福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2023.12.14[Thu] 09:00
अन्य(その他)
【नेन् माचु ओसोउजी अर्थात् वर्षको अन्ततिर सरसफाई】
जापानमावर्षको अन्ततिर वा नयाँ वर्ष शुरु हुनु अघि बिस्तृत सरसफाई गर्ने चलन छ।
नयाँ वर्षको दिन भगवान्लाई स्वागत गर्न आफ्नो घर तथाकार्यस्थलबाट एक वर्षभरिको फोहोर हटाई, सफासुघ्घर पार्ने कार्य परापूर्वकालदेखि चलिआएको हो।
डिसेम्बरमा, सरसफाई गर्नु सामान्य हो, तर २९, ३१र जनवरी १ तारिक चाहिं अशुभ मानिन्छ।त्यसैले नयाँ वर्षको लागि सरसफाई वा तयारी जस्ता घरका कामहरू यी दिनहरुमा नगर्नु राम्रो भनिन्छ।
यस वर्षको अब लगभग दुई हप्ता जति कामपछि लामो बिदा आउनै लाग्यो, बाँकीका दिनहरुमा पनि उत्तिकै मिहेनत गरौं। बिदामा भरपूर आराम अनि मनोरञ्जन लिने योजना बनाऔं।
【फुकुओका शहरको सूचना】
LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account संचालन गरिएको छ।
फाउण्डेसनको LINE आधिकारिक Account बाट LINE कल प्रयोग गरि, जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्श आदिका लागि बुकिंग गर्न सक्नुहुन्छ। टेलिफोन मार्फत् परामर्श, २२ वटा भाषाहरूमा उपलब्ध भएकोले, परामर्श लिन नहिचकिचाउनुहोस्।
साथै, LINE Voom को प्रयोग गरेर फाउण्डेसनको कार्यक्रमहरुको जानकारी र फुकुओका शहरबाट जारी सूचनाहरु पठाइने गरिएको छ। "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन"को होमपेजबाट फाउण्डेसनको LINE आधिकारिक Account को Friend add गर्न अनुरोध गर्दछौं।
LINE talk मार्फत परामर्श सेवा उपलब्ध छैन, तर फाउण्डेसनको होमपेजमा रहेको सोधपुछ फारमबाट पनि परामर्श लिन सक्नुहुन्छ।
वर्षको समाप्ति र नववर्षको बिदाको सूचना
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, डिसेम्बर २९ शुक्रबारदेखि जनवरी ३ बुधबाररसम्म ६ दिनको लागि बन्द रहनेछ।
नववर्ष २०२४ जनवरी ४ बिहिबार बिहान ९ बजेबाट खुल्नेछ।
वर्ष २०२४ को पहिलो विदेशीहरूका लागि नि:शुल्क कानुनी परामर्श,जनवरी ६ शनिबार आयोजना हुनेछ।
कानुनी परामर्शको लागि अग्रिम बुकिंग आवश्यक हुने हुनाले, परामर्श लिन ईच्छुक महानुभावहरुले सकेसम्म चाँडो सम्पर्क गर्नुहोस्। अग्रिम बुकिंग बिना उपलब्ध हुने प्रसाशनिक वकिलद्वाराको परामर्श,जनवरी १४ आइतबार आयोजना हुनेछ।
विस्तृत जानकारीका लागि कृपया फोन कल वा फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेनुहोला। फोन नम्बर०१२०-६६-१७९९ हो। कल शुल्क लाग्दैन।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले, फुकुओकामा बस्नु हुने सबै विदेशीहरुको आरामदायी जीवनयापनका लागि, मुख्य संवाहकको रुपमा, बिभिन्न जानकारीहरु प्रदान गर्दै, सबैको जीवनयापनमा सहयोग गर्दछ। अवश्य पनि बिना हिच्किचाई परामर्श सेवा लिनुहोस्।
2023.12.07[Thu] 09:00
अन्य(その他)
【mochi-pounding】
तपाईहरुलाई "मोची" कत्तिको मन पर्छ?ताजा बनाएको मोची नरम अनि स्वादिष्ट हुन्छ।
जापानमा डिसेम्बरमा विद्यालय र सामुदायिक भेलाहरूमा "मोची बनाउने प्रतियोगिताहरू" आयोजना गरिन्छ।
जापानमा, नयाँ वर्षमा धेरै मोची उपभोग गर्ने भएकोले, यस समयमा बनाएर भण्डारण गरि राख्ने गरिन्छ।
ठूलो संख्यामा मानिसहरू भेला हुन्छन् र मोची बनाउनको लागि विशेष किसिमको भाँडाको प्रयोग गरि तात्तातो, बाफिएको ताइचिन भातलाई कुट्ने-मुछ्ने प्रक्रिया दोहोर्याएर मोची बनाईन्छ। यो ”मोची बनाउने” प्रक्रिया निकै जीवन्त छ, सबैले हुटिंग गर्ने, ताली बजाउने अनि पालैपालो मोची कुट्नेगर्छन् जसमा सहभागी हुनु त रमाइलो भई नै हाल्छ भने, हेर्न मात्र पनि अत्यन्तै रमाइलो हुन्छ।
मोची बनाउन सकेपछि, आयोजना स्थलमा नै, सबैले आफ्नो मनपर्ने स्वादको साथमा ताजा बनाएको मोची खान्छन्।
बिभिन्न स्वादहरु जस्तै कि भटमासको पिठो, रातो बीन पेस्ट, चिनी-सोया ससको मिश्रण लगायत ग्रेटेड मूला, नाटो,सोया सस र नोरी जस्ता थुप्रै थरिहरुबाट रोज्न सक्नुहुन्छ।
यदि तपाईंहरुलाई मौका मिल्यो भने, पक्कै पनि परम्परागतमोची बनाउने जापानी कार्यक्रममा सहभागी हुनुहोला है!
