प्रयोग गर्ने सबै व्यक्तिले हेलमेट अनिवार्य रूपमा लगाउनुपर्छ।
राति साइकल चलाउँदा अनिवार्य रूपमा बत्ती बाल्नुपर्छ।
दुई जनाले एउटै साइकलमा सँगै चढ्ने वा सँ र समानान्तर रूपमा सँगसँगै साइकल चलाउने कार्य निषेध गरिएको छ।
छाता ओढेर सवारी गर्नु, मोबाइल फोन प्रयोग गर्नु वा ठूलो आवाजमा हेडफोन लगाएर सवारी गर्नु पनि प्रतिबन्धित गरिएको छ।
साथै, साइकल चलाउँदा मदिरा सेवन (ड्रिंक ड्राइभिङ्ग) गर्नु पूर्ण रूपमा निषेध गरिएको छ।
साइकल चलाउँदा ट्राफिक नियम मिच्ने १६ वर्ष वा सोभन्दा माथिका चालकहरूका लागि जरिवाना प्रणाली (जसलाई 'अओकिप्पु' वा निलो चिट भनिन्छ) लागू गरिएको छ।
साइकल सधैं पार्किङ स्थलमा राख्नुपर्छ। पार्किङ स्थलबाहेकको सडकमा साइकल राखेमा, त्यो पैदल यात्रीलाई अवरोध वा असुविधा पुर्याउन सक्छ, त्यसैले त्यसलाई परित्याग साइकल मानी हटाइन्छ। फुकुओका शहरमा हटाइएको साइकल फिर्ता लिन २,५०० येन लाग्छ, र निश्चित अवधिभित्र नलिइएमा त्यो फ्याँकिन सक्छ। व्यापारिक क्षेत्र वा स्टेशन वरपर छोटो अवधिका लागि निःशुल्क पार्किङ स्थल पनि उपलब्ध छन्, त्यसलाई प्रयोग गरौं।
साथै, फुकुओका शहरभित्र साइकल चलाउने जो-कोहीले साइकल बीमा लिन अनिवार्य छ। साइकल दुर्घटनामा तपाईंले अर्कोलाई ठूलो रकम तिर्नुपर्ने अवस्था आउन सक्छ। यदि तपाईंले साइकल बीमा लिनुभएको छ भने, तपाईंको साइकलले कसैलाई चोट पुर्यायो भने उपचार खर्च बीमाले तिर्नेछ। यस्तो आकस्मिक घटनाको लागि, अवश्य पनि साइकल बीमा लिनुहोस्।
साइकल एक वातावरणमैत्री र सुविधाजनक यातायात साधन हो। नियम र शिष्टाचार पालना गर्दै सुरक्षासाथ साइकल चलाऔं।
2026.07.16[Thu] 09:00
【अगापान्थास ब्ल्याकज्याक】
फुकुओका सहरमा विश्वमै पहिलोपटक 'अगापान्थास ब्ल्याकज्याक' (Agapanthus Black Jack) फूलको सर्वसाधारणका लागि बिक्री-वितरण सुरु भएको छ। यो प्रजातिलाई फुकुओका सहरले गत वर्षको मार्च महिनामा आयोजना गरेको "Fukuoka Flower Show" मा जापानमै पहिलोपटक प्रदर्शन गरिएको थियो, र यो यहाँको 'फिचर फ्लावर' को पहिलो नम्बरमा पर्न सफल भएको छ। 'फिचर फ्लावर' भन्नाले विश्वभरि उच्च मूल्याङ्कन गरिएका नयाँ प्रजातिहरूमध्येबाट— हुर्काउन सजिलो, सहरको वातावरण र मानिसहरूको जीवनशैलीसँग सहजै मेल खाने र "भविष्यको नयाँ ट्रेन्ड" बन्न सक्ने फूलहरूलाई बुझिन्छ।
विश्वकै सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय फ्लावर शो "चेल्सी फ्लावर शो २०२३" को नयाँ प्रजाति विधामा सर्वोत्कृष्ट पुरस्कार (Plant of the Year) जित्न सफल यो 'अगापान्थास ब्ल्याकज्याक' फूल, गाढा कालो-बैजनी रङका साना फूलहरू झुप्पा परेर फुल्ने यसको छुट्टै र अनुपम सुन्दरताका लागि चिनिन्छ। यसको फुल्ने अवधि निकै लामो हुने भएकाले गर्मीको सुरुवाती महिनादेखि ढिलो गर्मी सम्म यसले हाम्रो आँखालाई आनन्द दिइरहन्छ। साथै, यसमा अत्यधिक गर्मी र खडेरी खप्न सक्ने उच्च क्षमता हुने भएकाले कडा गर्मी मौसममा पनि यसलाई सजिलैसँग हुर्काउन सकिने ठूलो फाइदा छ।
विश्वभरि उच्च प्रशंसा पाएको यो दूर्लभ र नयाँ प्रजातिको फूल, जापानमा पहिलोपटक प्रदर्शन गरिएको करिब एक वर्षपछि अन्ततः अब सर्वसाधारणका लागि नर्सरी तथा फूल पसलहरूमा किन्न उपलब्ध भएको छ। आफ्नो घरको बगैँचा वा कौसीलाई नयाँ र आकर्षक रूप दिनका लागि तपाईं पनि यसलाई सजिलैसँग रोप्ने प्रयास गर्ने होइन त?
