ブログ

ポッドキャスト

ポッドキャスト RSS

2021.06.17[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【FM दिवस】

जुन १३ "FM दिवस" थियो। F अल्फावेटको छैठौं र M तेर्हऔं बाट आएको हो। तर कहिले, कसले र कुन उद्देश्यका लागि बनाएको थाहा छैन।

Frequency Modulation को संक्षिप्त FM हो भने, Amplitude Modulation को संक्षिप्त AM हो।

तपाईंहरुमध्ये कोही रेडियो सुन्दै काम गरिरहनु भएको हुनुहुन्छ होला।

हालसालै, स्मार्टफोन र कम्पुटरबाट रेडियो सुन्न सम्भव भएको छ, तर "FM" र "AM" बीच के भिन्नता छ होला त? सबैभन्दा ठूलो भिन्नता भनेको ध्वनि हो।

"AM" को मामलामा, आयाम परिवर्तन गर्ने भएकोले, यदि आयाम कम भएको बेलामा ध्वनि छिर्यो भने, सहि संकेतको रूपमा पहिचान हुन पाउँदैन। यसको विपरित, "FM" को मामलामा, त्यस्तो कुनै समस्या छैन।

श्रव्यताको मामलामा, "AM" भन्दा "FM" उत्तम छ।

यसको विपरित, "FM" केवल एक सीमित दायरामा प्राप्त गर्न सकिन्छ, तर "AM" विस्तृत दायरामा प्राप्त गर्न सकिन्छ।

संगीत र कुराकानीको मनोरञ्जन दिने रेडियो, अभूतपूर्व छ।

 

【बाल भत्ताको वर्तमान स्थिति प्रतिवेदन सम्बन्धि】

जुनियर हाईस्कूलसम्मका बच्चाहरुलाई हुर्काउँदै गरेको व्यक्तिहरुलाई बाल भत्ता प्रदान गरिंदै आइरहेको छI

भत्ता रकम, बच्चाको उमेर वा तपाईंको आम्दानी अनुसार प्रति बालक महिनाको ५,००० देखि १५,००० येन होI

४ महिनाको एकमुष्ठ रकम; जुन, अक्टोबर र फेब्रुअरी महिनाहरूमा भुक्तानी गरिनेछI

बाल भत्ता प्राप्त गर्नको लागि तपाईंले हरेक वर्ष वर्तमान स्थिति प्रतिवेदन (गेन्क्योउ तोदोके) बुझाउनु आवश्यक छI

जुन महिनाको शुरुतिर, फुकुओका शहरबाट सम्बन्धित व्यक्तिलाई वर्तमान स्थिति प्रतिवेदनको कागजपत्र पठाईएको छI

कृपया आवश्यक जानकारीहरु भरेर, जुनको ३० तारिखभित्र पुग्ने गरी हुलाक मार्फत पठाउनु होलाI

साथै, माई नम्बर कार्ड प्रयोग गरि अनलाइनबाट पनि आवेदन दिन सक्नुहुन्छI

यदि तपाईंले यो रिपोर्ट बुझाउनु भएन वा पूर्ण विवरण पेश गर्नु भएन भने, तपाईंले यो भत्ता पाउनुहुन्नI त्यसैले कृपया ध्यान दिनुहोलाI

 

【कर सम्बन्धि】

जनवरी १ देखि फुकुओकामा बस्दै आउनुभएको व्यक्तिको, यदि अघिल्लो वर्षको आय १०लाख नाघेको भए, फुकुओका प्रान्तको कर तिर्नु पर्ने हुन सक्दछ।

कम्पनिमा काम गर्नेहरुको तलबबाट कटाईन्छ।

कम्पनिमा काम नगर्नेहरुलाई, जुन १५ तिर कर तिर्न सूचना आउन सक्ने भएकोले अवश्य पनि खामभित्र हेर्नुहोला। तिर्नुपर्ने म्याद र शुल्क लेखिएको हुन्छ।

कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।

 

शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले जपत गर्ने सम्भावना पनि हुन्छ।

