ブログ

ポッドキャスト

ポッドキャスト RSS

2022.03.17[Thu] 09:00

आवास(住宅) , नियम तथा आचरण(ルール・マナー)

【काफुन्बाट बच्ने उपाय】

यो न्यानो हुँदै आउने मौसममा हुने समस्या भनेको काफुन्स्यो हो। काफुन्स्यो भनेको आँखा चिलाउने, खोकी लाग्ने अनि नाकबाट पानी बग्नु हो।

काफुन् एकदमै सानो र हावामा सजिलै तैरिन सक्ने पदार्थ हो।

भ्याकुम क्लिनर प्रयोग गर्नाले वा कुचोले बराल्नाले, काफुन् हावामा फैलिने सम्भावना बढी हुन्छ। तसर्थ, घरमा गर्न सकिने उपायको रूपमा, भुइँमा भएको काफुन्लाई, पुछ्ने कपडा वा क्लिनिंग शीट प्रयोग गरेर सफा गर्नाले प्रभावकारी हुन्छ।

बारम्बार पुछ्ने, सफा गर्ने, एयर प्युरिफायर जडान गर्ने आदि गर्नाले काफुन् मात्र होइन, अन्य मसिना धुलोहरूको लागि पनि उपयोगी हुन्छ।

साथै, बाहिर जाने लुगाहरूमा काफुन् पनि धेरै टासिएको हुन्छ। त्यसैले, घर पुग्दा, ढोकामै आफ्नो कोट फुकालेर, त्यसमा टासिएको काफुन्लाई तक्तकाएर झार्नु पनि आवश्यक छ।

 

 

【बसाईसराईको प्रक्रिया सकेसम्म चाँडो पूरा गर्नु】

〇 मार्च र अप्रिलमा बसाईसराई धेरै हुने भई वार्ड अफिसको काउण्टरमा भीड हुने समय हो।

बसाईसराईको प्रक्रिया सकेसम्म चाँडो पूरा गर्न हुन अनुरोध गर्दछौं।

सप्ताहका दिनहरुमा व्यस्त भई बसाईसराईको सूचना दर्ता गर्न जान असमर्थ हुनुहुने महानुभावहरुले बिदाका दिनमा बसाईसराईको प्रक्रिया गर्न सकिने गरि मार्च २७ र अप्रिल ३ को आइतबार, प्रत्येक वार्ड कार्यालय र शाखा कार्यालयका काउण्टरहरू अस्थायी रूपमा खोलिनेछन्।

बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म, बसाईसराईको सूचना वा बसाईसराई सम्बन्धित सूचना दर्ताहरू स्वीकार गर्दछौं।

 

यदि फुकुओका शहरभन्दा बाहिर बसाई सर्दै हुनुहुन्छ भने, सर्ने दिनसम्ममा वार्ड अफिसमा बसाई सरेर जादैछु छु भन्ने सूचना दर्ता गर्नुभएमा, सरुवा भई जाने ठाउँको आवश्यक बसोबास सरुवा प्रमाणपत्र पाउनुहुनेछ।

यदि फुकुओका शहरभित्र बसाई सर्दै हुनुहुन्छ भने, बसाईसराई सूचना दर्ता गर्न आवश्यक छैन तर, नयाँ ठेगानामा बस्न थाल्नु भएको दिनदेखि १४ दिनभित्र तपाईं सर्नुभएको वार्ड अफिसमा बसाईसराई सूचना बुझाउनुपर्छ।

वार्ड अफिसमा बसाईसराईको प्रक्रियाका लागि सुविधाजनक अनलाइन सेवा पनि छ।

शनिवार, आइतवार, र सार्वजनिक बिदाका बाहेक, कम्तिमा ५ दिन अगाडिसम्ममा स्मार्टफोन आदिबाट ठेगाना परिवर्तन वा प्रक्रियाको अपेक्षित मिति आदिको जानकारी पठाउनुभयो भने बुकिङ गर्न सक्नुहुन्छ र काउण्टरमा प्रक्रियाको समय कम लाग्छ।

〇यस अतिरिक्त, बसाईसराई गर्दा, खानेपानी आपूर्ति शुरु गर्न वा रोक्नका लागि सुचना दिन आवश्यक छ। शनिवार, आइतवार र सार्वजनिक बिदाका बाहेक, सर्ने दिनभन्दा कम्तिमा ४ दिन अगाडिसम्ममा फोनमार्फत सम्पर्क गर्नुहोस्।

फोन नम्बर ०९२-५३२-१०१० हो।

 

 

【बसाईसराई फोहर सम्बन्धि】

वसन्त ऋतुमा स्थान परिवर्तनको कारण फर्निचर र घरेलू उपकरण जस्ता ठूला आकारको फोहर बढ्ने समय हो।

यस पटक, ठूला आकारको फोहोर रिसेप्शन सेन्टरमा आबेदन दिने तरिका सम्बन्धि जानकारी दिनेछु।

 

फोन, इन्टरनेट वा फुकुओका सिटीको LINE मार्फत अग्रिम आवेदन दिई, कन्भिनीयन्स स्टोर आदिमा प्रशोधन टिकट खरीद गर्नुहोस्।

