ブログ

ポッドキャスト

ポッドキャスト RSS

2022.11.17[Thu] 09:00

अन्य(その他)

【मौसमी तरकारी・हाकुसाई अर्थात् चाइनिज बन्दा】

जाडो बढेर आयो कि खान मन पर्ने खानाहरुमध्ये एक हो, नाबे अर्थात् Hot pot खाना। अनि नाबे खानामा हाल्ने सामग्रीहरुमा नभई नहुने, हाकुसाई अर्थात् चाइनिज बन्दा। हाकुसाईको मौसम अक्टोबरदेखि नोभेम्बरतिर हो भने हिउँद लाग्यो कि यसको पिक मौसम शुरु हुन्छ। वर्षको यस समयमा हाकुसाई नरम र अधिक स्वादिलो हुन्छ। नाबे वा उमालेर पकाउने मात्र नभई यो सलादमा पनि स्वादिष्ट हुन्छ।

के हाकुसाई पौष्टिक छ त? भन्ने कसै-कसैलाई लाग्न सक्छ, तर वास्तबमा यसमा धेरै पोटासियम हुन्छ। पोटासियमले शरीरबाट नुन निकाल्ने काम गर्छ, त्यसैले यसले उच्च रक्तचाप हुनबाट जोगाउँछ।

साथै, यसमा भिटामिन सी पनि हुने भएकोले चिसो लाग्नबाट जोगाउन पनि हाकुसाई खान सल्लाह दिइन्छ।

आफ्ना साथीभाई तथा परिवारसँग खान पनि सक्नुहुन्छ, एक जनाको लागि पुग्ने नाबे सुप पनि सुपथ मुल्यमा बजारमा किन्न पाईन्छ।

बनाउन समय नभएका वा जागर नभएकाहरूका लागि, तताए मात्र पुग्ने सरल नाबे खाना पनि किन्न पाईन्छ।

धेरै सामाग्रीहरु हालेर पकाएको नाबे खानाले, तनमनलाई न्यानो पारि दिन्छ।

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

कानूनी परामर्शको परिचय

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि, हरेक महिना दुई पटक निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट हो।

बुकिंगको आधारमा फुकुओका बार एसोसिएसनको प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।

भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।

 

 

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईंले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।

परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० बजेसम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

जुनसुकै परामर्श पनि गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन सेवा नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार ९:०० बजेदेखि १८:०० बजेसम्म कल स्वीकार गरिन्छ।

2022.11.10[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【Beaujolais Nouveau】

Beaujolais Nouveau भन्नाले दक्षिणी फ्रान्सको Burgundy को Beaujolais क्षेत्रमा, त्यहि वर्षमा फसल Gamay अंगूरबाट बनेको वाईन् हो। Beaujolais Nouveau, त्यस क्षेत्रको शरद ऋतुको फसलप्रति कृतज्ञता दर्शाउने महोत्सवको रुपमा शुरु भएको भनिन्छ।

Beaujolais Nouveau हरेक वर्ष नोभेम्बरको तेस्रो बिहीबार मध्यरात बाह्र बजे रिलीज हुन्छ।

यस वर्ष २०२२ नोभेम्बर १७ बिहीबार परेको छ। साथै, जापानमा, समय अन्तरको कारणले गर्दा, वास्तविक फ्रान्सभन्दा ८ घण्टा अगाडी नै यसको मजा लिन सक्नुहुन्छ।

Beaujolais Nouveau वाईन्को साथ, चीज वा गोलभेडाको सस प्रयोग गरि बनाईएको पास्ता आदिसँग जम्छ नै, साथै जापानमा सामान्य रुपमा पाइने मासु र आलु, सस स्वादको याकिटोरी जस्ता गुलियो-नुनिलो स्वादसँग पनि यो वाईन् जम्छ।

फसल मनाउने यस वार्षिक कार्यक्रममा, शरद ऋतुको स्वादसँगै मनोरञ्जन लिएर हेर्दा कसो होला?