【फुकुओका शहरको सूचना】
विश्व मानव अधिकार दिवस र मानव अधिकार सप्ताहको बारेमा
"मानव अधिकार" भनेको हरेक व्यक्ति जन्मेदेखि उसले "मानव जस्तो जीवन जीउन" पाउनु अधिकार हो।
डिसेम्बर १० "विश्व मानव अधिकार दिवस" हो, जुन जापानमा मात्र होइन, विश्वको विभिन्न भागहरुमा पनि "मानव अधिकार" को बारेमा मनन गर्ने दिनको रुपमा रही आएको छ।
डिसेम्बर ४ देखि १० सम्म "मानव अधिकार सप्ताह" को अवसरमा, फुकुओका शहरमा पनि, मानव अधिकारको सम्मान गरि, भेदभाव रहित आरामदायी फुकुओका शहरको उद्देश्यले “मानव अधिकार सम्मान सप्ताह” आयोजना गरिंदै आईरहेको छ।
प्रत्येक व्यक्ति स्वावलम्बी छ भन्ने कुरा अनुभूति दिने यो महत्त्वपूर्ण सप्ताह हो।
SDGs द्वारा उल्लेख गरिए अनुसार "कोही पनि नछुटौं" समाजलाई महसुस गर्न, महिला, बालबालिका, वृद्ध, विदेशी, अशक्त, आदिको आधारमा भेदभाव र पूर्वाग्रह हटाएर, एक अर्काको मानव अधिकारको सम्मान गर्न जरुरी छ।
हामीहरु पनि "दयालु हृदय" र "स्वाभिमानी जीवन"को बारेमा फेरि एकपटक मनन गरेर हेर्ने होइन त?
2023.11.16[Thu] 09:00
अन्य(その他)
【ओओजुमो ज्युउइची गाचु बास्यो अर्थात् नोभेम्बर ग्रान्ड सुमो टूर्नामेंट】
आजकल टप-नट हेयरस्टाइलहरूमा सुमो रेस्लरहरूलाई शहरको वरिपरि देख्नुभएको छ कि?
किनभने "ओओजुमो ज्युउइची गाचु बास्यो" भनिने जापानको राष्ट्रिय खेल, सुमोको आयोजना भईरहेको छ। वर्षभरि ६ पटक ग्रान्ड सुमो प्रतियोगिताहरू आयोजना हुने भए पनि नोभेम्बरमा हुने प्रतियोगितालाई "क्युशु बास्यो" भनिन्छ जुन फुकुओकामा आयोजना गरिन्छ।
यस वर्ष, प्रतियोगिता नोभेम्बर १२ देखि २६ तारिकसम्म, फुकुओका ईन्टरनेसनल सेन्टरमा हुनेछ। यस अवधिमा, रङ्गीन ब्यानरहरू (नोबोरी) कार्यक्रम स्थलको वरिपरि धेरै देख्नुहुनेछ, र क्युशुभरका सुमो फ्यानहरू फुकुओकामा जम्मा हुनेछन्, दिनहुँ चहलपहलको वातावरण महसुस गर्नुहुनेछ। यसबाहेक, टूर्नामेंटको समयमा, फुकुओका शहरभित्र र वरिपरि विभिन्न स्थानहरूमा सुमो रेस्लरहरूका लागि ठाउँ बनाईएका छन्, जसले गर्दा अवलोकन तथा स्थानीय समुदायसँग अन्तरक्रिया गर्न पनि मिल्छ।
टेलिभिजनमा पनि सुमो हेर्न सक्नुहुन्छ, तर प्रत्यक्ष सुमो खेल हेर्दा जस्तोको अनुभव गर्न सकिंदैन! खेल मैदानमा सुमो खेलाडीहरूको जोश देख्ने मात्र नभई, खेललाई समर्थन गर्ने असंख्य फ्यानहरू, पर्दा पछाडि के भइरहेको छ भन्ने कुराहरुको झलक आदि हेर्न पनि अति रमाइलो हुन्छ।
फुकुओकामा आयोजना भई रहेको यस अवसरमा, तपाईंहरु पनि जापानको राष्ट्रिय खेल सुमो हेर्नु भए कसो होला?
