ブログ

ポッドキャスト

ポッドキャスト RSS

अन्य(その他)

2021.03.18[Thu] 09:00

आवास(住宅) , अन्य(その他) , प्राकृतिक प्रकोप(災害)

【प्रोफेशनल बेसबल】

तपाईंहरुले कहिल्यै जापानी प्रोफेशनल बेसबल हेर्नु भएको छ?

प्रोफेशनल बेसबल जापानमा धेरै लोकप्रिय खेल हो। १२ टोलीहरू सेन्ट्रल लिग र प्यासिफिक लिगमा विभाजित भई, जितको लागि प्रतिस्पर्धा गर्छन्। पहिले त, लिगमा पहिलो स्थानको लागि लक्ष्य राखिन्छ, र अन्तत दुई लिगमा पहिलो स्थान पाउनेले जापानको सर्वश्रेष्ठ उपाधि पाउँछ।

फुकुओका शहर, प्यासिफिक लिगमा आबद्ध भई Fukuoka SoftBank Hawks को मुख्य आधार हो।

पक्कै पनि स्टेडियम चाहिं, Fukuoka PayPay Dome!

Hawks, पाँच बर्ष लगातार जापानमा सर्वश्रेष्ठ बन्ने दृढता बोकेको बलियो टीम हो।

२०२१ मार्च २६ (शुक्रवार) देखि प्रोफेशनल बेसबल शुरु हुँदैछ। यदि मौका मिलेमा, पक्कै पनि प्रत्यक्ष प्रोफेशनल बेसबल हेर्नुहोला!

 

 

【नागरिक विपद् रोकथाम दिवस】

फुकुओका शहरमा, सन् २००५ मार्च २० मा गएको फुकुओका प्रान्त पश्चिम अपतटीय भूकम्पको अनुभवलाई नबिर्सन मार्च २० लाई "नागरिक विपद् रोकथाम दिवस" को रूपमा तोकिएको छ।

विपद् कहिले आउँछ भनेर थाहा हुँदैन।

विपद् आईपर्दा, प्रत्येक व्यक्तिले उचित कार्य अपनाउनका लागि, दैनिक आधारमा तयारी गर्न महत्त्वपूर्ण छ।

फुकुओका शहरको वेबसाइटबाट Hazard Map वा विपद् सम्बन्धि जानकारी लिने, आश्रय लिने स्थानमा जाँदा लिएर जानुपर्ने सामान पहिलेदेखि तयारी र जाँच गरि राख्ने गर्नुहोस्।

Support for Foreign Residents भनि खोज्नु भएमा, विदेशीहरूका लागि विपद् रोकथाम जानकारी देख्न सक्नुहुन्छ।

नियमित रुपमा महत्वपूर्ण जानकारी संकलन गर्ने गर्नुहोस्।

"नागरिक विपद् रोकथाम दिवस" ​​को अवसरमा, आफू, आफ्नो परिवार र समुदायको सुरक्षाको लागि विपद् रोकथामको बारेमा सोचौं।

 

 

【बिदाको दिनमा खुल्ने बारे】

मार्च र अप्रिलमा बसाईसराई धेरै हुने भई, वार्ड अफिसको काउन्टरमा भीड हुने समय हो।

त्यसकारण, सप्ताहका दिनहरूमा व्यस्त भई प्रकियाका लागि जान नसकेका महानुभावहरुले, बिदाको दिनमा बसाईसराई प्रकिया गर्न सकिने गरि मार्च २८ र अप्रिल ४ आईतबार, वार्ड कार्यालय र शाखा कार्यालयका काउन्टरहरू खोलिनेछन्।

बिहान १० देखि दिउँसो २ बजे सम्म, भित्र बसाई, बाहिर सराई र बसाईसराई सम्बन्धि सूचना स्वीकार गर्नेछौं।

 

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI 

2020.12.03[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【“ओसेइबो” को परिचय】

“ओसेइबो” भन्नाले आभार भएका व्यक्तिहरु प्रति वर्षको अन्त्यमा धन्यवाद ज्ञापन स्वरुप खानेकुरा र पेयपदार्थ आदि जस्ता उपहारहरू दिने परम्परा छ।

यसको शुरुवात इडो कालमा भई, हरेक बर्षको अन्त्यमा, व्यापारीहरूले घरमालिक वा व्यापार साझेदारहरूलाई, “म सँधै तपाईंप्रति आभारी छु। यसपछि पनि निरन्तर सहयोगको अपेक्षा राख्दछु ” भन्ने अर्थबाट धन्यवाद स्वरुप उपहार दिने शुरुवात भएको मानिन्छ।

ओसेइबो सामान्यतया, डिसेम्बरको शुरुदेखि २५ तारिखको केही दिन अगाडि वा पछाडि सम्म दिने चलन छ। क्युशु क्षेत्रमा धेरैले डिसेम्बर १० देखि २० सम्म दिने गरेको देखिन्छ।

तपाईं पनि यस वर्ष, जापानको परम्परा अनुसार, आफुलाई सँधै सहयोग गर्ने व्यक्तिहरुलाई केही उपहार दिनु हुन्छ कि?  

 

【विश्व मानव अधिकार दिवस र मानव अधिकार सप्ताहको बारेमा】

"मानव अधिकार" भनेको हरेक व्यक्ति जन्मेदेखि उसले "मानव जस्तो जीवन जीउन" पाउनेको अधिकार हो।

डिसेम्बर १० "विश्व मानव अधिकार दिवस" ​​हो, जुन जापानमा मात्र होइन, विश्वको विभिन्न भागहरुमा पनि "मानव अधिकार" को बारेमा सोच्ने दिनको रुपमा रही आएको छ।

डिसेम्बर ४ देखि १० सम्म "मानव अधिकार सप्ताह" को अवसरमा, फुकुओका शहरमा पनि, मानव अधिकारको सम्मान गरि, भेदभाव रहित आरामदायी फुकुओका शहरको उद्देश्यले “मानव अधिकार सम्मान सप्ताह” आयोजना गरिंदै आईरहेको छI

हरेक व्यक्ति आफू जस्तै स्वाभिमानी हुन्छI

प्रत्येक व्यक्ति स्वावलम्बी छ भन्ने कुरा अनुभूति दिलाने यो महत्त्वपूर्ण हप्ता हो।

महिला, बालबालिका, वृद्ध, विदेशी, अशक्त, आदिको आधारमा भेदभाव र पूर्वाग्रह हटाएर, एक अर्काको मानव अधिकारको सम्मान गरौं।

तपाईंहरु पनि "दयालु हृदय" र "स्वाभिमानी जीवन"को बारेमा फेरि एकपटक सोचेर हेर्दा कस्तो होला?

