ブログ

ポッドキャスト

ポッドキャスト RSS

DJ को Choice!(DJのオススメ)

2022.03.31[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

DJ को Choice 【ओहानामी・ कार्यक्रमको नयाँ बर्षको सन्देश】

जापानमा मार्चको अन्त्यदेखि अप्रिललाई साकुरा फुल्ने मौसमको रुपमा चिनिन्छ।

पार्क वा विद्यालय, सडक छेउका रूख, घरका बगैंचा जस्ता धेरै ठाउँहरूमा साकुरा फूल हेर्न सक्नुहुन्छ।

साकुरा फूल फुल्ने अवधि धेरै छोटो हुन्छ, १-२ हप्ता। छोटो समय भए पनि सुन्दर साकुरा फुलेको हेरेर आनन्द लिन मन लाग्छ नि होइन।

 

・ < ओहानामी अर्थात् साकुरा फूल फुलेको हेर्ने मेलाको बारेमा>

जापानमा बस्ने मानिसहरूका लागि साकुरा फूल फुलेको हेर्ने भनेको परम्परागत र लोकप्रिय कार्यक्रम हो।

ओहानामीमा, साथीभाई वा परिवार, वा सहकर्मीहरूसँग साकुराको रूख मुनि बसेर खाने, रक्सी पिउने र फोटो खिच्ने जस्ता मनोरञ्जन गरि समय बिताउने गर्छन्।

साकुरा वा ओहानामीको चलन जापानमा विशेष  छ।

फुकुओका शहरमा पनि साकुरा फूल फुलेको हेर्ने धेरै ठाउँहरू छन्।

 

 

・ <फुकुओका शहर नजिकैको साकुरा फूल फुलेको हेर्ने ठाउँहरूको बारे>

फुकुओका शहरभित्र साकुराका लागि प्रसिद्ध ठाउँहरु, माइजुरु पार्क, निशी पार्क आदि हुन्।

 

साथै, फुकुओका शहर नजिकैको साकुरा फूल हेर्ने ठाउँहरूको बारेमा, विदेशीहरूका लागि "उपयोगी" जानकारी प्रदान गर्दै आइरहेको " Fukuoka Now" मा विशेष लेख राखिएको छ।

https://www.fukuoka-now.com/ja/fukuoka-sakura-and-ohanami-guide/

फोटोहरु सहित बुझ्न सजिलो भएकोले पक्कै पनि एक पटक इन्टरनेटमा फुकुओका साकुरा वा ओहानामी गाइड २०२२  भनेर खोजि हेरी, आफ्नो परिवार वा साथीभाई वा प्रेमि-प्रेमिकासँग साकुरा मेलामा घुम्न जाँदा कसो होला!

साकुराको मनोरञ्जन लिन, मलाई मन पर्ने ठाउँहरुमध्ये तेन्जिन सेन्ट्रल पार्क पनि एक हो। तेन्जिनबाट नजिकै यो पार्कमा, बसेर खान मिल्ने गरि टेबलबेन्चहरु पनि छन्, तर साकुरा रुखको मुनि भुइँमा शीट ओछ्याएर बस्नुको मज्जा नै बेग्लै हुन्छ नि होइन ! यो ठाउँमा सानो खोला पनि छ। खोला किनारमा हिड्ने पेटी छ, अनि त्यहाँबाट हिड्दाको साकुरा फूलको सुगन्ध र दृश्य अति नै मनमोहक हुन्छ। तपाईंहरु यदि यो ठाउँमा साकुरा हेर्न जानु भएको छैन भए, पक्कै पनि एक पटक जानु होला। रमाइलो गर्नुहोला।

 

< यस बर्ष पनि सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रही ओहानामीको आनन्द लिऔं! >

यस बर्ष पनि नयाँ कोरोनाभाइरसको प्रभावको कारण सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रही, ओहानामी अर्थात् साकुरा फूलको आनन्द लिऔं।

सकेसम्म कम मान्छेको संख्यामा, छोटो समयमा भीड नहुने गरि गरौं, अनि फर्कंदा आफ्नो फोहोर आफैं बोकेर जाने जस्ता नियमको पालना गरि साकुरा मेलाको आनन्द लिऔं।