फोहर संकलन, आवेदन दिएको मितिबाट एक हप्ता लाग्नेछ।

संकलनको दिनमा बिहान ८:३० सम्म तोकिएको ठाउँमा राख्नुहोस्।

ठूला आकारको फोहोर रिसेप्शन सेन्टरको फोन नम्बर ०९२-७३१-११५३ ।

इन्टरनेट वा LINE मार्फत २४ घण्टा जहिलेपनि आवेदन दिन सकिने भएकोले सुविधाजनक छ।

 

टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर र एयर कन्डिशनरहरूको हकमा घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ।

नयाँ जडान गर्ने बेला लगिदिनुहुन्छ कि भनेर खरिद गर्नुभएको पसल वा नजिकैको Best Denki वा Yamada Denki मा सोध्नुहोला। रिसाइकल शुल्क, संकलन र यातायात शुल्क तिर्नु पर्छ।

2022.03.10[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【”ह्वाईट डे” को परिचय】

तपाईंहरु प्रायःजसोलाई थाहा नै होला, फेब्रुअरी १४ तारिक भनेपछि भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवस! जापानमा, यस दिन सामान्यतयाः केटिले मन पर्ने केटा वा सँधै आभारी भएका व्यक्तिहरुलाई  चकलेट  दिने चलन छI अनि चकलेट पाएको केटाले फेरी त्यो केटीलाई मार्च १४ मा चकलेट  दिने गरिन्छ जुन दिनलाई ह्वाईट डे भनिन्छI भ्यालेन्टाईन डे संसारभर मनाउने चलन छ, तर ह्वाईट डे जापान, चीन,  दक्षिण कोरिया आदि केही देशहरूमा मात्रै मनाउने गरेको देखिन्छ।

सन् १९६५ को अन्त्यदेखि ५० को दशकमा यो चलन फैलिएको भनिन्छ। यो दिवस केही मिठाई वा चकलेटका उत्पादनकर्ताको विचारबाट उब्जिएको वा लामो समयदेखि स्थापित मिठाई पसलले शुरु गरेको भन्ने मान्यता पनि रहेको देखिन्छ।

विशेष गरी यहाँ फुकुओका शहरमा Ishimura-mansei-dou को सोचबाट आएको Marshmallow Day निकै लोकप्रिय छ ।

पहिलेका समयमा, सेतो चकलेट, क्यान्डी र Marshmallow विशेष मानिन्थ्यो भने आजकल जुनसुकै  मिठाई पनि यस दिनमा आदानप्रदान गर्ने गरिन्छ।

यस दिवसका लागि विशेष बिक्री काउण्टर पनि राखिने भएकोले, किनमेल गरेर मनोरञ्जन लिने अवसर पनि हो।

 

 

【नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना】

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

फुकुओका शहरमा, तेस्रो पटकको खोप शुरु भएको छ।

दोस्रो पटकको खोप लिईसक्नु भएका, १८ वर्षका वा सोभन्दा माथिका फुकुओका शहरको नागरिकहरुलाई, फुकुओका शहरले तेस्रो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाउनेछ।

दोस्रो पटकको खोप लगाएको लगभग ७ महिनापछि पनि खोप कुपन पाउनु भएन भने, कल सेन्टरमा फोन गर्नुहोला।

 

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श लिन र बुकिंग गर्न सकिने फोन नम्बर रहेको छ,

०९२-२६०-८४०५ । हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

 

【बसोबास कर छुट भएका परिवारहरूका लागि आपतकालीन विशेष अनुदान रकमको सूचना】

नयाँ कोरोनाभाइरसको सङ्क्रमको प्रभाव लामो समयसम्म रहिआएको कुरालाई मध्यनजर गरि, जापान सरकारले जिविकोपार्जनमा टेवा पुर्‍याउन, बसोबास कर छुट भएका परिवारहरूलाई प्रति परिवार १,००,००० येन नगद उपलब्ध गराउने निर्णय गरेको छ।

बसोबास करको दायराभित्र नपरेका र भुक्तानीका लागि योग्य भएका परिवारहरुलाई फुकुओका सिटि नगरपालिकाले अनुदान रकमको विवरण वा पुष्टि गर्नुपर्ने बिषयवस्तुहरु उल्लेखित पुष्टिकरण पत्र पठाएको छ।

अनुदान रकम प्राप्त गर्नका लागि प्रक्रियाको आवश्यक पर्छ।

पुष्टिकरण पत्र प्राप्त गर्नुहुने महानुभावहरुले विवरणको राम्ररी जाँच गरि, पुष्टिकरण जारी भएको मितिबाट ३ महिना भित्र फिर्ता पठाउनुपर्छ।

 

अनुदान रकमको बारेमा परामर्श लिन सकिने फोन नम्बर,  ०१२०-०१८-०९२ हो।

सोमबारदेखि शुक्रबार, बिहान ९:०० देखि बेलुका ६:०० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी, स्पेनिश र पोर्चुगिज भाषाहरूमा परामर्श लिन सकिन्छ।

2022.03.03[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【DJ को Choice ‘नयाँ जीवनको लागि उपयोगी जानकारीहरु’】