 

 

【फुकुओका शहरको सूचना】

「Fukuoka Prize The Arts and Culture Prize Shahzia Sikander को कला प्रदर्शनी」 को परिचय 

फुकुओका शहरले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्‍याउने व्यक्तिहरुलाई Fukuoka Prize ले सम्मान गर्दै आईरहेको छ। ३२औँ पटकको यस वर्षको The Arts and Culture Prize को विजेतामा, अन्तर्राष्ट्रिय रूपमा सक्रिय र ख्यातिप्राप्त पाकिस्तानी कलाकार शाहजिया सिकन्दर (Shahzia Sikander) परेकी थिईन् ।

 

पुरस्कारको सम्झनामा, Fukuoka Asian Art Museum र भूतपूर्व माइजुरु जुनियर हाई स्कूलको साइटमा रहेको Artist Cafe Fukuoka को ग्यालरीमा शाहजिया सिकन्दरको सृजनाहरु प्रदर्शनीमा राखिएका छन्।

उहाँको सृजनाहरु, परम्परागत लघु चित्रकलाको संसारमा, नवीनतम डिजिटल प्रविधिको पूर्ण प्रयोग गरी, शानदार कार्यहरुले भरिपूर्ण छन्।

प्रदर्शनी नोभेम्बर २७ सम्म छ र नि: शुल्क हेर्न सक्नु हुन्छ।

यस अवसरमा पक्कै पनि हेर्न जानुहोला।

प्रदर्शनमा राखिएका सिर्जनात्मक कामहरूबारे थप जानकारीको लागि, " Fukuoka Prize" भनि खोजेर, Fukuoka Prize को आधिकारिक होमपेजमा गएर News & Topics को पृष्ठमा हेर्नुहोला।

https://fukuoka-prize.org/en/

 

 

「Mongolian National Matouqin Symphony Orchestra Hakataza Theater Performance Mongolian Wind 2022」 को परिचय 

मङ्गोलिया र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा, डिसेम्बर १३, हाकाताजा थिएटरमा " Mongolian National Matouqin Symphony Orchestra Hakataza Theater Performance Mongolian Wind 2022" आयोजना हुन गईरहेको छ।

यो प्रदर्शनी, भिडियो र फिरन्ते जीवन बिताउने मङ्गोलियन समुदायको परम्परागत अस्थायी तथा सार्न मिल्ने घर, Ger आदि समावेश प्रदर्शन र संगीतको मिश्रण गरि, दर्शकहरूमा मंगोलियन संसारको अनुभव गराउने, Matouqin concert हो।

यस अवसरमा समय मिलेमा अवश्य पनि हेर्न जानुहोला।

 

प्रदर्शनीमा सहभागीताको लागि शुल्क लाग्नेछ। अहिले टिकटको बिक्री भईरहेको छ।

थप जानकारीको लागि, कृपया हाकाताजाको वेबसाइटमा हेर्नुहोला वा हाकाताजा बुकिंग सेन्टरको फोन नम्बर ०९२-२६३-५५५५ मा सम्पर्क गर्नुहोला।

 https://www.hakataza.co.jp/lineup/202212/mongoru/index.php

2022.11.03[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【बदलिँदो मौसमप्रति ध्यान दिऔं】

यो वर्षको नोभेम्बर लागि नै सकेको छ, बिस्तारै जाडो पनि नजिकिंदै छ। मौसमको परिवर्तनको बिन्दु मानिने नोभेम्बर महिना, तुलनात्मक रूपमा जीवनयापन गर्न सजिलो मौसम भए पनि, बिरामी हुने सम्भावना बढी हुने समय पनि हो।

मौसमको यस चरम परिवर्तन समयमा, दिन र रातको तापक्रममा धेरै अन्तर हुन्छ। यस किसिमको वातावरणमा शरीरको तापक्रम वा पसिना आउने आदि जस्ता राम्रोसँग समायोजन हुन नसकेर, स्नायु सन्तुलन बिग्रन सक्छ। फलस्वरूप, टाउको दुख्ने, निद्रा नलाग्ने, काँध कडा हुने, छाला फुस्रो हुने, थकान लाग्ने जस्ता लक्षणहरु देखा पर्छन्। त्यसैले, वर्षभरिमा सबैभन्दा काँध कडा हुने वा दुख्ने समय पनि भन्ने गरिन्छ।