https://www.sumo.or.jp/Admission/isolate/620/
【फुकुओका शहरको सूचना】
Fukuoka City Consultation Support Center for Foreign Residents को पुनःनिर्माण
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनद्वारा विदेशीहरुका लागि सञ्चालित Fukuoka City Consultation Support Center अझ धेरै प्रयोगकर्ता-मैत्री केन्द्र बनाउनको लागि पुनःनिर्माण गरिएको छ। यी सुधारहरूमा गोपनीयताको रक्षा गर्न डिजाइन गरिएका सिटहरु र निजी परामर्श स्थानहरू थपिएका छन्। यस परामर्श केन्द्रमा, विदेशी बासिन्दाहरूको प्रश्न र सरोकारलाई सम्बोधन गर्दै आइरहेको छ। आवास प्रक्रिया, रोजगारी, स्वास्थ्य सेवा, कल्याण, बच्चा जन्माउने, बाल-पालन, र बालबालिकाको शिक्षा आदि जिवनयापनका विभिन्न पक्षहरूमा सहायता प्रदान गर्छन्। परामर्श व्यक्तिगत रूपमा, फोनमा, वा इमेल मार्फत प्राप्त गर्न सकिन्छ, र सम्बन्धित अधिकारी वा निकायहरुको जानकारी र मार्गदर्शन प्रदान गरिनेछ।
सामान्य परामर्शहरू, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म उपलब्ध छन्। नेपाली लगायत अन्य २२ वटा भाषाहरूमा परामर्श सेवा उपलब्ध छ। फोन अनुवादक सेवा र ट्याब्लेट अनुवाद उपकरणहरू प्रयोग गर्न पनि सकिन्छ।
विस्तृत जानकारीका लागि, होमपेज हेर्नुहोला।
सम्पर्कका लागि, फोन नम्बर ०१२०-६६-१७९९ ।
विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना थियो।
https://www.fcif.or.jp
2023.11.09[Thu] 09:00
अन्य(その他)
【फुकुओका म्याराथन २०२३】
यस हप्ताको आइतबार १२ तारिक, "फुकुओका म्याराथन २०२३" आयोजना हुन गईरहेको छ। यो एक नागरिक-सहभागिता म्याराथन कार्यक्रम हो, जहाँ १२,००० सहभागीहरूले फुकुओका शहर र इटोशिमा शहर बीच ४२.१९५ किलोमिटरको दूरी ७ घण्टामा दौडनेछन्। म्याराथन, फुकुओकाको केन्द्र तेन्जिनबाट सुरु भई अन्तिम रेखा इटोशिमामा पुग्ने क्रममा, धावकहरूले समुद्र र पहाडहरूको दृश्यहरू अनुभव गर्नु हुनेछन्। त्यसैले, यस दौडमा शहरीबाट प्राकृतिक वातावरणमा छिर्दाको आनन्द महसुस गर्न सकिन्छ।
धावकहरूका लागि, फुकुओकाको प्रसिद्ध अनि बिशेष तथा स्थानीय सामग्रीहरू प्रयोग गरिएका परिकारहरु, अनि विजेताहरूका लागि पदकहरू जसमा फुकुओकाको परम्परागत शिल्पकलाको रुपमा चिनिने हाकाता-ओरी रिबनहरू प्रयोग गारिएका छन्।
साथै, ४२.१९५ किलोमिटर म्याराथनका बाहेक ५.२ किलोमिटर ह्वीलचेयर दौड र फ्यान दौड पनि आयोजना हुनेछन्। कार्यक्रममा व्यावसायिक खेलाडीहरू र ओलम्पिक प्रतियोगीहरू सहित अतिथि धावकहरू प्रस्तुत हुनेछन्। धेरै संख्यामा मानिसहरू यस दौडलाई समर्थन गर्न भेला हुने भएकोले, यो दौड फुकुओकामा प्रमुख म्याराथन कार्यक्रमको रुपमा रही आएको छ।
कृपया ध्यान दिनुहोस् कि कार्यक्रमको यस दिन, दौड हुने बाटो वरपरका सडकहरूमा ट्राफिक प्रतिबन्धहरू हुनेछन्, र दौडको समयमा, पैदल यात्री र साइकल क्रसिङहरूमा सीमितताहरू हुनेछन्।
नोभेम्बर १२ मा, म्याराथन सफलतापूर्वक पूरा गर्नका लागि धावकहरूलाई प्रोत्साहित गर्न हामी सबै सहभागी होऔं!