पक्कै पनि यो मौसममा मात्र हेर्न सकिने सुन्दर फूल साकुराको दृश्य अवलोकन, स्मरणीय रहनेछ।

 

・ < कार्यक्रमको नयाँ बर्षको सन्देश>

वर्ष २०२० को अप्रिलमा शुरु भएको यो कार्यक्रम " Life in Fukuoka", अर्को हप्ताबाट तेस्रो वर्षमा प्रवेश गर्नेछ! प्रसारण वा पोडकास्टहरू सुनि दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि दैनिक जीवनमा उपयोगी जानकारी र रमाइला विषयबस्तुहरू आउँदा दिनहरुमा पनि हामी निरन्तर प्रस्तुत गर्नेछौं।

अवश्य पनि यस कार्यक्रम वा मलाई मेसेज पठाउनुहोला!

कृपया मेसेज पठाउनु हुँदा शीर्षकमा "Life in Fukuoka Nepali" राखेर इमेल ठेगाना: 761@lovefm.co.jp मा पठाउनुहोला।

2022.03.03[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【DJ को Choice ‘नयाँ जीवनको लागि उपयोगी जानकारीहरु’】

चाहे स्कूलको लागि होस् वा काम आदिको लागि, हाम्रो जीवनमा धेरै पटक चीजहरू परिवर्तन गर्नुपर्ने हुन्छ र जापानमा नयाँ शैक्षिक वर्ष वा नयाँ कामको शुरुवात अप्रिलको १ तारिकमा हुने गर्छ।

जापानमा अप्रिलको समय, विद्यार्थीहरू नयाँ विद्यालयमा भर्ना हुने, अर्को कक्षामा जाने, काम गर्नेहरु नयाँ कम्पनीमा प्रवेश गर्ने वा सरुवा हुने, जागिर परिवर्तन गर्ने गर्छन्। यस समयमा, घर सर्ने मानिसहरू पनि धेरै हुन्छन्।

त्यसैले फेब्रुअरी र मार्चमा आफ्नो जीवनको नयाँ अध्यायको लागि तयारीहरु गर्ने गर्छन्।

 

<फुकुओका शहरभित्र वा बाहिर बसाइँ सर्ने बारे>

फुकुओका शहरभित्र बसाइँ सर्ने योजनामा हुनुहुने वा फुकुओका शहरबाट बाहिर जाने योजनामा हुनुहुने कसैले आजको यो कार्यक्रम सुनिरहनु भएको छ कि?

 

यदि बसाइँ सर्दै हुनुहुन्छ भने, तपाईंले बसाइँ सर्ने सूचना दर्ता गर्न आवश्यक छ। सर्नु अघि, आफ्नो स्थानीय वार्ड कार्यालयमा गएर आवश्यक कागजातहरू लिने गरौं।

बसाइँ सर्ने प्रक्रिया वा लिएर जानुपर्ने आदि बारे बुझ्नका लागि फुकुओका शहरको आधिकारिक LINE Account वा फुकुओका सिटी इन्टरनेशनल फाउन्डेसनको होमपेजमा हेर्न सक्नुहुन्छ।

 

म फुकुओका शहरबाट कहिल्यै बाहिर बसाइँ सरेको छैन, त्यसैले सौभाग्यवश कागजी कार्यहरू गर्नुपरेको छैन। बरु फुकुओका शहरभित्र नै बसाइँ सरेको छु तर उही नै वार्ड भएकोले धेरै कागजी कार्यहरू गर्नु परेन। तर खानेपानी, ग्यास, बिजुली र इन्टरनेट कम्पनीहरूलाई फोन गरेर, आफू सर्दै छु भनेर सुचना दिई, बसीरहेको ठेगानामा सेवा रोक्न र सर्न लागेको नयाँ ठेगानामा सेवा लिनका लागि सम्पर्क गरेको थिएँ। नयाँ ठाउँमा सर्दा महत्त्वपूर्ण कुराहरुमध्ये एक हो; फुकुओका अध्यागमन ब्यूरोमा पनि आफ्नो ठेगाना परिवर्तन भएको जानकारी दिई जाइर्यु कार्डमा पनि नयाँ ठेगाना खुल्ने गरि  राख्नुपर्छ । त्यस्तै, आफू सरेर गएपनि आफ्नो पुरानो ठेगानामा आएको चिठीपत्रहरु नयाँ ठेगानामा पठाउन मिल्ने गर्नका लागि हुलाक अफिसमा आबेदन दिनुपर्छ । साथै, आफ्नो खाता खोलेको बैकमा पनि नयाँ ठेगानाको जानकारी गराउनु राम्रो हुन्छ । यो गर्न पनि खासै गार्हो छैन।