यस किसिमको मौसमी परिवर्तनमा स्वस्थ्य तरिकाले बाँच्नका लागि हरेक दिन नियमित जीवन बिताउने, सन्तुलित आहार खाने, पर्याप्त सुत्ने, रक्तसञ्चार प्रवर्द्धनका लागि नुहाउने र सङ्गीत सुन्दै आराम गर्ने आदि, सामान्य भन्दा बढी आफ्नो शरीरको ख्याल राखेर जीवनयापन गरौं।

थप रूपमा, तापक्रममा गिरावट र सुख्खा हावा जस्ता समस्याहरू देखा पर्ने यस समयमा, सजिलै रुघा लाग्न सक्छ। तपाईंहरु पनि आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। 

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

तेस्रो पटक र चौंथो पटकको खोप लिनेहरूका लागि Omicron strain विरुद्धको खोप शुरु भई सकेको छ। हाल चौंथो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

खोप कुपन हराएका महानुभावहरुले, पुन: जारीको लागि आवेदन दिन आवश्यक छ। कृपया कल सेन्टरमा फोन गर्नुहोस्।

 

विदेशबाट फुकुओका शहरमा आउनुभएका महानुभावहरुले यदि खोप लगाउन चाहनुहुन्छ भने,

खोप कुपन जारीको लागी निबेदन दिन आवश्यक छ।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श, बुकिंग र खोप कुपन जारीको बारेमा बुझ्न सम्पर्क गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ ।

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

नेपाली, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

नयाँ कोरोना भाइरस र इन्फ्लुएन्जा रोकथाम

प्रत्येक वर्ष जाडो शुरु भयो कि, इन्फ्लूएन्जाको संक्रमण देखा पर्दछ।

नयाँ कोरोना भाइरससँगै दुवै रोगहरू एकै समयमा हुने सम्भावना हुन सक्छ।

 

यसकारण, अहिले, नयाँ कोरोना भाइरसको रोकथामबारे सावधान सबैजनाले, हात धुने, मास्क लगाउने, कुनै व्यक्तिको सम्पर्कमा आउँदा पर्याप्त दूरी बनाएर बस्ने जस्ता अभ्यासहरु, इन्फ्लूएन्जा हुनबाट बच्नको लागि पनि जारी राख्ने गर्नुहोस्।

यदि इन्फ्लूएन्जा लागि हालेमा, गम्भीर बिरामी हुनबाट बच्नका लागि पनि, इन्फ्लूएन्जाको खोप लगाउन सल्लाह दिन्छौं।

साथै, नयाँ कोरोना भाइरस र इन्फ्लूएन्जा दुबैको खोप एकै समयमा लिन सक्नुहुन्छ।

 

 

2022.10.27[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【सुन्तला】

सुन्तलाको मौसम यसको प्रकार अनुसार फरक हुन्छ, तर देशभरि उच्चतम मात्रामा ढुवानी हुने शरद ऋतुलाई सामान्यतया सुन्तलाको मौसम भन्न सकिन्छ।

साथै, जापानमा 'सुन्तला' भन्नाले धेरै जसो ' Unshu-mikan' हो। जापानमा उत्पादित सिट्रस फलहरूको लगभग ७०% Unshu-mikan ले ओगोटेको छ।

फुकुओका प्रिफेक्चरमा, मुख्य उत्पादन क्षेत्रहरू मियामा-शी, ओमुटा-शी, यामे-शी र चिकुगो-शी हुन्।

सुनौलो रङमा चमकदार "फुकुओका सुन्तला" हेर्दा पनि स्वादिष्ट देखिने फलफूल! बाहिरको बोक्रा छोडाएर सुन्तलाको भित्रि खोल समेत मुखमा हाल्नाले, रसदार गुदीबाट प्रशस्त रस निस्कनुका साथै त्यहि बेला गुलियोपन, ठिक्कको अमिलोपन, र स्फूर्तिदायी स्वाद मुखभरि फैलिन्छ।

हरेक वर्ष सेप्टेम्बरको अन्त्यदेखि मार्चको अन्त्यसम्म सीमित अवधिको लागि स्वाद लिन सकिने मौसमी स्वादको आनन्द लिनुहोस्।

 

 

【फुकुओका शहरको सूचना】

「Environmental Festival Fukuoka 2022」को परिचय

यो हप्ता, अक्टोबर २९ (शनिबार) र ३० गते (आइतबार), दुई दिनको लागि, फुकुओका सिटी हलको पश्चिम तर्फको फुरेआई हिरोबामा आयोजना हुन गईरहेको कार्यक्रम " Environmental Festival Fukuoka 2022" को बारेमा जानकारी छ।