 

【फोहरको अवैध डम्पिंग】

जंगल, समुद्रीतट, नदी, सडक, पार्क आदिमा ठूलो आकारका फोहर वा घरको फोहर फाल्नेलाई अवैध डम्पिंग भनिन्छ।

फुकुओका शहरमा, बर्षको अन्त्यमा सरसफाईको कारण फोहरको मात्रा बढ्ने डिसेम्बरमा, “अवैध डम्पिंग रोकथाम सुदृढीकरण महिना" को रूपमा, अवैध फोहर फाल्न रोक्नका लागि गतिविधिहरू थप सुदृढ गरिनेछ।

फुकुओका शहरले पुलिसको सहयोगमा, धेरै अवैध फोहर फाल्ने स्थानहरुमा, निगरानी क्यामेरा वा चेताउनी संकेतहरू राख्ने र गस्तीहरू सञ्चालन गरिंदै आईरहेको छ।

टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर, र एयर कन्डिशनरहरू घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ। नयाँ जडान गर्ने बेला लगिदिनुहुन्छ कि भनेर खरिद गरेको पसल वा फुकुओका शहरभित्रको Best Denki वा Yamada Denki मा सोध्नुहोला। रिसाइकल शुल्क, संकलन र यातायात शुल्क आवश्यक पर्छ। “अनावश्यक सामानहरू सस्तोमा संकलन गरिदिन्छौं” भनि विज्ञापन गर्नेहरुले, फुकुओका शहरको अनुमति बिना अवैध रूपमा संकलन गर्ने ठेकेदार हुन्। अनुमति प्राप्त नभएका ठेकेदार, अवैध डम्पिंग वा अनुचित प्रशोधन गर्ने, अधिक शुल्क लिने जस्ता समस्याहरू निम्त्याउने हुनाले कृपया यसको प्रयोग नगर्नुहोस्।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

आजकल, कोरोना भाइरस संक्रमण बिरूद्ध कदम चाले पछि, मानिसहरुको सम्पर्कमा आउने गतिबिधि अलि बढेर आएको छ, तर अबबाट क्रिसमस, नयाँ वर्ष पूर्वसंध्या, र नयाँ वर्ष जस्ता मौसमी कार्यक्रमहरूमा भेला हुने अवसरहरू बढ्नेछन्। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI प्रत्येक व्यक्तिले, आधारभूत संक्रमण रोकथामका उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI

2020.10.01[Thu] 09:00

अन्य(その他)

【“मध्य शरदको चन्द्रमाको” परिचय】

आजकलको मौसम, बिहान-बेलुका धेरै सजिलो भएर आएको छ।

यो वर्षको ‘च्युउस्युउ नो मेईगेचु’ अर्थात् ‘मध्य शरदको चन्द्रमा’, आज अक्टुबर १ बिहिबारमा देखा पर्नेछ। 

 

‘च्युउस्युउ नो मेईगेचु’ भनेको चन्द्रमामा आधारित क्यालेन्डर अनुसार, अगस्त १५ को पूर्णिमा हो।

बर्षभरिमा, सबैभन्दा सुन्दर चन्द्रमाको रुपमा मानिने, जापानमा परापूर्वकालदेखि यसलाई हेर्ने परम्परा छ, र यस दिनलाई ‘ओचुकिमि’ अर्थात् ‘चन्द्रमा हेर्ने दिन’ भनिन्छI गर्मी समाप्त भई, जाडोको शुरु हुने यस समयमा, पूर्णिमाको रातको आनन्द लिनु भनेको एक किसिमको, जापानको शरद ऋतुको परम्परा हो।

 

जापानिज मिठाई ‘डान्गो’ र ‘सुसुकि’ भन्ने घाँसले सजाएर, शरद फसलको लागि धन्यवाद दिने र राम्रो बालीनालीको लागि प्राथर्ना गर्ने चलन छ।

१५ रातको चन्द्रमा भएकोले, यस दिनमा १५ वटा ‘डान्गोहरु’ चढाउने, अनि सामान्यतयाः पिरामिडको आकारमा सजाउने चलन छ। त्यस्तै, ‘सुसुकि’ लाई चामलको रुपमा सँगै सजाईने पनि गरिन्छ।

 

साथै जापानमा, चन्द्रमाको छाँया हेर्दा, खरायोले मोची बनाएको जस्तो देखिन्छ रे, त्यसैले चन्द्रमामा खरायो छ भन्ने किम्बदन्ती पनि छI

 

【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचना】

“राष्ट्रिय जनगणनाको फारम भर्ने बारे”

जापानमा, यस वर्ष राष्ट्रिय जनगणना गर्ने भएको छ।

राष्ट्रिय जनगणना भनेको, प्रत्येक पाँच बर्षमा एक पटक, जापानमा बसोवास गर्ने सबै व्यक्ति र घरपरिवारहरुको जीवनस्तरको सर्वेक्षण हो। विदेशीहरू पनि यस सर्वेक्षणमा पर्दछन्।

सर्वेक्षणमा, जन्म मिति, पेशा, काम गर्ने ठाउँ वा स्कूल, बस्दै गर्नु भएको घर आदि १६ वटा बिषयहरु छन्।

सेप्टेम्बर १४ देखि, सर्वेक्षणकर्ताहरूले सबैको परिवारहरूको घर भ्रमण गरि, सर्वेक्षण कागजातहरू वितरण गरिरहेको छ।