 

यी सबै नियमकानुन अनुसारको कागजी कार्यहरु तथा प्रकियाहरु बाहेक, बसाइँ सर्दा आवश्यक अर्को कुरा भनेको, सर्दा सामान ओसारपसार गरिदिने कम्पनी खोज्नु हो। बजारमा थरिथरि कम्पनिहरु छन् अनि शुल्क पनि फरक फरक, त्यसैले निर्णय लिन अगाडि बुझेर हेर्नु राम्रो हुन्छ। सर्ने दिन पहिले नै थाहा भएमा अग्रिम बुकिंग गरेर राख्नु बेश हुन्छ नत्रभने अप्रिलको पिक सिजनमा आफूलाई पायक पर्ने समयमा खोज्न अति गार्हो हुन्छ।

यदि सामानहरु प्याक गर्न कार्डबोर्ड बक्सहरू खोज्दै हुनुहुन्छ भने, सुपरमार्केटहरूमा सामान्यतया प्रयोग नगर्ने कार्डबोर्ड बक्सहरू निःशुल्क लिन सक्नुहुन्छ।

 

साथै, पक्कै पनि Life in Fukuoka कार्यक्रमको विगतका ब्लगहरू र पोडकास्टहरू चेक गर्नुहोला।

फुकुओकामा बसोबास गर्न सरल बनाउन मद्दत गर्ने धेरै जानकारीहरु राखिएका छन्।

 

यस अतिरिक्त, फुकुओका शहरको होमपेजमा, Life in Fukuoka को डिजिटल पर्चा र भिडियो सार्वजनिक गरिएको छ। सबैजनाले सुरक्षित र दुक्क भई फुकुओका शहरमा आरामदायक जीवनयापनका लागि, समस्या पर्दा परामर्श लिने ठाउँ वा क्षेत्रको जानकारी, बसाइँका लागी पालन गर्नुपर्ने नियम र आचरणहरू आदि जानकारीहरु यसमा समावेश छन् । वेबसाइट लिङ्कको लागि LOVE FMको वेबसाइटमा Life in Fukuoka को पृष्ठमा आजको कार्यक्रमको ब्लगमा हेर्नुहोला।

https://www.city.fukuoka.lg.jp/soki/kokusai/shisei/seikatugaidansu/guidance.html

2021.12.30[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【२०२१ लाई फर्केर हेर्दा, नयाँ वर्षका आकांक्षाहरू】

यो हप्ता, वर्ष २०२१ को अन्तिम प्रसारण हो। तपाईंहरुको वर्ष २०२१ कस्तो रह्यो?

<DJले छनोट गरेको वर्ष २०२१ को बिशेष ३ वटा घटनाहरु

वर्ष २०२१ मा संसारभर बिभिन्न किसिमका घटनाहरु घटे। तीमध्ये मैले ३ वटा छानेकी छु।

o         पहिलो रहेको छ, ‘टोकियो ओलम्पिक २०२०’

कोभिड १९को महामारीको कारणले गर्दा स्थगित भएको टोकियो ओलम्पिक २०२०, थप एक वर्षको प्रतिक्षापछि, २०२१ जुलाई २३ मा सम्पन्न भयो। ओलम्पिक इतिहासमा पहिलो पटक दाजु र बहिनीले एकै दिन अलग अलग जुडो खेलमा स्वर्ण पदक पाएको बिषय चर्चामा रह्यो। पक्कै पनि परिवारजनमा खुशीको सिमाना नै भएन होला। नेपालबाट पनि ५ जना खेलाडीहरु सहभागी भएका थिए, जसमध्ये पौडीमा दुई जना, शूटिंगमा १ जना, म्याराथनमा १ जना र जुडोमा १ जना । खेलमा हारजित त भईहाल्छ; अन्तराष्ट्रिय खेलजगतमा सहभागी हुनु भनेको प्रतिस्पर्धा मात्र नभई बिभिन्न राष्ट्रहरु र खेलाडीहरुबीच अन्तर्क्रिया हुने अवसर पनि हो।