https://www.f-marathon.jp/about/charm_1.php
【फुकुओका शहरको सूचना】
Autumn National Fire Prevention Campaign सप्ताह
नोभेम्बर ९ देखि नोभेम्बर १५ सम्म “Autumn National Fire Prevention Campaign” सप्ताह हो।
शरद ऋतुदेखि हिउँदको मौसमसम्म, हावा सुक्खा भई आगलागिको जोखिम बढ्छ।
गत वर्ष, फुकुओका शहरमा २६६ वटा आगलागिका घटनाहरु घटेका थिए, जसमा आगलागिको मुख्य कारणहरूमा ग्याँस चूलो, चुरोट, स्टोभ आदि हुन्।
ग्याँस चूलोको आगोमा विशेष ध्यान दिनु जरुरी छ।
जाडो बढ्दै आए पछि, नाबे आदिका लागि, ग्याँस चूलोको धेरै प्रयोग हुन्छ। यसको प्रयोग गर्दा, कहिल्यै त्यतिकै छोडेर नराख्नुहोस्।
त्यस्तै, चुरोट पनि आगलागिका कारणहरुमध्ये एक हो।
ओछ्यानमा बसेर कहिल्यै चुरोट नपिउनुहोस्, चुरोटको ठुत्ताहरु जम्मा गरि नराख्नुहोस् अनि पानीमा चुरोटका अंगाहरु राम्ररी निभाउने गर्नुहोस्।
धुने लुगा र पर्दा, स्टोभमा छोएर आगलागी भएको घटना छ।
त्यस्तै, सुतिरहेको बेला सिरक वा ओछ्यान स्टोभमा छोएर आगलागी हुन सक्छ।
त्यसैले, स्टोभ नजिक ज्वलनशील वस्तुहरु राख्नु अत्यन्त खतराजनक हुन्छ।
स्टोभको स्विच राम्रोसँग बन्द गर्न नबिर्सनुहोस्।
आफ्नो घरको फायर अलार्म र आगो निभाउने उपकरणहरूको मिति सकिएको छ-छैन भनी नियमित रूपमा जाँच गर्ने गरौं। दैनिक जीवनमा सधैं आगलागि रोकथामलाई प्राथमिकता दिने गरौं।
यो फुकुओका शहरको सूचना थियो।
2023.11.02[Thu] 09:00
अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)
【मोमिजिगारी" वा "शरद ऋतुका पातहरूको दृश्यावलोकन】
तापक्रम पनि घट्दै गई शरद ऋतु लागि नै सकेको छ। यस मौसममा रूखहरुका पातहरु रातो, हरियो, पहेंलो, सुन्तला आदि बिभिन्न रङ्गहरुमा परिवर्तन भएको देख्न भएको होला। जापानमा, जसरी मानिसहरूले वसन्तमा चेरी ब्लोसम हेरेर आनन्द लिने गर्छन्, त्यसरि नै शरद ऋतुको दृश्यावलोकनको आनन्द लिने सांस्कृतिक परम्परा छ।
यस परम्परालाई "मोमिजिगारी" वा "शरद ऋतुका पातहरूको दृश्यावलोकन" भनेर चिनिन्छ। शरद ऋतुका पातहरू हेर्न मिल्ने स्थलहरुमा मानिसहरू पैदल यात्रा, हाइकिंग, अनि अलिटाढाका स्थानहरूमा ड्राइभ वा ओन्सेन्को आनन्दसँगै शरदका पातहरूको दृश्यावलोकन गर्न जान्छन्। यस मौसमको आनन्द लिने विभिन्न तरिकाहरू छन्, जस्तै शरद ऋतुका विभिन्न रंगका पातहरुको फोटो खिच्ने, त्यसबाट प्रेरित कला सिर्जना गर्ने, प्राकृतिक दृश्यहरूको आनन्द लिंदै परिवार वा साथीहरुसँग खानपान गरेर रमाइलो समय बिताउने आदि।
अर्को टपिकमा शरदका पातहरू हेर्नका लागि नाम चलेका फुकुओका शहरका केही स्थलहरूको जानकारी दिनेछु! सुन्दै गर्नुहोला।
【फुकुओका शहरको सूचना】
पानी बगैचा・शरदका पातहरु
फुकुओका शहरमा धेरै जापानी बगैंचाहरु छन्।
युउसेन्तेइ कोउयेन, स्योउफुउयेन, राकुसुइयेन, ओहोरी कोउयेन र निहोन्तेइयेन, जस्ता जापानी बगैंचाहरु शहरको केन्द्रमा भएकाले सजिलै जान सक्नुहुन्छ।
जापानी बगैचाहरु, सीमित स्थानमा भए पनि चारै थरिका ऋतुहरुको दृश्यावलोकन गरेर आनन्द लिन सक्नुहुन्छ।
