ブログ

ポッドキャスト

ポッドキャスト RSS

2020.07.16[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【गर्मीको योजना】

आजकल गर्मी एकदम बढीरहेको छ ।  तपाईंहरु  यस वर्षको गर्मीमा के गर्ने सोच्दै हुनुहुन्छ होला?  तपाईंमध्ये कतिपयले वजन घटाउने भनेर योजना बनाउनु भएको होला वा गर्दै पनि हुनुहुन्छ होलाI अनि कतिपयले घरमै वेब सिरिज हेरेर रमाईलो समय बिताउने सोच्दै हुनुहुन्छ होला वा केही नयाँ परिकार बनाएर खाने, त्यस्तै नयाँ कुराको थालनी गर्ने आदि जस्ता योजना बनाउँदै हुनुहुन्छ होलाI मलाई त गर्मी महिना भने पछि नेपालको जनैपूर्णिमा र गाईजात्रामा क्वाटी र रोटिको खाएको याद आउँछI गर्मीको बेला गेडागुडीको टुसा राम्ररी आउने भएकोले, यहाँ जापानमा पनि म, क्वाटी र रोटि पकाएर खाने गर्छुI क्वाटी स्वादिलो मात्र नभई गर्मीमा थकित शरीरमा उर्जा ल्याउनुका साथै स्वास्थ्यमा धेरै फाईदा गर्दछI यो वर्ष पनि क्वाटी मज्जाले खाने र जापानी साथीहरुलाई पनि खुवाउने विचार छ I तपाईंहरु पनि खाने होइन त क्वाटी!

 

घुमघामको जानकारी

आज, मैले रमाईलो घुमघामको जानकारी लिएर आएकी छु।

 तपाईंहरुले कहिल्यै "फुकुओका ओपन टप बस" चड्नु भएको छ?

यो बस, फुकुओका शहरको पर्यटकिय स्थलहरू,  तेन्जिन क्षेत्र, हाकाता क्षेत्र र समुद्री किनारको क्षेत्र आदिको वरिपरि घुमाउने भ्रमण बस हो। सुविधाजनक यो बस, साधारण बस भन्दा भिन्न भई, छत बिनाको डबल डेकर बस हो। जमिन माथि करीव ३.२ मिटर बाट देखिने शहरको दृश्य सामान्य भन्दा फरक देखिन्छ, र यो उत्साहजनक हुन्छ! यसमा तीन किसिमको कोर्सहरू छन्, तपाईं आफूलाई  मनपर्ने कोर्समा एक घण्टाको लागि चढेर, फुकुओका शहरको अवलोकन गर्न सक्नुहुन्छ। साथै बसमा उद्घोषकले जानकारी पनि प्रदान गर्दछ।

 टिकट शुल्क, वयस्कहरूको लागि १,५७० येन र बच्चाहरूको लागि ७९० येन हो।

इच्छुक महानुभावहरुले कृपया आधिकारिक वेबसाइट हेर्नुहोस्।

वेबसाइट रहेको छ,  fukuokaopentopbus.jp

 नयाँ कोरोनाभाइरस विरुद्धको सावधानीका रूपमा, चालक दल र बस उद्घोषकहरूले मास्क लगाउने र गाडीलाई विसंक्रमण गर्ने जस्ता वातावरणीय सरसफाइलाई उचित ध्यान दिएर दुक्क र सुरक्षित सेवाहरू प्रदान गरिरहेको छI

यो बस चढ्दा, सबै जनाले मास्क लगाउने र खोक्दा शिष्टाचार का साथ गर्ने गरौं!

 

नयाँ कोरोना भाईरस सम्पर्क पत्ता लगाउने app को बारेमा

जापानले कोरोना भाईरस सम्पर्क पत्ता लगाउने app बनाएको छ। यदि तपाईं भाईरस संक्रमित व्यक्तिको सम्पर्कमा आउनु भयो भने, app मार्फत तपाईंलाई सूचित गराईनेछ। जति धेरैले यो app को प्रयोग गर्नुहुन्छ, त्यति नै संक्रमणलाई रोक्ने सम्भावना बढी हुन्छ। त्यसैले, आफू र आफ्नो नजिकका मानिसहरुको सुरक्षाका लागि, कृपया आफ्नो मोबाइलमा यो app राख्नु होला।

2020.07.09[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【फुर्सदको समयमा टहल्नु】

तपाईंहरु कत्तिको हिड्नुहुन्छ होला? जो लामो समयसम्म घरमा बस्नुहुन्छ, वा लामो समय उठ्ने वा बस्ने काम गर्नु हुन्छ, उहाँहरुले यदि हिड्ने गर्नु भएन भने, शरीरलाई नकारात्मक असर पर्दछI म चाहिँ, अफिस नजिक भएकोले हिडेर नै जान्छुI अनि खाली समयमा र बिदाको दिनमा पनि, जब मौसम राम्रो हुन्छ, तब साँझतिर, मलाई ओहोरी पार्कमा टहल्न धेरै मन पर्छI तपाईंहरु पनि समय निकालेर हिड्ने गर्नुहोस् I बरु, आजकल गर्मी बढिरहेको हुनाले, बाहिर जाँदा पानी पिउने गर्नुहोस्, मिल्छ भए बोकेर जाने गर्नुहोस् I अनि शरीरलाई अत्याधिक गर्मी हुनबाट जोगाउनुहोस्I