स्मार्टफोन वा कम्प्युटरबाट सजिलै र सहज उत्तर दिन सकिने भएकोले, इन्टरनेट मार्फत भरिदिन हुन अनुरोध गर्दछौंI

इन्टरनेटमा लगइन गर्दा, कागजातमा लेखिएको लगइन आईडी र Access key प्रयोग गर्नुहोस्।

चौबीसै घण्टा,  जापानी, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी, पोर्तुगिज, र स्पेनिशमा उत्तर दिन सक्नुहुन्छ।

यदि इन्टरनेट मार्फत भर्न गाह्रो छ भने, सर्वेक्षणको फारम भरेर पोस्ट गरेर पठाउनुहोस्।

कृपया अक्टोबर ७ सम्ममा भरिदिन हुन अनुरोध गर्दछौँI

 

“सम्पर्क पत्ता लगाउने app -COCOA को प्रयोगको बारेमा”

जापानले कोरोना भाईरस सम्पर्क पत्ता लगाउने COCOA(कोकोआ) नामको app बनाएको छ। यदि तपाईं भाईरस संक्रमित व्यक्तिको १ मिटर भित्रको दूरीमा १५ मिनेट भन्दा बढि सम्पर्कमा आउनु भयो भने, यो app मार्फत तपाईंलाई सूचित गराईनेछ। यो नि: शुल्क app होI app द्वारा सूचना पाएको व्यक्तिले, यदि संक्रमित व्यक्तिसँग सम्पर्कको मितिदेखि दुई हप्ता भित्र परामर्श गर्नु भएमा, पी.सी.आर.( PCR) परीक्षण नि:शुल्क प्राप्त गर्न सक्नुहुनेछ।

जति धेरैले यो app को प्रयोग गर्नुहुन्छ, त्यति नै संक्रमणलाई रोक्ने सम्भावना बढी हुन्छ। त्यसैले, आफू र आफ्नो नजिकका मानिसहरुको सुरक्षाका लागि, कृपया आफ्नो मोबाइलमा यो app राख्नु होला।

2020.08.13[Thu] 09:00

अन्य(その他)

【ओबोन” को परिचय】

जापानमा अगस्त महिनालाई “ओबोन” महिनाको रुपमा मनाईन्छ I

के तपाईले “ओबोन” को बारेमा सुन्नुभएको छ?

“ओबोन” जापानी बौद्ध परम्परा हो र जापानमा यो मानिन्छ कि “आफ्ना बितिसकेका पुर्खाहरुको आत्मा यो समयमा आफ्नो घर फर्कन्छन्I” परिवार र आफन्तहरू आफ्ना पुर्खाहरूप्रति कृतज्ञताको लागि र सम्पूर्ण व्यक्तिहरूको सुरक्षित र शान्तिमय जीवनको लागि भेला भएर प्रार्थना गर्ने गर्दछन्।

यसो विचार गर्दा, मलाई चै जापानको ओबोन र हाम्रो नेपालको गाईजात्रा मूल्यमान्यतामा उस्तै लाग्छI

ओबोनको अवधि सामान्यतया अगस्त १३ देखि १६ तारिखसम्म, चार दिनको हुन्छ। टोकियो र कान्तोकेन्को क्षेत्रहरूमा भने, ओबोन, जुलाई १३ देखि १६ तारिकसम्म मनाईन्छ।

यस बेला, प्रायजसो घर फर्कनेहरुको घुइँचोको बारेमा धेरै समाचारहरु देख्न र सुन्न पाउँर्छौंI

 

【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचनाहरु】

“विशेष तथा निश्चित अनुदान रकमको बारेमा”

जापान सरकारबाट पाउने १ लाख येनको राहत रकमको लागि आवेदन बुझाउने अन्तिम म्याद अगस्त ३१ तारिख हो।

२०२० अप्रिल २७ सम्ममा जापानको आधारभूत बसोबास दर्ता पुस्तिकामा दर्ता भएकाहरुलाई, फुकुओका शहरले  आवेदन फारम पठाएको छI

कृपया अन्तिम म्यादसम्ममा आवेदन बुझाउनुहोलाI नबुझेको केही कुरा भएमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छI

फोन नम्बर, ०९२-४०१-०८२६ I

सोमबार देखि शुक्रवार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली भाषामा परामर्श लिन सक्नुहुन्छ।

यस अतिरिक्त, Life in Fukuoka को विशेष एपिसोडमा ५ मिनेटमा बुझ्न सजिलो हुने गरि, ‘विशेष तथा निश्चित अनुदान रकम’ सम्बन्धि जानकारी दिने कार्यक्रम, हाल LOVE FM मा प्रसारण भईरहेको छI

नेपाली भाषामा हरेक हप्ताको विहिबार दिउँसो १:५३ बाट सुन्न सक्नुहुन्छI

 

“वार्ड कार्यालयको बहुभाषीकरण तथा टेलिफोन दोभाषे सेवा”

निवासी कार्ड, बसाईसराई प्रक्रिया, राष्ट्रिय स्वास्थ्य बीमा, कर तथा फोहोर फ्याँक्ने आदिको बारेमा, यदि तपाईंले केहि कुरा बुझ्नु भएन भने, टेलिफोन दोभाषे माध्यमबाट, वार्ड अफिसमा सोध्न सक्नुहुन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली भाषा लगायत १८ वटा भाषाहरुमा परामर्श लिन सक्नुहुन्छ। फोन नम्बर, ०९२-७५३-६११३I

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

त्यसपछि,  आफू बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

उदाहरण को लागी, तपाईं यसरी भन्न सक्नुहुन्छ, “म हिगाशी वार्डमा बस्दैछु। म आय प्रमाण पत्र चाहन्छु।"

यति भन्नु भएपछि, हिगाशी वार्ड अफिसमा आय प्रमाणपत्रको जिम्मा लिने मुख्य व्यक्तिलाई फोन सम्पर्क हुन्छ,  र  त्यहि बेला, दोभाषे, त्यो मुख्य व्यक्ति र तपाईं, तीन जनाबीच कुराकानी गर्न मिल्छ।