चाहे स्कूलको लागि होस् वा काम आदिको लागि, हाम्रो जीवनमा धेरै पटक चीजहरू परिवर्तन गर्नुपर्ने हुन्छ र जापानमा नयाँ शैक्षिक वर्ष वा नयाँ कामको शुरुवात अप्रिलको १ तारिकमा हुने गर्छ।

जापानमा अप्रिलको समय, विद्यार्थीहरू नयाँ विद्यालयमा भर्ना हुने, अर्को कक्षामा जाने, काम गर्नेहरु नयाँ कम्पनीमा प्रवेश गर्ने वा सरुवा हुने, जागिर परिवर्तन गर्ने गर्छन्। यस समयमा, घर सर्ने मानिसहरू पनि धेरै हुन्छन्।

त्यसैले फेब्रुअरी र मार्चमा आफ्नो जीवनको नयाँ अध्यायको लागि तयारीहरु गर्ने गर्छन्।

 

<फुकुओका शहरभित्र वा बाहिर बसाइँ सर्ने बारे>

फुकुओका शहरभित्र बसाइँ सर्ने योजनामा हुनुहुने वा फुकुओका शहरबाट बाहिर जाने योजनामा हुनुहुने कसैले आजको यो कार्यक्रम सुनिरहनु भएको छ कि?

 

यदि बसाइँ सर्दै हुनुहुन्छ भने, तपाईंले बसाइँ सर्ने सूचना दर्ता गर्न आवश्यक छ। सर्नु अघि, आफ्नो स्थानीय वार्ड कार्यालयमा गएर आवश्यक कागजातहरू लिने गरौं।

बसाइँ सर्ने प्रक्रिया वा लिएर जानुपर्ने आदि बारे बुझ्नका लागि फुकुओका शहरको आधिकारिक LINE Account वा फुकुओका सिटी इन्टरनेशनल फाउन्डेसनको होमपेजमा हेर्न सक्नुहुन्छ।

 

म फुकुओका शहरबाट कहिल्यै बाहिर बसाइँ सरेको छैन, त्यसैले सौभाग्यवश कागजी कार्यहरू गर्नुपरेको छैन। बरु फुकुओका शहरभित्र नै बसाइँ सरेको छु तर उही नै वार्ड भएकोले धेरै कागजी कार्यहरू गर्नु परेन। तर खानेपानी, ग्यास, बिजुली र इन्टरनेट कम्पनीहरूलाई फोन गरेर, आफू सर्दै छु भनेर सुचना दिई, बसीरहेको ठेगानामा सेवा रोक्न र सर्न लागेको नयाँ ठेगानामा सेवा लिनका लागि सम्पर्क गरेको थिएँ। नयाँ ठाउँमा सर्दा महत्त्वपूर्ण कुराहरुमध्ये एक हो; फुकुओका अध्यागमन ब्यूरोमा पनि आफ्नो ठेगाना परिवर्तन भएको जानकारी दिई जाइर्यु कार्डमा पनि नयाँ ठेगाना खुल्ने गरि  राख्नुपर्छ । त्यस्तै, आफू सरेर गएपनि आफ्नो पुरानो ठेगानामा आएको चिठीपत्रहरु नयाँ ठेगानामा पठाउन मिल्ने गर्नका लागि हुलाक अफिसमा आबेदन दिनुपर्छ । साथै, आफ्नो खाता खोलेको बैकमा पनि नयाँ ठेगानाको जानकारी गराउनु राम्रो हुन्छ । यो गर्न पनि खासै गार्हो छैन।

 

यी सबै नियमकानुन अनुसारको कागजी कार्यहरु तथा प्रकियाहरु बाहेक, बसाइँ सर्दा आवश्यक अर्को कुरा भनेको, सर्दा सामान ओसारपसार गरिदिने कम्पनी खोज्नु हो। बजारमा थरिथरि कम्पनिहरु छन् अनि शुल्क पनि फरक फरक, त्यसैले निर्णय लिन अगाडि बुझेर हेर्नु राम्रो हुन्छ। सर्ने दिन पहिले नै थाहा भएमा अग्रिम बुकिंग गरेर राख्नु बेश हुन्छ नत्रभने अप्रिलको पिक सिजनमा आफूलाई पायक पर्ने समयमा खोज्न अति गार्हो हुन्छ।

यदि सामानहरु प्याक गर्न कार्डबोर्ड बक्सहरू खोज्दै हुनुहुन्छ भने, सुपरमार्केटहरूमा सामान्यतया प्रयोग नगर्ने कार्डबोर्ड बक्सहरू निःशुल्क लिन सक्नुहुन्छ।

 

साथै, पक्कै पनि Life in Fukuoka कार्यक्रमको विगतका ब्लगहरू र पोडकास्टहरू चेक गर्नुहोला।

फुकुओकामा बसोबास गर्न सरल बनाउन मद्दत गर्ने धेरै जानकारीहरु राखिएका छन्।

 