यदि तपाईं यो फूल कस्तो देखिन्छ भनेर हेर्न चाहनुहुन्छ भने, अहिलेफुकुओका सहरको वनस्पति उद्यान (Fukuoka City Botanical Garden) रमाइजुरु पार्क (Maizuru Park) मा यो फूल रोपिएकाले त्यहाँ गएर यसको वास्तविक सुन्दरताको आनन्द लिन सक्नुहुन्छ।
कालो-बैजनी रङको यो सुन्दर फूल; 'अगापान्थास ब्ल्याकज्याक', अब फुकुओका हुँदै विश्वभरि छाउनेछ! ♪
【फुकुओका शहरको सूचना】
नेच्च्युस्योउ अर्थात् लू लाग्नुबाट सावधान हुनुहोस्!
अत्याधिक गर्मीको बेला, गाह्रो ब्यायाम वा तीव्र शारीरिक क्रियाकलापका कारण शरीरले आफ्नो तापक्रम ठीकसँग नियन्त्रण गर्न सक्दैन, जसले गर्दा शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा भई नेच्च्युस्योउ अर्थात् लू लाग्छ।
नेच्च्युस्योउका लक्षणहरूमा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने र झाडापखाला लाग्ने जस्ता हुन्।
यस्तो बेलामा शरीरलाई चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछ। यदि यस्तो गर्दा पनि निको नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुपर्छ।
विशेष गरी, भारी वर्षा समाप्त भएपछि, जुलाईबाट अधिकतम तापमान बढ्ने समयमा आकस्मिक कक्षमा ल्याउनेहरुको सङ्ख्या ह्वात्तै बढ्छ।
यस समयमा, उच्च आर्द्रता हुने र शरीरलाई अधिकतम गर्मीको बानि नहुने हुनाले धेरै ध्यान दिनु आवश्यक छ। लू, घर बाहिर मात्र होइन घर भित्र पनि हुन सक्छ।
अब केही नेच्च्युस्योउबाट बच्ने उपायहरु बताउन गईरहेकी छु।
तरल पदार्थ बारम्बार पिउने गर्नुहोस्।
नियमित रूपमा जौको चिया र पानी पिउने, व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छ। पसिना आउँदा, नुनपानी पिएर शरीरमा पानीको मात्रा कायम राखौं।
टोपी वा छाताको प्रयोग गरेर प्रत्यक्ष घामबाट जोगौं।
कोठाको तापक्रम २८ डिग्री सेल्सियसभन्दा कम राख्न, बुद्धिमानीपूर्वक air conditioner र फ्यानको प्रयोग गरौँ।
Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।
सन्तुलित आहार र पर्याप्त निद्रा लिएर, स्वास्थ्यको ख्याल गरौं।
2026.07.09[Thu] 09:00
अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【HAKATA FISH PROJECT】
क्युशुका विभिन्न क्षेत्रबाट ताजा समुद्री खानेकुराहरू भित्रिने नागाहामा माछा बजार (Nagahama Fish Market) र अनगिन्ती स्वादिला रेस्टुरेन्टहरूका कारण फुकुओका सहर “मिठो माछा पाइने सहर” का रूपमा प्रख्यात छ।
अहिले फुकुओका सहरमा माछा र समुद्री परिकारहरूको उपभोग बढाउनका लागि 'हाकाता फिस प्रोजेक्ट' अन्तर्गत विशेष सी-फूड महोत्सव चलिरहेको छ। गेन्काइनादा समुद्र र नागाहामा बजारबाट सिधै ल्याइने ताजा र मौसमी सी-फूडको वास्तविक स्वादलाई सबैमाझ पुर्याउनु नै यस महोत्सवको मुख्य आकर्षण हो।
“अहिले नै हाकातामा मीठो माछा खाऔँ”भन्ने नाराका साथ हाल यस महोत्सवको पहिलो चरणमा 'स्क्विड फेयर' भइरहेको छ। फुकुओकामा गर्मीको सुरुवाती सिजनको पहिचान मानिने 'इखा' अर्थात् स्क्विड, यसको कुरुम-कुरुम हुने लचिलोपन र मुखमा हाल्ने बित्तिकै पग्लिने छुट्टै गुलियो स्वादका लागि निकै रुचाइन्छ।
फुकुओका सहरका सहभागी रेस्टुरेन्टहरूमा यो सिजनको ताजा स्क्विडबाट बनेका विभिन्न परिकारहरूको स्वाद लिन नभुल्नुहोला।
यो पहिलो चरणको 'स्क्विड फेयर' जुलाई १९ तारिखसम्मचल्नेछ। यसपछि आगामी दिनहरूमा प्रख्यात जापानी माछाहरू— ताई, बुरी र सावारा माछाका विशेष फेयरहरू पनि आयोजना हुनेछन्।
कुनै मिसावट नभएको समुद्रको यो शुद्ध तथाताजा माछाको स्वादलाई सही मौसममै चाख्न नभुल्नुहोला है♪
🔎https://www.city.fukuoka.lg.jp/nosui/suisanshinko/charm/documents/ikafair.pdf
🔎https://www.instagram.com/hakata_fish_project/
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
विदेशी मूलका बालबालिकाहरुका लागि शैक्षिक तथा करियर परामर्श कार्यक्रम
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर”, “फुकुओका YWCA”,“Fukuoka International Residents Association” सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्शकार्यक्रम" आयोजना हुन गइरहेको छ।
यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ।
यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।
परामर्श नि:शुल्क छ।
जापानी, अंग्रेजी, चाइनिज, भियतनामी र नेपाली भाषामा परामर्श उपलब्ध छन्।
कार्यक्रम हुने दिन: जुलाई ११, शनिबार दिउँसो १:०० बजेदेखि।
आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर
बुकिङ तथा सोधपुछको लागि, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर” को वेबसाइटमा हेर्नुहोला।🔎https://www.fcif.or.jp/latestnews/consultation/schoolguidance/
विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।🔎https://www.fcif.or.jp/consultation/immigration/
2026.07.02[Thu] 09:00
अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【कुल सेयर फुकुओका】
फुकुओका सहरले अत्यधिक गर्मीको समयमा सर्वसाधारणलाई बजार वा बाटोमा हिँड्दा हिँड्दै सजिलैसँग आराम गर्न र शितल हुन सकोस् भन्नका लागि“कुल सेयर फुकुओका” (Cool Share Fukuoka) अभियान सुरु गरेको छ।
यो अभियानको मुख्य उद्देश्य बाहिर निस्कँदा लाग्न सक्ने “लु” वा हिट स्ट्रोकबाट बचाउनु र घरको बिजुली बचत गर्नु हो। यस अन्तर्गत सहरका नागरिक भवन, व्यायामशाला जस्ता सार्वजनिक स्थलहरूका साथै स्थानीय औषधि पसल र व्यापारिक मलहरू गरीकरिब ८९० ठाउँहरूलाई “कुल सेयर स्पट”का रूपमा तोकिएको छ। यी ठाउँहरूमा“कृपया यहाँ आएर आराम गर्नुहोस्”भनी लेखिएका स्टिकर वा झन्डाहरू राखिएका छन्, जहाँ तपाईं सित्तैमा छिरेर शितलमा आराम गर्न सक्नुहुन्छ।
यसका साथै, सहरका वार्ड कार्यालय, खेलकुद हल र पार्कहरू गरी४४ वटा सुविधाहरूमा नि:शुल्क पिउने पानी भर्न मिल्ने “वाटर स्टेसन”पनि राखिएका छन्। तपाईंले आफ्नो साथमा ‘माई बोतल’ बोकेर गएमा, फुकुओकाको सुरक्षित र स्वादिष्ट चिसो पानी जतिबेला पनि भर्न सक्नुहुन्छ।
अब कडा गर्मीको मौसम सुरु हुँदैछ। त्यसैले बाहिर निस्कँदा आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र यस्ता शितल केन्द्र एवं पानी भर्ने ठाउँहरूको भरपूर प्रयोग गरी हिट स्ट्रोकबाट बच्नुहोला।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
विदेशी मूलका बालबालिकाहरुका लागि शैक्षिक तथा करियर परामर्श कार्यक्रम
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर”, “फुकुओका YWCA”,“Fukuoka International Residents Association” सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्शकार्यक्रम" आयोजना हुन गइरहेको छ।
यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ।
यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।
परामर्श नि:शुल्क छ।
जापानी, अंग्रेजी, चाइनिज, भियतनामी र नेपाली भाषामा परामर्श उपलब्ध छन्।
कार्यक्रम हुने दिन: जुलाई ११, शनिबार दिउँसो १:०० बजेदेखि।
आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर
बुकिङ तथा सोधपुछको लागि, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर” को वेबसाइटमा हेर्नुहोला।
कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श
“फुकुओका सिटी इन्टरनेसनल सेन्टर” मा रहेको “फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन”मा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।
“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र
तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ। परामर्श अवधि ४५ मिनेट।
बुकिंगको आधारमा “Fukuoka Bar Association को प्रसाशनिक वकिल” द्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।
यदि भाषा अनुवादकको आवश्यकता पर्छ भने, कृपया बुकिङ गर्ने समयमै यसबारे जानकारी गराउनुहोला।
“मानसिक परामर्श” अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ।
चाहनुहुने महानुभावहरुले बुकिङ गर्नुहोला।
जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो।
फोन नम्बर ०१२०-६६-१७९९ हो।