 

【फोहर फ्याँक्ने नियम सम्बन्धी】

फुकुओकाको फोहर फ्याँक्ने नियम सम्बन्धी सूचना रहेको छI

फुकुओकामा फोहरलाई तीन किसिममा विभाजन गरी फ्याँक्ने गरिन्छ।

जल्ने फोहर, खाली सिसाको बोतल/प्लास्टिकको बोतल, अनि नजल्ने फोहर गरी ३ किसिमका हुन्छन्I

कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहोर फाल्ने गर्नुहोस्!

जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला होI

कच्चा फोहोर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, यो रातो झोला प्रयोग गर्नुहोस्I

खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नको लागि, पहेंलो रंगको फोहर-फाल्ने-झोला हो।

अन्य फोहोर जस्तै खाली क्यान र गिलास जस्तालाई, नजल्ने फोहरको रुपमा, निलो फोहर-फाल्ने-झोलामा फाल्नु पर्दछI

बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ। 

जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १पटक संकलन हुन्छI

अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्नुहोस।

फुकुओका शहरको आधिकारिक LINE ID मा Friend add गरेर, तपाईंको ठेगाना राख्नु भयो भने, LINE बाट फोहोर फाल्ने दिनको बारेमा जानकारी उपलब्ध गराईन्छI

एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्I

ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गरेर  संकलन गराउन सक्नुहुन्छ।

कृपया शुल्क, फोहोर फाल्ने ठाउँ, मिति, इत्यादि जाँच गरेर फोहोर बाहिर राख्नुहोस्।

फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, ०९२-७३१-११५३ I

यदि तपाईंले जापानी भाषा बुझ्नुहुन्न भने, दोभाषेको लागि अनुरोध गर्न मिल्छI त्यसैले तपाईंलाई कुराकानी गर्न सजिलो भाषा कुन हो, भन्नुहोलाI

2020.07.02[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , नियम तथा आचरण(ルール・マナー)

【तानाबाता】

जापानमा जुलाईको ७ तारिख “तानाबाता” चाड मनाईन्छI यसलाई ताराको चाड पनि भनिन्छI लोककथाको अनुसार, हिकोबोसी र ओरिहिमे नामका केटाकेटी ताराहरु थिए र उनीहरुको मिलन, आमानोगावा नदि तरेर, बर्षको एक पटक, जुलाईको ७ तारिखमा मात्रै हुन पाउने भन्ने प्रेम कथामा आधारित चाड हो I भनिन्छ कि, यदि, तानाबातामा पानी पर्यो भने, दुई प्रेमीहरूले भेट्न अर्को वर्ष पर्खनुपर्दछ रे! यस दिन, जापानमा लामो अनि साँघुरो रङ्गिन कागजमा आफ्नो ईच्छा लेखेर, बाँसको रुखमा झुन्ड्याउने चलन छI तपाईंहरु पनि मौका मिल्यो भने, आफ्नो ईच्छा लेखेर हेर्नुस् है!

 

【प्लास्टिक झोलाका लागि शुल्क तिर्नु पर्ने बारेमा】

सुपरमार्केट वा कन्भिनियन्स स्टोरमा सामान किन्दा, अहिलेसम्म नि:शुल्कमा पाउँदै आउनुभएको प्लास्टिकको झोला, जुलाई १, २०२० बाट शुल्क तिर्नु पर्नेछI

त्यसैले प्लास्टिकको झोलाको सट्टा, आफ्नै झोला लिएर जाने गरौँ।

प्लास्टिक फोहोरलाई घटाएर, तपाईंले झोलामा पैसा बचत गर्न सक्नुहुन्छ।

पट्याएर कम्प्याक्ट गरि राख्न मिल्ने झोला भएमा, तपाईं यसलाई सँधै आफ्नो ब्यागमा राख्न सक्नुहुन्छ अनि अचानक शपिंग गर्नु पर्दा ढुक्क हुन्छ।

प्लास्टिकको झोला सुविधाजनक छ तर यसको व्यापक प्रयोगले गर्दा, समुद्री फोहोरको समस्या र ग्लोबल वार्मिंगको कारण भएको मानिन्छ।

सकेसम्म धेरै प्लास्टिक झोलाको फोहर कम गर्नका लागि तपाईंहरु सबैको सहयोग र साथको अनुरोध गर्दछौंI

साथसाथै, सामान्यतयाः पाउँदै आउनुभएको प्लास्टिकको झोला वास्तवमै चाहिने हो त भन्ने बारे सोची,  हामीहरुले जीवनशैलीलाई सच्याउँदै जाऔं।

 