यस अतिरिक्त, फुकुओका शहरको होमपेजमा, Life in Fukuoka को डिजिटल पर्चा र भिडियो सार्वजनिक गरिएको छ। सबैजनाले सुरक्षित र दुक्क भई फुकुओका शहरमा आरामदायक जीवनयापनका लागि, समस्या पर्दा परामर्श लिने ठाउँ वा क्षेत्रको जानकारी, बसाइँका लागी पालन गर्नुपर्ने नियम र आचरणहरू आदि जानकारीहरु यसमा समावेश छन् । वेबसाइट लिङ्कको लागि LOVE FMको वेबसाइटमा Life in Fukuoka को पृष्ठमा आजको कार्यक्रमको ब्लगमा हेर्नुहोला।

https://www.city.fukuoka.lg.jp/soki/kokusai/shisei/seikatugaidansu/guidance.html

2022.02.24[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【शिरोउओ माछा मार्ने अर्थात् आइस गोबी (Ice Goby) माछा मार्नेबारे जानकारी】

फुकुओकामा वसन्तको आगमनको रुपमा चिनिनेहरुमध्येमा एक हो, शिरोउओ माछा मार्ने। शिरोउओ माछालाई अंग्रेजीमा Ice Goby भनिन्छ। शिरोउओ माछा गोबी समूहमा पर्ने, शारीरिक लम्बाइ ४ देखि ५ सेन्टिमिटर र  पारदर्शी शरीर भएको सानो माछा हो।

यो माछा सामान्यतया समुन्द्रि किनारमा कम गहिराईको पानीमा बस्छ। वसन्तको प्रारम्भमा, अण्डा पार्नको लागि नदीमा जान्छ र यसले बालुवामुनि अण्डा पार्छ। विशेष गरी, फुकुओका शहरको मुरोमी-गावा नदीमा आयोजना हुने शिरोउओ माछा मार्ने तरिकालाई एडो कालदेखिको परम्परागत माछा मार्ने तरिका भनेर चिनिन्छ।

हाल, फुकुओका प्रिफेक्चरमा शिरोउओ माछा मार्ने काम हुँदै आईरहेको एक मात्र नदी, मुरोमी हो जहाँ अप्रिलको मध्यसम्म माछा मार्ने जारी रहनेछ। नजिकै शिरोउओ माछा खान पाइने रेस्टुरेन्टहरू छन्  जहाँ सूप, टेम्पुरा, र तामागोतोजी जस्ता विभिन्न तरिकाले यो माछा खान सक्नुहुन्छ तर सबैभन्दा भिन्न तरिकाबाट खाने भनेको odori-gui हो । जिउँदो  शिरोउओ माछालाई जालीको पन्युले लिएर, भेनेगर र सोया सससँग मुखमा खन्याएर खानाले, मुखभित्र फुत्तफुत्त उफ्रेको जस्तो विशेष खालको खानाको स्वादको अनुभव लिन सक्नुहुन्छ । यो अलि अनौठो त छ, तर पनि हिम्मत हुने व्यक्तिहरुले, प्रयास गरेर हेर्नुहोला ।

 

 

【शहर तथा प्रान्तीय कर फाइल गर्ने सम्बन्धि】

फुकुओका शहरले रेइवा ४ को शहर तथा प्रान्तीय कर फारम पठाईएको छ।

कर फाइल गर्ने म्याद, मार्च १५ मंगलबारसम्म हो। वार्ड कार्यालयको कर बिभागले सोमबारदेखि शुक्रबार बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म कर फाइल स्वीकार गर्दछ।

काउण्टर भिडभाड हुने भएकोले, कृपया हुलाक वा अनलाइन, त्यस्तै अस्थायी काउण्टरमा बुझाउन हुन अनुरोध गरिन्छ।

 

फुकुओका शहरमा कर फाइल गर्न आवश्यक व्यक्तिहरु भन्नाले, २०२२ को जनवरी १ देखि फुकुओका शहरभित्र ठेगाना भई २०२१मा आम्दानी भएका व्यक्तिहरु पर्छन्।

कर कार्यालयमा अन्तिम कर फिर्ती निवेदन पेश गर्नुहुने वा तलब आय मात्र भएको व्यक्तिको हकमा कम्पनीमा वर्षान्तको समायोजन गर्नुहुने आदिले कर फाइल गर्न आवश्यक छैन।

 

कर फाइलका लागि आवश्यक कागजातहरु,

•       माइनम्बर कार्ड वा माइनम्बर बुझ्न सजिलो कागजपत्र र सवारीचालक परिचय पत्र, पासपोर्ट, बसोबास कार्ड आदि पहिचान खुल्ने कागजातहरू

•       गेन्सेन्च्योउस्युउह्योउ आदि जस्ता २०२१ को आय देखाउने कागजातहरु

•       २०२१ मा गरिएको कटौतीहरुको कागजातहरू

 

अस्थायी कर काउण्टर वा, आवश्यक कागजात वा कर फाइल गर्न आवश्यक छ छैन आदि बारे बिस्तृत जानकारीका लागि कृपया आफू बसोबास गर्दै आएको स्थानीय वार्ड कार्यालयको होमपेजमा हेर्नुहोला। नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली जस्ता १८ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ।

फोन नम्बर, ०९२-७५३-६११३ हो।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुन्छ।

तपाईं आफू बस्ने वार्ड र कर फाइलबारे बुझ्न चाहेको भन्नुहोला।

यस अतिरिक्त, वार्ड कार्यालयमा जानुहुँदा पनि आफ्नो फोन प्रयोग गरेर यस सेवा मार्फत् अनुवाद गर्न सकिने भएकोले नहिच्किचाइकन यसको प्रयोग गर्नुहोला।