यस अतिरिक्त, तपाईं वार्ड अफिसमा जानुहुँदा पनि, फोनको प्रयोग गरि दोभाषे सुबिधा लिन सक्ने हुनाले कृपया यसलाई ढुक्क भएर प्रयोग गर्नुहोस्।

 

 

2020.08.06[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【अगस्त ११ यामा नो हि अर्थात् Mountain Day】

जापान मा धेरै बिदाहरु छन्। ती मध्ये एक, अगस्त ११ को “यामा नो हि” अर्थात् “Mountain Day” हो।

"हिमालको देनहरुको कदर गर्ने र उनीहरूलाई चिन्ने अवसरको दिन” को रूपमा यो दिन २०१६ मा  लागू गरिएको थियो।

सार्वजनिक बिदा नभएको अगस्त महिनामा, नयाँ सार्वजनिक बिदा " यामा नो हि" थपिएको पछि,  जून मात्र  सार्वजनिक बिदा नभएको महिना भएको देखिन्छI

नेपालमा सार्वजनिक बिदा यदि, शनिबार पर्यो भने तेस्को सट्टा अर्को दिनमा सार्दैन नि होईनI तपाईंलाई थाहा छ?

जापानमा भने, सार्वजनिक बिदा यदि आईतबार पर्यो भने, त्यो सोमबार सार्छ नि! कति रमाईलो है!

अनि साँच्चै, यो वर्ष टोकियो ओलम्पिक र प्यारा ओलम्पिक आयोजना हुने भएकोले " यामा नो हि" १० अगस्तमा सारेको थियो। तर, नयाँ कोरोनाभाइरसको प्रभावका कारण ओलम्पिक २०२० स्थगित गरियोI त्यसैले, “यामा नो हि”, यो वर्ष किन अगस्त ११ मा भयो भनेर तपाईंहरु नझुक्किनुहोला है!

 

【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचनाहरु】

“विशेष तथा निश्चित अनुदान रकमको बारेमा”

जापान सरकारबाट पाउने १ लाख येनको राहत रकमको लागि आवेदन बुझाउने अन्तिम म्याद अगस्त ३१ तारिख हो।

२०२० अप्रिल २७ सम्ममा जापानको आधारभूत बसोबास दर्ता पुस्तिकामा दर्ता भएकाहरुलाई, फुकुओका शहरले  आवेदन फारम पठाएको छI

कृपया अन्तिम म्यादसम्ममा आवेदन बुझाउनुहोलाI नबुझेको केही कुरा भएमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छI

फोन नम्बर, ०९२-४०१-०८२६ I

सोमबार देखि शुक्रवार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली भाषामा परामर्श लिन सक्नुहुन्छ।

यस अतिरिक्त, Life in Fukuoka को विशेष एपिसोडमा ५ मिनेटमा बुझ्न सजिलो हुने गरि, ‘विशेष तथा निश्चित अनुदान रकम’ सम्बन्धि जानकारी दिने कार्यक्रम, हाल LOVE FM मा प्रसारण भईरहेको छI

नेपाली भाषामा हरेक हप्ताको विहिबार दिउँसो १:५३ बाट सुन्न सक्नुहुन्छI

 

“रेड इम्पोर्तेट फायर कमिला (Red Imported Fire Ant), पछाडी रातो भएको माकुरा (Red back spider)  र निलो चक्का भएको अक्टोपस(Blue-ringed octopus) बाट सावधान हुनुहोस्!”

गर्मीको बेला, रेड इम्पोर्तेट फायर कमिला (Red Imported Fire Ant), पछाडी रातो भएको माकुरा (Red back spider)  र निलो चक्का भएको अक्टोपस(Blue-ringed octopus) जस्ता विषालु जीवहरुदेखि सावधान रहनुहोस्।

रेड इम्पोर्तेट फायर कमिला,२.५ मिलिमिटरदेखि ६ मिलिमिटर लम्बाई जतिको रातो खैरो रंगको कमिला हो। यसले टोक्दा, पोलेको बेला जस्तै दुखाईको अनुभव हुन्छI तपाईंको प्रतिरक्षा प्रणाली अनुसार, एनाफिलाक्टिक झटका भन्ने एक किसिमको कडा एलर्जी हुन सक्छ।

पछाडी रातो भएको माकुरा (Red back spider), एक किसिमको विषालु माकुरा हो, जुन घाम भएतिरको  बोटबिरुवाको छेउमा, नालीको ढकनको पछाडि वा बेंचमुनि बस्दछन्।

यसको लम्बाई १ सेन्टीमिटर हो, र यदि यसको खुट्टाहरू फैलायो भने, यो ३ सेन्टीमिटरदेखि ४ सेन्टीमिटरको हुन्छ।

शरीर सबै कालो,तर पछाडी पेटतिर चाहिं रातो hour-glass आकारको बुट्टा हुन्छI

यदि यसले टोक्यो भने, दुखाई, ज्वरो र वाकवाकी लाग्ने जस्ता लक्षणहरू देखा पर्न सक्दछन्I

यदि तपाईंले रेड इम्पोर्तेट फायर कमिला वा पछाडी रातो भएको माकुरा फेला पार्नुभयो भने, यसलाई आफ्ना खुला हातले नछोइकन, व्यावसायिक रूपमा उपलब्ध कीटनाशकको प्रयोग गरि, मार्नुहोस्।

यदि तपाईलाई टोकेमा, तुरुन्तै अस्पताल जानुहोस्।

निलो चक्का भएको अक्टोपस, हाकाता बेभित्र र बाहिर फेला परेको छ र यसको शरीरको लम्बाई १० सेन्टीमिटर भन्दा कम छ र यसको बिशेषता भनेको, यो उत्तेजित हुँदा यसको सम्पूर्ण शरीरमा निलो चक्का देखा पर्छI

यो फुगु भन्ने माछा जत्तिकै घातक हुन्छI यदि यसले टोक्यो भने, सबैभन्दा डरलाग्दो अवस्था, मृत्यु हुन सक्छ।