【अत्याधिक गर्मीमा सावधानी सम्बन्धि जानकारी】

अत्याधिक गर्मीको बेला, गर्मीबढ्ने जस्ता गाह्रो ब्यायाम गरेमा शरीरले तापक्रम नियन्त्रण गर्न सक्दैन, अनि शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा हुन्छI

अत्याधिक गर्मीले गर्दा टाउको दुख्ने, चक्कर आउने, बान्ता हुने र झाडापखाला लाग्ने जस्ता लक्षणहरु देखा पर्न सक्छ | यस्तो बेलामा शरीरलाई  चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछI यदि यस्तो गर्दा नी ठिक नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुहोस्|

विशेष गरि यो जुलाईमा चर्को घामसँगै बढेको अत्याधिक गर्मीका कारण आपतकालीन वाहकहरु धेरै परिचालन गरिन्छ|

यस्तो अत्याधिक गर्मी र आर्द्रतालाई शरीरले सामान्य रुपमा लिन नसक्ने हुनाले कृपया सावधान हुनु होलाI

यो वर्ष हामीले कोरोनाभाइरसको संक्रमणलाई फैलिन नदिन घरमै धेरै समय बिताई रहेका छौंI

अत्याधिक गर्मीले घर बाहिर मात्र नभई, भित्र पनि उत्तिकै प्रभाव पर्दछI

गर्मीमा मास्क लगाउँदा अझ धेरै गर्मीको प्रभाब बढ्ने सम्भावना हुन्छ, कृपया सतर्क हुनुहोस्I

अब केही अत्याधिक गर्मीबाट बच्ने उपायहरु बताउन गईरहेकी छुI

निरन्तर पानी पिउँदै गर्नुहोस्I साधारणतयाः, एक दिनमा १.२ लिटर जति पानी पिउनुहोस्I

शरीरमा पानीको आपूर्तिको लागि आफ्नो दैनिकीमा चिया र पानीको सक्दो धेरै प्रयोग गरौंI

व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छI

यदि तपाईको धेरै पसिना निस्किरहेको छ भने, नुन र पानी पिएर शरीरमा पानीको मात्रा कायम राखौंI

कोठाको तापक्रम २८ डिग्री भन्दा बढी नबनाउनका लागि, air conditioner र फ्यान राम्रोसँग प्रयोग गर्ने गरौँI

 

2020.06.25[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

करुणा श्रेष्ठ

Asian-Pacific Children’s Convention (APCC) को Program Coordinator

https://www.apcc.gr.jp/

2020.06.18[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , समुदाय(コミュニティ) , नियम तथा आचरण(ルール・マナー) , प्राकृतिक प्रकोप(災害)

【बुबाको मुख हेर्ने बारे】

आज हामी बुबाको दिन अर्थात् फादर्स् डे को बारेमा केही कुरा  गरौँI  अब आउने आइतबार जापानमा, फादर्स् डे परेको छ I हरेक वर्ष, जुनको तेश्रो आइतबार, जापानमा फादर्स् डे मनाईन्छ I जापानमा यो दिन, प्राय जसो, बुबालाई जापानी रक्सी, राम्रो ब्रान्डको खानेकुरा र मिठाईहरु दिने चलन छ I यसैगरि, यस दिन बुबालाई धन्यवाद ज्ञापन चिठ्ठी लेखेर दिने वा बाहिर सँगै खान जाने चलन पनि रहेको छ I हामी नेपालीहरुको बुबाको मुख हेर्ने दिन तिथि अनुसार यो वर्ष भाद्रको ३ गते अर्थात् अगस्तको १९ मा परेको छI

 

【विपद् सम्बन्धि】

जापानमा जूनदेखि जुलाईसम्मलाई  "वर्षा ऋतु" भनिन्छ र यस बखत भारी वर्षा हुने गर्दछI

जसका कारण प्रकोपहरू हुने सम्भावना हुन्छ।

जुलाई २०१७ मा, फुकुओका प्रान्तमा पनि भारी वर्षाले धेरै क्षति पुर्याएको थियोI

अधिक वर्षा हुँदा, नदी, तट वा पहाड नजिकको चट्टानहरू जस्ता खतरनाक ठाउँहरू नजिक नजानुहोस् र आफ्नो जीवन रक्षाको लागि कदम चाल्नुहोस्I

यस अतिरिक्त, फुकुओका सिटिको होमपेजमा Hazard map र विपद् रोकथाम सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छI

‘Fukuoka Support for Foreigners’ को साइटमा गएर, Fukuoka City Support for Foreigners को पेजबाट विपद् रोकथाम सम्बन्धि जानकारीहरु हेर्न सक्नुहुन्छI

आफू बस्ने क्षेत्रमा हुन सक्ने सम्भावित खतरा र आश्रय स्थलमा जाने सुरक्षित तरिका आदिको बारेमा अग्रिम जानकारी राख्ने गरौँI