 

o         वर्ष २०२१ को अर्को उपलब्धि, नेपालमा शुरु गरिएको ‘Life-saving VAN Project’

वर्ष २०२१ को जुन ११ देखि नेपालमा शुरु गरिएको Life-saving VAN Project ले रक्तदानमा प्रभावकारी गति ल्याएको छ। ‘घरमै बसेर सुरक्षित रक्तदान गरौं, जीवन बचाऔं’ भन्ने उदेश्यले थालनी गरिएको यस परियोजनाले कोभिड १९को महामारीको लकडाउन समयमा २०,००० भन्दा बढी पिन्टहरू संकलन गरी आपूर्ति गराउन सफल भएको थियो, जुन अत्यन्तै सर्हानिय छ। यस किसिमको योजना काठमाडौँमा मात्र नभई नेपालका अन्य क्षेत्रहरुमा पनि बिस्तार गर्न सके अझ राम्रो हुन्छ। 

 

o         तेस्रो उपलब्धि वर्ष २०२१ को रहेको छ, ‘बाबु नानी ज्ञानशाला’

वर्ष २०२१ को अगस्तदेखि, क्युस्युमा रहेका नेपालीहरुका आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा, संस्कृति र संस्कार सिकाउन हाम्रो नेपाल हामी नेपाली अभियानद्वारा शुरु गरिएको ‘बाबु नानी ज्ञानशाला’ पहल सर्हानिय छ। विदेशी भूमिमा हुर्केका बालबालिकाहरुले नेपाली नबुझ्नु र नेपालीमा बोल्न नजान्नु, प्राय अभिभावकहरुको गुनासो र चिन्ताको विषय बन्दै गरेको परिस्थितिमा यस किसिमको प्रयास धेरै नै अर्थपूर्ण भएको छ जस्तो लाग्छ। यस बाबु नानी ज्ञानशालामा, जुम मार्फत् सिकाउने मात्र नभई शैक्षिकमुलक भेटघाट कार्यक्रम पनि हुने भएकोले बिभिन्न स्थानमा बसोबास गर्ने नेपाली बालबालिकाहरुबीच साथी बन्ने, नेपालीमा कुराकानी हुने आदि राम्रा पक्षहरु देखिन्छन्।

 

नेपालमा अंग्रेजी नयाँ वर्ष

हामी नेपालीहरुको आफ्नै नयाँ वर्ष भएकोले अंग्रेजी नयाँ वर्षलाई खासै धुमधामका साथ मनाउने गरेको देखिन्दैन। खास गरि, काठमाडौंको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला पर्यटकीय शहरहरुमा नयाँ वर्ष ईभ कार्यक्रम आयोजना गर्ने र विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने चलन छ। प्रायःजसो साथीहरुसँग बाहिर घुम्ने र खानपिन गर्ने अवसरको रुपमा अंग्रेजी नयाँ वर्ष मनाउने गरेको देखिन्छ।

 

वर्ष २०२२ कस्तो चाहानुहुन्छ?

यहि हप्ताको शनिबारदेखि वर्ष २०२२ शुरु हुन गईरहेको छ। यस वर्ष कोभिड १९को कारणले गर्दा म जस्तै धेरैजसो तपाईंहरु पनि नेपाल जान पाउनु भएन होला, खासै घुमघाम पनि गर्नु भएन होला। वर्ष २०२२ मा कोभिड सदाका लागि अन्त्य होस् जस्तो लाग्छ। अनि दुक्क भएर घुमघाम गर्न पाइन्छ नि होइन।

 

मेरो चाहिं, आउँदो वर्षमा दैनिक रुपमा बिहान छोटो समय भए पनि शारीरिक ब्यायाम गर्ने, सकेसम्म हिड्ने, भर्याङको प्रयोग गर्ने विचार  छ।  तपाईंहरुको पनि नयाँ वर्ष २०२२ को कुनै संकल्प वा योजना छ कि पक्कै पनि होला। नयाँ वर्षमा तपाईंहरु सबैको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु। तपाईहरु सबैलाई नयाँ वर्ष २०२२ को हार्दिक मंगलमय शुभकामना!