वातावरणीय समस्याहरुबारे मनोरञ्जनका साथ अध्यन गर्ने र व्यवहार परिवर्तन गर्ने अवसरको रुपमा लिन लगाउने हेतुले, फुकुओका शहर लगायत Environmental Festival Fukuoka को कार्यकारी समितिद्वारा आयोजना हुने यस कार्यक्रमको समय, बिहान १०:०० बजेदेखि ४:०० बजेसम्म।

प्रवेश नि:शुल्क हो।

वातावरणीय मुद्दाहरूमा "ECO Experimental Stage", चित्र पुस्तक लेखकहरूद्वारा कथा कथन, बोटबिरुवाको शक्तिबाट बिजुली उत्पन्न गर्ने " botanical light" को अनुभव, black light को प्रयोग गरेर Stamp rally आदि बालबालिकाहरुदेखि वयस्कहरूसम्मले पनि मनोरञ्जन लिंदै वातावरणको बारेमा जान्ने कार्यक्रमहरु धेरै समाबेश छन्।

साथै, पुस्तक आदानप्रदान, नयाँ पुस्ताको सवारी साधन प्रदर्शनी र टेस्ट ड्राइभ साथै चाहेको सामान चाहेको जति मात्रा मात्र किन्ने " Hakari-uri-marushe " पनि आयोजना हुनेछ।

बदाम, कफी बीन्स आदि आवश्यक मात्रा मात्र लिई, तपाईले बोकेर जानु भएको आफ्नै झोला वा भाँडोमा प्याक गरेर घर लैजाने किनमेल शैली हो, जसले गर्दा अनावश्यक फोहर हुनबाट जोगाएर पर्यावरण मैत्रीका साथै अनावश्यक खर्च हुनबाट पनि बच्न सक्नुहुन्छ!

यो हप्ताको शनिबार र आइतवार, "Environmental Festival Fukuoka" मा आफ्नो वरपरको ECO (वातावरण)सँग नजिकिँदै आनन्द लिऔं!

यस वर्ष, स्थलगत(फेस-टु-फेस) इभेन्ट र अनलाइन इभेन्ट गरि दुवैमा आयोजना हुनेछन्।

हाल संचालित अनलाइन कार्यक्रममा, "वातावरण बारे जान्न चाहन्छु", "आफूहरुले गर्न सकिने कुराहरु बारे सोच्न चाहन्छु" भन्ने विचार भएका विद्यार्थी सदस्यहरूद्वारा स्थापित Fukuoka City SDGs Student Supporter ले वातावरणसँग सम्बन्धित विभिन्न जानकारीहरु प्रदान गर्दै आईरहेको छ।

अवश्य यो पनि हेर्नुहोला!

2022.10.20[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【शरदको फूल "गोदावरी"】

आज, शरदको फूल "गोदावरी"को बारे जानकारी लिएर आएकी छु।

गोदावरी फूल, जापानी भाषामा किकु, जुन राजपरिवारको प्रतीकको रूपमा पनि प्रयोग गरिंदै आएको, जापानलाई दर्शाउने फूलहरुमध्ये एक हो। पूर्ण शरद ऋतुमा लागेपछि वरपरका रूखका पातहरु रातो हुन थाल्दाको समयमा, गोदावरी फूलहरु पनि सुन्दर ढंगले फुल्ने गर्दछन्।

फुकुओका प्रिफेक्चर गोदावरी फूल उत्पादनको लागि जापानभरिमा तेस्रो स्थानमा पर्छ।

गोदावरी फूल फूल्ने अक्टोबरदेखि नोभेम्बरसम्म, फुकुओका भरिका बगैंचा र वनस्पति उद्यानहरू आदिमा किक्खाटेन अर्थात् गोदावरी फूल प्रदर्शनीहरू आयोजना गरिन्छ। Dazaifu Tenmangu मा, नोभेम्बर १ देखि नोभेम्बर २५ सम्म, त्यस्तै, Munakata Taisha मा, नोभेम्बर १ देखि नोभेम्बर २२ सम्म, पश्चिमी जापानको सबैभन्दा ठूलो स्तरको गोदावरी फूल प्रदर्शनी आयोजना हुन गईरहेको छ।

लगनशिलतासाथ सिचिएका गोदावरी फूलहरुको अवलोकन गर्न तपाईंहरु पनि प्रदर्शनीमा जाने होइन त?