फुकुओका शहरको महत्वपूर्ण जानकारीहरु, फुकुओका सिटिको आधिकारिक Facebook ‘Global Community Fukuoka’ वा Fukuoka City International Foundation को Facebook ‘फुकुओका शी कोकुसाई खाईखान्/ आत्ताखा फुकुओका「福岡市国際会館/あったか福岡」बाट पनि प्राप्त गर्न सक्नुहुन्छI

पेजलाई follow गरेर, सामान्यदेखि महत्वपूर्ण जानकारीहरु लिनु होलाI

त्यस्तै, फुकुओका शहरमा छाताको Sharing service ‘आइकासा’「アイカサ」को शुरु गरिएको छI

तपाईंले सजिलै र सस्तोमा आफ्नो स्मार्टफोनको लाइनबाट छाता भाँडामा लिन सक्नुहुन्छ।

सबवे स्टेशन र डिपार्टमेन्ट स्टोरहरूमा छाताहरू राखिएको हुनाले, अचानक वर्षा हुँदा आदि जस्तोमा कृपया

प्रयोग गरेर हेर्नुहोस्I

बिस्तृत जानकारी ‘आइकासा फुकुओकाश शी’ 「アイカサ 福岡市」मा हेर्नुहोलाI

 

【फुकुओका शहरबाट राष्ट्रिय स्वास्थ्य बीमा सम्बन्धि सूचना】

जापानमा, सबैको स्वास्थ्य बीमा भएको हुनुपर्दछ। तपाईंहरुले पनि बीमा सदस्यता लिनु भएको हुनुपर्छ। स्वास्थ्य बीमाको शुल्क तिर्नाले, यदि तपाई घाइते वा रोगका कारण अस्पताल जानुभयो भने, कम पैसा लाग्छ।

स्वास्थ्य बीमा ३ प्रकारका छन्, तर आज, राष्ट्रिय स्वास्थ्य बीमामा प्रवेश भएकाहरुका लागि सुचना रहेको छI

बीमा शुल्क प्रत्येक वर्ष जूनमा निर्णय हुन्छ। जूनको बीचतिर बीमा शुल्कको लिखित सूचना पठाइनेछ।

बीमा शुल्क जाँच गरेर, र समयभित्र शुल्क तिनुहोस्।

बीमा शुल्क,  अघिल्लो वर्षको आयमा आधारित हुन्छ।

नयाँ कोरोनाभाइरसको प्रभावका कारण आयमा कमी भएका परिवारहरूका लागि, कर शुल्क घटाउन सकिने भएकोले, कृपया वार्ड अफिसमा परामर्श लिनुहोस्।

त्यस्तै, राष्ट्रिय स्वास्थ्य बीमामा प्रवेश भएकाहरुमध्ये, अघिल्लो वर्षको आम्दानी थाहा नभएका परिवारहरूलाई ‘राष्ट्रिय स्वास्थ्य बीमा आय रिपोर्ट’ पठाईएको छI

यदि तपाईंले अहिलेसम्म बुझाउनु भएको छैन भने, कृपया आवश्यक जानकारीका साथ फिर्ता पठाउनुहोस् वा वार्ड अफिस वा शाखा कार्यालयमा पेश गर्नुहोस्।

यदि तपाईंले केही कुरा बुझ्नुभएन भने, १८ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ।

फोन नम्बर, ०९२-७५३-६११३, फेरि एकपटक, ०९२-७५३-६११३

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

त्यसपछि,  आफू बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

2020.06.11[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【नेपालमा आजकल चलिरहेको कुरा】

आजकल नेपालमा, लकडाउनको समय उपयोग गर्दै, प्रायःजसोले Youtube मा हेरेर; नयाँ नयाँ परिकारहरु पकाउने, social media जस्तै कि Facebook , Instagram , Tiktok मा फोटो र भिडियो share गर्ने चलन धेरै बढि रहेको छI हुन पनि, २ महिनाभन्दा बेसीको यो घर बसाईमा, परिवारका सबैजना मिलिजुली नयाँ परिकारहरु पकाउने र खाने नै, एक किसिमको रमाईलो नै हो जस्तो लाग्छ मलाईI मेरो त नेपालमा बस्नु हुने परिवार, साथीहरु यस्तै गरि दिन बिताईरहेका छन्! शायद तपाईंहरुको परिवारजन तथा साथीहरु पनि यसरी नै दिन बिताईरहनु भएको होला नि है!