 

नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।

१८ वटा भाषाहरुमा, फोनमार्फत् परामर्श लिन सक्नुहुन्छ।

फोन नम्बर, ०९२-७५३-६११३

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

2021.06.10[Thu] 09:00

प्राकृतिक प्रकोप(災害)

【वाशिंग मेशिन सफा गर्ने सम्बन्धि】

जुन महिना अत्याधिक वर्षासँगै आर्द्रता बेसी हुने मौसम हो। यस समयमा, किटाणुहरूको विकास सजिलै हुने र धूलोको कसिंगर पनि बढ्ने गर्छन्। त्यसैले सकेसम्म खानेकुराहरु फ्रिजमा राख्ने गरौँ।

साँच्चै, तपाईंहरुले वाशिंग मेशिन अन्तिम पटक कहिले सफा गर्नुभयो?

सम्भव भएमा महिनामा एक पटक वाशिंग मेशिन सफा गर्ने गरौँ। वाशिंग मेशिन सफा राख्दा किटाणुहरूको विकास हुन पाउँदैन।

सबैभन्दा सजिलो तरिका भनेको, १०० येन सप आदिमा बेकिंग सोडा, जापानी भाषामा ‘ज्युउसोउ’किनेर, लुगा नराखिकन वाशिंग मेशिनमा फिजाउने र पानी नफालिकन ५-६ घण्टा राखी छोड्ने।

तैरिएको फोहरलाई झिक्ने, अनि पखालेर फोहर पानीलाई फाल्ने।

सकेपछि, २-३ घण्टा जति ढकनी नराखिकन सुक्नदिऔं।

वाशिंग मेशिन डिटर्जन्टहरू पनि बजारमा पाउँछ, यसलाई राम्रोसँग प्रयोग गरि वाशिंग मेशिन सफा गरि राख्नुस्।

साथै, राती अबेर वाशिंग मेशिन चलाउनु भयो भने, छिमेकिलाई हल्ला हुन सक्छ, त्यसैले कृपया सम्भव भएमा दिनको समयमा प्रयोग गर्नुहोस्।

 

【चुयु र भारी वर्षा सम्बन्धि】

जापानमा जुनदेखि जुलाईसम्मलाई  "चुयु" अर्थात् वर्षा ऋतु भनिन्छ र यस बखत भारी वर्षा हुने गर्दछI

यस वर्ष वर्षायाम चाँडै शुरु भई, उत्तरी क्युशु भेगमा मे १५ देखि वर्षायाम शुरू भयो।

भारी वर्षाको कारण प्रकोपहरू हुने सम्भावना भएकोले ध्यान दिनुहोला।

 

गत वर्ष, जुलाई २०२० मा, अत्याधिक मात्रामा भारी वर्षा भई, फुकुओका प्रान्तमा पनि भारी वर्षाले धेरै क्षति पुर्याएको थियोI

अधिक वर्षा हुँदा, नदी, तट वा पहाड नजिकको चट्टानहरू जस्ता खतराजनक ठाउँहरू नजिक नजानुहोस् र आफ्नो जीवन रक्षाको लागि कदम चाल्नुहोस्I

 

फुकुओका सिटिको होमपेजमा Hazard map र विपद् रोकथाम सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छI

आफू बस्ने क्षेत्रमा हुन सक्ने सम्भावित खतरा र आश्रय स्थलमा जाने सुरक्षित तरिका आदिको बारेमा अग्रिम जानकारी राख्ने गरौँI

आश्रय स्थलमा जाँदा मास्क लगाउने, हात धुने, आदि नयाँ कोरोनाभाइरसको संक्रमणलाई रोक्न उपायहरू अपनाउन हुन अनुरोध गर्दछौं।

‘Support for Foreign Residents’ को साइटमा गएर, Fukuoka City Support for Foreigners को पेजबाट विपद् रोकथाम सम्बन्धि जानकारीहरु हेर्नुहोलाI

 