यदि यसले तपाईंलाई टोक्यो भने, विषलाई आफ्नो मुखबाट नतान्नुस् र हातले थिचेर निचोर्दै, तुरुन्तै अस्पताल जानुहोस्।

 

2020.07.16[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【गर्मीको योजना】

आजकल गर्मी एकदम बढीरहेको छ ।  तपाईंहरु  यस वर्षको गर्मीमा के गर्ने सोच्दै हुनुहुन्छ होला?  तपाईंमध्ये कतिपयले वजन घटाउने भनेर योजना बनाउनु भएको होला वा गर्दै पनि हुनुहुन्छ होलाI अनि कतिपयले घरमै वेब सिरिज हेरेर रमाईलो समय बिताउने सोच्दै हुनुहुन्छ होला वा केही नयाँ परिकार बनाएर खाने, त्यस्तै नयाँ कुराको थालनी गर्ने आदि जस्ता योजना बनाउँदै हुनुहुन्छ होलाI मलाई त गर्मी महिना भने पछि नेपालको जनैपूर्णिमा र गाईजात्रामा क्वाटी र रोटिको खाएको याद आउँछI गर्मीको बेला गेडागुडीको टुसा राम्ररी आउने भएकोले, यहाँ जापानमा पनि म, क्वाटी र रोटि पकाएर खाने गर्छुI क्वाटी स्वादिलो मात्र नभई गर्मीमा थकित शरीरमा उर्जा ल्याउनुका साथै स्वास्थ्यमा धेरै फाईदा गर्दछI यो वर्ष पनि क्वाटी मज्जाले खाने र जापानी साथीहरुलाई पनि खुवाउने विचार छ I तपाईंहरु पनि खाने होइन त क्वाटी!

 

घुमघामको जानकारी

आज, मैले रमाईलो घुमघामको जानकारी लिएर आएकी छु।

 तपाईंहरुले कहिल्यै "फुकुओका ओपन टप बस" चड्नु भएको छ?

यो बस, फुकुओका शहरको पर्यटकिय स्थलहरू,  तेन्जिन क्षेत्र, हाकाता क्षेत्र र समुद्री किनारको क्षेत्र आदिको वरिपरि घुमाउने भ्रमण बस हो। सुविधाजनक यो बस, साधारण बस भन्दा भिन्न भई, छत बिनाको डबल डेकर बस हो। जमिन माथि करीव ३.२ मिटर बाट देखिने शहरको दृश्य सामान्य भन्दा फरक देखिन्छ, र यो उत्साहजनक हुन्छ! यसमा तीन किसिमको कोर्सहरू छन्, तपाईं आफूलाई  मनपर्ने कोर्समा एक घण्टाको लागि चढेर, फुकुओका शहरको अवलोकन गर्न सक्नुहुन्छ। साथै बसमा उद्घोषकले जानकारी पनि प्रदान गर्दछ।

 टिकट शुल्क, वयस्कहरूको लागि १,५७० येन र बच्चाहरूको लागि ७९० येन हो।

इच्छुक महानुभावहरुले कृपया आधिकारिक वेबसाइट हेर्नुहोस्।

वेबसाइट रहेको छ,  fukuokaopentopbus.jp

 नयाँ कोरोनाभाइरस विरुद्धको सावधानीका रूपमा, चालक दल र बस उद्घोषकहरूले मास्क लगाउने र गाडीलाई विसंक्रमण गर्ने जस्ता वातावरणीय सरसफाइलाई उचित ध्यान दिएर दुक्क र सुरक्षित सेवाहरू प्रदान गरिरहेको छI

यो बस चढ्दा, सबै जनाले मास्क लगाउने र खोक्दा शिष्टाचार का साथ गर्ने गरौं!

 

नयाँ कोरोना भाईरस सम्पर्क पत्ता लगाउने app को बारेमा

जापानले कोरोना भाईरस सम्पर्क पत्ता लगाउने app बनाएको छ। यदि तपाईं भाईरस संक्रमित व्यक्तिको सम्पर्कमा आउनु भयो भने, app मार्फत तपाईंलाई सूचित गराईनेछ। जति धेरैले यो app को प्रयोग गर्नुहुन्छ, त्यति नै संक्रमणलाई रोक्ने सम्भावना बढी हुन्छ। त्यसैले, आफू र आफ्नो नजिकका मानिसहरुको सुरक्षाका लागि, कृपया आफ्नो मोबाइलमा यो app राख्नु होला।

2020.06.04[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【हालसालै पकाएको नेपाली परिकार】

मलाई लाग्छ, कोरोना भाईरसको कारणले गर्दा तपाईहरुमध्ये धेरैको समय घरमै बितिरहेको छ होला।आजकल म पनि, शनिबार र आईतबार बिदाका दिनहरूमा घरमै बसेर नेपाली परिकार पकाएर रमाइलो गर्ने गरिरहेकी छु। गएको शनिबार मात्रै घरमै मः मः बनाएर खाएँ। अनि आईतबार नेवारी खाना; चतामारी, बारा र आलुतामाको मज्जा लिएँ। तपाईहरुले पनि आफ्नै घरमा नेपाली परिकार बनाएर खाँदै हुनुहुन्छ होला। यसरी नै विदेशमा नेपाली स्वादको आनन्द लिंदै, राम्रोसँग बस्नुहोस है!