 

बाल भत्ताको वर्तमान स्थिति प्रतिवेदन सम्बन्धि

यो फुकुओका शहरबाट जारी सूचना होI

जुनियर हाईस्कूलसम्मका बच्चाहरुलाई हुर्काउँदै गरेको व्यक्तिहरुलाई बाल भत्ता प्रदान गरिंदै आइरहेको छI

भत्ता रकम तपाईंको आम्दानी र बच्चाको उमेर अनुसार ५,००० देखि १५,००० येन होI

४ महिनाको एकमुष्ठ रकम; जून, अक्टोबर र फेब्रुअरी महिनाहरूमा भुक्तानी गरिनेछI

बाल भत्ता प्राप्त गर्नको लागि तपाईंले हरेक वर्ष वर्तमान स्थिति प्रतिवेदन (गेन्क्योउ तोदोके) बुझाउनु पर्नेछI

जुन महिनाको शुरुतिर, फुकुओका शहरबाट सम्बन्धित व्यक्तिलाई वर्तमान स्थिति प्रतिवेदनको कागजपत्र पठाईएको छI

कृपया आवश्यक जानकारीहरु भरेर, जुनको ३० तारिखभित्र पुग्ने गरी हुलाक मार्फत पठाउनु होला|

यदि तपाईंले यो रिपोर्ट बुझाउनु भएन वा पूर्ण विवरण पेश गर्नु भएन भने, तपाईंले यो भत्ता पाउनुहुन्नI त्यसैले कृपया ध्यान दिनुहोला I

यदि तपाईंसँग केहि प्रश्नहरू छन् भने, कृपया, वार्ड अफिसको परामर्श सेवामा सम्पर्क राख्नुहोस्।

१८ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ। फोन नम्बर, ०९२-७५३-६११३,

फेरि एकपटक, ०९२-७५३-६११३

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

त्यसपछि,  तपाईं बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

 

साईकल चलाउने नियम सम्बन्धी

गत वर्ष फुकुओका शहरमा १,७७० साइकल दुर्घटना र १ जनाको मृत्यु पनि भएको थियो।

त्यसैले साइकलको नियम र आचरणको पालना गर्न अत्यन्त आवश्यक छ।

अब म, जापानमा साइकल चलाउदा ध्यान दिनुपर्ने, मुख्य नियमहरुको बारेमा बताउन गईरहेकी छु।

जापानमा सैद्धान्तिक रूपमा साइकल, मोटर-बाटोको बायाँ पट्टिबाट चलाउनु पर्छI

सडक-पेटीमा पैदल यात्रीलाई प्राथमिकता दिनुपर्छ। सडक-पेटीबाट चलाउँदा मोटर-बाटो पट्टिको साइड भएर बिस्तारै चलाउनुपर्छ। 

राति नबिर्सिकन लाइट बाल्नुपर्छ।

साइकल सडकमा राखिएको पाईएमा, हटाइने हुनाले, साइकल पार्किंग स्थलमा पार्क गर्नुपर्छ।

अनि, समानान्तर रूपमा सँगसँगै साईकल चलाउन निषेध छ।

यस अतिरिक्त, फुकुओका शहरले Share Cycle Service अर्थात् Charichari (च्यारीच्यारी) पनि शुरु गरेको छI

अहिले साइकल पोर्टहरु, शहरभित्र २५० भन्दा बढी छ, र पोर्टको संख्यामा लगातार वृद्धि गर्ने योजना रहेको छI

Charichari को app प्रयोग गरी साइकल भाँडामा लिनुहोस् र प्रयोग गरिसकेपछि, गन्तव्यको नजिकको पोर्टमा फिर्ता गर्नुहोस्I

शुल्क, प्रति मिनेट ४ येन हो I शुल्क, कन्भिनी वा क्रेडिटबाट तिर्न सक्नुहुन्छ।

जस्तै कि, यदि तपाईं १० मिनेटमा तेन्जिनबाट हाकाता स्टेशनमा पुग्नुभयो भने, तपाईंले ४० येनमा साइकल प्रयोग गर्न सक्नुहुनेछ।

नहिच्किचाईकन यसको प्रयोग गरेर हेर्नुहोस्I

 

 

 

 

2020.06.04[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【हालसालै पकाएको नेपाली परिकार】

मलाई लाग्छ, कोरोना भाईरसको कारणले गर्दा तपाईहरुमध्ये धेरैको समय घरमै बितिरहेको छ होला।आजकल म पनि, शनिबार र आईतबार बिदाका दिनहरूमा घरमै बसेर नेपाली परिकार पकाएर रमाइलो गर्ने गरिरहेकी छु। गएको शनिबार मात्रै घरमै मः मः बनाएर खाएँ। अनि आईतबार नेवारी खाना; चतामारी, बारा र आलुतामाको मज्जा लिएँ। तपाईहरुले पनि आफ्नै घरमा नेपाली परिकार बनाएर खाँदै हुनुहुन्छ होला। यसरी नै विदेशमा नेपाली स्वादको आनन्द लिंदै, राम्रोसँग बस्नुहोस है!