फुकुओका शहरको महत्वपूर्ण जानकारीहरु, फुकुओका सिटिको आधिकारिक Facebook ‘Global Community Fukuoka’ वा फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको Facebook ‘फुकुओका शी कोकुसाई खाईखान्/ आत्ताखा फुकुओका「福岡市国際会館/あったか福岡」बाट पनि बहुभाषामा प्राप्त गर्न सक्नुहुन्छI पेजलाई follow गरेर, सामान्यदेखि महत्वपूर्ण जानकारीहरु लिनु होलाI

 

【आइकासाको बारेमा】

त्यस्तै, फुकुओका शहरमा छाताको Sharing service ‘आइकासा’「アイカサ」को शुरु गरिएको छI

सबवे स्टेशन र डिपार्टमेन्ट स्टोरहरूमा छाता सापट लिन मिल्ने स्पटहरु भएकाले, स्मार्टफोन प्रयोग गरि छाता सजिलैसँग सापट लिन सक्नुहुन्छ।

 

चौबीसै घण्टा ७० येनमा प्रयोग गर्न सकिने, प्लास्टिकको छाता किन्नुभन्दा सस्तो र वातावरणलाई पनि राम्रो भएकोले, अचानक वर्षा हुँदा आदि जस्तोमा कृपया प्रयोग गरेर हेर्नुहोस्I

बिस्तृत जानकारी ‘आइकासा फुकुओका शी’ 「アイカサ 福岡市」मा हेर्नुहोलाI

2021.06.03[Thu] 09:00

जापानी भाषा(日本語) , चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【June bride】

युरोपमा जुन ब्राईडको किन्बदन्ति लामो समयदेखि चलिआएको छ, जस अनुसार "जुनमा विवाह गर्ने दुलही खुशी हुन्छिन्" भनिन्छ। यस्तो भन्नुमा, विभिन्न कारणहरू छन्, तर प्रमुख कारणहरूमध्ये एउटा भनेको, ग्रीक पौराणिक कथाको सर्वोच्च देवता ज्यूसकी श्रीमती, जसलाई विवाहको देवी हेराले सुरक्षित गर्छिन्, र उहाँको नामबाट जुन महिना आएको मानिन्छ।

 

एउटा भनाई यो पनि छ कि, युरोपमा खेतीपातीको व्यस्त समय, मार्चदेखि मेसम्मको विवाहमा रोक लगाएको थियो, त्यसैले जुनमा विवाह गर्ने धेरै मानिसहरू हुन्थ्यो।

 

यो लगभग ५० वर्ष पहिले जापानमा फैलियो, र होटल उद्योगले वर्षायामको जुन महिनामा विवाहको संख्या बढाउन बिभिन्न क्यानपेनहरु शुरू गर्‍यो।

हाम्रो नेपालमा भने प्रायःजसो बिवाह माघ फाल्गुणतिर हुने गर्छ नि है!

 

【やさしい日本語ラジオ講座 अर्थात् सरल जापानी भाषा रेडियो कोर्सको परिचय】

जुनदेखि “सरल जापानी भाषा रेडियो कोर्स” को प्रसारण शुरू हुन्छ!

यो कार्यक्रम, जापानी भाषा राम्ररी नबुझ्ने विदेशीहरू सबैका लागि हो, र यस कार्यक्रममा “सरल जापानी भाषा”  मा बिस्तारै बोलिन्छ।

विदेशीहरुले जापानमा बसोबास गर्दा थाहा पाउनु पर्ने सूचनाहरुको बारेमा जानकारी दिईन्छ।

   

रेडियो प्रसारण, प्रत्येक शुक्रवार ११:५४ बाट हो भने, पहिलो पटकको प्रसारण जुन ४ मा छ।

बुझ्न नसकेको कुरा भएमा, वा सुन्न छुटेको भएमा पनि ठिकै छ!