 

【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचनाहरु】

“कोरोना सम्बन्धि”

फुकुओका शहरबाट, सबै बासिन्दाहरुलाई कोरोना युगको नयाँ जिवनशैली अपनाउनका लागि अनुरोध गरेको छ।

जस्तै कि,

  • तीनवटा मुख्य कुराहरुबाट बच्ने अर्थात्,  हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, अनि कुराकानी गर्दा दूरी बनाउने।
  • त्यस्तै, बस्दा २मिटरको दूरी बनाउने
  • बाहिर गएको बेला कुरा गर्दा  मास्क लगाउने
  • घरमा फर्कंदा हातमुख धुने

आदि कुराहरुलाई व्यवहारमा ल्याउन अनुरोध गरेको छ।

साथै, नयाँ जीवन शैलीको रुपमा,

  • सक्दो अनलाईन शपिंग गर्ने र बजारमा किनमेल गर्दा पनि इलेक्ट्रोनिक पेमेन्ट गर्ने
  • खानाको लागि पनि, Takeout वा डेलिभरीबाट मगाउने
  • अनि, बस्दा खेरि, दायाँबायाँतिर बस्ने

जस्ता कुराहरुमा ध्यान दिन अनुरोध गरेको छ।

विशेष गरि, नयाँ जीवन शैलीको आधारभूत ब्यवहारको रुपमा, सबवेको प्रयोग गर्दा, मास्क अवश्य लगाउनु नै होला।

फुकुओका प्रान्तमा, आफ्नो जागिर गुमाएका विद्यार्थी तथा विदेशी विद्यार्थीहरुका लागि, तुरुन्तै, छोटो अवधिको लागि रोजगारको सृजना गर्ने हेतुले, कार्यहरु अघि बढाउने निर्णय भएको छ।

त्यस्तै, जापान सरकारले, आरुबाईतो गरिरहेका विद्यार्थीहरुको आयमा उल्लेखनीय कमी आएको र तोकिएको मापदण्डहरु पूरा भएको अवस्थामा, अनुदान रकम प्रदान गर्ने निर्णय गरेको छ।

बिस्तृत जानकारी, फुकुओका सिटिको होमपेजमा राखिएको छ।

“विशेष तथा निश्चित अनुदान रकम” सम्बन्धि नयाँ जानकारीका लागि ‘Fukuoka Support for Foreigners’को साइटमा हर्नुहोला।

 

“हलुका सवारी साधन कर सम्बन्धि”

मोटरबाईक वा हलुका कार भएकाहरुले, अप्रिल १ मा हलुका सवारी साधन कर तिर्नु जरुरी छ।

यदि तपाईंसँग मोटरबाईक वा हलुका कार छ भने, मे ५ तिर, हुलाक मार्फत कर तिर्नका लागि सूचना आउन सक्दछ। तिर्न बाँकी व्यक्तिहरुले शिघ्र कोन्भिनी वा बैंक मार्फत तिर्नुहोला।

यसका अतिरिक्त, जनवरी १ देखि फुकुओकामा बस्दै आउनुभएको व्यक्तिको, यदि अघिल्लो वर्षको आय १०लाख नाघेको भए, फुकुओका प्रान्तको कर तिर्नु पर्ने हुन सक्दछ।

कम्पनिमा काम गर्नेहरुको तलबबाट कटाईन्छ भने कम्पनिमा काम नगर्नेहरुलाई कर तिर्न, जुन १५ तिर सूचना आउन सक्दछ। शिघ्र कोन्भिनी वा बैंक मार्फत तिर्नुहोला।

यदि तपाईंले मोटरबाईक आदिको शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले कब्जा गर्ने सम्भावना पनि छ।

यदि तपाईंलाई कोरोना भाईरसको असरले गर्दा, शहरी कर तिर्नमा समस्या परिरहेको छ भने, कृपया, वार्ड अफिसको परामर्श सेवामा सम्पर्क राख्नुहोस्।

१८ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ। फोन नम्बर, ०९२-७५३-६११३,

फेरि एकपटक, ०९२-७५३-६११३

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

त्यसपछि,  तपाईं बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

यो फुकुओका शहरबाट जारी सूचना थियो।

2020.05.28[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【COVID-१९ आपतकालीन समयको अनुभव】
नोबल कोरोना भाईरसको असर तपाईंको दैनिक जीवनमा पक्कै पनि पर्यो नै होलाI फुकुओकामा आपतकालीन घोषणा भएपछि कतिपय घरमै बस्नु भयो होलाI अनि कतिपयले घरबाटै काम पनि गर्नु भयो होलाI मेरो चाहिँ अफिस पहिले जस्तै निरन्तर नै भयोI अफिसका सबै सहकर्मीहरु आ-आफ्नो सवारी प्रयोग गरेर आउने भएकोले अफिस सामान्य रुपमा नै चल्योI बरु, अफिसमा हरेक दिन, ज्वरो नापी लेख्नु पर्ने, मास्क लगाउनु पर्ने, बाहिरबाट आएपछि हात धुने वा sanitizerले हात पुछ्नुपर्ने अनि मिटिंगहरु भिडियो अनलाइनमा गर्ने जस्ता सावधानीहरु अपनाईयोI
मलाई लाग्छ, जो स्टे होममा बस्नु भयो, केही आराम तथा मनोरञ्जन पक्कै पनि भयो नै होलाI
अहिले आपतकालीन घोषणा हटाईए पनि सकेसम्म हुलमुल हुने ठाउँमा नजाऔं अनि सम्पर्कमा आउँदा दूरी बनाएर कुराकानी गर्ने गरौँI

 

【जापान सरकारले १ लाख येनको अनुदान रकम बितरण गर्ने बारे (विशेष तथा निश्चित अनुदान रकम)】
जापान सरकारले घरेलु खर्चमा मद्धत पुर्याउने हेतुले सबैजनालाई १ लाख येन दिने भएको छI
२०२० अप्रिल २७ सम्ममा जापानको आधारभूत बसोबास दर्ता पुस्तिकामा दर्ता भएका विदेशी नागरिकहरुले पनि आवेदन दिन सक्नुहुन्छ।

फकुओकाका बासिन्दाहरुलाई, अनुदान रकमको लागि आवेदन फारम मे १५ देखि बितरण भईरहेको छI
यदि तपाईंलाई आवेदन फारम भर्नमा कठिनाई वा केही परामर्शको आवश्यक्ता परेमा, हामीलाई फोन गर्नुहोस्I तपाईंले अंग्रेजी, चाइनिज, कोरियाली, भिएतनामी र नेपाली भाषामा परामर्श पाउन सक्नुहुन्छI
फोन नम्बर रहेको छ, ०९२-४०१-०८२६ I फेरि एकपटक फोन नम्बर, ०९२-४०१-०८२६ I