 

【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचनाहरु】

“कोरोना सम्बन्धि”

फुकुओका शहरबाट, सबै बासिन्दाहरुलाई कोरोना युगको नयाँ जिवनशैली अपनाउनका लागि अनुरोध गरेको छ।

जस्तै कि,

  • तीनवटा मुख्य कुराहरुबाट बच्ने अर्थात्,  हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, अनि कुराकानी गर्दा दूरी बनाउने।
  • त्यस्तै, बस्दा २मिटरको दूरी बनाउने
  • बाहिर गएको बेला कुरा गर्दा  मास्क लगाउने
  • घरमा फर्कंदा हातमुख धुने

आदि कुराहरुलाई व्यवहारमा ल्याउन अनुरोध गरेको छ।

साथै, नयाँ जीवन शैलीको रुपमा,

  • सक्दो अनलाईन शपिंग गर्ने र बजारमा किनमेल गर्दा पनि इलेक्ट्रोनिक पेमेन्ट गर्ने
  • खानाको लागि पनि, Takeout वा डेलिभरीबाट मगाउने
  • अनि, बस्दा खेरि, दायाँबायाँतिर बस्ने

जस्ता कुराहरुमा ध्यान दिन अनुरोध गरेको छ।

विशेष गरि, नयाँ जीवन शैलीको आधारभूत ब्यवहारको रुपमा, सबवेको प्रयोग गर्दा, मास्क अवश्य लगाउनु नै होला।

फुकुओका प्रान्तमा, आफ्नो जागिर गुमाएका विद्यार्थी तथा विदेशी विद्यार्थीहरुका लागि, तुरुन्तै, छोटो अवधिको लागि रोजगारको सृजना गर्ने हेतुले, कार्यहरु अघि बढाउने निर्णय भएको छ।

त्यस्तै, जापान सरकारले, आरुबाईतो गरिरहेका विद्यार्थीहरुको आयमा उल्लेखनीय कमी आएको र तोकिएको मापदण्डहरु पूरा भएको अवस्थामा, अनुदान रकम प्रदान गर्ने निर्णय गरेको छ।

बिस्तृत जानकारी, फुकुओका सिटिको होमपेजमा राखिएको छ।

“विशेष तथा निश्चित अनुदान रकम” सम्बन्धि नयाँ जानकारीका लागि ‘Fukuoka Support for Foreigners’को साइटमा हर्नुहोला।

 

“हलुका सवारी साधन कर सम्बन्धि”

मोटरबाईक वा हलुका कार भएकाहरुले, अप्रिल १ मा हलुका सवारी साधन कर तिर्नु जरुरी छ।

यदि तपाईंसँग मोटरबाईक वा हलुका कार छ भने, मे ५ तिर, हुलाक मार्फत कर तिर्नका लागि सूचना आउन सक्दछ। तिर्न बाँकी व्यक्तिहरुले शिघ्र कोन्भिनी वा बैंक मार्फत तिर्नुहोला।

यसका अतिरिक्त, जनवरी १ देखि फुकुओकामा बस्दै आउनुभएको व्यक्तिको, यदि अघिल्लो वर्षको आय १०लाख नाघेको भए, फुकुओका प्रान्तको कर तिर्नु पर्ने हुन सक्दछ।

कम्पनिमा काम गर्नेहरुको तलबबाट कटाईन्छ भने कम्पनिमा काम नगर्नेहरुलाई कर तिर्न, जुन १५ तिर सूचना आउन सक्दछ। शिघ्र कोन्भिनी वा बैंक मार्फत तिर्नुहोला।

यदि तपाईंले मोटरबाईक आदिको शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले कब्जा गर्ने सम्भावना पनि छ।

यदि तपाईंलाई कोरोना भाईरसको असरले गर्दा, शहरी कर तिर्नमा समस्या परिरहेको छ भने, कृपया, वार्ड अफिसको परामर्श सेवामा सम्पर्क राख्नुहोस्।

१८ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ। फोन नम्बर, ०९२-७५३-६११३,

फेरि एकपटक, ०९२-७५३-६११३

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

त्यसपछि,  तपाईं बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

यो फुकुओका शहरबाट जारी सूचना थियो।

2020.05.28[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【COVID-१९ आपतकालीन समयको अनुभव】
नोबल कोरोना भाईरसको असर तपाईंको दैनिक जीवनमा पक्कै पनि पर्यो नै होलाI फुकुओकामा आपतकालीन घोषणा भएपछि कतिपय घरमै बस्नु भयो होलाI अनि कतिपयले घरबाटै काम पनि गर्नु भयो होलाI मेरो चाहिँ अफिस पहिले जस्तै निरन्तर नै भयोI अफिसका सबै सहकर्मीहरु आ-आफ्नो सवारी प्रयोग गरेर आउने भएकोले अफिस सामान्य रुपमा नै चल्योI बरु, अफिसमा हरेक दिन, ज्वरो नापी लेख्नु पर्ने, मास्क लगाउनु पर्ने, बाहिरबाट आएपछि हात धुने वा sanitizerले हात पुछ्नुपर्ने अनि मिटिंगहरु भिडियो अनलाइनमा गर्ने जस्ता सावधानीहरु अपनाईयोI
मलाई लाग्छ, जो स्टे होममा बस्नु भयो, केही आराम तथा मनोरञ्जन पक्कै पनि भयो नै होलाI
अहिले आपतकालीन घोषणा हटाईए पनि सकेसम्म हुलमुल हुने ठाउँमा नजाऔं अनि सम्पर्कमा आउँदा दूरी बनाएर कुराकानी गर्ने गरौँI