Love FM को होमपेजमा पोष्ट गरिएको स्क्रिप्टमा हेरेर Podcast मा बारम्बार सुन्न सक्नुहुन्छ।

कृपया यसलाई सुनेर हेर्नुहोला।

 

【HIV परिक्षण बिस्तृतिकरण सप्ताहको बारेमा】

जुन १ देखि जुन ७ सम्मको १ हप्ता "HIV परिक्षण बिस्तृतिकरण सप्ताह" हो।

रेवाको दोस्रो वर्षमा, फुकुओका शहरको चिकित्सा संस्थानहरूले दिएको नयाँ रिपोर्ट अनुसार HIV संक्रमित व्यक्तिहरु २६ जना र एड्सका बिरामीहरू ९ जना थिए।

 

HIV संक्रमणको रोकथाम, प्रारम्भिक पहिचान र प्रारम्भिक उपचार महत्त्वपूर्ण छ।

HIV संक्रमण हुँदैमा, धेरैजसो लक्षणहरू नदेखिने भएकोले, संक्रमण छ कि छैन भनेर पत्ता लगाउन परिक्षण गर्न आवश्यक छ।

प्रत्येक वार्डको Health and Welfare Center मा, HIV परिक्षण निःशुल्क र गोप्य रूपमा गर्न सक्नुहुन्छ।

परिक्षण गर्न मिल्ने दिन तोकिएको हुनाले, कृपया जानुअघि Health and Welfare Center को होमपेज आदिबाट अग्रिम जानकारी लिनुहोला।

 

HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचारले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, आफुलाई शंका लाग्ने बित्तिकै, प्रारम्भिक परिक्षण गर्ने गरौँ।

2021.05.27[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】
समुन्द्र कुमार थापा
(Kyushu University मा विद्यावारिधिमा अध्यनरत Graduate School of Information Science and Electrical Engineering)

2021.05.20[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【सोरामामे अर्थात् बकुला】

बकुला जापानभरि उब्जाईने तरकारी हो। फसलको समय, मार्चदेखि जुनसम्म लामो हुन्छ। त्यसकारण, shigatsu-mame, gogatsu-mame, र natsu-mame भनेर ठाउँ अनुसार नाम पनि फरक छ।

यो हरियो, ताजा स्वादको र गर्मीको शुरुवातमा खाने उत्तम खाना हो।

जापानमा भने प्रायःजसो यसलाई नुनपानीमा उमालेर खाने गरिन्छ। यो स्न्याक्सको रूपमा बियरसँग धेरै जम्छ।

यस बाहेक, वास्तवमै भन्ने हो भने ताजा बकुला, काँचै पनि स्वादिष्ट हुन्छ।

सुपरमार्केटमा बकुला देख्नुभयो भने, किनेर जापानी तरिकाले नुनपानीमा उमालेर खाएर हेर्दा कसो होला त?

 

【हलुका सवारी साधन कर सम्बन्धि】

मोटरबाईक वा हलुका कार भएकाहरुले, अप्रिल १ मा हलुका सवारी साधन कर तिर्नु जरुरी छ।

 

यदि तपाईंसँग मोटरबाईक वा हलुका कार छ भने, हुलाक मार्फत कर तिर्नका लागि सूचना आउन सक्छ, अवश्य पनि भित्र हेर्नुहोला। मे को ३१ सम्ममा कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।

 

यदि तपाईंले मोटरबाईक आदिको शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले कब्जा गर्ने सम्भावना पनि छ।

 

नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।

१८ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ। फोन नम्बर, ०९२-७५३-६११३ ।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI 

2021.05.13[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他)

【Satsuki-bare】

तपाईंहरुले कहिल्यै Satsuki-bare शब्द सुन्नुभएको छ?