 

 

【फुकुओका शहरको सूचना】

The Creators 2022 को परिचय

रचनात्मक र मनोरञ्जन अनुभव गर्न सकिने कार्यक्रम "The Creators 2022", अक्टोबर २२ (शनिबार) र अक्टोबर २३ (आइतबार), दुई दिन आयोजना हुन गईरहेको छ।

आयोजना स्थलहरुमा, फुकुओका सिटि हलको पश्चिम तर्फको Fureai Hiroba, Fukuoka City Science Museum र Fukuoka Art Museum आदि हुन्।

अनलाइन प्रसारण गर्ने योजना पनि भएकोले, कार्यक्रम स्थलमा उपस्थित हुन नसक्नेहरूले पनि यसको आनन्द लिन सक्नेछन्।

मुख्य स्थल फुकुओका सिटी हलको पश्चिम तर्फको Fureai Hiroba मा, चम्किलो प्रकाश र पर्दामा प्रत्यक्ष देखिने म्युजिक स्टेज, क्रिएटरहरु आदिसँगको कुराकानी मन्च, क्रिएटिभ कम्पनीहरुद्वारा ह्यान्ड-अन बुथहरू राखिने योजना रहेको छ।

यस बाहेक पनि, Fukuoka City Science Museum मा, ध्वनि र दृश्यमार्फत् मनोरञ्जन लिन सकिने डिजिटल कला प्रदर्शनी, Fukuoka Art Museum मा, विभिन्न प्रकारका भिडियो कार्यहरूको स्क्रीनिंग आदि जस्ता विभिन्न सामग्रीहरु समटेको दुई दिनको कार्यक्रम हो।

"क्रिएटिभ सिटी फुकुओका" मा नयाँ र नौलो संस्कृति र प्रविधिको अनुभव गर्दै अत्याधुनिक मनोरञ्जनको अनुभवको दुई दिनको आनन्द लिनुहोस्।

तपाईंहरु सबैको उपस्थितिको अपेक्षामा छौं।

https://the-creator.jp/

 

2022.10.13[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【बसाईसराई दिवस】

अक्टोबर १३ "बसाईसराई दिवस" हो।

सन् १९६८ मा सम्राट मेइजीको क्योटोबाट टोकियोको आगमनको सम्झनामा यो दिवस सिर्जना भएको थियो।

सम्राट मेइजीको बसाईसराईमा, हजारौं मानिसहरू पनि सँगसँगै क्योटोबाट टोकियोतिर लागेका थिए र यस बीचमा, मेइजीको बासिन्दाहरुलाई पैसा र उपहारहरू बाँड्ने आदि भव्य रूपमा सम्पन्न भएको देखिन्छ। फलस्वरूप, जापानको राजधानी क्योटोबाट टोकियोमा सारिएको थियो।

यस बसाईसराईको ५० औं वार्षिकोत्सवको सम्झनामा, जापानको पहिलो एकिडेन अर्थात् रिले दौड

आयोजना गरिएको थियो। यो दौड क्योटोमा सुरु भई टोकियोमा समाप्त हुने लामो दूरीको रिले दौड थियो। यसरी सम्राट मेइजीको बसाईसराईबाट वर्तमान एकिडेन अर्थात् रिले दौडको शरुवात भएको थियो।

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

"विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?

अक्टोबर २९ शनिबार, १ बजेदेखि "विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” Fukuoka City Science Museum को Science Hall मा आयोजना हुन गईरहेको छ।

फुकुओका महानगर क्षेत्रमा रहेका जापानी भाषा कक्षाका विद्यार्थी र जापानी भाषा स्कूलका विद्यार्थीहरूले, फुकुओकामा बसेर महसुस गरेको कुरा वा भविष्यको सपना आदि, स्वतन्त्र रुपले कुनै विषयवस्तुमा जापानी भाषामा वक्तव्य दिनेछन्।

प्रतियोगीहरुको दैनिक अध्यनको प्रतिफल सुन्न, अवश्य आउनुहोला।

सहभागीताको लागि बुकिंग गर्न आवश्यक छ। "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन"को होमपेजबाट बुकिंग गर्न सकिन्छ।