शुल्क तिरेर माच्च्याको स्वाद लिने सुबिधाको साथै, यस ऋतुमा, बगैंचा हेरी आनन्दमय समय बिताउने र रुखहरुका रंगिन पातहरुको मनोरञ्जन लिनका लागि अति उपयुक्त समय हो।
फुकुओका शहरमा, शरदका पातहरूको दृश्यावलोकन लागि अरु पनि लोकप्रिय धेरै ठाउँहरु छन्।
फुकुओका सिटि म्युजियमको वरिपरि, आबुरायामा नागरिक वन, मोमीजी हाचीमान्गुउ आदि, नोभेम्बरदेखि डिसेम्बरतिर शरदका पातहरूको दृश्यावलोकन लागि उत्तम समय हो। अवश्य तपाईहरु पनि, फुकुओकाको शरद ऋतुको आनन्द लिनुहोस्।
साईकल पार्किङ नियम सम्बन्धि
प्रायःजसो दैनिक रुपमा साईकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला।
साईकल पार्किंग गर्दा, तोकिएको पार्किंग स्थलमा पार्क गर्ने गरौं।
साईकल पार्किङस्थल बाहेक सडक वा पार्कमा पार्किङ गरिएका साईकलहरू पैदल यात्रुलाई बाधा वा अवरोध हुने भएकोले, अवैध रूपमा पार्किङ गरिएका साईकलहरुलाई उठाएर लैजाने नियम छ।
फुकुओका शहरमा, यसरी उठाएर लगेका साईकल फिर्ता लिन २,५०० येन तिर्नु पर्छ, यदि निश्चित समय भित्र दावी गरेन भने, यसलाई खारेज गरिन्छ।
व्यावसायिक सुविधा र स्टेशन वरपर छोटो समयको प्रयोजनका लागि नि:शुल्क पार्किङ क्षेत्रहरू पनि हुने भएकोले अवश्य प्रयोग गरेर हेरौं।
2023.10.26[Thu] 09:00
अन्य(その他)
【सरकारी रात्रीकालिन जुनियर हाईस्कुलमा विद्यार्थीहरूको भर्ना! नोभेम्बर ५ मा बिद्यालयको जानकारी सेसन】
यस फुकुओका शहरमा, "क्युशुको एकमात्र सरकारी रात्रीकालिन जुनियर हाईस्कुल" छ भन्ने कुरा तपाईंहरुलाई थाहा छ? यस विद्यालयको नाम हो, "फुकुओका किबो च्युउ गाक्को"।
यो विद्यालय, फुकुओका सी, सावारा कु, मोमोचीमा रहेको, "फुकुओका सी क्योइकु सेन्टर" को चौंथो तल्लामा छ। फुकुओका शहरद्वारा संचालित सार्वजनिक जुनियर हाईस्कुल भएकोले, अध्ययन शुल्क लाग्दैन। पाठ्य पुस्तकहरू निःशुल्क वितरण गरिनेछ।
गत वर्षको अप्रिलमा खोलिएको यस बिद्यालयमा, हाल विभिन्न देशका किशोरकिशोरीहरुदेखि ८० वर्षसम्मका विद्यार्थीहरू छन्। जुनसुकै देशका नागरिकहरू भर्ना हुन सक्ने भएकोले, जापानी भाषा बाहेकका बिदेशी भाषा प्रयोग गर्ने विद्यार्थीहरु पनि छन्। तिनीहरुले जापानी भाषा पनि सिक्दै, दिउँसोको जुनियर हाईस्कुलमा भए जसरी ९ वटा बिषयहरु अध्ययन गर्छन्।
कक्षाहरु सोमबारदेखि शुक्रबार बेलुका ५:३० बजेदेखि ९:२० सम्म हुनेछ।
एउटा कक्षा ४० मिनेटको हुन्छ। दिनमा ४ वटा विषयका कक्षाहरु हुन्छन्।
तोकिएको पाठ्यक्रम पूरै अध्ययन गरिसकेपछि जुनियर हाईस्कुल स्नातकको योग्यता प्राप्त गर्न सक्नुहुनेछ।
भर्नाका लागि निम्न सबै सर्तहरु पूरा भएको हुनुपर्छ।
अवश्य, विदेशी नागरिक पनि भर्ना हुन सक्नुहुन्छ। केही बिषय मात्र छानेर वा जापानी भाषा मात्र अध्ययन गर्न सकिँदैन। जापानी भाषाको प्रयोगबारे चिन्ता लाग्ने व्यक्तिहरुको लागि, विशेष जापानी प्रशिक्षकद्वारा जापानी भाषाको बिषय लगायत अन्य आवश्यक समयमा सहायता दिइनेछ।
यस किसिमको "फुकुओका किबो च्युउ गाक्को" को स्कूल जानकारी सत्र नोभेम्बर ५ आइतबार आयोजना हुन गईरहेको छ। सहभागिताको लागि, अग्रिम आवेदन दिन आवश्यक छ। फोन वा अनलाइन मार्फत् आवेदन दिनुहोला। फोन नम्बर रहेको छ, ०९२-४००-०७५१ ।