Satsuki-bare भन्नाले तपाईंहरुले मेको स्फूर्तिदायी मौसमको कल्पना गर्न सक्नुहुन्छ।

ताजा हरियाली भई, न जाडो न गर्मी, आर्द्रता पनि नभई, बस्न सहज, घमाइलो दिन।

यद्यपि यो वास्तविक अर्थ नभई, लुनार क्यालेन्डरमा मे महिना वर्षायामको समय भएको, र Satsuki-bare भन्नाले, वर्षायामको घमाइलो दिनलाई जनाउँदछ।

फरक अर्थ लाग्ने चीजहरू क्रमिक रुपमा स्थापना हुनु असामान्य कुरा नभई,  अब जापानी शब्दकोशमा दुवै अर्थहरू राखिएका छन्।

 

【इलेक्ट्रोनिक पुस्तकालय खोल्ने सम्बन्धि】

〇फुकुओका सिटि सार्वजनिक पुस्तकालयले इलेक्ट्रोनिक पुस्तकहरू सापटमा दिन शुरू गरेको छ।

इलेक्ट्रोनिक पुस्तकहरू, पुस्तकालयमा नगईकन पनि, कम्प्युटर वा ट्याब्लेट, स्मार्टफोन, इत्यादिबाट अनलाइनमा पुस्तकहरू सित्तैमा सापटी लिएर पढ्न मिल्ने सेवासुबिधा हो।

उपन्यास, इतिहास, स्वास्थ्य, परिकार आदि सम्बन्धि चित्र किताबहरू, लगभग ७,००० वटा जति पुस्तकहरू सापट लिन सक्नुहुन्छ।

केही पुस्तकहरु शब्द वाचन सुबिधा भएका तथा केही पुस्तकहरु ठूलो अक्षरमा पढ्न सकिने पनि छन्।

यस सुबिधाको प्रयोगकर्ताहरु भन्नाले, शहरभित्र बसोबास गर्ने, साथै शहरभित्र काम गर्ने वा स्कूल जानेहरु पर्दछन् र यसलाई प्रयोग गर्नका लागि "फुकुओका सिटि सार्वजनिक पुस्तकालय सापटी कार्ड" चाहिन्छ।

कार्ड नभएका, म्याद सकिएका, वा शहर बाहिरबाट काम गर्ने वा स्कूल जानेहरुले, कृपया फुकुओका सिटी सार्वजनिक पुस्तकालय वा प्रत्येक वार्डको शाखा पुस्तकालय, AMIKAS पुस्तकालयमा दर्ता गर्नुहोस्।

२ हप्तामा ३ वटा पुस्तकहरू सापट लिन सक्नुहुन्छ। यो म्याद सकेपछि स्वचालित रूपमा फिर्ता हुनेछ।

सामान्य जापानी भाषाको चित्र पुस्तक र अंग्रेजीको पुस्तकहरू पनि भएकोले, जापानी भाषा पढ्दै हुने महानुभाव वा विदेशी भाषाका पुस्तकहरू पढ्न चाहनुहुने महानुभावहरुले अवश्य प्रयोग गरेर हेर्नु होला।

 

【खोपका लागि शंकास्पद कलहरूबाट सावधान हुनुहोस्】

नयाँ कोरोना भाइरस खोपका लागि आवश्यक छ भन्दै, पैसा र व्यक्तिगत जानकारी लिई ठग्ने हेतुले आउने टेलिफोन कल सम्बन्धि परामर्श, उपभोक्ता मामिला विभागमा पठाईने गरिएको छ।

"कोरोना भाइरस खोप लिन सकिन्छ। पछि पैसा फिर्ता हुनेभएकोले, कृपया पैसा ट्रान्सफर गर्नुहोस्।" भनेर आफूलाई स्वास्थ्य केन्द्र भनि आउने फोन वा "नि:शुल्क कोरोना भाइरस खोप लिन सकिने" भनेर व्यक्तिगत जानकारीको लागि सोध्ने संदिग्ध कल आएको पाईन्छ।

नगरपालिकाहरूले खोपका लागि फोन वा ईमेल मार्फत् पैसा वा व्यक्तिगत जानकारीको लागि अनुरोध गर्दैनन्।

खोप निःशुल्क हो। साथै, तपाईले नगरपालिकाबाट हुलाक मार्फत् "खोपको सूचना" प्राप्त गर्नुहुनेछ।

कृपया शंकास्पद फोन कल र ईमेलप्रति सावधान रहनुहोस्।

2021.05.06[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他)