सोधपुछको लागि,

सार्वजनिक हित समावेशी फाउन्डेसन, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिताको कार्य समितिको फोन नम्बर ०९२-२६२-१७४४ मा सम्पर्क राख्नुहोस्।

 

 

विदेशी भाषा समाचार पत्र "FCIF" शरद ऋतु संस्करण प्रकाशनको सूचना

फुकुओकामा बस्दै, जीवनयापन गरि रहनु हुने विदेशीहरूप्रति लक्षित, जीवनयापन सम्बन्धि जानकारी वा जापानी संस्कृति, कार्यक्रमहरू आदिको बारेमा जानकारी दिने विदेशी भाषा समाचार पत्र "FCIF", प्रत्येक तीन महिनामा अंग्रेजी, चाइनिज र कोरियन भाषामा प्रकाशन भईरहेको छ।

अक्टोबरमा प्रकाशित "FCIF" शरद ऋतु संस्करणको विषयवस्तु रहेको छ, "फुकुओकामा कलाको आनन्द लिऔं"।

फुकुओकामा कलाको आनन्द लिन सकिने स्थलहरु र कार्यक्रमहरूको जानकारी लगायत, फुकुओकामा बस्दै आउनु भएका विदेशीहरुसँगको अन्तर्वार्ता र जीवनयापनका लागि उपयोगी जानकारीहरू पनि समावेश हुने भएकोले, अवश्य पढ्नुहोला!

https://www.fcif.or.jp/

2022.10.06[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【खेलकूद खेल्नुहुन्छ?】

तपाईंहरु हरेक दिन खेलकूद खेल्नुहुन्छ?

रिमोट वोर्कको बृद्धिको कारण, दिनभरि कोठामा बस्ने महानुभावहरु पनि हुनुहुन्छ होला।

लामो समय कुर्सीमा बस्नाले मांशपेसीको स्तर खस्कँदै गई शरीर दुखेर आउने हुनाले, समय छुट्टाएर, शरीर तन्काउने आदि जस्ता प्रयास गरी हेर्नु राम्रो हुन्छ।

लिफ्टको सट्टा भर्याङको प्रयोग गर्ने, काममा जाँदा हिड्ने आदि जस्ता सानो विचारले पनि शारीरिक ब्यायाममा मद्दत पुग्छ।

बरु, साँझमा हिँड्न वा दौडन बाहिर जानुहुँदा, कार, मोटरसाइकल र साइकलदेखि सावधान रहनुहोस्।

आफूले वरपरको हेर्न गाह्रो हुँदा, तपाईंको वरपरकाले पनि तपाईंको उपस्थिति बुझ्न गाह्रो हुन्छ, जसले गर्दा ट्राफिक दुर्घटना आदिमा पर्न सक्ने जोखिम बढ्छ। विशेष गरी यस मौसममा, सूर्य चाँडै अस्ताएर साँझ चाँडै अँध्यारो हुने भएकोले, थप सावधान रहनु आवश्यक छ।

त्यसैले, चम्किलो रङको लुगा लगाउने, प्रकाश प्रतिबिम्बित गर्ने सामग्री (रिफ्लेक्टिभ सामग्री) वा LED लाइट आदिको प्रयोग गर्नु राम्रो हुन्छ।

 

 

【फुकुओका शहरको सूचना】

Myojo Waraku 2022 को बारेमा

अक्टोबर १२ (बुधवार) देखि अक्टोबर १५ (शनिबार) सम्म फुकुओका शहरमा आयोजना हुने कार्यक्रम,

"Myojo Waraku 2022" को बारे जानकारी छ!