सोमबारदेखि शुक्रबार, दिउँसो २ बजेदेखि ९:३० बजे सम्म कल स्वीकार गरिन्छ।
अनलाइनबाट २४ घण्टा आवेदन स्वीकार गरिन्छ। "फुकुओका किबो च्युउ गाक्को सेइतोबोस्यु" भनेर खोज्नुहोला।
यस अतिरिक्त, ब्रोशर तथा आबेदन सम्बन्धि जानकारीहरु, विद्यालयको वेबसाइट लगायत विभिन्न वडा कार्यालयहरूमा राखिएका छन्। परामर्श दिने र क्लास परिक्षण प्रवेश पनि लिने गर्दै आईरहेकोले, कृपया नहिचकिचाइकन सम्पर्क गरेर हेर्नुहोला।
2023.10.12[Thu] 09:00
जापानी भाषा(日本語) , अन्य(その他)
【FUKUOKA OKTOBER FEST 2023】
यस वर्ष पनि, जर्मनबाट प्रत्यक्ष आयात गरीएको बियर फेस्टिवल, " FUKUOKA OKTOBER FEST 2023," अक्टोबर २० शुक्रबारदेखि अक्टोबर २९ आइतबारसम्म १० दिनसम्म सञ्चालन हुने भएको छ। जर्मनको प्रतिनिधित्व गर्ने ब्यारेल ड्राफ्ट बियरहरू, बियर ककटेलहरू, सॉसेज आदि जर्मनी व्यञ्जनहरू लगायत परम्परागत Bavarian संगीतको आनन्द पनि लिन सक्नुहुन्छ।
आयोजना स्थल, Nakasu Kawabata स्टेशनबाट मात्र ३ मिनेट पैदल दूरीमा रहेको, "Reisen पार्क" हो। प्रवेश नि: शुल्क हो, तर बियर चाहिं deposit system बाट लिनुपर्छ। स्फूर्तिदायी शरद ऋतुको आकाशमुनि एक हातमा बियर, अनि संगीत, नाचगानको १० दिनको माहोल! सफ्ट ड्रिंक, अल्कोहल रहित बियर र वाइन पनि उपलब्ध हुनेछन्।
तपाईहरु पनि समय भए, यस FUKUOKA OKTOBER FEST 2023 को आनन्द लिनुहोला।
【फुकुओका शहरको सूचना】
"२१औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?
नोभेम्बर ३, शुक्रबार सार्वजनिक बिदाको दिन १ बजेदेखि "२१औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका महानगर क्षेत्रमा रहेका जापानी भाषा कक्षाका विद्यार्थी र जापानी भाषा स्कूलका विद्यार्थीहरूले, फुकुओकामा बसेर महसुस गरेको कुरा वा भविष्यको सपना आदि, स्वतन्त्र रुपले कुनै विषयवस्तुमा जापानी भाषामा वक्तव्य दिनेछन्।
आयोजना स्थल, फुकुओका शहर चुओ वार्डको रोप्पोनमाचुमा रहेको Fukuoka City Science Museum को Science Hall हो। प्रवेश नि: शुल्क भएकोले बुकिंग गर्न आवश्यक छैन।
प्रतियोगीहरुको दैनिक अध्यनको प्रतिफल सुन्न, अवश्य आउनुहोला।
सोधपुछको लागि, सार्वजनिक हित समावेशी फाउन्डेसन, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिताको कार्य समितिको फोन नम्बर ०९२-२६२-१७४४ मा सम्पर्क राख्नुहोस्।
“‘विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी”
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।
2023.09.28[Thu] 09:00
अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【सेप्टेम्बर ३० - अन्तर्राष्ट्रिय अनुवाद दिवस】
यो हप्ताको शनिबार, सेप्टेम्बर ३०, "अन्तर्राष्ट्रिय अनुवाद दिवस" को रूपमा चिनिन्छ।
एक भाषाबाट अर्को भाषामा अनुवाद गर्न व्यावसायिकता, उचित व्याख्या र शब्दावलीको प्रयोग हुनु आवश्यक छ । अन्तर्राष्ट्रिय समुदायलाई एकतावद्ध गर्न, संवाद तथा छलफललाई सहजीकरण गर्न, विकास तथा विश्व शान्ति र सुरक्षा प्रवद्र्धन गर्न भाषा अनुवादक तथा भाषाविज्ञको महत्वपूर्ण योगदान हुने भएकाले उनीहरुको सम्मानमा दिवस मनाउन थालिएको हो ।