【मातृ दिवस】

मेको दोस्रो आइतवार "मातृ दिवस" । मातृ दिवस अमेरिकामा शुरू भएको पर्ब मानिन्छ।

गृहयुद्धको क्रममा, Ann Jarvis नाम गरेकी एउटी आइमाईले, विद्रोही र समर्थक केही विचार नगरी, घाइते सेनाहरूको सरसफाईमा सुधार गर्नका लागि "Mother's Day Work Club" को स्थापना गरेका थिए। उनको मृत्यु भएको दुई बर्ष पछि, उनकी छोरीले आफ्नी आमाको लागि स्मारक र्याली निकाली Ann लाई मन पर्ने सेतो कार्नेशन फूल वितरण गरेका थिए।

जापानमा पनि सन् १९१५ देखि मातृ दिवस फैलियो।

रातो कार्नेशन "आमालाई माया" र "आमाको माया", सेतो कार्नेशन "मृत आमालाई सम्झना" जस्ता फूलका शब्दहरू छन्।

हामी नेपालीहरुको आमाको मुख हेर्ने दिन, आउने मंगलबार परेको छ I तपाईंहरुले पनि त्यस दिन आफ्नो आमालाई फोन गर्नुहुन्छ होला I विदेशमा भए पनि, आजकल भिडियो कलको सुबिधा भएकोले आमाको मुख हेरेर कुरा गर्न सजिलो, अनि रमाइलो भएको छ नि है !

 

【Japanese Chatting Event・प्रसाशनिक वकिलद्वारा परामर्शको सूचना】

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

〇 फुकुओकामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू,

के तपाईंहरुलाई हरेक महिनाको एक पटक आयोजना हुने " Japanese Chatting Event "को बारेमा थाहा छ?

Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ । हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, अवश्य पनि सहभागी हुनुहोला। सहभागिता शुल्क नि:शुल्क हो।

 

〇 आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा हरेक महिनाको दोस्रो आइतवार, दिउँसो प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।

परामर्श गोप्य राखिने भएकाले, यसलाई प्रयोग गर्न नहिचकिचाउनुहोस्।

बैठक र परामर्शको समय तथा बुकिंगको बारेमा अधिक जानकारीको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क राख्नुहोला।

 

【निहोंगो Class Map को बारेमा】

फुकुओका शहरमा, स्वयंसेवक शिक्षकहरूले सिकाउने जापानी भाषा कक्षाहरू धेरै छन्।

प्रत्येक कक्षाको स्तर, सहभागिता शुल्क, सामग्री आदि जानकारी "निहोंगो Class Map" मा प्रदान गरिएको छ।

प्राथमिक कक्षाहरुमा बिस्तारै अध्ययन गर्ने, खान्जीको अभ्यास गर्ने कक्षाहरु पनि छन् , जापानी संस्कृति सिक्ने र जापानी भाषा पढ्दै रमाईलो संस्कृति आदानप्रदान गर्ने कक्षाहरु पनि छन्।

"फुकुओका सिटि निहोंगो Class Map" मा हेरेर, नजिकको जापानी भाषा कक्षा खोजी हेर्नुहोला।

2021.04.29[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

रबिन्द्र महर्जन

(Software Engineer at Yonefu International Group Co., Ltd.)

http://yonefu.com

2021.04.22[Thu] 09:00

समुदाय(コミュニティ) , अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【Golden Week बिदा】

जापानमा अप्रिल महिनाको अन्तदेखि मेको शुरुवातसम्म धेरै बिदाहरू हुने अवधिलाई Golden Week भनिन्छ।

सामान्यतया Golden Week मा जापानको विभिन्न भागमा विभिन्न चाडपर्व र कार्यक्रमहरू आयोजना गरिन्छ, तर गत बर्षदेखि नयाँ कोरोनाभाइरसको प्रभावका कारण, प्रायः जसो कार्यक्रमहरू रद्द गरिएको वा कम गरिएको छ।

यस बर्ष अनलाइन कार्यक्रम र यात्राको मज्जा लिने मानिसहरू धेरै होलान्।

अप्रिल २९ (Showa दिवस) को बिदादेखि, २०२१ को Golden Week शुरु हुनेछ।

तपाईंहरु कसरी बिदा मनाउनुहुन्छ?