 

2021.11.25[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【Christmas Event र Light Up】

जापानमा, हेलोवीन सकिएसँगै शहरहरुमा क्रिसमसको माहोल बनेको छ।

 

<तपाईंहरु क्रिसमसमा के गर्नुहुन्छ? >

 तपाईंहरु क्रिसमस मनाउनुहुन्छ कि हुँदैन? आजकल, क्रिश्चियन धर्मसँग सम्बन्धित नभएका घरपरिवारमा पनि क्रिसमस मनाउने चलन छ। चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृती, सौहार्दता अनि नितान्त खुशीको अभिब्यक्तिका रुपमा लिन जरुरी छ जस्तो लाग्छ।

क्रिसमसका अवसरमा नेपालमा खास गरि, काठमाडौंको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला पर्यटकीय शहरहरुमा क्रिसमस ईभ कार्यक्रम आयोजना गर्ने र विविध सांस्कृतिक कार्यक्रम गरी पर्व मनाउने चलन छ। प्रायःजसो साथीहरुसँग बाहिर घुम्ने र खानपिन गर्ने अवसरको रुपमा क्रिसमस मनाउने गरेको देखिन्छ। क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, उनले सबैलाई उपहार दिने र खुशी बाँड्नेछन् भन्ने विश्वास छ । आजकल धेरैजसो शिशुस्याहार र विद्यालयहरुमा क्रिसमसको अवसरमा सान्टा क्लसको भेषमा केटाकेटीहरुलाई उपहार दिई रमाइलो गर्छन्। प्रायःजसो देशहरुमा क्रिसमसको समयमा, फ्राइड कुखुराको मासु र रोष्ट गरिएका कुखुराको मासु खाने परम्परा छ। सबैतिर झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री र सान्टा क्लसको राता लुगाको पहिरनमा अधिकांशले 'हेप्पी क्रिसमस डे' भन्दै शुभकामना साटासाट गरेको देख्न पाईन्छ।

 

<Christmas Illumination>

 तेन्जिन र हाकाता शहरहरूमा, व्यावसायिक पसलहरु तथा निजी घरहरुको छाना आदि, ठूलासाना  विभिन्न बत्तीहरूले सजाइएको हुन्छ।

एउटै ठाउँमा पनि, गत वर्षको भन्दा फरक तरिकाले सजाएको हुन सक्ने भएकोले, विभिन्न झिलिमिलीहरूको आनन्द लिन सक्नुहुन्छ।

 

 

<फुकुओका शहर नजिकको Illumination स्थलहरूको बारे>

विदेशीहरूलाई "उपयोगी" जानकारी प्रदान गर्ने Fukuoka Now मा,  फुकुओका शहर नजिकको Illumination स्थलहरूको सूचीबद्ध विशेष लेख छ ।

फोटो सहित बुझ्न सजिलो हुने गरि तयार गरिएको यो लेख एकपटक हेरेर, आफ्नो परिवार, साथीभाई वा प्रेमीसँग घुमघाम गर्दा कसो होला?

 

 

<क्रिसमस मार्केट>

फुकुओका क्रिसमस मार्केट, हरेक वर्ष नोभेम्बरदेखि डिसेम्बरको क्रिसमसको दिनसम्म, हाकाता र तेन्जिनमा एकै साथ आयोजना हुँदै आईरहनु, फुकुओका शहरको हिउँदको एक किसिमको परम्परा हो।

जापानको सबैभन्दा ठूलो क्रिसमस मार्केटमा, खुला परिसरमा धेरै स्टलहरू पंक्तिबद्ध राखिएका हुन्छन्, जहाँ क्रिसमसको झिलिमिली बत्ती वा सजावटका साथसाथै, तातो वाइन, तातो चकलेट आदि जस्ता तातो पेय र स्वादिष्ट खानाको मजा लिने महोत्सव हो।

यस वर्ष, “Hakata Ekimae Hiroba” र तेन्जिनको “Fukuoka Shiyakushomae Fureai Hiroba” मा क्रिसमस मार्केट आयोजना गरिनेछI

यसका साथै गत वर्षदेखि नाकासु क्षेत्रलाई ‘नाकासु किबोउ नो हिकारी’ भनेर, बेलुकी ५ बजेदेखि मध्यरात १२ बजेसम्म सडक छेउका रुखहरूमा बत्ति बालि झिलिमिलीको स्थल बनाईएको छ।

 

तपाईंहरु पनि अवश्य यस झिलिमिलीको आनन्द लिनुहोला।

2021.10.28[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【Halloween】

आउने आइतबार ३१ अक्टोबर Halloween हो!