2022.02.17[Thu] 09:00

आवास(住宅) , अन्य(その他)

【बिरालो दिवस】

फेब्रुअरी २२ "बिरालो दिवस" हो। "बिरालोसँग बस्दा पाउने खुशीप्रति धन्यवाद दिंदै , बिरालोसँगै यो खुशी बाड्नको लागी वार्षिकोत्सव" को उद्देश्यले सन् १९८७ मा यस दिवसको स्थापना भएको थियो।

हरेक वर्ष, फेब्रुअरी २२ लाई "बिरालो दिवस" को रूपमाबिरालोसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू र अभियानहरू आयोजना गरिन्छ, साथै बिरालासँग सम्बन्धित शैक्षिक गतिविधिहरू पनि आयोजना गरिन्छ। यस दिवसको लागि फेब्रुअरी २२ रोज्नुको कारण, बिरालो कराउँदा  आउने आवाज "न्यान", "न्यान", "न्यान", जुन जापानी भाषाको "नि","नि", "नि" शब्दको सामान उच्चारण भएकोले हो भनिन्छ।

साथै, बिरालो दिवस संसारभर विभिन्न देशहरूमा मनाईन्छ, प्रायःजसो युरोपेली देशहरूमा World Cat Day भनेर फेब्रुअरी १७, रसियामा मार्च १ र संयुक्त राज्य अमेरिकामा अक्टोबर २९ मा मनाईने गरेको देखिन्छ।

 

 

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

【‘विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को परिचय】

 

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईंले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। काउन्टर दिउँसो ३:३० बजेसम्म खुल्ला रहनेछ।

 

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैनI

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

 

गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्I

 

विस्तृत जानकारीका लागि, फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोलाI

सोमबारदेखि शुक्रबार ९:०० देखि १८:०० सम्म कल स्वीकार गरिन्छ I

 

नयाँ कोरोनाभाइरस संक्रमण रोक्नको लागि, यहाँ आउनुहुँदा सकेसम्म मास्क लगाउन र हात धुनका लागि अनुरोध गर्दछौंI

 

 

【अन्तर्राष्ट्रिय विद्यार्थी परिवारिक कोठा वा एकल कोठामा बस्न तथा सहायक (RA) हुनका लागि आवेदन सम्बन्धि जानकारी】

फुकुओका शहर क्षेत्र भित्रको विश्वविद्यालय र स्नातकमा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागी, अन्तर्राष्ट्रिय विद्यार्थी परिवारिक कोठा वा एकल कोठामा बस्न चाहानेहरु तथा RA अर्थात् सहायक हुन चाहानेहरुको आवेदन लिईदैछौं।

अन्तिम मिति फेब्रुअरीको २५ तारिक हो।

 

सर्नको लागी विद्यार्थीको योग्यता, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको गतिविधिहरुमा सक्रिय रूपमा भाग लिन सक्ने र सहयोग गर्न सक्ने हुनुपर्छ।

यस पटकको आवेदनमा, परिवारिक कोठामा एक्लै बस्न पनि सम्भव छ।

 

आवेदनको निर्देशनहरु आदि अधिक जानकारीको लागी, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन" को होमपेजमा हेर्न वा ईमेल (dorm@fcif.or.jp) मा सम्पर्क गर्नुहोला।

 

2022.02.10[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【“Hot pot खाना”को परिचय】

फेब्रुअरी वर्षको सबैभन्दा जाडो महिना हो। अत्यन्तै जाडोमा Hot pot खाना खानु अति उत्तम हुन्छ।

वास्तवमा, Hot pot खाना एकदम सजिलै र कम खर्चमा पकाउन सकिन्छ।

१०० येनको पसलमा, ५०० येन भन्दा कममा Hot pot खाना बनाउने भाँडा किन्न सक्नुहुन्छ।

त्यसपछि गर्नुपर्ने भनेको, आफूलाई मनपर्ने मासु, माछा र तरकारीहरू जस्ता सामग्रीहरू काटेर, सूप हालेर उमाल्ने मात्र हो।

छैन त सजिलो?

 

फुकुओका शहर "मोचु नाबे" को लागि प्रसिद्ध छ। रेस्टुरेन्टमा खाने भन्दा परिवार र साथीहरूसँग पकाएर खाँदा धेरै सस्तो पर्न जान्छ।

Hot pot खाना खाँदा अन्तमा बाँकि भएको झोलमा भात वा Instant ramen हालेर खान पनि स्वादिष्ट हुन्छ।

घरमै मनोरञ्जन लिन सकिने Hot pot खाना, जाडो महिनामा बेलुकीको खानाको रुपमा खानका लागि सुझाव दिईन्छ ।

 

 

【“नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना”】

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

फुकुओका शहरमा, तेस्रो पटकको खोप शुरु भएको छ।

दोस्रो पटकको खोप लिईसक्नु भएका, १८ वर्षका वा सोभन्दा माथिका फुकुओका शहरको नागरिकहरुलाई , फुकुओका शहरले तेस्रो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाइनेछ।

दोस्रो पटकको खोप लगाएको लगभग ७ महिनापछि खोप कुपन पठाइनेछ।

 