घरमा आराम गर्नु पनि राम्रै हुन्छ, वा नजिकको पर्यटन स्थलमा जानु कस्तो होला?

 

【विदेशीहरुलाई सहयोगको लागि विदेशी समर्थन स्वयंसेवक बैंक को परिचय】

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, अप्रिलदेखि “विदेशीहरुलाई सहयोगको लागि विदेशी समर्थन स्वयंसेवक बैंक” शुरु गर्ने भएको छ। यो, आफ्नो भाषा सीप प्रयोग गरेर, फुकुओका शहरमा बसोबास गर्ने विदेशीहरूलाई सहयोग गर्न चाहने व्यक्तिहरुले, "दोभाषे वा अनुवाद", “सहयोग आदानप्रदान”, “विपदको बेलामा विदेशीहरूलाई सहायता”, आदि जस्ता क्षेत्रहरूमा स्वयंसेवकको रूपमा दर्ता गरि, बिभिन्न परिस्थितिहरुमा सक्रिय सहभागीताको लागि हो।

 

हाल, यस स्वयंसेवकको लागि दर्ता गर्ने व्यक्तिहरूको खोजीमा छौं।

विशेष रूपमा, “विदेशीका लागि प्रशासनिक वकिलद्वारा परामर्श" मा दोभाषे तथा पोस्टर अनुवाद गर्न, जस्ता अन्य, जापानी नबुझ्नेहरूका लागि अनलाइन सहयोग, सार्वजनिक हलहरूमा आयोजना हुने विदेशीहरूसँगको अन्तर्राष्ट्रिय अन्तर्क्रिया, गर्मी महिनाको इभेन्टको योजना र ब्यबस्थाका लागि सहयोग, विपदको बेला दोभाषे भई सहयोग तथा प्रकोप रोकथाम अभ्यासको लागी दोभाषे र अनुवाद आदि गतिविधिहरूको योजना गरिरहेका छौं।

 

  • फुकुओका महानगर क्षेत्रमा बसोबास गर्ने १८ बर्ष वा बढी उमेर भएको
  • जापानी र विदेशी भाषामा दैनिक कुराकानी भन्दा बढी भाषा सीप भएको
  • स्वयंसेवकको रूपमा काम गर्ने समय भएको व्यक्ति भएमा, राष्ट्रियताले फरक पर्दैन।

 

 

भाषा सीप को उपयोग गर्न चाहनु हुने, अन्तर्राष्ट्रिय अन्तर्क्रियामा सहयोगी बन्न चाहनु हुने सबै महानुभावहरु; तपाईंहरुको सक्रिय गतिविधिले जापानी र विदेशीहरू बीचको आपसी समझ र अन्तर्राष्ट्रिय अन्तर्क्रियालाई प्रबर्धन गरि, ढुक्क र सुरक्षित जीवनका लागि टेवा मिल्दछ।

इच्छुक हुने महानुभावहरुले, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज हेनुहोला वा फोन मार्फत् सम्पर्क गर्नुहोला। हामी तपाईंहरुको दर्ताका लागि पर्खिरहेका छौं!

 

अबको सूचना, जापानी भाषा खासै नबुझ्ने, स्कूलको पत्रहरू बुझ्न समस्या भईरहेका विदेशीहरूको लागि रहेको छ!