 

【जापान सरकारले १ लाख येनको अनुदान रकम बितरण गर्ने बारे (विशेष तथा निश्चित अनुदान रकम)】
जापान सरकारले घरेलु खर्चमा मद्धत पुर्याउने हेतुले सबैजनालाई १ लाख येन दिने भएको छI
२०२० अप्रिल २७ सम्ममा जापानको आधारभूत बसोबास दर्ता पुस्तिकामा दर्ता भएका विदेशी नागरिकहरुले पनि आवेदन दिन सक्नुहुन्छ।

फकुओकाका बासिन्दाहरुलाई, अनुदान रकमको लागि आवेदन फारम मे १५ देखि बितरण भईरहेको छI
यदि तपाईंलाई आवेदन फारम भर्नमा कठिनाई वा केही परामर्शको आवश्यक्ता परेमा, हामीलाई फोन गर्नुहोस्I तपाईंले अंग्रेजी, चाइनिज, कोरियाली, भिएतनामी र नेपाली भाषामा परामर्श पाउन सक्नुहुन्छI
फोन नम्बर रहेको छ, ०९२-४०१-०८२६ I फेरि एकपटक फोन नम्बर, ०९२-४०१-०८२६ I

LOVE FM मा अनुदान रकमको बारेमा जानकारी दिने ५ मिनेटको कार्यक्रमको बारेमा
Life in Fukuoka को विशेष एपिसोडमा ५ मिनेटमा बुझ्न सजिलो हुने गरि, ‘विशेष तथा निश्चित अनुदान रकम’ सम्बन्धि जानकारी दिने कार्यक्रम, हाल LOVE FM प्रसारण भईरहेको छI
नेपाली भाषामा हरेक हप्ताको विहिबार दिउँसो १:५३ मिनेटबाट सुन्न सक्नुहुन्छI
LOVE FM को होमपेजबाट podcast मा गएर तपाईको मिल्ने समयमा सुन्न सक्नुहुन्छI
अवश्य होमपेज हेर्नुहोलाI

यस अतिरिक्त, फुकुओका सिटि होमपेजको साइट ‘Support for Foreigners’ बाट पनि, फुकुओकामा जीवनयापनका लागि आवश्यक जानकारी वा कोरोना भाईरस सम्बन्धि जानकारीहरु प्रदान गर्दै आईरहेको छI अवश्य पनि यो साइटमा जानुहोला, अनि महत्वपूर्ण जानकारीहरु प्राप्त गर्नुहोलाI

 

【कपडाको मास्क वितरणको बारेमा】
जापान सरकारबाट कपडाको मास्क वितरण, फुकुओका शहरमा मे १२ देखि शुरु भयोI
एउटा परिवारलाई २ वटा मास्क वितरण गरिन्छI यो कपडाको मास्क धोएर जति पटक पनि प्रयोग गर्न सकिन्छI
धुँदा, लुगा धुने डिटर्जन्टले बिस्तारै धोएर छायाँमा प्राकृतिक तरिकाले सुकाउनुहोस्I

 

【मास्क र सवारीको बारेमा】
फुकुओका प्रान्तमा आपतकालीन घोषणा हटाईएकोले, सार्वजनिक यातायात प्रयोग गर्ने व्यक्तिहरुको संख्या बढेको हुनुपर्छI त्यसकारण, फुकुओका शहरबाट सबैलाई अनुरोध छI
फुकुओका सिटि सबवे वा फुकुओका सिटि चार्टर जहाज प्रयोग गर्दा, ३ मुख्य कुराहरुबाट बच्न, नबिर्सिकन मास्क लगाउनुहोस्I आपतकालमा बाहेक, अरु बेलामा पनि सबवे ट्रेन वा जहाजमा कुराकानी नगर्नुहोस् र त्यस्तै, मिल्छ भए घरमै बसेर काम गर्नुस् वा फरक समयमा काममा जाने गरि भींडभाड हुन नदिनमा सहयोग गर्नुहोस् I

 

2020.05.21[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

आजको अन्तर्वार्तामा पाहुना

सुबास बज्राचार्य

Yonefu International Group Co., Ltd. को CEO (http://yonefu.com/hp/index-en.html)

2020.05.14[Thu] 09:00

रोजगार तथा उद्यमशीलता(就業・起業) , अन्य(その他)

【फुकुओका शहरमा खान सकिने नेपाली खाना】

आज म fukuoka मा नेपाली खाना सम्बन्धि केही जानकारीहरु लिएर आएकी छुI विदेशमा बस्दा, नेपाली खानालाई नसम्झने कोहि हुनुहुन्न होला जस्तो लाग्छ मलाईI तपाईंहरुमध्ये धेरैजसोले घरमै खाना पकाउनुहुन्छ होलाI प्रायःले नेपाली मसला, गेडागुडी वा फुकुओकामा नपाइने वा पाए पनि हाम्रोमा नेपालमा जस्तो स्वाद नहुने खानाहरु, नेपालबाट ल्याएर राख्नुभएको होलाI अनि घरमै नेपाली खानाको आनन्द लिंदै हुनुहुन्छ होलाI