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

 

खोप दिने स्थानहरु, स्थानीय क्लिनिक र प्रत्येक वार्डको सामूहिक खोप केन्द्र हुन्।

ताजा जानकारीका लागि कृपया फुकुओका सिटीको होमपेजमा हेर्नुहोस्।

अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी भाषा लगायत सरल जापानी भाषामा राखिएको छ।

 

तसर्थ, यदि, पहिलो वा दोस्रो खोप नलिएका व्यक्तिहरुमध्ये, खोप लिन चाहनुहुन्छ भने, खोप लगाउन सकिने स्थानहरु आदिको बारेमा, फुकुओका शहरको होमपेज वा कल सेन्टरमा बुझ्नुहोला।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श लिन र बुकिंग गर्न सकिने फोन नम्बर रहेको छ,

०९२-२६०-८४०५ । हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

खोप निःशुल्क हो। कुनै पनि पैसा लाग्ने छैन।

साथै, फोन वा ईमेलबाट व्यक्तिगत जानकारीको लागि सोधिने छैन।

कृपया शंकास्पद फोन कल र ईमेलदेखि सावधान रहनुहोस्।

2022.02.03[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】
कल्पना कंडेल
(विद्यार्थी)

2022.01.27[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【प्रोफेसनल बेसबल दिवस】

फेब्रुअरी ५  तारिक प्रोफेसनल बेसबल दिवस हो।

सन् १९३६को यस दिनमा, वर्तमान निप्पोन प्रोफेसनल बेसबल ओर्गनाईजेसनको गठन भई, प्रोफेसनल बेसबलको शुरुवात भएको सम्झनामा यसको स्थापना भएको थियो।

प्रथम करार खेलाडी मिहारा ओसामु हुन्, जसले पहिले नै टोकियो जाइन्ट्ससँग सम्झौता गरिसकेका थिए। त्यो बेला उनको मासिक तलब १७७ येन थियो।

त्यस समयमा क्याम्पस स्नातकहरूकै शुरुवाती तलब लगभग ६४ येन थियो, यस अर्थमा उनको  एकदम उच्च तलब थियो।

फुकुओका शहरमा आबद्ध  Fukuoka Softbank Hawks गत वर्षको लिगमा चौथो स्थानमा टुंगिएको थियो। यस वर्ष, निर्देशक पनि नयाँ भएकोले  खेल शैलीमा परिवर्तन तथा अझ उत्कृष्ट खेलका लागि शुभकामना ।

हामी सबैले पनि समर्थन गरौं है।

 

 

【जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना】 

फेब्रुअरी महिना जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना हो।

 

जीवनशैलीसँग सम्बन्धित रोगहरू "जीवनशैली" को कारणले हुने रोगहरू हुन्।

 

जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, र मायोकार्डियल इन्फ्रक्सन आदि असन्तुलित आहार र व्यायामको कमीले गर्दा हुन्छ।

 

साथै, धुम्रपान, अत्याधिक मद्यपान र तनावका कारण पनि जीवनशैलीसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।

 

स्वस्थ जीवन जिउनका लागि दिनको तीन पटक निश्चित समयमा सन्तुलित र उचित मात्रामा खाना खानु जरुरी छ। तयारी खानेकुरा र चिल्लो खानेकुरा जस्ता पौष्टिक तत्व कम हुने आहारलाई निरन्तरता दिँदा मोटोपना र मधुमेह जस्ता रोग लाग्न सक्छ।

 

साथै, राम्रोसँग चपाउँदा पाचन प्रणालीमा भार कम हुन्छ र मुखको वरपरका मांसपेशीहरू बलियो हुन्छ।

 

कम्तिमा पनि २० मिनेटको हाराहारीमा  बिस्तारै खाने गरौं।

 

 

 

व्यायामको कमीको कारणले मांसपेशिहरु घट्यो भने, Basal metabolism कम हुन गई, तौल बढ्ने सम्भावना बढी हुनेछ।

 

यस अतिरिक्त, मधुमेह जस्ता रोग लाग्ने जोखिम पनि बढाउँछ।

 

मांसपेशी र शरीरलाई तन्दुरुस्त कायम राख्न व्यायाम जारी राख्ने गरौं।

 

व्यायाम गर्ने अवसर कम भएका व्यक्तिहरुले, अहिले भन्दा लगभग १० मिनेट बढि हिड्ने प्रयास गरौं।

 

निद्राले मानसिक र शारीरिक थकान हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ।

 

रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, निद्राको समय सुरक्षित गर्न र निद्राको गुणस्तर सुधार गर्न आवश्यक छ।

 

सुत्नुअघि स्मार्टफोन चलाउने, टिभी हेर्ने, क्याफिन खाने तथा अल्कोहल पिउने बानी नगरौं  किनभने यसले तपाईंको निद्राको गुणस्तर घटाउँछ।

 

साथै, मनतातो पानीमा बस्ने जस्ता आफ्नै किसिमको आराम गर्ने तरिकाहरु पत्ता लगाई, तनावमुक्त जीवन बिताउने प्रयास गरौं।

 

 

 

यस अवसरमा, तपाईं हामी पनि आफ्नो दैनिक जीवनशैलीको बारेमा सोचेर हेर्ने होइन त?