LOVE FM मा अनुदान रकमको बारेमा जानकारी दिने ५ मिनेटको कार्यक्रमको बारेमा
Life in Fukuoka को विशेष एपिसोडमा ५ मिनेटमा बुझ्न सजिलो हुने गरि, ‘विशेष तथा निश्चित अनुदान रकम’ सम्बन्धि जानकारी दिने कार्यक्रम, हाल LOVE FM प्रसारण भईरहेको छI
नेपाली भाषामा हरेक हप्ताको विहिबार दिउँसो १:५३ मिनेटबाट सुन्न सक्नुहुन्छI
LOVE FM को होमपेजबाट podcast मा गएर तपाईको मिल्ने समयमा सुन्न सक्नुहुन्छI
अवश्य होमपेज हेर्नुहोलाI

यस अतिरिक्त, फुकुओका सिटि होमपेजको साइट ‘Support for Foreigners’ बाट पनि, फुकुओकामा जीवनयापनका लागि आवश्यक जानकारी वा कोरोना भाईरस सम्बन्धि जानकारीहरु प्रदान गर्दै आईरहेको छI अवश्य पनि यो साइटमा जानुहोला, अनि महत्वपूर्ण जानकारीहरु प्राप्त गर्नुहोलाI

 

【कपडाको मास्क वितरणको बारेमा】
जापान सरकारबाट कपडाको मास्क वितरण, फुकुओका शहरमा मे १२ देखि शुरु भयोI
एउटा परिवारलाई २ वटा मास्क वितरण गरिन्छI यो कपडाको मास्क धोएर जति पटक पनि प्रयोग गर्न सकिन्छI
धुँदा, लुगा धुने डिटर्जन्टले बिस्तारै धोएर छायाँमा प्राकृतिक तरिकाले सुकाउनुहोस्I

 

【मास्क र सवारीको बारेमा】
फुकुओका प्रान्तमा आपतकालीन घोषणा हटाईएकोले, सार्वजनिक यातायात प्रयोग गर्ने व्यक्तिहरुको संख्या बढेको हुनुपर्छI त्यसकारण, फुकुओका शहरबाट सबैलाई अनुरोध छI
फुकुओका सिटि सबवे वा फुकुओका सिटि चार्टर जहाज प्रयोग गर्दा, ३ मुख्य कुराहरुबाट बच्न, नबिर्सिकन मास्क लगाउनुहोस्I आपतकालमा बाहेक, अरु बेलामा पनि सबवे ट्रेन वा जहाजमा कुराकानी नगर्नुहोस् र त्यस्तै, मिल्छ भए घरमै बसेर काम गर्नुस् वा फरक समयमा काममा जाने गरि भींडभाड हुन नदिनमा सहयोग गर्नुहोस् I

 

2020.05.14[Thu] 09:00

रोजगार तथा उद्यमशीलता(就業・起業) , अन्य(その他)

【फुकुओका शहरमा खान सकिने नेपाली खाना】

आज म fukuoka मा नेपाली खाना सम्बन्धि केही जानकारीहरु लिएर आएकी छुI विदेशमा बस्दा, नेपाली खानालाई नसम्झने कोहि हुनुहुन्न होला जस्तो लाग्छ मलाईI तपाईंहरुमध्ये धेरैजसोले घरमै खाना पकाउनुहुन्छ होलाI प्रायःले नेपाली मसला, गेडागुडी वा फुकुओकामा नपाइने वा पाए पनि हाम्रोमा नेपालमा जस्तो स्वाद नहुने खानाहरु, नेपालबाट ल्याएर राख्नुभएको होलाI अनि घरमै नेपाली खानाको आनन्द लिंदै हुनुहुन्छ होलाI

फुर्सदमा, रमाईलोको लागि वा बेफुर्सदमा पेट पूजाको लागि तपाईहरु fukuoka मा रहेको विभिन्न नेपाली रेस्टुरेन्टमा पक्कै छिर्नु भएकै होलाI कहिलेकाहिँ, नयाँ ठाउँहरुमा गएर नेपाली खानाको स्वाद लिने सोची राख्नु भएको छ भने आज म यहाँ केही नेपाली रेस्टुरेन्टहरुको लिस्ट लिएर आएकी छुI यो लिस्ट Rettyको websiteमा राखिएको पोस्ट “फुकुओकाको २० वटा लोकप्रिय नेपाली रेस्टुरेन्ट” बाट साभार गरिएको छI

यसभित्र परेका, फुकुओका सिटिमा भएका १० वटा नेपाली रेस्टुरेन्टहरुको नाम आजको कार्यक्रममा तपाईहरु संग share गर्न लागि रहेकी छु | क्रमबद्ध नाम लिंदा, Ohasi स्टेशनबाट नजिकै रहेको मगर रेस्टुरेन्ट, Hakataको Gion स्टेशनबाट नजिकै रहेको श्री गणेश, त्यस्तै, Yakuin Odori स्टेशन बाट नजिकै रहेको नेपारू र्योरी तो जाख्खा माइतीघर  रेस्टुरेन्ट, Yoshizuka स्टेशनबाट पैदल दूरीमा रहेको Nanglo Ghar, Hakata Eki बाट नजिकै रहेको, Bajeko Sekuwa House  I त्यसै गरि, Sakuradai Station बाट पैदल दूरीमा रहेको Four Season, अर्को छ, Takamiya Station बाट नजिकै रहेको Buddha रेस्टुरेन्ट र Nan House, अनि, नम्बर ९ मा, Higashihie Station बाट नजिकै पर्ने Namaste Hakata , र अन्तमा, Watanabe Dori Stationबाट पैदल दूरीमा पर्ने Ashok's Bar I यहाँ नाम छुटेका अरु पनि धेरै नेपाली  रेस्टुरेन्टहरु छन् फुकुओकामा!  विदेशमा नेपाली खानाको आनन्द लिनुहोस् अनि अवश्य पनि आफ्ना जापानी साथीहरुलाई पनि नेपाली खानाको स्वाद लिने मौका दिनुस् है! 