 

<हेलोवीन को उत्पत्ति>

Halloween प्राचीन Celts मा उत्पन्न भएको निजी घटनाहरुमध्ये एक हो। त्यो बेला हरेक बर्ष अक्टोबर ३१ को रातमा दुष्ट आत्माहरु र बोक्सीहरु देखा पर्छन् भन्ने विश्वास थियो। त्यसैले, दुष्ट आत्माहरु र बोक्सीहरुबाट आफूलाई बचाउनको लागी मुकुट लगाउने र ताबीजलाई जलाएर आगो बाल्ने गर्थे रे । आजकल, यसको धार्मिक अर्थ लुप्त हुँदै गईरहेको छ। बच्चाहरुले आत्मा र भूतको भेषमा मिठाई पाउने र भयको आनन्द लिने इभेन्टको रुपमा धेरै देशहरुमा Halloween लोकप्रिय छ।

नेपालमा खासै Halloween मनाउने चलन छैन तर आजकल पश्चिमी संस्कृतिको प्रभावका कारण मानिसहरु यसप्रति आकर्षित हुँदै गईरहेको पाईन्छ।

 

<जापानमा Halloween>

जापानको विभिन्न भागहरुमा Halloween इभेन्ट आयोजना गर्ने, त्यस्तै साथीहरु मिलेर पार्टी गर्ने गर्छन्। Halloween इभेन्ट  र पार्टीमा सहभागीताको लागि इभेन्ट उपयुक्त पोशाक हुनु पनि जरूरी छ ।

पौराणिक बोक्सी र राक्षसहरुको अतिरिक्त, आजकल, फिल्मको विभिन्न पात्रहरूको भेष बदल्ने, विशेष गरी जापानमा, एनिमेसन र खेल पात्रहरुको भेष  बदल्ने मानिसहरु पनि धेरै छन्। हरेक बर्ष नयाँ विचारहरुको सिर्जना भई Halloween अधिक रोचक बन्दै गईरहेको छ।

 

<यस वर्षको पहिरन प्रवृत्ति भन्नाले? >

यस बर्षको पहिरन प्रवृत्ति के होला ? हाल चलिरहेको एनिमे र फिल्महरुबाट आइडिया लिनु पनि राम्रो होला, त्यस्तै यस बर्ष आयोजित टोक्यो ओलम्पिक र पारालिम्पिकबाट आइडिया लिनु पनि ठिकै होला कि!

साथै, हालका वर्षहरुमा पौराणिक बोक्सी र राक्षसहरुको भेषलाई "वास्तविकता" झल्काउने प्रवृत्ति  आएको देखिन्छ । यदि के गर्ने भनेर सोचमा हुनुहुन्छ भने, बिभिन्न सामानहरु पाईने पसलमा जाँदा कसो होला?

 

< यस बर्ष पनि सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रही Halloween को आनन्द लिऔं! >

गत बर्षबाट निरन्तर, यस बर्ष पनि, नयाँ कोरोनाभाइरसको प्रभावको कारण सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रही, प्रत्येकले आफ्नै घर वा अनलाइनमार्फत् Halloween को आनन्द लिऔं।

सुपरमार्केट र कन्भिनीयन्स पसलहरुमा, विभिन्न प्रकारको Halloween को बिशेष मिठाईहरु बिक्री मा राखिएका छन्। यस अतिरिक्त, खाना डेलिभरी सेवा पनि गत बर्ष भन्दा धेरै बढेकोले, सुविधाजनक बन्दै आएको छ।

पक्कै पनि यस वर्षको Halloween, अरु बेलाको भन्दा भिन्न तरिकाले, आफ्नो साथीभाई र घरपरिवारसँग मनाउनुहोला है।

1 2 next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