फुर्सदमा, रमाईलोको लागि वा बेफुर्सदमा पेट पूजाको लागि तपाईहरु fukuoka मा रहेको विभिन्न नेपाली रेस्टुरेन्टमा पक्कै छिर्नु भएकै होलाI कहिलेकाहिँ, नयाँ ठाउँहरुमा गएर नेपाली खानाको स्वाद लिने सोची राख्नु भएको छ भने आज म यहाँ केही नेपाली रेस्टुरेन्टहरुको लिस्ट लिएर आएकी छुI यो लिस्ट Rettyको websiteमा राखिएको पोस्ट “फुकुओकाको २० वटा लोकप्रिय नेपाली रेस्टुरेन्ट” बाट साभार गरिएको छI

यसभित्र परेका, फुकुओका सिटिमा भएका १० वटा नेपाली रेस्टुरेन्टहरुको नाम आजको कार्यक्रममा तपाईहरु संग share गर्न लागि रहेकी छु | क्रमबद्ध नाम लिंदा, Ohasi स्टेशनबाट नजिकै रहेको मगर रेस्टुरेन्ट, Hakataको Gion स्टेशनबाट नजिकै रहेको श्री गणेश, त्यस्तै, Yakuin Odori स्टेशन बाट नजिकै रहेको नेपारू र्योरी तो जाख्खा माइतीघर  रेस्टुरेन्ट, Yoshizuka स्टेशनबाट पैदल दूरीमा रहेको Nanglo Ghar, Hakata Eki बाट नजिकै रहेको, Bajeko Sekuwa House  I त्यसै गरि, Sakuradai Station बाट पैदल दूरीमा रहेको Four Season, अर्को छ, Takamiya Station बाट नजिकै रहेको Buddha रेस्टुरेन्ट र Nan House, अनि, नम्बर ९ मा, Higashihie Station बाट नजिकै पर्ने Namaste Hakata , र अन्तमा, Watanabe Dori Stationबाट पैदल दूरीमा पर्ने Ashok's Bar I यहाँ नाम छुटेका अरु पनि धेरै नेपाली  रेस्टुरेन्टहरु छन् फुकुओकामा!  विदेशमा नेपाली खानाको आनन्द लिनुहोस् अनि अवश्य पनि आफ्ना जापानी साथीहरुलाई पनि नेपाली खानाको स्वाद लिने मौका दिनुस् है! 

【फुकुओका सिटी होमपेज - Support for Foreigners】

कुनै पनि नयाँ सुचनाको बारेमा, विदेशीहरुलाई सहयोग पुर्याउने हेतुले बनाईएको फुकुओका सिटि होमपेजको साइट ‘Support for Foreigners’बाट पाउन सक्नुहुन्छ I हालै मात्र, भियतनामी र नेपाली भाषामा पनि हेर्न मिल्ने गरि राखिएको छI

तपाईंले खोज्नु हुँदा, key word मा, ‘Fukuoka Support for Foreigners’ राखी खोज्नुहोला I हजुर, ‘Fukuoka Support for Foreigners’, भनेर टाइप गरि अवश्य यो साइटमा जानुहोला, अनि महत्वपूर्ण जानकारीहरु प्राप्त गर्नुहोलाI

 

【जापान सरकारले १ लाख येनको राहत रकम बितरण गर्ने बारे (बिशेष निश्चित राहत रकम) सुचना】

जापान सरकारले १ लाख येनको राहत रकम बितरण गर्ने बारे; कुराहरु वा आवेदन फारम भर्ने आदि बारे बुझ्नु भएन भने, फुकुओका सिटीको होमपेज “Support for foreigners”मा हेर्नुहोला I यस अतिरिक्त, १ लाख येनको राहत रकम सम्बन्धि परामर्श लिन सकिने गरि फुकुओका सिटिको कल सेन्टरको ब्यावस्था गरिएको छI अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली गरि पाँच भाषाहरुमा हेर्न मिल्ने गरि राखिएको छI

फोन नम्बर ०९२-४०१-०८२६

होमपेज हेरेर नबुझिएमा, फोनबाट सम्पर्क गर्नुहोलाI

 

【रोजगारी वा पार्टटाइम काम खोज्नेहरूका लागि】

Fukuoka City Foreign Workers Corner ले, रोजगारीको लागि कामहरु खोज्नमा सहयोग गर्दै आईरहेको छI

विदेशी विद्यार्थीहरुले, Fukuoka International Student Support Center मा परामर्श लिनुहोस् I

अनुवाद र व्याख्या आदिको सबैको क्षमता प्रयोग गर्न सकिने रोजगारी वा पार्टटाइम काम खोज्नमा सहयोगगर्दै आईरहेको छI फोन नम्बर, ०९२-७२५—९२०१ मा सम्पर्क गर्नुहोस्|

यो फुकुओका शहरबाट जारी सूचना थियो।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