 

2022.01.20[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【मूला】

डिसेम्बरदेखि फेब्रुअरीसम्म स्वादिष्ट हुने तरकारी हो, मूला।

पात र जरा पौष्टिक तत्वले भरिपूर्ण भई, पकाएर खाए पनि काँचै खाए पनि  मूला स्वादिष्ट हुन्छ।

मूला जापानभर उत्पादन गरिन्छ, तर फुकुओका शहरमा चाहिं, सावारा वार्डको हारा, निशी वार्डको कानाटाके र किताजाकीमा उत्पादन गरिंदै आएको देखिन्छ।

 

मूला किन्दा, जराको भाग धेरै भई भारीपन भएको, सेतो र पोष्ट देखिने मूला छान्ने गरौं।

पातहरू भएको मूला भएमा, ताजा हरियो र नओइलाएको उत्तम हुन्छ, तर यदि पातहरू काटिएका छन् भने, काटिएको भाग ताजा भएकोवाला छान्नेगरौं।

पातहरु भएको मूला किन्नुभएको खण्डमा, यसलाई तुरुन्तै काटेर छुट्टै भण्डार गर्नुहोस्। राम्रोसँग  प्लास्टिक र्यापले बेरेर, जाडोमा चिसो र अँध्यारो ठाउँमा राख्नुहोस्, र अन्य मौसमहरूमा फ्रिजको तरकारी डिब्बामा राख्नुहोस्।

पातहरूलाई तातो पानीमा उमालेर, साना भागहरूमा विभाजन गरि फ्रीजरमा भण्डारण गर्नु भयो भने, खाना बनाउँदा यसलाई थप स्वादको रूपमा प्रयोग गर्न सजिलो  हुन्छ।

जराको भागमा भिटामिन C र पाचन इन्जाइम एमाइलेज हुन्छ, यसका साथै, पिसेको मूलाले पाचन शक्तिलाई बढाउँछ। पातको भागमा कैरोटिन, क्याल्सियम र फाइबरको मात्रा प्रशस्त हुन्छ। यसलाई मिसो सूपमा हालेर वा चिरिमेन्ज्याको अर्थात् सुक्खा सानो माछा हालेर हल्का भुटेर खान पनि स्वादिलो हुन्छ।

 

 

【नोरोभाइरसदेखि सावधान!】

जाडोमा, नोरोभाइरसको कारण वान्ता हुने, पखाला हुने, पेट दुख्ने र बान्ता आउला जस्तो हुने  समस्या बढी हुने गर्छ।

यो भाइरस शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि संक्रमित हुन्छ।

 

भाइरस हात वा खानाद्वारा शरीरमा प्रवेश भई, यसले पखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ।

संक्रमित व्यक्तिको बान्ता वा पखालाको कारण हावामा भएको भाइरस, सास लिंदा संक्रमित हुने वा संक्रमित व्यक्तिले पकाएको खाना खाएर पनि सर्न सक्दछ।

साथै, भाइरस भएको oysters आदि जस्ता bivalves नतताईकन खाँदा पनि भाइरस सर्न सक्दछ।

 

धेरै मात्रामा बान्ता र पखालाबाट डिहाईड्रेसन हुन सक्छ।

तुरुन्तै चिकित्सकलाई देखाउने गरौं।

यो सामान्यतयाः २, ३ दिनमा निको हुन्छ, तर लक्षणहरू हराए पनि १ हप्तादेखि १ महिनासम्म, भाइरस दिसामा निस्कन्छ, र यो अन्य व्यक्तिहरूलाई संक्रमित गराउने कारण बन्ने भएकोले यसप्रति सजक रहौं।

       

संक्रमणलाई बढ्न नदिन, निम्न रोकथामका बिधिहरू अपनाऔं।

खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय पछि, आदि साबुनले राम्ररी हात धुने गरौं।

खाना पकाउने भाँडाहरू हरेक पटक प्रयोग गरेपछि राम्रोसँग धोएर उमालेको पानी वा क्लोरीन ब्लीचले कीटाणुरहित पार्ने गरौं।

अल्कोहल युक्त किटनाशक भने नोरोभाइरस विरुद्ध कम प्रभावकारी हुन्छ।

नोरोभाइरस ८५℃ देखि ९०℃ तापक्रममा ९० सेकेन्ड वा सो भन्दा बढि ततायो भने मर्छ।

खानेकुरालाई पर्याप्त मात्रामा तताउने गरौं। काँचो खाने तरकारी र फलफूल राम्रोसँग धोएर प्रयोग गरौं।

शरीर सन्चो नभएको बेला खाना नपकाउनु राम्रो हुन्छ।

 

 

【अंग्रेजी भाषामा मनोरञ्जन लिन सकिने ‘फुकुओका दरवार भग्नावशेषको पैदल यात्रा’ सम्बन्धि】

〇भाषा स्वयंसेवकहरूले अंग्रेजीमा फुकुओका दरवारको भग्नावशेषमा मार्गदर्शन गराउने पैदल यात्रा सम्बन्धि जानकारी रहेको छ।

फेब्रुअरीको हरेक शनिबार १०:३० देखि १२:०० बजेसम्म, सहभागिता शुल्क १०० येन हो।

प्रत्येक हप्ता प्रथम  १० जना आवेदकहरुसम्मलाई  लिन्छौं, र सहभागिताको इच्छित मिति भन्दा एक हप्ता अघि सम्म आवेदन दिन सक्नुहुन्छ।

थप जानकारीको लागि, फोन नम्बर ०९२-७३३-५०५० मा सम्पर्क गर्नुहोस्।

कृपया फुकुओका पर्यटन कन्भेन्सन ब्यूरोमा सम्पर्क गर्नुहोस्।

के तपाईं पनि गाइडसँग फुकुओकाको इतिहास पुन: पत्ता लगाउन चाहनुहुन्न त?