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, विदेशीहरूका लागि भाषा सहयोग कार्यक्रम, "ट्यूटर प्रोग्राम" शुरु गरेको छ।  "ट्यूटर प्रोग्राम" मा, स्वयंसेवकहरु प्रत्यक्ष वान् टु वान् ट्यूटर बन्न सक्नुहुन्छ, र ट्यूटरलाई अनलाइनमा पत्रहरू आदिको सरल अनुवादका लागि अनुरोध र दैनिक जीवन सम्बन्धि सल्लाह माग्न सक्नुहुन्छ।

ट्यूटरसँग अनलाइन कुराकानी गर्न सक्ने, फुकुओका शहरमा बस्नु हुने विदेशी महानुभावहरु, जो कोहीले पनि यसको प्रयोग गर्न सक्नुहुन्छ।

बिस्तृत जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेर्नुहोला वा फोन मार्फत् हामीलाई सम्पर्क गर्नुहोला।

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको फोन नम्बर ०९२-२६२-१७९९ होI खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान पौने ९ देखि बेलुका ६ बजेसम्मI अवश्य पनि हामीलाई सम्पर्क गर्नुहोलाI

2021.04.15[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【मौसमी फूल: टुलिप】

वसन्तको प्रतिनिधित्व गर्ने फूलहरुमध्ये टुलिप पनि एउटा हो।

यसको फूल र पात सरल र सुन्दर भई, विश्वभर लोकप्रिय बोटको रुपमा रहेको छ। हालसम्म अनगिन्ती प्रजातिहरू पाईएको, र हालको विविधता सूचीमा ५,००० भन्दा बढी प्रजातिहरू उल्लेखित भएको पाईन्छ। यस फूलको करीव १,००० प्रजातिहरु संसारभरि खेती हुँदै आईरहेको छ।

सेतो, रातो, गुलाबी, पहेंलो विभिन्न रंगमा फुलिएका टुलिपलाई हेर्नाले, मनलाई आनन्द दिन्छ।

टुलिपको सामान्यतया फूलको भाषामा अर्थ हो, "करुणा", जुन मनमोहक छ।

जापानमा, एडो अवधिको अन्त नजिकै सन् १८६३ मा, फ्रान्सबाट ल्याइएको पहिलो फूलको बोटको रुपमा चिनिन्छ।

यस समयमा, फुकुओका शहरको सडक र पार्कहरूमा यी फूलहरु फूलिरहेका छन्। यदि यो फूल देख्नु भएमा फोटो खिच्ने होईन त?

 

फोहर फ्याँक्ने नियमसम्बन्धी】

〇फुकुओका शहरमा नयाँ जीवनयापन शुरु गर्नु भएका धेरै मानिसहरू हुनुहुन्छ जस्तो लाग्छ।

यस पटक, फोहर फ्याँक्ने नियम सम्बन्धी सूचना रहेको छI

फुकुओकामा फोहरलाई तीन किसिममा विभाजन गरी फ्याँक्ने गरिन्छ।

‘जल्ने फोहर’, ‘नजल्ने फोहर’, अनि ‘खाली सिसाको बोतल/प्लास्टिकको बोतल’ गरी ३ किसिमका हुन्छन्I

कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहोर फाल्ने गर्नुहोला।

जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला होI

कच्चा फोहोर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्I

निलो फोहर-फाल्ने-झोला, नजल्ने फोहरको लागि होI यसमा खाली क्यान र गिलास आदिलाई फाल्नु गर्नुहोस्I

पहेंलो रंगको फोहर-फाल्ने-झोला, खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नका लागि हो।

बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ। 

जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १ पटक संकलन हुन्छI

अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्नुहोस्।

 

फुकुओका शहरको आधिकारिक LINE ID मा Friend add गरेर, तपाईंको ठेगाना राख्नु भयो भने, LINE बाट फोहर फाल्ने दिनको बारेमा जानकारी उपलब्ध गराईन्छI

यदि तपाईंले फाँल्न चाहानु भएको फोहरको नाम राख्नु भयो भने, कुन प्रकारको फोहर हो भनेर जान्न सकिने भएकोले एकदम सुविधाजनक छ।

〇एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्I

ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गरेर  संकलन गराउन सक्नुहुन्छ।

कृपया शुल्क, फोहोर फाल्ने ठाउँ, मिति, इत्यादि जाँच गरेर फोहोर बाहिर राख्नुहोस्।

 

फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, ०९२-७३१-११५३ I

१८ भाषाहरुमा यो सुबिधा उपलब्ध छ I

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