Myojo Waraku, प्रविधि र रचनात्मक कार्यहरुमा संलग्न व्यक्तिहरू भेला हुने फेस्टिवलको रुपमा, २०११ मा शुरु भएको थियो।

यो, सामान्यतया भेटघाट नहुने विभिन्न विधाका व्यक्तिहरू, उमेर वा पदको अन्तर नगरी अन्तरक्रिया गरेर,

नयाँ चीज र कुराहरूको सिर्जना गर्ने इभेन्ट हो।

यस वर्षको कार्यक्रमको विषयवस्तु रहेको छ, "GENTEN" , अर्थात् शरुवाती बिन्दु ।

सन् २०१२ को Myojo Waraku मा, फुकुओका शहरले स्टार्टअपहरूलाई समर्थन गर्न शुरु गरेको, "स्टार्टअप सिटी फुकुओका" को घोषणा गरेकोबाट १० औं वार्षिकोत्सवको स्मरणमा, विभिन्न दृष्टिकोणबाट शुरुवाती बिन्दुलाई पछाडी फर्केर हर्ने हेतुले Talk session पनि आयोजना गरिनेछ।

 

"स्टार्टअप सिटी फुकुओका" घोषणाको १० औं वार्षिकोत्सव मनाउने Talk session मा, हालसम्मको फुकुओका शहरको स्टार्टअप दृश्यको १० वर्षलाई पछाडी फर्केर हेर्दै, इकोसिस्टमको विकासलाई मनन गर्दै, आउँदो भविष्यको बारेमा कुराकानी गरिनेछ।

थप रूपमा, कला र रचनात्मक विषयवस्तुको कार्यक्रमहरू र शिविरहरूमा वर्कशप आदि विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने योजना पनि रहेको छ।

कार्यक्रमको बिस्तृत जानकारीको लागि, "MYOJOWARAKU2022" भनि खोजेर, आधिकारिक होमपेजमा हेर्नुहोला।

https://myojowaraku.net/

2022.09.29[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

अशोक शाही

(अशोक बारका मालिक)

https://www.facebook.com/people/Ashoks-Bar/100079710802295/

2022.09.22[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【स्वादिष्ट नाशपाती】

स्वादिष्ट र रसिलो फल, नाशपाती अर्थात् जापानी भाषामा नाशी।

फुकुओका प्रिफेक्चरमा, जुलाईदेखि नोभेम्बरसम्म नाशपातीको बेचबिखन हुने गर्छ।

 

आउँदो मौसममा, पसलमा किन्न सकिने नाशपातीहरू भन्नाले "आकिजुकी", "निइटाका", र "शिन्कोउ" जस्ता नाशपातीहरू हुन्।

स्वादिलो नाशपाती छान्ने तरिकामा, पोष्ट, कडा, भारीपन भएको, र आकार ठूलो भएको नाशपातीलाई सबैभन्दा उत्तम मानिन्छ।

 

साथै, भण्डारण गर्दा, यसलाई सुक्न नदिन प्लास्टिकको झोलामा हालेर, हावा नजाने गरि राम्रोसँग कसाएर , फ्रिजमा राख्नुपर्छ। लगभग १ देखि २ हप्तासम्म स्वादिष्ट रूपमा खान सक्नुहुन्छ।

नाशपातीको गुलियोमा क्यालोरी कम हुने भएकोले दाँतमा किरा लाग्ने सम्भावना कम हुन्छ भनिन्छ।

त्यसैले, बेलुकाको खाना पछि यसलाई डेजार्टमा खाएर हेर्दा कसो होला!

 

 

【फुकुओका शहरको सूचना】

क्षयरोग रोकथाम सप्ताहको बारेमा

सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म क्षयरोग रोकथाम सप्ताह हो।
क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा जलन हुन्छ।
यो एक सरुवा रोग हो।
२०२१ मा, फुकुओका शहरमा १३८ नयाँ क्षयरोग बिरामीहरु पाईएका थिए।
क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, खकारमा रगत, छाती दुख्ने, अस्वस्थता, राती पसिना, र तौल घट्नु आदि समावेश छन्। शुरुका लक्षणहरू रुघाको जस्तै देखिन्छन्।
"खोकी २ हप्ता भन्दा बढि रहेमा", "खकार निस्केमा", "शरीर गलेमा", "अचानक तौल घटेमा" आदि केहि लक्षणहरु देखा परेमा, तुरुन्तै चिकित्सालयमा परामर्श लिनुहोस्।
प्रारम्भिक पहिचान र उपचारले रोगलाई गम्भीर हुनबाट बचाउने मात्र नभई, परिवारका सदस्य, साथीभाई र कार्यस्थल आदिमा संक्रमण रोकथाम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