जापानको जीवनयापनमा भाषाको अनुवाद गरेर सहज महसुस गर्नुहुनेहरु धेरै हुनुहुन्छ होला। आजकल, सजिलो र सुविधाजनक निशुल्क मोबाइल अनुवाद app हरू थुप्रै छन्। म पनि दैनिक रुपमा भाषा अनुवादको लागि मोबाइल app हरु चलाउने गर्छु। तपाईहरु पनि फुकुओकाको जानकारीहरुका लागि, जापानिजहरूसँग अन्तरक्रिया गर्न आदि बिभिन्न अवसरमा अनुवाद app प्रयोग गरि फुकुओकाको जीवनयापन आनन्दमयी बनाऔं।
【ओमुचु तो आन्सिन् तेइकिबिन्】
फुकुओका शहरमा, ० देखि २ वर्षसम्मका बालबालिकाहरु हुर्काउने परिवारहरुका लागि おむつと安心定期便 (ओमुचु तो आन्सिन् तेइकिबिन्) नामक नयाँ सेवा सुरु गरिएको छ। यो सेवाले बाल हेरचाहका लागि डायपर जस्ता अन्य आवश्यक सामानहरु नियमित रुपमा प्रदान गर्दछ।
फुकुओका शहरमा बाल हेरचाह-सम्बन्धित सुविधाहरू र सेवाहरू प्रयोग गर्नुभयो भने, एउटा इलेक्ट्रोनिक स्ट्याम्प प्राप्त गर्नुहुनेछ, जसबाट डायपर, बेबी वाइप, बेबी फूड, पाउडर दूध र बेबी क्रिमहरु आदि जस्ता लगभग २०० प्रकारका सामानहरुबाट हरेक महिना २,००० येन मूल्य बराबरको सामानहरू साट्न सक्नुहुन्छ।
इलेक्ट्रोनिक स्ट्याम्पहरू प्राप्त गर्न, यस सेवाको लागि दर्ता गर्न आवश्यक छ।
यस सेवाको लागि योग्य घरपरिवारहरूलाई उपयोग निर्देशनहरू पठाइएको हुनाले कृपया सम्बन्धित वेबसाइटमा यस सेवाको प्रयोगको लागि दर्ता गर्नुहोस्।
शिशु स्याहारमा बच्चा राख्नु भएका परिवारहरुले इलेक्ट्रोनिक स्ट्याम्पहरू त्यहि नै प्राप्त गर्न सक्नुहुन्छ। त्यस्तै, कोदोमो प्लाजा र बाल हेरचाह एक्सचेन्ज सैलून जस्ता ठाउँहरूमा इलेक्ट्रोनिक स्ट्याम्पहरू प्राप्त गर्न सक्नुहुन्छ। अवश्य पनि यस सेवाको प्रयोग गर्नुहोस्!
थप विवरणहरूको लागि, कृपया "おむつと安心定期便 (ओमुचु तो आन्सिन् तेइकिबिन्)" भनि खोज्नुहोस्। नेपाली लगायत अंग्रेजी, चाइनिज, कोरियाली, र भियतनामी भाषाहरुमा जानकारीहरु राखिएका छन्!
2023.09.14[Thu] 09:00
अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【NAKASU JAZZ】
यस सप्ताहन्तमा, फुकुओका शहर हाकाता वार्डको नाकासुमा, नि:शुल्क ज्याज फेस्टिवल "NAKASU JAZZ" आयोजना हुन गईरहेको छ। यो फेस्टिवल फुकुओकाको शरद ऋतु परम्पराहरू मध्ये एक हो। दुई दिनको यस फेस्टिवलमा, नाकासुको सडकहरूमा स्टेजहरू ठडिएका अनि रोमान्चक कलाकारहरूको प्रत्यक्ष प्रदर्शनहरुले सडकहरू भरिएका देख्न सक्नुहुन्छ। नाकासु भनेपछि नाइट लाईफ, अनि स्यालरीमेन र पर्यटकहरु धेरै आउने ठाउँको रुपमा चिन्ने धेरै हुनुहुन्छ होला तर, सबै उमेरका व्यक्तिहरुले यहाँ आएर रमाइलो गर्न सक्ने सुरक्षित वातावरण बनाउने स्थानीय बासिन्दाको चाहनाबाट यो फेस्टिवलको शुरुवात भएको हो। ज्याज प्रेमीहरू लगायत ज्याज थाहा नभएकाहरुले पनि यसको मनोरञ्जन लिन सक्छन्। सबै स्टेजहरु नि:शुल्क हेर्न पाउने नै यस उत्सवको आकर्षणहरुमध्ये एक हो। समय मिलाएर तपाईहरु पनि प्रेम र जोशले भरिपूर्ण "NAKASU JAZZ" को आनन्ददायी संगीतमा झुम्नु भए कसो होला!