चाहनुहुन्छ भने, लोकप्रिय यस भ्रमणमा सहभागिताको लागि छिटोभन्दा छिटो आवेदन दिनुहोला है!

2022.01.13[Thu] 09:00

जापानी भाषा(日本語) , आवास(住宅)

【बिजुलीको प्रयोग नगरिकन जाडोबाट बच्ने उपायहरु】

जनवरी २०, वर्षको सबैभन्दा जाडो भनिने "दाईखान"को दिन हो।

अत्यन्तै जाडोमा, कोठा तताउने सामान प्रयोग गर्दा पनि कोठा न्यानो गर्न गाह्रो हुन सक्छ। कोठा न्यानो नभएर, धेरै समय कोठा तताउने सामान प्रयोग गर्दा बिजुलीको बिल बढ्ने पनि हुन्छ। फेरी, यदि जाडो सहनु भयो भने बिरामी पर्न सक्छ। तसर्थ, बिजुलीको प्रयोग नगरिकन जाडोबाट बच्ने केही उपायहरु यहाँ भन्न चाहन्छु।

 

①बाक्लो पर्दाको प्रयोग गर्नुहोस्।

ताप र ध्वनिको प्रतिरोधात्मक प्रभावहरू भएको, विशेष रूपमा उत्पादन गरिएको कपडाबाट बनाईएका पर्दाहरू बजारमा पाईने हुनाले, यदि नयाँ पर्दा लगाउने सोच छ भने, चिसोबाट बचाउन सक्ने यस्ता पर्दाहरु छानौं। साथै, झ्यालबाट आउने चिसो हावा कोठामा छिर्न नदिनको लागि पर्दाको लम्बाइ भुइँमा छुने गरि अलिकति लत्रिने गर्नु भए पनि हुन्छ।

 

② बाक्लो कार्पेट वा गलैंचा बिछ्याउनुहोस्।

चिसो हावा सजिलै सर्न सक्ने भुइँमा, बाक्लो कार्पेट वा गलैंचाको प्रयोग गरि चिसो हुनबाट जोगाउन सकिन्छ। विशेष गरी भुवादारवाला प्रयोग गर्नुभयो भने, यसको र भुइँको बीचमा हावाको तह बन्ने भएकोले, यसले चिसो हावाको महसुस कम गराउँछ। यसका साथै, भुइँसँगको बीचमा हावाको तह रहने हुनाले ध्वनी प्रतिरोधात्मक पनि हुन्छ।

 

यस बाहेक, १००-येनको पसलमा जोइन्ट म्याट जस्ता धेरै पैसा खर्च नगरी जाडोबाट बच्न प्रयोग गर्न सकिने बिभिन्न सामानहरू पाईन्छन्। इच्छुक भएमा यसो पसलतिर हेर्नु भए कसो होला!

 

 

【“Japanese Chatting Event” को परिचय】

〇 फुकुओकामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू,

के तपाईंहरुलाई हरेक महिनाको एक पटक आयोजना हुने "Japanese Chatting Event" को बारेमा थाहा छ?

Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ। हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, अवश्य पनि सहभागी हुनुहोला। सहभागिता शुल्क नि:शुल्क हो।

अर्को आयोजना जनवरी ३१, अनलाइनमा हुनेछ।

 

प्रयोग गर्ने तरिका तथा बुकिंग आदिको अधिक जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुक पेज ‘आत्ताखा फुकुओका’(あったか福岡)मा हेनुहोला वा फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क राख्नुहोला।

सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ ।

तपाईंहरुको सहभागीताका लागि पर्खीरहेका छौं।

 

 

【‘अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि आवास- परिवारिक कोठा’ सम्बन्धि आवेदन जानकारी】

फुकुओका शहर क्षेत्र भित्रको विश्वविद्यालय र स्नातकमा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागी, अन्तर्राष्ट्रिय विद्यार्थी परिवारिक कोठामा सर्न चाहानेहरुको आवेदन लिईदैछौं।

 

सर्नको लागी विद्यार्थीको योग्यता, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको गतिविधिहरुमा सक्रिय रूपमा भाग लिन सक्ने र सहयोग गर्न सक्ने हुनुपर्छ। बस्न पाउने अवधि, बसेको मितिबाट २ बर्ष हो। यस पटकको आवेदनमा, एक्लै बस्न पनि सम्भव छ।

 

आवेदनको निर्देशनहरु आदि अधिक जानकारीको लागी, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन" को होमपेजमा हेर्न वा ईमेल (dorm@fcif.or.jp) मा सम्पर्क गर्नुहोला।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