【फुकुओका सिटी होमपेज - Support for Foreigners】

कुनै पनि नयाँ सुचनाको बारेमा, विदेशीहरुलाई सहयोग पुर्याउने हेतुले बनाईएको फुकुओका सिटि होमपेजको साइट ‘Support for Foreigners’बाट पाउन सक्नुहुन्छ I हालै मात्र, भियतनामी र नेपाली भाषामा पनि हेर्न मिल्ने गरि राखिएको छI

तपाईंले खोज्नु हुँदा, key word मा, ‘Fukuoka Support for Foreigners’ राखी खोज्नुहोला I हजुर, ‘Fukuoka Support for Foreigners’, भनेर टाइप गरि अवश्य यो साइटमा जानुहोला, अनि महत्वपूर्ण जानकारीहरु प्राप्त गर्नुहोलाI

 

【जापान सरकारले १ लाख येनको राहत रकम बितरण गर्ने बारे (बिशेष निश्चित राहत रकम) सुचना】

जापान सरकारले १ लाख येनको राहत रकम बितरण गर्ने बारे; कुराहरु वा आवेदन फारम भर्ने आदि बारे बुझ्नु भएन भने, फुकुओका सिटीको होमपेज “Support for foreigners”मा हेर्नुहोला I यस अतिरिक्त, १ लाख येनको राहत रकम सम्बन्धि परामर्श लिन सकिने गरि फुकुओका सिटिको कल सेन्टरको ब्यावस्था गरिएको छI अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली गरि पाँच भाषाहरुमा हेर्न मिल्ने गरि राखिएको छI

फोन नम्बर ०९२-४०१-०८२६

होमपेज हेरेर नबुझिएमा, फोनबाट सम्पर्क गर्नुहोलाI

 

【रोजगारी वा पार्टटाइम काम खोज्नेहरूका लागि】

Fukuoka City Foreign Workers Corner ले, रोजगारीको लागि कामहरु खोज्नमा सहयोग गर्दै आईरहेको छI

विदेशी विद्यार्थीहरुले, Fukuoka International Student Support Center मा परामर्श लिनुहोस् I

अनुवाद र व्याख्या आदिको सबैको क्षमता प्रयोग गर्न सकिने रोजगारी वा पार्टटाइम काम खोज्नमा सहयोगगर्दै आईरहेको छI फोन नम्बर, ०९२-७२५—९२०१ मा सम्पर्क गर्नुहोस्|

यो फुकुओका शहरबाट जारी सूचना थियो।

2020.05.07[Thu] 09:00

अन्य(その他)

【आमाको मुख हेर्ने बारे】

आज हामी आमाको दिन अर्थात् मदर्स् डे को बारेमा केही कुरा  गरौँI  अब आउने आइतबार जापानमा, मदर्स् डे परेको छ I हरेक वर्ष, मे को दोस्रो आइतबार, जापानमा मदर्स् डे मनाईन्छ I जापानमा यो दिन, प्राय जसो, आमालाई रातो carnesia फुल दिने चलन छ I यस फूललाई आमाको स्वच्छ, करुणामय र सहनशीलताको प्रतिकको रुपमा लिइन्छ I यसैगरि, यस दिन आमालाई विभिन्न उपहारहरु दिने, चिठ्ठी लेखेर दिने वा बाहिर सँगै खान जाने चलन छ I

हामी नेपालीहरुको आमाको मुख हेर्ने दिन, गएको अप्रिल २३मा परेको थियो I तपाईंहरुले पनि त्यस दिन आफ्नो आमालाई फोन गर्नुभयो होला I विदेशमा भए पनि, आजकल भिडियो कलको सुबिधा भएकोले आमाको मुख हेरेर कुरा गर्न सजिलो, अनि रमाइलो भएको छ नि है I मैले पनि त्यस दिन, आमासँग भिडियो कलमा आमाको मुख हेरी रमाईलो कुराकानी गरें I अनि सधैं झैं, विशेष गरि आफू सानो छँदाको, आमासँग बिताएका ती पलहरु सम्झें I हामीहरु अहिले विदेशमा छौँ, लगनका साथ मिहिनेत गरि, आमालाई गौरवान्बित हुने राम्रो काम गरौँ I

【फुकुओका सिटि होमपेज- Support for Foreigners】

फुकुओका सिटिको आधिकारिक होमपेजमा, विदेशीहरुलाई सहयोग पुर्याउने हेतुले ‘Support for Foreigners’ साइट बनाईएको छ I तपाईंले खोज्नु हुँदा, key word मा, ‘Fukuoka Support for Foreigners’ राखी खोज्नुहोला I हजुर, ‘Fukuoka Support for Foreigners’, भनेर टाइप गरि अवश्य यो साइटमा जानुहोला, अनि महत्वपूर्ण जानकारीहरु प्राप्त गर्नुहोलाI

 

 【जीवनयापनखर्चमासमस्याभएकाहरूकोलागि】

Fukuoka City Council को Social Welfare ले  कोरोनाभाइरसको कारण, कामबाट निलम्बित वा बेरोजगारी भई आफ्नो जीवनयापन खर्चमा समस्या भएका व्यक्तिहरुलाई, विशेष ऋण सुबिधा सम्बन्धि परामर्श प्रदान गर्दछI

सम्पर्क फोन नम्बर ०९२-७९१-७२६६ , फेरि एकपटक फोन नम्बर, ०९२-७९१-७२६६ I

यो जानकारी,  फुकुओका सिटी होमपेजको  ‘Support for Foreigners’  साइटमा गएर पनि पाउन सकिन्छ।

 

【जापान सरकारले १ लाख येनको राहत रकम बितरण गर्ने बारे (बिशेष निश्चित राहत रकम)】

जापान सरकारले घरेलु खर्चमा मद्धत पुर्याउने हेतुले सबैजनालाई १ लाख येनको नगद दिने भएको छI

२०२० अप्रिल २७ सम्ममा जापानको Basic Resident Register मा दर्ता भएका विदेशीहरूले पनि आवेदन दिन सक्नेछन्।

बिस्तृत जानकारीहरू पछि फुकुओका शहरको होमपेजमा राखिनेछ।

यो फुकुओका शहरबाट जारी सूचना थियो।

 

1 2 3 4 5 6 next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