【फुकुओका शहरको सूचना】
“कानूनी परामर्शर मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्शको परिचय”
यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।
फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।
“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट, बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ। भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी
अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।
मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।
जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
बुकिंग, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म स्वीकार गरिन्छ। विस्तृत जानकारीका लागि, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोला।
2023.08.10[Thu] 09:00
अन्य(その他)
【फुकुओका शहरका टापुहरू"नोकोनोशिमा""शिकानोशिमा"】
गर्मी मौसम भनेपछि दिमागमा पहिले आउने नै समुद्र! तपाईहरुमध्ये कतिपयले समुद्रमा पौडी खेली पनि सक्नु भयो होला। यस हप्ता, एकै दिनमा फर्कन सकिने, फुकुओकाबाट नजिक दुईवटा टापुहरू, नोकोनोशिमा र शिकानोशिमाको बारेमा जानकारीहरु छन्।
नोकोनोशिमा, फुकुओका शहरको मेइनोहामामा रहेको नोतो फेरी टर्मिनलबाट फेरीमा करिब १० मिनेटमा पुग्न सकिने, परिधि लगभग १२ किलोमिटर भएको टापु हो।
मौसमी फूलहरू, सुन्दर समुद्री दृश्यहरू, इतिहासलाई महसुस गराउने थुप्रै स्थलहरु आदिको अनुभव यस टापुमा गर्न सक्नुहुन्छ।
समुद्र तटमा, मोटर बोटिङ, बनाना बोटिङ, वाटर स्कीइङ, समुन्द्रमा तैरने ट्राम्पोलिन लगायत डाइभिङ बोर्ड र स्विङ जस्ता गतिविधिहरूको मनोरञ्जन लिन सक्नुहुन्छ।
त्यस्तै, फूलहरु हेर्नका लागि प्रसिद्ध रहेको "नोकोनोशिमा आइल्याण्ड पार्क" मा, आजभोलि सूर्यमुखी फूलहरु फुलिरहेका छन्।
यस बाहेक, सुन्दर दृश्यहरू हेर्न सकिने रेस्टुरेन्टहरु, बार्बिक्यु हाउस, क्याम्प मैदानमा लजहरुको व्यवस्था आदिले गर्दा टापुको प्राकृतिक वातावरणको पूर्ण आनन्द लिन सक्नुहुन्छ।
अर्को टापु छ, फुकुओकाको मुख्य भूमिसँग जोडिएको शिकानोशिमा। यहाँ, स्थल र जल दुवै मार्गबाट सजिलै पुग्न सक्नुहुन्छ। यस टापुको सबैभन्दा ठूलो आकर्षण भनेको, यहाँको सुन्दर समुद्र हो। डाइभिङ पोइन्टहरूमा, ट्रोपिकल माछाहरु र seahorse हरू देख्न सक्नुहुन्छ। यहाँ याटिङ, विन्डसर्फिङ, स्कुबा डाइभिङ र फिसिंगको आनन्द लिन सक्नुहुन्छ। त्यस्तै, ताजा समुद्री खानाको साथै "किनइन डक" र "किनइन करी" जस्ता प्रसिद्ध स्थानीय पकवानहरुको पनि स्वाद लिनुहोला।
यस वर्षको गर्मीलाई सक्रिय रुपमा रमाइलो गरि बिताऔँ!
【फुकुओका शहरको सूचना】
“विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२३” सम्बन्धि
यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, संस्था "माची फुकुओका नो ऐ" र फुकुओका YWCA सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२३" आयोजना हुने भएको छ।
यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ। परामर्श नि:शुल्क हो। जापानी, अंग्रेजी र चाइनिज भाषाहरुमा परामर्श उपलब्ध छन्।
कार्यक्रम हुने दिन: अगस्ट २७, आईतबार दिउँसो १:०० देखि ४:०० बजेसम्म
आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर
सोधपुछको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा सम्पर्क गर्नुहोस्।
फोन मार्फत् वा फाउण्डेसनको वेबसाइटमा राखिएको सोधपुछ फारम मार्फत् सम्पर्क गर्न सक्नुहुन्छ। फोन नम्बर, ०९२-२६२-१७४४ हो।
“‘विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी”
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।