क्षयरोग, सँधै संक्रमित भएको कारणले मात्र विकसित हुँदैन।
यदि शरीरको प्रतिरोधात्मक क्षमताले क्षयरोग ब्याक्टेरियालाई नियन्त्रण गर्न सकेन भने,
यो समयसँगै बढ्न र विकास हुन सक्छ।

संक्रमण र रोग रोक्नको लागि पर्याप्त निद्रा, सन्तुलित आहार, मध्यम व्यायाम, आदि दैनिक स्वास्थ्य हेरचाह प्रभावकारी हुन्छ।

साथै, क्षयरोग लागि हाल्यो भने पनि, डाक्टरको निर्देशन अनुसार, हरेक दिन उचित औषधि सेवन गरी यसबाट छुटकारा पाउन सक्नुहुन्छ।

फुकुओका शहरमा, Fukuoka City Medical Interpreting Call Center छ, त्यहाँ अस्पताल खोज्नको लागि फोन मार्फत सल्लाह लिन सक्नुहुन्छ।
फोन नम्बर रहेको छ, ०९२-७३३-५४२९ ।
२० भाषाहरुमा यो सेवा उपलब्ध भएकोले, अप्ठ्यारो पर्दा अवश्य पनि परामर्श लिनु होला।

 

2022.09.15[Thu] 09:00

समुदाय(コミュニティ)

【टाइफुन अर्थात् समुन्द्री आँधीदेखि सावधान】

सेप्टेम्बर महिना शक्तिशाली समुन्द्री आँधी आउने सम्भावना हुने समय हो।

समुन्द्री आँधी नजिक आउँदै छ भन्ने समाचार वा मौसम जानकारी सुन्नुभएमा वा देख्नुभएमा,

विपद्को पूर्व तयारीलाई फेरि एकपटक जाँच गर्ने गरौं।

बिजुली वा पानीको आपूर्ति बन्द हुँदा वा पसलहरु बन्द हुँदा आदिको समयका लागि पूर्व तयारीमा, कम्तिमा पनि ३ दिनको लागि पुग्ने गरि खानेकुरा र पिउने पानी, स्टूल ब्याग जस्तो पोर्टेबल टोइलेट, टर्च लाइट, पोर्टेबल रेडियो, मोबाइल ब्याट्री, क्यासेट ग्याँस चुलो आदि जस्ता सामानहरु तयार गरी राख्नु राम्रो हुन्छ।

साथै, शक्तिशाली हावा आउनु अगाडि नै बगैचा र बरन्डा आदिमा रहेको उडाउन सक्ने सामानहरु कोठाभित्र सार्ने वा नउडाउने गरि फिक्स गरेर राख्ने गरि हाल्नुहोस्।

विद्यालय र सामुदायिक भवनहरू जस्ता आश्रय स्थलहरूको रूपमा तोकिएका ठाउँहरूमा जाने मार्गहरू अग्रिम रुपमा जाँच गरि राख्नुहोस्, साथै नियमित रूपमा आफ्नो परिवारसँग आश्रय स्थल र सम्पर्क गर्ने विधिहरू आदिको बारे छलफल गर्ने गरौं!

 

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

कानूनी परामर्शको परिचय

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि हरेक महिनामा दुई पटक निःशुल्क “कानूनी परामर्श” प्रदान गर्दै आईरहेको छ।

 

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट, बुकिंगको आधारमा वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।

भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकाले ढुक्क भएर परामर्श लिनुहोस्।

बिस्तृत जानकारीका लागि, फोन नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान पौने ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।

 

LINE कल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Accountमा, LINE कल प्रयोग गरि टेलिफोन मार्फत् जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शहरू आदिका लागि सम्पर्क गर्न सक्नुहुन्छ।

 

पहिले जस्तै, टेलिफोन दोभाषे सेवामा २२ वटा बहुभाषी सेवा सम्भव छ।

 

साथै, फुकुओका सिटी इन्टरनेशनल फाउन्डेशनको कार्यक्रमहरूको जानकारी तथा बिदेशी नागरिकहरु सम्बन्धित जानकारीहरु आदि प्राप्त गर्न सकिने हुनाले, अवश्य पनि LINE मा Friend add गर्नुहोला!

तर, च्याटमा सेवा उपलब्ध छैन। Text मार्फत् परामर्श लिन चाहनुहुन्छ भने, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको" होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

 

थप जानकारीका लागि फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेर्नुहोला।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